A+ A A-

दशै बहिष्कार : ब्राह्मणवाद बिरुद्धको बिद्रोही अभिब्यक्ति ❗️

नेपालमा मनाइने बिभिन्न धार्मिक,समुदाय बिशेष चाड पर्व मध्य अन्त्यन्त बिवादित पर्वमध्य शायद पहिलो नम्बरमा पर्दछ होला "दसैं" यो चाड माओवादी बिद्रोह हुँदा अत्न्यत शिथिल अवस्थामा पुगेको पनि थियो तर माओवादी सत्तामा बसेपछी राजा र हिन्दू राज्यको पालामा गाई ,गोरु खुलेआम काटेर भोज खुवाउने अनी शामन्ती चाड पर्व नमनाउने घोषणा गरे पनि अन्तत त्यही प्रचन्ड ,बाबुराम पनि हिन्दू धर्म सन्स्क्रितीको नै पक्षपाती दरिए । केही बर्ष दसैं नमाने जस्तो गरे पनि फेरी दसैं उही राजाको पालामा झै तामझाम्का साथ मनाउन सुरु गरे सरकारी खर्चमा जबकी आदिवासी जनजाती चाड पर्व मनाउदा खर्चको त कुरै छोडौ शुभकामना समेट दिएको भेटिन्न । हिन्दू धर्मका रक्षक राजा अहिले नभएपनी कम्युनिस्त नकाव्धारी हिन्दू वादी ब्राहमान नै सत्तामा बसेकोले दसैं जबर्जस्त महान चाड बनाई मनाउदै गरिदा आदिवासी जनजाती ,दलित समुदाय भने राज्यको विवेधपूर्ण व्यवस्था पर्ती अस्न्तोष पोख्न हरेक साल यो दसैं बहिस्कार गर्दै आईरहेका छन । 

 

दशै बहिष्कार : ब्राह्मणवाद बिरुद्धको बिद्रोही अभिब्यक्ति ❗️
__________________________________ ✍️ दुर्गाहाङ याखाराई "ब्राह्मणवाद विरुद्ध जनजाति + उत्पिडित बर्ग" नामक बहुचर्चित पुस्तकका लेखक एबम सोही पुस्तकबाट साभार ।

{ श्री ३ जंगबहादुरको शासनकालमा राज्यशक्तिबाट भयभित भई कतिपय किराती हिन्दु चाड दसैंलाई अनिच्छापूर्वक स्विकारिरहेका थिए भने कयौंले चाहिँ डटेर हामी हिन्दु चाड दसैं मान्दैनौं भनी विरोध जनाइरहेका थिए । अतः अधिनायक जंगबहादुरले त्यसरी अस्वीकार गर्ने नेता किरात जनसमुदायका नेताद्वय (६ थर थुम धनकुटाका आठपहरे राई) रामलिहाङ र रिदामालाई सरकारी सेनाद्वारा मारे । अनि विजय उल्लाससाथ विजया–टीकासहित उनीहरूकै स्वजातीय बन्धुहरूलाई राँगो, बोको आदि काटेर दसैं मान्न लगाइयो । यसरी जंगबहादुरले हिन्दु सांस्कृतिक दासत्वको जुवा पूर्वी किरातहरूको घिच्रोमा भिराइदिएका थिए । जुन किराती घिच्रो र शिर आजसम्म स्वतन्त्र र ठाडो हुन सकेका छैन। }

----------------------------///----------------------------

वर्तमान संविधानमा स्वघोषित हिन्दु उच्च जातिहरूको निजी धर्म हिन्दुलाई संवैधानिक राष्ट्रिय धर्मको मान्यता कायम गराइएपछि गैरहिन्दु किरात मुलका जनजातिहरूले हिन्दु धर्म र त्यससम्बन्धी संस्कारलाई संगठित रूपमा बहिष्कार गरिल्याएका छन् । तिनै बहिष्कृत संस्कृतिमध्ये नेपाली हिन्दु चाड दसैंले निकै चर्चा पाएको छ । हिन्दुकृत जनजाति तथा उत्पीडित वर्गले पनि आफ्नो संस्कृतिका रूपमा मनाइल्याएका दसैंलगायतका चाडपर्वप्रति समीक्षात्मक पुनर्मूल्यांकन गर्न बाध्य भएका छन् ।

