A+ A A-

गोरेबहादुरले देखाएको जातिय मुक्तिको बाटो

_बलदीप प्रभाश्वर चामलिङ

घाँटीमा अडि्कएको माछाको हड्डीझै राज्यलाई बिझाइरहने एउटा राजनैतिक दलको नाम हो- राष्ट्रिय जनमुक्ति पार्टी । यो पार्टी भौतिक रूपमा शक्तिशाली हुन नसके पनि विचार र मुद्दाका आधारमा सबैको अभिभावक बन्न पुगेको छ । र, यसैको प्रमाण हो- समानुपातिक प्रतिनिधित्व, धर्मनिरपेक्षता, संघीयता र आरक्षणको मुद्दालाई सबैभन्दा पहिले राजनैतिक घोषणपत्रमा लिखत गर्ने यही जनमुक्ति पार्टी नै थियो ।
गोरबहादुर खपाङी महासचिव रहेको जनमुक्ति पार्टीले ०४८ सालको आमनिर्वाचनमा कल्याणकारी राज्यको अवधारणा अन्तरगत बेरोजगारलाई भत्ता दिनुपर्छ भन्ने घोषणापत्र तयार गर्दा सबैले उडाएका थिए । पछि एमालेले यही अवधारणा पछ्याएर वृद्धभत्ता प्रदान गरेको हो ।


तत्कालीन मनमोहन अधिकारीको नेतृत्वका नेपाल कम्युनिष्ट पार्टी माक्र्सवादीको पोलिटब्युरो सदस्य भएर काम गरेका मालवर सिंह थापा (एम एस थापा) ले ४६ सालको जनआन्दोलन पश्चात नेपालमा वर्गीयमात्र होइन, जातीय समस्या पनि छ भनेर आफ्नै नेतृत्वमा जनमुक्ति पार्टी स्थापना गरे । यो अभियानमा नेकपा मालेमा आवद्ध गोरेबहादुर खपाङ्गीले नवगठिन जनमुक्ति पार्टीको महासचिव भएर थापालाई सघाए ।
खपाङ्गी र थापा यिनै दुई पात्रको जोडबलमा पार्टीलाई जबरजस्त अगाडि ठेल्ने काम भयो । झण्डै दुई दशकपछि अहिले नेतृत्व दोस्रो पुस्तामा आएको छ । अहिले यसको नेतृत्व खड्गप्रसाद (केपी) पालुङ्वाले गरेका छन् ।
पार्टीको मूल सिद्धान्त
जनता भनेको जातिहरूको समष्टि हो भने जाति भनेको जनताको एकाइ हो । लोकतन्त्र भनेको जनता (जातिहरू) को शासन भएको हुँदा सबै जातिहरूको शासनसत्तामा राजनैतिक प्रतिनिधित्व हुनुपर्छ भन्ने पार्टीको सो पार्टीको निष्कर्ष हो । तसर्थ पहिले जातीय मुक्तिको समस्या हल भएपछि मात्र वर्गीय मुक्ति हुन्छ भन्ने जनमुक्ति पार्टीको ठहर हो ।
जातीय मुक्तिपछि सबै समुदायले आफ्नो अधिकारको महसुस गर्छन् । जनताले आफ्नो राजनीतिक भूमिको महसुस गर्नु भनेको जनताको अन्तस्करण प्रशन्न हुनु हो ।
जनताको अन्तस्करण प्रशन्न हुनु भनेको मुलुकमा स्थायीशान्ति कायम हुनु हो । स्थायीशान्ति कायम हुनु भनेको पुँजी र प्रविधिको परिचालित हुने वातावरण बन्नु हो । पुँजी र प्रविधिको परिचालन हुनु भनेको अर्थिक विकास हुनु हो र त्यही आर्थिक विकास नै वर्गीय मुक्ति हो ।
लिम्बुवानमा बेलाबेला उत्पात मच्चाइदिने धमास पिट्दै हिँड्ने कुमार लिङ्देन, सञ्जुहाङ पालुङवा र कमल छाराहाङ पनि हिजोका जनमुक्ति पार्टीकै हुन्
