A+ A A-

बिक्रम सम्बत् भारतीय हो कि नेपाली मौलिक सम्बत् ?

होइन खाटी राष्ट्रबादी मै हुँ भन्ने हुन्कार गर्नेहरुले नेपाली मौलिक नेपाली संवत पनि राख्न नसकेर भारतमै पनि हराइ सकेको बिक्रम संवतलाई काखी च्यापेर के सारो लाचारपन देखाको !
टेक बहादुर थापा राजेश 

प्राचिन भारतमा शक् जातीका प्रतापी शासक मोअस नाम गरेका एक शासक थिए | उनको राज्य तक्षशिला, मथुरा, महाराष्ट्र र उज्जैन क्षेत्रमा थियो | बैद्धिक आर्य र शक् जाती पृथक मूल्य मान्यता बोकेका जाती थिए | बैद्धिक आर्य सम्राट बिक्रमादित्य नाम गरेका शासकले युद्धमा उनै शक् सम्राट मोअसलाइ पराजित गरेपछि त्यसैको खुसियालीमा भारतमा बिक्रम सम्बतको शुरुवात गरिएको थियो |

बिक्रम सम्बतलाइ हिन्दु सम्बत पनि भनिन्छ | हालको हिन्दुस्तानमा बिक्रम सम्बत शुरु गरिनु भन्दा पहिला शक् सम्बत प्रचलनमा थियो | नेपालका शासकहरुले बिक्रम सम्बत प्रचलन ल्याउनुको मुख्य कारण चाही बैदिक आर्यहरुको प्रभाब नै हो | हिजो नेपाल हिन्दु राज्य थियो | हिन्दु राज्यले हिन्दु पात्रोलाइ मलजल गर्थियो | हिन्दु शासकहरुको त्यो दायित्व थियो |


नेपाल एक धर्मको राज्यबाट सबै धर्म अबलाम्बीहरुको राज्य बन्ने तर्फ उन्मुख छ | नेपाल नामसंग जोडिएको नेपालीहरुको आफ्नै नेपाल सम्बत पनि हामीसंग छ | जो बिजय र पराजयसंग नजोडीएर मुक्तिसंग जोडिएको छ | संखाधर साख्वाले गरीबहरुको ऋण तिरिदिएर स्थापना गरिएको नेपाल सम्बत् हिन्दु पात्रो बिक्रम सम्बत् को बिकल्प हुन् सक्छ ।

लेखक 

भारतबाट शुरु भएको बिक्रम सम्बत् अहिले हिन्दु तिथि, मितिको लागि सास्कृतिक महत्वमा मात्र सिमित छ भारतमा | भारतको कामकाजी पात्रो इश्बी सम्बत् हो |

हिन्दुस्तानीहरुले नै कामकाजी पात्रो बनाउन नचाएको बिक्रम सम्बत् लाइ हामी नेपालीहरुले मरेको बिरालोलाइ काखी च्यापे जस्तो किन च्यापने ? हिन्दु मान्यताको एउटा उखान छ "गाई मारेर गधा पोस्ने ?" सच्चा राष्ट्रबादीहरुले अब सोच्ने पो हो कि ?

Last Updated on Wednesday, 13 April 2016 22:15

Hits: 646

नेपाल मगर संघलाई कस्तो बनाउने ?

रामबहादुर थापा मगर

(मगरहरुको सामाजिक संस्था नेपाल मगर संघको आगामी २०७३ वैशाख १८—२२ गतेसम्म चितवनमा हुनगइरहेको एघारौं महाधिवेशनलाई केन्द्रित गरी अवको नेपाल मगर संघ कस्तो बनाउने? भन्ने प्रश्न उठेको छ ।

प्रश्नको प्रमुख कारण अहिलेको संघको नेतृत्व आम मगरहरुले अपेक्षा गरेअनुरुप अगाडी बढ्न नसक्नु हो । अब मगरहरुले नेपाल मगर संघको नीति, कार्यक्रम र नेतृत्वको गम्भिर समीक्षा गर्दै आगामी बाटो तय गर्नु जरुरी छ । संघको आसन्न महाधिवेशनलाई केन्द्रित गरी संघको नीति, विचार र नेतृत्व सम्वन्धमा मगर समाजका अगुवाहरुको विचमा अर्थपूर्ण र तार्किक छलफलका लागि मगर सरोकार समूहले यो आधार पत्र तयार गरिएको हो ।)

