A+ A A-

अन्ततः लखन थापा मगर प्रथम शहीद घोषित

रुल बहादुर आलेमगर,

पृष्ठभूमि ः ,

गोरखास्थित बुंकोट–४ काहुलेका लखन थापा मगर पुरानो गोरख गणमा बहाल रहेको समयमा वि.सं.१९१४ भारतमा भएको सिपाही विद्रोह शान्त पार्न नेपालको तर्फबाट लखनऊ पुगेका थिए । विद्रोह रोकिए पनि भारतीय सैनिकहरुले आफ्नो राष्ट्रप्रति देखाएको स्वाभिमान र देशभक्तिबाट उनी अत्यन्त प्रभावित भएका थिए । उनले नेपालमा पनि हुकुमी राणाशासन विरुद्ध आम नेपाली जनताले स्वतन्त्रता र मुक्तिका लागि एकजुट भएर लड्न आवश्यक देखे । जंगबहादुर राणाले नेपाली जनता माथि थोपरेको निरङकुशताविरुद्ध जनतन्त्रको माग गर्दै स्थानीय मानिसहरुलाई चेतनशील र जागरुक बनाउँदै संगठित भई उठ्न आव्हान गरे । यसरी नेपाली जनताको हक र अधिकारका लागि तत्कालीन राज्यसत्ता विरुद्ध जनमानसलाई एकत्रित र संगठित गराई विद्रोहमा उत्रेकै कारण उनलाई १९३३ फाल्गुण २ गते गोरखा जिल्लास्थित बुङकोटको काहुलेभंगारमा फाँसी दिइयो । राणाशासन विरुद्ध उठेको यो पहिलो विद्रोह थियो ।

प्रथम सहिद लखन थापा मगर 

शहीद लखन थापाले सुत्रपात गरेकै प्रजातान्त्रिक आन्दोलनलाई आत्मसात गर्दै राणाशासन विरोधी विभिन्न गतिविधिहरु सञ्चालन गरे वापत वि.सं.१९९७ सालमा नेपालका चार सपुतहरुले सहादत प्राप्त गरेका थिए । यो विद्रोहको लगत्तै वि.सं.२००७ फाल्गुण ७ गते नेपालमा प्रजातन्त्रको आगमन भई जहानियाँ राणाशासनको विधिवत् अन्त्य भयो । प्रजातन्त्रको प्रादुर्भावसँगै शहीदहरुको सूचीमा चार अमर शहीदहरुलाई राखिए तापनि जेठा शहीद लखन थापा मगरलाई भने समावेश गरिएन । यसको अर्थ, राज्यले शहीद लखन थापा मगरप्रति पूर्वाग्रह राखेकै कारण उनलाई तत्काल सम्मान दिन राज्य तयार भएन । जनस्तरवाट अझ खासगरी मगर समुदायले यो विभेदप्रति लामो समयसम्म आवाज उठाकै कारण पूर्वमन्त्री चिरञ्जीवी वाग्लेको पहलमा उनलाई शहीदको कोटीमा समावेश गरियो ।

जंगबहादुरको निरङ्कुश सत्ताविरुद्ध पहिलो पटक जनस्तरबाट आवाज उठाएकै कारण सहादत प्राप्त गर्न पुगेका लखन थापा मगरलाई नेपालको प्रथम शहीदको दर्जा दिलाउन लामो संघर्ष हँुदै आयो । नेपाल मगर संघ र स्वदेशी विदेशी मगर संघसंस्था लगायत तमाम विद्वान, लेखक, इतिहासकार, बुद्धिजीवी र समाजसेवीहरुले नेपाल सरकारलाई दवाव दिंदै आएका थिए । उनै शहीदको नाममा २०६५ सालमा स्थापित प्रथम शहीद लखन थापा मगर स्मृति प्रतिष्ठानले बुझाएको पछिल्लो ज्ञापन पत्रलाई आधार मान्दै नेपाल सरकारले २०७२ असोज ३ गते औपचारिकढंगले निर्णय गरी शहीद लखन थापा मगरलाई अन्ततः नेपालकै प्रथम शहीद घोषणा गरेको छ ।