यसरी वर्गीय मुक्तिसम्म पुग्ने प्रस्थानविन्दु जातीयमुक्ति भएको हुँदा पहिले जनताको राजनीतिक मुद्दा हल हुनुपर्छ भन्ने पार्टीको सैद्धान्तिक व्याख्या हो । सबै वर्ग तथा समुदायका जनताहरूलाई राज्यको नीतिनिर्माणको तहमा पुर्‍याउनु नै जातीय मुक्ति हो ।
विकास निर्माणको प्रकृयामा क्षेत्रीय तथा स्थानीय तहका जानताको सहभागिताको अग्रसरतालाई प्रोत्साहन दिन संघीयताको कुरा यो पार्टीले उठाएको हो ।
प्रान्तहरूको नामकरणचाहिँ ऐतिहासिक समुदायहरूको पहिचानको आधारमा हुनुपर्ने भन्ने हो । तर, त्यो प्रान्तमा लोकतान्त्रिक अभ्यासबाट जुनसुकै जाति पनि प्रान्तको सरकार प्रमुख बन्न सक्दछन् र कुनै पनि एक जातिको मात्र अग्राधिकार हुनुहुन्न भन्ने नीति पार्टीको हो । समग्रमा जनताको लोकतान्त्रिक अधिकार र आर्थिक समृद्धिको खाका कोर्ने निर्देशक सिद्धान्त ‘बहुजातीय लोकतान्त्रिक समाजवाद’ हो, यो पार्टीको ।
जनमुक्ति पार्टीको विकासमा अवरोधका कारण
गोरेबहादुर लगायतले जग बसाएको जनमुक्ति पार्टी अघि बढ्न नसक्नुका केही कारणहरु छन्, जसलाई यसरी व्याख्या गर्न सकिन्छः
सुरुमा जनमुक्ति पार्टीमा लाग्ने अधिकांश अगुवाहरू अन्धजातिवादीको रूपमा प्रस्तुत भए । उनीहरूमा सही राजनीतिक स्कुलिङ थिएन । सबै भावनात्मक हिसावमा पार्टीमा आएका थिए ।
खहरेझैं बढ्ने र सुक्ने अवस्थामा जनसमर्थन भइरह्यो । वास्तवमा जातीय समस्या के हो र यसको समाधान कसरी हुनसक्छ भन्ने कुरालाई सिलसिलेवार सैद्धान्तिक व्याख्याको अभाव भयो ।
जातीय मुक्तिको नाममा बढी बाहुनविरोधी वचनहरू वाहिर आएको आभाष भो । हुन त जातीय मुक्तिको कुरा गर्दा बाहुन, जनजाति, दलित र मधेसीको प्रसङ्ग स्वभाविक रूपमा आउने नै भयो जसरी वर्गीयमुक्तिको कुरा गर्दा धनी र गरिबको सन्दर्भ आउँछ । तर राजनीतिक तहमा यसलाई सैद्धान्तिक व्याख्या गरिएन ।
जनमुक्ति पार्टीको स्थापनाकालतिर खगेन्द्रजंग गुरूङ, गोपाल गुरूङ, काजीमान कन्दङ्वाहरू आफ्नै पाराले जातीय डम्फू बजाइरहेका थिए । उनीहरू एमएस थापाको नेतृत्वको जनमुक्तिमा आउन सकेनन् । किनकि उनीहरूको बुझाइ अलि खरो थियो ।
यता थापा र खपाङ्गीहरू विश्व राजनीतिक परिवेशबाट दीक्षित भएको हुँदा एकले अर्कोलाई निषेध गरेर होइन, प्रजातान्त्रिक अभ्यासबाटै जनताको मन जितेर अगाडि बढनुपर्छ भन्ने स्कुलिङका थिए ।
यसो भएका हुँदा भावनात्मक रूपले नै खरा र अक्कडा पात्रहरूलाई थापा र खपाङ्गीले पार्टीमा भित्र्याउन चाहेनन् । पार्टीमा भएका त्यस्ताहरूलाई पनि वास्ता गरिदिएनन् । संस्थापन पक्षको यस्तो व्यवहारदेखि रूष्ट भएर गोपाल किराँतीले जनमुक्ति छाडेर क्षेत्रीय जातीय पार्टी खोलेर बसे ।