१.पृष्ठभूमीः

२०२८ सालमा लाङ्घाली परिवार र २०३९ मा नेपाल लांघाली परिवार संघ २०४८ सालदेखि नेपाल मगर संघको नामबाट स्थापित हालको नेपाल मगर संघ नेपालका आदिवासी जनजातिमध्ये जनसंख्यामा सबैभन्दा ठूलो आदिवासी जनजाति समुदाय हो ।

  आदिवासी जनजाति अधिकारको लागि स्थापित आदिवासी जनजाति महासंघ,आदिवासी जनजाति विद्यार्थी महासंघ र आदिवासी जनजाति महिला महासंघको पहिलो नेतृत्व मगर समुदायबाट भएको  ।

 अधिकार प्राप्तीको लागि संघर्ष र संगठनको नेतृत्व गर्दै आएको मगर समुदाय राज्य विभेदको विरुद्ध संघर्ष गर्दै समुन्नत मगर समाज निर्माणको लागि मगर संघले भूमीका खेल्नु पर्छ ।

  संघलाई औपचारिकतामा सिमित नराखि सबै वर्ग,क्षेत्र,लिंग र भाषाका मगरहरुको साझा र आस्थाको संगठन कसरी बनाउने ? उत्तर खोज्नु जरुरी छ।

अबको शताव्दीपछि मगर पहिचान मात्रै होइन जाति नै लोप हुन सक्ने खतरा छ ।

 मगरको पहिचान,अधिकार र अस्तित्व रक्षाको दायित्व मगर संघको हुनाले संघलाई परम्परागत ढंगबाट रुपान्तरण सहित शसक्त बनाउनु जरुरी छ ।  

२. मगर समाजको व्यापकता र विविधता

भूगोल, क्षेत्र र लिगको आधारमा मगरहरुको जनसांख्यिक अवस्था

 

 

क्षेत्र                       जनसंख्या                                    प्रतिशत  

नेपालको कूलजनसंख्या  २६,४९४,५०४                                  १००  

मगर कूलजनसख्या     १८,८७,७३३                                   ७.१२

सघीय प्रदेशको आधारमा

प्रदेश न १                    १८९२४८                                      १०

प्रदेश न २ ६                ४८७८                                          ३.५

प्रदेश न ३                  २७०६३९                                       १४.३

प्रदेश न ४                  ४२०५६२                                       २२.२

प्रदेश न ५                  ७१२८२०                                        ३७.८

प्रदेश न ६                   १७२९१९                                         ९.२

प्रदेश न ७                  ५६६६७                                           ३

लैंगिक आधारमा

महिला जनसंख्या      १०,१३,३१७                                           ५३.६८

पुरुषजनसख्या         ८७४,४१६                                             ४६.३२

पर्या भौगोलिक आधारमा

हिमाल                     २७,७८३                                             १.४८  

पहाड                    १३,२४,५२५                                          ७०.१६  

तराई                          ५३५,४२५                                       २८.३६

गाउँ र शहरमा

गाउँमा                        १६,५४,८४१                                     ८७.६६

शहरमा                    २३२,८९२                                           १२.३४

स्रोतः केन्द्रिय तथ्यांक विभाग २०६८

 ३. मगर संघको नीति तथा कार्यक्रम कस्तो छ, कस्तो हुनुपर्दछ ?

 अहिले कस्तो छ ? 

अव कस्तो हुनुपर्दछ?

 

 समानुपातिक समावेशीकरण सघको एक प्रमुख माग हो । तर मगर समाजको विविधता अनुसार मगर संघ आफैं समावेशी समानुपातिक हुन सकेको छैन ।

   भाषा, भूगोल, लिंग र विचारको आधारमा पूर्ण समानुपातिक समावेशी हुनुपर्दछ । ड्ड शहरका १२ प्रतिशत जनसंख्यामा सिमित छ 

 गाउँका ८० प्रतिशत जनसंख्यामा लैजान पर्दछ ।

 मगर संघको संगठनात्क संरचना एकात्मक र केन्द्रिकृत संरचनामा छ  । 

 देश नै संघीयतामा गइसकेको अवस्थामा पूर्ण संघीय संरचनाससहितको महासंघीय अभ्यासमा लैजानुपर्दछ ।

 मगर संघ दैनिक प्रशासन र झिना मसिना काममा अल्झेको छ तर सामाजिक,आर्थिक र राजनीतिक मुद्दाहरु मगर संघको प्राथमिकतामा छैनन । उठाइएका मुद्दाहरु पनि स्थानीय र प्रभावहीन छन् । 

 एकिकृतरुपमा सामाजिक, आर्थिक राजनीतिक र साँस्कृतिक मुद्दाहरुलाई अल्पकालीन र दीर्घकालीन योजनासहित उठाउँदै राष्ट्रिय अन्तराष्ट्रियकरण गर्नुपर्दछ ।

