A+ A A-

भोजराज बाहुनले बिभाजित गरेका थिए गुरुङहरुलाइ चार र सोह्र जातमा

-चन्द्र गुरुङ

गैर-गुरुङहरुमा भ्रमरुपी खेतीको एउटा विशाल रुखले निकै गहिरो जरा गाढेर बसेको छ कि गुरुङहरु एकआपसमा चार र सोह्र जातहरुमा बाँडिएका हुन्छन् ।

  जसमा चारजाते गुरुङहरुले आफूलाई सोह्रजाते गुरुङहरु भन्दा माथिल्लो स्तरका मान्छन् । यी चार थरी गुरुङहरु क्ले,कोने,लम र लेम हुन् तर हिन्दूकरणको क्रममा यिनलाई घले, घोताने, लामा र लामिछाने नामकरण गरियो अथवा भनियो । तर वास्तवमा गुरुङहरुमा तेस्तो केही विभेद पाइँदैन । पहिलो कुरो त के हो भने गुरुङहरुमा चार र सोह्र गरी बीसओटा मात्र होइन, लगभग दुई सय थर-उपथरहरु विधमान छन् ।

हो, विगतमा केही समयको लागि यस प्रकारको गलत चलन गुरुङहरुको बीच प्रत्यारोपन नभएको चाहिँ होइन । हिन्दू वर्णव्यवस्थाको अनुशरण गर्दै गुरुङहरुले पनि यस प्रकारको व्यवस्था आफ्नो समाजमा ल्याउने प्रयत्न गरे । इतिहासले भन्छ कि राजा जगति खान -जैन खानका पनाति )का पुरोहित भोजराज पण्डितले गुरुङहरु बारे एउटा झूठो वंशावली तयार पारे जसमा उनलाई राज्य विस्तारमा सहयोग गर्ने गुरुङ मुखियाहरुलाई ठूलो जात र असहयोगीहरुलाई तल्लो जातमा झारेर दास-कमाराका सन्तान बनाई दिए । यस प्रकार गुरुङ समाजमा वर्ग विभाजन सुरु भयो । अनपढ सोझा गुरुङहरुले सजिलै चतुर पण्डितको कथामा विश्वास गरे । साथै, केही दम्भी र अविवेकी ठूलाबडा भनाउँदाहरु जसको आर्थिक रुपले सम्पन्न थिए वा कुनै ठूलो मानपदवी थापेर बसेका थिए उनीहरु आफूहरुलाई गाउँ समाजका अन्य मानिसबाट छुट्टाएर आर्य शासकहरुको समीप राख्न रुचाउँथे । आफ्नो रवाफ वा मानसम्मानलाई कायम राख्न भनौं या आफूलाई विशिष्ट देखाउने चक्करमा आफूहरु र अन्य वर्गको बीचमा एक मसिनो सीमारेखाको निर्माण गर्थे । यसका लागि उनीहरु विभिन्न बहाना गरेर आफूलाई सुहाउने नीति वा नियमहरु निर्धारण गर्थे । फलस्वरुप केही समयको लागि भए पनि यी अदूरदर्शी र दम्भी गुरुङहरुले गर्दा गुरुङ समाज चार र सोह्र जातको कुरीतिमा फस्न पुग्यो । यसमा केही धर्ूत र स्वार्थी तत्वहरुले पनि भ्रमपूर्णकथाहरुको सिर्जना गरेर आगोमा घ्यू थप्दै गए ।

Qatar4  तर, गुरुङगुरुङको बीचमा कोरिएको यस विभाजनको रेखाले चीर स्थायित्व चाहिँ पाएन । यस नीतिको दूरगामी दुःपरिणामहरुलाई ध्यानमा राखेर केही समझदार गुरुङहरुद्वारा बडो विवेकपूर्णढंगले यसको विरोध गरियो । परिणामस्वरुप चार र सोह्र जातको झगडा जङ्गबहादुर राणाका समयमा अर्थात् विक्रम संवत् १९२४ सालमा एउटा सनदपत्र गराएर कर्नेल लछमन गुरुङले सदाका लागि अन्त्य गराए । जङ्गबहादुर राणाका पालामा अर्थात् विक्रम संवत् १९२४ साल पौष १३ गतेको दिनमा गुरुङ जातको सामाजिक स्थिति बसाल्न गराइदिएको लालमोहरमा साफ उल्लेख गरिएको छ कि- “फलानाको छोरीविवाह गर्दैन भन्यो वा फलानालाई छोरीदिंदैनौ भन्या छोरीलिदा दिदा आफनु खुसी हुन्छ कर लागदैन । गुरुङ गुरुङ जातमा हाम्रो जात ठूलो हो तेस्को जात सानु हो भन्या र भात काढन्यालाई २०/२० रुपैया डंड गर्नु जितन्यालाई जिताउरि पर्दैन भंन्या अैन गरि बकस्याको छ ।” यसले सिद्ध गर्छ कि विगतमा कतै र कहिलै नभएको जातीय विभाजन गुरुङ समाजमा थोपार्ने कोसिस गरिएको थियो तर गुरुङहरुले यस्तो ढोंगको पर्दाफास सजिलै गरिछाडे ।

हाम्रो देश नेपालमा मेची देखि महाकालीसम्म अनेक जातिका मानिसहरु पाइन्छन् । यिनलाई विशेष दुई भागमा विभक्त गर्न सकिन्छ । एक प्रकारका मानिसहरु वर्णव्यवस्थामा आस्था राख्ने देखिन्छन् भने अर्का प्रकारका नेपालीहरु वर्णव्यवस्थामा आस्था नराख्ने देखिन्छन् । ब्राहृमण, क्षत्रिय, वैश्य र शूद्र वर्णव्यवस्थामा आस्था राख्नेहरु हुन्छन् भने राई,लिम्बु, गुरुङ, मगर, तामाङ, शेर्पा आदि वर्णव्यवस्थामा आस्था राख्तैनन् । यो वर्ण व्यवस्था मुलतः हन्दू समाजमा पाईन्छ । यस्तो जातिवादको भावना ल्याउन मुख्य रुपमा हिन्दू धर्मावलम्बीहरुका आद्रि्रन्थ बेद, वेदको व्याख्या भएका ब्राहृमणग्रन्थ, उपनिषद्, म्ानुस्मृति र पुराण आदिले महत्वपूर्णभुमिका खेलेका छन् । भारतीय प्रायद्वीपमा यस वर्णव्यवस्थाले निकै लामो समय सम्म प्रभाव पारेको थियो । तर अचेल त हिन्दूसमाजमा पनि यस प्रकारको जाति तथा वर्गीय विभाजनको अवसान भएको पाईन्छ । यस प्रकारको विभेद र भेदभावको विरुद्ध कडा नियम कानुन नै बनेको छ ।

हाम्रो देश नेपालको सन्दर्भमा भन्नु पर्दा सन् १३२४ मा तराईको राज्यबाट मुसलमानहरुद्वारा विस्थापित भएका हरिसिंहदेवको नेपाल उपत्यका विजयले जातपातको चलन बलियो पार्नेकाम चाँडै हुन गयो । हरिसिंह तथा उनका वंशजहरुले त्यसताका हिन्दूस्तानमा आएको सामाजिक समस्याको विचार गरी नेपालमा सामाजिक कार्यलाई प्राथमिकता दिएका थिए । पछि जयस्थिति मल्लले काठमाण्डौं उपत्यकामा वर्णश्रम ब्यबस्था चलाइको कुरा हामीले धेरै ठाउँमा पढेका छौँ । उनले भारतबाट पाँचजना विद्वान् पण्डितहरु नेपाल बोलाए । शास्त्रहरु खोजेर यी पण्डितहरुले जाति, जातपात, घरबार, खेतीपाती, मृत्यु संस्कार आदि विषयका नियम कानून संकलन गरी शास्त्र तयार गरे । फलस्वरुप काठमाण्डौं उपत्यकाका नेवारहरु ६४ जातमा बाँडिए । यस प्रकार नेपालका जुन जुन जातजातिहरु दक्षिणबाट आएका हिन्दूहरुको सर्म्पर्कमा आए उनीहरुले आफ्नो समाज र समुदायमा पनि वर्णव्यवस्थालाई स्थापित गर्ने कोसिस गरे । पछि आएर मगरहरुले पनि चितौडबाट लखेटिएका हिन्दू राजपुतहरुको संगतमा आफ्नो मगर समाजलाई थुप्रै खाले थर र उपथरहरुमा बाँडे । फलस्वरुप उनमा सहनाई फुक्नेदेखि जनाई -जनै) लाउनेसम्म मगरहरु पाईन्छन् । काठमाण्डौं उपत्यकाका नेवारहरुमा यस प्रकारको जातिय विभाजन पाइनु स्वभाविक नै थियो किन भने बाहिरी आक्रमणकारीको पहिलो लक्ष्य यही उपत्यका हुन्थ्यो ।