किराँती उबेला नै यस्तो उग्र थिए कि घन र झम्पल बोकेर धरानको भानुचोकमा रहेको भानुभक्तको मूर्ति फोड्ने प्रयास गरेका थिए । किराँती युवाहरूलाई बटुलेर बन्दुक बोक्न हिँडेका उनी अहिले प्रचण्ड माओवादीमा छन् । बेलाबेला माओवादीमा जातीय नेताको आरोप खपेर बसेका छन्, माओवादीमा ।
यसैगरी लिम्बुवानमा बेलाबेला उत्पात मच्चाइदिने धमास पिट्दै हिँड्ने कुमार लिङ्देन, सञ्जुहाङ पालुङवा र कमल छाराहाङ पनि हिजोका जनमुक्ति पार्टीकै हुन् । पार्टीले सशस्त्र लाइन नलिएको र लिम्बुहरूको जातीय राज्यको सुनिश्चितताका लागि पार्टीले कुनै नीति नलिएको भनेर उनीहरुले जनमुक्ति छाडेका थिए । उनीहरू अहिले पुरै जातीयक्षेत्रीय पार्टीमा आवद्ध छन् ।
कथित वाहुन विरोधी आरोप
मार्क्स र मार्क्सवाद फरक कुरा हो । मार्क्स व्यक्ति हो भने मार्क्सवाद विचार-प्रवृत्ति हो ।
कम्युनिष्टहरू पुँजीवादको विरोध गर्छन् तर पुँजीपतिसँग मित्रवत सम्बन्ध राख्छन् । पुँजीवादको विरोध गरेता पनि उनीहरू पुँजीपतिसंग संगै बसेर खान्छन् । किनभने पुँजीवादी मान्छे हुन् तर पुँजीवाद एक प्रवृत्ति हो ।
यसैगरी बाहुन र बाहुनवाद पनि फरक-फरक हुन् । बाहुन मान्छे हो भने बाहुनवाद एक प्रवृत्ति हो । विरोध प्रवृत्तिको हुन्छ किनकि यही प्रवृत्तिले मानिसको आचरण र व्यवहारलाई निर्देशित गर्दछ ।
यदि कसैले बाहुनको विरोध गर्छ भने त्यो मानवीयताको आधारमा नभएर राजनीतिक आधार हो । विरोध प्रवृतिको हो, मान्छेको होइन । बाहुनको विरोध राजनीतिक हो, मानवीय होइन भन्ने खपाङ्गीहरूको नीति थियो । जनजातिले बाहुनको विरोध गर्दा र बाहुनले जनजातिको विरोध गर्दा राजनीतिक कारणले हुनुपर्दछ भन्ने खपाङ्गीहरूको मान्यता थियो ।
देश सबैको भएपछि त्यो देशलाई नियमन गर्ने राज्यसत्ता पनि सबैको हुनुपर्छ र त्यहाँ बाहुनको मात्र एकाधिकार हुनुहुन्न भन्दा बाहुनविरोधी आभाष आए त्यो मानवीयताको आधारमा बाहुनको विरोध नभएर राजनीतिक आधारमा भएको ठान्नुपर्ने थापा-खपाङ्गीहरूको मत थियो । हुन पनि मेलापात, भोजभतेर, मलामीजन्ती, युद्ध इत्यादि जाँदा जनजातिलाई अगाडि लगाइन्छ तर सिंहदरवार र बालुवाटार जाँदा उनीहरूलाई पछि लगाइन्छ । सकभर उनीहरूको लागि ती ठाउँहरूमा ताल्चा लगाइन्छ । चुरी कुरा यहिँ छ ।
बुझ्नुपर्ने मान्छेले नबुझिदिँदा र बुझेकाले बठ्याँइ गरिदिँदा जनमुक्ति पाटीलाई जातीय पार्टीको आरोप लाग्यो ।
खपाङ्गीको टीका प्रकरणको अपव्याख्या
जनमुक्ति पार्टीले पिछडा र उत्पीडित समाजलाई लक्षित गरेर सुरुमा गतिविधिमा लागे । हुन पनि यो समाजलाई नै राजनीतिक रूपले माथि नउठाइ मुलुक निर्माणले पूर्णता पाउँदैन ।
