A+ A A-

यस कारणले मनाउछन मगरले फाल्गुण १५ गते मगर दिवस !

त्रिलोक सिंह थापा मगर

Image may contain: 1 person
पृष्ठ भूमि

फाल्गुण १५ गते “मगर दिवस” लाई विश्वभरिका सम्पूर्ण मगर समुदायले अत्यन्त उत्साह, उमगं, जोश, उल्लास हर्ष र धूमधामपूर्वक आफ्नो अभिन्न चाड र पर्वको रुपमा मनाउने गर्दछन् । वि.स. २०३९ साल फाल्गुण १५ गतेमा संस्थापक अध्यक्ष हेम बहादुर पुनको अध्यक्षतामा नेपाल लाङघाली परिवार संघको प्रथम राष्ट्रिय महाधिवेशन  सम्पन्न भयो । त्यस पछि वि.सं. २०४० साल बैशाख ३१ गते नेपाल लाङघाली परिवार संघको केन्द्रिय समितिको प्रथम वैठकमा प्रत्येक वर्ष फाल्गुण १५ गते लाई “लाङघाली दिवस” को रुपमा मनाउने प्रस्ताव सर्व सम्मतिवाट पारित भयो । त्यस बेला देखि मगर समुदायले “फाल्गुण १५ गते” लाई मगर दिवसको रुपमा मनाउँदै आएको पाइन्छ ।

मगर दिवसको ऐतिहासिक महत्व

वि.सं. २०३९ फाल्गुण १५ गते “नेपाल मगर संघ” को स्थापना दिवस हो ।
क)  सो दिन नेपाल मगर संघ विधिवत स्थापना भएको हो । सोही दिनलाई विश्व भरिका मगरहरुले एकता, संगठन, भाईचारा, मेल मिलाप, एकजूट, आ–आपसमा एकबद्धता तथा  एक आवाजको  रुपमा लिने गरेका छन् ।
ख)  विश्व भरिका मगरहरु आ–आपसमा हातेमालो र एक जूट भएर मगर जनजातिको उत्थान, प्रगति र विकासका लागि एकबद्ध हुने सन्देश संचारित गर्ने दिवसको रुपमा “मगर दिवस” मनाउने गरेका छन् ।
ग)  सो दिवसलाई विश्व भरिका मगरहरुको आफ्नो मौलिक सँस्कृति, सामाजिक, धार्मिक ऐतहासिक, एंव राजनैतिक चाड तथा पर्वको रुपमा रुपान्तरित गरेको पाइन्छ ।
घ)  मगरहरुको हक, हित, अधिकार तथा उत्तरदायित्वका लागि संघर्ष गर्ने, सजग र सचेत गर्ने शक्तिशाली संगठन “नेपाल मगर संघ” को स्थापना दिनलाई मगर दिवसको रुपमा मनाउने गरिएको छ ।

नेपाल मगर संघ

“ नेपाल मगर संघ” नेपालका आदिवासी जनजातीका संघ संस्थाहरु मध्ये सबैभन्दा पुरानो तथा सबै भन्दा ठूलो सामाजिक संस्था हो भनेर भन्न सकिन्छ । यसै कारण यस संस्थाको क्रमिक विकास पनि संघर्षमय रहेको छ । वि.सं. २०१७ सालको राजनैतिक परिवर्तन पछि आएको तत्कालीन विघठित पंचायत कालमा यस संस्था माथि राज्यद्वारा ठूलो आघात प्रहार तथा थिचो मिचो भएको थियो । यस संस्थाका क्यौं कार्यकर्ताहरु माथि प्रहरी प्रशासनले समय समयमा अत्याचार गरेका थिए । तै पनि मगर समाजका कतिपय अग्रज समाजसेवीहरुले यस संस्थाको विकास विस्तारमा कठोर लगनशीलता एंव दृढ़ता देखाएका थिए । जस्को फलस्वरुप “नेपाल मगर संघ” आज संशक्त सामाजिक संस्थाको रुपमा उभिएको छ । स्वदेश एंव विदेशमा यस संस्थाको शाखा एंव भाइचारा संगठनहरुको विशाल सञ्जालको रुपमा स्थापित भएको पाइन्छ । अधिराज्यको ७५ जिल्लाहरुमा नेपाल मगर संघ जिल्ला समितिहरु तथा भाईचारा संगठनहरु सक्रिय रहेको अनुमान गरिएको छ । विदेशका २९ मुलुकहरुमा पनि मगर जाति संग सम्बन्धीत विभिन्न संघ संस्थाहरु मगर जातिको विकास तथा मगर संस्कृतिको संरक्षण सम्वर्धनमा सक्रिय रहेका छन् ।
 

