A+ A A-

बुंकोटको महान विद्रोह र सहिद लखन थापा मगर बारे एक चर्चा !

– उमेश राना “गोर्खाली”

        व्यक्तिगत स्वार्थ भन्दा माथि उठेर देश र जनताको लागि प्राण उत्सर्ग गर्नेहरू विरलै भेटिन्छन् । त्यसैले त्याग र वलिदानको मार्गमा लम्कनेहरू सबैका प्रिय र पूज्य बन्ने गर्छन् । उनीहरूको योगदान र वलिदान सवैको प्रेरणाको श्रोत बन्दछ । सिंगो राष्ट्रले त्यो महानतालाई आदर सम्मान गर्न बाध्य हुन्छ । उनीहरू समाजका सम्पत्ति, राष्ट्रका गौरव बन्न पुग्दछन् र युगयुगसम्म धर्तिमा बाँची रहन्छन् पनि । यस्तै सौभाग्य पाउनेहरू मध्ये एक हुन् – प्रथम सहिद लखन थापा मगर !       
       Image may contain: 1 person, smiling
सन् १८१६ को सुगौली सन्धि पश्चात गोर्खालीहरूको विजय अभियान रोकियो, धेरैजसो इष्ट इण्डिया कम्पनीमा सेवा गर्न अल्मोडामै बसे भने केही पुरानो गोरख पल्टनसित नेपाल फर्के । यसरी स्वदेश फर्कनेहरूकै खलकमा लखन थापा जन्मिए पनि उनको शिक्षादिक्षा भारतमै भयो । सानै उमेरदेखि उनी अत्यन्त मेहनती, साहसी र तीक्ष्ण बुद्धिका थिए । पितापुर्खाका इतिहास बुझेका लखन हरेक कुरामा रूची राख्दथे र गम्भिर भएर सोंच्दथे । 

        तत्कालीन भारत अंग्रेजहरूको अधिनमा थियो र उनीहरूको शोषण, दमन विरूद्ध कोही बोल्न सक्दैनथे । भारतीयहरूको  दयनीय अवस्थाप्रति लखन चिन्तीत थिए । आफ्ना पुर्खाहरूले पनि कुनै बेला अंग्रेजविरुद्ध लड्नु परेको इतिहास उनी राम्ररी जान्दथे । आफन्तहरूले भारतमै जागिर खान आग्रह गरे तापनि अंग्रेजी पल्टनको नोकरी र दासता उनलाई स्वीकार्य भएन । उनी स्वदेशमै रमाउन चाहान्थे, त्यसैले नेपाली सैनिक भई देशको सेवा गर्ने दृढताका साथ ‘पुरानो गोरखगण’ मा भर्ति भए ।
       असल बोली, बचन र व्यवहारका कारण लखन थापा पल्टनमा अत्यन्त लोकप्रिय थिए । शारिरीक रूपमा होचो कद भए तापनि यिनी आँटिला, रणकौशलमा निपुण र जस्तोसुकै परिस्थितिलाई पनि सामना गर्ने क्षमता राख्दथे । सन् १८५७ मा अंग्रेज सेनाका विरूद्ध भारतीय सैनिकहरूले विद्रोह गरेको अवस्थामा जङ्गबहादुर २५ पल्टन लिएर अंग्रेजलाई सघाउन लखनऊ पुगेका थिए । गोर्खाली फौजसंगै लखनऊ पुगेका लखन थापा नुनको सोझो गर्न खटिए । गोर्खालीहरूले निर्ममतापूर्वक विद्रोहको दमन गर्दा लखनऊमा हाहाकार मच्चिएको र त्यहाँका असंख्य देशभक्तहरू मारिएका थिए । भारतीयहरूप्रति गरिएको अनेकौं दुव्र्यवहार र अत्याचार लखनले आफ्नै आँखाले देखे । अंगे्रजको दासताबाट मुक्त हुन वलिदान हुने सयौं भारतीयहरूको संघर्ष र गोर्खालीहरूलाई बडो निर्ममतापूर्वक प्रस्तुत गरिएको तथ्यलाई उनले राम्ररी बुझे । बिद्रोह शान्त गराएर जङ्गबहादुरले आफूलाई अंग्रेजको हिमायती सावित गरे र अंग्रेजसंगको मित्रता थप मजबुत बनाए । यो मैत्रीले देशभक्त नेपालीहरूको मनमा तीब्र असन्तोष बढ्यो र पहिलेको अंग्रेज विरोधी सैन्य भावनामा आघात पु¥यायो ।