त्यसपछि यस प्रकारको विभाजन सबै भन्दा बढी मगरहरुमा पाईन्छ किन भने मगर समाज पनि हिन्दूहरुको समीपमा निकै रह्यो । पूर्वी नेपालतिर पनि विसं १८८२ सालतिर र्सर्मे सुनवार र धर्मे सुनवारहरु जस्ता अलिक टाठाबाठाहरुले शासकहरुको हुजुरमा-“हामी सुनवार जातिहरुले पनि ब्राहृमण रितीरिवाज गर्न पाउँ ।” भनेर बिन्ति थरेका थिए । फलस्वरुप, सुनवारमा पनि दशथरीले छोएको बाह्रथरीले नखाने यसरी ठूलो जात र सानो जातमा विभाजित छन् । डाޠहर्क गुरुङले आफ्नो किताब “विषय विविध”को पृष्ठ २२६मा लेखेका छन् -“कर्णली र गण्डकी प्रदेशबाट हिन्दू प्रभाव पूर्ब फैलिँदै गएपछि किराँतीहरुमा पनि जात विभाजनको छाप पर्न गयो । किराँती जातिमा यस प्रकारको सानो-ठूलो सामाजिक विभाजनका उदाहरण हुन् तामाङमा बाह्र जात र अठार जात, सुनवारमा बाह्रथर र दसथर, गुरुङमा चारजात र सोह्रजात, चेपाङमा पुकुन्थली र कछाडे, थारुमा प्रधान र अप्रधान, नेवारमा श्रेष्ठ र ज्यापू, मुस्ताङेमा कुताक र रिघिन तथा सर्ेपामा खादेव र खामेन्दु ।” वास्तवमा विगतलाई नियाल्दा के कुरा साफ छ भने कुनै माथि जातीय -वर्गीय) विभाजन बलजफ्ती लादिएको थियो र कुनैले चाहिं आफूखुशी यस प्रथालाई अंगाले । यसमा प्रमुख दोष त्यसताका शासकहरुको दुर्नियत र उनले सिर्जना गरेको सामाजिक अवस्थाको थियो ।

केही मात्रामा यस प्रकारको जातिय व्यवस्था गुरुङहरुले पनि सिके । कारण थियो गोर्खाबाट सुरु भएको नेपाल एकीकरणको समयमा गोर्खा वरिपरिबाट गण्डकी भेगका थुप्रै गुरुङहरु पनि पृथ्वी नारायणशाहको सैनिक सेवामा सामेल हुन पुगे । गुरुङसमाजमा यस प्रकारको बेथितीलाई बसाल्न केही अन्य भ्रमक तत्वहरुले पनि थप साथ दियो । जस्तै शिखरनाथ सुवेदीले सन् १९११ सालमा बनारसबाट छपाएको “थरगोत्र-प्रवरावली” नामक पुस्तक । यस पुस्तकमा काल्पनिक कथा-पण्डित भोजराजले तयार पारेको वंशावली)को भरमा गुरुङहरुलाई दुई वर्गमा विभाजन गरेको थियो । जसमा चार थरी गुरुङहरु चाहिँ राजा र पुरोहितका पुत्र हुन र बाँकी सोह्र जाते गुरुङहरु चाहिँ दास कमाराका पुत्र हुन भनेर भ्रमको खेती गरेका थिए । वास्तवमा यस्ता खाले भ्रमपूर्णकथाहरु उहिलै देखि गुरुङहरुमा प्रचार-प्रसार गरिएको र लादिएको पाईन्छ । यो किताब पुर्णरुपले गलत नियतले लेखिएको किताब थियो त्यस कारण गुरुङहरुले “थरगोत्र-प्रवरावली” नामक यस पुस्तकलाई प्रतिबन्ध लगाउन निवेदन गरेका थिए ।

र विक्रम संवत् १९७५ साल जेष्ट १ गतेको दिनमा भारादारीबाट गरेको जाहेरी फैसलामा लेखिएको छ कि- “चलि आयाका गुरुङहरुमा कोही थरी कमाराको सन्तान दासी पुत्र भनि नभयाको कुरा “थरगोत्र प्रवरावली” भने नामले छपायाको कितापमा लेषी छपायाको देषिया ठहरेको हुनाले नीजलाई सजाये गर्नलाई गुरुङ जातहरुको मजहपमा षलल हुने गरी लेषि किताप छपायाको हुँदा अदालतका ३७ नम्बरका ऐन बमोजिं निज सीषरनाथ सवीडीलाई तजवीज मो. रु. २० जरीवाना हुन्छ नीज हाल यस सह्रदमा नभै बनारसमा बस्याको बुझीयाको हुनाले सरहदमा फेला परेका बषत तीरे असुल गरी स्याहा दर्ने नतीरे ऐन बमोजिं कैद गर्नु भनि अदालत तहसीललाई लगत बुझाई दिने र गुरुङहरुका जातभात बिहावारीका हकमा लेषिया मुतावीक अघि चली आयाको बमोजिं गर्नु भनि सुनाई दीने गरी यो मुद्दा फैसला गर्ने ठहराई जाहेर गरेका छौं जो मर्जि हुकुं ।” माथिको फैसलाबाट सिद्ध हुन्छ कि शिखरनाथ सुवेदीले आफ्नो किताबमा गुरुङहरु बारे बुझ्दै नबुझी पुरानो वंशावलीको नकल गर्दै भ्रमपूर्णकथा रचे र गुरुङहरुमा विभाजन ल्याउने कोसिस गरे । तर सजग र विवेकी गुरुङहरुको पहलमा उनको यो चाल पनि सफल भएन । उल्टै उनको यो किताबले गर्दा उनलाई सजायको घोषणा भयो ।

यस्तै खाले एउटा अर्को भ्रमक कथाअनुसार जब तिब्बतबाट गुरुङहरु तल प्रवेश गरे तब केही गुरुङहरु हिमालय पारभन्दा दक्षिणको मैदानी भागसम्म पुगे र केही हिमालय पार गरे तापनि हिमालयको दक्षिणी माटोभन्दा तल झरेनन् । जुन गुरुङहरु दक्षिणी मैदानमा पुगे ति हिन्दू धर्मको प्रभावमा आए र जो त्यहाँ पुगेनन् तिनमा हिन्दर्ूधर्मको प्रभाव परेन । उनीहरुमा पहिले बोन धर्मको प्रभाव थियो भने आज बौद्ध धर्मको प्रभाव छ । दक्षिणबाट घुमेर गुरुङहरु हिन्दू भएर यहाँ आए भने उत्तरबाट सोझै आउनेहरु अहिन्दू नै रहे । सम्भवतः र्सवप्रथम दक्षिणबाट आउनेहरु चार हुल थिए र उत्तरमा रहेका अहिन्दू गुरुङहरु सोह्र हुलमा विभाजित थिए । आफ्नो पूर्बइतिहासको ज्ञानको अभावमा वा राज्य खडा गर्ने लोभको कारणले गर्दा यिनीहरु आपसमा लडे र त्यसैको कारणले गर्दा यिनीहरुमा चार जात र सोह्र जातको भेद उत्पन्न भयो । तर यो तर्क पनि निराधार छ । हुन त यस कथालाई निकै होसियारीका साथ रचेका रहेछन् । तर हामीले बझ्नु पर्ने तथ्य के हो भने यस कथा अनुसार त चारजात गुरुङहरु हिन्दू हुन र सोह्र जात गुरुङहरु बौद्ध धर्मावलम्बी हुन । जो सरासर गलत छ । खास कुरो के हो भने जो गुरुङहरु आफ्नो समाज देखि टाढा पुगे र हिन्दू समाजको नजिक रहे उनीहरुमा केही मात्रामा हिन्दू संस्कारले प्रवेश पायो जस्तै पुर्बी नेपालका गुरुङहरु । तर जो गुरुङहरु आफ्नो समाजमै रहे उनीहरुले आफ्नै संस्कार र संस्कृतिलाई हुर्काउँदै लगे र अहिन्दू नै रहे ।  यस कारण माथि उल्लेख गरिएको कथामा पनि दम छैन र यो कथा सरासर भ्रमको खेती हो भन्ने बुझिन्छ ।

अन्त्यमा यो भन्न सकिन्छ कि गुरुङ समाजमा व्याप्त चार र सोह्रजातसित सम्बन्धित भ्रम केहि पनि होइन मात्र केही अविवेकी गुरुङहरुको आफूलाई अन्य गुरुङहरु भन्दा उच्च र ईज्जतदार देखाउने प्रयास मात्र थियो । साथै गुरुङहरुमा विधमान मेलमिलापको भावनालाई खलल पुर्‍याउन चाहन्ोहरुको चलखेल थियो । जसमा शाहवंशीय राजाहरुको हिन्दूकरणको नीतिले आगोमा घ्यूको काम गर्‍यो । र केही समयको लागि भए पनि यस समस्याले गुरुङ समाजलाई आक्रान्त पार्‍यो । त्यसताकाका गुरुङ समाजमा यस प्रकारको प्रयास मात्र छणिक परिवर्तन थियो जो उनले आफ्नो वरिपरिका हिन्दू समाज बाट लिएका थिए । बिस्तारै गुरुङहरुमा फैलिएको सकरात्मक परिवर्तनले यस प्रकारको भ्रमलाई सजिलै चिर्न मदत गर्‍यो र फलस्वरुप आजको गुरुङ समाजमा यस प्रकारको विकृतीप्रति कुनै लगाव र रहर बाँकी रहेको पाइँदैन ।

अब बाँकी जिम्मा हामी युवा पुस्तामा छ, हामीले पनि हाम्रा पूर्खाले झनै यस प्रकारका गल्ती र भ्रमहरुबाट हाम्रो गुरुङ समाजलाई जोगाएर राख्नु पर्ने हुन्छ । हरेक अप्ठ्यारो स्थितिको सामना विवेकपूर्णढंगले गर्दै यो गुरुङ समाजलाई उन्नतितिर लैजानु नै हाम्रो कर्त्तव्य हो ।

तमुसमाज.कम बाट

Last Updated on Monday, 25 January 2016 14:17

Hits: 44306

लाहुरेको रेलिमै फेसनै राम्रो -कथा

बिजय हितान,

-सभागृह खचाखच भरिएको छ पल्टनियाहरूले । लाउरेनी दिदिबैनीहरूको कसैको गुन्यु चोलोले, कसैको सारी चोलोले, रङिन बनेको छ त्यो दिउँस । लाउरे दाजुभाईहरू उभिएका छन् प्रबेसद्वार र बार नजिकै, हातमा पेय पदार्थको प्याला समातेर, एक आपसमा भलाकुसारी गर्दै । कोहि आफ्नो पल्टनको ब्याज अङ्कित हरियो/निलो ब्यारेट क्याप र ब्लेजरमा । कोहि पल्टनको टाइ बाँधेर गोर्खा ह्याट ढल्काएका ।