हिन्दु चाड दसैंलाई बहिष्कार गर्ने समूहको तर्क छ— प्रागैतिहासिककालमा आर्य र अनार्यबीच घटित जातीय युद्धमा छलकपटद्वारा आर्य जाति विजय बनेको थियो । तसर्थ, सोही विजय उल्लासको प्रतिरूप हिन्दु उच्च जातहरूले मनाइल्याएका जन्मउत्सव (जयन्ती) ‘विजयादशमी’मा हामी अनार्य/हिन्दुहरू पनि आफ्नै जातीय पराजयको खुसियालीस्वरूप निधारभरि रातो टीका टाँसेर आर्यको दासत्व र आफ्नै लघुताभासको प्रतीक ग्रहण गर्दैनौं । यो धारणाको पुस्टयाइँमा ऐतिहासिक तथ्यगत केही दम छ ।

विजयादशमीलाई जनजातिहरूले आर्यहरूको चाड–पर्व ठान्न थालेका छन् । जनजातिद्वारा दसैं बहिष्कारको अभियान आफैमा केही होइन । यो खासोखासमा हिन्दु धर्म र त्यसको पृष्ठपोषक (पछिल्तिरबाट मद्दत गर्ने) आप्रवासी मुलको अति अल्पसंख्यक एक ब्राह्मण जातीय रजाइँ र रजगजप्रतिको असहमति एवम् विद्रोहजन्य मुक्ति–संघर्षको सांकेतिक अभिव्यक्ति हो । अनि हो, जातीय मुक्ति उपायको खोज निम्ति अदबनीय (दबाउन नसकिने) र असहनीय व्यग्रताजन्य हातखुट्टा पछाराई तथा छटपटाहटको द्योतक । तर, यहाँ चर्चा गरिन लागेको सन्दर्भचाहिँ जनजातिले धार्मिक, साम्प्रदायिक मुक्ति–संघर्षको सुरुवात यही दसैंलाई नै बहिष्कार गर्नबाट किन रोजे होलान् ? यस कौतूहलताको समाधान गर्नु हो ।

 

दसैं चाड लिच्छवीकालको उपज

 

वस्तुतः आजको रूपको दसैं चाड लिच्छवीकालदेखि विकसित भएको ऐतिहासिक स्पष्ट आधार पाइन्छन् । तत्कालीन हिन्दुस्थानमा तीनदेखि साढे पाँच ई. शताब्दीसम्ममा लिच्छवीहरूको समकालीन शासकहरू प्रतापी गुप्त (शुद्र) सम्राटहरू थिए र लिच्छवी शासक तथा सामन्तहरूले गुप्तकालीन सभ्यता र गुप्त सम्राटहरूको देखासिकी दुरुस्तै नेपालमा उतारेका थिए । गुप्तकाललाई हिन्दुस्थानमा ब्राह्मण धर्मको पुनर्उत्थानको प्रतीक मानिन्छ । यसै कालदेखि पौराणिक धर्मले आधुनिक हिन्दु धर्ममा चोला बदलेको हो । यसै अवधिमा अनगिन्ती हिन्दु धार्मिक पुस्तक, पुस्तिकाको रचना र रामायण तथा महाभारत महाकाव्यसमेतको अन्तिम सम्पादन र पुनर्लेखन भएको थियो । वैदिक धर्मलाई अधिक लोकप्रिय बनाउने उद्देश्यले वैदिक देवतालाई मानव रूपधारी बनाइए । उनीहरूको उपासनाबाट भक्तिको अभिव्यक्ति हुन गयो र वैदिक धर्मको परम्परा र पुनरुद्धारमा वैष्णव, शैव आदि विभिन्न धार्मिक सम्प्रदायको विकास भयो । बौद्ध धर्मको लोकप्रिय सिद्धान्त जति वैदिक धर्ममा मिलाइयो र स्वयम् ऐतिहासिक पुरुष बुद्धलाई नै पनि काल्पनिक पुरुष विष्णुको एक अवतार मानियो । यही कालमा देवताको साथसाथै देवीहरूको पनि उपासना गरिन्थ्यो । देवीहरूमा प्रमुख स्थान लक्ष्मी, दुर्गा र पार्वतीका थिए ।

 