नेपाल मगर संघ”को क्रमिक विकास

“नेपाल मगर संघ”को क्रमिक विकास एंव विस्तारलाई मोटामोटी रुपमा विभिन्न चरणमा विभाजित गर्न सकिन्छ । यो वर्गिकरण वैज्ञानिक नभएता पनि नेपाल मगर संघ कसरी हाल सम्म विकसित भै आएको हो सो वारे छोटकरीमा परिचय दिन सकिन्छ ।
मगरहरुको घोषित संगठन वि.सं. २०१२ साल (मगर समाज सुधार संघ काठमाण्डौं २०१२) देखि आरम्भ भएको हो । वि.सं. २०१२ साल देखि २०१७ साल सम्म अवधिलाई “नेपाल मगर संघको क्रमिक विकासलाई प्रथम चरण भनेर वर्गिकरण गर्न सकिन्छ । यस प्रथम चरणमा मगर समुदायमा सामाजिक जागरण, समाज सुधार, समाज कल्याणका कार्यक्रम माथि “नेपाल मगर संघ केन्द्रित रहेको थियो । दोश्रो चरण (२०१७–२०३७ सम्म) जागरण अभियान । तेश्रो चरण (२०३८–२०४७) संस्थात्मक विकास । चौथो चरण (२०४८–२०६३) शसक्तिकरण । पाँचौ चरण (२०६४– हाल सम्म) हक अधिकारको सघंर्ष ।

महत्वपूर्ण वर्षहरुः


वि.सं. २०१२ साल (मगर समाज सुधार संघ काठमाण्डौं २०१२) देखि मगर संघको शरुवात भए पनि वि.सं २०१४ सालमा गुल्मी भार्सेमा मगरहरुको “वृहत मगर सम्मेलन आयोजित भएको थियो । जसलाई नेपाल मगर संघको “प्रथम सम्मेलन” भनेर आधीकारिक रुपमा मानि आएको छ । वि.सं. २०२२ सालमा “लाङघाली परिवारको काठमाण्डौंमा स्थापना भयो । वि.सं. २०३८ सालमा रुपन्देहीमा “कानुङ्ग लाङघाली परिवारको आयोजनामा मगर समाजको वृहत सम्मेलन सम्पन्न भयो । यो सम्मेलन“नेपाल मगर संघ को दोश्रो राष्ट्रिय सम्मेलनको रुपमा सम्पन्न भयो । यसरी नेपाल मगर संघको वि.सं. २०१२, २०१४, २०२२, २०२८ र २०३९ साल ऐतिहासिक एंव महत्वपुर्ण वर्षको रुपमा रहिआएको छ ।