 मगर संघका कार्यक्रमहरु मगर समाजमा मात्र केन्द्रित छ । 

 नेपालको आदिवासी जनजाति आन्दोलन तथा राष्ट्रिय आन्दोलनसंग जोडिनुपर्दछ ।

 आम मगरहरुको भावनालाई समेट्न सकेको छैन । 

 सवै विचार, क्षेत्र, वर्ग, लिंग,पेशा व्यवशास र संस्कृतिका मगरहरुको पहुँच र अपनत्व स्थापित गरी भावनात्मक एकता कायमगर्ने हुनुपर्दछ ।

 मगर संघको आर्थिक श्रोत विगतको तुलनामा राम्रो देखिन्छ तरपनि आर्थिक कमजोरी देखिन्छ । भएका श्रोत साधनको पनि पारदर्शिता र कार्यन्वयनमा प्रभावकारीता छैन।  

 नयाँ नयाँ आर्थिक श्रोतको मपहिचान गनु जरुरी छ । आर्थिक क्षेत्रमा लागेका व्यक्तिहरुसँग परामर्श गरी आर्थिक नीति तया पार्दै पारदर्शि र गतिशील बनाउनुपर्दछ

 मगर समाजको भन्दा राजनैतिक पार्टीको मुद्दा र आस्थालाई बढी ध्यान दिए जस्तो देखिन्छ । यसले संघलाई पार्टीकरण गराउदै भागबण्डा ले ग्रसित बनाएको छ । 

 बैचारिक रुपले सै पार्टीको प्रतिनिधित्व आवश्यक छ तर मगर जातिको मुद्दालाई राजनीतिकरण गर्दै सवै मगरको साझा संस्था बनाउनुपर्दछ । र,संघलाई पार्टीको होइन समाजको ऐना बनाउनु पर्छ ।

४. अवको मगर नेतृत्व कस्तो ?

अहिलेको नेतृत्व कस्तो छ? 

अव कस्तो नेतृन्व चाहिन्छ?

सैद्धान्तिक वैचारिक अस्पस्टता सैद्धान्तिक बैचारिकरुपमा सुस्पस्ट नेतृत्वक्षमता संघलाई व्यक्तिगत स्वार्थपूर्तिको साधन जस्तो ठान्ने,समुदायको विविधता र फरक विचारको सम्मान गर्न नसकेको ।  

व्यक्तिगत स्वार्थभन्दामाथि उठी समग्र सामुदायिक र संस्थागतहितकालागि समर्पित । जहाँ मगर त्यहाँ मगर संघ हुनु पर्छ भन्ने मान्यता राख्ने ।

आदिवासी जनाजाति आन्दोलनको नेतृत्वमा प्रभाव हिनता । 

आदिवासीजनजाति तथा राष्ट्रियताको आन्दोलनको नेतृत्व गर्न सक्ने ।

अन्धजातिवादी, मनोगत र संकुचित सोंच, चिन्तन र प्रस्तुति देखिएको ।  

मगर समाज जस्तै खुला, फराकिलो, र दूरदर्शी सोंच, चिन्तन र व्यवहार अंगाल्न सक्ने ।

नेपालको सामाजिक संरचना र आर्थिक सामाजिक,तथा राजनैतिक विश्लेषणको कमि   र सांगठनिकरुपमा उत्साहीनता 

सामाजिक,आर्थिक र राजनैतिक विषयको अध्यायनशिल र सांगठनिकरुपमा उत्साही नेतृत्व

पदीय लालस गर्ने तर प्राप्ति पछि त्यसको गरिमालाई उच्च र सम्मानित बनाउने जिम्मेवारी पुरा नगरिएको या ध्यान नदिएको । 

पद मात्र ओगट्ने होइन काम गर्ने र जिम्मेवारी महसशु गरी दायित्व पुरा गर्ने नेतृत्व

पार्टीगत भागबण्डावाट ग्रसित भएजस्तो 

पार्टीगत वा गुटगट भावना भन्दा माथि उठेर सामुदायिक हितमा काम गर्नसक्ने ।

कतिपय सन्दर्भमा नैतिक विचलन देखिएको 

नैतिक तथा चरित्रवान व्यक्तित्व

मगर समाजले नै नचिने जस्तो,समाजलाई चिन्न नचहाने र समाजमाजका र्यक्रम प्रति वेवास्ता  

