A+ A A-

ईतिहास : लखन थापाअघि नै मगर विद्रोह ?

राजकुमार दिक्पाल


काठमाडौँ — लखन थापा मगरले ब्यवस्थित सशस्त्र विद्रोहको तयारी गरिरहेका थिए । उनले जंगबहादुर राणाको हत्या गर्ने प्रतिज्ञा गरेका थिए । तर, उनीसहित सात जना विद्रोहीलाई जंगबहादुरकै आदेशमा वि.सं. १९३३ साल फागुन २ गते गोरखा, बुङ्कोटको काउले भागारमा झुण्ड्याएर मृत्यूदण्ड दिइयो । उनी नेपालको प्रथम शहीद घोषित भइसकेका छन् ।

[क्याप्टेन लखन थापा मगरले १९३०को दशकमा जंगबहादुर राणाको अत्याचारको बिरुद्धमा बिद्रोह गरेका थिए,फलस्वरुप जंगबहादुर राणाले लखन थापा मगरलाई फांसीको सजाय दिएका थिए ।
क्याप्टेन लखन थापा मगरले जंगबहादुर राणाको बिरुद्धमा बिद्रोह गर्नु चारदशक पहिला अर्थात बि.सं १८९७ सालमा पर्बत पाखापानीका तुले रोहानी मगरले आफु राजा र श्रीमतीलाई रानी धोषीत गरि गोरखा राज्यलाई नेपाल राज्य भईसकेको र त्यस राज्यको तोप र बन्दुक काम नलाग्ने बनाईदिने धम्कि दिएबापत गोरखाली राजालाई पचेन । गोरखाली सेना र तुले रोहानी मगरको सेना बिच भयंकर यूद्ध भयो, त्यहि यूद्धमा उनको मृत्यु भएको थियो । तुले रोहानी मगरलाई नेपाल सरकारले 'राष्ट्रिय विभूति' बाट सम्मान गर्नु पर्दछ ]।  - राज्यसत्ता

राम शाह कालिन सिद्ध लखन थापालाई प्रथम लखन थापा मानिन्छ। उनी मनकामना देवीका पूजारी खलकका पुर्खा हुन्। जंगबहादुर राणाको आदेशमा मृत्यू दण्ड पाएका विद्रोही लखन थापा चाहिं दोस्रा लखन थापा हुन्।

नेपालमा विभिन्न आदिवासी जनजातिहरुले समय समयमा विद्रोहका गरेका छन्। वि.सं. १६९०–१६९३ (अनुमानित) मा गोर्खामा भएको घले विद्रोह, वि.सं.१८४८ को चैनपुरको लिम्बू विद्रोह, १८५० को नुवाकोटको लच्याङमा भएको तामाङ विद्रोह, १८६४ को माझ किरातमा भएको राईहरुको विद्रोह, १९०७ मा गोरखाको अठार सय क्षेत्रमा भएको भोटे विद्रोह, १९१४ को सुकदेव गुरुङको नेतृत्वमा गोरखामा भएको गुरुङ विद्रोह प्रशिद्ध छन्। यस्तै लखन थापाले १९३० को दशकको प्रारम्भमा गरेको विद्रोहलाई मगर विद्रोहको रुपमा लिन सकिन्छ।

तर लखन थापाको नेतृत्वमा भएको यस विद्रोहलाई पहिलो मगर विद्रोह भने मान्न सकिन्न। किनभने उनले विद्रोह सुरु गर्नुभन्दा चार दशक अघि नै हालको पर्वत जिल्लामा ठूलो मगर विद्रोह भएको थियो। पर्वत पाखापानीका तुले रोहानीको नेतृत्वमा भएको यो विद्रोह ठूलो भए पनि यसबारे चर्चा परिचर्चा कमै भएको पाइन्छ। यस्तो लाग्छ, लखन थापाको विद्रोह सम्मुख तुले रोहानीको नेतृत्वमा भएको त्यो मगर विद्रोह एक किसिमले ओझेलमा परेको छ। यस विद्रोहमा तुलेलगायत विद्रोहीको त ज्यान गयो नै, विद्रोहीहरुले पनि राज्य पक्षका सैनिकको ज्यान लिए।