प्रथम चरण (वि.स. २०१२–२०१७ सम्म) सामाजिक जागरण समाज सुधार एंव समाज कल्याणः–
मगर समाज सुधार संघ काठमाण्डौं (वि.स.२०१२)
वि.स. २००७ सालमा प्रजातन्त्रको प्रार्दुभाव भएपछि मुलुकको अन्य आदिवासी जनजाती सरह मगर बुद्धिजिवीहरु बीच पनि जागरुकता एंव चेतनाको शुरुवात भएको पाइन्छ । त्यस वेला काठमाण्डौं उपत्यकामा बसोवास गरेका जागरुक मगर समुदाय विशेष गरि जागिरे, विद्यार्थी तथा साना तिना व्यापार गरि आय आर्जन गरि वसेका मगरहरु आपसमा (आफ्नामा भेटघाटको सिलसिलामा मगर जातिको विकाश, उत्थान र चेतना जगाउने बारेमा चिन्तन मनन गर्न थाले । यसैको फलस्वरुप मगर समाजमा शैक्षिक एंव सामाजिक सुधार बारे चेतना एंव जागरुकता जगाउन २०१२ वैशाख २६ गते “मगर समाज सुधार संघ” काठमाण्डौं स्थापना भएको थियो । (नर बहादुर थापा, नरु थापा ( किरात मगर इतिहास पाना ७८)
वास्तवमा नेपाल मगर संघको पहिलो जग नै २०१२ वैशाख २६ गते स्थापित “मगर समाज सुधार संघ काठमाण्डौंलाई लिन सकिन्छ । उक्त संस्थाको संस्थापक सदस्यहरुमा गुल्मीका स्व. भिम बहादुर बुढाथोकी उप सभापति, काठमाण्डौं निवासी ढलक प्रताप राना प्रमुख सचिव तथा सदस्यहरु पदम सिंह थापा, देवान सिंह थापा थिए । अध्यक्ष पदमा भाग्सू धर्मशाला निवासी हुनुहुन्थ्यो ।
यस स्ंस्थाको केन्द्रिय कार्यालय काठमाण्डौंको नरदेवीमा रहेको थियो र उक्त केन्द्रिय कार्यालयका प्रमुख सचिव ढलक प्रताप राना हुनुहुन्थ्यो । उहाँले २०१४ सालमा गुल्मीको भार्सेमा हुने “मगर सुधार संघ पश्चिमाञ्चल महासम्मेलन” मा शुभकामना पत्र पठाउनु भएको थियो । (मधुमालती बुढाथोकी “शोध माला”२०६७पृष्ठ ११–१२) यस बाट के कुराको जानकारी हुन्छ भने काठमाण्डौमा “मगर समाज सुधार संघ” स्थापना पछिमात्र मोफसलमा मगर समाज सुधार संघको स्थापना भएको थियो ।
त्यसपछि वि.स. १०१२ सालमा गुल्मीको भार्से मा मगरहरुलाई सामुहिक रुपमा संगठित गरि चेतना फैलाउने काममा गिरीप्रसाद बुढाथोकीको नेतृत्वमा मगर समाज सुधार संघ भार्से स्थापना भएको थियो ।२०१२ सालमा दैलेखमा पदम सिंह थापा मगर “मगर समाज सुधारको” रुपमा मगराँतमा देखा परेका थिए । (हर्ष बहादुर बुढा मगर,“किरात वंश र मगरहरु पाना ४८१)
यसै क्रममा २०१३ सालमा पूर्वाचंलमा मगरहरुमा पनि मगर एकताको अभियान संचालन हुन थाल्यो । सोही वर्ष मोहत्तरीमा मगर भेला भयो । २०१३ सालमा म्याग्दी जिल्लाको औलो गाउँमा मेजर टेक बहादुर पुन मगरकोअध्यक्षतामा मगर भेला सम्पन्न भयो । सो भेलामा घर धुरी अनुसार अर्थ संकलन गरि बाढी र आगलागि पिडितहरुलाई अन्न दिने, विद्यालय खोल्ने संचालन गर्ने कार्यक्रम आदि निर्णय गरिएको थियो । यसै क्रममा एक देवआलेले तनहुँमा र रण बहादर आलेले गोर्खामा २०१३ सालमा त्यस भेगका मगरहरुलाई संगठित गरेका थिए । वि.स. २०१४ सालमा तनहुँको फुलुङ भन्ने गाउँमा एक देव आलेको नेतृत्वमा त्यस भेगका मगरहरुको वृहत सम्मेलन भएको थियो । रण बहादुर आलेले उक्त सम्मेलनको व्यवस्थापनका लागि सक्रिय रुपमा सहयोग गरेका थिए र उक्त सम्मेलन धुमधामका साथ सम्पन्न भएको थियो ।

मगर समाज सुधार संघको विस्तार
वि.स. २०१४ सालमा फाल्गुण २७ देखि २९ गते सम्म पूर्व देखि पश्चिमका विभिन्न जिल्लाका मगर प्रतिनिधिहरुको सहभागितामा “मगर सुधार संघ पश्चिमाञ्चल महासम्मेलन” गुल्मी जिल्लाको भार्सेमा सम्पन्न भयो । सो सम्मेलनमा जम्मा ५०० जना प्रतिनिधिहरु तथा ४००० मगर जन समुहको माझमा गिरी प्रसाद बुढाथोकीलाई सर्व समितिबाट सम्मेलनको सभापतिका छनोट गरिएको थियो । सो सम्मेलनमा १८ सदस्यीय विधान मस्यौदा मण्डल गठन गरिएको थियो । (शोधमाला अङ्क १ २०६३) सो “मगर सुधार संघ पश्चिमाञ्चल महासम्मेलनमा केन्द्रिय कार्यालयका काठमाण्डौं तथा सल्यान जिल्लाका प्रतिनिधि देवान सिंह थापाले सहभागीको रुपमा सम्मेलनमा भाग लिनुभएको थियो । उक्त अवसरमा उहाँले दिनुभएको मन्तव्य यस प्रकार छ, “मगर समाज सुधार संघ वि.स. २०१२ सालमा काठमाण्डौमा स्थापित भएको हो ।... आजको निरक्षरी समाजलाई साक्षरी बनाई आजको प्रगतिशिल समाजको दाँजोमा पुरयाउन् प्रयत्न गर्नु हो ।” (शोधमाला वर्ष २ अंक १ पाना १२) गिरी प्रसाद बुढाथोकीको सक्रियतामा संचालन भएको भव्य मगर भेलाले त्यस भेगका मगरहरुमा व्यापक जनचेतनाको विकास गरेको थियो । वि.सं. २०१४ सालमा सम्पन्न भएको “मगर सुधार संघ पश्चिमाञ्चल महासम्मेलनको व्यापकता देखेर “नेपाल मगर संघले यो सम्मेलनलाई सो संघको प्रथम सम्मेलन मानी आएको छ । 

