A+ A A-

नेपाली संगीतिक क्षेत्रका अमर नक्षत्र स्व. अरुण थापा मगरः अलविदा

प्रेम रोकामगर
Image may contain: 1 person

सामान्य परिचय
वि.स. २००८ पौष महिनामा भारतको कलकत्तामा जन्मिएका स्व. अरुण थापामगर ३ महिनाको हुँदा बाबाआमाको साथमा नेपाल आएका थिए त्यसपछि नेपालमै हुर्केे, बढे र पढे पनि । जेपि हाइस्कुल, क्षेत्रपाती, काठमाडौंमा उनले पहिलो पटक पढ्नको निम्ति भर्ना भए । सानो छँदा अलि बदमास भएको कारण बाबा आमाले उनलाई थप अध्ययनको लागि टर्नबुल हाइस्कुल, दार्जिलिङमा पठाए । उनले कक्षा १० सम्म दार्जिलिङमा पढे र एस.एल.सीको परीक्षा नेपालमै आएर दिए । एस.एल.सी पास भएपछि उनले क्याम्पस पढ्नको लागि पोखरामा रहेको पि.एन.क्याम्पसमा भर्ना भए । उनको सानै देखि गीत गाउने रुचि  र संगीतमा रमाउने बानी थियो ।

थापाको एक सम्झना : ढुङ्गेल

वि.स. २०४० साल तिर सोल्टी होटलमा गीतकार सुवास चन्द्र ढुंगेलले पहिलो पटक अरुण थापालाई भेटे । अरुण त्यहीँ काम गर्थे । गीतकार ढुंगेलले एउटा एल्बमको तयारी गर्दै थिए । आफ्ना दाजुको सहयोगमा उनले थापालाई भेटेका थिए । उनले आफ्नो इच्छा व्यक्त गरेपछि अरुणले सुवासलाई भने, हुन्छ तिम्रा गीतहरु मलाई देऊ मलाई मनपर्यो भने गाउँछु । उनले दुई तीन वटा गीत दिए । अरुणले दुई तीन वटा हैन १२/१३ वटा गीत मागे । उनले सोधे, किन १२/१३ वटा दाई ?अरुणले जवाफ फर्काए, मेरो गीत गाउने बेग्लै तरिका छ । ती गीतबाट म आफूलाई मेल खाने र मेरो जीन्दगी मिल्ने गीत छानेर गाउँछु । सुवासले अरुणको हातमा थमाएका गीतमध्ये ‘चोट के हो व्यथा केहो’, बोलको गीतलाई विशेष मनपराए । उनले भने सुवास भाई, यो गीत म गाउँछु, कसैलाई नदेऊ है । आफ्नो जीवनमा असफल प्रेम भोगेका अरुणसँग मनमा प्रेम विछोडको गहिरो पीडा थियो । त्यो गीतमा उनले आफ्नो जीवनको पीडा पाए । त्यसैले उनले त्यो गीत आफ्ना लागि बुक गरे ।

साउन ५ गते गायक अरुण थापाको पुण्य तिथी हो । आफ्ना कालजयी पीडा भरिएका गीतका लागि थापाको सम्झनामा उनीसँग नजिकको सम्बन्ध भएका साथीहरू, उनलाई चिन्ने श्रोताहरु, मगर संघ, मगर विद्यार्थी संघ तथा अन्य संस्था एवं विभिन्न अन्य सांगितिक क्षेत्रसँग सम्बन्धित भएका संघ संस्थाहरुद्वाराअरुण थापा मगरको पुण्य तिथीमाउनको सम्झनामा साँस्कृतिक तथा अन्य थापासँग सम्बन्धित कार्यक्रमहरु गर्ने गरिन्छ ।

उनले आफ्नो जीवन विसाए पछि उनलाई श्रद्धाञ्जलीका लागि एकेडेमी राखियो । त्यहाँ राखिएको व्यानरमा लेखिएको थियो । चोट के हो ? व्यथा के हो ? त्यो प्रश्न आज पनि छ । धेरैले त्यसलाई उनको प्रेम वियोगले दिएको चोटको भुटभुटी ठान्छन तर त्यो चोट र व्यथालाई व्याख्या गर्ने उत्तर कोहिसँग छैन् । सायद अरुणलाई भन्न सक्ने शब्द नै छैनन् । गीत लेखेका सुवाससँग पनि त्यसको ठोस उत्तर छैन् । ढुङ्गेलसँगको कुराकानीमा उनको मुखबाट खुस्क्यो ‘प्रेम’ । अरुणले पनि जीवनमा कसैलाई प्रेम गरेका थिए । त्यो पीडालाई उनले गीतमा पोखे र जीवनमा अगाडि बढे तर त्यस्तै पीडाबाट गुज्रिएको थापाको हकमा त्यसो हुन सकेन् । उनी त्यसमै पिल्सिरहे ।