वि.सं. १८९७ मा तुले रोहानीले आफूलाई राजा घोषित गरे, श्रीमतीलाई रानी। उनले धनुर्धारीहरुको सशस्त्र समूह बनाई देउराली डाँडामा गढी खडा गरी शासन चलाउन लागे। उनले तत्कालिन गोरखा राज्यलाई कतिसम्म हाँक दिए भने नेपाल राज्य भइसकेको त्यस राज्यको तोप र बन्दुकसमेत काम नलाग्ने बनाइदिने घोषणा गरे। आफू घाम उदाउने र अस्ताउने ठाउँसम्मको राजा भएको घोषणा गरे। तर चीनलाई भने एउटा राज्यको रुपमा स्वीकार गरेका छन्। चीनसँग पनि आवश्यक परे आफू लड्ने उनको घोषणा थियो।

तुलेले आफूलाई पर्वतका पुराना प्रभावशाली राजा मलय बम (मले बम) मल्लको सन्तान भएको मात्र होइन, आफू कृष्णको अवतारसमेत भएको घोषणा गरी विद्रोह सुरु गरेका थिए।

तुले राहानीको विद्रोहको रुप :

इतिहासकार ज्ञानमणि नेपालले तुले रोहानीको विद्रोहका बारेमा नेपाल राजकीय प्रज्ञा प्रतिष्ठान (हाल: नेपाल प्रज्ञा प्रतिष्ठान) ले प्रकाशित गरेको “नेपालको महाभारत” (२०५२:१५६–१५७) मा तुले रोहानीको विद्रोह खुल्ने महत्वपूर्ण ऐतिहासिक पत्र प्रकाशमा ल्याएका छन्। त्यही पत्रका आधारमा हेर्दा तुले रोहानीको नेतृत्वमा भएको विद्रोहको स्वरुप यस्तो छ :

तुले रोहानीले आफूलाई मले बम (मलय बम) मल्लको सन्तान भएको र कृष्णको अवतार भएको घोषणा गरे। उनले यस्तो घोषणा विक्रम सम्वत १८९७ आषाढ बदी ३० सोमबारको (असार १८ गते) गरेका थिए। आफूलाई सूर्य उदाउनेदेखि अस्ताउने ठाउँसम्मको राजा घोषणा गर्दै गोर्खालीको तोप र बन्दुकलाई समेत काम नलाग्ने बनाउने हाँक दिए। उनले चीनलाई मात्र एउटा राज्यको रुपमा स्वीकार गरे। आवश्यक परे चीनसँग समेत युद्ध गर्ने बताएर गाउँलेहरुलाई आफ्नो पक्षमा लागेर आफूसँग हिड्न दवाव दिए। उनका गाउँका ६ घर बाहेक सबै गाउँले उनको पछि लागे। अर्थात् विद्रोहमा सामेल भए।

उनले देउराली डाँडामा गढी तयार गरे। मौलो गाडे। झन्डा, निशान समेत फहराए। श्रीमती लाटी रोहानीलाई रानी घोषणा गरी गाउँका दुई महिला झिकाई रानीको सुसारे बनाए। अनि आफू गद्दीमा बसे।

त्यो बेला त्यहीं बाटो भएर तामाखानीबाट तामा काटी टक आउँथ्यो। उनको आदेशमा सात भारी टक कब्जा गरियो। खानी ब्यापारका ब्यापारीहरुका भरियाहरुबाट १५ भारी चामल, कोदो कब्जा गरियो। बाटो हिड्ने मानिसबाट की आफूलाई रकम दिन नभए आफूसँग हिड्न दवाव दिइयो। यसो हुँदा टक्सारका सबै कामहरु बन्द भए।

यस्तो गतिविधिबारे सरकारी सेना र पातले खेतका केही अगुवाहरु गएर तुलेलाई यस्तो गतिविधि किन गरेको भन्ने प्रश्न राखे। तुलेका बफादारहरु आक्रोशित भए। उनीहरुले सुवेदार नरसिंह मल्लका भाई पदम मल्ललाई एक कोष टाढासम्म लखेटी विषालु धनुाँड प्रहार गरी हत्या गरे। केही सिपाहीलाई घाइते तुल्याए।