ऐतिहासिक दिन ः ऐतिहासिक निर्णय

संविधानसभाबाटै संविधान निर्माण गर्ने क्रममा नेपालमा दुई–दुई पटकसम्म चुनाव भयो । विभिन्न आरोह, अवरोह पार गर्दै लामो अन्तरालमा नेपालको संविधान, २०७२ गत असोज ३ गते विधिवत् जारी भयो । यो नेपाली जनताले गरेको लामो संघर्ष, त्याग र वलिदानको परिणामस्वरुप आएको संविधान हो । जसले लोकतन्त्र, गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता र समावेशिता जस्ता महत्वपूर्ण पक्षहरुलाई आत्मसात गरेको छ । करिव ९०% जनप्रतिनिधिहरुको हस्ताक्षरमा संविधान जारी भएको अवस्था पनि हो । त्यसो त संविधानमा मधेशी लगायत आदिवासी जनजाति, पिछडावर्गका समस्याहरुबारे उचित सम्बोधन हुन नसकेको परिवेशमा यसको विरोध कायमै छ । छिमेकी राष्ट्र भारतले पनि जारी भएको वर्तमान संविधानप्रति भित्रभित्रै असन्तुष्टी राख्दै अघोषित रुपले सीमामा अप्रत्यक्ष ढंगले नाकाबन्दी गरेको कारण नेपालको आर्थिक, राजनैतिक, सामाजिक, साँस्कृतिक सवै क्षेत्रमा नकारात्मक असर पर्न गएको छ ।

देशमा नयाँ संविधान घोषणा गरिएकै दिन मन्त्रिपरिषद्ले शहीद लखन थापा मगरलाई नेपालको पहिलो शहीदको रुपमा स्विकार गर्दै सो सम्बन्धी निर्णय सार्वजनिक गरेको छ । ढिलै भएपनि राज्यपक्षले शहीद लखन थापा मगरको योगदान र वलिदानको कदर गरेको छ । नयाँ संविधान जारी गरिएको ऐतिहासिक दिनमै भएको यो थप अर्को ऐतिहासिक निर्णय हो, जसलाई नेपाली जनताले लामो समयदेखि प्रतीक्षा गरिरहेका थिए । शहीद लखन थापा मगरप्रति राजकीय सम्मान जुटाउने तत्कालीन प्रधानमन्त्री सुशील कोइराला नेतृत्वको सरकारप्रति हामी सवै नेपाली कृतज्ञ रहनेछौं । नेपाली जनताको मुक्ति र स्वतन्त्रताका खातिर आफ्नो जीवनको पर्वाह नगरी जल्दाबल्दा शासक जंगबहादुर विरुद्ध आवाज उठाएकै कारण उनले ४२ वर्षको उमेरमा मृत्युवरण गर्न पुगे । उनको दूरदृष्टिलाई पछ्याउँदै पछिल्ला पिढीले नेपालमा प्रजातन्त्र ल्याएरै छाड्यो । वर्तमान अवस्थामा संघीय लोकतान्त्रिक गणतन्त्र ल्याउन र संविधानमा धर्मनिरपेक्षता, समानुपातिक प्रतिनिधित्व र समावेशी जस्ता आधारभूत पक्षहरुलाई लिपिबद्ध गराउन पनि शहीदको वलिदानले ऊर्जा थपेको हो । यो उपलब्धी शहीद लखन थापा मगरले उत्तिखेरै चलाएको चेतनामय विद्रोहको परिणति पनि हो । विगत २५० वर्षदेखि मुलुकमा व्याप्त रहेको एकात्मक, केन्द्रिकृत र सामन्ती राज्यसत्ताले सृजना गरेका विभेदहरु अव क्रमशः मत्थर भएर जानेछन् र शहीद लखन थापा मगर जस्तै राज्यबाट ओझेलमा पारिएका तत्कालीन समयका अन्य योद्दाहरु जयसिंह चुमी मगर, शुकदेव गुरुङ, सुपति गुरुङ आदि शहीदका कोटीमा पर्नेछन् । ढिलै भएपनि राज्यले तत्कालीन समयको राजनैतिक विद्रोहलाई महत्व दिंदै प्रथम शहीदप्रति पूर्णतः न्याय गरेको छ । नयाँ संविधान जारी गरिएकै दिन – प्रथम शहीदको घोषणा, सरकारको थप अर्को ऐतिहासिक निर्णय ।

प्रधानमन्त्री सुशील कोइराला ः निर्णायक भूमिकामा

नेपालमा शहीद लखन थापाप्रति अनभिज्ञ राजनैतिक नेतृत्व विरलै भेटिन्छ । जसले जनतन्त्रको वकालत गर्दै प्रजातान्त्रिक आन्दोलनको इतिहासमा पहिलो जग बसाले र लड्दालड्दै आफ्नो जीवनको उत्सर्ग पनि गरे । उनले विजारोपण गरेको जनसंघर्षको एउटा स्वरुप नेपाली राजनीतिमा अझै विद्यमान छ । तर पनि तिनै शहीदलाई नेतृत्ववर्गबाट भाषण र आदर्शमा सीमित राख्ने काम भएको छ । जनस्तरवाट उठेका आवाजहरु विरुद्ध अझै अध्ययन, अनुसन्धान गर्न बाँकी छ भन्दै राज्य पन्छिदै आयो । विगतमा ने.क.पा. माओवादीको जनयुद्धमा समेत भीमसेन थापाको राष्ट्रिय स्वाधीनता र लखन थापाको जनतन्त्रलाई समिश्रण गरी सशस्त्र आन्दोलन अघि बढेको हो । पूर्वप्रधानमन्त्रीद्वय पुष्पकमल दहाल र डा.बाबुराम भट्टराईले आफ्ना कालमा प्रथम शहीदको मागलाई सम्बोधन गर्ने प्रयत्न गरे तर यसलाई कुन शक्तिले छेक्यो, स्पष्ट भएन । यो प्रसंगलाई उहाँहरुले पनि भाषण र आर्दशमा मात्र सीमित राख्न पुगे ।

