A+ A A-

बाहुनवादी गठबन्धनलाई हारको स्वाद चखाउने भूमिगत रेशम चौधरी को हुन ?

लखन चौधरी/धनगढी।

आम निर्वाचन २०७४ को नतिजा आउने क्रम जारी छ । सबैतिर वामगठबन्धनको चर्चा परिचर्चा चुलिएको बेला कैलाली निर्वाचन क्षेत्र नम्बर १ मा भने राष्ट्रिय जनता पार्टीबाट रेशम चौधरी अत्याधिक बहुमतले  विजय भएका छन् ।

टीकापुर घटनाको मुख्य आरोपीसमेत रहेका चौधरी ३४ हजार ३४१ मत ल्याई प्रतिनिधि सदस्यमा निर्वाचित भएका छन् । जबकि उनको निकट्तम प्रतिद्वन्द्वी वामगठबन्धनकी उम्मेदवार गरिमा शाह १३ हजार ४०६ मै चित्त बुझाउनुप¥र्यो । त्यस्तै नेपाली कांग्रेसकी उम्मेदवार इश्वरी न्यौपानेले ११ हजार २०३ मतमै सीमित भइन् ।


टीकापुर घटना घटाएको आरोप लागेपछि उनी झण्डै २६ महिनादेखि प्रवासमा बस्दै आएका छन् । प्रवासबाटै वारिसनामार्फत् उम्मेदवारी दिएका उनी २० हजार ९३५ मतान्तरले विजयपश्चात राज्यले उनलाई र थारु समुदायलाई कसरी सम्बोधन गर्छ भन्ने सबैको जिज्ञासाको विषय बनेको छ ।

को हुन् रेशम चौधरी ?
कैलाली जिल्लाको जानकी गाउँपालिका ६ (साविक दुगौली गाविस ९) जगतपुरमा २०३४ साल असोज २१ गते जन्मेका उनी बाल्यकालदेखि नै खेलकुद, साहित्य, गायनदेखि वाककलामा रुची राख्थे । प्राराम्भिक शिक्षा राष्ट्रिय प्राथमिक विद्यालय पटाभार बर्दियाबाट र माध्यमिक शिक्षा टीकापुरस्थित विरेन्द्र विद्या मन्दिरबाट लिएका उनी त्रिभुवन विश्वविद्यालयबाट स्नाकोत्तर गरेका छन् ।

०४७ सालमा माध्यमिक स्तरको थारु भाषाको जोग्नी साहित्य पत्रिका परिवारको प्रधान सम्पादक रहेका उनी ०५१ सालमा विरही नामक कविता संग्रह र मोर विहान नाम कतिसमेत प्रकाशन गरेका छन् । साहित्य र पत्रकारितामा दख्खल राख्ने उनको रेडियो नेपाल, नेपाल टेलिभिजन, रेडियो सागरमाथामा लामो समय पत्रकारिता गरेको अनुभव छ । हाल टीकापुरलगायत ३ ठाउँमा उनको फूलबारी एफएम स्थापना भएको छ ।

गायन तथा सांगीतिक क्षेत्रमा पनि अब्बल मानिने उनी रेडियो नेपालबाट गीत गाउने पहिलो थारु गायक तथा क श्रेणीको गायक मानिन्छन् । उनले हालसम्म ९३ वटा सांगीतिक एल्बम निकालेको बताउँछन् । खेलकुदमा अति नै शौखिन उनी काराँतेमा थ्री डन गरेका छन् । भने खेलमै स्थायी जागिरे समेत भए ।
जुनकारण उनलाई राष्ट्रिय प्रतिभा पुरस्कार, बहुमुखी प्रतिभा पुरस्कार, गोरखा दक्षिणबाहु, शुक्ल दिक्षित पुरस्कार, जयराज जैरु प्रकोप उद्धार पदक, गद्दी आरोहण पदकलगायत थुप्रै राष्ट्रिय पुरस्कार तथा पदकबाट सम्मानित भएका छन् ।

सधैं चर्चामा रेशम
बहुमुखी प्रतिभाका धनी रेशम चौधरी टीकापुर घटना र हालको निर्वाचनले मात्रै चर्चामा छैनन् । उनी बेला बखत चर्चामा रहने व्यक्तित्व मध्येका एक हुन् । उनको चर्चा हुनुको केहि कारण छ । सञ्चारको पहुँच नपुगेको तत्कालीन टीकापुरमा फूलबारी एफएम सञ्चालन गर्नु मात्रै नभर्ई, टीकापुरमा फूलवारी महोत्सव सञ्चालन गरी नेपालभरका कलाकारहरुको कुम्भ मेलाको आयोजना गर्ने नै उनै रेशम हुन् । हात्तीहरुको फुटबल खेल देखाउने, रेसलिङ खेल देखाएर पनि उनी निकै चर्चामै हुन्थे । त्यतिमात्रै नभई, कुनैबेला हेलिकप्टरमार्फत टीकापुरमा पुष्प वर्षात गराउने पनि उनै हुन ।

टीकापुरको लागि नौलो गतिविधि गरेर उनी टीकापुर र आफ्नो सामाजिक छबि बढाए । यिनै छबिकै कारण उनको आवश्कता महसुस गरी टीकापुरको स्थानीयहरुले हालको निर्वाचनमा अत्याधिक भोट दिई विजय गराए ।


टीकापुर घटनापछि कफ्र्युको समयमा थारुहरुको घरमा आगजनी भयो भने आगजनीमा संलग्न कोही पक्राउ परेन । तर उनलाई राज्य पक्षले एकोहोरो रुपमा घटनाको मूख्य योजनाकारको आरोप लगायो । यस्ता विभिन्न कारणले थारु समुदायले आफूहरु हेपिएको, दमन गरिएको, अन्यायमा परेको महसुस गरेको बताइन्छ । यस्ता भावनाको कारण पनि थारु गैरथारु मतदाताहरुले एकलौटी रुपमा रेशमलाई भोट दिएको बताउँछन् थारु नागरिक समाज कैलालीका संयोजक दिलबहादुर चौधरी ।


