A+ A A-

मगर कुलका कुलंगार पुत्र पृथ्विनारायण !



    

पृथ्वी  नारायण शाहले नेपाल एकिकरण राम्रो नियतले गरेका थिएनन् । त्यतिवेला साम्राज्यवादी शक्तिहरुले कमजोर राष्टूहरुलाई उपनिवेश वनाउने लहर नै चलेको थियो ।

चक्रबहादुर अस्लामीमगर

 

नेपालका स–साना बाइसे चौबिसे र भुरे टाकुरे राज्यहरुमाथि आक्रमण गरी गोर्खा साम्राज्यमा गाभेर निरंकुश बादशाह वन्ने दुस्वपना पृथ्वी नारायण शाहले पनि देखेका थिए । राम्रो नियतले एकिकरण गरेका भए आज राष्ट्रिय एकता कहाँ पुग्थ्यो, कहाँ ? आज उनलाई राष्ट्रिय एकताका प्रतिक भनेर हिन्दू आर्यहरुले गुनगान गाए पनि त्यो ढाेंग मात्र हो, त्यसमा सत्यता छैन किनकि यस देशमा वसोवास गर्ने प्रत्येक जातिको समान सहभागिता, समान अवसर र समान दायित्व अर्थात भावनात्मक एकता बिना राष्ट्रिय एकता सम्भव छैन । आर्यहरुले पृथ्वीनारायण शाहको स्तुति नगरुन् पनि कसरी ? उनले हिन्दु आर्यहरुलाई आफुले जितेका  सम्पुर्ण विरासत सुम्पेका थिए । राष्ट्रका हाली मुहाली हर्ताकर्ता उनीहरुलाई नै बनाईएको थियो ।
    पृथ्वीनारायण शाह घोर अवसरवादी र साम्राज्यवादी प्रवृतिका व्यक्ति हुन् भने मगर जातिका नाममा उनी कुलघाती, स्वार्थी र कुलंगार हुन् । विशाल एवं गौरवशाली मगरातको राजा भएर पनि, मगर जातिको सन्तान भएर पनि साम्राज्यवादी नशाले मदमस्त पृथ्वीनारायण शाहले १०८ बाहुनलाई पालैपालो ढोकेर विराज थापा मार्फत नेपाली जनताको पसिनाबाट संचित असर्फी वनारसी पाण्डालाई घुस खुवाएर आर्यहरुको सवैभन्दा ठूलो कश्यप गोत्र लिएर जनै गर्न धारण गर्न पुगे । यसमा उनको बाध्यता होला नहोला तर त्यसैदिन उनी मनुवादी राज्यसत्ताको अगाडि घँुडा टेके, वैचारिक एव व्यावहारिक संघर्षमा उनी पराजित भए । युद्धको अग्रीम मोर्चामा नहार्ने महाराजा मनुवादको अगाडि कुहिएको कर्कलो झै फत्तकै गलेर लम्पसार परे ।
उनको यो बैचारिक आत्मसमर्पणले मगर जातिलाई धेरै मानेमा प्रभाव पारेको छ । नेपाल ठकुराई (राज्य)मा राज गर्ने ठकुरी (राजा) कालान्तारमा जात हुन पुग्यो । जबकी ठकुरी पद हो, जात होइन । त्यो पदलाई धुर्त बाहुनहरुले ठूलो जात भनि बैधानिकता दिए पछि पृथ्वीनारायण शाह जस्ता प्रतापी राजाका मावली ससुराली सेनमगर, इष्टमित्र  खाँड, मल्ल आदिहरुले एकमुष्ट होलसेलमा ठकुरी भई जनै हाले । यसले नेपालको सवैभन्दा ठुलो जनसंख्या भएको मगर जातिको जनसंख्या ह्वात्तै घटायो । यो जात फेर्ने क्रम अहिलेपनि जारी छ । थामी, घले, दुरा, छन्त्याल आदि मगर होइनांै भनि अलग भई टोपलिइएका छन् । जे होस, टूटफुटको बीचबाट पृथ्वीनारायण शाहले बाइसे, चौबिसे राज्यमा लडेर सम्झौता गरेर अर्थात् साम, दाम, दण्ड, भेद जस्ता नीति अपनाएर भूमिको एकिकरण त गरे तर भुरे टाकुरे ठकुराई (राज्य)का आम नेपाली जनता विच भावनात्मक एकता कायम गर्न सकेनन् । “नेपाल चार जात छतिस वर्णको फुलवारी हो” भने । तर, एउटा जातलाई मात्र फुल्ने र फल्ने अवसर दिए । खस जातिको भाषा, धर्म, संस्कार,संस्कृति र भेषभुषालाई राष्ट्रिय सम्मान दिए भने अन्य भाषा, धर्म र संस्कृतिलाई कानुन बनाएर भएपनि दमन गर्न प्रपन्च रचे ।