प्रधानमन्त्री सुशील कोइराला सत्तामा आएपछि लखन प्रतिष्ठानको तर्फबाट पटक–पटक भेटघाट गरी शहीद लखन थापाको विद्रोह एवं सहादतबारे स्पष्ट पार्ने कामहरु भए । कहिले बालुवाटारमा, कहिले कार्यालयमै भेटेर प्रधानमन्त्री सुशील कोइरालालाई इतिहासकार प्रा.डा.श्रीरामप्रसाद उपाध्याय (प्रतिष्ठानका सल्लाहकार) ले लखन थापाको योगदानबारे विस्तृत जानकारी गराउनु (ब्रिफिङ) भएको थियो । साथै लखन प्रतिष्ठानको सकृयतामा मा.चिनकाजी श्रेष्ठ(गोरखा), मा.अमरसिंह पुनमगर(रुकुम), मा.शिवलाल थापामगर(तनहूँ) संग चलाइएका भेटघाट, छलफल, अनुरोध र निरन्तर दवाव आदि सवै प्रकारका पहलकदमीहरुले प्रधानमन्त्रीलाई यस विषयमा सोंच्न बाध्य गरायो । विगतमा प्रतिष्ठानको तर्फबाट ज्ञापन–पत्र ग्रहण गर्दा उनले ‘म यसप्रति विश्वस्त छु, घोषणा गर्छु’ भनेका थिए, सो अभिव्यक्तिले वास्तविक स्वरुप लिएको छ । एउटा राजनैतिक नेतृत्व, जसले मगर समुदायको मात्र नभई करोडांै नेपालीहरुको विश्वास जित्न सफल भएको छ । अनेकौं चुनौतीहरुका वावजुद पनि प्रतिष्ठानबाट प्रस्तुत गरिएको पछिल्लो ज्ञापन–पत्र विभागीय मन्त्रालय (संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय) मार्फत प्रस्ताव पेश गराई नयाँ संविधान घोषणा हुने ऐतिहासिक दिनकै अवसर पारेर बर्षौंदेखि अल्झिएको गाँठो फुकाउन नेपाल सरकार सफल भएको छ । अनेकांै असहमती, विमती, चुनौतीहरु पार गर्दै यो साहसिक निर्णय लिइएको हो । यो कदम सहज हुन्थ्यो भने त शहीद लखन थापा मगरलाई ‘महान शहीद’ भन्ने क.प्रचण्ड र क.बाबुराम लगायतका नेताहरुले आफूहरु सत्तामा छँदै उहिले नै सार्थक परिणाम दिइसक्थे । त्यसैले यो साहसिक, ऐतिहासिक निर्णय गर्ने पूर्वप्रधानमन्त्री सुशील कोइराला नेतृत्वको सरकारप्रति समस्त शहीदका सन्ततीहरु एवं पुजारीहरुको सलाम !

दवाव, प्रभाव र पहुँचको संयोजन

शहीद लखन थापा मगरलाई प्रथम शहीद घोषणा गराउने अभियानमा लामो समय गुज्रेको छ । यसको निकास आखिर राजनैतिक तवर बाटै हुने रहेछ । सामाजिक परिवर्तन हुन युगौं लाग्छ तर राजनैतिक परिवर्तन भने रातौंरात सम्भव हुन्छ । हाम्रा प्रयासहरु पनि राजनैतिकस्तरबाटै टुङ्गो लाग्यो । विश्वको इतिहास हेर्दा, समाजमा ठूल्ठूला परिवर्तनहरु राजनैतिक शक्ति कै सुझबुझबाट टुङ्गिने गरेको छ । प्रथम शहीद घोषणा गराउने सवाल पनि अन्ततः त्यसरी नै सम्भव भयो । पूर्वप्रधानमन्त्री सुशील कोइरालाको पहलकदमी र निर्णायक भूमिका यतिखेर महत्वपूर्ण रह्यो । यो उपलब्धी सिंगो मगर समुदायले सरकारलाई दिंदै आएको निरन्तर दवावको परिणाम हो । प्रथम शहीद लखन थापा मगर स्मृति प्रतिष्ठानको निरन्तर अध्ययन, अनुसन्धान, बौद्धिक बहस, छलफल, संवाद र दवावले प्रस्तुत अभियानलाई एउटा उचाईमा पु¥यायो र सार्थक परिणाम हाम्रो सामु आयो । यो उपलब्धी सवै प्रकारका दवाव, प्रभाव र पहुँचको संयोजन थियो, जो राज्यसत्तामा बारम्बार ठोक्किन पुगेकै कारणबाट सम्भव पनि भयो । लखन प्रतिष्ठान, नेपाल मगर संघ, यसका स्वदेशी, विदेशी सवै भातृ संघसंस्थाहरु लगायत विद्वान लेखक, इतिहासकार, बुद्धिजीवी, समाजसेवीहरु सवैको यसमा अद्वितीय योगदान रहेको छ ।