उनले भन्छन्– ‘सबै राजनीतिक दलले थारु समुदायको माग मुद्धालाई वेवास्ता गर्दै गएका छन् । तर माग मुद्दा उठाएकै कारण कोही जेलमा पर्नु, प्रवासी बन्नुपर्ने बाध्यता भएको छ । जुनकारण थारु मतदाताले आफ्नो आस्थाको आधारमा नभई नैतिकता र टीकापुर घटनाको पीडितहरुलाई न्याय दिनुपर्छ भनेर पनि भोट दिए, यसलाई राज्य लगायत सम्बन्धित पक्षले गम्भीर ढंगले लिनुपर्ने जरुरी छ ।’


नेपालको नयाँ संविधान बन्ने क्रममा अखण्ड सुदूर पश्चिम र थरुहट/थारुवान आन्दोलन उत्कर्षमा पुग्यो । हालको संविधान अखण्ड सुदूरपश्चिम पक्षधरको मात्रै माग सम्बोधन गरेको छ भने थरुहट पक्षधरको माग मुद्दा सम्बोधन भएन । जुनकारण थारु समुदाय सामाजिक र मनोवैज्ञानिक रुपमा हारेको महसुल गर्दै आएका थिए । उक्त पीडा थारु मतदाताले निर्वाचनमार्फत व्यक्त गरेको थारु अगुवाहरुको बुझाई छ ।
चुनावी प्रचार प्रसारको क्रममा पनि रेशम चौधरीको प्रचारशैली निकै पृथक थियो । उनले सामाजिक सञ्जालसहित आधुनिक प्रविधिको प्रयोग गरी आफ्ना प्रचारकहरुलाई चुनावी घरदैलोमा खटाए । एकदमै मार्मिक र यथार्थपरक विषयवस्तुको कारण पनि उनी मतदाताको मन जितेको बताइन्छ । उनी निर्वासित भए पनि प्रोजेक्टरमार्फत गाउँ–गाउँमा आफ्नो पीडा सुनाएर जनताहरुको सहानुभूत लिन सफल भए । जुन चुनावी प्रचारकै क्रममा उनको प्रचारकहरुमाथि प्रहरी हस्तक्षेप पनि भयो ।


के भन्छन् रेशम चौधरी ?
एक अर्कोसँग परस्परविरोधी अखण्ड सुदूरपश्चिम र थरुहट÷थारुवान आन्दोलन भयो । त्यस्तैबीच २०७२ साल भदौ ७ गते आठ प्रहरीसहित एक बच्चाको ज्यान गयो । त्यसको भोलिपल्ट भदौ ८ गते कफुर्य लागेको समयमा टीकापुरस्थित सयौं थारुहरुको घरमा आजजनी भयो ।तर त्यस घटनाको सत्यसत्य छानबिन नगरी राज्यले आन्दोलनको नेतृत्व गरेकै भरमा झुठो मुद्दा लगाएको रेशम चौधरीको भनाई छ । अस्पतालमा उपचार गराइरहेका, खेतमा काम गरिरहेका, जिल्लाभन्दा वबाहिर रहेका निर्दोष थारु तथा आन्दोलनका नेता एंव कार्यकर्ताहरुलाई विभिन्न मुद्दा लगाइ जेलमा कोचेको उनको भनाई छ । हाल कैलाली कारागारमा पुर्पक्षको लागि २५ जनालाई थुनामा राखिएको छ ।

हालको आमनिर्वाचनबाट जनताहरुले आफू निर्दोष भएको प्रमाणित गर्नुका साथै थारु समुदायको माग र मुद्दा सम्बोधन उचित रुपमा सम्बोधन गर्नुपर्छ भनि अत्याधिक मतले आफूलाई विजय गराएको उनी बताउँछन् ।

Source:http://www.tharuwan.com/2017/12/121361/

Last Updated on Tuesday, 12 December 2017 11:37

Hits: 722

दसैं मान्नुस् नमान्नुस् तर आफ्नै समुदाय विरुद्द सुसाइड गोल नगरौ ।

अमृत योन्जन तामाङ

दशैं परित्याग गर्ने कि नगर्ने ? मेरो विचारमा जे गरे पनि हुन्छ तर हामीले आफ्नै समाजको विरुद्ध सुसाइड गोल गर्नु हुँदैन ।नेपाल संविधानतः बहुधार्मिक मुलुक हो। यो कुरा नेपालको संविधान २०७२ को प्रस्तावनामा पनि छ र धारा २ मा पनि व्यवस्था गरिएको छ। धारा ४ (१) मा "नेपाल ...... धर्मनिर्पेक्ष .... राज्य हो" भनिएको छ ।

यस्तो संवैधानिक व्यवस्थाले नेपाली जनता आ-आफ्नो धर्म मान्न स्वतन्त्र छन्। आ-आफ्नो संस्कृति र मूल्य-मान्यता पालन गर्न पनि स्वत्रन्त छन् भन्ने हुन्छ। यसर्थ राज्य, सरकारी संस्था, निकायहरु र सञ्चार माध्यमले सम्प्रेषण गर्नु पर्ने कुरा के हो भने दसै-तिहारलाई "हिन्दूहरुको महान चाड" हो भन्नु हुन्छ तर "नेपालीहरुको महान चाड" भन्नु हुँदैन। संविधानतः त्यसो भन्न पाइँदैन पनि। यसरी सम्प्रेषण गरिने हो भने गैरहिन्दू जनताले दशैं वहिष्कार वा परित्याग गरिरहनुको प्रश्नै उठदैन, कुनै तुक हुदैन। वास्तवमा राज्यसत्ताले संविधानको सही पालना गर्ने हो भने कुनै पनि चाडपर्वलाई न वहिष्कार गर्नु पर्थ्यो न परित्याग नै।