   उनका सन्तान दर सन्तानले एकपछि अर्काे कानून बनाएर नेपालको छत्तिस वर्ण अर्थात बहुसंख्यक भाषिक तथा धार्मिक समुदायलाई प्रतिपक्षमा वा दुस्मनको कित्तामा राखे र सधै मानसिक यातना दिने काम भयो । मगरात क्षेत्रमा आफ्नो भाषा बोले जिव्रोमा पिन घोच्ने, नङमा पिन ठोक्ने, कहिँ चार पैसा, दुई पैसा दण्ड तिर्नुपर्ने कानूनी बाध्यता सृजना गरेको इतिहासमा पाइन्छ । खस भाषामा विद्यावारिधि गर्न सकिने व्यवस्था छ तर अन्य भाषामा हालै आएर मात्र प्राथमिक शिक्षासम्म मात्र पढ्ने प्रावधान भएको छ । हिन्दू धर्मका लागि अरबौ रुपैया सरकारी ढुकुटीबाट खर्च हुन्छ भने अन्य धर्म कुन रछ्यानमा छ थाहा हुदैन र राज्यले वास्ता पनि गर्दैैन । यहाँसम्म कि राजा त्रिभुवनले नेपाललाई संयुक्त राष्ट्र संघमा दर्ता गराउँदा नेपालको पहिचान खुलाउने क्रममा लिपी देवनागरी लेखाएका रहेछन् तर उक्त लिपी भारतले पहिल्यै लेखाई सकेकाले दर्ता हुन नसक्दा उनले अन्ततोगत्वा नेवारहरुको रन्जना लिपी नै नेपाली लिपी हो भनी दर्ता गराए । तर अभ्यासमा त्यो लिपी कुन चरीको नाम हो आम नेपाली जनतालाई थाहा छैन । विकास, संरक्षण र सम्बद्र्धन देवनागरी लिपी कै भएको छ । संयुक्त राष्ट्र संघले नेपालको लिपी भनेर चिन्ने रञ्जना लिपीको यस्तो अवस्था छ भने अरु भाषाका लिपीहरुकोे अवस्था के होला भन्ने बारे सहजै अनुमान लगाउन सकिन्छ ।
     यसरी आधुनिक नेपाल एकिकरणकालदेखि नै षडयन्त्रमुलक ढंगले हराईएका यहाँका मूलबासीहरुलाई समाजिक, आर्थिक, धार्मिक, सांस्कृतिक र राजनैतिकरुपमा विभेद र वहिष्कार गर्दै आएको पाईन्छ । यसका लागि जित्नेहरुले मनुवादमा आधारित समान्तवादी राजनैतिक दर्शनमा टेकेर राजसंस्थालाई केन्द्र बिन्दु बनाई एकल जातीय पहिचान सहितको केन्द्रिकृत राज्यसत्ताको स्थापना गरे । सामान्तवादले नेपाली जनतालाई भाग्यवादको चक्रव्यूहमा फसाएर दलाल, पूँजीपति नौकरशाहाहरुले एक छत्र राज गरिरहेको अवस्थामा मुक्तिगामी नेपाली जनताको चेतना र २०६२÷०६३ को जनआन्दोलनको ज्वारभाटाले सामान्तबादको गाठा फुटालेर थला टेकाएको छ । सामन्तवाद मृत्यु शैय्यामा छ तर मरिसकेको छैन । उसका अवशेषहरु, हांगाबिगाहरु सलवलाई रहेकाछन् । जरो हल्ली सकेको छ तर सम्पूर्णरुपमा नस्ट हुन बाँकिरहेको अवस्था छ । आफु बस्ने घरलाई स्वर्ग र अरु बस्ने घरलाई नर्क भन्ने ब्राह्मणबादी चिन्तन नराम्ररी हतोत्साहित भएको छ ।
    त्यसैले ठूलाठूला प्रजातान्त्रिक र समाजवादी क्रान्ति सम्पन्न गर्छाै भन्ने पार्टीहरुले पृथ्वीनारायण शाहको परिपाटीलाई बचाई राख्ने दुस्प्रयास गरिरहेकाछन् । पृथ्वी नारायणशाहले नेपाल एकिकरण गरेपछिका सवै जातजातिहरु नेपालका आदिवासी हुन भनी चितवनको महासमिति वैठकमा नेपाली काँग्रेसका उप सभापति रामचन्द्र पौडेलले प्रतिवेदन नै पेश गरे । तर पार्टिभित्रका आदिवासी जनजाति नेताहरुको ठूलो विरोधपछि परिमार्जन भन्दै आदिवासीको ठाउँमा मुलबासी राख्ने भनेका छन् । ‘आदिवासी’ र ‘मूलवासी’ शब्दमा तात्विक भिन्नता छैन । शब्द जुन ‘बासी’ राख्ने भनेता पनि सारमा चाहि मनुवादी राज्यसत्ताको निरन्तरता उनीहरुले चाहेका छन् भन्ने नै हो । संयुक्त राष्ट्र संघले पारित गरेको आदिवासी जनजातिको परिभाषालाई बेवास्ता गर्दै उनीहरु आधुनिक रामशाह बन्ने प्रयास गर्दै छन् । यो मात्र नेपालको सन्दर्भमा घटना पात्र हो भन्ने होइन, माक्र्सवादी विश्वविद्यालयका प्राधापकहरुको पार्टीले पनि मनुवादी राज्यसत्ताको निरन्तरता चाहेपछि आदिवासी जनजातिहरु अटाएर बस्न नसकी संघीय समाजवादी पार्टी गठन भएको पनि दृष्टान्त यहिँ छ ।