        विदेशी सम्राज्यवादी शक्तिलाई टिकाउन आफ्नै देशको क्रुर शासकलाई सघाउनु परेको कारण देशभक्त गोर्खालीहरू भित्रभित्रै मर्माहत थिए । तत्कालीन समयमा अंग्रेजबाट भएको विद्रोही मंगल पाण्डेको हत्या र उनको शहादत पश्चात मेरठमा भएको गोलीकाण्डले उग्र रूप लिँदा त्यसको ज्वाला लखनऊसम्म फैलिएको थियो, जसको दमन अंग्रेजी सेनाले एक्लै गर्न नसकी गोर्खालीहरूलाई त्यहाँ उतार्नु परेको थियो । राष्ट्र, राष्ट्रियता र स्वाधीनताका खातिर लडिरहेका भारतीय योद्धाहरूको सम्पर्कमा आएका लखनले उनीहरूप्रति भएको अन्याय बुझेका थिए । पछि झाँसीका लक्ष्मीबाईले अंग्रेजी हुकुमत विरूद्ध गरेको संघर्ष र वलिदानको घटना पनि अद्वितीय थियो । यसरी आजादीका लागि होमिएका भारतीयहरूको बेदनाबाट उच्च चेतनाका धनी लखन एकदमै अशान्त थिए । सो घटनाबाट उनले देशको माटो र स्वाधीनता नै सर्वोपरी हुने रहेछ भन्ने पाठ सिके ।
       लखन थापालाई जंगबहादुरको निरंकुशता र हुकुमी शासन विरूद्ध लड्ने योद्धाको रूपमा मात्र सीमित नगरी अंग्रेजी हुकुमत विरूद्ध स्वाधीनताको लागि वलि चढ्ने मंगल पाण्डे (भारतीय सैनिक) र लक्ष्मीबाई (झाँसीकी रानी) जस्ता भारतीय देशभक्तहरूसंग पनि दाँजेर हेर्नु पर्दछ । त्यसबेलाको समय अंग्रेज विरोधी युग थियो र लखन थापाले तत्कालीन भारतीय विद्रोहीहरूको त्याग, तपस्या र वलिदानबाट प्रेरणा लिए र त्यही अनुरूप आफूलाई पनि ढाल्दै लगेका थिए । त्यसैले उनी आफ्नो देशलाई भारतमाझैं विदेशी(अंग्रेज) र विदेशीको दलाली गर्ने शासक(राणा)हरूको साम्राज्य बन्न दिनु हुँदैन भन्ने कुरामा कठोर बन्दै गए । तत्कालीन समयमा जंगबहादुरले नेपाल म्लेच्छलाई बेच्यो भन्ने उनको भनाईले यही कुराको पुष्टि गर्छ ।
       अंग्रेजको साथ पाएर जंगबहादुर झन शक्तिशाली बन्ने होडमा थिए । देशमा निरंकुशता र अत्याचार अझ चुलिदै जाने निश्चित थियो । किनकि कोतपर्व र भण्डारखालपर्व जस्ता नरसंहारकारी घटनाबाट जङ्गबहादुर त्यसअघि नै सर्वशक्तिमान भइसकेका थिए । उनको अधिनायकवाद विरूद्ध कसैको बोल्ने हिम्मत थिएन । सैनिक, प्रशासनिक लगायत राज्यका महत्वपूर्ण जिम्मेवारीहरू राणा परिवारमा सीमित पार्दै लगेका थिए । योग्य र सक्षम जनशक्तिहरूमा व्यापक असन्तोष फैलिरहेको थियो । राणा परिवार र ब्राह्मण समाजको हितमा उनले बि.सं.१९१० मा मुलुकी ऐन ल्याए । नङ–मासु जस्तो मिलेर बसेको नेपाली समाज तागाधारी, मतवाली, पानी चल्ने र नचल्ने वर्गमा बाँडियो । समाजमा चर्को रूपमा उचनिच र छुवाछूत देखा पर्दै गए ।