नेपाल सरकारको यो निर्णय जुन किसिमले सञ्चार जगतमा छाउनुपर्ने थियो, त्यो भने देखिएन । देशमा घोषणा हुन लागेको नयाँ संविधानको उल्लासमय वातावरणले गर्दा नेपाल सरकारले गरेको यस्तो महत्वपूर्ण निर्णय ओझेलमा पर्न गयो । पछि पनि छिटपुट सञ्चार–माध्यममा बाहेक यसको त्यति ठूलो चर्चा–परिचर्चा हुन सकेन । राज्यबाट हामी सवैको चाहना, भावनाको सम्बोधन भएको छ र प्रथम शहीदलाई अपूर्व सम्मान मिलेको छ । यो उपलब्धीलाई हामी सवैले साझा र ऐतिहासिक ठान्नु पर्दछ ।


प्रतिष्ठान स्थापनादेखि प्रथम शहीद घोषणासम्म ः

स्थापना कालदेखि नै लखन प्रतिष्ठानले विभिन्न विद्वान, लेखक, इतिहासकार, बुद्धिजीवी, समाजसेवी लगायत विशिष्ट व्यक्तित्वहरुसंग निरन्तर घेटघाट, छलफल, संवाद र अन्तत्र्रिmया गर्दै प्रस्तुत विषयलाई राष्ट्रिय बहसको एजेण्डा बनायो । सरोकारवालाहरुसंग निरन्तर समन्वय र सहकार्यहरु भए । अध्ययन, अनुसन्धानकै क्रममा प्रथम शहीदका सन्ततीहरु खोज्दै प्रतिष्ठानको टोली दार्जिलिङ्ग(भारत)सम्म पुगेको र यो साक्षात्कारबाट महत्वपूर्ण जानकारीहरु हासिल भएका छन् जो सवैका लागि, सधैंका लागि महत्वपूर्ण समेत रहेको छ ।

सरकार परिवर्तन भएसँगै लखन थापालाई प्रथम शहीद घोषणा गर भनि प्रतिष्ठानबाट ज्ञापन–पत्र, स्मरण–पत्र, ध्यानाकर्षण–पत्र बुझाउने काम हुँदै आयो । पूर्वप्रधानमन्त्रीहरु पुष्पकमल दाहाल प्रचण्ड, झलनाथ खनाल, माधव कुमार नेपाल, डा.बाबुराम भट्टराई लगायतलाई विगतमा ज्ञापन–पत्र बुझाउने काम भए । त्यसैगरी पूर्व संस्कृति मन्त्रीहरु डा.मीनेन्द्र रिजाल, गोपाल किराँती, कमला रोका मगरलाई ज्ञापन–पत्र बुझाउने काम भएका थिए । २०७१ असोजताका सभासद मा.शिवलाल थापामगरले शहीद लखन थापा मगरलाई प्रथम शहीद घोषणा गराउन व्यवस्थापिका संसदमा सार्वजनिक महत्वको प्रस्ताव पेश गर्नु भएकोले सो सम्बन्धमा छलफल हुनुपूर्व लखन प्रतिष्ठानले सभासदज्यूहरुलाई गरिमामय सदनमा कुरा उठान गर्न सहज होस् भन्ने हेतुले २०७१ पौष ५ गते आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान, जावलाखेलमा प्रथम शहीदको सवाल, राज्यको दायित्व र सभासदहरुको भूमिका विषयक अन्तरक्रिया कार्यक्रम संचालन ग¥यो । विभिन्न दलका करिब ३० जना सभासदहरुले उपस्थिति जनाए पछि सो अन्तरक्रियामा प्रा.डा. श्रीरामप्रसाद उपाध्यायबाट कार्यपत्र प्रस्तुत भयो, यसरी प्रतिष्ठानको मुद्दा स्थापित गर्न सभासदहरुको भूमिका महत्वपूर्ण बन्न पुग्यो ।

