A+ A A-

फोप्लीको ठाकुरभूमिलाई भुमरी संयोजनको राहत सहयोग

राज्यसत्ता,

प्यूठान,असोज २९- गत साउनमा गएको बाढी र पहिरोबाट प्यूठानको फोप्लीमा भएको जनधनको क्षति अनि त्यसबाट प्रभावित एवम् पीडितको सहयोगार्थ भावेश भुमरीले आह्वान गरेको राहत हालै फोप्ली– ५ स्थित ठाकुरभूमि प्राथमिक विद्यालयको भौतिक निर्माणका लागि हस्तान्तरण गरिएको छ ।  

प्यूठान नगरपालिका– १७, मरन्ठाना, कोटमा स्थायी घर भएका भावेश भुमरीले २०५१ सालमा उच्च शिक्षा हासिल गर्न काठमाडौँ गएसँगै काठमाडौँलाई नै कर्मथलो बनाउँदै आएका छन् । विगत लामो समयदेखि साहित्य सिर्जना र शिक्षामा काम गरिरहेका भुमरी प्यूठानबाट काठमाडौँ गएर सिर्जनामा सार्वजनिक रूपले चर्चा र लोकप्रियता हासिल गरेका एक उच्च प्रतिभा हुन् । विशेषतः नेपाली कविता र गीत लेखनमा केन्द्रीय रूपमा आफ्नो उच्च स्थान बनाएका भुमरीका दर्जनौ गीतहरू लोकप्रिय छन् । हालसम्म पाँचवटा गीति एल्बम, चारवटा गीतसङ्ग्रह र एउटा कवितासङ्ग्रह प्रकाशन गरेका भुमरी नेपाली गीतलेखनबाट ठूला पुरस्कार प्राप्त गर्ने विशिष्ट प्रतिभा हुन् । नेपाली गीति लेखनमा गीतकार संघ नेपालको रु. १ लाखको नगद पुरस्कारसहित वर्ष गीतकार २०७०, रेडियो नेपालद्वारा आयोजित आधुनिक गीत प्रतियोगितामा रचनामा प्रथमसहित तमाम म्युजिक अवार्डहरू प्राप्त गर्ने भुमरीको रुचि र कार्यको अर्को पाटो समाज सेवा पनि रहेको छ । सोही रुचिकै कारण भुमरीका लोकप्रिय दर्जनौ गीतका स्रोता र शुभचिन्तकहरूले प्यूठानको बाढी र पहिरोपीडितका लागि भुमरीकै संयोजकत्वमा सहयोग सङ्कलन गरेका थिए ।

