A+ A A-

के मीडियालाई 'साम्प्रदायिक मतियार' बन्न, बनाउन मिल्छ ?

सम्पूण देशलाई नै पर्वमय बनाउदै दशैं भर्खरै सकिएको छ । दशैं पर्वका कारण प्रत्यक्ष रुपमा एकसाता सम्म देशको प्रशासनिक लगायत सम्पूर्ण अर्थतन्त्र ठप्प बन्यो भने सामान्य जनजीवनलाई  समेत पर्वले कुनै न कुनै रुपमा प्रभावित बनायो । अप्रत्यक्ष रुपमा त करिब एक महिना सम्म दशैको ह्याङ् सबै क्षेत्रले व्यहोर्नुपर्छ । अरुको के कुरा, नागरिकको सूचनाको हकको एक मात्र पहरेदार ठान्ने संचारमाध्यम समेत पर्वकै नाममा बन्द भयो । विषेश गरेर छापा माध्यम । दशैंको माहोलको अन्त्यसंगै यसले थुप्रै प्रश्नहरु जन्माइदिकाछन्, सामाजिक चिन्तक र सचेत नागरिकसामु ।
-मोहनसिंह लामा (अनिज अध्यक्ष)

के दशैं प्रचार गरे जस्तै सम्पुर्ण नेपालीको साझा राष्ट्रिय पर्व हो ? के दशैंमा पौने तीन करोड नेपालीहरुले नौरथाभरी दुर्गा भवानी र रामको पूजा आजा गरे अनि बली चढाए ? के दशैंमा सबै नेपालीहरुले खुशीयाली र हर्षौल्लास मनाए ? एउटा धार्मिक पर्व मनाउनका लागि नेपालको खस्कदो अर्थतन्त्रले बाध्यात्मक रितीरिवाजलाई अब धान्न सक्छ ? यी यस्ता प्रश्नहरु हुन, जस्लाई नेपाली बहुलबादी समाजका  चिन्तकहरुले बहस गर्न जरुरी छ, घोत्लिन जरुरी छ ।२०६२-६३ को जनआन्दोलनको आकाँक्षा अनुरुप अन्तरिम संविधानमा नेपाल धर्म निरपेक्ष राष्ट्र घोषणा भइसकेको छ । सोही जनआन्दोलनको उपलब्धि स्वरुप नै देश अहिले युगीन राजनीतिक परिवर्तनको चरणमा छ । सबै तिर पुनसंरचना जनआन्दोलनको भावना हो ।

त्यसैको पहिलो उपलब्धि हो, २४० वर्ष लामो सामन्ती राजतन्त्रको अन्त्य । देश नयाँ राजनीतिक प्रणालीमा प्रवेश गर्नु भनेको सबै क्षेत्रको पुनसंरचना हो । राज्यको पुनसंरचना, सामाजिक पुनसंरचना, साँस्कृतिक पुनसंरचना आदि  । तर राज्यको पुनसंरचनाको बहस बाहेक अन्य क्षेत्रको पुनसंरचनाको कँही कतै चर्चा सम्म छैन । यसको पुष्टि भर्खरै मनाइएको दशैं पर्वले गरिदिएको छ । राज्यको भूगोल परिवर्तन गर्ने तर राज्य चलाउने ब्यक्तिको मानसिकता त्यो अनुरुप परिवर्तन नगर्ने , के यसैलाई हो परिवर्तन भनिएको ? यस्तो जड परिवर्तनले समस्या सुल्झाउने हैन बल्झाउछ ।
 
धर्म निरपेक्ष भनेको राज्यले कुनै पनि धर्मको पक्षपोषण नगर्ने हो । राज्य एउटा धर्मको पक्षमा नलाग्ने हो । सबै धर्मलाई स्वतस्फुर्त विकास हुन दिने हो । तर, भर्खरै सकिएको दशैं मनाउन राज्यको श्रोत साधन जुन ढंगले दुरुपयोग गरियो, राज्यले एउटा धार्मिक पर्वलाई जुन रुपमा प्राथमिकता दिएर दशै प्रवद्र्धन गर्न भुमिका खेल्यो, अनि राष्ट्र प्रमुखले यो चाडलाई उच्च प्राथमिकता दिएर हिजो हिन्दु सम्राटकै जस्तो व्यवहार दोहोर्याए, यी परिदृश्यले धर्मनिरपेक्ष राष्ट्रको उपहास गर्ने बाहेक केही गरेन । यसबाट नेपालमा २०६२-६३ को आन्दोलनले शाहबंशीय हिन्दु संम्राटलाई फालेर बंशविहीन हिन्दु संम्राटलाई प्रतिस्थापन गरेको प्रस्ट महसुस भयो ।
 यो पङ्तिकारको असहमति र बिरोध हिन्दु धर्मावलम्बीहरुले दर्शैलाई भव्य रुपमा मनाए, देशव्यापी रुपमा मनाए भन्नेमा हैन । न त विविध धर्मालम्बीहरुवीचको बैमनस्यताको विजारोपण हो । नेपाली समाजको विविधताको जुन विशिष्ट विषेशता छ, त्यो विषेशतालाई बुझ्न नसकिएको भन्ने मात्र हो ।
यो बिशेषता बुझ्न नसक्दा सदियौं देखि नेपाल गरीब राष्ट्रको रुपमा दर्ज हुनु परिरहेको छ । अब त्यो सामाजिक जडताबाट माथि उठ्नका लागि हो दोस्रो जनआन्दोलनको परिवर्तन । तर, परिवर्तनको आकाँक्षालाई अवमूल्यन गर्दै फेरी पनि हिजोकै जस्तो एकात्मकवादी सोच अनुरुप नै अघि बढ्ने या यस्ता 'शास्त्रीयता ढकोसला राजनीति' लाई भंग गरेर नयाँ सोच अनुरुप अघि बढ्ने ? बहस जरुरी छ भन्ने मात्र हो ।
 