       देशको शासनसत्ता गलत व्यक्तिको हातमा पर्दा समाजमा बेथितिहरू मौलाउनु स्वभाविक थियो । त्यसैले लखनले जनतालाई जागरुक र संगठित बनाएर समाजका अन्तरविरोधहरू हटाउन नितान्त जरुरी ठाने । समाजलाई चेतनशील बनाउन जोसमनी सन्तपरम्परालाई अघि बढाए, यो परम्परामा राजाप्रजा एकसमान मानिन्थ्यो साथै जातीय भेदभाव, छुवाछूत र मूर्तिपूजामा विश्वास गरिदैनथ्यो । यो अभियानले आमजनताको मन जित्न सफल भएकोले ठूलो संख्यामा मानिसहरू एकत्रित भए र उनको आव्हानमा जङ्गबहादुरको सर्वसत्तावाद विरूद्ध संगठित पनि भए । त्यसबेला जातीय एकता र सद्भावलाई बचाउन सर्वसाधारणलाई एकताबद्ध गराउन अति आवश्यक थियो ।
       जङ्गबहादुरको अन्याय, अत्याचार विरूद्ध लड्न जनस्तरबाटै संगठितरूपले आँधीबेहरी सृजना गर्ने मार्गमा लखन थापा लागे । पूर्वसैनिक भएकाले यिनमा त्याग र वलिदानको भावना त छँदैथियो । स्थानीय व्यक्तिहरूको सहयोगमा उनले बुंकोटमा भव्य किल्ला बनाए र करिव दुई हजारको संख्यामा स्थानीय युवाहरूलाई एकत्रित गराई सैन्य तालिम दिए । यसरी केही हातहतियार सहित विद्रोही फौज तयार त भयो तर जङ्गबहादुरको सत्तालाई चुनौती दिन पर्याप्त थिएन । लखनको यो तयारी बारे जंगबहादुरले चाल पाए र सो फौजलाई दमन गर्न काठमाडौंबाट देवीदत्त गण आइपुग्यो, दुवै सेनाहरू बीच भिडन्त भयो । किल्ला भित्रका हातहतियार एवं गोलीगठ्ठाहरू सिद्धिएपछि सबै पक्राउ परे । बाह्र जना विद्रोहीहरूलाई बाँसको पिजडामा बन्धक बनाई काठमाडौंको थापाथली दरवार पु¥याइयो, उनीहरूलाई चरम यातना दिइयो । जंगबहादुर आफैंले सो मुद्दा हेरे, पाँच जना निर्दाेष ठहरिए, बाँकी सातलाई राजकाजसम्बन्धी अभियोग लगाइयो र मृत्युदण्ड दिने आदेशसहित बुंकोट फिर्ता पठाइयो ।
        भनिन्छ, सेनाको घेराबन्दी तोडेर विद्रोहीहरू भाग्न सक्थे तर भागेनन्, आत्मसमर्पण गर्दा माफी पाउन सक्थे तर त्यसो पनि गरेनन् । उनीहरूले हाँसीहाँसी मृत्युलाई स्वीकारे र भावी पिढीलाई जनअधिकारको लागि लड्न प्रेरित गरे । बुङ्कोट किल्ला परिसरको मनकामना मन्दिर सामु सातैजना योद्धाहरूलाई झुण्ड््याएर एकसाथ मृत्युदण्ड दिइयो । बुंकोट विद्रोहको इतिहासमा उनीहरू अमर सहिद बन्न पुगे । हाल स्थानीयहरूको सम्झनामा त्यसबेला सहादत हुनेहरू मध्ये लखन थापा मगर, जयसिंह(जहरे) चुमी र अच्छामी मगरको नाम मात्र अडेको छ । बाँकीको हकमा रेग्मी रिसर्च सेन्टरबाट प्रकाशित सेरिजभित्रको ऐतिहासिक सामाग्रीहरू केलाउँदा तीनका अतिरिक्त विराज थापा, जुठ्या थापा, जितमान गुरुङ र अजपसिंह मगर जस्ता सहयोद्धाहरूको नाम उल्लेख भएको पाइएको छ ।