पछिल्लो समय तत्कालीन संस्कृतिमन्त्री कृपाशुर शेर्पा, भूमिसुधारमन्त्री दल बहादुर राना, कानुनमन्त्री नरहरि आचार्य र पूर्वमुख्यसचिव लिलामणि पौडेल, हालका मुख्यसचिव डा.सोमलाल सुवेदी लगायतलाई पनि लखन प्रतिष्ठानले ज्ञापन–पत्र, ध्यानाकर्षण–पत्र बुझाएको हो । मा.अमरसिंह पुन, मा.शिवलाल थापामगर, मा.चिनकाजी श्रेष्ठ, मा.गणेशमान पुन, मा.गोकुल घर्ती लगायतका सभासदहरुसंग लखन प्रतिष्ठानले निरन्तर समन्वय र सहकार्य गरिरह्यो । अन्ततः पछिल्लो पटक २०७२।५।१४ मा लखन प्रतिष्ठानले बुझाएको ज्ञापन–पत्रलाई आधार मान्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको २०७२।६।१ को विभागीय प्रस्ताव अनुसार मिति २०७२।६।३ मा बसेको मन्त्रिपरिषद् बैठकले शहीद लखन थापा मगरलाई नेपालको प्रथम शहीद घोषणा ग¥यो ।

प्रतिष्ठानको करिव सात बर्षको अध्ययन, अनुसन्धान, समय समयमा गरिएको बौद्धिक बहस, संवाद, अन्तरक्रिया लगायत राज्यलाई कार्यक्रममा उपस्थित गराई दिएको ज्ञापन–पत्रहरुदेखि स्मरण–पत्रहरुसम्मको श्रृंखलाबद्ध यात्राले आज लखन थापा मगरलाई पहिलो शहीदको स्थान प्राप्त भएको छ । यो घोषणा संगै प्रतिष्ठानले नेपाल सरकार, तत्कालीन प्रधानमन्त्री सुशील कोइराला, मन्त्रिपरिषद्का सबै मा.मन्त्रीहरु, मा.सांसदहरु, नेपालका विद्वान, लेखक, बुद्धिजीवी, इतिहासकार र समाजसेवीहरु सवैमा प्रेस विज्ञप्ती मार्फत धन्यवाद दिएको छ । साथै, विभागीय मन्त्रीहरु डा.मीनेन्द्र रिजाल, दलबहादुर रानामगर र कृपाशुर शेर्पाको समुपस्थितिमा २०७२।६।१४ मा राष्ट्रिय नाँचघर, जमल काठमाडौंमा बृहत् धन्यवाद–ज्ञापन समारोह आयोजना गरी नेपाल सरकारलाई कृतज्ञता प्रकट गरेको छ ।


लखन थापा मगर ः भ्रम र यथार्थहरु

(क) प्रथम र द्वितीयको सन्दर्भ–

इतिहासका विभिन्न कालखण्डमा भएका घटनाहरुको लिखित दस्तावेज नहँुदा कतिपय यथार्थहरु जानकारीमा नआउनु स्वभाविक हो । एकातिर इतिहास जित्नेहरुले मात्र लेख्ने र हार्नेहरुको सवै मेटिदिने गलत प्रवृत्ति हुनु अर्कातिर निष्पक्ष प्रविधिको विकास नहुनु पनि ऐतिहासिकता नभेटिने कारणहरु मध्ये एक हो । लखन थापा मगरको विषयमा समय–समयमा लेखकहरुबाट प्रथम र द्वितीय उल्लेख भएको पाइन्छ, जो ऐतिहासिक व्यक्ति र घटनाक्रम चिनाउन, बुझाउनको लागि मात्र प्रयोग गरिएको हो । सर्वसाधारणदेखि लेखक एवं बुद्धिजीवीहरुमा समेत यसबारे केही भ्रम, कौतुहलता रहन सक्छ । विषयबस्तुहरुमा ज्ञानको अभाव र इतिहासको गहिरो अध्ययन नहुँदा स्वभाविक रुपले आएका यस्ता भ्रमहरुलाई हटाउन जरुरी छ ।