वि.स. २०१२ सालमा काठमाण्डौंमा “नेपाल मगर सुधार संघ”को स्थापनाबाट मगर संघ संस्थाहरुको संगठन शुरुवात भएको हो । अधिराज्यका विभिन्न जिल्लाहरुमा मगर समाज सुधार संघ”, “मगर समाज कल्याण समिति”, “मगर समाज सुधार समिति”, “लाङघाली परिवार” र “मगर समाज सेवा केन्द आदि नामले मगर संघ संस्थाहरु खुलेको पाइन्छ ।  मगर संघ संस्थाहरुको उद्देश्य मगर जनजातिमा जागरण चेतना उत्पन्न गर्न गराउन थियो । मगर समाजमा विद्यमान सामाजिक चलन, प्रथा, रीति थितीहरुलाई समयानुकुल परिवर्तन एव परिमार्जन गर्दै लैजानु थियो । मगर आदिवासी जनजातिको मौलिक संस्कृतिलाई संरक्षण एंव सम्बर्धन गर्न गराउनु थियो । साथै मगर समुदायमा सामाजिक सेवाका कार्यक्रमहरु कार्यान्वयन गर्नु गराउनु थियो । यो अवधि वि.सं. २०१२ देखि २०१७ साल सम्म रहेको थियो । यस अविधिमा “नेपाल मगर संघ” वाम सर्दै थियो । मगर समाजमा जागरुकता उत्पन्न गर्ने संस्थात्मक प्रयासमा मगर वुद्धिजिवीहरुको संलग्नता वढ्दै गरेको थियो । सो सक्रियता वि.सं. २०१७ सालमा रोकिन गयो ।

दोस्रो चरण (२०१७–२०३७) जागरण अभियान

“नेपाल लाङघाली परिवार” (२०२८)
वि.सं. २०१७ सालको राजनैतिक परिवर्तन पछि मुलुकको सम्पूर्ण राजनैतिक एंव सामाजिक क्रिया कलाप एंव संस्थाहरु माथि तत्कालीन सरकारले प्रतिबन्ध लगायो । फलस्वरुप सम्पूर्ण मगर संग सम्बन्धित संघ संस्थाहरु निष्कृय भए । वि.स. २०२७ साल सम्म मगर संघ संस्थाहरु निष्कृय थिए । तै पनि चेतनशील मगर वन्धुहरु गोप्य रुपमा भेटघाट गर्ने, छलफल गर्ने क्रम यथावत नै रहेको थियो । वि.सं. २०२८ सालमा पूर्व आइ.जी.पी. एंव राजदुत हर्क बहादुर थापा मगरको सर सल्लाहा तथा प्रेरणमा मगर विद्यार्थी एंव बुद्धिजिवीहरुले “नेपाल लाङघाली परिवार”को नाउले मगर संस्था काठमाण्डौंमा स्थापना भएको हो । सो संस्थाको अध्यक्षमा खिलध्वज थापा मगर वरिष्ठ पत्रकार सर्व सम्मतिबाट निर्वा्चित हुनु भयो । माया राना उपाध्यक्ष र कुल बहादुर राना महासचिव हुनुभयो । यसै संस्थाको देखासिकी मगरहरुले विभिन्न जिल्लामा र विभिन्न समयमा मगर संस्थाहरु खोल्न थाले । खिलध्वज थापाको नेतृत्वमा सो संस्थाले शैक्षिक एंव सांस्कृतिक जागरुकताका लागि सक्रिय भूमिका खेलेको थियो । साथै विभिन्न ठाउँमा मगर संस्था खोल्ने प्रोत्साहन र प्रेरणा पनि प्रदान ग¥यो ।
वि.स. २०३२ सालमा “कानुङ लाङघाली परिवार” रुपनदेहीमा “मगर समाज कल्याण समिति” म्याग्दीमा खोलियो । त्यस्तै २०३५ देखि २०३६ सालको अवधिमा वाग्लुङ्ग, बाँके, सुर्खेत र दैलेख जिल्लाहरुमा “मगर सुधार समिति”हरु खोलिए भने पाल्पामा मगर समाज सुधार समिति, कास्कीमा “लाङघाली परिवार” आदिमा मगर संस्थाहरु स्थापना हुदै गए । “कानुङ् लाङघाली परिवार” (२०३६) “मगर समाज कल्याण समिति (२०३२) मगर समाज सुधार समिति (२०३५) लाङघाली परिवार (२०३६) आदि नामबाट स्थापित भएका मगर संघ संस्थाहरुको मुख्य उद्देश्यहरु पूर्णरुपमा मगर समाजको सामाजिक, साँस्कृतिक साहित्यिक एंव भाषा आदिको संरक्षण, एंव सम्बर्धन गर्न गराउन थियो । यसै अवधिमा “लाङघाली” पत्रिकाको प्रकाशन पनि भएको थियो । डा. हर्षबहादुर बुढा मगर, एम.एस.थापा र अन्य मगर लेखकहरुबाट मगर जातिको इतिहास, सामाजिक व्यवस्था, साँस्कृतिक एंव भाषा आदि बारेमा गहकिलो प्रकाशन समेत भएको थियो ।

