A+ A A-

प्रथम शहीद लखन थापा मगरको १४० औं लखन स्मृति दिवस काठमाडौंमा मनाइयो

सरकारलाई ७ बुँदे माग सहित ज्ञापन पत्र पेश

दिल प्रसाद पूर्वछाने मगर

 काठमाडौं, फागुन ३ -  प्रथम शहीद लखन थापा मगरको १४० औं स्मृति दिवस २०७३ फागुन २ गते भव्यताका साथ काठमाडौंमा मनाइयो ।
No automatic alt text available.

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री मा. इन्द्रबहादुर बानियाको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रमको विशिष्ट अतिथि नेपाली कांग्रेसका प्रमुख सचेतक मा. चिनकाजी श्रेष्ठ तथा विशेष अतिथिहरू सांसदहरू अमरसिंह पुन, लिला राना र तुलसा राना तथा विभिन्न संघसंस्थाका प्रतिनिधि एवं बुद्धिजिवीहरू अतिथि रहनु भएको थियो । स्मृति दिवसको सन्दर्भमा प्रमुख अतिथि, विशिष्ट अथिति, विशेष अतिथि एवं अतिथिहरू गरी जम्मा १२ जनाले विभिन्न संघसंस्था, राजनैतिक दलहरूको तर्फबाट प्रतिनिधित्व गर्दै आफ्ना मन्तव्य राख्नुभएको थियो ।
 
मन्तव्यको क्रममा प्रायः सबै वक्ताहरूले प्रथम शहीद लखन थापा मगरको योगदानको खुलेर प्रसंशा गर्नुका साथै उनको बलिदानीले नेपालमा आजको दिन (लोकतन्त्र) आएको कुरामा मैतेक्यता व्यक्त गर्नु भएको थियो । प्रमुख अतिथि राज्यमन्त्री बानियाले प्रजातन्त्र हुदै लोकतन्त्र आएपछि लोकतान्त्रिक सरकारले लखन थापा मगरलाई प्रथम शहीद घोषणा गरेको तर सरकारले अझै पनि उनको योगदानको कदर गर्दै राज्यको दायित्व पूरा गर्न धेरै बाँकी रहेको बताउनु भयो । साथै उहाँले नेपालमा सयौं शहीदहरू घोषणा गरेको र वास्तविक शहीदको अपमान भएकोले प्रथम शहीद र चार शहीदलाई भिन्न एवं विशिष्टकोटीमा राखी राज्यले त्यसै अनुसारको व्यवहार गर्नु पर्ने आवश्यकता रहेको औल्याउनु भयो । अन्त्यमा, उहाँले कार्यक्रममा सरकारलाई पेश गरिएको ज्ञापन पत्रमा उल्लेखित मागमा विषयमा आफूले मन्त्रीपरिषदमा पुर्याउने र आफ्नो कार्यकालमा लखन प्रतिष्ठान र सरोकारवाला संस्थाहरूले राखेका मागको विषयमा आफूले सदै सक्दो सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नु भयो । स्मरण रहोस्, कार्यक्रममा लखन प्रतिष्ठानले ७ बुँदे माग सहितको एक ज्ञापन पत्र प्रमुख अतिथि मन्त्री बानिया मार्फत नेपाल सरकार (मन्त्रीपरिषद)लाई पेश गरेको थियो ।

