A+ A A-

नेपालका प्रथम शहिद लखन थापा मगर अब हुलाक टिकटमा

प्रथमशहीद लखन थापा मगरको संस्मरणात्मक हुलाक टिकट प्रकाशन भएकोमा संसारभर खुसियाली मनार्इ रहेको जानकारी प्राप्त भएकोछ ।

उमेश बहादुर राना मगर

 

काठमाण्डौ,मङसिर ३ - नेपालको हुलाक सेवा विभागले २०७३ मार्ग १ गतेका दिन राजधानी काठमाडौंमा एक समारोह विच प्रथम शहीद लखन थापा मगरको चित्रांकित रु. १०।– को हुलाक टिकट सूचना तथा संचार मन्त्री सुरेन्द्र (राम) कार्कीबाट प्रथम दिवसीय टाँचा लगाई सार्वजनिक गरिएको छ ।

कार्यक्रममा प्रथमशहीद लखन थापा मगर स्मृति प्रतिष्ठानका तर्फबाट अध्यक्ष रूल बहादुर आले मगरले मन्तव्यको क्रममा गोरखा जिल्लाको दूरदराजमा साधारण परिवारमा जन्मेका लखन थापाले नेपाली सेनामा लामो समय सेवा गरेको, सोही क्रममा लखनऊ बिद्रोहमा खटिएको, भारतीय विद्रोहीहरूको मर्म बुझेर जंगहादुर राणाको ज्यादती विरुद्ध उत्प्रेरित भई उनले गोरखा बुंकोटबाट विद्रोहको उद्घोष गरेको प्रसंग बताउँदै उनको वलिदानबाट प्रेरणा पाएर नै राणा शासनको विरुद्ध लागेका ४ सपुतहरू पनि शहीद बने र सात सालको जनक्रान्ति सफल भएको बताउनु भयो । प्रजातन्त्र, लोकतन्त्रको लागि वि.सं. १९३३ मा जीवन अर्पण गरे तापनि २०५६ सालमा सरकारले लखन थापालाई शहीद र २०७३ असोज ३ गते प्रथम शहीदको घोषणा गर्यो । यसका लागि प्रतिष्ठानले अनेकौं लबिङ, संघर्ष र दबाव दिनु परेको थियो । उनी राष्ट्रिय विभूतिका समेत हकदार हुन् भन्ने चर्चा गर्दै देशका विभिन्न भागमा आजसम्म जनस्तरबाट मात्र प्रथम शहीदको सालिक बनेकोले राज्यस्तरबाट पनि शहीदको सालिक निर्माण गर्न सरकारलाई आग्रह गरिएको थियो ।
 

(प्रथम शहीद लखन थापाको तस्वीर अंकित रु.१०।– को टिकट १० लाख प्रति छापियो)

कार्यक्रममा अन्य राष्ट्रिय व्यक्तित्वको रूपमा निष्ठावान राजनीतिज्ञ महेन्द्र नारायण निधि (महोत्तरी) र समाज सुधारक योगमाया न्यौपाने (भोजपुर) र देशका विभिन्न धार्मिक साँस्कृतिक महत्व बोकेका ५ वटा मठमन्दिरहरूको हुलाक टिकट सार्वजनिक गरिएको थियो ।

हुलाक टिकट हेर्दा सानो वस्तु भए पनि यसले राष्ट्रिय अन्तर्राष्ट्रिय जगतमा विशेष महत्व राख्दछ । राष्ट्रले आदर सम्मान गर्नु पर्ने व्यक्तिको योगदान बारे सन्देश प्रवाह हुन्छ, त्यस्ता व्यक्तित्वको परिचय र पहिचान संसारभर फैलन्छ । नेपाल फिलाटेलिक सोसाइटीका अध्यक्ष शंकर श्रेष्ठले राष्ट्रिय व्यक्तित्वको हुलाक टिकट प्रकाशित गरेर राष्ट्रको तर्फबाट सम्मान प्रकट गर्ने परम्पराले एउटा पुस्ताबाट अर्को पुस्तामा ज्ञान सर्ने हुँदा राष्ट्रको तर्फबाट गौरवको जर्गेना समेत हुने भन्दै यही महिनामा चीनमा हुने अन्तर्राष्ट्रिय हुलाक टिकट प्रदर्शनीमा सन् २०१६ सम्म प्रकाशित सबै टिकटहरू समावेश गरिने जानकारी दिनु भयो ।



