A+ A A-

स्व गोरे बहादुर खपांगी मगर प्रति ३ थुङ्गा श्रद्धाका फूल स्वरुप ३ प्रसंगहरु

बि के राना

समाजवादी नेता स्व. गोरे बहादुर खपांगी मगरको आज अन्त्येष्टी भैसकेकोछ काठमाडौँमा ! यस पंक्तिकारले उहाँसंग धेरै नजिक रहेर केही काम गर्ने मौका पायो । सात समुन्द्र पारिदेखि उहाँप्रति तीन थुङ्गा श्रद्दाका फूल स्वरुप यहाँ तीनवटा प्रसंगहरु उल्लेख गरिएको छ ।

१) बिक्रम सम्बत् २०३६ सालको विधार्थी आन्दोलनपछि राजा बीरेन्द्रबाट वि. सं. २०३६ साल जेठ १० गतेका दिन आउने २०३७ साल बैशाख २० गते मुलुकमा 'सुधारिएको पंचायत' वा 'बहुदलीय व्यवस्था' मध्ये कुन चाहिँ ? भन्ने विषयमा जनमत संग्रह गरिने भन्ने घोषणा भएको थियो । त्यसपछि मुलुकमा स्वभावैले गरम्जोश्का साथ चुनाव प्रचार प्रसारको कुरो अर्थात् भाषण भीषण शुरु हुने नै भयो । एक दिन अपरान्ह त्रिचन्द्र क्याम्पसमा त्यस्तै 'भाषण भीषण'को कार्यक्रम आयोजन गरिएको थियो । मन्चमा आसिन वक्ताहरु हुनुहुन्थ्यो : हृषिकेश शाह, गोरे बहादुर खपांगी र प्रदिप गिरि ।

यस पेजको एड्मिनले स्वर्गीय खपांगीलाई त्यसैदिन हो सबभन्दा पहिलो पटक देखेको र उहाँको भाषण प्रत्यक्ष सुनेको श्रोताहरुको पंक्तीबाट ! ब्राह्मणजनहरुको वर्चस्व रहेको तत्कालिन 'माले' (हालको 'एमाले'। हालपनि सबै राजनीतिक पार्टीहरुमा ब्राह्मणजनहरुको नै वर्चस्व कायम छ ।) को "राजनीतिक चक्रव्यूहभित्र वहिष्करणमा पर्नगएको र जसरी सल्लाको वनमा एक्लो 'साल' किचरिक्क परेर आफै मर्छ - त्यस्तै हुने अवस्था देखेर मैले त्यो पार्टी छोडेको हुँ " भन्ने ऐलान गर्नु भएको थियो मंचबाट उहाँले । अत्यन्त मीठो लागेको थियो उहाँको त्यो भाषण !

२) त्यसबेला रामेछाप जिल्लामा प्रतिबन्धित वा भूमिगत 'नेपाल कम्युनिष्ट पार्टी (मार्क्सवादी-लेनिनवादी) अर्थात् 'माले पार्टी'कोनिम्ति जोतिंदा, माने कामगर्दा उहाँ सरकारी तारो बन्न पुग्नुभयो । र, दोलखा जिल्लाको लामोबगर भन्ने अत्यन्त दुर्गम गाउँमा केही समयकानिम्ति लुकिछिपी बस्न जानुभयो । त्यस सिलसिलामा एकरात बासबसेको घरको एउटा रोचक प्रसंग उहाँले सुनाउनु भएको थियो यस पंक्तिकारलाई । कुरो के थियो भने, त्यो ठाउंमा औधी जाडो हुने गर्छ । "खान त रुखोसुखो, मीठो नमीठो खाईयो नै । तर सुत्नेबेलामा चौंरीको छाला ओछ्याउनु पर्यो, ओढ्नु पनि पर्यो । शरीर चिलाएर कन्याई रहनु पर्दा रातभर निदाउन सकिएन । भोलिपल्ट बिहान उठ्दा त , गोरो छालाको शरीरभरि जम्मै राता राता डाबरै डाबरा ! ........ " नेपाल कम्युनिष्ट पार्टी (मार्क्सवादी-लेनिनवादी) अर्थात् हालको एमालेका निम्ति उहाँले त्यसरी कामगर्नु भएको थियो ।

३) सम्बत् २०५७ साल श्रावण २३, २४ र २५ गते काठमाडौँमा तीनदिने ' विश्व आदिवासी दिवस - २०५७' (अगष्ट ७ - ९, २०००) विशेष ढंगबाट मनाइने कार्यक्रमको बनेको थियो । हालको 'आदिवासी जनजाति महासंघ' श्रोत र साधनको अभावमा शंकरदेव क्याम्पस पछाडिको एउटा घरको सानो कोठामा जसोतसो चलेको थियो । त्यसबेलासम्म नेपालका आदिवासी जनजातिहरु आज झैँ अपेक्षित रुपमा संगठित, सक्रिय र अभिप्रेरित हुनसकिरहेका थिएनन् । स्व. गोरे बहादुर खपांगी त्यसबेला नेपाल मगर संघ, केन्द्रीय समितिको अध्यक्ष हुनुहुन्थ्यो र उहाँको कुशल नेतृत्वमा संघले सामाजिक परिवर्तनका जोडदार कार्यक्रमहरु जनस्तरमा संचालन गरिरहेको थियो ।

'विश्व आदिवासी दिवस - २०५७' बीरेन्द्र अन्तर्राष्ट्रिय सभागृह (हालको व्यवस्थापिका संसद भवन)मा भव्यरुपले मनाउनकानिम्ति एउटा तदर्थ समिति गठन गरिएको थियो र त्यसको संयोजकका रुपमा स्वर्गीय खपांगीलाई चुनिएको थियो । त्यहाँ एकदिनको कार्यक्रमकोलागि हल भाडा १ लाख रुपैयाँ भनिएको थियो । वस्तुतः त्यो पैसा सरकारी अड्डा, तत्कालिन राष्ट्रिय जनजाति बिकास समितिले दिने भन्ने जनाएको थियो । तर, रकम चाहिँ मन्त्रालयबाट निकाशा भैसकेको भने थिएन । भोलि कार्यक्रम गर्नु पर्ने, बुक मात्र गरिएको तर पैसा नबुझाइएको हुँदा सो सभागृहले दिउसो ३ बजेतिर 'हल बुकिङ्ग' रद्दगर्ने कुरा गर्यो । अनि अब के गर्ने ? अफ्ठ्यारो पर्यो त । स्व. अध्यक्ष खपांगीले स्वर्गीय नारायण सिंह पुन मगरसँग १ लाख रुपियाँ सापटी लिएर आउनु भो र बुझाउनु भो । बल्ल हो बाबा भए नेपालका आदिवासी जनजाति नेता, अभियन्ताहरु ! भोलिपल्ट अर्थात २०५७ श्रावण २३ गते भव्यरुपले कार्यक्रम सम्पन्न भयो काठमाडौँमा ।

त्यसभन्दा पहिले नेपालका आदिवासी जनजातिहरुले कहिले पनि विश्व आदिवासी दिवस त्यस ढंगले मनाएका थिएनन् ।

अस्तु ।

Error: No articles to display