चोट केहो ? व्यथा के हो ?, म जस्तो घाइटेलाई सोध ।
मिलन के हो ? खुसी के हो ?, मसँग कहिल्यै सोध्दै नसोध ।

यो गीत उनको हृदयको एकदम नजिक थियो । अरुणको अन्तिम भनिएको एक अन्तवार्ता उनलाई आफूले गाएका गीत कुन गीत असाध्यै मनपर्छ ? भनेर सोध्दा दुईवटा गीतको नाम लिएका थिए । ‘चोट के हो ? व्यथा के हो ?’ र ‘म रोए पनि तिमी हाँसी दिनु’ गीत आफ्नो जीवनसँग नजिक रहेको र मेल खाने भएकाले मनपर्ने बताएका थिए । उक्त अन्तर्वातामा उनले, ‘मलाई मेरो सबै हिट गीतदेखी सन्तुष्टि छ । तैपनि प्रायः मलाई हृदय छोएको, हर्ट टच गरेको गीत ‘चोट के हो ? व्यथा के हो ? र ‘म रोए पनि तिमी हाँसी दिनु’ हो । यी दुईवटाले चाँहि मलाई अलिकति हृदयलाई छोयो भनुँ न । एउटा कुरा त फिलिङ्स पनि राम्रो आउँछ भन्छन् अरुण । उनलाई पनि त्यो फिलिङ्स गीतमा राम्रो आएको लाग्थ्यो । पहिल्यै देखि भावुक गीत मन पराउने उनलाई ती गीत अरुभन्दा बढी नै प्रिय लाग्थे । सुवासले उक्त गीतसँग जोडिएको केही यादको सम्झना गरे । गीत रिलिज भएपछि ठिकठिकै चल्यो तर उनको निधनपछि चाँहि त्यो गीत बढी नै चल्यो । उनले २०४५ मा निकालेको १० गीतको एल्बमको कभर गीत थियो त्यो गीत । उक्त एल्बममा अरुणले तीन वटा गीत गाएका छन् ।

उनले त्यो गीत बाहेक ‘पारि गयौ किन अधुरो यो जीवनमा’ र ‘अरुसँग नजोख मलाई’ बोलका गीत गाएका थिए । उनका लागि भनेर चौथो गीत पनि तयार पारिएको थियो शिलाबहादुर मोक्तानको संगीतमा तर बिग्रदो स्वास्थ्यका कारण दुई दिनसम्म कोशिस गर्दा पनि गाउन सकेनन् र पछि ‘पिएर आँसु आफ्नै प्यास म मेटूँला’ बोलको गीत उमेश पाण्डेको स्वरमा रेकर्ड गरियो । भनिन्छ, टुक्रिएको मनबाट जीवन्त संगीत निस्कन्छ । अरुणको जीवनलाई नियाल्दा पनि त्यस्तै अनुभूति हुन्छ ।
वि.स. २०५५ सालको अन्त्य–अन्त्यतिर फेरि अरुणसँग सुवासको भेट भएको थियो । भेटमा आफ्ना लापरवाहीले स्वास्थ्य बिग्रेर गीत गाउन नसकेकोमा उनले दुःख व्यक्त गरे । सुवास राम्रो राम्रो गीत गाउने बेलामा गाउन सकिरहेको छैन । ठिक भएपछि गाउनुपर्छ राम्रो राम्रो गीत लेखिराख है । अरुणले आफूलाई यति माया गर्ने श्रोताका लागि अरुराम्रा गीत दिन सक्ने हुँदाहुँदै पनि त्यसो गर्न नसकेकोमा सुवाससँग दुःख मनाउ गरेका थिए । त्यसको केही महिनापछि उनको निधनको खबर प्राप्त भयो ।