मगर पहिचान, पहुँच र प्रतिनिधित्वलाई राष्ट्रिय अन्तराष्ट्रिय रुपमा स्थापितगर्नसक्ने

मगर समुदायको अपनत्वमा कमी । सम्मानमा गर्व गर्ने तर तिरस्कारमा गम्भिर नहुने ।  

सवै मगरले साझा अपनत्व र स्वामित्व अनुभूतिको बोध गराउन सक्ने। ठूलालाई चाकडि र स्यानोलाई उपेक्षा नगर्ने ।

५. निष्कर्ष र अनुरोध

यो आधार पत्रमा हामीले सवैभन्दा पहिले हाम्रो मगर समाज विविधतापूर्ण, व्यापक र शक्तिशाली छ भनेर स्मरण गराउने प्रयास गरेका छौं । त्यसपछि हाम्रो साझा सामाजिक संस्था निर्माणको तीनदशक भन्दा लामो यात्रामा हामीले अबलम्बन गरेका नीति, कार्यक्रम र नेतृत्वको अभ्यास मगर समाज जस्तै व्यापक र विविधतापूर्ण हुन सकेको छैन भनेर देखाउन खोजेका छौ । साथै, अव कस्तो नीतिकार्यक्रम र नेतृत्व अवलम्बन गर्नुपर्दछ भन्ने सैद्धान्तिक मान्यतालाई अगाडी सारेका छौ । हामी सवै मगर समाजको सदस्यभएको नाताले हाम्रो नेपाल मगर संघलाई पनि राम्रो र प्रभावकारी बनाउनुपर्दछ भन्ने मान्यतावाट हामी निर्देशित हुनुपर्दछ । तसर्थ आजको अन्तरक्रिया कार्यक्रममा मात्र होइन, संघको महाधिवेशनसम्मै छलफल र बहस गर्दै मगर समाजको समग्र हित र स्वार्थको पक्षमा उभिन सक्ने स्वाभिमानी, स्वतन्त्र, त्यागी र वैचारिकरुपमा सुस्पस्ट दृष्टिकोण राख्नसक्ने राष्ट्रिय व्यक्तित्व सहितको नेतृत्व समूह निर्माणमा अग्रसर हुनहाम्रो अनुरोध छ ।

मगर सरोकार समूह, 

२९ चैत्र,२०७२, काठमाडौं ।

(थापा मगर संबिधान सभाका पूर्ब सभासद हुन)

 

यो पनि पढनुहोस नेपाल मगर संघको आगामी नेतृत्व कस्तो हुनुपर्दछ ?

 

Last Updated on Tuesday, 12 April 2016 17:19

Hits: 717

नेपाल मगर संघलाइ पैसा चाहिने, भू.पू सैनिक नचाहिने?


मनोज घर्तीमगर
  नेपाल मगर संघले भूपू सैनिकहरुको योगदानलाई अवमूल्यन गरेको छ । नेपाल मगर संघको जग बसाउनेदेखी संघलाई यहाँसम्म ल्याउन चार जना भूपूहरुले नेत्तृत्व समेत लिइसकेका छन् । संघ बनाउन भूपूको यति ठूलो योगदान भए पनि भूपू सैनिकलाई आसन्न ११ औं महाधिवेशनमा प्रतिनिधि नदिने भएपछि भूपूहरुको अवमूल्यन भएको हो ।

विसं. २०१२ सालदेखी नै विभिन्न नामले मगरहरु गोलबद्ध हुन थाले पनि २०३९ फागुन १५ गते दमौलीमा स्व.हेमबहादुर पुनमगरको अध्यक्षतामा भएको नेपाल लाङ्घाली परिवार संघको प्रथम राष्ट्रिय महाधिवेशनपछि राष्ट्रियस्तरमा सबै मगरहरु जागरुक भई एकजुट हुन थालेका थिए । संघको पहिलो अध्यक्ष नै भूपू भए पनि अहिलेसम्म हुँदै आएका महाधिवेशनमा भूपूहरुलाई प्रतिनिधी दिइएको छैन ।

नेपाल मगर संघको विधान २०४९ को परिच्छेद –५ धारा १७ को (च) १ मा विभिन्न भातृ संघ गठन हुने व्यवस्था छ । त्यसमा तोकेरै मगर विद्यार्थी संघ, नेपाल मगर भूपू सैनिक/प्रहरी संघ, नेपाल मगर सम्पर्क समन्वय समिति, मगर महिला संघ, मगर साँस्कृतिक संघ, नेपाल मगर युवा संघ लगायत अन्य भातृ संगठनहरु खोल्न सक्नेछ भन्ने व्यवस्था गरेको छ । त्यही धारा बमोजिम गठन भएका भातृ संगठनको अध्यक्ष नेपाल मगर संघको पदेन सदस्य हुने व्यवस्था छ ।

