A+ A A-

दसैं मान्नुस् नमान्नुस् तर आफ्नै समुदाय विरुद्द सुसाइड गोल नगरौ ।

अमृत योन्जन तामाङ

दशैं परित्याग गर्ने कि नगर्ने ? मेरो विचारमा जे गरे पनि हुन्छ तर हामीले आफ्नै समाजको विरुद्ध सुसाइड गोल गर्नु हुँदैन ।नेपाल संविधानतः बहुधार्मिक मुलुक हो। यो कुरा नेपालको संविधान २०७२ को प्रस्तावनामा पनि छ र धारा २ मा पनि व्यवस्था गरिएको छ। धारा ४ (१) मा "नेपाल ...... धर्मनिर्पेक्ष .... राज्य हो" भनिएको छ ।

यस्तो संवैधानिक व्यवस्थाले नेपाली जनता आ-आफ्नो धर्म मान्न स्वतन्त्र छन्। आ-आफ्नो संस्कृति र मूल्य-मान्यता पालन गर्न पनि स्वत्रन्त छन् भन्ने हुन्छ। यसर्थ राज्य, सरकारी संस्था, निकायहरु र सञ्चार माध्यमले सम्प्रेषण गर्नु पर्ने कुरा के हो भने दसै-तिहारलाई "हिन्दूहरुको महान चाड" हो भन्नु हुन्छ तर "नेपालीहरुको महान चाड" भन्नु हुँदैन। संविधानतः त्यसो भन्न पाइँदैन पनि। यसरी सम्प्रेषण गरिने हो भने गैरहिन्दू जनताले दशैं वहिष्कार वा परित्याग गरिरहनुको प्रश्नै उठदैन, कुनै तुक हुदैन। वास्तवमा राज्यसत्ताले संविधानको सही पालना गर्ने हो भने कुनै पनि चाडपर्वलाई न वहिष्कार गर्नु पर्थ्यो न परित्याग नै।

जब राज्यसत्ताले नै बहुसङ्ख्यकको नाउमा हिन्दू चाडपर्व र मूल्य मान्यता लादन खोज्छ, तब समस्या चर्किन थाल्छ। धर्मनिरपेक्ष भइसकेर पनि राज्यले यस्तो काम गरिरहेको छ, जस्तै- दशैको बेला कर्मचारीवर्गलाई एक महिनाको तलब बरावरको भत्ता दिनु र अरु धार्मिक समुदायको चाडमा विदा पनि नदिनु । दसैंमा तोप पडकाउनु र अरुको चाडमा नपडकाउनु। यसबाट राज्यले हिन्दूधर्म सापेक्ष व्यवहार देखाइरहेको छ भन्ने प्रमाणित हुन्छ। यसै गरी राष्ट्र बै‌कले दसैको अवसरमा नयाँ नोट निकाल्नु र वितरण गर्नु पनि संविधानको बर्खिलाप नै हो। नेपाली पत्रपत्रिकाले गैरहिन्दूहरुको निधारमा रातो टिका लगाएको चित्र छाप्नु (केही वर्ष अगाडि हिमालले एक जना रातो टिका र जमारसहितको लिम्बुनीको फोटो कभरपेजमा छापेको थियो) पनि संविधानको धारा कुल्चनु खोज्नु हो। आफ्ना छिमेकका हिन्दुहरुको चाडपर्वहरुमा आदिवासीहरु रमाइरहदा मिडियाको क्यामराले तिनीहरुलाई पछ्याइनु पनि धार्मिक सहिष्णुता खल्बलाउने दुष्प्रयास नै हो। यसबारेमा देशको मिडिया सचेत हुनै पर्छ। यसरी अनावश्यक हिन्दू धर्मको खेती गरिनु हुन्न।

तामाङ लगायतमा आदिवासीहरुलाई आफ्नो धर्म मान्न स्वतन्त्र छ। दवावमा परेका आफ्नतजनलाई मुक्त गर्ने प्रयास अग्रजहरुले गर्छ नै। यसो गर्दा वहिष्कारको कुरा उठनु स्वभाविक पनि हो। उनीहरुलाई १९१० को मुलुकी ऐनको पिडा छ। राज्यले हिन्दूधर्म लादिदा भएका झडप, लुटपाट र मृत्युदण्ड व्यहोरो पुस्ता सकिसकेको भए पनि छोरा वा नाती पुस्तामा त्यो तुष अझै छ। उनीहरुले आफ्नो पिडा पोख्न पाउनु पर्छ। गणतन्त्रिक मुलुकमा सवै नागरिकलाई त्यो हक सुरक्षित हुन्छ नै।

तसर्थ तामाङ युवा पुस्ताले बुझ्नु पर्ने कुरा के हो भने हामी अब "मासिने मतवाली" (मास्न वा कमारो बनाउन मिल्ने जाति) रहेनौं। अरु सरह नै हामी पनि रैतीबाट जनता हुँदै नागरिक भइसकेका छौं। अब हिन्दूहरुको सेवक बन्नु हुँदैन, सहयात्री वा सहयोगी बन्नु पर्छ। हाम्रा अग्रज र अगिल्ला पुस्ताकाहरुले गणतन्त्र र धर्मनिरपेक्षताको लागि धेरै रगत बगाइसकेका छन्। उनीहरुप्रति हामी कृतज्ञ हुनु पर्छ, कृतघ्न होइन। हिन्दू मित्रहरुको चाडपर्वमा रमाउनु भनेको नेपालको राष्टियता बलियो बनाउनु हो। उनीहरुलाई पनि हाम्रो चाडबाडमा सहभागी गराउनु पर्छ। यसबाट समाजमा सुमधुर सम्वन्ध कायम हुन्छ। तर आफैंले रातोटिका-जमरा लगाउनु भनेको आफ्नो धर्मसंस्कृति र मूल्य-मान्यताको विरुद्ध सुसाइड गोल गर्नु जस्तै हो। सुसाइड गोल गर्ने कार्यमा हामी तामाङहरु लाग्नु हुँदैन।

हार्दिक श्रद्धान्जलि - एक बहादुर राना मगर
हार्दिक श्रध्दाञ्जलि - गोरे बहादुर खपांगी