लाङघाली परिवार तदर्थ समिति (२०३६)

अधिराज्यका विविध जिल्लाहरुमा छरिएका मगर संगठनहरु वीच सर्पक र समन्वय स्थापित गर्दै एक सुत्रमा मगर संस्था आवद्ध गर्नु पर्ने आवश्यक देखियो । सोही उद्देश्यले डा. हर्ष बहादुर बुढामगरको अध्यक्षता र सक्रियतामा २०३६ सालमा लाङघाली परिवार तदर्थ समिति गठन गरियो । प्रचार प्रसार सचिव देवेन्द्र आले तथा सदस्यहरुमा के.वी. मगराती र बावु राना मगर थिए । सो परिवारको उपाध्यक्षमा तोप बहादुर थापा, सचिवमा सुरेश आले, कोषाध्यक्षमा केशरजंग बराल रहेका थिए । तर यस तदर्थ समितिले अधिराज्यका अन्य ठाउँमा मगर संस्थाहरुलाई एकसूत्रमा समेटन सकेको देखिएन । यो तर्दथ समिति निष्कृय नै रहयो । (नर बहादुर नरु थापा, किरात मगरइतिहास पाना ८६)

तेस्रो चरणः (वि.सं. २०३८–२०४७) संस्थात्मक विकास
वि.सं. २०३८ देखि २०४७ साल सम्मको अवधिमा “कानुङ्ग लाङघाली परिवार” को नेतृत्वमा अधिराज्य भरिका मगर संघ संस्थाहरु संस्थात्मक रुपमा संगठित एव आवद्ध भए । मगर समुदायको एकताको संस्थात्मक विकासको शुरुवात पनि यसै अवधिमा भएको हो । मगर जातिको पहिचान तथा सामाजिक एंव साँसकृतिक विकासका लागि यस अवधिमा धेरै कार्यक्रमहरु संचालन भएको थियो ।
वि.सं. २०३८ सालमा माघ २८ र २९ गते वावुरामको अध्यक्षता र जय बहादुर हितान रहनुभएको “कानुङ लाङघाली परिवार” रुपनदेही बुटवलमा गरेको सम्मेलनमा पुरानो “लाङघाली परिवार”लाई विघटन गरि नयाँ तदर्थ समिति “नेपाल लाङघाली परिवार संघ” केन्द्रिय समिति खडा गरियो । सोको अध्यक्ष पदमा हेम बहादुर पुन (पोखरा) उपाध्यक्ष रणबहादुर आले, महा सचिवमा सुरेश आले, कोषाध्यक्ष मनवीर गवुर्जा र प्रचार प्रसार सचिव जय वहादुर हितान रहनु भएको थियो । यस तदर्थ समितिमा २२ जिल्लाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।
हेम बहादुर पुनको सक्रिय नेतत्वमा २०३९ साल फागुन १४.१५ र १६ गते दमौलीमा संघको तेश्रो राष्ट्रिय सम्मेलन र प्रथम राष्ट्रिय महाधिवेशन सम्पन्न गरिएको थियो । यो सम्मेलनमा अधिराज्यका हरेक क्षेत्रका मगर संघ संस्थाहरुका प्रतिनिधिहरुको सहभागिता तथा संलग्नता रहेको थियो । त्यसैले यस महाधिवेशनले राष्ट्रिय स्तरको स्थान प्राप्त गरयो र यसलाई प्रथम राष्ट्रिय महाधिवेशन मानिआएको छ।