मन्चको पिछाडी भित्तामा तुल झुन्डाइएको छ, लेखिएको छ 'दुइ सताब्दी समारोह- गोर्खालीहरू ब्रिटिश सेनामा-1815-2015' ।

चालिसको देखिने नरेश देब्रेहातले रेजिमेन्टल टाइ मुसार्दै, दाइने हात अगाडी बढाएर 'अरे नी हो गणेश दाइ ! के छ ? आरामै ?' भनेर गणेशसँग हात मिलाउँछ ।गणेशलाई नरेशको हात रोबोटको जस्तै सार्हो लाग्छ । अफ्गानिस्तान युद्दमा तालेबानको आइइडीले उडाइदिएपछी जडान गरेको उसको कृतिम हात, किन साह्रो न हुनु नी ।

'सन्चै छू, धेरै बर्ष भयो हाम्रो भेट नभएको, होईन नरेश भाइ ?' गणेशले पेन्सन जानुभन्दा अघिका ती पल्टने दिनहरू झल्यास्स सम्झियो ।
गणेश पल्टनबाट निस्कने साल नरेश भर्खरै रेक्रुट तालिम सिध्याएर पल्टन आएको थियो । सुरुका बर्षहरुमा नयाँ सिपाही एक नयाँ बुहारिजस्तै ठानिन्छन । गणेशले रमेशलाई आफ्नै कम्पनिमा कतै भेटेको हुनुपर्छ त्यतिबेला । फक्ल्यान्ड युद्दमा खुकुरीको चमक टल्काउन्दै अर्जेन्टिनी सैनिक सँग 'कातर हुनु भन्दा मर्नु निको' भन्दै गोर्खालीको सान राख्दै लडेर, बेलायती उपनिबेस कायमै राख्न ठुलो भूमिका खेलेको थियो गणेशले ।
यद्धपी उसलाई त्यसको केही बर्सपछी हवाइकान्डमा सम्पुर्ण सपोर्ट कम्पनिका सदस्यसहित खालिखुट्टा घर पठ्याइएको थियो । अमेरिकाको हवाइ टापुमा जंगल एक्सर्साइज भैरहेको बेला पाउनुपर्ने सामान्य वेलफेरबाट बन्चित हुनुपर्दा, सिपाहीहरूले गरेको बिद्रोहमा परेको निर्दोस गणेशका खुट्टा खालिरहे होलान् । पाउनुपर्ने पेन्सन नपाउँदा उसका गोजिहरुपनी खालिनै रहे होलान् । तर युद्द भुमिमा पड्किएका गोलाबारुदका आवाज, रगत् बगाउँदै मृत्युलाई कुरेका सहयोद्दाका क्रन्दन र भेदभावपूर्ण ढंगले नोकरिबाट निस्कनु परेका चिन्ताले भरिपुर्ण उसका मस्तिस्क भने कहिल्लै खाली रहन सकेन । त्यसैले त बन्दुकका आवाजलाई बिचारका छालहरूमा परिवर्तन् गर्दै गणेशले कलम अगाडी सारेको थियो पल्टनिया जिवन पछिका दिनहरुमा ।
'दाइ मैले हजुरको- राइफलको नालबाट जीवन् नियाल्दा, राइफलले फलाकेको जिन्दगी, युद्द एम्बुसमा राइफलको संगित, राइफलको मुर्छना जस्ता सबै कृतिहरू पढेको छू । आज दुइसय बर्ससम्म ब्रिटिशको राइफल समात्ने हामिजस्ता सबै गोर्खालीको समस्या, बेदना, पीडा के थिए? मैले तपाइँका उपन्यास र कबिता कृतिहरूबाट बुझेको छू ।' हल भित्रको सुसज्जित मन्चतिर आँखा लगाउँदै नरेशले आफु गणेशको एक सुभचिन्तक पाठक भएको परिचय दीएको थियो ।
मन्चको माइकबाट बिर्गेड अफ गोर्खाजको ब्यान्डले बजाएको 'लाउरेको रेलिमै फेसनै राम्रो.....' मधुर धुन गुन्जायमान हुँदै थियो ।
त्यतिनैखेर रक्षा हलभित्र प्रवेस गरे र नरेश अनी गणेशको समूह नजिकै आइ सबैलाई पल्टनिया अभिबादन टक्र्याए ।
'मलाई त ऐले रेक्रुट तालिम गर्दै गरेको सम्झना आयो, हरेक सुक्रबार साँझ प्लाटुन पोस्टमा यस 'लाउरेको रेलिमै.....' गितमा हामिहरू नाच्थ्यौँ । यहि गीत पीटीआइ गुरुजीसँग गाउँदै, भारी बोकेर ढाक्रे कुंददै गर्दा, पसिना झार्दै बाटो काटेको पत्तै हुने थिएन ।' नजिकैको साउन्ड बक्सतीर कान थाप्दै रक्षाले त्यस धुनप्रतिको आफ्नो अनुभव सबैसँग बाँडेका थिए ।
त्यतिनै बेला देबेन्द्र हलको कुनाको एक झुन्डबाट चूइटिंदै गणेशको झुन्डमा सामेल भएर दुई हात जोड्दै भन्यो - 'सबैलाई राम राम छ है; साहेब, गुरुजी, र भाइहरू । यस धुनमा त हामिले कतिचोटी दसैंमा खुकुरी नाँच प्रदसन गर्यौं । ब्यान्ड बाजाले बजाएको यसै मिठो धुनको साथ पास अफ परेडमा ड्रिल पनि खेलेउँ । को थिए होलान् यस्ता काल्जयी गितका गायककार, हँ ?'
दुइ सय बर्षको गोर्खाली इतिहाँस कति गहिरो छ । बिडम्बना, यसको गहिराइ ती इतिहासका रचयिताहरूलाई नै थाहा छैन् । लाहुरे जिन्दगीको हरेक पद्चापमा बज्ने ' लाहुरेको रेलि मै...’ धुन । लाहुरेको जिब्रो-जिब्रोमा झुन्डिएको ' लाहुरेको रेलिमै....’ गीत । यस गितका रचयिता को थिए? कसले र कैले गाइएको थियो? लाहुरेलाई नै थाहा नहुनु हास्यस्पद्द होईन र ! सायद् गणेशलाई यस्तै महसुस भएको थियो ।
दुइसय बर्षको इतिहास बनाएर एक युगनै जन्मेको छ । जसले एउटा छूट्टै लाहुरे संस्कार र सँस्क्रिती जमाएको छ पहाडका टाकुरामा हिउँ जमे जस्तै । यो संस्कार निस्पछ्यता, समानता र भेदभावरहित परिस्थितिमा भन्दा पनि; पच्छ्यपात,असमानता र भेदभावमा रुमलिएर निर्माण भएको छ एक ज्वालामुखी पहाड झैँ । यसैले आफैले कोरेको यस्तो बिबिध इतिहासबाट अनभिग्य लाउरे समुदायलाई झक्झक्याउन गणेशका कलमहरू आजकल सल्बलाइरहेका छन ।
लाहुरे स्रस्टाद्वारा रचित संगित तथा युद्द साहित्यलाई नजिकैबाट नियाल्दै त्यसैमा कलम चलाउँदै आएका गणेशले, 'लाहुरेको रेलिमै...' झाउरे गितका गायक अरु कोहि नभै आफुहरुजस्तै एक लाहुरे स्रस्टा मास्टर मित्रसेन थापामगर भएको त्याहाँ उपस्थित लाउरे दाजुभाईहरूलाई बोध गराएका थिए ।
गणेशले हरियो ब्लेजरको खोल्तिबाट कागजको चिर्पटो नेकालेर पढे- 'मित्रसेन पहिलो बिस्वयुद्दमा फ्रान्स पुगेका थिए, जर्मनसँग लड्न, १/१ जी आर को एक सदस्य भएर । कस्तो अचम्म थियो- उनको रास्ट्रियता थियो नेपाली, जन्म र कर्मथलो थियो इन्डिया, लडिदिएका थिए बेलायतको लागि, लडाईंको सिल्सिलामा पुगेका थिए फ्रान्स, बैरी थिए जर्मन । बी कम्पनी ओ सी का उनी रेडियो सिग्नलर थिए लँडाइमा । जर्मन फौजलाई अगाडी बढ्न रोक्ने क्रममा, काँजे ओ सी को गल्ति रणनितिले गर्दा सब्बै बी कमपनिका सदस्यहरू सोत्तर भएको मित्रसेनले आफ्नै आँखाको अगाडी देखेका थिए । त्यो रक्तपात उनको अगाडी कालीमाइ बनेर हरेक रात् सताउँथ्यो ।'
गणेशले अगाडी भने- 'मित्रसेनले ओ सी लाई सल्लाह त दिएका हुन नी- एक घन्टा ढिलो जर्मनको प्लाटुनलाई आकर्मण गर्ने भनेर, आकासमा मँडारिन्दै गरेको कालो बादललाई देखि केही छिन् पछि पानी पर्न सक्ने सम्भावना देखेर । पानी पर्दै गरेको बेलामा आकरमण गरे दुस्मनले चाल् नपाउने र पानीमा दुस्मनको चाल् ढिलो हुने भएकोले । उनले बर्सात हुँदै गर्दा आकर्मन गर्ने सुझाव दिएका थिए । ओ सी ले हतारमा निर्णय गर्यो, धैर्यता लिन सकेँन, बढे अगाडी जवानहरू ओ सी को आदेसलाई सिरोपर गर्दै । फल्सरुप बी कम्पनी जर्मनको गोलि र ग्रिनेडका निसाना बने । ढले ड्वाम्म ड्वाम्म बिचराहरू भुइँमा, रेन्जमा फिगर यट टार्गेट जस्तै । उछिट्टिए साथिहरुका रगतका छिर्काहरू मित्रसेनका कम्ब्याट पोसाक भरी । रहिरहे ती छँणहरू मित्रसेनका सम्झनामा एक भयानक दुखद घटनाको दाग बनेर । त्यतिमात्रै कहाँ हो र! भर्खरै बिबाह गरि छोडेकी श्रीमतीलाई चार बर्षसम्म भेटन नपाउँदा , चिट्ठी पत्र पनि नआउँदा, उनको मायाले मित्र सेन त पागलै भएका थिए ।'
देब्रे हातले गोर्खा ह्याटको च्यापुको फितालाई मिलाउन्दै गणेश अझ अगाडी भन्दै गरे- 'त्यसैले त चारबर्से युद्दकालबाट फर्कनासाथ छोडिदिए नोकरी र लागे नेपालि साहित्य र संगितको सेवामा । लेखे गीतहरू । भरे आफैले मादल्, हार्मोनी र बाँसुरीको संगित र गाए लोकभाकामा गीतहरू । अनी नेपालि सङितलाई धनी बनाए सय वोटाजती गीतहरू गाएर । एक नौलो झाउरे लयनै प्रतिपादन गरे । लाउरे सधैं बन्दुक मात्रै बोक्दैनन कलम पनि चलाएर इतिहास रच्नु पर्छ भन्ने मान्यतालाई सिरोपर गर्दै उनले दर्जनौ खन्डकाब्य, कथा, निबन्ध पनि लेखे । गोर्खाली समाजमा बिद्यमान कुरुतीहरू- तास जुवा खेल्ने, रन्डिबाजी गर्ने, रक्सी पिउने- हटाउनु पर्छ भन्ने मान्यताले अरु दर्जनौ नाटकहरू रचना गरि मन्चन गर्दै इन्डिया र नेपाल् भ्रमण गरे । नेपाल् भ्रमणको क्रममा रास्ट्रियताले ओतप्रोत भएपछी दौरासुर्वाल र बिर्खे टोपी मर्दासम्म लगाउन छोडेनन । '
यति भन्न गणेशले के भ्याएका थिए, लाउरे साहित्यमा रुचि राख्ने रक्षाले 'त्यसो भए मित्रसेन त नेपालका भानुभक्त जस्ता रहेछ्न' भनेर धारणा ब्याक्त गरिहाले उत्तिफेरै ।
सभाग्रिह्य यतिखेर भिडले लट्ठिसकेको थियो । प्रतिभा प्रतिस्ठानले आयोजना गरेको सत बार्सिकी कार्यक्रममा लाउरेका इतिहासलाई र युद्दहरुमा बिरगती पाएका तथा बहादुरी कमाएका पुर्खाहरूलाई सम्झने थुप्रै कार्यक्रम् भैरहेका थिए ।
यसै क्रममा:
निस्के भुपु क्याप्टेन बिरबहादुर मन्चमा, बिर्खे टोपी र दौरासुरुवालमा मित्रसेन बनेर । मादलमा साथ दिए पहलसिङले । बाँसुरिमा कुलबहादुर र हार्मोनिमा तुल्सी । बिरबहादुरको गलाले गुन्जियो सभाग्रिह्य- लाहुरेको रेलिमै फेसनै राम्रो, रातो रुमाल रेलिमै खुकुरी भिरेको.... । यस गितले एक्चोटि फेरि पुर्याहोला कसैलाई मालायाको सुङाइ पटेनी, कसैलाई सिङापुरको गोर्खा कन्टिजेन्ट, कसैलाई भारतको देहरादुन र गोरखपुर छावनी । कसैले सम्झेहोलान ब्रुनाइ को टुकर लाइन र हङ्कङको टिडिबिजी तालिम केन्द्र ।
भिडले शान्तसँग सुनेको थियो यो गीत । तालीको गडगडाहट अनी मादल को घिन्ताङ.. नाकिनी.. घिन्ताङ... संगै यो गीत अन्त्य भएको थियो । त्यसपछि बिरबहादुरले लगातार गाएका थिए अर्को गीत- छत्रे टोपी झम्काइ खुकुरी चम्काइ, लाउरे पुगे रेलिमै बैरीसँग लड्नलाई... । बिरबहादुर फेरि अर्को मित्रसेनको गीत पस्के- मलाई खुत्रुक्कै पार्यो जेठान तिम्रो बैनीले.... । त्यतिनै बेला भिडबाट अतिनै रमाइला दसैँमा जोक्स सुनाएर हँसाउने दिपक कराएका थिए- मलाइ खुत्रुक्कै पार्यौ ब्रिटिश तिम्रो भेदभावले- भन्दै । हलका मान्छे सबै गलल हाँसेर ताली पिटेका थिए ।
कार्यक्रमको बिच् बीचमा यति लामो गोर्खाली इतिहासले जन्माएको अवसर र दु:खहरूलाई केलाइएका गीत, गजल्, कबिता, लेख इत्यादी बाचन र अन्य साँस्कृतिक नाँचहरू पर्दसन गर्दै बहादुर भी सी पुर्खाहरूलाई स्रदान्जली दिएर कार्यक्रम् सिद्दिएको थियो ।
अब दाइको साहित्यिक कलम कतातिर लम्कदै छ त भन्ने सुभचिन्तकहरूको जिज्ञासालाई 'अब भयो भने 'लाहुरेको रेलिमै' सिर्सकमा उपन्न्यास लेख्ने बचनको साथ् गणेश पल्टने साथिहरुबाट अन्तिम बिदा भएको थियो त्यस अबिस्मरनिय समारोहबाट ।
मान्छेहरू हलबाट बिस्तारै निस्कदै थिए । पिछाडी मन्चतिरबाट उही 'लाहुरेको रेलिमै फेसनै राम्रो... ' मधुर धुन गुन्जन्दै गरेको सुनिन्थ्यो ।