लिच्छवीकालमा हाम्रो इतिहासलाई सिंहावलोकन (पछिल्तिर हेर्ने काम) गर्ने हो भने लिच्छवी शासकले गुप्तकालीन उपरोक्त धार्मिक, सांस्कृतिक तथा राजनीतिक नक्कल हुबहु नेपालमा पैठारी गरेका थिए । कतिपय लिच्छवीकालीन धार्मिक तथा सांस्कृतिक परम्परा आजसम्म जीवितै छन् नेपालमा । तीमध्ये दसैं चाड एक हो । चैतेदसैं भनूँ या बडादसैं दुवैमा भारतेली गुप्तकलामा सिर्जित नारी र अस्त्रशक्ति उपासनाको नयाँ अवधारणालाई ‘देवी दुर्गा’ पूजाको अर्थमा रूपान्तरित भएको छ । तत्कालीन नेपाल अर्थात् आजको काठमाडौं उपत्यकाभित्र पर्ने भक्तपुरमा आज पनि धुमधामसँग मनाइने खड्ग खुकुरीभन्दा भिन्न आकारको दुई/चार फिट लामो फलाम काट्ने हतियार लिच्छवीकालमा पौराणिक ‘देवासुर संग्राम’ कथाको अनुकरणका रूपमा आएको हो भन्ने अनुमान छ ।

 

काठमाडौं उपत्यकामा घोडेजात्राको नामबाट आज छुट्टै विख्यात चाडको अस्तित्व कायम हुन आए पनि र यस चाडमा समाविष्ट अष्टमातृका देवीहरूको नाममा विविधता रहे पनि यसभित्र चैते या बडादसैंमा उपासना गरिने यही नारी र अर्थशास्त्रको अवधारणा अन्तरनिहित छ ।
देवी भागवत् तथा देवासुर संग्राममा उल्लेख भएअनुसार महादेवबाट नारीबाहेक कसैले मार्न नसक्ने त्रिभुवन (आकाश, पातल र पृथ्वी) को राज्य गर्ने पाएका असुर (अनार्य–अहिन्दु) ले त्रिभुवनवासीलाई धेरै दुःख, कस्ट दिए । तसर्थ, स्वर्गमा देवसभा भई ती असुरहरूलाई सखाप पार्ने निर्णय भयो । यसपछि ब्रह्मा, विष्णु र महादेवले आ–आफ्नो शक्तिद्वारा ‘अष्टमातृका गण’ नौरातमा एक/एक गरी महामाया देवी क्रमशः ब्राह्मयणी, महेश्वरी कौमारी, भद्रकाली बाराही, इन्द्रायणी महाकाली, महालक्ष्मी र त्रिपुरा सुन्दरी उत्पत्ति गराए । यही गणले अन्ततः सारा बलवान् दानवको शिरोच्छेदन गरी ‘विजय टीका’ ग्रहण गरे, गराए । यसै कथामा आधारित बडादसैं भक्तपुर सहरमा मनाइने खड्गजात्रामा लिच्छवीपछिका मल्ल शाहहरूले आफ्नो इस्टदेवी ‘तलेजु भवानी’को वाहन घोडासमेतलाई समावेश गराई घोडेजात्रा नामको अर्को चाड काठमाडौं उपत्यकाका तीनै सहरमा जन्माएका लोकोक्ति छ । तर, पाटन र काठमाडौं सहरमा भने यो जात्रा प्रत्येक वर्ष चैत्र कृष्ण औंशीको दिन मनाइन्छ । यहाँ मनाइने घोडेजात्रामा समाविष्ट अष्टमातृका गण नरदेवी, भद्रकाली, टखती, मैती असनदेवीजस्ता केही भिन्न नाम छन् । यसरी काठमाडौं उपत्यकामा घोडेजात्राको नामबाट आज छुट्टै विख्यात चाडको अस्तित्व कायम हुन आए पनि र यस चाडमा समाविष्ट अष्टमातृका देवीहरूको नाममा विविधता रहे पनि यसभित्र चैते या बडादसैंमा उपासना गरिने यही नारी र अर्थशास्त्रको अवधारणा अन्तरनिहित छ । 