    यसले समाजलाई द्वन्द्व तिर डो¥याउछ । नेपालमा दीगो शान्तिको लागि त यहाँका प्रत्येक समुदायले यो राष्ट्र हाम्रो पनि हो भन्ने भावनात्मक एकताको खाँचो छ । पृथ्वीनारायण शाह र उनका मतियारहरुले गरेको गल्ती सच्याउने कि नसच्याउने भन्ने प्रमुख कुरा हो । राष्ट्रिय समस्या भनेको सैद्धान्तिक रुपमा राज्य संघीय लोकतान्त्रिक गणतन्त्रमा प्रवेश गरी सक्दा पनि विधिसम्मतरुपमा अभ्यासमा जान नसकि रहेको अवस्था हो । राज्य संघीयतामा गए पुनः बाइसे र चौबिसे राज्य फर्कन्छ भन्ने भ्रामक प्रचारवाजी गरेर राजनितिक रोटी पकाउनु बेईमानी हो । पहिचान र सामथ्र्यको आधारमा राज्यको पुनर्संरचना गरी उनीहरुको ऐतिहासिकता र भावनाको कदर गर्दा राष्ट्रलाई फाइदा हुन्छ । यस देशका सबै राष्ट्रियताहरु फुल्न, फल्न र फस्टाउन पाएमा मुलुकको आन्तरिक राष्ट्रियता झन मजवुत हुन जान्छ । जसले हरेक किसिमको वाह्य तथा आन्तरिक हस्तक्षेपलाई परास्त गर्न सक्दछ । राष्ट्रका यी टडकारो आवश्यकताहरुमा सबैको ध्यान जान जरुरी छ ।
त्यसैले मुलुक अहिले अत्यन्तै कष्टकर संक्रमणकालिन यात्राबाट गुज्रदै नयाँ संविधान निर्माणका लागि दोस्रो संविधान सभाको निर्वाचनमा होमिएको छ । पहिचान विरोधी शक्तिहरु छेपारोले रंग फेरे झै राजनितिक नारा फेर्नमा व्यस्त छन् । सत्ता पक्षले ‘फुटाउ र राज गर’को राज गरको नीति जवर्जस्तरुपमा प्रयोग गरेको छ । पहिचान पक्षधरहरुपनि चुनावी मैदानमा उत्री सकेका कारण आदिवासी जनजाति मगर लगाएत महिला, दलित, मधेसी, उत्पीडित क्षेत्र र जातिहरुले ठण्डा दिमागले सोचेर ऐतिहासिक निर्णय लिने बेला आएको छ । हाम्रो विकास संरक्षण र सम्बद्र्धन विरोधीहरु, जसले हामीलाई सदिऔंदेखि दासको रुपमा र दोस्रो दर्जाको नागरिकको रुपमा व्यवहार गरे र सयौं वर्ष पछाडि पारेका छन् । त्यो मनुवादि राज्यसत्ताका नाईके र तिनका हनुमानहरुलाई किनारा लगाउने अवसरको रुपमा यो संविधानको सभाको निर्वाचनलाई लिन जरुरी छ । हामी भित्रका भाईमारा, कूलघाती र कूलंगारहरुको पहिचान गर्ने, पौराणानिक कथा रामायणमा आफ्नै दाजुलाई हत्या गराउने विभिषण र मगरहरुको ऐतिहासिक राज्य लिगलिग कोट कब्जा गर्दा दुस्मन पक्षका द्रव्य शाहलाई सघाउने गंगाराम रानामगर जस्ता यस समयका विभिषण र गंगारामहरुलाई जातीय मुक्ति आन्दोलनको ऐतिहासिक कठघरामा उभ्याउनु पनि आजको आवश्यकत हो । जातीय मुक्ति आन्दोलनको तेजोबध गर्ने, सत्ता पक्षको ढाल बनेर मुक्तिगामी जनताको गला रेट्नेहरुसँगको संघर्षको निर्णायक घडिको रुपमा पनि यस अवसरलाई लिन पर्ने भएको छ । यो समयको माग हो, सबैलाई युग बोध होस् ।


(लेखक नेपाल मगर संघ, जिल्ला कार्य समिति कैलालीका उपाध्यक्ष हुन ।)

 हार्दिक श्रध्दाञ्जलि - ज्ञान बहादुर गाहा मगर