Image may contain: 1 person
अरुण भन्छन् : जीवनमा सबथोक पाएँ र फेरि सबै गुमाएँ
पोखराको पि.एन.क्याम्पस उनको लागि एउटा देखाउने बहाना मात्र थियो । उनको मन संगीत तर्फ खिचिएको थियो । सानै देखि गीत गाउन रुचि राख्ने अरुण सानो छँदा प्रायजसो हिन्दी क्लासिकल गीतहरू र नारायण गोपालका गीतहरू गाउथे गर्दथे । अरुणलाई किशोर कुमार, ममोद्राफी र मुकेश यी ३ मनपर्ने इन्डियन सिङ्गरहरू र नारायण गोपालका गीतहरूबाट प्रभावित हुन्थे र उनीहरूकै गीत गुनगुनाउथे ।खासै हित नभएपनि उनले ‘कतै टाढा तिमीबाट पुगे भने कल्पेर नबस्नु ठूलो छ संसार हजार छ मुटु आफैमा हराई बर्बाद नहुनु’ पहिलो गीतको रुपमा गाएका थिए । अत्यन्त मीठो स्वरसँगै भावनामा डुबेर गाउने अरुणले पछि ‘जति माया लाए पनि जति कसम खाए पनि’ बोलको गीत गाए जुन निकै हित भयो ।उनका सहकर्मी विक्रम गुरुङको लेखन तथा कम्पोजमा अरुण आफैले संगीत भरेको उक्त गीतले गर्दा होला उनको जीवन दैनिकी नै परिवर्तन भएको अरुण बताउछन्। गीत संगीतको क्षेत्रसँगै उनले करिब ४ वर्ष जति नेपाल बैंकमा पनि जागिरेको रुपमा काम गरेको बताउछन् । अरुण भन्छन् मेरो सांगीतिक यात्रामा धेरै सहयात्रीहरू मध्ये दीप श्रेष्ठ पहिलो यात्री हुन् । हामी प्राय सँगै खाने, सँगै हिड्ने, बस्ने गर्दथ्यौं । उनी गाउने मात्र होइन गीत लेख्न पनि मन पराउँथे तर एक जना मानिस दुईवटा डुङ्गामा एक एक वटा खुट्टा राखेर यात्रा गर्न खोज्यो भने लड्छ भन्ने उनको मान्यता थियो ।

निकै कम उमेरमै गीत संगीतमा होमिएका अरुण थापा मगरले सांगीतिक प्रस्तुतीको रुपमा पहिलो पटक क्याम्पसमै गीत गाए र क्याम्पसमा गीत गाएरै उनी प्रेममा परे ।पोखराकी नेवार परिवारकी विमलासँग उनको प्रेम गहिरो थियो ।करिब २ वर्ष जति प्रेममा परे यो कुरा केटीको परिवारलाई स्वीकार्य थिएन ।

वि.स. २०३४/०३५ साल तिरको कुरा हो । (थापाको अन्तिम अन्तर्वाता)प्लेनमा भाग्ने योजना बनाएका उनीहरु अन्तिम समयमा फ्लाइट क्यानसिल भएपछि ट्याक्सीमा काठमाडौं भागेका थिए । ६ महिना उनीहरूसँगै बसे तर परिवारको पछि झुक्याएर विमलाको अन्तै विवाह गरिदिए । त्यसपछि अरुणको जीवन भताभुङ्ग भयो । नशा उनको पीडा भुलाउने बहाना बन्यो तर छातिभित्र चोट बोकी बाँचेका अरुणले लिएको नशाको साहारा जीवन छोट्याउने माध्ययम मात्र थियो । उनले दोस्रो विवाह पनि गरे, एउटी छोरी जन्मेको केही समयपछि त्यो पनि सकियो । उनीमाथि पीडाको अर्को खात थपियो ।

अरुण गीतका लागि प्रेम वियोगले प्रेरणा दिएको बताए पनि नशामा धुत हुँदा सुधारगृहसम्म पुगे तर त्यसले पनि सुधार गर्न सकेन । उनलाई नेपाली सांगीतिक आकाशले एउटा नक्षत्र गुमाएको ठान्दछ । नेपाली संगीतले उनीबाट अझै धेरै पाउन सक्थ्यो जुन केबल हाइपोथेसिस मात्र बनेको छ । जीवनको अन्तिम समयमा उनी रोगसँगै धनको अभावबाट पनि पिल्सिएका थिए । उनलाई सरकाले हेरोस् भन्ने चाहना थियो तर त्यसो हुन सकेन । उनी भन्थे, सहयोगको आशा त छ तर आफै गएर भन्न अप्ठेरो हुन्छ । फेरी बिरामी भएर ओछ्यानमा थलिएको बेला कता जान सकिन्छ र ?