दुई–दुई जना लखन थापा मगर, जो एकै खाले नाम, थर, जाति, समुदाय, घटना स्थल उस्तै देखिंदा र दुवै प्रख्यात ब्यक्तित्व रहेकाले मानिसहरुमा भ्रम रहन सक्छ । तर इतिहासको फरक कालखण्डमा दुवैको अलग पहिचान र अस्तित्व रहेका छन् । लखन थापा (प्रथम) जो सिद्ध पुरुष थिए र उनी राजा रामशाहका दरवारीया थिए । यो सोह्रांै शताब्दीको कुरा हो साथै उनी मनकामना देवीका भक्त थिए । उनकै समयदेखि मगरहरु हालसम्म पनि मनकामना मन्दिरमा निरन्तर पुजारीको रुपमा रहेका छन् । प्रसिद्ध मनकामना मन्दिरका वर्तमान पुजारी इन्सान थापा मगर उनै सिद्ध लखन थापा मगरका अठारांै पुस्ताका सन्तती हुन् । अर्को लखन थापा (द्वितीय) शहीद लखन थापा मगर हुन् । नेपाली जनताको स्वतन्त्रताको लागि जंगबहादुर राणाको निरङ्कुशता विरुद्ध लड्दा–लड्दै सहादत प्राप्त गर्न पुगेका थिए, उनी नेपालको पहिलो शहीद पनि हुन् । यो वि.सं.१९३३ सालको घटना हो । उनले तत्कालीन समयमा आमजनतालाई संगठित गरी नेपाली जनभावना अनुरुप आफ्ना अनुयायीहरुलाई राणाविरोधी अभियानमा संलग्न गराए, बुङकोटमा मनकामनाको प्रतिकात्मक मन्दिर स्थापना गरेका थिए । बाहिरबाट झट्ट हेर्दा धार्मिक कार्य जस्तो देखिए तापनि भित्र–भित्रै राणाबिरोधी गतिविधिहरु संचालन गरिएका थिए, घटनामा स्थानीयहरुको जनसमर्थन र सहभागिता समेत रहेको थियो । यसरी दुवै लखन थापा मगरको पछाडि मनकामना देवीको भूमिका जोडिएकोले भ्रम सिर्जना हुन सक्तछ । यसरी एउटा लखन थापा मगर जो आध्यात्मीक, दैवीशक्ति भएका सोह्रांै शताब्दीतिर देखापर्दछन् भने अर्को जनस्तरवाट प्रजातान्त्रिक आन्दोलनको सुत्रधारकको रुपमा परिचित छन् । कालक्रम र विषयबस्तुको हिसावले यी दुवैमा ठूलो भिन्नता रहेकोले कसैले कुनै भ्रम राख्नु पर्ने अवस्था छैन । हाम्रा लेखक, इतिहासकारहरुबाट प्रथम र द्वितीय भनेर लेखिंदा दुवै लखन थापा मगरहरुका बारेमा पर्याप्त ज्ञानको अभावमा भ्रम सिर्जना हुन सक्छ । अतः प्रथम र द्वितीय उल्लेख गर्नु भन्दा क्रमशः सिद्ध र प्रथम शहीद उल्लेख गरेर स्पष्टताकासाथ अगाडि बढ्नु उचित देखिन्छ ।


(ख) तस्वीर र शालिकको सन्दर्भ–

लखन थापा मगरलाई सरकारले अहिले प्रथम शहीदको सम्मान दिएको छ तर तत्कालीन शासकहरुका सामु उनी विद्रोही थिए । त्यसकारण उनीप्रति राज्यले सकारात्मक हुने, उनीसंग सम्बन्धित दस्तावेजहरुको संरक्षण गर्ने, अभिलेखीकरण गर्ने कुरै भएन । राजा, महाराजा, सामन्त, महासामन्त आदि भएको भए तस्वीर, शालिक, ऐतिहासिक दस्तावेहरु अवश्य बन्थ्यो । यी सवै प्रतिकुल बनेपछि अध्ययन, अनुसन्धान कार्य अगाडि बढ्न स्वभाविक रुपमा कठिनाई आउँछ । राज्यले प्रथम शहीद घोषणा गर्नु अघि नै जनस्तरवाट उनको सम्मानमा देशैभरि शालिक बनेका छन् । उनको अर्धकदको तस्वीर माथि माल्यार्पण गर्ने गरिएका छन् । आज पोखरा, बुटवल, पाल्पा, दाङ्ग, चितवन, गोरखा, धादिङ्ग लगायत देशका अन्य स्थानहरुमा समेत उनको शालिक निर्माण भइरहेको अवस्था छ ।

