A+ A A-

गोरे बहादुर खपांगीको विरोधबाट मदन भण्डारी तिल्मिलाएको त्यो क्षण

राजेन्द्र स्थापित

"वक्तामा मदन भण्डारी पनि हुनुहुन्थ्यो । जनजाति नेता गोरेबहादुर खपांगीले एमालेको खोइरो खने ।"

 

प्रसंग– १
०४६ सालको जनआन्दोलनपछि कांग्रेस नेता कृष्णप्रसाद भट्टराईको नेतृत्वमा अन्तरिम सरकार गठन र संविधान जारी भयो । ०४८ वैशाख २९ को दिन बहुदलीय व्यवस्थाअन्तर्गत पहिलो पटक (०५१ सालको निर्वाचनलाई छाडेर) प्रतिनिधिसभाका लागि निर्वाचन हुने भयो । काठमाडौंमा ५ निर्वाचन क्षेत्र तोकिएको थियो । लामो समय भूमिगत रूपमा क्रियाशील नेपाल कम्युनिस्ट पार्टी (एमाले) ले पहिलोपटक यो संसदीय चुनावमा भाग लिँदै थियो । निर्वाचनलाई जसरी पनि आफ्नो पक्षमा पार्न उक्त पार्टीले क्षेत्र नं. १ र ५ मा महासचिव मदन भण्डारी, क्षेत्र नं. ३ मा पद्मरत्न तुलाधर र ४ मा सहाना प्रधानलाई उठाउने निर्णय गर्यो । क्षेत्र नं. २ को हकमा चाहिँ पार्टीले तुरुन्तै निर्णय लिन सकेन ।

हामी त्यसबेला दृष्टि साप्ताहिकमा कार्यरत थियौं । जसको कार्यालय कालिमाटीस्थित सुनकोशी छापाखानामा थियो भने एमाले कार्यालय नेपाल कम्युनिष्ट पार्टीका संस्थापक नारायणविलाश जोशीको बागबजारस्थित घरमा थियो । उम्मेदवारी छनोटलाई अन्तिम रूप दिन स्थायी कमिटी बैठक बस्ने तयारीमा थियो । एक्कासि मदन भण्डारीको फोन आयो । हामी ५–६ जनालाई एकैपटक भन्नुभयो, ‘निर्वाचन क्षेत्र नं. २ मा पत्रकार रघु पन्तलाई उठाउने कुरा छ, २ बजे बस्ने स्थायी कमिटी बैठकले यो निर्णयलाई अन्तिम रूप दिँदै छ, विरोध गर्नुपर्ने भए मान्छे जम्मा पारेर आइहाल्नु, पछि मलाई भन्न पाउनुहुन्न ।’

काठमाडौंका एमाले कार्यकर्ता हामी त्यसबेला रघुजीलाई टिकट दिनुहुँदैन भन्ने पक्षमा थियौं । हाम्रो पहिलो भनाइ थियो– रघु पन्त विमर्श साप्ताहिकलगायत अन्य पत्रपत्रिकामा एमालेकै आलोचना गरेर लेख्छन्, नेता माधव नेपालको ब्रिफकेस बोक्दै हिँड्ने गरेकै आधारमा काठमाडौंबाट उम्मेदवारी दिन लगाउनु उचित हुँदैन । उनी गैरनेवार मात्र होइन, जनजातिविरोधी पनि हुन् भन्ने हाम्रो ठम्याइ थियो । यसअघि कार्यकर्ताको चर्को विरोधका बाबजुद माधव नेपालको पहलमा रघु उम्मेदवार बन्दै छन् भन्ने सुनिसकेका थियौं । महासचिवको फोन आएलगत्तै अन्य साथीलाई खबर गर्यौं र ८–१० जना हुर्रिएर बागबजार पुग्यौं । सबै नेता उपस्थित भइसकेका थिएनन् । हामीलाई एकछिन तल पर्खन भनियो । सानु श्रेष्ठ, उदयराज पाण्डे, केशव स्थापित, जीवनराम श्रेष्ठलगायत हामी बाहिर बसिराख्यौं । त्यतिञ्जेलमा केशव स्थापित ठूलो  स्वरमा कराउन थाले । भन्दै थिए– काठमाडौंको चुनाव हाँक्ने हामी, हाम्रै कुरा सुनिन्न भने नेताहरू एक जनालाई टुकुचा खोलामा फालिदिन्छु । मैले केशवलाई ठूलो स्वरमा नकराउन आग्रह गरें । एक तलामाथि बसिरहेका नेताहरूले सुन्लान् भन्ने डर थियो तर केशवले ‘सुने सुनुन् । सुनुन् भनेरै भनेको हो’ भन्दै झन् बम्किन थाले ।