मगर संघले यसरी गठन भएका भातृ संगठनलाई महाधिवेशनमा सहभागी हुँदा जिल्ला समिति सरह मान्यता दिएको छ । त्यो मान्यता अनुसार भातृ संस्थाबाट ३ जना प्रतिनिधि र २ जना पर्यवेक्षक महाधिवेशनमा सहभागी हुने व्यवस्था छ । नेपाल मगर भूपू सैनिक संघले यस अघि पनि पटकपटक आबद्धता दिइ प्रतिनिधीको व्यवस्था गरिदिन अनुरोध गरेको थियो ।

नेपाल मगर संघको चैत १६ गते चितवनमा बसेको सचिवालय बैठकले मगर संघका भातृसस्थाहरु मगर भुपु सैनिक संघ, मगर चलचित्र कर्मी संघ, मगर बौद्ध सेवा समाज, मगर लेखक संघ र मगर खेलकुद संघलाई अहिलेको महाधिबेशनमा प्रतिनिधिको रुपमा सहभागी गराउन नसकिने निर्णय गरेको छ । संघको विधानमै नभएको व्यवस्था लागु गरि यि संस्थाहरुलाई बाहिरै राख्न संघ कस्सिएको हो ।

सचिवालय बैठकले भातृ सस्थाहरुको १० जिल्लामा शाखाहरु गठन भएको हुनुपर्ने, अधिवेशनको ४ बर्ष पहिले संघमा आधिकारीक दर्ताको लागी निवेदन दिनुपर्ने, संस्था मगर संघमा आधिकारिक दर्ता भएको हुनुपर्ने लगाएतका कारण देखाएर यस पटकको महाधिबेशनमा उनीहरुलाई प्रतिनिधिको रुपमा सहभागी गराउन नसकिने निर्णय गरको हो । तर, सचिवालयले देखाएका यस्ता कुनै पनि कारण विधानमा उल्लेख छैन । नेपाल मगर भूपू सैनिक संघ, मगर बौद्ध सेवा समाज लगायतका सँस्थालाई बाहिरै राख्न यो निर्णय गरिएको धेरैको बुझाइ छ । ‘उनीहरुले प्रतिनिधि नदिएपछि त भन्नु केही छैन । अर्को कोही मान्छे आउँछ कि भनेर हो जस्तो लाग्छ । उनीहरुले मगर संघमा सिन्डिकेट लागू गर्न खोज्दैछन्’ नेपाल मगर लेखक संघको उपाध्यक्ष पिएचडी शोधार्थी एवं लेखक बिष्णुकमार सिंजालीमगरले भने,‘लेखक संघले सबै प्रक्रिया पूरा गरे पनि प्रतिनिधी दिएन । कति पटक ज्यूज्यू गर्दै जाने । अब स्वतन्त्रपूर्वक काम गर्ने हो । सकेसम्म संघले सबै भातृ संस्थालाई समेटे राम्रो हुन्थ्यो ।’

फागुन २२ गते चितवनको नारायणगढमा सम्पन्न तेस्रो अधिबेशनबाट निर्वाचित नेपाल मगर भूपू सैनिक संघका अध्यक्ष हुमबहादुर थापा (पचभैया) मगरले मगर संघको ११ औं महाधिवेशनमा कुनै पनि हालतमा भूपू सैनिक संघलाई प्रतिनिधी दिइनुपर्ने माग गरेका छन् । ‘मगर संघ बनाउन भूपू सैनिकहरुको ठूलो योगदान छ । जति प्रयास गरे पनि हामीलाई प्रतिनिधी नदिने चलखेल भयो यसले भूपूहरुको अवमूल्यन भएको महसुस भएको छ’ मगर संघ हङकङ्गका संस्थापक सल्हाकार र अध्यक्षसमेत रहेका हुमबहादुरले भने,‘मगर संघले किन हामी माथि राजनीति गर्दैछ बुझ्न सकिएको छैन । यदि हामीलाई प्रतिनिध दिइएन भने मगर संघको अधिवेशनलाई कुनै किसिमका सहयोग गर्दैनौं ।’ भूपू सैनिक संघले चार वर्ष अघि गुल्मीमा भएको १० औं महाधिवेशनमा पनि प्रतिनिधीको व्यवस्था गरिदिन निवेदन दिएका थिए ।

