A+ A A-

जीवनका केही अनुभवहरु -चिम्खोले काइला

चिम्खोले काईला
मगर भएर जन्मे, मगर भएर मर्न मन लागेको छ
मगर भएर हुर्के, मगरको लागि केहि गर्न मन लागेको छ ।
उपस्थित हुनु भएको सम्पूर्ण मगरहरुलाई
झोर्ले, जेडौ, सिमेङपाउ, नमस्कार भन्न मन लागेको छ । ।
यी माथिका हरफहरु मैले मगर संघ युकेको तीन बर्षे कार्यकालमा हरेक सभा समारोहहरुमा फलाक्ने गरेको हरफहरु हुन् । यी हरफहरु मेरो अन्तरात्माबाट उत्पत्ति भएका हरफहरु भएको हुँदा मगर भन्ने शब्द मेरो जीवनको पर्यायवाची भैसकेको छ । मेरो जीवनमा म जन्मेको जन्म थलो, म अध्यन गरेको स्कुल, मेरो कर्म थलो तथा पल्टन घर (British Army) र मगर संघ युकेको १३ बर्ष यात्रामा बटुलेको अनुभब मेरो जीवनको लागि अक्सिजन स्वरूप बनेको छ । यी माथि उल्लेख गरेका अनुभबहरु ओकल्न त केहि प्रशंगहरु जोड्नै पर्ने हुन्छ ।

प्रसंग यसरी जोडौ , मेरो जन्म म्याग्दी जिल्लाको चिमखोला गाउमा २०१८ सालमा भएको थियो । २०३० साल सम्म चिमखोला गाउमै हुर्के बढे अनि कक्षा ७ सम्म गाउमै अध्यन गरे । कक्षा ७ सम्म अध्यन गर्दा जात के हो भन्दा मगर हो भन्ने मात्र थाहा थियो सायद हाम्रो गाउमा एकाध दलित बाहेक सम्पूर्ण मगर भएकोले होला हामीहरुमा जातिविशेष कुरा गरेर को सानो, को ठुलो, भनेर अवहेलना गरेको थाहा भएन । जब हाई स्कुल पढ्न छिमेको गाऊ राखु भन्ने गाउमा पुगियो जुन गाउँमा मगरको बस्ति थिएन त्यहाँका बासिन्दाहरु सबै बाहुन, क्षेत्री, ठकुरी र दलितहरु थिए । हाई स्कुल भर्ना भएको पहिलो दिनमा कलासमा छिर्ने बितिक्कै एक जना साथीबाट आज पनि हाम्रो कलासमा एक जना लिडो भर्ना भएको छ भन्ने शब्द सुने । म कलासमा प्रवेश गर्दा सबै गलललल हाँसे तर मैले सोचेको थिए अरुनै प्रशंगमा हासेका होलान तर त्यो अवस्था रहेन दिनदिनै यतै लिडो, उतै लिडो, जहाँ भेटे पनि, जे गरे पनि लिडो भनेर जिस्काउन होच्च्याउन थाले मलाई त्यस्पस्चात म हैरान भएर एक जना बाहुन साथीलाई सोधे ए मित्र किन मलाइ सबै जनाले लिडो भनेर बोलाउछन अनि जिस्काउछन ? बाहुन मित्रले भने ए दुत बहादुर तिम्रो पुच्छर नभएको भएर लिडो भनेको हो भन्ने उत्तर आयो । अनि मैले बाहुन मित्रलाई तुरुन्तै बिमति जनाए, ए मित्र मान्छेको पनि पुच्छर हुन्छ ? भनि प्रश्न गरे उनको कुटनीतिक उत्तर थियो तिम्रो जनै नभएर लिडो भनेको हो भनेर बाहुन मित्रले भने । बाहुन मित्रको यो उत्तरले पनि मलाई चित्त बुझेन, त्यसैले अर्को क्षेत्री मित्रलाई सोधे, मित्र मलाई किन सबै साथीहरुले लिडो भन्छन ह ? उनको सटिक उत्तर थियो ए दुत बहादुर मगरहरुको बुद्धि हुदैन त्यसले लिडो भनेको हो । यस उत्तरले मलाइ साच्चिकै गभिर बनायो मगरको छोरो आफु जसरी सजिलो गरी बोलिन्थ्यो नेपाली बिषयमा त्यस्तै लेखिदा बडो समस्या परेको थियो झन मगरको बुद्धि हुदैन भन्दा त झन्डै स्कुल छोडने अवस्थामा पुगेको थिए । त्यति बेला मैले एउटा उखानको टुक्का स्मरण गरेको थिए कि, "इख नभएको मान्छे र बिष नभएको सर्प" बेकामको हुन्छ भनेर । सोहि उखानको टुक्का अनुरुप इख लिएर, बडो चनाखो भएर पढ्न शुरु गरे, फलस्वरुप हरेक बर्षको परीक्षाहरूमा उत्कृष्ट नतिजा निकाल्दै सेन्ट अफ टेस्ट परिक्षा र एसएलसी परिक्षा दुवैमा मैले सबैको भन्दा बढी नम्बर ल्याएर क्लास टप गरेको थिए । मगर जातिलाई लिडो भन्ने र मगरजातिको बुद्धि हुन्न भन्ने गैर मगरहरुलाई मगरको पनि बुद्धि हुन्छ भनेर मज्जाले पुष्टि गरेर देखाइदिएको थिए ।

