A+ A A-

आले, थापा र राना मगरहरु प्राप्त गरेको राजकीय सम्मान हो !

बि. के. (राणा) राना मगर


मगर जातिको विभिन्न थरहरु मध्ये 'आले, थापा र राना'को ऐतिहासिकताबारे एक संक्षिप्त टिप्पणी
['आले', 'थापा' र 'राना वा राणा' मगर जातिले प्राप्त गरेको राजकीय वा सरकारी मान, पद, सम्मान वा मान्यता हो । यी तीनै 'आले', 'थापा' र  'राना वा राणा' थरहरुको विशेष अर्थ र महत्व छ । अनि, भाषिक एवम् ऐतिहासिक आधारमा अब राना मगरहरुले 'राणा' नै लेख्नु राम्रो हुन्छ । जंग बहादुर कुँवरहरु बि. सं १९१० पछि मात्र 'राणा' बनेका हुन् । तर, त्यो भन्दा ३०० वर्ष पहिले नै गोरखामा  राना अर्थात् राणा मगरहरु  रहेभएका कुरा त इतिहासमा लेखिएकै छ ।]

मगर जातिको राजनीतिक एवम् सांस्कृतिक इतिहासका सवालहरुबारे अध्ययन गर्ने सिलसिलामा प्राध्यापक केशर जंग बराल मगरको 'पाल्पा , तनहुँ र स्यांग्जाका मगरहरुको संस्कृति' (प्रथम संस्करण - २०४८, दोश्रो मुद्रण - २०६८ श्रवण) मैले बारम्बार पढ्ने गरेको छु। यो किताबमा  मगर जातिको  विभिन्न थरहरुको राम्रो सूचिकरण अर्थात्  'लिष्टिंग' गरिएको छ । यस ढंगले अन्य कुनै किताबमा सूचिकरण गरिए नगरिएको मलाई जानकारी छैन । प्रश्तुत मगर जातिको विभिन्न थरहरु मध्ये 'आले, थापा र  रानाका'  बारेमा  सो किताबमा अलिकति कुरा छुटेको वा थप्नु पर्ने पाएँ मैले ।
'आले', 'थापा' र 'राना वा राणा' मगर जातिले प्राप्त गरेको राजकीय वा सरकारी मान, पद, सम्मान वा मान्यता हो । यी तीनै 'आले', 'थापा' र  'राना वा राणा' थरहरुको विशेष अर्थ र महत्व छ । अनि, भाषिक एवम् ऐतिहासिक आधारमा अब राना मगरहरुले 'राणा' नै लेख्नु राम्रो हुन्छ । जंग बहादुर कुँवरहरु बि. सं १९१० पछि मात्र 'राणा' बनेका हुन् । तर, त्यो भन्दा ३०० वर्ष पहिले नै गोरखामा  राना अर्थात् राणा मगरहरु  रहेभएका कुरा त इतिहासमा लेखिएकै छ ।

 

खासगरिकन 'थापा र राना थरका' मगरहरुका बारेमा मैले चार-पांच  वर्ष पहिले पनि यसरी नै संक्षिप्त कुरा लेखेको थिएँ। प्रश्तुत  यी ३ थरहरुको बारेमा सो किताबमा अब अर्को संस्करण छपाई गरिंदा  निम्न कुराहरु मिलाउनु  वा समावेश हुनु वान्छनीय छ ।

 

१) माथि भनिएको 'पाल्पा, तनहुँ र स्यांग्जाका  मगरहरुको संस्कृति'को अध्याय २.३ मगरका थर र उपथरमा "मगर जाति भित्रको एउटा थर 'आले मगर'को बारेमा,"द्रब्य शाहको शासनकालमा गोरखामा थापा मगर बाहेक राणा र आले मगर भएको कुरा वंशावलीमा उल्लेख भएको पाईन्छ ।" भनेर लेखिएको छ (पृष्ठ ३४) । मगर भाषामा 'आले'को के अर्थ लाग्दछ त्यो त मलाई थाहा छैन  तर एउटा कुरा के हो भने यो 'आले शव्द'  भारोपेली भाषाको शव्द 'अलिया वा आलिया' (Aliya) संग धेरै मिल्दोजुल्दो छ  र यसको अर्थ : 'कुनै सरकारी अधिकारी' भन्ने हुन्छ । ( हेर्नुस : Prof. Dinesh Chandra Sirkar को  Indian  Epigraphical  Glossary -१९६६ : पृष्ठ १६) । यसबाट के बुझिन्छ भने मध्यकालमा 'आले मगरहरु' आजभोलिका सरकारी कर्मचारी जस्ता थिए ।

 

२) सोही किताबमा "यांग्जाकोट छापडाडा, कास्की जिल्लाका श्री पार्सिंग गुरुङको  घरमा भएको अप्रकाशित हस्तलिखित वंशावलीमा   गड  थाम्ने सिपाहीलाई  "थापा मगर " भनेर उल्लेख गरेको पाईन्छ ।" (पृष्ठ ३२)

 

