A+ A A-

सम्झनामा : गोरे बहादुर खपाङ्गी

–सुरेन्द्र थापामगर 

होची मिङ्गको जस्तो झुस्स दाह्री, अग्लो कद, पावरवाला चस्मा, विरोधीलाई शब्दवाणले झापड हान्ने खुबी स्वर्गीय गोरेबहादुर खपाङ्गीको बाहिरी परिचय हुन् । २००३ साल साउन २५ गते उदयपुर जिल्लाको दमैडाँडाको जल्केनीमा जन्मेका स्व. खपाङ्गी मगर यतिखेर हामी माझ हुनु हुन्न । खपाङ्गीसँग मेरो भेट म कास्की जिल्ला मगर संघको सचिव हुँदा भएको थियो । पछि म नेपाल मगर संघको महासचिव भएपछि उहाँसँगको मेरो निकटता प्रगाढ बन्दै गयो । खपाङ्गीको भाषण सुन्ने भनेपछि आममगरहरु हुरुक्क हुन्थे । आमनागरिकले बुझ्ने गरी गाउँले झर्रा भाषामा धारा प्रवाह भाषण गर्ने कला स्व. खपाङ्गीको थियो ।

बाल्यकाल र शिक्षा :

खपाङ्गीको बाल्यकाल औसत मानिसको जसरी बित्ने गर्दछ त्यसरी नै बितेको थियो । २ वर्षको हुँदै उनको परिवार उदयपुरबाट महोत्तरीबाट बसाइँ सरेका थिए । बाबा अमृतबहादुर खपाङ्गी र आमा पदममाया खपाङ्गीको दोस्रो सन्तानको रुपमा उनको जन्म भएको थियो । उनको बाल्यकाल महोत्तरीको रामनगरमै बित्यो । महोत्तरीको त्रिभुवन माध्यमिक विद्यालयबाट २०२० सालमा उनले म्याट्रिक पास गरेका थिए । यसैगरी जनकपुरको रामसागर बहुमुखी क्याम्पसबाट उहाँले आइ.ए.पास गर्नुभएको थियो । पछि त्रिभुवन विश्वविद्यालयबाट स्व. खपाङ्गीले अंग्रेजी साहित्यमा एम.ए. गर्नुभएको थियो । अंग्रेजी साहित्यकै देनअनुसार उहाँ अंग्रेजीमा पनि धारा प्रवाह भाषण गर्नु हुन्थ्यो ।

सुरुको राजनीतिक आस्था :

कलेज जीवनमा उहाँ बामपन्थी विचारधाराबाट प्रभावित हुनुहुन्थ्यो । उहाँ तत्कालीन नेकपा माले विद्यार्थी संगठन अखिल अनेरास्ववियुमा आबद्ध हुनुहुन्थ्यो । २०३६ सालको विद्यार्थी आन्दोलनताका वहाँ रामेछाप जिल्लाको गौरीशंकर माध्यमिक विद्यालयमा प्रध्यानाध्यापक हुनुहुन्थ्यो । शिक्षक संगठनमा सक्रिय खपाङ्गी २०३६ साल मंसिर २६, २७ र २८ गते हेटौडाको भुटनदेवी माध्यमिक विद्यालयमा सम्पन्न नेपाल राष्ट्रिय शिक्षक संगठनको प्रथम भेलाबाट केन्द्रीय सदस्यमा निर्वाचित हुनुभएको थियो । पछि २०४३ सालमा नेकपा मालेले पंचायतको भण्डाफोर गर्न जनपक्षीय उम्मेदवार बनाएर उहाँलाई महोत्तरीबाट लडाएको थियो । समयक्रममा उहाँको बामपन्थी राजनीतिसँग मोहभङ्ग भयो । त्यसपछि वहाँ र एमएस थापामगर मिलेर २०४८ साल माघ ६ गतेको दिन राष्ट्रिय जनमुक्ति पार्टी स्थापना गर्नुभयो ।

राजनीति र मगर संघ :