तुलेका बफादारहरु थप आक्रोशित भए। उनीहरु ठाडाखानी गएर साहु महाजनका बहिपत्र (तमसुक) हरु जलाए। भाला प्रहार गरी बाख्रा मारिदिए। झिङ्को गाउँमा पुगेर पाँच गोठ लुटी ७१ बाख्रा काटी खाए। पातले खेतका रणसिंह खत्रीको गोठमा पुगी दुई गोठालालाई घाइते बनाई ५/६ वटा भैसी पनि काटेर खाइदिए।

तुलेले त्यस भेगमा सरकारी कर्मचारी भइ खटिएका विचारी टक्सारीलाई फेरि हाँक दिंदै चिट्ठी पठाएर भने, “कसको आदेशमा लडाई गर्न आइस् र फेरि किन भागिस्?”

सकेसम्म फकाई फुल्याई शान्त गराएर तुलेलाई पक्रन त्यस भेगका सरकारी मानिस र स्थानीय अगुवा फेरि सक्रिय भए। तर तुलेका बफादारहरु फकिएनन्। उल्टै आक्रोशित भए। उनीहरुले त्यो आक्रमण र प्रत्याक्रमणमा कुकुर र बाख्रालाई पनि प्रयोग गरेका थिए। महिला र बालबालिकासमेत उत्रिएका थिए। पुरुषहरु धनुकाँड लिएर उत्रिए। विद्रोही पक्षका महिलाहरु बन्चरो लिएर निस्के। कतिले खरानी उडाए।

बाख्राको प्रयोग ढालका रुपमा, कुकुरको प्रयोग आक्रामकको रुपमा र खरानीको प्रयोग विपक्षको आँखामा छारो हाल्नका लागि भएको बुझ्न सकिन्छ।
विद्रोहीको यस्तो प्रत्याक्रमणपछि राज्य पक्ष युद्धबाट पछि हट्यो र एक कोष टाढा गई ज्यान जोगायो।

त्यसै रात फेरि १३ जना विद्रोहीहरु ठाडाखानी गाउँमा पुगेर केहीलाई घाइते बनाए। लुटपिट गर्न लागे। उनीहरुले तीन जनालाई मारे। २५ जना जतिलाई घाइते बनाए। उनीहरुले कालीबक्स पल्टनका सिपाही पूर्ण सूर्यवंशी विदामा आएको बेला तरबार प्रहार गरी घाइते तुल्याए।

फेरि युद्ध मच्चियो। यो युद्धमा राज्य पक्षबाट तुले र उनका बुवालाई गढी भित्रै काटे। युद्धमा जम्मा ९ जना मारिए, २ जना पक्राउ परे। त्यो बेलाको विद्रोहको यो रुप चानचुने थिएन। तुलेको विद्रोह दवाउन राज्य पक्षले कालीबक्स पल्टनका सेना परिचालन गर्नु परेको थियो।

मारिने र मार्नेहरु:

नेपाल (२०५२:१५७–१५९) अनुसार यो विद्रोह वा लडाई एक महिनासम्म चलेको देखिन्छ। वि.सं. १८९७ श्रावण वदी ३० मंगलबार बेनी मुकामबाट बाग्लुङ अड्डाका विचारी श्रीभक्त पाठक, ठिरा लछिमन भण्डारी, टक्सारी जैनरसिं प्रधान, बहिदार प्रेमसिंह खत्री, सेनाका जमदार दलजित रुचालकासाथै कुहुं, राखु, मल्लाजा, ज्यामरुक, घटान, बेनी, कार्किकोट, भीमपोखरा, सिंघान, तिल्याड र बलेवाका गरी ७४ जना मानिसले यस घटनासम्बन्धी जानकारी तत्कालिन सरकारमा जाहेर गरिएको अर्जीमा लडाईका बेला विद्रोही पक्षका ९ जना मारिएका र सरकारी पक्षका ४ जना गरी १३ जना मारिएका देखिन्छ।