लखन थापा मगरको विभिन्न स्थानमा बनेका शालिकहरुमा एकरुपता भने देखिदैन । अर्कोतर्फ प्रकाशमा आएका तस्वीरहरुमा समेत एकरुपता देखिएको छैन । प्रथम शहीदको घोषणा सँगै नेपाल सरकारले उनको तस्वीर अंकित हुलाक टिकट प्रकाशन गर्ने जमर्को गरिरहेको छ । हुनसक्छ यसले धेरै ठूलो विवाद नल्याउला तर प्रकाशमा आइसकेको तस्वीरमा एकरुपता ल्याई जनमानसमा भ्रम पर्न दिनु हँुदैन । आपसि समन्वयको अभावमा विभिन्न संघसंस्थाहरुले विभिन्न तस्वीर प्रयोग गरिरहेको र शालिक निर्माण गर्दा मिल्दो–जुल्दो नदेखिएको अवस्था छ । लखन थापाका तस्वीर एवं शालिकहरुमा किन यस्तो भिन्नता आयो भन्ने प्रसङ्गमा जानकारहरुकै विचमा समेत मतभेद रहेको देखिन्छ । लामो समयदेखि प्रयोग हुँदै आएको स्वरुपलाई निरन्तरता दिने, आफुखुशी नयाँ बनाउन नदिने या नयाँ स्क्र्याच गरी नविनढंगले ल्याउने भन्ने विषयमा स्पष्ट हुन आवश्यक छ । यद्यपि शहीदकै नाममा स्थापित लखन प्रतिष्ठानले सरोकारवाला संघसंस्थाहरु विच समन्वय गरी लखन थापा मगरको एउटै तस्वीर प्रकाशमा ल्याई तस्वीरमा एकरुपता ल्याउनुपर्दछ ।

(ग) थापा र थापा मगरको सन्दर्भ–

इतिहासमा फेरी एउटा अर्को कञ्जुस्याईं राज्य र राज्य संयन्त्रमा स्थाई सरकार भनिने कर्मचारीतन्त्रबाट भएको छ । शहीद लखन थापा मगरलाई प्रथम शहीद घोषणा गरियोस् भनेर प्रतिष्ठानले बुझाएको ज्ञापन–पत्रकै आधारमा मन्त्रिपरिषदले निर्णय गरेको हो । त्यतिमात्र नभएर प्रथम शहीद लखन थापा मगर स्मृति प्रतिष्ठान कै लेटरहेडमा ज्ञापन–पत्र प्रस्तुत भएको थियो । तथापि निर्णय भएर आउँदा मगर छुटेको वा छुटाइएको त्रुटिपूर्ण अवस्था छ । तत्काल यसको कुनै प्रभाव नदेखिन सक्छ, किनकी यो प्रसंगमा हाल सवै जानकार पनि छैनन् र अर्कोतर्फ यसले त्यति गहनता पनि नबोक्ला । तथापि मुलुक संघीयतामा जाँदै गरेको अवस्थामा पहिचान र अस्तित्वको प्रसंग उठ्दा यो कञ्जुस्याईंको नकारात्मक असर त्यसवेला विस्तारै देखिएला कि !

इतिहासको विभिन्न कालखण्डमा यसरी नै मगर जातिको ऐतिहासिक विरासत, पहिचान, अस्तित्वलाई हराउने, मेटाउने, बङ्याउने, सखाप पार्ने काम हँुदै आएको हामीले अनुभूति गरेकै हो । जसरी हिजो मगर जातिको इतिहास मेटियो, मेटाइयो आज त्यसैको निरन्तरता देखिएको हो । भोलि यस्तो परिस्थिति सिर्जना हुन सक्छ कि लखन थापा क्षेत्री थिए या मगर ? त्यसको लागि पुनःअर्को संघर्ष गर्नुपर्ने हुनसक्छ । यो निर्णय, भोलिको ऐतिहासिक दस्तावेज पनि हो । हामीलाई थाहा छ, उनी थापा मगर हुन् तर दस्तावेजले त्यसो भनेको छैन । अन्ततः त्यही सत्य बनेर कालान्तरसम्म बस्छ । संस्कृति मन्त्रालयले जानकारी पत्र लिन बोलाएपछि प्रतिष्ठानको तर्फबाट अध्यक्ष र महासचिव मन्त्रालय पुग्यौं । मन्त्रिपरिषदको निर्णय सहित हामीलाई दिने जानकारी पत्र तयार हुँदै थियो, सोही क्रममा समेत मगर थप्न अनुरोध ग¥यौं । तर मन्त्रिपरिषदले गरेको निर्णयमा समेत मगर छैन, अर्कोतर्फ हामीले पनि पहिलो शहीद लखन थापा मात्र भनि पढेका हांै, मगर भनि पढेका छैनौं । त्यसको प्रतिबाद ग¥यौं– ज्ञापन–पत्र बुझाउँदा त थापा मगर नै भनेका छौं, कसरी त्यस्तो भयो ? तर उत्तर छोटो थियो– माथिको निर्णय हो । हाम्रो अर्को प्रश्न– कसले टिप्पणी उठाएको ? उत्तर थियो – त्यसो भए पत्र दिन मिल्दैन, माथि भन्नुस् । यस घटनाक्रमले पनि हाम्रो इतिहास यसरी नै नामेट पारिँदैछ भन्ने प्रस्ट भएको छ ।