स्व. खपाङ्गी २०३९ साल फागुन १५ र १६ गते तनहुँको दमौलीमा सम्पन्न तत्कालीन लाङ्घाली परिवारको संस्थापक सदस्य हुनुहुन्थ्यो । त्यसपछि २०४८ सालदेखि २०६० सालसम्म वहाँ नेपाल मगर संघको अध्यक्ष रहेर सिंगो मगरको नेतृत्व गर्नुभयो । राष्ट्रिय जनमुक्ति पार्टीको वरिष्ठ नेता र मगर संघको अध्यक्ष रहँदा वहाँले कामको तालमेल मजैले मिलाउनुहुन्थ्यो । दिउँसो मगर संघको काम राति पार्टीको काममा ध्यान दिनुहुन्थ्यो । कतिपय बेलामा मगर संघलाई जनमुक्तिकरण गरियो भनेर उहाँको आलोचना पनि नभएको होइन । तथापि वहाँको व्यक्तित्वले यी आरोपलाई ओझेलमा पारेको थियो । वहाँले जातीय उत्पीडनको बारेमा देशभित्र र देशबाहिर व्यापक सचेतना ल्याउनुभएको थियो ।  

२०५८ सालतिरको कुरा हो । राष्ट्रिय जनमुक्ति पार्टीमा अध्यक्ष एमएस थापामगर र स्व. खपाङ्गीबीच फाटो सुसप्तरुपमा देखापर्न थाल्यो । विकासको लागि संघीयता चाहने स्व.खपांगीको अगाडि अध्यक्ष थापाले जातीय संघीयता ल्याइदिएपछि यी दुई नेतावीच वैचारिक मतभेदको विजारोपण प्रारम्भ भयो । मतभेद घनिभूत हुदैगएपछि २०६० सालमा स्व.खपांगीले आफनै अध्यक्षतामा प्रजातान्त्रिक जनमुक्ति पार्टी नयाँ पार्टी दर्ता गर्नुभयो । दुवैतर्फका पार्टी कार्यकर्ता तथा शुभेच्छुकहरुको दवावको कारण पार्टी अलग भएको ५ वर्षपछि २०६५ सालमा पुनः पार्टी एकीकरण भयो । एकीकृत पार्टीमा नेता खपांगी वरिष्ठ नेताको जिम्मेवारी सम्हाल्नुभयो ।

पार्टी एकीकरण भएको २ वर्षपछि २०६७ सालमा राजमुपाको चौथो महाधिवेशनमा उहाँ पार्टी अध्यक्षको उम्मेदवार वन्नुभयो । अध्यक्ष एमएस थापामगरसँग झिनो मतले वहाँ पराजित हुनुभयो । अध्यक्षमा निर्वाचित एमएस थापामगरले नवचिर्वाचित पदाधिकारीहरुको घोषणासभाको भाषणमा भने, ‘खपाङ्गी हिजो पनि हाम्रो पार्टीको नेता आज पनि नेता भोलि पनि नेता हो ।’ तर, केन्द्रीय समितिको पहिलो वैठकले महाधिवेशनमा पराजितहरुलाई मनोनयन नगर्ने निर्णय गरिछाड्यो । यो निर्णयको अन्तरवस्तु स्व. खपाङ्गीलाई पार्टीवाट निकाला नै हो भन्ने वहाँका निकट व्यक्तिहरु बताउँछन् । राजमुपाले यस्तो निर्णय गरेको २ वर्षपछि २०६९ सालमा उहाँकै नेतृत्वमा लिवरल डेमोक्रेटिक पार्टी गठन गर्न बाध्य हुनुभयो । २०७० सालको दोश्रो संविधानसभाको निर्वाचनमा यो पार्टीले पनि भाग लियो । यद्यपि नेता खपांगी हस्पिटलमा मृत्युसँग लडिरहनु भएको थियो ।

मन्त्री पद र टीका प्रकरण :

राजा ज्ञानेन्द्रले २०५९ सालमा प्रजातान्त्रिक शासन व्यवस्था हातमा लिएपछि नयाँ सरकार गठन गर्न स्वच्छ छवी भएका १/१ जना सिफारिस गरी पठाउन भनि क्रियाशील सवै राजनीतिक दलहरुलाई परिपत्र गरे । त्यो परिपत्र राजमुपाको मुख्यालयमा पनि आयो । पार्टीले एकजना सर्वसम्मत पठाउन नसकेपछि १२ जना नेताहरु सिफारिस गरि पठायो । उक्त १२ जनाभित्र अध्यक्ष थापा र नेता खपांगी हुनुहन्थ्यो । अन्ततः नेता खपांगी महिला तथा बालबालिका मन्त्रीमा नियुक्त हुनुभयो ।

