A+ A A-

खपागीं र दशैंको साम्प्रदायिक राजनीति : सन्जोग लाफा (बहसको पाटो )

कता गए  क्रान्तिकारी र तिनका क्रान्तिकारीता ? : यी प्रधानसेनापति बौद्धिस्ट हुन् , दशै यीनको चाड होइन । तर यो दशैमा  संविधानले नै निर्दिस्ट गरेको संघीय  गणतान्त्रिक लोकतान्त्रिक राज्यको राष्टपतिको हातबाट टिका थापे । यसलाई के मान्ने ?


दुईसय पचास वर्षदेखि राज्यले एउटा जातिको भाषा, संस्कृति र हिन्दु धर्मलाई आदिवासी जनजातिमाथि जबर्जस्ती थोपरेको बिश्लेषण र संश्लेषण गरि ती समूदायले आफ्नो  गौरव, पहिचान र अस्तित्वको लागी शुरुमा दशैं बहिष्कार र पछि परित्याग गरेकाथिए । आदिवासी जनजातिहरुमा जातीय अधिकारको सामुहिक विकास भइनसकेकोले दलिय हयांगओवर रहेका जातीय संघ–संस्थामा दशैं परित्याग गर्ने की  मान्ने भन्ने विषयमा ठुलो बहससहित अन्र्तद्धन्द्ध  अद्यापि चलिरहेकोछ  । राज्यले  नै 'पराम्परादेखि आफ्नै मौलिक भाषा, सँस्कृति र धर्म मान्दै आएका र हिन्दु  वर्णाश्रम भित्र नपर्ने समूदाय नेपालका आदिवासी जनजातिहरु हुन्' भनेर गरेको परिभाषाले दशैं आदिवासी जनजातिको चाड होइन् भन्ने प्रस्टै हुन्छ । तर राज्य, संचारजगतले दशैलाई नेपालीहरुको महान् चाड भन्दै मनोवैज्ञानिक डर त्रास फैलाइरहेकोछ । यस्तो  त्रास फैलाउन राज्यले नै गल्लीगल्लीमा दुर्गा भवानीका मुर्ति राख्न लगानी गर्छ । विशेष महत्व र विदा उपलब्ध गराँउछ ।

राज्यको सम्पूर्ण शक्ति लगाएर राणा शासकले दशैं मान्नुपर्ने उर्दी लगाउदा वि.स. १९४२ सालमा रामलीहाङ र रिदमाले धनकुटामा दशैं बहिष्कार (सम्भवत् दशैं वहिष्कार गर्ने उनीहरु पहिलो हुनुपर्दछ ।) आन्दोलन गरेकोले दुवैजनाको हत्या गरिएको थियो । यो हत्या भएको एकसय तीन वर्षमा छिटपूट रुपमा विरोध भएपनि बहुदलीय व्यवस्था घोषणापछि साँस्कृतिक, धार्मिक गौरवको लागी आदिवासी संघ–संस्थाले दशैं बिरुद्ध सामुहिक जनचेतना फैलाउँदै विरोध गरेर दशैं परित्याग गर्न थाले । दशैं चाडलाई ग्रामीण क्षेत्रमा बसोबास गर्ने मानिसहरुबीच सरल भाषामा तर्कसहित बुझाउन सक्ने गोरेबहादुर खपाङ्गी मगरले नै यो आन्दोलनलाई उचाईमा पुरयाएका हुन् । आन्दोलनकै रुपमा यसलाई अगाडि बढाएपछि कम्यूनिष्ट र यथास्थितिवादी नेताहरुले उनलाई विध्वंशकारी, साम्प्रदायीक, धार्मिक असहिष्णुतावादी भनेर सत्तोसराप गर्दै टुप्पी कसेर तिव्र विरोध शुरु गर्यो । त्यहि सोंच र राजनीतिक विचारबाट दिक्षित कठपुतली आदिवासी जनजाति नेताहरु पनि “सुगा बोली”  बक्न थाले, त्यस्तो मन्त्र अहिलेपनि जपिरहेकाछन्   ।

नेपाल बहुजाति मुलुक हो । बहुजाती भएको जुनसुकै मुलुकमा पहिलो समस्या वर्गीय हैन जातीय  हुन्छ भन्ने लेनिनको लेखोटलाई तोरमरोड गरि भ्रम फैलाउने कामरेडहरुले  नेपाल जस्तो जातीय समस्याको माखेसाग्लो भएको ठाँउमा वर्गीय समस्या ठूलो हो भन्दै जनजातिलाई उल्लु बनाइरहेकाछन् ।  जातीय चेत बढेपछि ती दलहरु अहिले आँखामा छारो हाल्न जातीय मोर्चा बनाएर जनजाति नेताहरुलाई थान्को लगाउन खोजिरहेकाछन् । उनीहरुको यस्तो षड्यन्त्रलाई  जनतामाझ पुरयाउने काम २०४६ को परिवर्तनपछि खपागींले जनमुक्ति पार्टी  र मगरसंघको माध्यमबाट गरेकाहुन् ।त्यस्तो भ्रम छिर्न प्रयास गर्ने र त्यसलाई सार्वजनिक रुपमा भन्ने आँट अन्य जनजाति नेताले अहिलेसम्म देखाएको देखिदैन । अन्य जनजाति नेताहरु कुरा चपाएर यो पनि ठिक उ पनि ठिक भनिरहेकोबेला खपागीं नै हुन् जसले यस्तो साहस देखाएका ! 

