A+ A A-

अब हामीले चुनावबाट राजनीतिक हत्कडी तोड्छौ : अध्यक्ष ठाकुर

सागर
काठमाडौं,बैषाक २० - मिति २०७४/०१/१९ गते  राजधानीमा राष्ट्रिय जनता पार्टी नेपालका “पार्टी एकीकरण बैठक" अध्यक्ष मण्डलका अध्यक्ष महन्त ठाकुरको सभापतित्वमा  सम्पन्न भयो ।

 उक्त कार्यक्रमलाई सम्बोधन गर्दै राजपा नेपाल अध्यक्ष मण्डलका अध्यक्ष महन्त ठाकुरले अहिलेको प्रमुख समस्या संविधान संशोधनको कुरा भएको उल्लेख गर्दै संविधान कार्यान्वयनको नाममा चुनावको कुरा ल्याएर सरकारले थप समस्या थपेको आरोप लगाउनु भयो । बिगतमा मधेसी  मोर्चाले नेपाली काँग्रेस र नेकपा माओबादी केन्द्रको गठवन्धन सरकारसंग गरेको ३ बुँदे समझदारीको सम्बोधन नभएको दुखेसो ब्यक्त गर्दै नागरिकता, भाषा, सिमांकन र राजनीतिक प्रतिनिधित्वको विषयलाई संविधान संशोधन मार्फत सम्बोधन हुनुपर्ने बिचार ब्यक्त गर्नुभयो । समान अवसर, अधिकार र सम्मानको लागि आफूहरुको संघर्ष भएको बताउँदै यी सबै कुरा यदि राज्यबाट स-सम्मान प्राप्त नभए आफूहरुले जस्तो सुकै कदम चाल्न सक्ने बाध्य हुने कुरा ब्यक्त गर्नुभयो । पटक-पटक वार्ता र सम्वादबाट समस्याको समाधान आफूहरुले चाहेको भएपनि नश्लवादी सरकारले धक्का लगाउँदै किनारामा पुर्‍याएको आरोप लगाउँदै भन्नुभयो-  "हामी संग नलडेर बस्नुको बिकल्प छ ?, अब हामीले राजनीतिक हत्कडी तोड्नु पर्छ ।”

  अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले विगतमा  आफूहरु आपसमै लडिरहेको कारणले नश्लिय चिन्तन बोकेका सत्ताले फाइदा लुटेको बताउँदै अब सारा मधेसका जनता एउटै छातामुनि आइसकेकोले  सरकारलाई घुँडा टेकाई छाड्ने उद्धोष गर्नुभयो । यतिखेर आफूहरुलाई चुनावको  चुनौती मात्र नभई सिमांकन, नागरिकता, राष्ट्रिय सभा लगायतका  बिषयको टुंगो लागि नसकेको औल्याउँदै यी सबै विषय संविधान संशोधन पश्चातबाट मात्र हुने भएकोले संविधान संशोधनको मुद्दा प्रमुख रहेको बिचार ब्यक्त   गर्नुभयो । चुनाव गर्नुपूर्ब सरकारले थरुहट र मधेस आन्दोलनको क्रममा झुट्टा मुद्दा लगाई जेल चलान गरिएका लक्ष्मण थारु लगाएतका सबै राजनीतिक योद्धाहरुलाई रिहा गर्नुपर्ने अन्यथा चुनाव हुन नसक्ने धारणा ब्यक्त गर्नुभयो ।

  अध्यक्ष मण्डलका सदस्य शरतसिंह भण्डारीले राजपा भोलीका दिनमा मुद्दाको आधारमा अघि बढ्ने बताउँदै संघीयता र समानुपातिक समावेशिता नै नेपाललाई समृद्धि र सम्पूर्ण नेपालीलाई अधिकार सम्पन्न गराउने अचुक औषधि भएको कुरा ब्यक्त गर्नुभयो । राजपाले तराईका २२ जिल्लामा रहेका आदिवासी जनजाति, थारु, मुस्लिम, दलित सबैको सह अस्तित्वलाई स्विकार्नु पर्ने धारणा ब्यक्त गर्नुभयो । वहाँले सरकारले ल्याएको अपुरो संविधान संशोधनको प्रस्तावलाई सहमतिको आधारमा सँच्याएर दर्ता गराएको स्मरण गराउँदै  दरवारिया शक्तिले पारित हुन नदिई सडयन्त्र गरेको आरोप लगाउनु भयो । वहाँले संविधान संशोधन गर्न सहयोग गर्नेहरु मित्र भएको र  असहयोग गर्नेहरु शत्रु रहेको  बताउँदै उनीहरुको पहिचान गर्नुपर्ने कुरा ब्यक्त गर्नुभयो । वहाँले मुलुकमा बैकल्पिक राजनीतिक शक्तिको खाँचो भएको बताउँदै राजपालाई बैकल्पिक शक्तिको रुपमा अघि बढाउने बाचा ब्यक्त गर्नुभयो ।