भुमरी सामाजिक सञ्जाल फेसबुकलाई राम्रोसँग सदुपयोग गर्ने स्रष्टा हुन् । गत साउन १० गते प्यूठानमा बाढीपहिरोले पु-याएको क्षतिबाट दुखी भएका भुमरीले फेसबुकमा सहयोगका लागि आह्वान गरेका थिए । त्यही आह्वानमा हातेमालो गर्न विभिन्न देशमा रहेका नेपालीहरूले काठमाडोँमा भुमरीलाई सहयोगस्वरूप रकम पठाएका थिए । भुमरीले सुनाए, सर्वप्रथम रुकुम घर भएकी अमेरिकामा कार्यरत गीतकार पद्मा लिंखा मगरले सहयोग पठाइन् । त्यसपछि रकम पठाउने हातहरू जुट्दै आए । धेरैभन्दा धेरै सहयोग रकम सङ्कलनका लागि केही कागजी कार्य प्यूठानबाट अगाडि बढ्न नसकेको कुरा भुमरीले सहयोग हस्तान्तरण कार्यक्रममा व्यक्त गरे । त्यही कारण धेरै रकम सङ्कलन गर्न नसकेको यथार्थ पनि कोट्याए । दशैँअगाडि नै भुमरीले युकेमा कार्यरत पवित्रा गुरुङ, आयरल्यान्डमा कार्यरत दामिनी गुरुङ, क्यानडामा कार्यरत सुरुङ्गी साहिला, इजरायलमा कार्यरत जुनु राई, अमेरिकामा कार्यरत पद्मा लिंखा मगर, युकेमा कार्यरत लाल रानासहित काठमाडौँका भुमरी स्वयम्, नानु राना, जीतबहादुर राई र रवीन्द्र घिमिरेबाट रकम सङ्कलन गरेका थिए । दशैँ मान्न र सहयोग हस्तान्तरण गर्न रु. ९१००१/- रकमको पोको बोकेर काठमाडौँबाट प्यूठान आएका भुमरीले फोप्लीमा पहिरोबाट अत्यधिक प्रभावितहरूका बालबालिका पढ्ने विद्यालयको खोजी गरे । खोजी गर्ने क्रममा ठाकुरभूमि प्राथमिक विद्यालय पत्ता लगाए । त्यही विद्यालयको भौतिक निर्माणका लागि सो रकम सहयोग गर्ने निर्णय गरे । आर्थिक सहयोग हस्तान्तरण कार्यमा प्यूठानका कलाकार, पत्रकार र समाजसेवीहरूले भुमरीलाई सघाए । सदरमुकाम खलङ्गाबाट भावेश भुमरी, राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान प्यूठानका अध्यक्ष तुकमानसिंह कार्की, सोही संस्थाका उपाध्यक्ष निर्मलदास नकर्मी, कोषाध्यक्ष माधव पराजुली, सल्लाहकार राममणि थापा, सामुदायिक रेडियो प्रसारक संघका सदस्य भुवन सिंह, रेडियो कृपालु प्यूठानका कमल वि.क., समाजसेवी माधव भन्डारीलगायतका व्यक्तिहरू सम्बन्धित विद्यालयमा पुग्न धेरै हिँड्नुपर्ने भएकाले फोप्ली– १, अँधेरीखोलामा पुगेका थिए । फोप्ली गाविस एवम् सोही ठाकुरभूमि प्राथमिक विद्यालयका निवर्तमान अध्यक्ष समाजसेवी देवीराम पुनमगरसहितका व्यक्तिहरू गाउँबाट सहयोग बुझ्नका लागि अँधेरीखोलामै उपस्थित भएका थिए ।

सानो अनौपचारिक कार्यक्रम गरी इलाका प्रहरी कार्यलय, लुङ, बाहनेका सुरक्षाकर्मीसहित उपस्थित १० जना व्यक्तिहरूको रोहवरमा सो रकम भुमरीले देवीराम पुनमगरलाई हस्तान्तरण गरे । हस्तान्तरणपछि बोल्दै भुमरीले आफू पनि शिक्षा क्षेत्रमै कार्यरत हुनाले अत्यधिक पहिरोपीडितहरूका बालबालिकाहरू अध्ययन गर्ने विद्यालयको भौतिक निर्माणमा लागि आर्थिक सहयोग गर्न पुगेको कुरा राखे । सो विद्यालयलाई पछि पनि सक्दो सहयोग गर्ने भन्दै भुमरीले आफ्नो अभियानमा सहयोग र साथ दिने सबैलाई धन्यवाद दिए । मन्तव्य राख्ने क्रममा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान प्यूठानका अध्यक्ष तुकमानसिंह कार्कीले आफ्नो संस्था पनि तिहारअगाडि नै सहयोग हस्तान्तरण गर्न फोप्ली आउने कुरा राखे । सहयोग बुझेपछि संक्षिप्त मन्तव्य राख्दै देवीराम पुनमगरले फोप्लीमा पहिरोले अपूरणीय क्षति पु-याएर क्षतविक्षत भएको गाउँका घाइतेहरूलाई यसरी लगाइदिने मल्हमले केही सान्त्वना दिने कुरा व्यक्त गरे । उनले पहिरोेले सामान्य क्षति पु-याएको त्यस विद्यालयमा अत्यधिक पहिरोपीडितहरूका बालबालिकाले पढ्ने र भौतिक रूपले नाजुक भएकाले यो सहयोगलाई सही रूपले सदुपयोग गर्ने कुरा पनि राखे । व्यक्तिगत रूपमा पनि यसरी पहल गरेर विद्यालयलाई सहयोग गर्ने भुमरीलगायतका सबै सहयोगदाताप्रति पुनमगरले धेरै कृतज्ञता व्यक्त गरे ।

 हार्दिक श्रध्दाञ्जलि - ज्ञान बहादुर गाहा मगर