हेम बहादुर पुनको अध्यक्षतामा मगरहरुको सर्वाङ्गण विकासका लागि स्थापित यस संस्थाले राष्ट्रिय स्वरुप धारण ग¥यो  । मेचि देखि महाकाली सम्म छरिएर रहेका विभिन्न मगर संघ संस्थाहरुलाई एकीकृत रुप दियो । यसरी यो मगरहरुको छाता संगठन निर्माण हुन गयो । तीन प्रकारका भाषा बोल्ने मगरहरु, विभिन्न धर्म मान्ने मगरहरु, विभिन्न भेष भुषा र रितिरिवाज मान्ने मगरहरुलाई यस ऐतिहासिक प्रथम राष्ट्रिय महाधिवेशनले एकताको सुत्रमा बाँधेको छ ।
हेम बहादुर पुनको योग्दानकोलागि नेपाल मगर संघ केन्द्रिय समितिले उहाँलाई २०४९÷५० सालमा हर्ष पुरस्कार सम्मान गरेको थियो । सो सम्मान पत्रमा उहाँ लाई तत्कालीन नेपाल लाङघाली परिवार संघको संस्थापक अध्यक्ष भनेर उल्लेख गरिएको छ ।

सस्थापक एंव प्रथम अध्यक्षको मुख्य योग्दान
२०४० साल वैशाख ३१ गते चिप्लेढुङ्गा पोखरामा हेम बहादुर पुनको अध्यक्षतामा बसेको नेपाल लाङघाली परिवार संघको “केन्द्रिय कार्यकारणी समितिको प्रथम बैठकमा निम्न लिखित दुईवटा महत्वपूर्ण प्रस्ताव सर्व सम्मतिबाट पारित गरियो ।
१) प्रत्येक वर्ष फागुन १५ गतेलाई “लाङघाली दिवसको रुपमा मनाउने ।
२) मगर र अमगर भन्ने स्पष्ट नहुने भएको हुदाँ आफ्नो नाम र थरको पछाडि “मगर” शब्द भन्ने थप्नु पर्ने ।
प्रथम तथा संस्थापक अध्यक्ष हेम बहादुर पुनले आफ्नो कार्यकालमा मगर समाजमा शैक्षिक, साँस्कृतिक एवं आर्थिक कार्यक्रम संचालन एंव कार्यन्वयन गरेर अविस्मरणीय योग्दान पुयाउनु भएको छ । जातीय मुक्ति आन्दोलन र तत्कालीन पंचायतको निरुकुश शासनको विरुद्ध प्रजातन्त्र प्राप्त गर्न “नेपाल लाङघाली परिवार” लाई चुनौती साथमा राष्ट्रव्यापी रुपमा संगठित गर्ने गराउनु भयो ।

हालसम्मका महाधिवेशनहरु
महाधिवेशन  मिति     नेतृत्व   सम्पन्न स्थल
प्रथम   २०३९ फालाण १५–१६  हेमबहादुर पुनमगर  दमौली -(तनहुँ) दास्रो
दोस्रो   २०४२ फालाण १६–१७ कविराज पुनमगर  हैटौडा -(मकवानपुर)
तेस्रो  २०४५ चैत्र २६–२७  ले. मानध्वज रानामगरनेपालगंज -(बाँके)
चौथो   २०४८ माघ १०–११   गोरेबहादुर खपाङ्गीमगर - काठमाण्डौं
पाँचौ   २०५१ फाल्गुण २६–२९  गोरेबहादुर खपाङ्गीमगर - घोराही (दाङ)
छैटौं   २०५४ फाल्गुण १५–१८  गोरेबहादुर खपाङ्गीमगर - नवलपरासी
सातौं   २०५७ फाल्गुण २१–२३  गोरेबहादुर खपाङ्गीमगर  -धरान(सुनसरी)
आठौं   
         २०६० फालण १४–१७ क्या,यमबहादुर बुढाथोकीमगर -टिकापुर     (कैलाली)
नवौं   २०६४ वैशाख ८–१०   झक बुहादुर थापा मगर - काठमाण्डौं
दशौं   २०६८ मंसिर २५–२८  महेन्द्र थापामगर -  तमघास
एघारौं   २०७३ बैशाख १८-२२   नवीन रोका मगर  - चितवन