एकछिनपछि सबैलाई माथि बोलाइयो । पहिलो तलाको खुला कोठामा राखिएका कुर्सीमा बस्यौं । अगाडि लाम्चो बेञ्चजस्तै टेबुल थियो । त्यसको पछाडि मदन भण्डारी, सीपी मैनाली, जीवराज आश्रित, मनमोहन अधिकारी, भरतमोहन, माधव नेपाललगायत बसेका थिए । मदन भण्डारी मौन रहनुभयो । सीपीले ‘ल भन्नुस् तपाईंहरूको कुरा के हो ?’ भनेर सोधे । केशव स्थापित अगाडिकै पंक्तिमा थिए । उनले ‘रघु पन्तलाई टिकट दिनुहुन्न’ भने । मनमोहन जुरुक्क उठे र रिसाउँदै कराए, ‘पार्टीको निर्णयमा हस्तक्षेप गर्ने तपाईं को ?’ नेकपा (माले) र नेकपा (माक्र्सवादी) बीच एकीकरण भएको धेरै समय भएको थिएन । माक्र्सवादीका नेता र एकीकरणपछि एमाले अध्यक्ष बनेका मनमोहनले माले कार्यकर्तालाई चिनेका थिएनन् । केशव पनि कुर्सीबाट जुरुक्क उठे र भने, ‘केशव स्थापित भन्ने मै हुँ ।’

त्यसपछि बल्ल मनमोहन ठण्डा भए । हामी सबैले रघुको उम्मेदवारीको विरोध गर्यौं । हामीलाई विरोध गर्न लगाउन बोलाउने मदनचाहिँ चुपचाप बसिरहनुभयो, केही थाहा नपाए जसरी । सीपीले फेरि सोधे ‘ल ठीक छ, रघु हुँदैन भने अरु को त ?’ हामीले अष्टलक्ष्मी शाक्य र सानु श्रेष्ठमध्ये जो कसैलाई उठाए पनि फरक नपर्ने सुझाव दियौं । मनमोहनले ‘ठीक छ तपाईंहरू जानुस्, हामी छलफल गर्छौं’ भने । हामी फक्र्यौं । पार्टीले क्षेत्र नं. २ बाट अष्टलक्ष्मीलाई उठाउने निर्णय ग¥यो । पछि अष्टले पनि उठ्न पाइनन् । जनमोर्चासँग तोलमेलको कुरा मिलेपछि सो क्षेत्र उनीहरूको भागमा पर्यो । अष्टलष्मीको स्थानमा मल्ल के. सुन्दर उम्मेदवार बने । निर्वाचनमा उनी कांग्रेसका दमननाथ ढुंगानाबाट पराजित बने । दमननाथ पछि प्रतिनिधिसभाको सभामुख बने । जे होस् रघु पन्तलाई ‘टिकट’ दिने कुरा महासचिव मदन भण्डारीलाई पनि चित्त बुझेको रहेनछ भन्ने छर्लंग भयो । रघुको विरोध गराउन उहाँले पर्दा पछाडि बसेर खेलेको भूमिका शायद आजसम्म कुनै नेतालाई थाहा छैन होला ।

प्रसंग– २
०४८ सालको निर्वाचनमा कांग्रेस १ सय १० सिट जित्न सफल भयो । एमाले ६९ सिट जितेर प्रमुख प्रतिपक्षी बन्यो । राप्रपा (चन्द)ले ३, राप्रपा (थापा) ले १ र जनमोर्चाले ९ सिट जिते । विष्णुबहादुर मानन्धरको नेकपा (प्रजातन्त्रवादी) ले २ र नेमकिपाले २ सिट पाए । कृष्णराज बर्मा र तुल्सीलाल अमात्यको कम्युनिष्ट पार्टीले पनि निर्वाचनमा क्रमशः ३६ र १४ स्थानमा उम्मेदवार उठाएका थिए तर एउटै सिट जित्न सकेनन् । संविधानअनुरूप ठूलो दल बनेको कांग्रेसले सरकार गठन ग¥यो । गिरिजाप्रसाद प्रधानमन्त्री बने ।