जब राज्यसत्ताले नै बहुसङ्ख्यकको नाउमा हिन्दू चाडपर्व र मूल्य मान्यता लादन खोज्छ, तब समस्या चर्किन थाल्छ। धर्मनिरपेक्ष भइसकेर पनि राज्यले यस्तो काम गरिरहेको छ, जस्तै- दशैको बेला कर्मचारीवर्गलाई एक महिनाको तलब बरावरको भत्ता दिनु र अरु धार्मिक समुदायको चाडमा विदा पनि नदिनु । दसैंमा तोप पडकाउनु र अरुको चाडमा नपडकाउनु। यसबाट राज्यले हिन्दूधर्म सापेक्ष व्यवहार देखाइरहेको छ भन्ने प्रमाणित हुन्छ। यसै गरी राष्ट्र बै‌कले दसैको अवसरमा नयाँ नोट निकाल्नु र वितरण गर्नु पनि संविधानको बर्खिलाप नै हो। नेपाली पत्रपत्रिकाले गैरहिन्दूहरुको निधारमा रातो टिका लगाएको चित्र छाप्नु (केही वर्ष अगाडि हिमालले एक जना रातो टिका र जमारसहितको लिम्बुनीको फोटो कभरपेजमा छापेको थियो) पनि संविधानको धारा कुल्चनु खोज्नु हो। आफ्ना छिमेकका हिन्दुहरुको चाडपर्वहरुमा आदिवासीहरु रमाइरहदा मिडियाको क्यामराले तिनीहरुलाई पछ्याइनु पनि धार्मिक सहिष्णुता खल्बलाउने दुष्प्रयास नै हो। यसबारेमा देशको मिडिया सचेत हुनै पर्छ। यसरी अनावश्यक हिन्दू धर्मको खेती गरिनु हुन्न।

तामाङ लगायतमा आदिवासीहरुलाई आफ्नो धर्म मान्न स्वतन्त्र छ। दवावमा परेका आफ्नतजनलाई मुक्त गर्ने प्रयास अग्रजहरुले गर्छ नै। यसो गर्दा वहिष्कारको कुरा उठनु स्वभाविक पनि हो। उनीहरुलाई १९१० को मुलुकी ऐनको पिडा छ। राज्यले हिन्दूधर्म लादिदा भएका झडप, लुटपाट र मृत्युदण्ड व्यहोरो पुस्ता सकिसकेको भए पनि छोरा वा नाती पुस्तामा त्यो तुष अझै छ। उनीहरुले आफ्नो पिडा पोख्न पाउनु पर्छ। गणतन्त्रिक मुलुकमा सवै नागरिकलाई त्यो हक सुरक्षित हुन्छ नै।

तसर्थ तामाङ युवा पुस्ताले बुझ्नु पर्ने कुरा के हो भने हामी अब "मासिने मतवाली" (मास्न वा कमारो बनाउन मिल्ने जाति) रहेनौं। अरु सरह नै हामी पनि रैतीबाट जनता हुँदै नागरिक भइसकेका छौं। अब हिन्दूहरुको सेवक बन्नु हुँदैन, सहयात्री वा सहयोगी बन्नु पर्छ। हाम्रा अग्रज र अगिल्ला पुस्ताकाहरुले गणतन्त्र र धर्मनिरपेक्षताको लागि धेरै रगत बगाइसकेका छन्। उनीहरुप्रति हामी कृतज्ञ हुनु पर्छ, कृतघ्न होइन। हिन्दू मित्रहरुको चाडपर्वमा रमाउनु भनेको नेपालको राष्टियता बलियो बनाउनु हो। उनीहरुलाई पनि हाम्रो चाडबाडमा सहभागी गराउनु पर्छ। यसबाट समाजमा सुमधुर सम्वन्ध कायम हुन्छ। तर आफैंले रातोटिका-जमरा लगाउनु भनेको आफ्नो धर्मसंस्कृति र मूल्य-मान्यताको विरुद्ध सुसाइड गोल गर्नु जस्तै हो। सुसाइड गोल गर्ने कार्यमा हामी तामाङहरु लाग्नु हुँदैन।

Last Updated on Monday, 25 September 2017 17:12

Hits: 496

खपाङ्गी नेपालका नेल्सन मन्डेला

विजय हितानमगर
Image may contain: 1 person, eyeglasses and beard

गोरेबहादुर खपाङ्गी नेपाली राजनीतिमा एक आकर्षक व्यक्तित्व भएका नेता हुन् । सेता दाह्रीजुँगाका मालिक, प्रष्ट र निडर वक्ता, दर्शन र दुरदर्शीपूर्ण भाषण, पृथक् अनि नौलो राजनैतिक सिद्धान्तको विजारोपण गर्नु यसका प्रमुख कारण हुन् । मगरका छोरा भएर वंशजले नदिए पनि दाह्री जुँगा पालेर हिँड्दा हुची मिन्ह हुन खोजेका हुन् या कसैलाई चुनौती दिएका हुन् त्यो त खपाङ्गी नै जानुन् ।

यस्ता शिखर पुरुष १२ वैशाख २०७० का दिन मोटरसाइकल दुर्घटनामा परेपछि एकाएक नेपाली राजनैतिक क्षितिजबाट अस्ताउँदा मानिसमा प्रश्नका भेलहरु उर्लेका थिए ।

स्पष्टवादी नेतालाई मोटारसाइकलले ठक्कर दिनु दुर्घटना थियो या षड्यन्त्र ?

दसैँ बहिष्कार आन्दोलनका नायक तर मन्त्री भएपछि आफैँले राजा ज्ञानेन्द्रको हातबाट टीका किन लगाए ?

पहिचान र समावेसीको मुद्दालाई नेपालमा प्रथमपल्ट राजनैतिक बहसमा ल्याउने राष्ट्रिय जनमुक्ती पार्टीका संस्थापक महासचिव तर मोटरसाइकल
  दुर्घटनामा पर्नुअगाडिका दिनहरुमा किन निस्क्रिय देखिन्थे ?

 साम्प्रदायिकताको आलोचना खेप्दै गर्दा पनि किन र कसका लागि समावेसी र समानुपातिक राजनैतिक सिद्धान्तको वकालत गर्दै हिँडे ?