कर्म थलोको कुरा गर्नु पर्दा जब मैले एसएलसी पास गरे, त्यसपस्चात म चिम्खोलामै फर्किएर झन्डै दुइ बर्ष जति शिक्षण पेशा गरे । सायद मगर गाऊ भएर होला फेरि लिडो, मगर, बुद्धि नभएको भनेर हेपाई खानु परेन । शिक्षण पेशा पश्चात रोजी रोटीको खोजीमा ब्रिटिश आर्मीमा भर्ति भए त्यस्तै तितो सत्य पल्टन घरहरुमा पनि धेरै अनुभव गरे त्यस मध्ये एउटा प्रशंग जोड्न चाहन्छु हंगकंगमा एक साल Recruit Training गरे पश्चात 6 Gurkha Rifles (6 GR) मा जाने छनौटमा परेर 6 GR जान पर्ने भयो, 6 GR Brunei मा थियो Brunei गए । पल्टन गएको एक सालमा भित्रमा आर्मीमा चाहिने सम्पूर्ण शिक्षाहरु उतिर्ण (Education Qualified) स्कुल नगैकन उतिर्ण गरे । दोश्रो बर्षमा आर्मीलाई पढाउने शिक्षक (Education Instructor) पनि पास गरेर पहिलो छुट्टी नेपाल गएको थियो । मलाइ लाग्थ्यो मेरो भबिश्य उज्जवल छ म अफिसर हुने छु भनेर सोचेको थिए तर बिडम्बना म नेपालबाट हाजिर हुदा मलाइ अर्कै ठाउँमा सरुवा गरिएको थियो जुन ठाउँमा कहिले पनि अफिसर हुन पाउने अबसर थिएन । हुन्छु, गर्छु, खान्छु भन्ने इच्छा शक्ति हुँदा हुँदै पनि टुसाएको टुसालाई जरै देखि उखालेर फालि दिएको पिडा अहिले सम्म संझी रहन्छु । म माथि यस्तो षडयन्त्र रच्नुको मुख्य कारण म मगरको छोरो भएको कारण थियो । यो तितो अनुभब अझै सम्म पनि यो मानस पटलमा ताजै बनेर बसेको छ ।