अब यसमा मिलाउनु पर्ने कुरा> यस 'थापा'  शव्दको भाषिक हिसाबले विश्लेषण गर्दा कुरा त माथि लेखिए जस्तै लाग्छ । यसलाई अझ यसरी स्पष्ट गर्न पनि सकिन्छ कि  यो 'थापा' शव्द भोट-बर्मेली भाषाको शव्द हो । र,  यसमा 'था' को तिब्बती भाषामा 'केन्द्र भन्दा पर,  छेउमा  वा सिमानामा बसेको वा भएको (Not in center but on the edge or border)' भन्ने अर्थ लाग्दछ भने 'पा' भन्नाले 'मान्छे' भन्ने अर्थ लाग्दछ । नेपाल र पूर्वोत्तर भारतमा रहनेबस्ने अर्को अल्पसंख्यक "थामी" ('था' = छेउमा  वा सीमानामा बसेको वा भएको'  + 'मी' = मान्छे > or people at the border) जातिको कुरो पनि यस्तै हो ।

 

सिमानामा बस्नेले 'गड' थाम्ने सिपाहीको काम गर्ने नै हो । तर, यसको अर्को अर्थ 'सिमा रक्षक' पनि हुने भएपछि र 'रक्षक' भन्ने वित्तिकै प्रचलित वर्ण व्यवस्था अनुरुप 'क्षत्रीय' हुने नै भैसकेपछि  'थापा क्षत्री'हरुको संख्या नेपालमा निक्कै  हुने भै पनि हाल्यो । नेपालको जनसंख्या सम्बन्धी सरकारी प्रतिवेदनमा क्षेत्रीहरु नेपालमा  १५. ८० % ले सबभन्दा बढी जनसंख्या भन्ने लेखिएको जाति हो । ब्राह्मण १२. ७४% ले दोश्रो ठूलो र मगर ७. १४ % ले तेश्रो ठूलो  हो ।

 

मगर जातिको जनसंख्या यो भन्दा धेरै हुनुपर्छ भन्ने कारणसमेत खुलाएर फागुन १९, २०५७ अर्थात् शुक्रबार मार्च २, २००१ काठमाडौँबाट प्रकाशित हुने कान्तिपुर दैनिकको विचार स्तम्भमा -  "हामी मगरहरू यो तथ्याङ्कलाई स्वीकार गर्दैनौं। मगर जातिको मात्र कुल जनसंख्याको २५ प्रतिशत जनसंख्या हुनुपर्दछ भन्ने हाम्रो दाबीफेरि एकपटक यस लेखमार्फत् सार्वजनिक गर्न चाहन्छौं । लोकतन्त्रमा संख्याले अधिकार प्राप्तिएवं उपभोगको निम्ति मार्ग सुनिश्चित गर्ने भएकाले जनगणनामा आफ्नो जातिको जनसंख्या केकतिरहेको छ भन्नेबारे चासो राख्नु सबैको पुनित कर्तव्य हो ।" भन्ने छपाइएकोमा त्यसको विरोध गर्दै केही मानिसहरुले सोही कान्तिपुरमा नै चर्को प्रतिक्रिया जनाएका थिए । अझै पनि  मगर समुदायका अगुवाहरु सरकारी तथ्यांक अर्थात् मिथ्यांक नै घोक्ने र सार्वजनिक कार्यक्रमहरुमा पनि त्यही पढ्ने वा बोल्ने गरेकामा यो मन खिन्न भै जान्छ बेला बेलामा । खैर, यस कुरालाई यही थाती राखेर अब मूल विषयमा फर्कौं । कुरा के भने नेपालको मध्यकालीन इतिहासमा विराज थापा मगर र आधुनिक इतिहासमा भीमसेन थापाको नाम सबभन्दा माथि आउछ । यो कुरा सबैलाई थाहा भएकै कुरा हो ।

 

३) राना मगरहरुका बारेमा  पनि माथि भनिएको किताब : 'पाल्पा, तनहुँ र स्यांग्जाका  मगरहरुको संस्कृति'को पृष्ठ ३३ मा " आजभोलि  राना कि राणा ? भन्ने विवाद पाईन्छ ।यस सन्दर्भमा, वंशावलीमा पनि रणक्षेत्रमा विजय प्राप्त गरेका मगरहरुलाई  राणा भनेर उल्लेख गरेको पाइन्छ । नेपालका प्रसिद्ध मानवशास्त्री, प्राध्यापक श्री डोर बहादुर विष्टले पनि 'राना' उल्लेख नगरी 'राणा' भनी उल्लेख गर्नु भएको छ । वास्तवमा भन्ने हो भने  राना नभईकन  राणा  मगर हुनुपर्ने हो किनभने कुँवरक्षेत्रीहरु राणा  हुनुभन्दा पहिले नै वंशावलीमा (अर्थात द्रव्य शाहको पालामा नै) 'राणा  मगर' भनी उल्लेख गरिएको पाइन्छ र कुँवरक्षेत्रीहरु पछि आएर मात्र राणा  भएको इतिहास साक्षी छ ।" (यी कुराहरु 'गुरुङ वंशावलीमा'  र 'केपछाकी आले मगर वंशावली' बाट लिइएको  भन्ने कुरा किताबको पाद टिप्पणीमा जनाइएको छ।)