यी हरफहरु लेखिरहँदा उनी कठामाडौँ, नक्खुको एक भाडाको घरमा अर्धचेत अवस्थामा लम्पसार छन् धर्मपत्नी र छोराछोरीहरुको स्याहार सुसारमा । देशमा भने भर्खरै संघीय, समानुपातिक, गणतन्त्रात्मक संविधान लागू भएको छ झन्डै एक दशक लामो राजनैतिक खिचातानीपछि । जसका सूत्राधार उनै अहिले विस्तारामा लडिरहेका खपाङ्गी थिए ।

पुस्तक (नेपाली राजनीति र समाजमा खपाङ्गीको देन)

माथिका प्रश्नहरु अन्य नेपाली नागरिकलाई जस्तै मेरो मानसपाटलमा पनि झुन्डिरहेको बखतमा हुम सुनारी मगरद्वारा लिखित ‘नेपाली राजनीति र समाजमा खपाङ्गीको देन’ पुस्तक मेरो हात पर्छ तीन वर्षको लामो पर्खाइपछि । अरुले जेसुकै भनुन्, आज आफैँले आफैँलाई गर्वका साथ मपाईं भन्न मन लाग्यो यस पुस्तक प्रकाशनमा मेरो पनि सानो भूमिका रहेकाले । कुरो के भने सन् २०१२ मा खपाङ्गी बेलायत भ्रमणमा रहँदा उहाँसँग एउटा अन्तरक्रिया आयोजना गरेका थियौँ । मगर संघ बेलायतले उहाँलाई बुद्ध पूर्णिमा ओपन कन्सर्टका लागि आमन्त्रण गरेको थियो । म त्यतिबेला मगर संघ बेलायतको मिडिया सेक्रेटरी थिएँ ।
 
मैले उहाँसमक्ष केही प्रश्नहरु राखेको थिएँ, “इतिहास लोप हुनुका एउटा प्रमुख कारण लिखित दस्तावेज नरहेर हो । तपाईं एक शीर्ष नेतामात्रै नभाई एक दार्शनिक पनि हुनुहुन्छ भन्ने कुरा तपाईंका गहकिला र दुरदर्शीपूर्ण भाषणमा सुन्न पाइन्छन् । अब ती कुरा कहिले किताबमा पढ्न पाइएला ? हाम्रा सन्तानले खपाङ्गीका दर्शन र सिद्धान्त केकस्ता थिए भन्ने कसरी सम्झलान् ? कतै किताब प्रकाशन गर्ने सोच त छैन ?”

खपाङ्गीले सेतो दाह्रीलाई मुसार्दै जवाफ दिनुभयो, “नढाँटी भन्नुपर्दा हितान बाबु, सोच बनाएको त छैन । त्यसका लागि समय निकालौँला । महत्वपूर्ण सुझावका लागि धन्यवाद !“ 
 
त्यसपछि बेल्पालीहरु मिलेर उहाँका लागि आर्थिक सङ्लन ग¥यौँ । मगर संघ बेलायतका पदाधिकारीमाझ मैले कुरो राखेँ, “केही पैसा उहाँको पुस्तक निकाल्न छुट्याउने काम गरौँ ।” आज त्यही सानो सोधाइ र प्रयासको उपज यो पुस्तक हो कि भन्ने मलाई लागेको छ ।
त्यसै भ्रमणको सिलसिलामा अर्को अनौपचारिक भेटमा छ्वास्स खपाङ्गीलाई के पनि भनेको थिएँ भने, “तपाईं नेपाली मात्रै होइन, अन्तर्राष्ट्रिय नेता भइसक्नुभएको छ, महसुस गर्नुभएको छ कि छैन ? अब फेसबुक एकाउन्ट पनि खोल्नुपर्छ ।” नेपाल फर्केपछि उहाँले त्यो काम पनि गर्नुभएछ, हामी फेसबुके साथी भयौँ अनि मैले फेसबुकमा पुस्तक प्रकाशनको विषय बेलाबेलामा कोट्याइरहन्थँे ।

खपाङ्गी अङ्कल

खपाङ्गी र हाम्रो बीचमा पारिवारिक सम्बन्ध छ भने पनि हुन्छ । उहाँ र मेरो बुबा जयबहादुर हितान समकालीन हुनुहुन्छ । दुवै जना क्रमशः नेपाल मगर संघका संस्थापक सदस्य र सचिव हुनुहुन्छ । मगर संघको जन्म रुपन्देहीबाट भएको हुनाले २०३७÷ ०३८ सालतिर खपाङ्गी त्यतातिर आइरहनुहुन्थ्यो । धेरैपल्ट हाम्रो बुटवल घरमा आएर मेरो बुबासँग सँगै खानेबस्ने गरेकाले म उहाँलाई अङ्कल भनी सम्बोधन गर्थें ।

“हितान्नी नानी, नाकोई थोचो छो साह्रै जाप्चले ।” (हितान्नी बहिनीले साह्रै मिठो खाना खुलाउनुहुन्छ ।) भनी खाना खाएपछि मेरी आमाको तारिफ गर्नुहुन्थ्यो ।

“खै मिठो भयो कि भएन, खाना ! हामीलाई त दाइ, मगर कुरासुरा बोल्न आम्दैन ।” भनी आमाले जवाफ दिनुहुन्थ्यो ।
म छेवैमा उभिएर खपाङ्गीको सेतो दाह्री छक्क परेर हेर्थें । बुबा र उहाँका रसिला वार्तालाप मज्जा लागेर सुनिरहन्थेँ । ती दुई बुढाहरु भिन्न राजनैतिक सिद्धान्त बोकेका व्यक्ति भए तापनि नेपाल मगर संघको झन्डामुनि रहेर लामो अवधि सँगै काम गर्नुभयो । खपाङ्गीको बोली बढी चल्थ्यो भने हितानको कलम ।

सन् २००२ मा खपाङ्गी जापान घुमेर हङकङ आउनुभयो । हङकङ मगर संघको म संस्थापक सचिव थिएँ त्यतिबेला । महाधिवेशनमा हामीले निमन्त्रणा दिएर उहाँ आउनुभएको थियो । काउलुनको एक सभागृहमा कार्यक्रम थियो । प्रमुख अतिथिको आसनबाट उहाँले भाषण दिँदै गर्दा मान्छेको भिड बाहिर बाटोसम्म तन्केको मलाई सम्झना छ ।  

खपाङ्गीप्रति तुच्छ व्यवहार र पार्टी परित्याग

रङभेद र एकाधिकारविरुद्धको लडाईं लडेका नेल्सन मन्डेलाका बारेमा प्राय सबै राजनीतिक दलका नेता खुबै गुणगान गाउँछन् । तर त्यस्तै अभियान बोकेर हिँडेका खपाङ्गीको कटु आलोचना गरिन्छ । उत्पीडनमा पारेका आदिवासी जनजाति समुदायको मुक्ति र विभेदलाई अन्त्य गर्न अहोरात्र खटिएका, समावेसी र समानुपातिक सिद्धान्तमा आधारित व्यवस्थाको माग गर्ने महान् समाजवादी शिखर पुरुष हुुनुहुन्छ खपाङ्गी । यस्तो अतुलनीय देनले गर्दा खपाङ्गीलाई नेपाली जनताले मन्डेलाको स्तरमा उभ्याउँदै सम्मान व्यक्त गर्छन् ।