दसैं मनाउन इन्कार गर्नेलाई मार हानियो

कालान्तरमा लिच्छवी शासनको पतनपछि यहाँ मल्लहरू राजा भए । यो काठमाडौं उपत्यकालाई गोरखा राज्यमा सम्मिलित गराइने बखत यहाँ भादगाउँ (भक्तपुर), पाटन र काठमाडौं नामक तीनवटा स–साना राज्य थिए । तीमध्ये शक्तिशाली राज्य काठमाडौंको अन्तिम राजा जयप्रकाश मल्ललाई विसं १८२५ को इन्द्रजात्रा मनाइरहेको बखत गोरखाका राजा पृथ्वीनारायण शाहले सैन्यसहित आक्रमण गरी उनलाई मृत्यु शय्यामा पुर्‍याइदिए । अनि त्यस जात्रामा स्थापित राजाविहीन रित्तो राजगद्दीमा बसी आफूलाई नयाँ राजाका रूपमा त्यहाँ उपस्थित जनता तथा देवीको प्रतीकस्वरूप राखिने कुमारीद्वारा फूलमाला तथा तिलक लगाइए ।

राजा पृथ्वीनारायण शाह, त्यसैबखत, आफू हिन्दुहरूले भन्दा बढी–चढी त्यहाँका आदिवासीहरूले हिन्दु धर्मअनुसार राजालाई विष्णु भगवानको अवतार मानेर पूजा गरेको र हिन्दु धर्ममा आधारित इन्द्रजात्रा मनाइरहेको देखी ती हिन्दुहरूउपर शासन गर्न सरल हुने महसुस गर्दै हर्षविभोर भए हुन् । किनकि सारा रैती (अर्धदास दर्जाका जनता) हरप्रजातिगत आधारमा अनार्य/अहिन्दु छुट्टै किरात मुलका हुँदाहुँदै पनि उनीहरूको थोपा–थोपा रगतमा हिन्दुत्व बगिरहेको थियो । हिन्दु संस्कारमा मन्त्रमुग्ध भई उनीहरू झुमिरहेका थिए । कालान्तरमा सानो गोरखा (नेपाल) राज्य विस्तार हुँदै गई शाही, राणा शासन पूर्वी अहिन्दु मुलुक किरातप्रदेशसम्मै फैलन पुग्यो । शासकहरू नवदुर्गा भक्त थिए ।

राजा पृथ्वीनारायणको विसं १८३१ आश्विन वादी १० मा पूर्वी किरातप्रदेशलाई अतिक्रमण गर्न खटिरहेका अभिमानसिंह समेतलाई विजयपुर–मोरङ राज्यका प्रमुखमन्त्री बुद्धिकर्ण राईका असल हात्ती चोरी गराई उनीसमक्ष पठाउन लेखेका पत्रको शिरमा ‘श्री दुर्गा सहायक’ भनी लेखेका थिए । उनका नाति राजा रणबहादुरले त लालमोहर तथा चिट्ठीचपेटाको शिरमा ‘श्री दुर्गा सहायक’ वा ‘श्री दुर्गा’ लेख्ने परम्परा नै बसाले । उनले यहाँसम्म कि आफू काशी प्रवासमा रहँदा बेखर्ची भई शिवलाल दुबे नामका स्थानीय एक साहुबाट कर्जा काडी निजलाई लेखिदिएका १८०४ ई. (विसं १८६० ) को तमसुकमा धरी ‘श्री भवानी’ मुद्रित रातो खड्ग छाप लगाइदिएका छन् । यस अतिरिक्त नेपाली मुद्राहरूमा ‘श्री भवानी’ अक्षर र खड्ग वा त्रिशूल निसाना छापअंकित गर्ने परम्परा त हालसम्मै यथावत् कायम छ ।

राणा शासन धराशयी नहोउन्जेलसम्म पूर्वी किरातप्रदेशका जनता सरकारी दसैं आतंकबाट भयग्रस्त रहने गर्थे । त्यहाँका बूढापाका आज पनि राणाकालीन स्मरण सुनाउने गर्छन् कि प्रत्येक बडादसैंपछि सरकारी तिलंगा (कालो लबेदा सुरुवालमा सेतो पटुका र सेतै फेटावाला सिपाही) गाउँ–गाउँ घुमेर गाउँलेले दसैं माने, नमानेको चियोचर्चाे गर्ने गर्थे ।