अध्यक्ष मण्डलका सदस्य महेन्द्रप्रसाद यादबले एकिकरणको मुख्य श्रोत भनेको मधेसी सहिद र मधेसी जनता भएको उल्लेख गर्दै राजपालाई संगठित र सुदृढ गर्दै अगाडि लान अपिल गर्दै पार्टीभित्र आन्तरिक लोकतन्त्रको अभ्यासको साथै समानुपातिक समावेशीको सिध्दान्तलाई अवलम्बन गर्नुपर्ने धारणा राख्नुभयो । मधेसमा बसेका सबै जातजाति, भाषाभाषी, आदिवासी जनजाति, थारु, मुस्लिम, दलित विशेष गरि तराईमा रहेका पहाडिया समुदायलाई जातिय जनसंख्याको आधारमा पार्टीमा समेट्न र प्रतिनिधित्व गर्नुपर्ने सुझाब ब्यक्त गर्नुभयो । एकल राष्ट्रबादले नभई बहुलराष्ट्रबादले मात्र मुलुक चल्ने भएकोले बहुल राष्ट्रबादलाई अंगाल्नु पर्ने धारणा थप्नु भयो । वहाँले यो मुलुकमा सदियौ देखि एकल जातिय सत्ता भएको बताउँदै भविष्यमा जातिय युध्द हुन सक्ने चेतावनी  दिनुभयो । सरकार अन्यौल अवस्थामा रहेको र विधान संशोधन प्रस्ताव पारित गर्न नसकेको बताउँदै राजपा चुनावमा नजाने बिचार ब्यक्त गर्नुभयो ।

अध्यक्ष मण्डलका सदस्य अनिल झाले मधेसी जनताको सम्मान र स्वाभिमानको लागि एकीकरण भएको उल्लेख गर्दै मुलुकको समृद्धिका लागि मधेसी जनताको साथै बिभेदमा पारिएको समुदायहरुको भावनालाई एकाकार गर्दै जानू पर्ने आवश्यक्ता औल्याउनु भयो । मधेसी जनताको अधिकार प्राप्तिको लडाइँमा अब कुनै मोर्चा र गठवन्धनको आवश्यकता नरहेको स्पष्ट  गर्नुभयो । वहाँले कार्यक्रममा सहभागी नेता तथा कार्यकर्तालाई संविधान संशोधन प्रस्ताव पारित बिना चुनावमा जाने वा नजाने? यस विषयमा सोचेर सुझाव दिन आग्रह गर्नुभयो ।

अध्यक्ष मण्डलका सदस्य राजकिशोर यादबले शहिदको सपना पूरा गर्न र जनताको इच्छा आकांक्षालाई सम्मान गर्न आफूहरुले  पार्टी एकीकरण गरेको उल्लेख गर्दै के पार्टी एकता पछि नेपालको नश्लिय सत्तालाई हामी परास्त गर्न    सक्छौ ? यतिखेर प्रश्न खडा भएको छ भन्दै भन्नुभयो - “हामीले हाम्रो शक्तिलाई चट्टान जस्तो बनाउनु पर्छ ताकि बिभेदकारी नश्लिय सत्ताले फोड्न नसकोस” । वहाँले यो एकीकरण चुनावका लागि नभई अधिकार प्राप्तिका लागि भएको कुरा पनि थप्नुभयो ।

उक्त बैठकमा एकीकरण भएका ६ वटै पार्टीका शीर्षस्थ नेताहरु, पदाधिकारीहरु, केन्द्रीय समितिका सदस्यहरू, बहालवाला माननीय सांसदहरू, सल्लाहकार समितिका सदस्यहरु लगायतका नेताहरूको सहभागीता रहेको थियो ।

अत: यो बैठक पार्टी एकीकरण पश्चात् पहिलो पटक बसिएको   हो । स्मरण रहोस, आज भन्दा १२ दिन पहिले ६ वटा पार्टी क्रमश: तराई मधेस लोकतान्त्रिक पार्टी, सद्भावना पार्टी , तराई मधेस सद्भावना पार्टी, राष्ट्रिय मधेस समाजवादी पार्टी, नेपाल सद्भावना पार्टी नेपाल र मधेसी जनअधिकार फोरम (गणतान्त्रिक) को पार्टी एकिकरण भएको थियो ।

आज बसेको पार्टी एकीकरण बैठकले  गरेका ३ बुँदे निर्णयहरु :

१. ६ वटै पार्टीव्दारा ७ गते गरिएको सम्झौता र हस्ताक्षरित प्रेस विज्ञप्तिमा उल्लेख भएका बिषयको अनुमोदनको साथै स्वामित्व ग्रहण गर्ने निर्णय गर्यो ।
२. निर्वाचन आयोगमा दल दर्ता देखि सरोकार राख्नु पर्ने सबै कानुनी प्रक्रिया ब्यवस्थापनको जिम्मा अध्यक्ष मण्डललाई दिइने निर्णय  सहित,
३. ६ वटै पार्टीको चल अचल सम्पति राजपा नेपालको अधिनमा रहने निर्णय गरिएको राजपा नेपालको बैठकले पारित गरेको छ ।

हार्दिक श्रद्धान्जलि - एक बहादुर राना मगर
हार्दिक श्रध्दाञ्जलि - गोरे बहादुर खपांगी