नेपालमा जातीय अधिकारका कुरा गर्ने र आन्दोलन गरिरहेका जनजाति नेताहरुलाई हरदम राज्यशक्तिको दुरुपयोग गरि ध्वस्त पार्ने कार्य गरिदै आइएकोछ  । साम, दाम, दण्ड, भेद लगाई बध गरिएकोछ । शुरुमा फकाउने प्रलोभन दिने, त्यसपछि नमाने धम्क्याउने र त्यसले पनि नमाने मार्नुलाई हिन्दु शास्त्रमा साम, दाम, दण्ड, भेदको रुपमा ब्याख्या गरिएकोछ । महत्वाकाक्षी तत्कालिन राजा ज्ञानेन्द्रले गोरेबहादुर खपाङ्गी मगरलाई मन्त्री नियुक्ति गरेको  त्यहि रणनीति अन्र्तगत थियो । । एक विश्वस्त सुत्रको भनाईमा खपागींलाई पतन गराउने खेलमा तत्कालिन प्रभावशाली मन्त्री रमेशनाथ पाण्डेको मगज लागेको बताइन्छ । उलने नै यो सब षड्यन्त्रको तानाबुना बुनेकाथिए रे । संयोग मात्र थिएन् , खपागीलाई दशैंको ७ दिनै अगाडि मात्र मन्त्री बनाइनु । नभन्दै  उनलाई एकहप्तापछि राजाको हातबाट दशैं टिका ग्रहण गराइयो । कान्तिपुर दैनिकमा उजीर मगरले “धेरै वर्ष भएको थियो दशैं नमानेको यो वर्ष रमाइलो भयो” शिर्षकमा कपोलकल्पीत वाक्यांश लेखेर पाठकलाई दिग्भ्रमित पारे । उनलाई मन्त्रीक्वार्टरमा बोलाएर दशैंको प्रसंगमा खपाङीसंग छलफल मैले नै गराएको थिएँ । खपागींले त्यसो भनेकै थिएनन् । मगर बध गर्न मगर संचारकर्मीकै दुरुपयोग गरेको मैले प्रत्यक्ष भोगेको यथार्थ हो यो ।

त्यसपछि एमालेका पोलिटव्युरो सदस्यद्धय प्रदिप नेपाल, मोदनाथ प्रश्रित र लेखक खगेन्द्र सँग्रौलाले राष्ट्र बेचेको ठुलो अपराध सरह राष्ट्रिय दैनिक पत्रिकामा लेख लेखेर खपागींको तेजोबध गरे । तिनले नै अहिलेसम्म घोकाएर राखेका पटटु आदिवासीहरु  त्यहि बोलिमा लोलि मिलाएर अरुलाई दशैं नमान भन्ने आफूचाहीं राजाको हातबाट टिका लगाएर हामीलाई उल्लु बनाउने भन्दै विरोध गरिरहेका छन् ।  ति त्यसो किन भनिरहेकाछन् भने उनीहरु हिन्दु बाहुन क्षेत्रीले भन्दा उनीहरुको चाडमा बढी लहसिन्छछन् । आदिवासी मुक्तिको कुरा गरेर क्रान्तिकारिता  फलाक्छन् तर पीकडहरुको धर्म , संस्कृतिको उनीहरु नै सबैभन्दा ठूलो प्रवक्ता हुन्छन् ।  जातीय संघ–संस्थामा बसेर दशैं मान्नुपर्छ भन्ने पनि तिनैहरु हुन् । दशैं परित्याग गर्ने आदिवासी जनजातिहरु त्यस्ता दासहरुको प्रोपोगाण्डा सुनेर नुन खाएको कुखुरा र सातो गएको बालक झै  के के न बिराए भनेर बसिरहेकाछन् । तर उनीहरु  बिस्तारै आत्मगौरव प्राप्त गर्देछन् । जसरी म आज निर्धक्क  छाती फुलाएर दशै मान्दिन भन्न सक्छु उनीहरु पनि त्यसरी बोल्न थालेकाछन् । यो परिवर्तन हो, चेतनाको ।