उच्च शिक्षा हासिलपश्चात् शिक्षण पेसामै छँदा नेकपा (माले) का सक्रिय सदस्य बन्नुभएको रहेछ खपाङ्गी । त्यसै पार्टीका एक नेताले “धरान, पोखरा, बुटवलजस्ता शहरमा बनेका मगुरालीका भवनहरु हामीले मागेका छौँ र, तिमीले पोलिटव्युरो र केन्द्रीय सदस्य माग्ने ?” भनी खपाङ्गीलाई तुच्छ व्यवहार देखाएछन् । सामावेसीको आधारमा अन्य जातिका नेतालाई पनि पोलिटव्युरो र केन्द्रीय समितिमा राखिनुपर्छ भन्ने माग गर्दा कुरा नमिलेर नै पार्टी परित्याग गर्नुभएको रहेछ खपाङ्गीले ।

खपाङ्गीको चुनावमा हार 

खपाङ्गी वि.सं. २०५६ को प्रतिनिधिसभाको चुनावमा पाल्पा क्षेत्र नं. २ बाट उठ्दा हामीले हङकङबाट हुमबहादुर थापाको संयोजनमा लाखौँ रुपैयाँ उठाएर सहयोग गरेका थियौँ । मगरहरुको बहुमत रहेको पाल्पाबाट पनि एक मगर उम्मेदवारले जित्न सक्नुभएन । वि.सं. २०४७ सालको संविधान नै उत्पीडित समाजको पक्षमा नरहेको ठहर गर्दै त्यही उत्पीडित समाजको वकालत गर्ने राष्ट्रिय जनमुक्ती पार्टीले खपाङ्गीलाई चुनावमा नउठाएको भएहुन्थ्यो । बरु लगातार शान्तिपूर्ण विरोध, जनचेतना, पार्टी संगठन र विस्तारमा लाग्दै अरु केही वर्ष सरकारमा जाने लालचा नदेखाएको भएहुन्थ्यो । झन्डै ७० प्रतिशत मगर समुदाय रहेको निर्वाचन क्षेत्रबाट उठ्दा पनि खपाङ्गीले हार व्यहोर्नुका कारणहरु राजनैतिक चेतनाको कमजोरीले हुनसक्छ । राजा ज्ञानेन्द्रले खपाङ्गीलाई चिलले टिपे झैं टपक्क टिपेर लगेको हो भन्ने अनर्गल प्रचारवाजी हुदा त्यसो होइन पार्टीको सिफारिसमा मन्त्री बनाइएको हो भनि जनमुक्ती पार्टी किन अनर्गल प्रचारको विरोधमा उत्रन सकेन ? उल्टै नेता खपाङ्गीलाई पार्टीबाट साधारण सदस्य पनि नरहने गरी निष्काशन गरेको तितो सत्य सर्वसाधारणलाई थाहा नहुनसक्छ ।

(राजा ज्ञानेन्द्रको पालामा मन्त्री पदका लागि दौडधुपको कथा यस्तो छ— त्यो बेला राजा ज्ञानेन्द्र समक्ष अध्यक्ष एमएस थापाको हस्ताक्षरमा जनमुक्ती पार्टीले १२ जना सिफारिस गरी पठाइएको थियो । सिफारिस भई जानेमा अध्यक्ष थापा पनि थिए । अध्यक्ष थापाले पठाएको १२ जनाको नामावलीमा एमएस थापा, श्रवनकुमार लिम्बू, बयानसिंह राई, हिमाल राई, रामबहादुर तुम्बाहाम्फे, गणेशवल तामाङ, सिंहबहादुर तामाङ आदि थिए । संभवतः नेता खपाङ्गीवाहेक अरु सवै जीवितै छन । उनीहरुसँग सोधपुछ गर्दा पनि कुरा छर्लङ्घ हुन्छ । यी व्यक्तिहरुमध्ये रामबहादुर तुम्बाहाम्फे जनमुक्ती पार्टीको अनुगमन तथा मूल्याङकन समितिको संयोजक छन ।)

दसैँटीका प्रकरण

खपाङ्गीको दसैँटीका प्रकरणले एकपल्ट नेपालामा तहल्का मच्चाएको थियो । जसले गर्दा खपाङ्गीको प्रसिद्धिको चुचुरो रातारात गर्लम्म ढलेको थियो । तर खपाङ्गीजस्तो दसँैप्रथाको विरोधी नेताले किन राजाको हातबाट टीका लगाउनुभयो त ? सबैको चासोको विषय थियो । राजनीतिमा सौदा गर्दा केही गुम्छ केही लाभ हुन्छ । लाभ प्राप्त गर्न राजालाई रिझाउनैपर्ने अवस्था सिर्जना भएछ त्यतिबेला । पाठशालाका पाठ्यक्रमबाट संकृत विषयलाई हटाउन आफूले गरेको प्रस्ताव स्वीकार हुन्छ कि भनेर खपाङ्गी राजाको हातको टीका थाप्न पुगेको उहाँ आफैँले बताउनुभएको छ । पछि सांसद्बाट त्यो प्रस्ताव पारित भयो । त्यतिले आफ्नो अस्तित्व गिरेपनि देशको ढुकुटीबाट बर्सेनी साढे चार अरब रुपैयाँ जोगाउन सफल भएको कुरा पनि उहाँले गर्नुभएको छ । त्यसरी देशको ढुकुटी बचाउन आफूले जोखिम मोलेको खपाङ्गी, दुर्घटनामा परेपछि सरकारले उपचारार्थ पाँच लाख रुपैँया मात्रै दिएछ । जब कि सरकारमा डाडुपन्यु सम्हाल्ने नेताहरुले करोडौँ रुपैँया उपचार खर्चका नाममा पाएका छन् । 