तर नेपाल (२०५२:१६१) अनुसारनै मारिनेहरुको नाम भने ७ ननाको मात्र उल्लेख छ। तीमध्ये तुलेलाई कालिवक्स पल्टनका सिपाही पुरनसिंह सूर्यवंशीले तरबारले कोखामा प्रहार गरी हत्या गरे। तुलेका बुवा बुधेलाई कालीबक्स पल्टनकै सिउराज सूर्यवंशीले धनुकाँडले हानी हत्या गरे। तुलेका दाजु कुस्म्यालाई रघुबीर रुचालले मारे। बासुदेव रोहानी अटल रुचालको प्रहारबाट मारिए। यस्तै जमदार पदम मल्ल विद्रोही पक्षको धनुकाँड प्रहारबाट मारिए।

नेपाल (२०५२:१६४) ले तुले रोहानी मगर नै भएको उल्लेख गरेबाट यो मगर विद्रोह नै थियो भन्ने स्पष्ट हुन्छ।

त्यो समय उनले आफू मलेबम अर्थात मलय बम मल्लका सन्तान र कृष्णको अवतार भएको उल्लेख गर्नुबाट उनको विद्रोहको आड राजनीतिक र धार्मिक दुवै थियो भन्न सकिन्छ।

पहिले पहिले भएका कतिपय विद्रोहको आड धार्मिक पनि हुने गरेको थियो। जस्तो कि सुकदेव गुरुङ, सुपति गुरुङहरुले आफूलाई बौद्ध बादशाह घोषणा गरी विद्रोह गरेका थिए। लखन थापाले आफूलाई सिद्ध लखन थापाको अवतार भएको र आफूलाई मनकामना देवीको आज्ञा रहेको घोषणा गरेका थिए। नुवाकोटमा भएको तामाङ विद्रोहका अगुवाहरुले पनि आफूलाई अवतारी घोषणा गरी विद्रोहका लागि आहृवान गरेका थिए।

तुले रोहानीले आफू पर्वतका राजा मले बमका सन्तानसमेत घोषणा गरेका थिए। मले बम तत्कालिन चौविसी राज्य अन्तर्गतको पर्वत राज्यका महत्वकांक्षी र सुयोग्य राजा थिए। त्यो समय चौविसी राज्यमध्ये पर्वत धनी, प्रभावशाली र शक्तिशाली राज्य थियो। इतिहासप्रधान पत्रिका “पूर्णिमा” को पूर्णांक ४९ (आश्विन २०३८:९) मा देवीप्रसाद भण्डारीले प्रस्तुत गरेको “ऐ.शि. बाबुराम आचार्यले रचना गर्नुभएको नेपालको संक्षिप्त इतिहास” अनुसार वि.सं. १७९६ तिर मलै बम मल्लले पर्वत राज्यमा शासन चलाएका थिए। उनले चौविसी राज्यका सबै राज्यको राजा हुने महत्वकांक्षा पनि पालेका थिए। उनैकी सन्तति बुद्धिमती गोरखाका राजा नरभूपाल शाहकी साहिली रानी हुन्।

आचार्यले “पूर्णिमा”को पूर्णांक ६० (माघ२०४१:१४०) मा उल्लेख गरेअनुसार १८४३ साल असोज १३ गते गोरखालीहरु अघि बढ्दै जाँदा पर्वतका अन्तिम् राजा किर्तिबम मल्ल भागे र त्यस राज्य गोर्खालीको अधिनस्थ हुन आयो।

पर्वतका प्रभावशाली राजा मलय बमको शासनको एक शताब्दिपछि तुले रोहानीले आफू उनैको सन्तान हुँ भनी विद्रोह गरेको देखिन्छ। यसबाट के बुझिन्छ भने लखन थापा मगर विद्रोहका आदि विद्रोही होइनन्। मगर विद्रोहका आदि विद्रोही त तुले रोहानी हुन्।
(जेष्ठ २०, २०७५ कानितपुर बाट साभार गरिएको )
 हार्दिक श्रध्दाञ्जलि - ज्ञान बहादुर गाहा मगर