 

क) यसमा पनि बस्तुत: 'राणा र राना' भाषिक सिद्दान्तका  आधारमा दुवै एकै हुन् । संस्कृत भाषाका 'राजा' र 'राजन' शव्दहरुसंग सम्बन्धित भएकोले वा संस्कृतिकरण गरिंदा 'राणा' बन्न गएको हो (हेर्नुस : D. C. Sirkar को  Indian  Epigraphical  Glossary -१९६६ : पृष्ठ २७५ । Rana: derived from Ranaka; title of ruling chiefs; same as Rana, Ranaka. अथवा  you may check pages 269 - 274 also) । त्यहि 'राणा'  भाषिक स्थानीयकरण (Localization) हुँदै जाँदा 'राना' भएको हो । संस्कृतिकरणको चपेटोमा परेका मगरहरुलाई अलिक पहिलेसम्म 'हिन्दूकृत' भन्ने गरिन्थ्यो तर आजभोलि विद्वानहरुले 'संस्कृतिकृत मगरहरु' (Sanskritized Ethnic  Magars) लेख्ने गरेका छन् ।(हेर्नुस : Angana  P. Chatterji र  Lubna Nazir  Chaudhary को Contesting  Nation, Gendered  Violence in South  Asia : Notes on  the  Postcolonial Present - २०१२ पृष्ठ ७७ )। सम्भबत: मगर भाषा बोल्ने  त्यसबेलाका मगरहरुले 'राणा' शव्दलाई कुनै पठीत ब्राह्मणबन्धुले झैं सही उच्चारण गर्न सकेनन् र 'राना' नै भन्न थाले ।

 

ख) "वंशावलीमा (अर्थात  द्रव्य शाहको पालामा नै) 'राणा मगर' भनी उल्लेख गरिएको पाइन्छ।" भनेर यदि लेखकले गोरखावंशावलीको कुरो गर्नु भएको हो भने  वि. सं  २००९ मा योगप्रचारिणी काशी गोरक्षटिल्लाद्वारा प्रकाशित गोर्खावंशावलीको पृष्ठ ६ मा "गणेश पांडे  गोर्खा  मा मगर हरु सित  को सल्लाह बाधन  लाग्या।" भनेर मगर जातिको  उल्लेख त  गरिएको छ  तर कुनै थापा, राना वा राणा वा आलेको कुरो गरिएको छैन । त्यहि  गोर्खावंशावलीको पृष्ठ ३३ मा राजा रामशाहका पालाका कुरामा भने, " तुरुक्षाकी आले ग्रंजा थापा ग्रंजा राना  ई तिन थरले आलो पालो गरि खानु भनी  कपर्दारी मान बक्सनु भयो ।" भन्ने लेखिएको छ । यसै अनुसार पृष्ठ ३४  मा "सिसौतिया राणा जी महाराज सित को बैठक " भन्ने लेखिएकोले 'राना र राणा' बारे गोर्खावंशावाली मा स्पष्ट भिन्नता देखाइएको छ । गोरखाली शाह राजाहरुको अझ अर्को 'गोरखाराजवंशावली'मा पनि "नारायणदासले अति शुभ सायेत्  हेरी गणेश पांडे  गंगाराम राना बुसाललाई सबै कुरा अर्ह्याई चिन्हपत्र दी लम्जुङ्ग पठाया " भन्ने लेखिएको छ । (हेर्नुस दिनेश राज पन्तको >  गोरखाको इतिहास  (चौथो भाग - २०५० पृष्ठ ९४३ )।

 

ग) यो 'राना वा राणा' लडाईमा जितेर वा वीरगति प्राप्त गरिएपछि पाईने  पद्वी हो । एउटा कुनै 'थापा' परिवारबाट  लडाईमा तीन पुस्ताले लडेर वीरगति प्राप्त गरेमा त्यो परिवारलाई 'राना वा राणा' पद दिइन्थ्यो भन्ने पनि लेखिएको पाइएको छ । उदाहरणका निम्ति कुनै रेशमी थापाको तीन पुस्ताले लडाइमा  वीरगति प्राप्त गरेमा 'रेशमी राना वा राणा' होईने कुरा पनि लेखिएको पाइएको छ ।

 

घ) आजभोलि केही मुसलमानहरुले पनि यो 'राना वा राणा' लेख्छन वा लेख्ने गरेकाछन । यो चाहिँ उनीहरु पछि गएर धर्मपरिवर्तन गरेका कारण भएको हो ।

 


मे २७, २०१८
हार्वर्ड विश्वविद्यालय,
क्याम्ब्रिज म्यासाचुसेट्स , संयुक्त राज्य अमेरिका ।

 

हार्दिक श्रध्दाञ्जलि - गोरे बहादुर खपांगी