सूचना तथा संचार मन्त्रालयका सहसचिव सुरेश अधिकारीले मुलुकको राजनैतिक सामाजिक रूपान्तरणमा विशिष्ट योगदान पुर्याउने राष्ट्रिय व्यक्तित्व र धार्मिक साँस्कृतिक धरोहरको कोटीमा राखेको र प्रचारप्रसार गर्ने उद्देश्यले नै हुलाक टिकट प्रकाशन हुने गरेको, यसले पहिचान मात्र नदिएर राष्ट्रिय गौरव र पर्यटन प्रबद्र्धनमा समेत योगदान पुर्याउने बताएका थिए । प्रथम शहीद लखन थापाको तस्वीर अंकित रु.१०।– को टिकट १० लाख प्रति छापिएको जानकारी दिनु भयो ।

मन्त्रालयका सचिव दिनेश थपलियाले वि.सं.१९३५ मा सुन्धारा काठमाडौंमा पहिलो डाँकघरको स्थापना भएको र त्यहीबाट क्रस खुकुरी अंकित पहिलो हुलाक टिकट प्रकाशित भई नेपाल र नेपालीको पहिचान विश्वभर फैलिन पुगेको, हालसम्म ११७३ वटा टिकट प्रकाशित भई प्रचलनमा ल्याइएको जानकारी दिदै राष्ट्रिय व्यक्तित्वको टिकट प्रकाशनबाट आफ्नो स्थान, चरित्र र व्यक्तित्व पनि त्यस्तै बनाउनु पर्छ भन्ने प्रेरणा जाग्ने र राम्रो कर्तव्यपथमा हिड्ने चेतना समेत प्रवाह हुने विश्वास व्यक्त गर्नु भयो । उनले हालसम्म प्रकाशित भएका टिकटको रेकर्ड डिजिटल अर्काइभमा राख्ने प्रयास भइरहेको जानकारी समेत दिनु भयो ।

कार्यक्रमका विशिष्ट अतिथि तथा पूर्वमन्त्री कृपाशुर शेर्पाले लखन थापा मगरले देश र जनताको लागि सत्कर्म गरेको कारण राज्यले उनलाई महत्व दिएको चर्चा गर्दै व्यक्तित्व र कृतित्व सधैं अमर रहने, कहिल्यै नमर्ने भन्दै लखन थापा मगरको आज पुनर्जन्म भएको आफूलाई अनुभूति भइरहेको धारणा राख्नु भयो ।

प्रमुख अतिथि संचारमन्त्री सुरेन्द्र (राम) कार्कीले प्रथम शहीद लखन थापा मगर, राजनीतिज्ञ महेन्द्र नारायण निधि र समाज सुधारक योगमाया राष्ट्रका नायक र सम्मानित पात्र रहेकाले को ठूलो, को सानो भन्ने होइन, यी हाम्रा शक्ति हुन् यी हाम्रा गौरव हुन् भनेर सवैले बुझ्न जरुरी छ, अव बुद्ध र सगरमाथाबाट मात्र हामी चिनिने र पालिने होइन, देशमा अरु पनि गौरवशाली व्यक्तित्व र कृतित्व छन् त्यसको खोजी गरौं, आफ्नो पहिचान बनाऔं, त्यसको स्वामित्व पनि लेऔं र विश्वभर चिनाऔं भन्ने सारगर्भित विचार राख्नु भयो । कार्यक्रममा हजारौंको उपस्थिति रहेको थियो ।

(उमेश बहादुर राना मगर प्रतिष्ठानका उपाध्यक्ष हुनुहुन्छ)

श्रब्य/दृश्य : हुबिमगर

फोटो झलककोलागी तलको लिङ्क दाब्नुहोस ।

प्रथम शहीद लखन थापा मगरको सस्मरात्मक हुलाक टिकट प्रकाशन.

 

 

 

 

 

 


हार्दिक श्रद्धान्जलि - एक बहादुर राना मगर
हार्दिक श्रध्दाञ्जलि - गोरे बहादुर खपांगी