पछि, राजा रणबहादुरका नाति राजा राजेन्द्रको कार्यकालमा उनहीरूका आराध्यदेवी दुर्गालाई ‘राष्ट्रिय देवी’ तुल्याउने प्रयत्न भएको थियो । किनकि गैरहिन्दु प्रदेशका किरात जनसमुदायमा पनि शाही इस्टदेवी दुर्गाको पाठपूजा गराउन नवदुर्गाको महिमा र स्तूतियुक्त बडादसैंलाई राष्ट्रव्यापी चाडपर्व तुल्याउने उद्देश्यले यो हिन्दु संस्कृतिलाई राज्यशक्ति लगाएर लादिएको स्पष्ट साक्ष्यहरू छन् । राजा पृथ्वीनारायणका शासनकालदेखि स्थानीय प्रशासनिक एजेन्डा बनाई राखिएका बाक्लो र माझकिरातका ‘अमालिराई, मझिया, जिमिदार, तालुकदार, थरी, मुखिया’ आदि र पल्लोकिरात प्रदेशका किपटिया लिम्बू ‘सुब्बा’लाई बडादसैंमा पशु–पक्षीको मार हानी दुर्गापुजन गर्न प्रलोभनसहित बाध्य तुल्याइएका थिए । उनीहरूले दसैंमा आ–आफ्ना रैतीका घरमा काटिने बोका, खसीका फिला ‘दसैं–सिसार’ लिन पाउने र आफूहरूले दुर्गापूजा गरी दसैंमा रैतीबाट जिन्सी वा नगद असुल गरी खान पाउने लालमोहर गरिदिएका थिए ।

विसं १८७७ मा राजा राजेन्द्रले माझकिरातका जिमिदारलाई रैतीबाट बेठी (रकम वा खेतालाबापत) बेगार (ज्याला नदिई लगाइने काम) सिसार आदि सित्तैमा उपभोग गर्न पाउनेगरी गरिदिएका लालमोहरमा एक ठाउँमा लेखिएको छ “..गाउँ १ को दसैंया भेडाभार वलकका बोको–१ के रुपया १ खाड पुजाको घरहि चावल मानाएकका हिसाबले (अमालीलाई) तिर्नु…………….।” यस लालमोहरको आधारबाट सामन्ती मनोवृत्तिका ‘राईअमाली’ र लिम्बुवानका ‘सुब्बा’हरूले आ–आफ्ना सोझासिधा रैतीबाट यस्ता दसैंया दैदस्तुर जिप्टाएर असुल गरिखाने प्रलोभनमा उनीहरूमाथि दसैं संस्कार ठगिखाने भाँडाका रूपमा बलपूर्वक लादेर ल्याएका तथ्य स्वतः बुझिने कुरा हो ।

परम्परागत शाही शासनको बागडोर राजा सुरेन्द्रको हातबाट उछिट्ट्याएर जंगबहादुर राणा निरंकुश शासक बनेपछि झनै क्रुरतम ढंगले हिन्दु धर्म र संस्कृतिलाई लाद्ने काम गरे । उनले पूर्व नेपालको किरातप्रदेशको अहिन्दु किरातीलाई पनि हिन्दुकृत गरी शासन गर्न सजिलो तुल्याउन भैरवनाथ पल्टनमार्फत दुई डोरको जनै किरातप्रदेशमा वितरण गराउने निष्फल प्रयास गरेका थिए । यो गैरहिन्दु किरातीय भूखण्ड राजा राजेन्द्रको शासनकालमा (विसं १९०३) सम्म हिन्दु चाड दसैंप्रति अनभिज्ञ थियो । किनकि किरात मुन्धुममा दसैं, विजया, टीका, नौदुर्गा जस्ता हिन्दु संस्कार जगाउने शब्द नै छैनन् । तसर्थ, उनले स्थानीय प्रशासनिक एजेन्डाहरू राई अमाली र लिम्बू सुब्बालाई जनता शोषण गर्ने लालमोहर दिएर दसैंलाई बलपूर्वक राष्ट्रिय पर्व तुल्याएको वस्तुगत तथ्यबारे माथि चर्चा भइसकेको छ ।

श्री ३ जंगबहादुरको शासनकालमा राज्यशक्तिबाट भयभित भई कतिपय किराती हिन्दु चाड दसैंलाई अनिच्छापूर्वक स्विकारिरहेका थिए भने कयौंले चाहिँ डटेर हामी हिन्दु चाड दसैं मान्दैनौं भनी विरोध जनाइरहेका थिए । अतः अधिनायक जंगबहादुरले त्यसरी अस्वीकार गर्ने नेता किरात जनसमुदायका नेताद्वय (६ थर थुम धनकुटाका आठपहरे राई) रामलिहाङ र रिदामालाई सरकारी सेनाद्वारा मारे । अनि विजय उल्लाससाथ विजया–टीकासहित उनीहरूकै स्वजातीय बन्धुहरूलाई राँगो, बोको आदि काटेर दसैं मान्न लगाइयो । यसरी जंगबहादुरले हिन्दु सांस्कृतिक दासत्वको जुवा पूर्वी किरातहरूको घिच्रोमा भिराइदिएका थिए । जुन किराती घिच्रो र शिर आजसम्म स्वतन्त्र र ठाडो हुन सकेका छैन।