दशैं हिन्दु धर्मावलम्बीहरुको महान चाड हो । यसमा  दुईमत छैन । यो पर्वसंग जोडिएको धार्मिक किम्बन्तीहरु पनि हिन्दु परम्परामामाथि नै आधारित छ । यति कुरा दिउसोको घाम जस्तै छर्लङ्ग हुँदाहुँदै पनि दशैंलाई कसरी सम्पूर्ण नेपालीहरुको महान पर्वको रुपमा स्थापित गराउन खोजियो ? राज्यले त गर्यो गर्यो यसमा मीडियाले किन जर्वदस्ती राजनीति गर्न खोज्दछ ? दशैंको महत्ता स्थापित गर्न न्वारान देखिको बल लगाउँछ ?
 
कुनैपनि परम्परा, संकृतिलाई कुन रुपमा स्थापित गराउने भन्ने कुरामा संचार माध्यमको भुमिका महत्वपूर्ण हुन्छ  । विद्युतीय संचारमाध्यमहरुले सम्पूर्ण नेपालीहरुको महान चाड भन्ने विशेषण जोडेर २४ सै घण्टा बाचन गरेको देखियो । अनि दशै आउनु एक महिना अघिदेखि त्यससम्बन्धि समाचारको प्राथमिकता त छदै थियो । यस्तै छापा माध्यमहरुले समाचारको प्रमुखता मात्र दिएनन् दशैंको मूल दिनमा पत्रिका नै बन्द गरेर सूचनाका हकको संरक्षण राम्रैसंग गरेको पनि देखियो । नेपाल जस्ता धार्मिक र सामाजिक विविधिता भएको मुलुकमा एउटा धर्मविषेशको चाडमा संचारमाध्यमलाई नै बन्द गरेर के सन्देश दिन खोजिएको हो  ?  विश्लेषणको पाटो बनेको छ ।
समाज संचार माध्यमविहीन बनेको अवस्थाको कल्पना नै गर्न सकिदैन । संचारमाध्यम बन्द भएको अवस्थामा केही वर्ष अघि तत्कालीन राजा ज्ञानेन्द्रले आफ्ना छोरा पारसलाई युवराज घोषणा जस्तो अलोकप्रिय निर्णय गरेका थिए । जुन घटना संचारमाध्यममा नआउदा समाजले सहर्ष स्वीकार गरेको रुपमा लिइएको थियो । छापा माध्यम बन्द भएको बेला देशमा त्यस्तो घटनाहरु नहोला भन्न सकिन्न, खोइ त यहाँका पत्रपत्रिकाले त्यसप्रति सचेतता अपनाएको ?

सबै पत्रकारले चाड मनाउनु परेका कारण बन्द गरेको भन्ने तर्क अघि सार्न सक्छन्, तर, यो शास्त्रीय तर्क बाहेक केही होइन । संचारमाध्यममा एकात्मक सोच रहेकै कारण उत्पन्न समस्या मात्र हो यो । नेपाली समाज विविधतायुक्त छ, यहाँ दशै नमनाउने समुदाय पनि छन्, दशैंको बेला दशै नमनाउने समुदायका पत्रकारहरुले संचारमाध्यम धान्न सक्छन् भन्ने ठम्याइको कमि बाहेक केही होइन यो । यसले नेपाली संचारमाध्यमलाई विविधतायुक्त बनाउन झन जरुरी बनाइदिएको  छ ।


छापा संचारमाध्यमको व्यवहार र विद्युतीय संचारमाध्यमको प्रशारण शब्द छनोटको अवस्था हेर्दा धर्मनिरपेक्ष राष्ट्र घोषणा भई संविधानमा नै उल्लेख भएको यीनलाई थाहा छैन कि जस्तो भान हुन थालेको छ । नेपाली संचारमाध्यमको यो संबेदनहीनता निर्णयले परिवर्तनलाई संस्थाग

  लेखक

त गर्न प्रश्रय देला त भन्ने प्रश्न यतिबेला म जस्ता  धेरैको मनमा उब्जिएको हुनुपर्छ । संचारमाध्यमले समाजमा सदियौदेखि विद्यमान धार्मिक र एकात्मक जडताबाट माथि उठाउन पो सहयोग गर्नुपर्ने हैन र ? खोई आफुलाई परिवर्तनका संवाहक ठान्ने संचारकर्मीहरुले यसतर्फ ध्यान दिएको ? के संचारमाध्यमलाई पनि साम्प्रदायिक मतियार बनाउन पाइन्छ  ?

लेखक नेपाल आदिवासी जनजाति पत्रकार संघ ( अनिज) का अध्यक्ष हुन्
 













Error: No articles to display