Last Updated on Thursday, 31 December 2015 15:05

Hits: 1021

खस जाती र प्रक्रिती पुज्ने उधौली पर्बको सम्बन्ध

टेक बहादुर थापा

 खस जाती नेपालको एक प्राचिन जाती हो | सिन्धु नदीले बनाएको सिन्धु उपत्यकाको वरपर स्थापित सभ्यता कांस्य युग -ईशापूर्व ३३०० देखि १३००० मानिन्छ। यो सभ्यताको उन्नत अवधि हरप्पाको युग हो। हालको उत्तर पूर्वी पाकिस्तानको पञ्जावमा हरप्पाको सभ्यता देखिएको हो। त्यहाँ आर्य जातिको बसोबास देखिनु पहिले नै खसहरु नेपाललगायत हिमवत् क्षेत्रमा अस्तित्वमा रहेका थिए |रामायण महाभारतकालेदेखि प्रसिद्ध तथा सातौं आठौं शताब्दीदेखि पश्चिमी नेपालको विस्तृत पहाडी प्रदेशमा शासन गर्दै आएको वीरता र सभ्यताका निम्ति परिचित जाती खस हो |

खस एउटा जाती मात्र होइन महाजाती अथवा नश्ल हो | थापा, बस्नेत, खड्का लगायत केहि थरहरु चाही वास्तबमा थर नभएर प्रजाती रहेछन |किन भने थापा, बस्नेत , खड्का, कार्की आदिको एतिहासिक राज्य भेटिएको छ, त्यसैले आफ्नो राज्य समेत चलाईसकेका मानव समुदायहरु स्वत जातीमा रुपान्तरित हुन्छन | बस्नेत एउटा प्रजाती हो ,बस्नेत भित्र पाच वटा थर रहेका छन् |त्यसैगरी कार्की प्रजातीका पनि पाचवटा थर रहेकाछन, खड्का प्रजातिका चौबिस थर रहेकाछन भने थापाका उन्पचास थर रहेका छन | आज मंसिरे पुर्णिमाको दिन हामी खस महाजाती भित्रका बिभिन्न प्रजाती र थरहरुले कतै गोठको धुप त कतै मष्टा पुजा( दिवाली ) गर्ने प्राचिन परम्परा रही आएको छ | दिवाली र गोठको धुप मष्टा धर्मको मुख्य पुजा हो | यस मंसिरे पुर्णिमालाइ खसहरुले उधौली पर्बको रुपमा परापुर्ब काल देखि मनाउदै आएका छन् | आजकै दिन प्रथम खस सम्राट नागराज जबेश्वोर जाडो छल्न जुम्ला दरबारबाट दुल्लु दरबार झर्ने प्रचलन समेत रहेको थियो | मष्टा धर्मलाई कसैकसैले बोन धर्म पनि भनेका छन् | मष्टा धर्म पश्चिम नेपालको खस साम्राज्य स्थापना हुनुभन्दा धेरै अघि देखि अस्तित्वमा रहेको देखिन्छ | मष्टालाइ निराकार देवताकारुपमा पुजने गरिन्छ | खस जातिका मुख्य देवता मष्टा देवता हुन् | जसलाई कुलदेवता पनि भनिन्छ | जम्मा १२ भाई मष्टा भएको मानिन्छ | ती हुन्, १, ढडार मस्टो,२.खापर (खप्तड) मस्टो ३, तेडी मस्टो ४, कवा मस्टो ५, कलासिला मस्टो ,६ रुमाल मस्टो ७ , बुडू मस्टो ८, थार्प मस्टो ९, गुरो मस्टो १०, दाह्रे मस्टो ११, दुधे मस्टो १२ बाबिरो मस्टो | बाह्र भाई मष्टाका चौरासी भेद रहेका छन् | अर्थात् बाह्र भाई मष्टालाइ चौरासी भन्दा अधिक नामले पुकार्ने चलन छ | बाह्र भाई मष्टाका नौ बहिनी देबी भएको मानिन्छ | मष्टा पुजाको बखत ती नौ देबीको पनि पुजा गर्ने चलन छ |तिनको नाम यस प्रकार छ -विन्ध्यवासिनी,कालिका मालिका,जलपा,मण्डाल्नी,ठिन्गेलनी,चुगेल्नी,पुगेल्नी,खेसमालिनी,दुगेल्नी,कन्कसुन्दारी,त्रिपुरासुन्दरी आदि हुन् | मष्टा देवताको दुइ रुप मानिन्छ | बलि चढ्ने र बलि नचढ्ने | बलि चढ्ने मष्टलाई सेतो वा कालो बोकाको बलि चढ्छ भने बलि नचढ्ने मष्टालाई दुधको खिर पकाएर चढाउने गरिन्छ |यो मष्टा पुजामा दुइ धामी हुन्छन, मामा र भानिज | मामाले बोकाको भोक खान्छन भने भानिजले भेडाको भोक खाने गर्छन |मष्ट पुजा र गोठ धुप खसहरुको महत्वपूर्ण संस्कृतिक धरोहर मानिन्छन | यी दुवै पर्बमा खसहरुलाई ब्राम्हण पुरोहितको आबश्यकता पर्दैन | यो उधौली पर्ब खस र किराती जातीको आफ्नो मौलिक पर्ब हो | प्रकृति पुजक किरातहरु पहिलो पाकेको अन्नवाली आफनो पुर्खा, ईष्ट देवता प्रकृतिलाई चढाएर मात्रै खाने गर्दछन् । त्यसैले अहिले पुर्वका किराती वस्तीका किरातीहरु आ-आफनो मौलिक परम्परा अनुसार उधौली पर्व मनाईरहेका छन् । मंसिरे पुर्णिमाका दिन पुर्वमा वसोवास गर्ने चार किरातहरु राई, लिम्वू, याक्खा र सुनुवारले न्वागी पुजा गर्दे उधौली पर्व मनाउने गर्दछन् । मंसिरपुर्णिमालाई सरकारले किरात चाड भन्दै सार्वजानिक विदा दिए पछि यो उधौली पर्वले थप महत्व पाउदै आएको छ । पुर्वमा विषेश गरी किरात लिम्वूहरुले मंसिरपुर्णिमालाई चासोक तङनाम भनेर धुमधामका साथ मनाउदै आएका छन् । आजको दिन नेपाल र भारतका बिभिन्न ठाउमा छरिएर रहेका खसहरुले कहिँ मष्ट पुजा गरेर त कहिँ गोठको धुप गरेर उधौली पर्ब सम्मपन्न गर्दैछन | खस नश्ल भित्रको ठकुरी, झर्रा क्षेत्री, खत्री क्षेत्री, केहि पश्चिमा कुमाई बाहुन र खस शिल्पी (दलित )हरुले यो उधौली पर्ब मनाउने चलन छ |जस्तै आज भोजपुर देउरालीका पुवार खड्का,गुल्मीका खबतरी बस्नेत भक्तपुर जौखेलका थापा,भक्तपुर थाथालीका बुढाथोकी, नैकाप काठमाडौँका सुतार र मुडुला कार्की, सल्यान्थान /झुल्पोखरीका दाहाल र रुपाखेती , ललितपुर लुबू का बोहरा र महतारा, कोटेश्वर काठमाडौँका बोहरा,अर्गखाची सन्दिखर्कका पौडेल र भक्तपुर् गुन्डुका खुलाल बस्नेतहरुले प्रत्यक तीन बर्षमा एकपटक गरिने दिवाली ( कुल पुजा )गर्दै हुनुहुन्छ | त्यसै गरि भोजपुर देउराली दाङ्गसिङ्ग जोरका लामिछाने थापाहरुले गोठको धुप गरेर आफ्नो मौलिक मष्टा धर्मलाई निरन्तरता दिदै हुनुहुन्छ भने दार्जीलिंगका खसहरुले मष्टा पुजा गरेर उधौली मनाउदै हुनुहुन्छ |सय भन्दा बढी प्रजाति र हजार भन्दा बढी थर भएका खसहरुले क्षेत्रपालको रुपमा आफ्ना कुल देवताको पुजा गरेर शक्ति प्राप्त गर्ने बिश्वासका साथ गरिने यस महान सास्कृतिक पर्बका पुनित उपलक्ष्यमा सम्पूर्ण मष्ट धर्म अबलम्बि प्रकृति पुजक खस तथा किराती आमा, बुवा, दाजु, भाई तथा दिदी, बहिनीहरुमा हार्दिक मंगलमय शुभकामना टक्रयाउदछु | यस महान अबसरमा सम्पूर्ण मानब जातीको रक्षा र भलाईको लागि खस कुलका बारभाई मष्टा देवतासंग दश औला जोडी प्राथना समेत गर्दछु | जय मष्टा !