टीका प्रकरण यति उछालियो कि स्व. खपाङ्गीले यसबारे स्पष्टिकरण दिने मौका नै पाउनुभएन । वहाँले टीका लगाउनु भनेको मन्त्री पदको गरिमा बचाउनु थियो भन्नेहरु पनि छन् । अर्कोतर्फ एउटा मुस्लिम मन्त्रीले टीका लगाउँदा टिप्पणी हुँदैन तर खपाङ्गीले टीका लगाउँदा टिप्पणी हुन्छ किन ? भनेर उल्टो प्रश्न सोध्नेहरु पनि थिए । दशै टीका प्रकरणमा उनले एउटा प्रसंगमा भनेका थिए वास्तवमा मैले टीका लगाएकै हो । राजा खुसी हुन्छन् कि भन्ने चाहनाले टोपी माथि सारेर निधार थापेकै हुँ । मेरो भित्री चाहना राजालाई खुसी बनाएर पाठ्यक्रमबाट संस्कृत शिक्षा हटाउनु थियो । उनको यो तर्कलाई मगर समुदायले गम्भीर रुपमा लिन मानेन । हिन्दू धर्म संस्कृतिबाट आदिवासी जनजातिमाथि दमन र उत्पीडन थोपरिएको छ भनेर गाउँ गाउँमा भाषण गर्ने खपाङ्गीलाई राजाको अगाडि शिर निहुर्याएर निधार थापेको वास्तवमा मगर समुदायले नरुचाएकै हो ।

जनजाति आवाजका अगुवा :

पहिले जनजातिका बारेमा चेतना छर्ने गोपाल गुरुङको नाम सुस्त सुस्त सुनिन्थ्यो । तर जातीय मुद्दालाई सतहमा ल्याउने हिम्मत कसैको थिएन । नेपालको विद्यमान जातीय विभेदलाई सामाजिक मुद्दाको रुपमा बहसमा ल्याउने हिम्मत सर्वप्रथम स्व. गोरेबहादुर खपांगीले गरे । खपांगीलाई सुरु सुरुमा साम्प्रदायिकताको आरोप लगाइयो । तर उनले उठाएको मुद्दा समावेशीकरण समानुपातिक र धर्मनिरपेक्षता आज राजनीतिको अभिन्न अंग बनेको छ । नेपालको राजनीतिक द्धन्द्धको मुल अन्तरबस्तु यसैमा अडेको छ । अहिले आदिवासी जनजाति, मधेसीहरुले उठाएका संवाहक पनि खपांगीले दर्ज गरेका मुद्दाहरु नै हुन् । कम्युनिष्ट दर्शनले मात्र नेपालको सामाजिक जातीय अन्तरबिरोध हल गर्न सक्दैन भन्ने उनको विचार थियो । खपाङ्गीले एकपटक नेपाल आदिबासी जनजाति महासंघको भेला आयोजक बनेर पनि महासंघलाई समेत नेतृत्व गरेका थिए । उनी मगरका मात्र नेता होइनन्, आम उत्पीडित समुदायका अगुवा सर्वमान्य नेता थिए । जातीय विभेदको मुद्दालाई जसरी उनले उठाए त्यसलाई राजनीतिक दलमार्फत स्थापित गर्न उनी विभिन्न कारणवश अस्थिर रहे । सुरुका दिनमा जुन उत्साह र उमंगका साथ राष्ट्रिय जनमुक्ति पार्टी गठन भएको थियो । आफैले स्थापना गरेको पार्टीमा अटाउन नसकेपछि प्रजातान्त्रिक जनमुक्ति पार्टी गठन गर्नुपर्ने बाध्यतासम्म पुग्यो । जीवनको अन्तिम घडीमा वहाँ लिवरल डेमोक्रेटिक पार्टीको झण्डामुनि बस्नुप–यो ।

दुर्घटना र मृत्यु :