दसैँटीका प्रकरणपछि सुस्ताएका खपाङ्गीलाई सगरमाथा टेलिभिजनको अन्तर्वार्तामा आदिवासी जनजातिको आन्दोलन तुहिएको प्रसङ्ग कोट्याइन्छ । उत्तर उहाँले तुहिएको भए अशोक राई, चैतन्य सुब्बाजस्ता नेता कसरी जन्मन्थे भनी उल्टै प्रश्न सोध्दै आफ्नो विगतको नेतृत्वले धेरै सबल नेताहरु जन्माइसकेको कुरा गर्वका साथ गर्नुभयो । त्यसै अन्तर्वार्तामा ब्रामणवादको विरोधमा आफू किन उत्रिएको भनेर खरो तरिकाले प्रस्तुत हुनुभयो ।

दुर्घटना होइन षड्यन्त्र

आफूलाई घोक्र्याएर ल्याइएको भन्ने उहाँको भनाइले खपाङ्गी खुसीले होइन कसैको करकापले उक्त अन्तर्वार्तामा जानुभएको थियो भन्ने बुझिन्छ । यदि कसैले उहाँको मोटारसाइकल ठक्कर दुर्घटना होइन षड्यन्त्र हो भन्छ भने उक्त अन्तर्वार्ता प्रमुख कारण हुनसक्ने प्रशस्तै सम्भावना छ । मञ्चको भाषणभन्दा टेलिभिजनको अन्तर्वार्ता प्रभावकारी हुन्छ । त्यस्तो खालको अन्तर्वार्ता सायद खपाङ्गीको पहिलो हुनसक्छ । मञ्चमा सयौँ दर्शक हुन्छन् भने एक राष्ट्रियस्तरको टेलिभिजनका लाखौँ । मन्चअगाडि प्रायजसो सबै आफ्ना समर्थक हुन्छन् भने घरघर बसेर टेलिभिजन हेर्नेहरु विपक्षका पनि हुन्छन् । त्यसैलाई युट्युवमा हालिदिएपछि झन् अरु लाखौँ दर्शकले हेरे । यसरी उक्त अन्तर्वार्ता खपाङ्गीलाई मनपर्नेले पनि हेरे, मन नपर्नेले पनि हेरे नै । त्यसअघि खपाङ्गीका विचार कोठाभित्र समर्थकले भरिएका मञ्चअगाडि र केही स्थानीय तथा जातीय पत्रपत्रिकाका पानामा सिमित थिए । यसरी मास मिडियामार्फत् पहिला कहिल्यै प्रसारण गरिएको थिएन । फलस्वरुप खपाङ्गी विचार विरोधीहरुले काठमाडौँको कुनै उपल्लो तलामा खपाङ्गीलाई सदाका लागि पन्छाउने षड्यन्त्रको योजना बुनेको हुनसक्छन् ।

मोटरसाइकलले हानेपछि ढिलो गरी वीर हस्पिटल पु¥याइनु, मोटारसाइकलवाला पहाडे मुलको बाहुनछेत्री वा आदिवासी जनजाति नभएर मधेसी मुलको मुसलवान हुनु, मोटरसाइकलवाला पनि घाइते भएको र उपचारका क्रममा अचानक अस्पातलबाट त्यसै साँझ पुलिसले गायव बनाएको, अस्पातलमा एक डाक्टरले टाउकोमा र अर्को डाक्टरले पेटमा असर परेको भन्दै उपचारको जिम्मेवारी लिन नमानेको र ढिला गरेको, त्यसदिन घरमा आफू कतै नजाने जानकारी श्रीमतीलाई बिहान दिएको तर पछि अचानक कसैले फोन गरेपछि घरबाट निस्केको इत्यादि परिस्थितिलाई अनुसन्धान गर्दा उक्त दुर्घटना नभएर षड्यन्त्र हुनसक्ने थुप्रै सम्भावना छ ।        
राजनैतिक र सामाजिक क्रियाकलापमा सर्वश्व सुम्पेका खपाङ्गी काठमाडौँमा किरायामा बस्थे । उनी दुर्घटनामा परेपछि परिवारले खर्च व्यहोर्न सक्ने स्थिति थिएन । तर वास्तवमै उहाँलाई यति तिरस्कार गरिएको रहेछ कि न त उहाँको पार्टीले, न मगर समाजले, न आदिवासी जनजाति महासंघले नै उपचारको नेतृत्व लिने तत्परता देखाएछन् । त्यसैले त शङ्कर लिम्बूको संयोजकत्वमा ‘खपाङ्गी उपचार सहयोग समिति’ गठन गरिएको थियो । यसरी झन्डैझन्डै बिर्सिसकिएका खपाङ्गीलाई कसले दुर्घटनाको छानविन अगाडि बढावोस् ।
अनुसन्धानलाई अगाडि बढाइएको भए निम्न लिखितअनुसारको प्रश्नको उत्तर खोज्न सकिन्थ्यो–
फोन ट्र्याक गरेर कसले कहाँबाट फोन गरेको थियो र फोनमा के वार्तालाप भएको थियो ?

मोटारसाइकल सवार मुसलमान नेपाली नागरिकको भक्तपुरको बसाइँ हो कि होइन ? चुराको व्यवसाय वास्तविक थियो कि थिएन ? उनको नेपाली नागरिकता कहाँ र कहिले दर्ता भएको थियो ? मोटारसाइकल कहाँ, कहिले र कसको नाममा रजिष्ट्रड भएको थियो ?

१५ भाद्र २०७४  

(बुटवल, हालः फक्स्टोन, बेलायत)

 (समय सान्दर्भीक भएकोले यो लेख पु:न प्रकाशित गरिएको छ ।)

को हुन लेखक विजय हितान ?