प्रतिनिधिसभा २ सय ५ र राष्ट्रिय सभा (माथिल्लो सदन) ६० सदस्यीय थियो । बलराम उपाध्याय, राष्ट्रिय सभामा एमाले तर्फबाट मनोनीत भए । प्रतिनिधिसभा निर्वाचन सकिएको १ वर्ष बित्न पाएको थिएन, उनैले संस्कृत भाषालाई विद्यालय स्तरका १ देखि १० सम्म अनिवार्य विषय बनाउन हस्ताक्षर संकलन शुरु गरे । प्रतिनिधिसभामा त्यसको नेतृत्व कांग्रेस सदस्य नरहरि आचार्यले गरे । हस्ताक्षर गर्नेको संख्या ८४ पुग्यो । हस्ताक्षर गर्नेमा मदन भण्डारी पनि हुनुभयो । नेवाःलगायत जनजाति समुदायले मदन भण्डारीजस्ता क्रान्तिकारी नेताले ऐतिहासिक र महत्वपूर्ण भए पनि त्यसबेला मृत भाषाको रूपमा व्याख्या गर्न थालिएको संस्कृतलाई सबै भाषा–भाषी र जातिका विद्यार्थीमाथि जबर्जस्ती लाद्ने प्रयासस्वरूप अघि सारिएको प्रस्तावको पक्षमा संकलित हस्ताक्षर अभियानमा हस्ताक्षर गर्नु राम्रो भएन भनी आलोचना गर्न थाले । हस्ताक्षर संकलनविरुद्ध काठमाडौं उपत्यकामा सभा, जुलुस, गोष्ठी आयोजना भए । यसै सेरोफेरोमा सभागृहमा जनजातिहरूले एउटा गोष्ठी डाके । वक्तामा मदन भण्डारी पनि हुनुहुन्थ्यो । जनजाति नेता गोरेबहादुर खपांगीले एमालेको खोइरो खने ।

Related image  एमालेकै पूर्वनेता खपांगीको विरोधबाट मदन त्यसै पनि तिल्मिलाइसक्नुभएको थियो

त्यसमाथि कार्यक्रममा जनजातिको ठूलो उपस्थिति थियो । मदनले एमालेको भाषिक नीतिलगायत समसामयिक राजनीतिबारे व्याख्या विश्लेषण गर्नुभयो । उपस्थित अधिकांश उहाँको भाषणबाट प्रभावित बनेनन् । दर्शकदीर्घाबाट ‘अनिवार्य संस्कृतका लागि थालिएको हस्ताक्षर अभियानमा तपार्इंले किन हस्ताक्षर गर्नुभयो ?’ भन्ने प्रश्न आयो । हो–हल्ला शुरु भइसकेको थियो । मदनले शुरुमा आफूले हस्ताक्षर गरेको अनिवार्य संस्कृतिको लागि हो भनेर थाहा नपाएको स्पष्टीकरण दिनुभयो । मदन भण्डारी जत्तिको सचेत र बुद्धिमान व्यक्तित्वले दिएको जवाफले झन् आगोमा घ्यू थप्ने काम गर्यो । सहभागी आ–आफ्नो सिटबाट उठेर हो हल्ला र हुटिङ गर्न थाले । मदनले फेरि पनि प्रस्ट कुरा राख्नुभएन । गोलमटोल जवाफ दिन थाल्नुभयो । ‘काइते तर्क’ दिएको भन्दै ‘आउट’ ‘आउट’ ले हल गुञ्जियो । सधैंभरि तालिमात्र खाने गरेका मदनले जीवनमै पहिलो र अन्तिम हुटिङ खानुभयो र त्यो दिन रन्थनिँदै हलबाट बाहिरिनुभयो ।

