A+ A A-

गोरेबहादुर खपाङ्गी स्मृतिग्रन्थ प्रकाशन हुने

राज्यसत्ता

काठमाडौँ, गोरेबहादुर खपाङ्गी फाउन्डेशनले आउँदो वर्षमा गोरेबहादुर खपाङ्गी स्मृतिग्रन्थ र क्यालेन्डर प्रकाशन गर्ने भएको छ । सो कुरा संस्थाको नियमित बैठकले पारित गरेको छ ।

यही पुस १ गते खपाङ्गी फाउन्डेशनका अध्यक्ष हुमबहादुर थापामगरको अध्यक्षतामा बसेको कार्य समितिको नियमित बैठकले सिर्जनशील र महत्वपूर्ण निर्णय पारित गरेको छ । जुन निर्णअनुसार आउँदो वर्ष फाउन्डेशनले गोरेबहादुर खपाङ्गी स्मृतिग्रन्थ प्रकाशन गर्ने निर्णय पारित गरेको हो । जुन ग्रन्थ करिब पाँच सय पृष्ठको हुने छ । ग्रन्थमा प्रकाशनार्थ अग्रज नेता खपाङ्गीसँग निकट रहेका विभिन्न व्यक्तिहरुलाई २०० देखि २००० शब्दसम्मका लेखहरु लेख्न अनुरोध गरिने छ । यसका लागि विशेष व्यक्तिहरुलाई अनुरोधपत्र उपलब्ध गराइने छ र सार्वजनिक रुपले आह्वान पनि गरिने छ । यस कार्यलाई गतिशील र प्रभावकारी बनाउन फाउन्डेशनकै कार्यसमितिका व्यक्तिहरुको उपसमिति पनि बनाइएको छ । जुन उपसमितिमा भावेश भुमरी संयोजक रहने गरी चन्द्रबहादुर थापा, रामकुमार सुसलिङ, रुद्र गुर्मछान, कमला थापा, गङ्गा खासु र गायत्री राना सदस्य छन् । खपाङ्गीको वार्षिक स्मृति दिवस आउँदो वर्षको भदौ ११ गते विमोचन गर्ने गरी प्रकाशन गरिने छ । यस स्मृतिग्रन्थमा नेता खपाङ्गीको व्यक्तित्वका विभिन्न पक्षलाई केलाउने र दस्तावेजीकरणको कार्य गरिने छ । यसका साथै बैठकले आउँदो साल २०७५ देखि फाउन्डेशनको क्यालेन्डर प्रकाशन गर्ने निर्णय पनि गरेको छ । जसमा फाउन्डेशनका वर्षभरिका कार्यक्रम तालिका रहने छ ।

विभिन्न व्यक्तिका नाममा खोलिने विभिन्न संस्थाहरुले गर्दै आएका कामभन्दा फरकरुपले काम गर्दै आएको यस फाउन्डेशनले आफ्नो गतिलाई अझ तिब्र बनाएको छ । यसको मुख्य कारण भनेको कार्य समितिका सदस्यहरुको निस्वार्थ कार्य र संस्थाका शुभेच्छुकहरुको सहयोग हो ।

हार्दिक श्रध्दाञ्जलि - गोरे बहादुर खपांगी