एक सय चार वर्षीय स्वेच्छाचारी राणा शासन धराशयी नहोउन्जेलसम्म पूर्वी किरातप्रदेशका जनता सरकारी दसैं आतंकबाट भयग्रस्त रहने गर्थे । त्यहाँका बूढापाका आज पनि राणाकालीन स्मरण सुनाउने गर्छन् कि प्रत्येक बडादसैंपछि सरकारी तिलंगा (कालो लबेदा सुरुवालमा सेतो पटुका र सेतै फेटावाला सिपाही) गाउँ –गाउँ घुमेर गाउँलेले दसैं माने, नमानेको चियोचर्चाे गर्ने गर्थे । त्यसैले गाउँका खासगरी मुखिया, थरी, जिम्मावाल, अमाली, सुब्बा आदिका घरमा दुर्गापूजासहित मार हानेको प्रमाणित गर्न पशु बलिको आलो रगतमा हातका दुई पन्जा भिजाई आफ्नो घरको मूल प्रवेशद्वारको दायाँ–बायाँ टाढैबाट स्पष्ट देखिनेगरी पन्जा छाप लगाउने गर्थे । तिलंगा ती दसैंया प्रमाणस्वरूप रक्तरञ्जित पन्जा छापलाई हेरेर सन्तुष्ट भई फर्कने गर्थे । तिलंगा अब गाउँमा आउने गर्दैनन्, अमाली व्यवस्था पनि अब रहेन, तैपनि बडादसैंमा मार हान्ने, घरको दायाँ–बायाँ रक्तरञ्जित पन्जा छाप ठोक्ने परम्परा आजसम्मै कायम छ । यस छापले दसैंया सरकारी आतंकको पूर्वकथा आफै भनिरहेको छ ।

‘आज जातीय विद्वेष, आपसी घृणा र पारस्परिक असहिष्णुताझैं संकीर्ण कुसंस्कारलाई त्यागी अरूका विशेषतालाई समेत आदर गरेर मात्रै मानव जाति विनाशको विकराल पन्जाबाट मुक्त हुन सक्छ । यसका विपरीत यदि आफूबाहेक अरूलाई उपेक्षा अथवा अनादर गर्ने हो भने मानव जातिले सामूहिक विनाशलाई निम्तो गरेको ठहरिनेछ । गत एक/दुई वर्षमा बडादसैंको उपलक्ष्यमा पूर्वी नेपालका केही सहरमा दुर्गा किरातीहरूकी देवी होइनन्, त्यसैले किरातीले दुर्गापूजाको विरोध गर्नु उचित हो भनी देवी दुर्गाविरुद्ध कालोझन्डासमेत देखाउने जुन अभियान चलाइयो, त्यो असत्यमा आधारित नकारात्मक कदम हो भन्न सकिन्छ’ भन्ने उपदेश दिँदै विद्वान् बालकृष्ण पोखरलले हाम्रोसामु बडेमाको प्रश्न ठड्याएका छन् । के दुर्गापूजा किरातीहरूको चाड होइन त ? यसप्रकारको सकारात्मक समाधानका निम्ति तर्क पेस गर्दै अगाडि लेखेका छन्, ‘किरात जातिको धार्मिक ग्रन्थ मुन्धुमअनुसार सम्पूर्ण किराती सुम्निमा (सुम्निमा) र पारुहाङका सन्तान हुन् । सुम्निमा पार्वतीका निम्ति किरातहरूको पर्याय हो र पारुहाङ महादेवको किराती पर्याय हो । सुम्निमा क्षुद्र सियाली जगदम्बा सिबेलेको हिमाली प्रकरण ठहरिन्छ । सुम्निमाको सरल रूप हो, सिबेलेमा अर्थात्.माता सिबेले । भाषाविज्ञानका अनुसार लक्ष्मीको नामको आधार पनि सिबेले नै ठहरिन्छ । वैज्ञानिक सत्य के हो भने सिबेले र दुर्गा एकै देवीका नाम हुन् । अतः तिनलाई कालोझन्डा देखाएर किरातीहरूले आफ्नी जननीलाई अपमान गरेको ठहरिन्छ । दुर्गा (पार्वती) किरातीहरूकी सुम्निमा र दुर्गा एकै देवीका नाम हुन् भन्ने अर्को प्रमाण संस्कृत भाषामा पार्वतीलाई किराती पनि भनिन्छ । अतः जुन देवीको नाममै किराती छ, ती किरातीहरूकी देवी होइनन् भनी दुर्गापूजाको अवसरमा तिनलाई कालोझन्डा देखाउने कहीं किरात दाजुभाइको ध्यान यस महत्वपूर्ण सत्यतिर आकर्षित होस् भन्ने आग्रहसाथ आफ्नो लेखालाई टुग्ंयाएका छन् । छोटकरीमा सुम्निमा र दुर्गा एउटै देवीको दुई रूप हुन्, तसर्थ दुर्गापूजासहितको दसैंलाई किरात जनसमुदायद्वारा बहिष्कृत गरिनु हुन्न भन्ने निष्कर्ष हो ।