जब म आर्मिघरबाट रिटाएर्ड भए पछि म मगर संघ युकेमा आबद्ध भई कार्यक्रम संयोजक, महासचिब, बरिष्ठ उपाध्यक्ष हुदै अध्यक्ष जस्तो गरिमामय पदको जिम्मेवारी बहन गरिसकेको छु । झन्डै १३ बर्ष भन्दा धेरै समय मगर संघ युकेको महत्वपूर्ण पदहरुमा बसेर काम गर्दा धेरै उत्तार चढाबको साथै तिठा मिठा संझना र अनुभब बटुलेको छु । यो यात्रामा पुर्ब, पश्चिम, उत्तर, दक्षिणका मगरहरुसंग उठबस, हांसी खुशी र मगरहरुको लागि केहि राम्रा कामहरु गर्ने मौका पनि मिलेको छ । मेरो अनुभबमा धेरै मगरहरु मगरको लागि केहि गर्नु पर्छ भन्ने सकारात्मक सोचाइ बोकेका मगरहरु छन भने केहि मगरहरु भने नकरात्मक सोचाइले ग्रशित भएको, ढलेको सिन्को नभाच्ने, काम गर्न पनि नसक्ने, केहि गर्छु भन्ने मगरहरुको पनि खुट्टो तानिदिने, सधै भरि सत्ताको खेलमा मरिहत्ते गर्ने मगरहरु पनि भेटेको छु । त्यति मात्र होइन मगर कुरा नबोल्ने मगरलाई मगर होइनस भन्ने, गाईभैसी खाने मगरलाई मगर होइनस भन्ने बिखण्डनकारी मगरहरुसंग पनि काम गरेको अनुभब छ । यतिखेर एउटा प्रशंग जोड्न चाहे, मगर संघ युकेको चौथो महाधिवेशनमा मैले अध्यक्षको लागि उमेद्वारी दर्ता गरेको थिए । मेरो उमेद्वारीलाई च्यालेन्ज गर्दै एक जना मगर संघ युकेको जिम्मेवारी व्यक्तिले भने कि, तिमी पुन हौँ पुनहरु मगर संघ युकेको अध्यक्ष हुन पाउदैन । ती व्यक्तिले के भनेका हुन कुरो बुझ्न कठिनाइ भएको थियो जुन संस्थामा म १० बर्ष सम्म अनवरत रुपमा कार्यक्रम संयोजक, महासचिब र बरिष्ठ उपाध्यक्ष पदमा काम गरी सकेको थिए । त्यति मात्र होइन केहि मगरहरुले त उनीहरु आबद्ध भएको राजनीतिक पार्टीको सदस्यता नलिए सम्म अध्यक्ष खान दिदैनौ भनेर धम्कि पनि दिएका थिए ।यसरि मगर संघलाई नै उनका बाउबाजेका बिर्ता तथा पेवा जस्तो गर्ने संकीर्ण बिचार भएका मगरहरु पनि भेटेको छु । मगरले मगरलाई यसरी हेप्छन भन्ने कुरा पनि राम्रोसंग अनुभब गरेको छु ।

मगर भनेर गौरब गर्नको लागी मगर भाषा बोलेर तथा मगर ड्रेस पहिरिएर मात्र हुदैन ।मगर भाषा तथा मगर ड्रेस त गैर मगरहरुले पनि बोल्न सक्छन तथा पहिरिन सक्छन के उनीहरुलाई मगर भाषा बोल्यो, मगर ड्रेस पहिरियो भन्दैमा मगर भन्ने ? यस्ता गैजिम्मेवारी कुराहरु नगरे राम्रो हुने थियो । गाई खायो, भैसी खायो, सिनु खायो, सुँगुर खाएन भनेर मगरले मगरलाई आरोप प्रत्यारोप नगरे बेस हुने थियो । त्यस्तै गरी मगरहरुले राजनीतिक, सामाजिक र धार्मिक अधिकार स्वतन्त्र रुपले उपयोग गर्न पाउनु पर्छ । राजनीतिक, सामाजिक र धार्मिक अधिकारलाई सहि ढंगले सदुपयोग गर्न सकिएन भने यसले बिखन्डन ल्याउछ र मगर मगर बीच फुट पैदा गर्छ । हामी मगरहरु पुर्ब, पश्चिम, उत्तर दक्षिण छरिएर बसेका छौं । हाम्रो रितिरिवाज, रहनसहन, चाडपर्ब, भाषा, धर्म, सांस्कृति आदि बेग्ला बेग्लै छ त्यसलाई एक मगरले अर्को मगरले मान्दै आएको रितिरिवाज, रहनसहन, चाडपर्ब, भाषा, धर्म, सांस्कृति आदिलाई एकार्कामा सम्मानका साथ ग्रहण गर्न सक्नु पर्छ । आजको एक्काइसौ शताब्दीमा हामी मगरहरु यस्ता झिना मसिना कुराहरुमा अल्झेर बस्न हुदैन । मगरले मगरलाई शोषण र दमन गर्न हुदैन । मगरहरुलाई कसरी एकत्रित गर्न सकिन्छ भन्ने तिर बिचार पुर्याउनु पर्छ । मगरहरुले आफ्नो व्यक्तिगत तथा दलगत स्वार्थलाई त्यागेर तथा माथि उठेर मगरहरुको हकहित र अधिकार राज्यसँग मागेर होइन आफु सक्षम भएर मगर र सारा नेपालीको लागि केहि उदारणीय कामहरु गर्न जरुरी छ । मगरहरु सक्षम हुनको लागि शिक्षित हुन जरुरि छ । शिक्षित भइयो भने राष्ट्रको बिकाश र सम्वृद्धि असम्भब छैन ।

काइला मगर संघ यु केका निवर्तमान अध्यक्ष, साहित्यकार तथा समाजसेवी हुन । 

 हार्दिक श्रध्दाञ्जलि - ज्ञान बहादुर गाहा मगर