चौथो चरणः .(वि.सं. २०४८–०६३)  शसक्तिकरण
वि.सं. २०४८ देखि २०६३ साल सम्मको कार्यकाललाई चौथो चरण अर्थात नेपाल मगर संघको शसक्तिकरणको चरण भनेर भन्न सकिन्छ । पूर्व अध्यक्ष गोरे बहादुर खपाङ्गीको कार्यकालमा अर्थात २०४८ सालमा नेपाल लाङघाली संघ चौथो महाधिवेशनले सो संघको नाम परिवर्तन गरि “नेपाल मगर संघ” नामकरण गरिएको थियो । उक्त महत्वपूर्ण समारोहमा लखन थापा द्वितीयलाई नेपालको सर्वप्रथम शहिद घोषित गरियोस भनी राखिएको प्रस्ताव सर्वसम्मतिबाट पारित भएको थियो । पुर्व अध्यक्ष गोरे बहादुर खपाङ्गी मगरको नेतृत्वमा अधिराज्का ६५ जिल्लाहरुलाई समेटने गरि “नेपाल मगर संघ“ एउटा शसक्त सामाजिक संस्थाको रुपमा उभिएको देखियो ।
वि.सं. २०६०–६३को अवधिमा पुर्वाध्यक्ष यम बहादर बुढाथोकीको सबल र सक्षम नेतृत्वमा नेपाल मगर संघको संस्थागत विकासमा आवश्यक पर्ने आफ्नै कार्यालय भवन निमार्ण भयो । साथै विदेशमा स्थापना भएका मगर संघ संस्थाहरसंग सुमधुर सम्बन्ध, सर्पक एंव समन्वय कायम हुन गयो । यसरी नेपाल मगर संघको संस्थात्मक विकासमा विदेशमा रहेका मगर संघ संस्थाहरु सहयोग निकै महत्वपूर्ण रहेको देखियो ।
वि.सं. २०६२÷०६३ को जनआन्दोलनमा “नेपाल मगर विद्यार्थी संघको रचनात्मक सक्रियतामा नेपाल मगर संघले सकरात्मक भूमिका खेल्यो । यसरी जन आन्दोलनमा “नेपाल मगर संघले आफ्नो छवि कायम राख्न सकेको देखिन्छ ।

पाँचौ चरणः (वि.सं. २०६४–हाल सम्म) “हकअधिकारको संघर्ष
वि.सं. २०६४ देखि आज सम्म “नेपाल मगर संघको सामाजिक, साँस्कृतिक क्रियाकलाप र यथावत छ । “नेपाल मगर संघ” मगर जातिको हक हित र अधिकारको जागरण अभियानमा सक्रिय रहेको छ । राज्य संरचनामा मगरात स्वायत प्रदेशको स्थापनाबारे वृहतरुपमा चेतना मूलत कार्यक्रम संचालन हाल सम्म गर्दै आएको छ । यसै क्रममा अधिराज्यका विभिन्न ठाँउहरुमा लोकतान्त्रिक संवाद, प्रशिक्षण कार्यक्रम, प्रकाशन एंव शान्तिपूर्व जुलुशहरु संचालन गर्दै आएको छ । राज्य माथि दवाव दिन“मगरात राज्य”को घोषणा एंव मगरात राज्यका सीमानाहरुमा होर्डिङ वोर्ड राख्ने अभियान पनि संचालन गरेको छ ।