धेरै वक्ताहरूले लखन थापा मगरलाई प्रथम शहीद घोषणा र उनको हुलाकटिकट प्रकाशन गरेर मात्र सरकारको दायित्व पूरा नहुने र अझै धेरै काम गर्नु पर्नेमा जोड दिनुभएको थियो । राष्ट्रिय शहीद एवं शान्ति पार्क, गोकर्णका अध्यक्ष सुदर्शन सिग्देलले गोकर्ण पार्कमा प्रथम शहीदको शालिक स्थापना गर्ने संबन्धमा आफूले प्रयास गरिरहेको र शहीदहरू संबन्धी हर्ने आयोग वा यस्तै कुनै उच्चस्तरिय निकायको स्थापना गर्नु पर्ने र सोको लागि सरकारले छुट्टै ऐन ल्याई संसदबाट पारित गरी लागू गर्नु पर्ने र त्यसको लागि शहीद संबन्धी संरोकारवाला संस्थाहरूसंग सरकारले समन्वय गर्नु पर्ने बताउनु भयो । त्यस्तै ने.का. संसदिय दलका प्रमुख सचेतक चिनकाजी श्रेष्ठ, सांसदहरू अमरसिंह पुन (ने.का.), लिला राना (ने.क.पा.ए.मा.ले.) र तुलसा राना (ने.क.पा. माओवादी केन्द्र)ले प्रथम शहीदको विषयमा पहिलेदेखि लखन प्रतिष्ठानलाई सहयोग गर्दै आएको र आगामी दिनमा पनि राज्यका तर्फबाट के गराउन आवश्यक छ त्यसका लागि सरकार, सदन र आ–आफ्नो दलमा भूमिका खेल्ने प्रतिबद्धता जाहेर गर्नु भयो । कार्यक्रममा इतिहासविद एवं प्राज्ञ प्रा. दिनेशराज पन्त, राष्ट्रिय विभूति अमरसिंह थापा स्मृति प्रतिष्ठानका अध्यक्ष उप–प्रा. बाबुरामसिंह थापा, लखन थापा प्रतिष्ठानका सल्लाहकार एवं नेपाल मगर संघका पूर्व अध्यक्ष क्या. यमबहादु्र बुढाथोकी, नेपाल मगर संघका केन्द्रिय अध्यक्ष नविन रोका मगर र नेपाल मगर विद्यार्थी संघका केन्द्रिय अध्यक्ष कमल थापामगरले पनि मन्तव्य राख्नु भएको थियो ।

यस स्मृति दिवशको सन्दर्भमा लखन प्रतिष्ठानका एक दर्जन नयाँ आजीवन सदस्यलाई सम्मान सहित आजीवन सदस्यताको प्रमाण पत्र प्रदान गरिएको थियो भने कार्यक्रममा मगर संघ, बेलायतले गोरखा बुंकोट स्थित भूकम्पले क्षतिग्रसत लखन थापा प्रा.वि.लाई स्थानान्तरण गरी नयाँ भवन बनाउन सवा ४ रोपनी जग्गा किन्न आर्थिक सहयोग गरिदिएकोमा सम्मान पत्र प्रदान गरिएको थियो । यूके मगर संघका सलहाकार हुम बहादुर थापा मगर सम्मान पत्र लिन गई दिनु भएको थियो । साथै, प्रमुख अतिथिलाई प्रथम शहीदको तस्विर उपहार दिइएको थियो । औपचारिक कार्यक्रम शुरुहुनु पहिले लखन प्रतिष्ठानको आगामी कार्यदिशा विषयमा प्रतिष्ठानको मस्यौदा खाका प्रस्तुत गरी छलफल गरिएको र सहभागी बुद्धिजिवीहरूबाट सल्लाहसुझाव लिइएको थियो ।

साथै नेपाल प्रज्ञा प्रतिष्ठानबाट निकट भविश्यमा प्रकाशन हुन लागेको बृहत नेपाली शब्दकोशको संशोधित संस्करणमा विगतको संस्करणमा भएको लखन थापा मगरको विवरण संशोधन गर्न नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपतिलाई ध्यानकर्षण पत्र समेत फागुन २ गते लखन प्रतिष्ठानले बुझाएको छ । स्मृति दिवसको कार्यक्रममा बुझाउने तयारी भएता पनि कुलपतिको अनुपस्थिथिको कारण पछिल्लो दिन बुझाइएको हो ।
 
(लेखक : प्रथम शहीद लखन थापा मगर स्मृति प्रतिष्ठानका महासचिव हुन )


फोटो: संजय सिंजाल मगर

 

फोटो हेर्न यस लिङ्क थिच्नुहोस् ।

 

प्रथम शहिदको प्रतिष्ठानले १४०औं लखन स्मृति दिवस मनायो !

 

हार्दिक श्रद्धान्जलि - एक बहादुर राना मगर
हार्दिक श्रध्दाञ्जलि - गोरे बहादुर खपांगी