३० मंसिर २०६६ तदनुसार १५ डिसेम्वर २००९ मा श्रद्धेय नेता गोरेबहादुर खपाङ्गीको आफ्नै हस्तलिखित संस्मरणमा भनिएको छ, ‘नेपाल मगर संघको संस्थापक केन्दीय सचिव श्रद्धेय जयबहादुर हितान । जन्मस्थल पौदी गुल्मी भई बुटवल मिलनचोकमा स–परिवारको बसोबास । तिनै जयबहादुर हितान हुन जसले मगर संघले एउटा विद्यार्थी संघ बनाउनुपर्छ भनि पहिलोपल्ट मौखिक प्रस्तावै ल्याउनुभएको थियो, जुनबेला उहाँ पूर्व भइसक्नुभएको थियो । नेपाल मगर संघको भातृसंगठन नेपाल विद्यार्थी संघ निर्माणमा हितानको ठूलो भूमिका थियो । काठमाडौंको बागवजार हाल खसी वजारस्थित तत्कालीन अल्फा गेष्ट हाउसमा मगर संघको केन्द्रीय कार्यालयमा रहेको बखत हितानको सो प्रस्ताव आएको थियो ।’
`
लेख्दै जादा नेता खपाङ्गी लेख्नुहुन्छ, “नेपाल मगर विद्यार्थी संघका लेखक मगरले त्यहाँ प्रकाशन हुन लागेको मुख पत्रमा सानै भएपनि एउटा लेख मेरो राख्ने रहर साथ मलाई सम्झेकोमा एक्कासी मैले जयबहादुर हितानमगरलाई सम्झन पुगेँ र लेख्न पनि थालिहालेँ, यो हितानवाटै पाएको उर्जाको फल हो ।”
यस्तो विशाल विरासत बोक्नुभएका श्रेद्धय जयबहादुर हितान ज्यूको जेठो छोरा विजय हितानमगर हुनुहुन्छ र उहाँ हाल युकेस्थित वातावरण विभागमा कार्यरत हुनुहुन्छ ।  

Last Updated on Thursday, 31 August 2017 04:14

Hits: 1620

आफ्नै हिरोको खोजीमा छन् तामाङहरु

अमृत योन्जन तामाङ

----प्रायः प्रत्येक आइडल प्रतियोगिताहरुमा किन तामाङले जित्छ ? यसपाली पनि तामाङ आइडल बुद्ध लामाले नै जित्छन , किन ? यसको एउटै कारण छ - तामाङहरु आफ्नै हिरोको खोजीमा छन्। त्यस्तो हिरो जो तामाङ समुदायको लागि उच्च आदर्श पनि बनोस्।

अहिलेसम्म नेपालका १६ लाख तामाङहरु माझ न कुनै सामाजिक-सांस्कृतिक हिरो छ, न राजनीतिक हिरो नै, न ऐतिहासिक हिरो छ, न त साहित्यिक नै। नेपाली राज्यसत्ताले उनीहरुका हिरोहरुको पत्ता साफ गरिसकेको छ । राणाकालमा उनीहरुले दुइपल्ट राज्यविद्रोह गरेका थिए। नेपालमा राज्यविद्रोह गरेको इतिहास बोक्ने जाति नेपालमा तामाङ मात्र हो तर उनीहरुले रचेका इतिहासका हरफहरु पनि मेटाईदिए , पत्तासाफ। सात साल होस् वा सत्रसाल, छत्तीस होस् वा छयालीस वा १० वर्षे युद्धकालमा नै किन नहोस् तामाङ जातिको बलीदानीको सूची लामो छ, ९६४ जना भन्दा धेरै सहिद। तर नेपालको नश्लवादी सत्ताले उनीहरुको बलिदानीलाई कहिल्यै कदर गरेन। कुनै तामाङलाई सहिद घोषणा गरेन। बरु नामोनिसान मेटाउने प्रयत्नरत् गरी रह्यो। त्यसर्थ उनीहरु जहिले पनि आफ्नो हिरोको खोजीमा हुन्छन् र खोजीमा रहन्छन्। यस्ता मौका चुकाउन चाहदैनन्।

यस पटक पनि तामाङहरुले तन मन धनले नेपाल आइडल जिताउँने छन । जिताउँदै आएका पनि छन्। उनिहरुले प्रशान्त तामाङ लगायतकालाई जिताइसकेका छन्। इतिहास साक्षी छ। उनीहरुलाई सहयोग गर्नेहरु पनि कम छैनन्। कुनै जज वा राज्यसत्ताको हातमा अधिकार भएसम्म तामाङहरु चलमलाउँदैनन्। राज्य कहिल्यै उनीहरुको पक्षमा भएनन्। तसर्थ उनीहरुबाट कुनै न्यायको आसा नै गर्दैनन् । पिर मर्का खपेरै बस्छन् । र अहिले आइडल छान्ने अधिकार जजहरुको हातबाट दर्शकको हातमा गइसकेको छ। त्यसैले उनीहरु बेजोडले चलमलाउन थालेका छन्।


विश्वमा एक लाख सदस्यको सञ्जाल रहेको दावी गर्ने "तामाङ डेटाबेस" Tamang Database ले सूचना जारी गरी आफ्ना सदस्यहरुलाई भोट हाल्न आग्रह गरिसकेको छ। उसले ९ बुँदामा सत्तासिन जातिले के कस्ता भ्रमहरु फैलाउन सक्छन् र कसरी सतर्क रहने भनी होसियारी पनि गराइसकेका छन्। यसपटक पनि देशबिदेशमा पैसा उठाउने कार्यको थालनी भइरहेको छ। ठाउँठाउँमा, कुनाकुनामा, घरबारमा पैसा जम्मा गर्न पनि थालिसकेका छन्।

के बुद्ध साँच्ची कै योग्य छ ? के ऊ जित्ने लायकको छ ? तामाङहरुसँग उत्तर छ- अहिलेसम्मका योग्यहरुले के नापेका छन् र ? जान्नेहरुले के गरेका छन् र ! सातसालदेखि यताको ६० वर्षका अवधिमा कतिलाई जितायो जितायो ? कतिलाई हिरो बनायो बनायो- बिपिदेखि प्रचण्डसम्म। खै के पायो तामाङहरुले। मात्र सेवक हुने मौका । सेवकको दर्जा।