       बि.सं.१९३३ सालको यो विद्रोहले जङ्गबहादुरको शोषण, दमन र निरङकुशताका विरूद्ध जनतालाई पहिलो पटक एकजुट बनायो, आन्दोलित गरायो । लखन थापा सत्ययुगको जस्तो सुनौलो विहानी ल्याउन चाहान्थे, त्यो भनेको भेदभावरहित शासन व्यवस्था हो जसलाई अहिले लोकतन्त्र भन्न सकिन्छ । त्यो विद्रोहमा स्पष्ट राजनैतिक दृष्टिकोण, कुशल नेतृत्व, सशस्त्र तयारी, भारी जनसर्मथन र स्थानीय सहभागिता जस्ता सवल पक्षहरू छन् । यही घटनाले आम समुदायमा शासक सामु लड्ने विद्रोही भावना र चेतनालाई जन्मायो । त्यसैले यो विद्रोह एउटा यस्तो मुहान हो जहाँबाट अनेकौं चेतनाहरू प्रवाह भएको र त्यसैको आलोकमा विभिन्न राजनैतिक परिवर्तनहरू सफल हुँदै गए । नेपालमा लोकतान्त्रिक आन्दोलनको इतिहास निर्विवादरूपले बुंकोट विद्रोहबाट नै प्रारम्भ भएको देखिन्छ । तर विडम्वा, प्राय विजेताहरूले इतिहास लिपीबद्ध गरेको हुनाले जतिसुकै कमिकमजोरी रहे पनि उनीहरू महामानवको रूपमा र पराजित शक्तिहरू सही नै भए तापनि दानवको रूपमा चित्रित हुने गर्छन् । यस अर्थमा बुंकोट विद्रोह पनि अछुतो छैन ।
       त्यसैले २०७२ असोज ३ गते वर्तमान संविधान जारी गरिएकै दिन तत्कालीन नेपाल सरकारले मन्त्रिपरिषदबाट आधिकारिक निर्णय गरी लखन थापा मगरलाई “प्रथम सहिद” को स्थान दिएको र लगत्तै उनको चित्रसहितको हुलाक टिकट प्रकाशन गर्ने निर्णय ग¥यो । पछि २०७३ मार्गमा रु.१०।– को सो हुलाक टिकट प्रचलनमा ल्याइयो पनि । प्रथम सहिदको नाममा राज्यले यति गरेर नपुग्ने हुँदा लखन प्रतिष्ठानको तर्फबाट सहिदको क्रान्तिकारी जीवनी विद्यालयस्तरको पाठ्यक्रममा समावेश गर्न, सरकारी अड्डाहरूमा अनिवार्यरूपले सहिदको तस्वीर राख्न, सहिदगेटमा भव्य सालिक निर्माण गर्न, सहिदलाई राष्ट्रिय विभूतिको कोटीमा राख्न र उनी संगसंगै मारिएका अन्य सवैलाई सहिदको सम्मान दिन जोडदार आवाज उठाएको छ । यसो भएमा वा गरिएमा मात्र बुंकोट विद्रोहको सच्चा सम्मान हुनेछ ।
      हामी सवैको चाहना र भावनालाई अहिलेको संविधानले पूर्णरूपले समेटेको दावी गर्दै वर्तमान सरकारले माघ १६ को साटो संविधान दिवसकै दिन सहिदहरूको वलिदानलाई स्मरण गर्दै घरघरमा झण्डा र ३ दिनसम्म दिपावली गर्न आव्हान गर्दा यो भन्न सकिन्छ कि महान सहिदहरूको आदर्शमा राज्य चले संविधान दिवसको सार्थकता र सर्वस्वीकार्यता स्वतः बढ्नेछ ।
(लेखक: प्रथम सहिद लखन थापा मगर स्मृति प्रतिष्ठानका उपाध्यक्ष हुनुहुन्छ )
                                       
 

Error: No articles to display