त्यसो त मगर समुदायसँग नचाहैरै भए पनि भूपू सैनिकको सम्बन्ध कुनै न कुनै रुपमा जोडिन्छ । भूपूलाई यो समुदायले चाहेर पनि बाइकट गर्न सक्दैन । तर, मगर संघले कुन हेतुले उनीहरुलाई बाइकट गर्दैछ अचम्मको विषय हो । अहिलेको कार्यसमिति बसेको नेपाल मगर संघको कलंकिस्थित भवन बनाउन पनि भूपूहरुको उत्तिकै योगदान र कुल लगतको ९५% रकम सहयोग रहेको छ । यो भवन निर्माण नै भूपू सैनिक क्या. यामबहादुर बुढाथोकीमगर मगर संघको अध्यक्ष हुँदा बनेको हो । त्यतिबेला मगर संघ हङकङबाट करिब १७ लाख , मकाउमा कार्यरत भू.पू मगर सैनिक बाट २ लाख ५० हजार , जापानमा बस्ने मगरहरू बाट १६ लाख र बेलायतमा बस्ने भू.पू र तिनका सन्तान बाट १० लाख रुपैंया सहयोग आएको थियो । त्यतिबेला संघका अध्यक्ष ले.एकबहादुर राना थिए भने त्यसलाई आडबल दिने भूप अध्यक्ष एवं भूपू सैनिक हुमबहादुर थापा मगर थिए । त्यो बाहेक विभिन्न अरु कार्यक्रम गर्दा पनि आर्थिक, भौतिक, नैतिक रुपमा भूपूहरुले पुर्याएको योगदानलाई मगर संघले विर्सन मिल्दैन ।

नेपाल मगर संघले भूपू सैनिकहरुलाई बाइकट गर्न खोजे पनि सफलता भने मिलेको छैन । संघको १० कार्यकाललाई हेर्दा गोरेबहादुर खपाङ्गी चार पटक अध्यक्ष भएका छन् । उनीसहित अहिलेसम्म ७ जनाले संघको बागडोर सम्हालेका छन् । तीमध्ये चार जना त भूपू हुन् । नेपाल प्रहरीका भूपू इन्सपेक्टर(पहिला बृटिस) हेमबहादुर पुनमगर संस्थापक अध्यक्ष हुन् भने उनीपछि भूपू सार्जन्ट कविराज पुनमगर, भूपू ले. मानध्वज रानामगर, भूपू क्या. यामबहादुर बुढाथोकीमगरले मगर संघको नेत्तृत्व सम्हालिसकेका छन् । उनीहरुको उपस्थितिले भूपूहरुलाई बाइकट गर्न खोजे पनि सबैभन्दा धेरै नेत्तृत्व लिनेमा भूपू सैनिक नै देखिन्छन् ।

नेपाल मगर भूपू सैनिक संघलाई महाधिवेशन प्रतिनिधि दिनेबारे आफ्नो एकल निर्णयले केही नहुने संघका अध्यक्ष महेन्द्र थापामगरले बताए । ‘आबद्धताका लागि सैनिक संघ लगायत थुप्रैले निवेदन दिएका छन् । उनीहरुलाई प्रतिनिधी दिने ननिदेबारे अब बन्ने समितिको राष्ट्रिय सम्मेलनले निर्णय गर्छ’ नेपाल मगर भूपू सैनिक संघको अधिवेशनबारे बेवास्ता गर्दै अध्यक्ष थापाले भने,‘मगर जोडेका सबै भातृ संस्था हुन्छन् भन्ने छैन । कसले कहाँ के संघ बनाउँछ हामीलाई थाह भएन । सैनिक संघबारे मगर संघलाई आधिकारिकता थाहा छैन । कहिले जन्मियो कहाँ बनायो ?’
नेपाल मगर भूपू सैनिक संघले चितवनमा गरेको अधिवेशनमा मगर संघका अध्यक्ष महेन्द्र थापालाई नै बोलाएको थियो । तर, उनी आफ्नै कार्यव्यस्तताले जान पाएका थिएनन् । यसबारे ज्ञिजासा राख्दा महेन्द्रले भने,‘सैनिक संघले बोलाएको थियो । महाधिवेशनको चटारोले जान पाइएन । कार्यक्रममा त हामीलाई जसले पनि बोलाउँछ ।