अनिवार्य संस्कृतविरोधी आन्दोलन चर्कंदै थियो । शायद सभागृहको कार्यक्रम शनिबार भएको थियो । बिहीबार असन चोकमा नेपाल भाषा मंकाः खलः ले अर्को सभाको आयोजना गर्यो । स्थानीय नेवार समुदायले उक्त सभामा पनि मदनले काइते भाषा बोलेमा जुत्ताको मालासमेत लगाइदिने योजना बनाएको थाहा पाएँ । सोमबार बिहान मदनलाई सजग गराउने उद्देश्यले फोन गरें । हुटिङको कारण नक्सालस्थित डेराबाट बाहिरै ननिस्किइकन बस्नुभएको रहेछ । सोमबार बिहानसम्म पनि स्वरमा कम्पन थियो । शुरुमा रिसाउनुभयो । आफ्ना कार्यकर्तामाझ भनेर कार्यालयमा लगी बेइज्जत गराएको रिस पोख्नुभयो । मैले त्यहाँ उपस्थित अघिकांश एमालेकै मतदाता भएको तर चित्तबुझ्दो स्पष्टिकरण नपाउँदा रिसाएर हुटिङमा उत्रेको यथार्थ कुरा सम्झाएपछि शान्त बन्नुभयो । तर बिहीबारको सभामा कुनै हालतमा उपस्थित नहुने जानकारी दिँदै पार्टीको तर्फबाट मोदनाथ पश्रितलाई लान भन्नुभयो । प्रश्रित झन पहिल्यैदेखि जनजातिमाझ आक्रोशित थिए, त्यसैले सभामा उनलाई बोल्न लगाउँदा पार्टीलाई झन बढी हानी हुनसक्ने कुरा राखें ।

मदनले आफूले पनि सम्झाउने भन्दै बाँकी कुरा सम्झाउने जिम्मा मलाई नै दिनुभयो । प्रश्रितसित फोनमा कुरा गरेपछि सजिलै समस्या सल्टियो । उनले सभामा उपस्थित जनसमुदायको भावनाअनुकूल बोल्ने आश्वासन दिए । नभन्दै असन चोकमा आयोजित सभामा उनले जनसमुदायलाई चित्त बुझ्ने गरी मात्र होइन, तालीमा ताली बजाउने गरी भाषण ठोके । स्थानीय जनताको रोष बल्ल शान्त भयो । लगत्तै सम्पन्न ०४९ को स्थानीय चुनावमा उपत्यकाबाट एमालेले राम्रो नतिजा हासिल गर्यो । मदन भण्डारीलाई अत्यन्त आदर र माया गर्ने हामीलाई मदनले खाएको त्यो हुटिङले आज पनि मन दुखाउँछ, अशान्त बनाउँछ । किनभने यसअघि मदन नेवार समुदायमाझ पनि लोकप्रिय बनिसक्नुभएको थियो । प्रगतिशील संस्था ‘गथु पुचः’ द्वारा धरहरा, गणबहालस्थित गोयथे इन्स्टिच्युटमा आयोजित ‘न्हगु संविधानय् भाषा व जाति (नयाँ संविधानमा भाषा र जाति)’ विषयक विचार गोष्ठीमा मदनले सबैको मन जित्नुभएको थियो ।

मालेको नाउँ लिएपछि कन्सिरी तताउने कवि दुर्गालाल श्रेष्ठ र पछि डा. बाबुराम भट्टराईको सरकारमा विज्ञानमन्त्री बनेका डा. केशवमान शाक्यले समेत ‘तिमीहरूको नेतामा दम छ, राम्रो नेता रहेछन्’ भनी टिप्पणी गरेको आज पनि झल्झली सम्झन्छु । उक्त गोष्ठीमा आफ्नो पालोपछि मदनलाई वक्ता राखेर हुर्मत लिन लगाएको आरोप त्यसबेला खपांगीले ममाथि लगाएका थिए । शायद मदनको त्यो नै काठमाडौंमा पहिलो सार्वजनिक सभा थियो । भर्खर खुला भएको नेकपा (माले) प्रवक्ताको रूपमा कार्यक्रममा सहभागी भएका उहाँ पार्टी महासचिवको रूपमा प्रकट भइसक्नुभएको थिएनन् । खुला मञ्चमा मंसिरमा आयोजित मालेको आमसभा त्यसपछिको हो, जसमार्फत उहाँ रातारात लोकप्रिय ‘नायक’ बन्नुभयो ।
(सन्दर्भ : जेठ ३)

साभार:जनआस्था (सिर्सक परिबर्तन गरिएको)

हार्दिक श्रद्धान्जलि - एक बहादुर राना मगर
हार्दिक श्रध्दाञ्जलि - गोरे बहादुर खपांगी