गत २०७० साल बैशाख १२ गते काठमाडौको राष्ट्रिय सभागृहमा नेपाल अन्तराष्ट्रिय आदिवासी जनजाति चलचित्र महोत्सव हुँदै थियो । खपाङ्गी आफ्नो डेरा ललितपुरबाट बस चढी झरेर सभागृहतिर दिनको करिब ११ बजे भृकुटी मण्डपबाट जाँदै गर्दा वा. ५१ प ७३७३ नं. को मोटरसाइकलले वहाँलाई ठक्कर दियो । वहाँको टाउको सडकमा बजारियो । मोटरसाइकल चालक थिए, भक्तपुर बस्ने मोहम्मद नसिम शेख । वहाँलाई सुरुमा वीर हस्पिटल लगियो त्यसछि अन्नपूर्ण अस्पताल पु¥याइयो । पछि काठमाडौैको नर्भिक अस्पतालमा वहाँको त्यही उपचार गर्दा पनि स्वास्थ्यमा कुनै सुधार नभएपछि थप उपचारको लागि सिंगापुरको माउन्ट एलिजावेथ नोभेना अस्पतालमा लगिएको थियो । उपचारमा संलग्न व्यक्तिहरुका अनुसार अन्नपूर्ण न्यूरो अस्पतालमा उपचार गराउँदा वहाँलाई लापरबाही भएको भनी बताइन्छ । वहाँको घाँटीमा उपचारको क्रममा प्वाल पारिएको थियो । उक्त प्वाल कुन प्रयोजनको लागि पारिएको भन्ने बारेमा काठमाडौंस्थित न्यूरो अस्पतालका वरिष्ठ न्यूरो सर्जन प्रा.डा.उपेन्द्र देवकोटा र सिंगापुरका डा.आइभनले समेत सोधेको कुरा बाहिर आएको अवस्था छ । वहाँ दुर्घटनापछिको केही समयपछि ३ वर्ष ३ महिना २९ दिन अर्थात् २०७० बैशाख १२ देखि २०७३ भदौ ११ गतेसम्म बेहोस अवस्थामै हुनुहुन्थ्यो ।

खपाङ्गीको दुर्घटनापछि हुमबहादुर थापामगरको अध्यक्षतामा गोरेबहादुर खपाङ्गी फाउण्डेसन २०७२ गठन गरिएको छ । फाउण्डेसनका अध्यक्ष थापामगरका अनुसार ललितपुरस्थित कार्यविनायक नगरपालिका वडा नं. १८ डुकुछापमा रहेको पबिता सुस्लिङ मगरको नामको ३ आना जग्गामा स्व.खपाङ्गीको पार्थिव शरीर गाडेर सुरक्षित राख्ने र चैत्य निर्माण गरी श्रद्धालु तथा भक्तजनहरुको एक तीर्थस्थलको रुपमा विकास गर्ने योजना थियो । सम्पूर्ण पहल गर्दा पनि उक्त जग्गा वरिपरिका छिमेकीहरुले सहमति नदिएपछि नेपाल सरकारको सशस्त्र प्रहरी वलको एक टुकुडीको सलामीसहित वौद्ध परम्परा अनुसार काठमाडौंको स्वयम्भूमा दाहसंस्कार भयो । वहाँको अष्टधातु दाह्री, कपाल, नङ, खप्पड, खरानी समेत हाल अन्वेषणको लागि जीवी फाउण्डेशन र एलडीपीको मातहतमा सुरक्षित राखिएको छ ।

यतिबेला आफ्नो लामो दाह्री मुसार्दै जातीय उत्पीडनको बारेमा आक्रामक भाषण गर्ने गोरेबहादुर खपाङ्गी हाम्रो माझ छैनन् । उनले मगर संघ र सिंगो उत्पीडित समुदायप्रति गरेको योगदानको आगामी दिनमा अवश्य मूल्यांकन हुनेनै छ । खपाङ्गीले उत्पीडित आदिवासी जनजातिको कुरा उठाउँदा जहिले पनि शान्तिपूर्ण तवरले उठाए, कहिल्यै पनि हिंसात्मक आन्दोलनको पक्षमा उनी रहेनन् । यो नै उनको सकारात्मक पाटो हो । जिउँदोमा गाली, मरेपछि ताली लगाउने हाम्रो परम्परा छ । खपाङ्गीको निधनपपछि पनि यो प्रवृत्तिले निरन्तरता पाएको छ । वास्तविकता नेपालको विविधतालाई आत्मसाथ गरेर राज्यका हरेक निकायमा सबै जातजातिहरुलाई समानुपातिक समावेशी सिद्धान्तमा समाहित गरियो भने स्व. खपाङ्गीको सपना पूरा हुनेछ । खपाङ्गीप्रति श्रद्धासुमन ।

लेखकः नेपाल मगर संघ केन्द्रीय समितिका पूर्वमहाचिव हुन ।

 हार्दिक श्रध्दाञ्जलि - ज्ञान बहादुर गाहा मगर