वि.सं. २०६४ बैशाख ८ र १० गते काठमाण्डौमा सम्पन्न नवौँ अधिवेशन वाट झक बहादुर थापा मगर तथा २०६८ मंसिर २५ र २८ गते सम्पन्न महाधिवेशनवाट महेन्द्र थापा मगर नेपाल मगर संघको अध्यक्ष पदमा निर्वाचित हुनु भयो । उक्त दुवै पूर्व अध्यक्षहरुको सवल एंव सक्षम नेतृत्वमा जातीय पहिचान, स्वशासन र आत्म निर्णयको अधिकार सहितको मगरात राज्यको स्थापनाको संघर्षका लागि साहसिक निर्णयहरु भए । एकल जातीय, वर्गिय , क्षेत्रिय र एकात्मक राज्य नीति तथा व्यवस्थाको विरुद्ध मगर समाजमा सामाजिक जागरण ल्याउने प्रयासमा तीव्रता आयोको देखियो । वर्तमान अध्यक्ष नवीन रोका मगर को नेतृत्वमा नेपाल मगर संघको शैक्षिक, सास्कृतिक, आर्थिक एवं जातिय पहिचानका कार्यक्रमहरुलाई निरन्तरता दिइएको छ ।
मगर दिवको उपलब्धीहरु
१)  स्वदेश एव विदेशमा छरिएर रहेका सम्पूर्ण आदिवासी मगर जनजातिलाई एकजुट, एकबद्ध तथा एउटै संस्था अर्थात “नेपाल मगर संघ”मा आवद्ध र सगंठित भए ।
२)  मगर संस्कृति, मगर भाषा, भेष भूषा, धर्म रीतिथिती र परम्परा सम्वर्धन, सरक्षण एवं विस्तार प्रभावकारी रुपमा वृद्धि भएको ।
३)  आदिवासी मगर जनजातीको पहिचान, हक हित अधिकार एवं कर्तव्य प्रति मगर समुदायमा जागरुकता एवं जनचेतना वढेको ।
४)  मगरात राज्यको प्राप्तीका लागि हुने संघर्षमा तीव्रता र प्रभावकारिता बढेको
५)  जन्म देखि मृत्यु सम्मको संस्कारमा मगर कुटुम्व कर्मकाण्ड गराउने, मगर समुदायको आधिकारिक धर्म बौद्ध धर्म र मगर भाषाको आखा लिपीको प्रयोग र अभ्यास संख्यात्मक रुपमा बढ्दै गएको ।
६)  संचार क्षेत्रमा समाचारपत्र, अनलाइन टीवी र  चलचित्र आदिमा मगर समुदायको विभिन्न विषय सामाग्रीहरुको प्रस्तुति बढेको ।
७)  आर्थिक क्षेत्रका मगर समुदायको व्यवसायिक सक्रियता वढ्न गएको । शिक्षा प्रति मगर युवा र मगर अभिवावकहरुको अभिरुचीमा वृद्धि भएको ।
८)  मगर समुदाय संग सम्बन्धीत व्यवसायिक, प्राज्ञिक, शैक्षिक, आर्थिक, सास्कृतिक, सामाजिक तथा राजनीतिक संस्थाहरुमा बृद्धि भएको ।

निष्कर्श:
तुलनात्मक रुपमा मगर र मगर समुदायको बहुमुखी प्रगति भएता पनि अझ निरन्तर संघर्ष एंव सतत प्रयास अत्यन्त आवश्यक छ । अतः  फाल्गुण १५ गते मगर समुदायको लेखा जोखा को दिन पनि हो । “नेपाल मगर संघ”को विगतका प्रगति तथा भावी रणनितीको मुल्याङकन एवं समीक्षा गर्ने दिन हो । साथै सयौ वर्ष देखि उत्पिडित मगर समाजले अव के कसरी आफ्नो समाज लाई राष्ट्रिय विकासको मूल धारामा स्थापित गर्ने । कसरी आफ्नो प्रभावकारी आधिपत्य स्थापित गर्ने ? आजको चिन्तनको दिन हो । विश्वका मगरहरु एक हुन आजको नारा हो । मगरहरुको घोषणा र गर्जन हो ।

लेखक: माष्टर मित्रसेन स्मृति प्रतिष्ठानको अध्यक्ष हुनु हुन्छ ।

आधार सामाग्री
नर बहादुर थापा नरु थापा  किरात मगर इतिहास (२०६७, भाद्र)
डा. हर्ष बहादुर बुढामगर किरात वंश र मगरहरु (२०४९, जेष्ठ)
उमेश बहादुर राना मगर मगर समाज र फागुन १५ गते, मगर दीप स्मारिका २०६३ पाना ३७
मधुमालती बुढाथोकी मगरहरुको पश्चिमाञ्चल महासम्मेलन, ऐतिहासिक दस्तावेज “शोधमाला” पाना ११ (२०६७)
मीन श्रीस मगर समज सस्थागत विकास र सामाजिक परिवर्तन शोधमाला पाना ४० (२०६४)
त्रिलोक सिंह थापा  फागुन १५ गते, “मगर आवाज”

 

 हार्दिक श्रध्दाञ्जलि - ज्ञान बहादुर गाहा मगर