लेखक - खस अन्तर्राष्ट्रिय समन्वय समाजका संयोजक हुन |

Last Updated on Friday, 25 December 2015 22:01

Hits: 1368

ल्होसार के हो ?कसरी मनाइन्छ ? तमु ल्होसारको नाली बेली

लालबहादुर तमु

भूमिका
भौगोलिक रुपमा सानो भुपरिवेष्ठित राष्ट्र नेपाल बहुजाती, बहु भाषी, बहु धार्मिक बहुसाँस्कृतिक विविधताले सुसुजित छ । आर्य, द्रविड, मंगोलियन नश्लको संगमभूमि एवम् बहुराष्ट्रिय नेपाललाई साझा फूलबारीको रुपमा चित्रण गर्ने गरिन्छ ।

१२५ जातजाती १० भन्दा बढी धर्मावलम्बी, १ सय भन्दा बढी भाषा भाषी रहेको स्वर्गको उपमा पाएको राज्यमा विगत सयौ वर्ष देखि राज्यसत्ताले कसैलाई काखा र कसैलाई पाखा गरिदै आएको छ । जसले गर्दा जातीय, भाषिक, साँस्कृतिक, क्षेत्रीय, लिंगिय, वर्गीय विभेद एवम् उत्पीडनको श्रृङ्खलाको निरन्तरता यद्यपी कायम छन् । तिनै उत्पीडित आदिवासी जनजाति भित्र पर्ने तमु (गुरुङ) समुदाय नेपालको जनगणना अनुसार ११ औं ठूलो जाती हो । मानव सभ्यताको विकासको चरणमा नेपाल राज्य निर्माण हुनुपूर्व वर्तमान कालि गण्डकी र बुढीगण्डकी विचको भूभागमा घुमन्ते शिकारी पशुपालन अवस्था पार गर्दै कृषि यूगको थालनी सँगै आफ्नो छुट्टै पृथक पहिचान झल्कने मूल्य मान्यताको विकास गरेको तमुहरुको संस्कार र संस्कृतिबाट प्रष्ट हुन्छ । पृथक साँस्कृतिक रुपमा सम्पन्न तमु समुदायले मान्ने महान् ऐतिहासिक साँस्कृतिक महिमा बोकेको ठूलो पर्व ल्होसार हो । ल्होसारको अर्थ नयाँ वर्ष हो । ल्होसारमा सबैजना एकै ठाउँमा भेला भई स्योकैं वनभोज खाएर नाचगान गरी धुमधामसँग मनाइन्छ । पछिल्लो समय तमु जातीको आफ्नो स्वतन्त्रता स्वाभिमान र अधिकारको आन्दोलनबाट ल्होसारलाई नेपाल सरकारबाट सार्वजनिक विदा दिए पछि गैर तमुहरुले पनि साझा पर्वको रुपमा ल्होसार मान्दै आएको पाउन सकिन्छ ।
ल्होसार के हो ?
नेपालमा तमु, तामाङ, शेर्पा, थकाली लगायतका जातीहरुले ल्होसार मान्दछन् । तर ती जातिहरुले मान्ने ल्होसार पर्व फरक फरक छन् । नेपालमा तीन प्रकारको ल्होसार मनाउने गर्दछन् । पुष १५ मा तमु समुदायले मनाउने ल्होसारलाई तोला ल्होसार भनिन्छ । त्यसैगरी माघ शुक्ला प्रतिपदामा मनाइने तामाङ लगायत पश्चिमी तिब्बतीहरुले मनाउने ल्होसारलाई सोनाम ल्होसार र फाल्गुण शुक्ला प्रतिपदामा शेर्पा लगायत पूर्वी तिब्बतीले मनाउने पर्वलाई ग्याल्पो ल्होसार भनिन्छ । तमु समुदाय प्रकृतिवादी भएकोले प्रकृतिका जीव जन्तु र पशुपंक्षीलाई साँस्कृतिक प्रतीकको रुपमा लिएको पाइन्छ । प्रकृतिका १२ वटा प्रजातिहरुलाई ल्हो –वर्ग)को प्रतिक मानेको पाइन्छ । १२ वटा वर्गमा क्रमशः मुसा –च्यु), गाई (ल्वों), बाघ –तो), बिरालो –हिय), गिद्ध –मुप्रि), सर्प (सप्रि), घोडा, (त), भेडा –ल्हु), बाँदर (प्र), चरा –च्हय), कुकुर (खि) र मृग –फो) हुन् । जुन एक देखि १२ सम्म एक अर्कामा दाहिनेबाट निरन्तर हरेक वर्ष एउटा वर्गबाट अर्काे वर्गमा घुमिरहन्छन् । एउटा चक्र पार गरेपछि पुनः दोहोरिएर घुमिरहन्छ । एशियाका प्राय आदिवासी जनजातिहरुमा ल्हो पद्धति प्रचलित छ । ल्होसार दुई शब्द मिलेर बनेको छ । ल्हो को अर्थ वर्ग जसलाई वर्ष मानिन्छ । र सारको अर्थ नयाँ भन्ने हुन्छ । तसर्थ ल्होसारको वास्तविक अर्थ नयाँ वर्ष हो । तिब्बती भाषामा ल्हो को अर्थ वर्ष र सारले नयाँ जनाउँदछ । जसले गर्दा चिनियाँ तिब्बतीहरुले ल्होसारलाई नयाँ वर्षको रुपमा मनाउने गर्दछन् । तमु भाषामा लो को अर्थ वर्ग र छारले नयाँ भन्ने हुँदा ल्होछार पनि भन्ने गरेको पाइन्छ । भाषा विज्ञानका दृष्टिले तिब्बती सभ्यताको मूल शब्द ल्होसार भाषिक विकास र रुपान्तरणको चरणमा तद्भव शब्दको रुपमा ल्होछार भएको मत पनि पाइन्छ । हिन्दुहरुले बडा दशैं, विजयादशमी, तिहार, दिपावली शब्द फरक फरक प्रयोग गरेता पनि त्यसको अर्थ र संस्कृति एउटै हुन् । यी सबै शब्दहरु स्थापित भएकाले पर्यायवाचीको रुपमा लिने गर्दछन् । त्यसरी नै ल्होसार र ल्होछार शब्द फरक भए पनि अर्थ र संस्कृति तथा महिमा एउटै हो । भाषा विज्ञानको नियममा भाषा हरु तल माथि भइरहन्छन् । तसर्थ यसलाई पर्यायवाची शब्दको रुपमा ग्रहण गर्न उपयुक्त हुन्छ । यी दुई शब्दलाई लम्बेतान बहस गरी भ्रम सिर्जना गर्नु र गराउने काम हामीले गर्नु हुँदैन ।
ल्होसार कसरी मनाइन्छ ?
पुष १४ गतेको मध्य रात १२ बजेपछि पुरानो ल्हो सकेर नयाँ ल्हो को आगमन हुने हुँदा राती १२ बजे नयाँ वर्षको स्वागत गरिन्छ । क्होइवोमा वोन फायर गरी नयाँ वर्षको आगमनको संकेत गर्दछन् । पौष १५ गते बिहान १ अर्कामा शुमकामना साटासाट भेटघाट, ग्रहदशा नराम्रो रहेको बर्गले खेगीबाट रुपा लगाउने दिउँसो स्योकैं खाने नाचगान गरी धुमधामसँग ल्होसार मनाइन्छ ।