तमुहरुले पनि बोलाउँछन् । तपाइँ पत्रकारहरुको संस्थाले पनि बोलाउँछ । बोलायो भन्दैमा सबै भातृ संगठन हुन्छन् भन्ने छैन । सैनिक संघको आधिकारितकता छैन ।’
नेपाल मगर संघमै पनि सैनिक संघलाई प्रतिनिधि दिने/नदिनेबारे दुई खेमा छ । केही पदाधिकारी प्रतिनिधि दिनुपर्ने पक्षमा छन् भने अध्यक्ष महेन्द्र थापामगर लगायत कुनै हालतमा नदिनुपर्ने खेमामा छन् । संघका महासचिव नविन रोकामगरले पनि अझै केही नबिग्रेकाले सैनिक संघलाई प्रतिनिधिमा छुटाउनु नहुने बताए । ‘सैनिक संघको अधिवेशनमा मगर संघको सहभागीता छैन । विधि नपुगेका कारण प्रतिनिधी नदिने भनिएको हो’ महासचिव रोकाले भने,‘यस विषयमा २७ गते हुने सचिवालयले फुल निर्णय गर्छ । सम्बन्धित तहबाट पनि पहल भए यसले निकास पाउला ।’

Last Updated on Monday, 04 April 2016 11:36

Hits: 2013

आफ्नै घर परिवार मिलाउन नसक्नेले देश कसरी मिलाउछ ?

पहिला घर परिवार बलियो बनाउ अनी देश चलाऊ ।

-हुम सुनारी मगर ,

एउटा परिवारको सदस्यहरू बीच कहिलेकाहिं ठाकठुक त हुन्छ नै त्यसलाई घर मूलिले सम्हाल्न सक्नु पर्दछ । सबैलाई मिलाएर एकताको सुत्रमा बाँध्न सक्नु पर्छ। सबैको एकताले नै परिवार मजबूत हुने हो। परिवार भित्रको फुटले छिमेकी हाँस्छन् । "दाजुभाई फुटे गँवारले लुटे" भन्ने उखानको चरिथार्थ हाम्रो गौरवशाली पार्टी भित्र भयो ।


बैचारिक र सैद्धान्तिक मतभेद र बिचलन भयो भने पार्टी टुक्रिनु स्वभावै भयो। तर, तत्कालिन राष्ट्रिय जनमुक्ति पार्टीमा त्यस्तो केही देखिएन तर व्यक्तिगत स्वार्थ, गुट उपगुट, वैमनस्यता, अहमता र नेतृत्वहरूको अपरिपक्वता कै कारणले पार्टी विभाजित हुँदै गयो । त्यसो हुनु हुँदैनथ्यो।

अब, ति सबै विभाजित समूह र पक्षहरूसँग पार्टी एकताको लागि बहस छलफल चलाउनु पर्छ। माउ (घरमूली) पार्टीको हैसियतले संघीय जनमुक्ति पार्टीले नै यसको पहल छिट्टै गरोस्। बहुजातीय समाजवादको सुत्रधार कर्ता संघीय जनमुक्ति पार्टी नै भएकोले उस्तै उस्तै राजनीतिक सिद्धान्त बोकेर पछि जन्मेका पार्टीहरूसँग पनि पार्टी एकताको पहल यसैले गर्नुपर्छ। तर, त्यो भन्दा अगाडी फुटेर गएका श्रद्धेय गोरे बहादुर खपाङ्गीका समूह र शिवलाल थापा समूहसँग आगामी हुने महाधिवेशन भन्दा अगावै पार्टी एकताको लागि पहल यहि माउ पार्टीले नै गरोस्।

आफ्नै घरका दाजुभाईहरूलाई मिलाएर राख्न सकिदैन भने त्यसले अर्को घरको समस्या कसरि समाधान गर्न सक्छ ? यहाँ त राष्ट्रिय एकताको सवाल छ। मूलुकको समृद्धि र सुशासनको कुरा छ। राज्यसत्ता कब्जा गर्ने कुरा छ। आफ्नैलाई पाखा लगाएर कसलाई समेटेर राष्ट्रिय एकता गर्ने ? कसको समर्थन लिएर राज्यसत्ता कब्जा गर्ने ? एकता नचाहने पार्टी भित्र कोहि हुनुहुन्छ भने त्यसको कारण सहित यहाँ प्रस्तुत हुनु पर्यो। होइन भने बिनासर्त अबिलम्ब पार्टी एकताको लागि पार्टी कै नेता तथा कार्यकर्ताहरूबाट दबाब दिनुपर्ने समय आयो। एकताको पहल गर्नु नै मेरो पार्टी प्रवेशको अर्को उद्देश्य हो।