अरुणका साथीहरू भन्छन् अरुण बिग्रनुमा कसैको अभिभावकत्व नपाउनुलाई मान्छन् । परिवारमा कोही बिग्रियो, कुलतमा फस्यो भने उसलाई कि बाबु आमा कि श्रीमतीले सुधार्न खोज्छन तर अरुणलाई सुधार्ने कोही भएनन् । उनी त्यो बाटोमा हराए जहाँ जान अत्यन्तै सजिलो थियो तर फिर्ता आउन उस्तै कठिन्, उनी फर्किन सकेनन् ।
थापाले थोरै तर गुणस्तरिय गीत गाए । जम्मा ३६ वटा मात्र गीत गाएर यस स्तरको प्रसिद्धि प्राप्त गर्ने उनी सम्भवतः एक्ला नेपाली गायक हुन् । उनी कतिसम्म चर्चित थिए भने सन् २००३ मा बिबिसीले गरेको संसारका उत्कृष्ट १० गीतको सूचिमा उनले गाएको ‘ऋतुहरुमा तिमी हरियाली बसन्त हौ’ बोलको गीतले सातौं स्थानमा आफूलाई अटाएको थियो । उनको यो सफलताबाट जोसिएका झम्सीखेलमा स्थानीयले उनको सालिक बनाए जसलाई आज अरुण थापा चोकले चिनिन्छ ।

उनले नेपाली गीतसँगै एउटा भजन र मगर भाषाको भाषिक गीत पनि गाएका छन् । ती पनि उस्तै सुनु सुनु लाग्नेछन् । यी श्रष्टा बितेको देढ/दुई दशक बितिसकेको छ तर उनका गीत अझै जीवन्त छन् । आज पनि उनलाई मनपराउनेहरुको जमात ठूलै छ । अन्तमा उनी भन्छन्, “जीवनमा सबथोक पाएर फेरि सबथोक गुमाए । कहाँ पुग्नु थियो मलाई कहाँ हो कहाँ पाइला बढाए । तर म यस्तै अन्योलमा रमाउने मान्छे । मलाई रुखो सहानुभूति नै प्यारो छ । यहाँ तिर् बिसाउनै गाह्रो छ” । असफल प्रेमपछि पीडा भुलाउन नशालाई शहारा मानेर दुव्र्यसनको दलदलमा आफ्नो जीवन समाप्त पारेका थापाले वि.स. २०५६ साउन ५ मा बाघबजारको यात्री गेष्ट हाउसमा चोट र व्यथाले भरिएको जीवनको अन्तिम सास फेरेका थिए ।

नेपाली सुगम संगीतका अमर नक्षेत्रका रुपमा लिइने स्व. गायक मगरले४७ वर्षको उमेरमा नै अलविदा भने पनि ‘ऋतुहरुमा तिमी हरियाली बसन्त हौ’, ‘जति माया लाए पनि’, ‘मेरो गीत सबै तिमीलाई’, ‘चोट के हो, व्यथा के हो’,‘आँखाको निद खोसि लानेलाई’, ‘साँझको जुन सँगै’, ‘यो मनको के भर हुन्छ’, ‘जीन्दगी के छ र आखिर’,‘भुलुभुलु लाग्यो मलाई’,‘दोष कसैलाई दिन चाहन्न म’, ‘करोड मुटुहरुको एउटै ढुकढुकी नेपाल’ , ‘लाग्न थाल्यो जीवनमा मेरो कथा यस्तो’जस्ता दर्जनौं कालजयी गीतले उनलाई अमर बनाइ राखेको छ र तिनीहरूले कहिले पनि बिदा माग्नेछैनन् ।
लेखक: नेपाल मगर विद्यार्थी संघका, केन्द्रीय सदस्य

हार्दिक श्रद्धान्जलि - एक बहादुर राना मगर
हार्दिक श्रध्दाञ्जलि - गोरे बहादुर खपांगी