यद्यपि खपाङ्गी मन्त्री भएपछि उनले गरेको एउटा राम्रो काम प्रचारमा आएन । त्यो भनेको अनिवार्य संस्कृतलाई ऐच्छिक बनाउने
तर लामो समय राज्यले विभेदमा पारेको समाज स्वभावैले चेतनाशून्य हुन्छ । यो त्यस्तो समाज हो जहाँ कसैलाई “तिमी ‘सिंगापुर’ जाने कि ‘सिंहदरवार’ जाने ?” भनेर सोध्यो भने उस्ले सिंगापुर जाने उत्कट चाहना देखाउँछ । उसलाई सिंहदरवारको अर्थ थाहा छैन र सिंहदरवारको लोकेसन पनि थाहा हुँदैन । यस्तो मनोविज्ञान भएको समाजमा गोरेबहादुर खपाङ्गीले दशैंमा टीका लगायो भन्ने कुरालाई मजाले भजाँइयो ।
वास्तवमा त्यो बेला सार्वजनिक परम्परागत समारोहमा खपाङ्गीले टीका लगाउनु भनेको हिन्दुधर्मको अवलम्वन नभएर हिन्दुधर्मको कदर थियो ।
हो, जनजातिले दशैंमा टीका लगाउनु उसको परम्परागत संस्कार होइन । तर, कुनै जनजाति मन्त्री हुन्छ भने उ जनजातिको मात्र मन्त्री होइन, उ त बाहुनको पनि मन्त्री हो । मन्त्री भनेको सार्वजनिक पद हो ।
जनमुक्ति पार्टी कुनै धर्म र जाति विरोधी नभएको हुँदा त्यही पार्टीको नेता मन्त्री भइसकेपछि जुनसुकै धर्म र संस्कारको सम्मान र कदर गर्नुपर्ने नै हुन्छ । दशैंमा टीका लगाउने प्रचलन जनजातिको होइन भनेर खपाङ्गीले भन्नु सही हो । तर हिन्दुहरूको चाड दशैंको निषेध हुनुपर्छ त भनिएको थिएन ।
उता बाबुराम मनकामना दर्शनमा गए । प्रचण्डले भैंसी पूजा गरे । जबकि कम्युनिष्टले धर्मलाई अफिम ठान्छन् । यसलाई जनताले स्वभाविक लिए । तर खपाङ्गीको टीका प्रकरणलाई लिएर जनसमर्थन भड्काउने काम भयो ।
यद्यपि खपाङ्गी मन्त्री भएपछि उनले गरेको एउटा राम्रो काम प्रचारमा आएन । त्यो भनेको अनिवार्य संस्कृतलाई ऐच्छिक बनाउने । उनी मन्त्री भएपछि संस्कृत भाषाको अनिवार्य पाठ्यक्रमलाई ऐच्छिक बनाउने प्रस्ताव मन्त्रिपरिषदमा पारित गराएका थिए ।
अन्तमा,
जातीय अन्धउग्रतालाई यस पार्टीले रोकेर राख्ने भूमिका चाहिँ जनमुक्ति पार्टीको सही बाटो हो । जातीयमुक्ति भनेको एक जातिले अर्को जातिको निषेध गर्न होइन, राजनैतिक सहकारिता नै जातीयमुक्तिको सार हो ।
जातीयमुक्ति भनेको लोकतन्त्रको आधार हो भने लोकतन्त्र भनेको जातीय मुक्तिको अधिरचना (infrastructure ) हो । सबै समुदाय र वर्गको राजनैतिक समानुपातिक सहभागिताको आधारजगमा मात्रै लोकतन्त्र दरिलो हुन्छ ।
हो, यिनै मान्यतालाई मन्दविषको रूपमा पाश्र्वप्रभाव दिने भूमिकामा चाहिँ जनमुक्ति पार्टी सफल भएको छ । यो पार्टी दौडन सकेको छैन, हिँडिमात्र रहेको छ किनकि दौडेरमात्र होइन, हिँडेर पनि लक्ष्यमा पुग्न सकिन्छ ।source:onlinekhabar.com

 हार्दिक श्रध्दाञ्जलि - ज्ञान बहादुर गाहा मगर