अचम्म छ, लेखक, विद्वान, नेताहरु हिन्दु धर्मको मूल मर्म  सहिष्णुता हो भनि लाखपटक फलाक्छन् ।  तर त्यहि काइते लेखक , नेता, बिद्धान गोरेबहादुरले हिन्दुहरुको दशैं चाडमा सहिष्णुताको कदर गर्दै राष्ट्रप्रमूखको हातबाट टिका लगाउँदा  खिल्ली उडाउछन् ।  यी स्वंय असहिस्णु रहेछन् भन्ने यो भन्दा ठूलो उदाहरण के होला ? आदिवासीले सहिष्णुता देखाउदा उनीहरु स्वंयले असहिष्णु  ब्यवहार गर्छन भने दशैं मनाएर बसिरहेका जनजातिहरुले किन यत्रो अपजशको भारी बोकिरहनुपर्यो ? तर पट्टुहरुले यसतर्फ कहिल्यै मगज खपाएका छैनन् ।   राजाबाट टिका ग्रहण गर्ने ब्यक्तिले  घरपरिवार, नातागोता डाकेर टिका लगाएको भए दशैं मानेको हुन्थ्यो । त्यो कार्य खपागीले अहिलेसम्म गरेका छैनन् । अनि, गोरेलेकसरी दशैं मानेकोभयो ? के कुनै अमुक दलका नेताले म तेरो धर्म मान्दिन भन्न मिल्छ र ? अर्काे महत्वपूर्ण पाटो पनि छ । खपागीं त्यतिबेला हिन्दु धर्म, एक जातिको बर्चश्व भएको सत्ताको संरचनाभित्र छिरेकाथिए । उनले कल्पना गरेको सत्तामा हैन । त्यहाँ छिरेर केहि आशिंक भएपनि उनी परिवर्तन चाहन्थे । त्यस्तो संरचनामा छिरेपछि त्यसका लागि बनेका नियम मान्दिन भन्न पनि सकिदैन । म हगंकगं जान्छु तर गाडीमा जान्छु भनेर हुदैंन त्यहाँ हवाइ यान र पानी जहाजबाट  मात्रै पुग्न सकिन्छ । भविस्यमा गाडीमा पनि जान सकिएला तर अहिले यथासंरचनाबाटै त्यहाँ पुग्न सकिन्छ र बुद्धिमानी मान्छे त्यसै गर्छन ।

 अनिवार्य सँस्कृत शिक्षा लागु गर्न २०४८ सालमा आफुलाई गणतन्त्रवादी दावी गर्ने नरहरी आचार्यको नेतृत्वमा सांसदहरुलाई हस्ताक्षर गरी संसदबाट बहुमतले पारित गरिएको अनिवार्य संस्कृत खारेज गर्नुपर्छ, ऐच्छिक विषय राखिनुपर्छ भनेर धेरै पटक आदिवासी जनजातिहरुले चर्को विरोध, धर्नाजुलुस गरेपनि ज्यूँको त्यूँ रहेको अनिवार्य संस्कृत विषयलाई गोरेबहादुर खपाङ्गी मगरको प्रस्तावमा सरकारको निर्णयले खारेज गरि ऐच्छिक विषय बनाएको महत्वपूर्ण निर्णय किन चर्चा गरिएको छैन ? मृत संस्कृत भाषाको नाममा दुरुपयोग अरबौ खर्च कटौती हुनु ठुलो काम होइन ? गोरेले दशैंमा टिका लगायो भनेर हौवा फिंजाएर हामीलाई उल्लु बनाइनुको  पछाडि सँस्कृत पक्षधर र अति हिन्दुवादिको हात थियो भनेर हामिले कहिले बुझ्ने ? र, ती साम्प्रदयिक ब्यक्तिहरुका मतियार बनेका हामीले आफ्नो अधिकारको लागि  लड्दा खपागींलाई सहिद बनाउने षड्यन्त्र गरिएको हो भनि अर्काे एंगलबाट खै सोचेको ? अहिले जति पनि खपागीको विरोध गरि आफु माथि पर्न खोजिरहेकाछन् यथार्थमा ति नै जनजाति आन्दोलनका दुश्मन हुन् । ति कहिल्यै जनजाति आन्दोलन पक्षधर थिएनन् र हुनेपनि  छैनन् । ती जनजाति आन्दोलनका विभिषण हुन् जसले आफ्नै दाज्यूको तेजोबध गर्न हिन्दु सम्राटको साथ दिन्छ  । ती साम्प्रदययिक मतियारको यस्तो विरोध पछाडि दशैंलाई जनजाति समूदायभित्र प्रतिस्थापन गर्ने भयंकर राजनीति  लुकेकोछ ।

(आदिवासी मुद्दालाई चलचित्र र लेखन मार्फत  लामो समय देखि बहसमा उठाउदै आइरहेका सञ्जोग लाफा मगर जनआति आन्दोलनका बौद्धिक अभियन्ता हुन् )


 हार्दिक श्रध्दाञ्जलि - ज्ञान बहादुर गाहा मगर