सुनारी मगर, प्रवास जनमुक्ति मञ्च, साउदी अरेवीयाका अध्यक्ष हुन । 

Last Updated on Sunday, 10 April 2016 09:08

Hits: 598

नयाँ संविधानले आदिवासी जनजातिलाई दब्बू र लम्पट बनायो : तामाङ

रूद्र श्रीसमगर

पोखरा, चैत्र २०-चैत्र लोकोत्तर लोकवादी विचार अभियानका संयोजक धनप्रसाद तामाङले आदिवासी जनजातिलाई नयाँ संविधानले दब्बू र लम्पट बनाएको जिकिर गर्नुभएको छ । लोकोत्तर लोकवादी विचार अभियान र नाङ्साल तामाङ सेवा समाजले शनिबार पोखरामा गरेको आदिवासीय सांस्कृतिक विमर्श कार्यक्रममा तामाङले नयाँ संविधानले पनि देशमा विद्यमान समस्याको हल दिन नसकेको चर्चा गर्दै पुनः आन्दोलनको आवश्यकता भएको बताउनुभयो ।

सांस्कृतिक चेतनाको अभावका कारण आदिवासी जनजाति समुदाय जहिले पनि उत्पीडन र दमनमा पर्ने गरेको जनाउँदै तामाङले राज्यले आदिवासी जनजातिका सांस्कृतिक मूल्यको अवमूल्यन गरेको उल्लेख गर्नुभयो । ‘आदिवासी सांस्कृतिक विमर्श जरुरी छ’, तामाङले भन्नुभयो, ‘अब संस्कृति संरक्षणका लागि पुस्ता हस्तान्तरणको प्रक्रिया सुरु गरौं ।’ सामाजिकीकरणमा जोड नदिइकन समाजको विकास प्रक्रिया अघि नबढ्ने बताउँदै उहाँले सांस्कृतिक पैरवीको जरुरी भएकोमा जोड दिनुभयो ।

अब नयाँ दर्शनको विकास आवश्यक भएको समेत उहाँको भनाइ थियो । नेपाल तामाङ घेदुङ सिम्पानी कस्येरी एकाइ समितिको व्यवस्थापनमा भएको कार्यक्रममा नेपाल आदिवासी जनजाति महासंघ, जिल्ला समन्वय परिषद् कास्कीका सचिव पूर्ण Þयोल्मोले संविधानसभाबाट जारी नयाँ संविधानमा प्राप्त उपलब्धीलाई संस्थागत गर्दै थप अधिकारका लागि संगठित हुनुपर्ने आवश्यकता औंल्याउनुभयो । नेपाल तामाङ घेदुङका केन्द्रीय सदस्य एवं प्रदेश नं. ४ का संयोजक दीपक वाइबा तामाङले संस्कृतिलाई राजनीति र राजनीतिलाई राज्यसँग जोड्नुपर्ने आवश्यकता औंल्याउँदै तामाङ पहिचान र सभ्यताको पुनर्जागरणका लागि एक भएर अघि बढ्नुपर्ने बताउनुभयो ।

नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) कास्कीका उपाध्यक्ष रूद्रबहादुर श्रीसमगरले आदिवासी जनजाति संस्कृति संरक्षणका लागि सांस्कृतिक रूपमा सचेत हुनुपर्नेमा जोड दिँदै विकृति र अन्धविश्वासको अन्त्य गर्दै नयाँ सोंच र संस्कारको विकास गर्नुपर्ने बताउनुभयो । भुजेल संस्कृति मञ्चका केन्द्रीय संयोजक कुलबहादुर भुजेलले भुजेललगायतका अति सीमान्तकृत आदिवासी जनजाति समुदायहरूको संस्कृति संरक्षणमा अन्य ठूला आदिवासी जनजाति समुदायले सहकार्य गर्नुपर्नेमा जोड दिनुभयो ।

सो अवसरमा नेपाल तामाङ घेदुङ कास्कीका कार्यवाहक अध्यक्ष रामप्रसाद सम्देन तामाङ, तामाङ बौद्ध सेवा समितिका अध्यक्ष केशबहादुर तामाङ, नेपाल तामाङ घेदुङ सिम्पानी कस्येरी एकाइ समितिका अध्यक्ष वीरबहादुर तामाङलगायतले आदिवासी जनजाति समुदायमा सांस्कृतिक जागरणको आवश्यकता औंल्याउनुभएको थियो । नाङ्साल तामाङ सेवा समाजका अध्यक्ष चन्द्र ग्याबक तामाङको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको सञ्चालन मोहनकुमार तामाङ र रेशम तामाङले स्वागत गर्नुभएको थियो ।

 

Last Updated on Sunday, 03 April 2016 14:24

Hits: 2073

Error: No articles to display