प्रकाण्ड विद्वान् बालकृष्णका उपरोक्त प्राज्ञिक तर्क र धारणा पढ्दा किराती समाजलाई मूर्ख तुल्याइएको एउटा रोचक लोककथाको स्मरण यहाँ सन्दर्भिक हुन आउँछ । यस कथाअनुसार एउटा ब्राह्मणले छिमेकी किरात परिवारसँग मिलेर साझेदारीमा एउटा दुहुनो भैंसी किनेर ल्याए । त्यसपछि साझेदारी किरातीलाई जीवितै भैंसीको आधा भाग पारी आधा–आधा स्याहार गर्ने प्रस्ताव राखे । उनले आफ्नो विद्वता र तर्कशास्त्रको सहयोगबाट भैंसीको बीच ढाड वा नाभीस्थलदेखि पुच्छरपट्टिको भाग गोबरमा लतपतिएको देखाउँदै त्यो फोहरी खण्ड सधैं धोइपखाली सुग्धर राख्नुपर्ने बताए । तर, टाउकोपट्टिको भाग भने सदैव सफासुग्धर हुने भई दैनिक भकारो पनि सोहोर्न आवश्यक नपर्ने हुँदा त्यही टाउकोपट्टिको खण्ड रोजेमा कल्याण हुने कुरो घुमाइफिराइ विश्वस्त पारे । छिमेकी हितैषी बाहुनबाट फूलबुट्टासरीका शब्दद्वारा आकाश–पाताल एक गराउँदै पुच्छरपट्टिको भागलाई घृणित प्रमाणित गरेको सुनी किरात परिवारले सुग्घरी भाग टाउकोपट्टि रोजेमा फोहोरी काम गर्न नपर्ने ठानी त्यही रोजेछन् ।

यस रोजाइको प्रतिक्रियास्वरूप बाहुनले आफ्नै छिमेकी त्यसमाथि आफ्नै परिवारको सम्झेर मात्रै भाग रोज्ने पहिलो प्राथमिकता उनलाई दिएको गुण नबिर्सने आग्रहसाथ पुच्छरपट्टिको फोहरी भाग आफूले शोकमा परेकोमा दुःखित बनिटोपले । तर, उनले बिहान–बेलुका भैंसीको फोहोरी भागपट्टिबाट झ्वार्इं–झ्वार्इं दूध दुहुने र भकारो सोहोरी आफ्ना खेतबारी मल्ने काम गर्न भने चुकेनन् । अर्कोतर्फ सुग्घर टाउकोपट्टि रोज्ने किरात परिवार चाहिँ भैंसीको मुखमा सधैं चोर, पानी, घाँस जुटाउने काममा मात्र तल्लीन रहन परे पनि भैंसीले जन्माएको नयाँ पाडापाडीमा आफ्नो हक नलागेको र दूधको रंगसम्म थाहा पाउन नपाएकोमा अघि आफ्नो अधिया भाग रोजाइमा ठगिन परेको उनीहरूलाई ज्ञान भयो । तर, अब त्यस ठगाइपूर्ण अन्यायविरुद्ध आवाज निकाल्दा छरछिमेकमा आफ्नै मुर्ख्याइँको विज्ञापन हुने डरले चुपचाप बसे । उसले जीवनभरि त्यो भैंसीलाई खुवाउने र विनाज्यालाको गोठाला बनी आफूलाई आफ्नो तरिकाले बुद्धिमान नै सबित गरेका थिए । त्यस मुर्ख किराती परिवारले ।