गाउँघरमा ल्होसार –
गाउँघरमा युवा आमा समूह भद्रभलाद्मीको अगुवाईमा स्योकंै खाने प्रचलन छ । तिहारमा देउसी भैलो खेल्ने र प्राप्त हुने रकम र अन्नपातले पुष १५ मा स्याकैं खाने गर्दछन् । यदि देउसी भैलो खेलेको छैन भने केटीहरुले चामल, रक्सी, घ्यू उठाउने र केटाहरुले मासुको व्यवस्था गरी स्योकैं खाने गर्दछन् । गाउँघरमा तमु गैर तमु सबै समुदाय सँगै ल्होसार मनाउने प्रचलन छ । ल्होसारको अवसरमा चेलीबेटी खाना खुलाउने चलन पनि रहेको छ ।

शहरबजार र विदेशमा ल्होसार –
शहरी इलाका र विदेशमा रहेका तमु संघ संस्थाहरुले ल्होसारको अवसरमा विभिन्न कार्यक्रमहरु खेलकुद, अन्तरक्रिया, शुभकामना आदान प्रदान, ¥याली, झाँकी, साँस्कृतिक कार्यक्रम चियापान आदि आयोजना गर्ने गर्दछन् । पुष १५ मा सामूहिक रुपमा स्याकैं खाने र धुमधामले ल्होसार मनाउँछन् । आजभोली ल्होसार पर्वलाई आफ्नो पहिचान र अधिकारको मुक्ति आन्दोलनसँग पनि जोडेर कार्यक्रमहरु आयोजना गरेको पाइन्छ ।

ल्होसारको वैज्ञानिक पक्ष
पश्चिमेली खगोलशास्त्री एवम् भूगोलवेत्ताहरुको अनुसार डिसेम्बर २२ तारिखका दिन पृथ्वीमा सबैभन्दा लामो रात हुन्छ । डिसेम्बर २३ देखि दिनलामो हुने क्रम शुरु हुन्छ । तमु ल्होसार पुष १५ डिसेम्बरको अन्त्यतिर पर्ने हुँदा दिन लामो हुने संकेत यसले गर्दछ । वैज्ञानिक यो मान्यता र हाम्रा तमु पुर्खाहरुको प्राचीन मान्यता करीब नजिक मान्न सकिन्छ । त्यसैगरी भारतवर्ष अनुसार माघ १ गते मात्र सूर्य मकर राशी सूर्य उत्तरायण लाग्दछ अर्थात् रात छोटो र दिन लामो हुने क्रम प्रारम्भ हुन्छ भन्ने मान्यता छ । पुष १५ र माघ १ पनि खासै फरक छैन । अरु समुदायले नयाँ वर्ष मान्ने क्रममा कसैले आफ्नो धर्मगुरुको जन्म दिन कसैले मन पर्ने राजाको सम्झनाको दिन लाई आधार मानेको देखिन्छ । तर तमु समुदायले नयाँ वर्षको दिन प्रकृति र समयको आधारलाई मानेर गरेकोले यो सान्दर्भिक मान्न उपयुक्त हुन्छ ।

ल्होसारको सा“स्कृतिक पक्ष
ल्हो –वर्ग), पार्ग हेरी कुन कुन सालमा कुन कुन वर्ग राम्रो÷नराम्रो साइत घर गोठ छाउने, बनाउने विवाह छेवर अर्घाै आदि कुन वर्गमा कुन दिन गर्ने भनी हेर्ने प्रचलन तमु समुदायमा रहेको छ । प्रकृतिवादी तमुहरुले १२ वटा जीवजन्तु र पशुपंक्षीलाई साँस्कृतिक प्रतीक मान्नु स्योकैं खाई सामूहिक मनोविज्ञान झल्काउनु, ल्होसारमा झाँकी, साँस्कृतिक नृत्य र भेषभुषा लगाउनु ग्रहदशा शान्तिको लागि रुपा लगाउनु ल्हो अर्थात वर्ग र पार्ग भिडाएर शुभ अशुभ फल बताउने चलनले प्रतीकवादको वकालत गर्दछ । तसर्थ यसको साँस्कृतिक महत्व बलियो देखिन्छ ।
यसरी मनाइदैछ प्र ल्होसार २०७२
विगतका वर्षहरुमा झै यस पटक देश विदेशमा रहेका तमु संघ संस्थाहरुले ल्होसारको अवसरमा साँस्कृतिक कार्यक्रम स्योकैं कार्यक्रम अन्तरक्रिया, खेलकुद आदि विविध कार्यक्रम आयोजना गरी मनाइरहेका छन् । यस पटक पोखरामा रहेका विभिन्न तमु सामाजिक, धार्मिक राजनीतिक साँस्कृतिक आदि संघ संस्थाहरु सामूहिक रुपमा एकजुट भई ल्होसार मनाउँदै छन् । यस पटक सबै तमु संघ संस्थाले पुष १५ सम्म आआफ्नो संस्थाको नियमित विभिन्न कार्यक्रम मनाउँदैछन् भने पौष १६ गते सामूहिक तमु प्र ल्होसार÷ल्होछार मूल समारोह समिति २०७२ को कार्यक्रमको आयोजना गरी एकता बद्ध भई ल्होसार मनाउन गइरहेको छ । यस पटक तमु ह्युल छोंजधी, गुरुङ राष्ट्रिय परिषद्, कास्की अध्यक्ष दलबहादुर गुरुङको संयोजकत्वमा तमु धिं नेपाल प्ये ल्हु संघ, बौद्ध अर्घाै सदन, ङ्योए तमु धिं लेखनाथ, गुरुङ फिल्म एशोसियसन नेपाल, तमु सञ्चारकर्मी संघ, तमु साँस्कृतिक प्रतिष्ठान, तमु प्राज्ञिक तथा व्यवसायिक मञ्च, तमु राष्ट्रिय मुक्ति मोर्चा, तमु संघ, लोकतान्त्रिक तमु संघ, तमु राष्ट्रिय मुक्ति मोर्चा (क्रान्तिकारी), संघीय तमु संघ, तमु प्रजातान्त्रिक संघ आदि तमु संघ संस्था यूवा विद्यार्थी महिला, मोर्चाहरु तथा विभिन्न समाजहरुको आयोजकको रुपमा रहेका छन् । पौष १६ गते चिप्लेढुंगाबाट झाँकी सहित ¥याली शुरु भई नयाँबजारको प्रदर्शनी केन्द्रमा पुगी साँस्कृतिक कार्यक्रममा परिणत हुनेछ । प्रल्होसार २०७२ को समुद्घाटन कार्यक्रममा प्रमुख अतिथिको रुपमा सम्माननीय उपराष्ट्रपति नन्द किशोर पुन –पासाङ) लाई आमन्त्रण गरिएकोछ भने सो कार्यक्रममा तमु अगुवा नेताहरुबाट शुभकामना आदानप्रदान हुनेछ । झाँकीलाई थप रौनकता थप्न आदिवासी जनजाति विच झाँकी प्रतियोगिता तमु संघ संस्था बीच सामूहिक नृत्य प्रतियोगिता सामाजिक संघ संस्थाका अगुवाहरुलाई सम्मान तमु कलाकार, खेलाडीलाई सम्मान तथा तमु कलाकारहरुको बेजोड साँस्कृतिक प्रस्तुती प्र ल्होसारको कोसेलीको रुपमा पस्कने कार्यक्रम रहेको छ ।