अवको आवश्यकता ः

शहीद लखन थापा मगरलाई मृत्युदण्ड दिई सकेपछि स्थानीय गाउँलेहरुलाई खुशी पार्न राणाहरुले ठूलो धनराशी बुङकोट पठाए । स्थानीयहरुले रकम बुझ्न नमानेपछि सोही रकमबाट गोरखकाली मन्दिर परिसरमा एउटा ठूलो घण्टा बनाएर झुण्ड्याउने काम गरियो । त्यसबेलाको घण्टा अहिले पनि मन्दिर परिशरमा देख्न सकिन्छ । वि.सं.१९३३ को दुःखद घटनापछि लखन थापा मगरका सन्ततीहरु पैतृकथलो बुङकोट छाडेर नेपालको पूर्वी पहाड (तेह्रथुम) तर्फ लागेको र त्यहाँबाट पनि विदेशी सेनामा भर्ति भई विभिन्न स्थान हँुदै हाल दार्जिलिङ्ग(भारत)मा स्थायीरुपले बसोबास गर्न पुगेको सुनिएकोले लखन प्रतिष्ठानको तर्फबाट शहीदका सन्ततीहरुबारे जानकारी लिने क्रममा पाँच वर्षअघि (वि.सं. २०६८ मा) एक अध्ययन टोली दार्जिलिङ्ग पुगेको र उनका पाँचौं सन्तती ८४ वर्षीया शुभ कुमारी थापा, जो गत २०७२ पौष ५ गते निधन हुनु भएको दुःखद जानकारी मिलेको छ, लाई प्रत्यक्ष भेटेको, छलफलको क्रममा उनले ब्यक्त गरेका महत्वपूर्ण र सान्र्दभिक विचारहरुको रेकर्ड गरिएको छ । यद्यपि प्रतिष्ठानको एक्लो पहल र प्रयत्नले गरिएको अध्ययन पूर्ण हुन नसकेको यथार्थ पनि छ । राज्यपक्षले पनि यसका विभिन्न पक्षबारे बृहत् अध्ययन–अनुसन्धान गरी दस्तावेजिकरण गर्ने मामिलामा उदारतापूर्वक सहयोग गर्न आवश्यक देखिन्छ र यसको लागि लखन प्रतिष्ठान सहयोगी भूमिका निभाउन सधैं तत्पर छ ।

नेपालको राजनैतिक इतिहासमा १३९ वर्ष पछि प्रथम शहीदको मान्यता शहीद लखन थापा मगरले पाएका छन्, यसलाई जिवन्त राख्दै उनलाई राष्ट्रिय विभूतिको रुपमा समेत स्थापित गराउन जरुरी छ । साथै उनी संगसंगै सहादत प्राप्त गर्ने जयसिंह चुमी मगर, शुकदेव गुरुङ, सुपति गुरुङ जस्ता तत्कालीन समयका सहयोद्दाहरुलाई पनि शहीदको स्थान दिलाउन यथोचित पहल गर्न जरुरी छ । गोरखा बुङकोटको सहादतस्थललाई स्मारकको रुपमा विकसित गरी ऐतिहासिक स्थलको संरक्षण, सम्बद्र्धन गर्दै शहीदका जीवित सन्ततीहरुलाई राज्यले दिन सक्ने सुविधा जुटाउन कन्जुस्याई गर्नु हँुदैन । साथै शहीदहरुको स्मृति र सम्मानमा विभिन्न संरचनाको तयारी, अक्षयकोषको स्थापना आदि गरी तत्कालीन समयको गौरवमय इतिहासलाई प्रचार–प्रसारमा ल्याइनु पर्दछ ।

अमर शहीदहरुका नाममा स्थायी संरचना निर्माण गरी स्वतन्त्र, निष्पक्ष र भरपर्दो संयन्त्र विकास गर्नु पर्दछ । राजधानीको शहीदगेट लगायत देशका विभिन्न भागमा राज्यको पहलमा प्रथम शहीदको शालिक, स्मारकस्थल लगायतका संरचनाहरु निर्माण गर्दै लैजानु पर्दछ । उनको ऐतिहासिक विरासतलाई कायम राख्दै शहीदहरुले रोजेको बाटो, अँगालेको विचारहरु आत्मसात गर्दै अगाडि बढ्नु हामी सवैको कर्तब्य हो । नेपाली जनताको हकहित, अधिकार, स्वतन्त्रता र राष्ट्रिय स्वाधीनताको लागि शहीदले देखेको सपना साकार पार्दै देशमा सुख, शान्ति र समृद्धी ल्याउने दिशातर्फ बढ्नु प्रथम शहीद लखन थापा मगरप्रतिको सच्चा सम्मान एवं श्रद्धाञ्जली हुनेछ ।
(लेखक प्रथम शहीद लखन थापा मगर स्मृति प्रतिष्ठानका अध्यक्ष हुन्)

 

¬¬¬¬¬¬

 

 हार्दिक श्रध्दाञ्जलि - ज्ञान बहादुर गाहा मगर