माथिल्लो प्रसंगमा किरातका आराध्य जननी सुम्निमा र देवी दुर्गा एउटै भएकीले उनको स्तूति र महिमायुक्त दसैं चाडलाई किरातीहरूले पनि अभिन्न संस्कार तुल्याइरहनु बुद्धिमानी हुन् भन्ने प्रवल तर्क राखिएको हुँदा यो साझेदारी भैंसी पालनको कथा यहाँ सान्दर्भिक हुन आएको हो । किनकि संसारभरिका देवदेवीको पूजाअर्चनामा रमाउने हाम्रो समाजमध्ये कोही हरियाली पहाड पर्वतकी हिउँझैं स्निग्ध (सफा) सुम्निमाका छुट्टै रूपमा र कोही एक दसैंका मात्र लाखौंलाख पशुपक्षीको बलि भोगिनी देवी दुर्गाका छुट्टै रूपमा उपासना गर्न रमाउँछन् भने त्यो उनीहरूको नैसर्गिक अधिकारको कुरा हो । सबैले आ–आफ्नै आस्था र धारणाअनुसार रमाउन पाउनुपर्छ । तर, यस प्राकृतिक न्यायविपरीत कसैले बौद्धिक कसरत गर्दै शब्दजाल ओच्छ्याएर उनी पनि उनी नै हुन् भनी घुमाइफिराइ आफ्नो निजी धार्मिक विचार अरूमाथि लाद्ने धृष्टता गर्छ भने त्यो धार्मिक दुराग्रह हो । यसैगरी अन्य जातिकी पुजनीय दुर्गा देवीविरुद्ध केही किरातबाट भएको कालोझन्डाद्वारा अपमानित कार्य उत्तिकै निन्दनीय दुष्कार्य हो । यसलाई सबैतिरबाट दुरुत्साहित गरिनुपर्छ । किनकि धार्मिक सहिष्णुता एवम् धार्मिक निरपेक्षता सर्वत्र र सबैका निम्ति एकमात्र निर्विकल्प दोषरहित एवम् व्यावहारिक जीवनोपयोगी दर्शन हो ।

यस खण्डको निचोडमा माथिको छलफलबाट वास्तवमा दसैं चाड पूर्वी नेपालका अहिन्दु किरात जनसमुदायमाथि राज्य शक्ति लागिपरेर लादिएको हिन्दु संस्कृति रहेछ भन्ने स्पष्ट हुन्छ । तसर्थ, यो दसैंया संस्कार मान्नेबित्तिकै उनीहरू हिन्दु वर्ण व्यवस्थाको सबैभन्दा हेय र तुच्छ ‘शुद्र वर्ण’मा स्वतः गणना हुने हुन्छन् किन कि नेपालका प्रमुख जनजाति पश्चिमी नेपालका गुरुङ, मगर तथा पूर्वका राई, लिम्बूबाट नेपाली राजाहरूको शुभराज्याभिषेक नामक वैदिक यज्ञहरूमा काइदासाथ ‘शुद्र हैसियत’को दास कर्म गर्न कर नै लगाइएको शाही अभिलेख खडा छ । त्यसैले मानव समानताको नैसर्गिक अधिकारअनुरूप अबका जनजातिले आफ्नो छुट्टै अस्तित्व र आत्मसम्मानखातिर धार्मिक, सांस्कृतिक दासत्व र जातीय लघुताभासको प्रमाणपत्रस्वरूप दसैंया विजय टीकालाई निधारभरि टाँसेर प्रदर्शनी गराउन चाहँदैनन् भने त्यो उनीहरूको आस्था विषयगत कुरा हो । उनीहरू दसैंया टीका नलगाउन स्वतन्त्र छन् । उनीहरूका यस आचरणमा अरूले विषाद र आश्चर्य मान्नुपर्ने औचित्य देखिँदैन । उनीहरू हिन्दु बनेर शुद्र वर्गमै रही अझै ब्राह्मण पुजन गरिरहनु त्यस्तो दुराशय स्वघोषित हिन्दु उच्च जातिका मानिसबाट पनि राखिनु हुँदैन ।

यले डुङ / दुङ / नाम्माङ / नाम्साम / थो /थोचे / तङ्बे ( Kirat-Era ) : 5079 

Error: No articles to display