अन्तमा, प्र ल्होसार २०७२ ले तमु समुदायको दीर्घकालिन एकता समृद्धि विकास तथा पहिचान स्वाभिमान र स्वाधीनताको आन्दोलनलाई थप उचाईमा पु¥याउँदै सम्पूर्ण तमु लगायत उत्पीडित र विभेदमा पारिएको समुदायको राज्य सत्तामा समान पहुँच प्रतिनिधित्व र पहिचान कायम गराउन, समानुपातिक समावेशी सिद्धान्त लागु गराउन आइएलओ १६९, यूएनड्रिपको घोषणा लागु गराउन सामथ्र्यका चार आधार, पहिचानका पाँच आधारलाई राज्य पुर्नसंरचनाको आधार बनाउन दबाब दिन र वैदेशिक हस्तक्षेपको अन्त्य र सार्वभौम सत्ता सम्पन्न बहुराष्ट्रिय नेपाललाई स्वाधीन बनाउने अभियानमा देश विदेशमा रहेका सम्पूर्ण नेपालीहरुमा उर्जा मिलोस् भनी प्र ल्होछारको हार्दिक आँशिमाला ।

लेखक, तमु राष्ट्रिय मुक्ति मोर्चा (क्रान्तिकारी)का केन्द्रीय सचिव तथा नेपाल तमु (गुरुङ) विद्यार्थी छोज धीं को पूर्व महासचिव तथा संरक्षक परिषद्मा हुनुहुन्छ । प्रतिक्रियाका लागि This email address is being protected from spambots. You need JavaScript enabled to view it. , facebook.com/lbgurung

Last Updated on Wednesday, 30 December 2015 15:43

Hits: 1276

हिन्दू आर्य बाहुनद्वारा निर्मित संबिधानले कसरी अहिन्दू मुलवासी मङोलको कल्यान गर्ला ?

-जीवन मंगोल
नेपालमा संविधान लेखनको इतिहास धेरै लामो छैन । छोटो अवधिमा लेखिएको संविधान टीकाउ भएनन् र च्यातिए जलाइए । खरानी भए । आजसम्म ७ वटा संविधान बनेको रेकर्ड भए पनि अबको हालको संविधान पनि त्यही हिजोको संविधानभन्दा उत्कृष्ट र अजम्बरी बन्न सकेन ।अहिन्दू मूलबासी मंगोलहरुको अधिकारलाई हत्या गरेको संविधान उत्कृष्ट हुनै सक्दैन ।

 

लेखक 

अहिलेसम्म पढ्न पाइएका संविधानको मर्म र भावना हिन्दूवादभित्र गुजुल्टीएको छ । संविधान निर्माण हुनु ठूलो होइन त्यसभित्र समेटिने गुदी कुरा महत्वपूर्ण हुन्छ भन्ने मान्यतामा संविधान लेखनको इतिहासमा नेपाल यस्तो देश हो जहाँ दश वर्ष टिक्न सकेको देखिँदैन । २०४७ सालको संविधान एसियाकै उत्कृष्ट भनेर प्रचार गरिएको पुगनपुग १६ वर्षमै ध्वस्त भयो । एमएनओका कार्यकर्ताले दोलखाको चरिकोट र रुपन्देही जिल्लामा जलाउने काम गर्यो । यस संगठनका संस्थापक अध्यक्ष डा. गोपाल गुरुङले १९९० मै दरवारीय बाहुनक्षेत्री कांग्रेस, एमाले बाहुन क्षेत्रीको त्रिपक्षीय सम्झौता पत्र बताएर विरोध गरे साँच्चै त्रिपक्षीय पत्र नै प्रमाणित भयो । २०६२/०६३ को आन्दोलनसँगै लेखिएको अन्तरिम संविधानलाई पनि एमएनओले आखिरीमा हिन्दू संविधान भनेको थियो । वास्तवममै संविधान हिन्दूकै थियो पनि नाम मात्रैको लोकतन्त्र गणतन्त्र संघीयता धर्मनिरपेक्षलाई बाध्यताले अटाइएको थियो । 


२०७२ असोज ३ गते तामझमका साथ दोस्रो संविधानसभाबाट नयाँं संविधान जारी भयो । अन्तत्वगत्व फेरि पनि पुरानो बोतलमा नयाँ लेभल टासेजस्तै मात्रै बन्यो । ६५ वर्षपछिको जनताको चाहनापूरा भएको दिग्भ्रमित प्रचारवाजी मात्रै भयो । संविधानलाई ओल्टाइ पल्टाई पढ्दा गहुँत छरेर बाहुन चोखिएजस्तै मात्रै रहेछ । बरु अन्तरिम हिन्दू संविधान २०६३ भन्दा पनि अपवित्र संविधान पो जारी भएको रहेछ । कमसेकम अन्तरिम संविधानले प्रदान गरेको अधिकार व्यवहारिकता नआए पनि कमसेकम अटेको थियो तर नयाँ संविधानमा अटाउनै सकेन । यसपछि त झन् मूलबासी र मंगोल अस्तित्वको विरुद्ध ‘खस आर्य’ संविधान बन्न गयो । लोकतन्त्र ठोकतन्त्रमा परिणत भयो । लोकतन्त्र परिभाषा नै बद्लिएको छ । लोकतन्त्र भनेको ‘जनताद्वारा जनताको निम्ति जनताको’ हो । बाहुनक्षेत्रीको परिभाषाले चाँही ‘बाहुनद्वारा बाहुनको निम्ति बाहुनको’ जस्तो भएको छर्लंगै भएको छ कि यिनीहरुको व्यवहार र गराइले ।


लोकहित विरुद्धको संविधान बनाएर लाज नमानी विश्वकै उत्कृष्ट संविधान भन्न रामचन्द्र पौडेल जस्ता अदुरदर्शी बाहुनले भ्याए । उनको दुरदर्शीता भएको भए यसो भन्दैन थिए । जबकि यो संविधान जारी भयो भने के हुन्छ भन्ने सोच आउनु पर्ने थियो । भारतमा आरएसएस, शिवसेना, बजरंग दल, सनातन संस्था, विश्वहिन्दू महासंभाको सक्रियतासँगै भारतमा असहिष्णुताको राजनीति बढेको विश्लेषण भइरहँदा नेपालमा तराईमा चलिरहेको आन्दोलन र अघोषित नाकाबन्दीको तानाबुना बुन्ने नेता दलहरु आखिर यिनकै निर्देशनमा चलेको स्पष्ट छ । यिनकै निर्देशनमा अर्थात विश्व हिन्दू महासंभाकै दवावमा धर्मनिरपेक्ष विरोधी नाराहरु चलाइयो अदृश्य रुपमा । त्यसैको परिणाम धर्मनिरपेक्षलाई खुइल्याइयो । नाम मात्रै भए पनि ८ वर्षसम्म धर्म निरपेक्ष राष्ट्र नेपाल फेरि हिन्दू राष्ट्र, सनातन राष्ट्र बनाइयो । हिन्दुत्व मिश्रित परिभाषाले नयाँ संविधानलाई दुर्नाम बनायो । त्यसैको प्रतिफल संविधानको मुख्य मुद्दामध्ये एक धर्म निरपेक्षलाई भाग (१) नेपाल राज्य अन्तर्गत ‘धर्म निरपेक्ष भन्नाले सनातनदेखि चलिआएको धर्म संस्कृतिको संरक्षण लगायत धार्मिक, सांस्कृतिक, स्वतन्त्रता सम्झनुपर्छ’ भनेर स्पष्टीकरण लेखियो ।


धर्मनिरपेक्षको मौलिक परिभाषालाई परिवर्तन गर्दै हिन्दुकृत परिभाषामा बदलियो । यस किसिमको धुर्त चतुर्याइले अर्काे प्रतिक्रान्ति निन्त्याउने काम बाहेक अरु के होला र ? कति दिनको लागि यस्ता जनता घाट्ने हो र ? घुमाई फिराई हिन्दुत्व लाद्न बाहुन सफल भए पनि त्यसको परिणाम भोग्न बाँकी नै छ ।
संविधानको धारा ८ र ९ मा पनि आर्यहरुलाई र हिन्दूहरुलाई प्रतिबिन्वित गर्ने अराष्ट्रिय चिन्हहरु छन् । बाहुन क्षेत्रीको मात्र प्रतिनिधित्व गर्ने झण्डा, हिन्दूलाई एक धर्मलाई प्राथमिकतामा राख्दै गाईलाई यथावतरुपमा राष्ट्रिय जनावर राख्नु हिन्दुत्वकै प्रतिक हुन् यिनलाई यथावत राखिनुले सम्पूर्ण नेपालीको संविधान भन्न मिल्दैन । समावेशीको हकमा, धर्मनिरपेक्षताको हकमा, लोकतन्त्रको हकमा पनि यो संविधान हिन्दू संविधान नै हो । २० प्रतिशत बाहुन क्षेत्रीको अधिकार अझ सुनिश्चित गरेको छ । मंगोलहरुको अधिकार समाप्त भएको छ । होइन भने नयाँ भनिएको संविधानले मंगोल अस्तित्वलाई खोइ स्वीकारेको ? गाईको मासु त आफै लडेर मरे पनि त्यसको धनी जेल जानु पर्ने दिन आउन थालेका छन्् । गौहत्या कसुरमा दैलेख मालीका ५ का चन्द्रबहादुर शाहीलाई न्यायाधीश विश्वमंगल आत्रेयको इजलासले मंसिर ९ गते १२ वर्ष जेल सजायको फैसला सुनायो । शाहीले खानका लागि गाई काटेका पनि होइनन तर धेरै दुःख दिएकाले गोठमा बाँधेर पिट्दा कुट्दा अचानक गाई मरेको थियो । आफ्नो रिसले आफैलाई खती अर्काेतिर १२ वर्षको सजाय यस्तो हिन्दुवादी कानुन जनता भोग्न विवश छन् । गाई गोरुको मासु खानु मात्र अपराध होइन सामान्य कुट्दा मरेको पनि महा अपराध भयो ।
जति एउटा भ्रष्टाचारीलाई त्यति सजाय नै नहुने देशमा यसैले प्रमाणित गर्दछ कि नघुमाई भन्दा यो हिन्दूराष्ट्र हो । स्वतन्त्रताको उपभोग गर्ने समेत नदिने हिन्दू साम्राज्यवादको जग बलियो बनाउने नजादिँदो काइदा भन्नुपर्ला ! अझै गाई गोरु काट्न बन्देज छ, जबसम्म मुलुकी ऐन, चौपाया महलको ११ नम्बर खारेज हुँदैन तबसम्म लडेर मरेको मासु खान बन्देज हुनेछ । अहिन्दू मूलबासी मंगोलहरुमाथिको घुमाउरो अतिक्रमणको नयाँ श्रृंखला भनेपछि हुन्छ ।


नेपाल यस्तो देश बनाए विदेशी आर्यन बाहुन क्षेत्रीले ३ करोड जम्मा जनसंख्या नभएको मुलुकमा ३३ करोड भगवान हुन्छन् । एकजनाकै भागमा लाख भगवान पर्न जान्छ । तर ती लाखौं भगवानले एउटा व्यक्तिलाई बचाउन सक्ने होइन । विपत्ति आयो भगवानले टारेको अहिलेसम्म इतिहास छैन । तर यिनीहरुको दिमागमै यस्तै मात्र खेलिरहेको हुन्छ त्यसैकारण राम्रो सोच आउँदैन । मंगोलकै विरुद्ध लाग्छन् । यो संविधान धेरै उत्कृष्ट बन्नु पथ्र्याे रत किन बनेन भन्नु भन्दा यस्तै संस्कारमा पालिएकाले बनेन भन्दा अतियोशक्ति होला ।
यो संविधानले मंगोलको विरोध गर्दछ किनकि मंगोल संविधानिक भाषा होइन, यसल स्थान पाएको छैन । तर बाहुन क्षेत्री वा खस आर्यले संवैधानिक मान्यता पायो यसकारण मंगोल विरुद्धको खस आर्य संविधान पनि हो । ‘मंगोल’ शब्द हिजो पनि साम्प्रदायिक भाषा थियो बाहुनक्षेत्रीका लागि आज त झन ‘खस आर्य’ संविधानमै लेखेर मंगोल विरुद्ध युद्धको संखघोष नै गरेका हुन् विदेशी बाहुन क्षेत्रीले । मंगोल र मूलबासी शब्दले वर्षाैदेखि संघर्ष गर्दा शान्तिपूर्ण ढंगबाट प्राप्त नहुने तर जातीय कुरा साम्प्रादायिक भन्ने बाहुन क्षेत्री नेताहरुले आज सुटुक्कै घुसाएका छन् । हिजोसम्म मंगोल अस्तित्व स्वीकार नहुनेहरु आज आर्य अस्तित्व एकाएक आवश्यक भयो आखिर किन ? दीर्घराज प्रसाई, मोदनाथ प्रश्रित खुलेरै मंगोलको विरोध गर्छन्, मंगोलले मंगोल भन्नु बेकार छ भनेर लेख लेखेको पाइन्छ । मंगोल संगठन खोल्न पनि बेकार भनेर विरोध गरेको भएतापनि अन्ततः खस आर्य समाजको आवश्यक किन पर्यो । नभन्दै संविधान नै खस आर्यमय भयो । यदि इमान्दारी सोच बोकेका हुन्थ्यो भने पक्कै संविधानमा मंगोल अस्त्वित्व अटाउने थियो । तर इमान्दारिता शुन्य भएकै कारण मंगोल अस्तित्व अटेन । जस्तो भाग ३ धारा १८ (३), धारा ४२ (१), धाराा १७३(६) र भाग ८ धारा ८४ (२) मा खस आर्यले स्थान पायो । खस आर्यको स्पष्टीकरणमा ‘खस आर्य भन्नाले क्षेत्री, बाहुन, ठकुरी, सन्यासी, दशनामी समुदाय, भनेर स्पष्ट उल्लेख छ । यसरी लेखेकोमा ठूलो आपत्ति होइन तर कति इमान्दारिता छ भन्ने कुरा मूलबासी मंगालहरुले बुझ्न नितान्त जरुरी देखिन्छ । यतिधेरै चलाखी देखाउनै पर्दैन । शासन व्यवस्थाका धारा उपधाराको कुरै नगरौं ति सबै हात्तीका देखाउने दाह्रा मात्रै हुन् ओलीको मन्त्रीमण्डले उल्लंघन गरिसकेको छ । कही नभाको हाँडी गाउँमा जात्रा भनेजस्तै ५ जना उपमन्त्री कही नभएको रेकर्ड नै बनाएका छन् ।


भाषाका सवालमा धारा ७(१) मा देवनागरी लिपी भनिनु यो पनि हिन्दूत्वकै प्रभाव हो । देवनागरी लिपी भन्नुको मतलब देवताहरु प्रयोग गरेको लिपी भनिएको होइन र ? यस विषयमा कमैले बुझेका होलान । तर बुझ्नेहरुका लागि इसारा नै काफी छ । धारा ८ मा यथावत राखिएको झण्डा जुन अराष्ट्रिय झण्डा हो । यसलाई परिवर्तन गर्न एमएनओले प्रस्ताव गरेको थियो यद्यपि यसप्रति बाहुनक्षेत्रीको ध्यान गएको छैन । धाराका उपधारामा उल्लेख भएका प्रतिक पहिलेकै प्रभाव मानी निरन्तरता हो ।


नागरिकता सम्बन्धी थुप्रै बसह पनि यस समय भइरहेको छ । नागरिकताको सवालमा एमएनओले पनि आवाज उठाउँदै आएको भएता पनि यस मुद्दाप्रति यो संविधानमा समावेश हुन सकेन । डा. गोपाल गुरुङले उठाउनु भएको दोहोरा नागरिकता अनिवार्य लागू गर्नुपर्ने हुन्छ । यो सवाल डा. गुरुङको कालजयी पुस्तक ‘नेपाली नाजनीतिमा अदेखा सचाइ’मा उठाइएको हो । यो कुरा संबिधानसभामा बुझाएको १८ बुँदे पत्रमा पनि समावेश छ । संविधानको धारा १४ मा भएको व्यवस्थाले बाध्यताले संसारभर छरिएर बसेका नेपालीहरुलाई आफ्नै मुलुकमा झमेला मात्रै होइन । विदेशीलाई दिने देखिन्छ । यस धाराको गेसोले पनि विरोध जनाएको छ । विरोध जनाउनुको कारण पनि यही हो । विशेष गरेर गोर्खाहरु विश्वको कुनै पनि मुलुकमा रहरले होइन बाध्यताले प्रवासी जीवन बिताउनु परेको हो । यसर्थ अनिवार्य रुपले दोहोरो नागरिकताको व्यवस्था हुन जरुरी थियो र छ । तर अहिलेको प्रावधानले दक्षिण एशियाली क्षेत्रीय सहयोग संगठनले बाहेक अन्यले जन्म र वंशजको आधारले मात्र नागरिकता पाउने व्यवस्थाले बाध्यतामा परेर संसारका जहाँसुकै बसेर पनि आफ्नो देशमा आउन चाहनेलाई विदेशी बनाउने खेल मात्र भएको छ । मंगोलहरु नै प्रायः चारो खोजी खाने शीलसिलामा अग्रपंक्तिमा रहेकाले यदि यस्तो गरिएको हुनसक्छ । तर यता भारतबाट हिन्दूको संख्या बढाउन दिनप्रतिदिन नागरिकता बाँडिएका कुरा पनि प्रकाशमा आइरहेका छन् ।


अर्काे महत्वपूर्ण बुँदा राष्ट्रिय सम्वत, पोशाकको सम्बन्धमा संविधान मौन छ । तर यस विषयमा पनि अत्यन्तै षड्यन्त्रपूर्ण ढंगले गर्न खोजिएकोछ । सम्वतलाई हालको विक्रम सम्वतलाई हटाएर अर्कै सम्वतको संविधानमा व्यवस्था गरिनु र राष्ट्रिय पोशाकको सम्बन्धमा सबैको मौलिकलाई प्राथमिकता नदिनु र राजस्थानी पोशाकलाई नै लाद्ने दुस्प्रयास भएको छ । यस कारण यो संविधान हिन्दू संविधान हो । यसलाई संशोधनमार्फत तत्काल नसच्याए जलाउनुको बाहेक अर्काै विकल्प हुन सक्दैन । यस्ता अत्यन्तै घातप्रतिघात चरित्रबाट निर्माण भएको खस आर्य संविधानले प्रतिक्रान्ति निम्त्याउनु भन्दा अरु केही प्रगति हुन सक्दैन । पूर्वाग्राही हिन्दू मानिसिकताबाट लेखिएको संविधान मंगोलहितार्थको उग्रविरुद्ध छ । हिन्दू मानसपटलबाट आयातीत अत्यन्तै विषालु धारा उपधाराबाट यथार्थपरक स्वीकार्न सक्दैन । यथार्थपरक मंगोल राष्ट्रवाद विना नेपाल माग्ने देशमा परिणत हुन्छ । अन्ततः विशेषता नै यही बन्छ । यसकारण मंगोल राष्ट्रवाद पहिलो आवश्यक हो । मंगोलवादको अर्थ यो होइन खस आर्य जस्तो पूर्वाग्राही होइन, सह–अस्तित्व स्वीकारेको हुनेछ ।

Last Updated on Sunday, 20 December 2015 21:51

Hits: 2083

Error: No articles to display