हो, बुद्ध लामाले अहिलेसम्म न तामाङ पहिचान झल्काउने गरी पहिरन लगाएको छ, न तामाङ गीत नै गाएको छ, न तामाङ संस्कृतिको बारेमा एक शब्द नै बोलेको छ। उल्टै नश्लबादको चपेटामा परेकी दिदीको वयानले तामाङ जातिको मन कुडाएको थियो। केहीले रिस पनि पोखे । हटात डेन्जर जोनमा पनि पुर्याइदिए। तर पनि उनीहरु यो नश्नवादीको षड्यन्त्र हो भनेर भोट हाल्न लागि राखे। उनलाई टप ३ मा पुर्याइछाडे। यस्तै, हालसम्म जितिसकेका आइडलहरुले नै पो के गरे र ? प्रशान्त तामाङ गायनमा फल्प भएर नाचेर हिडन थाले। झन् एक जना आइडलले त जितिसके पछि सरकारी पत्रिका "युवा मञ्च"को पृष्ठभरि तामाङ विरुद्ध वमन नै गरे। त्यो उसले गरे वा गराए। त्यसतर्फ तामाङहरुको कुनै चासो छैन, रहेन। "ऐसा होता है, होता रहता है" भन्ने ठान्छन्। उनीहरुको मूख्य ध्येय सत्तासीन जातिलाई बल्ड्याङ खुवाउनु हो। अहिले पनि उनीहरु शासक जातिकाहरुलाई "थुस्क्याना लाबा" अर्थात् माटो सुघाउन चाहन्छन्। बस! वास्तवमा उनीहरुको आक्रोस ब्याक्तिसँग होइन, सत्तासँग हो, सत्तासीन जातिसँग हो, सेवक मात्र बनाउने शासक सँग हो।

किनकि तामाङहरुसँग २५० वर्षदेखि नेपाली नश्लवादी सत्ताले दलेको तुष छ। उनीहरुको भूमि लुटेको कथा छ। उनीहरुको स्रोतसाधानका दोहन गरेको व्यथा छ। ऐतिहासिक भरिया बनाएको इतिहास छ। उनीहरुका पूर्खालाई यिनीहरुकै पुर्खाले पिपा, ढोके, छाते, हुक्के आदि कमारो बनाएर लुटेकोमा रोष छ, छोरीचेलीलाई धाइआमा बनाएर लुटेको, मोजमस्ती गरेको, भाषा, संस्कृति, परम्परा कुल्चेको, शिक्षामा जातिहत्या (जेनोसाइड) गरिरहेको अत्यासपूर्ण चित्रण छ। यस तुषलाई गायक रामकृष्ण ढकालले जानी वा नजानी बल्झाइदिदा उनीहरु झनै आक्रोसित बनेका छन्। यसै कारणले बुद्धलाई ११ लाख मत दिएर माथि उकासे।

फेरि पनि भन्छु- नेपाल आइडलका वुद्ध लामा सुयोग्य व्यक्तित्व होइनन्। तामाङलाई त्यो हो होइन जान्न आवश्यकता पनि छैन। जस्तै, अनलाइन शब्दकोशले आइडलको अर्थ यसरी दिएको रहेछ ༙Idol - some one who is adored blindly and excessively ! तामाङहरु यिनै शव्दवली भने जस्तै हिरोका अन्धभक्त हुन्। आइडल जिताउँन दिलोज्यानले आतुर हुन्छन्।अर्को कुरा, अमेरिकामा किन काला जातिका नागरिकहरु गीत-सङ्गीत र खेलकुदमा मात्र अगाडि छन्? गुदी कुरा के हो भने अोबामा लगायतका एक दुइलाई छाडेर उनीहरुलाई मुलधारको राजनीतिबाट अलग्याएका छन्। सेवक ठानेका छन्। सत्ताले बेलामौकामा अपराधीको सूचीमा पनि राख्ने गर्दछन्। यसर्थ उनीहरुको विकल्प नै रिस्की खेल वा गीतसंगीत मार्फत् हिरो हुनु हो। गोरा शासकहरुलाई गरी देखाउने मनोविज्ञान हो।

नेपालमा पनि मूलधारले ऐतिहासिक कालदेखि राजनीति, शिक्षा, स्वास्थ्य, रोजगारी आदिमा तामाङहरुलाई रैतीको जस्तै व्यवहार गर्न थालेपछि र लोकतन्त्रमा पनि उनीहरुलाई अनागरिक ठाने पछि र कहिलेकाही राज्यले अनाहकमा अपराधीको सूचीमा पनि उनीहरुलाई राख्ने गरेपछि यस्ता नश्लवादी सोच र चिन्तनको विरुद्ध तामाङहरु ज्यान छोडेर लागि परेका हुन् र हाललाई योभन्दा अर्को विकल्प पनि उनीहरुले फेला पार्न सकेका छैनन्। तर अमेरिकाको काला नागरिक र नेपालका तामाङमा के फरक छ भने काला जातिलाई उनीहरुका मुलुक अफ्रिकाबाट चोरेर अमेरिकामा कठोर श्रमका लागि ल्याइएका हुन् भने तामाङहरु यही माटोका अधिकार सम्पन्न धर्तीपुत्र हुन्। उल्लेखनीय कुरा के हो भने यस पटकको स्थानीय चुनाउमा प्रदेश नम्वर ३ मा २८ प्रतिशत अोगटेका तामाङहरुले २७ प्रतिशत स्थान ओगटन सफल भएका छन्। केन्द्रमा ५.५ प्रतिशत जनसंख्या रहेता पनि २.५ प्रतिशत भन्दामाथि राजनीतिक स्थान कहिल्यै हासिल गर्न नसकेको अवस्थामा यो निकै ठुलो उपलब्धि हो । यसले उनीहरुलाई सेवकबाट शासकतिर उन्मूख गराउने छ।


यसर्थ "वुद्ध राम्रो पनि हो र हाम्रो पनि हो" भनेर उसलाई आइडलमा जिताउन तामाङहरु धुमधामसँग लागि परेका छन्। विश्वका कुना कुनामा रोजगारीको क्रममा रहका तामाङहरुले दिलोज्यानले कोष जोहो गरेर भोट हाल्न तम्तयार छन्। बुद्ध जस्ताहरुले तामाङ पहिचानलाई बोके पनि नबोके पनि आइडलको प्रतिस्प्रधि मार्फत् तामाङ एकता झन् बलियो भइरहेको छ। भोलिको तामाङ भूमि निर्माणमा यस्ता आइडल प्रतियोगीताहरुले तामाङलाई एकसूत्रमा बाँध्न मद्दत पुर्याइरहेने छन्। पहिलो पाइला नचाले सगरमाथा पुग्न सकिन्न भने झै एक दिन साँच्चिकै तामाङ समुदायले तामाङ माटो, पहिचान र समुदायलाई माया गर्नसक्ने "आदर्श हिरो" पाउनेछ।

राणाकालदेखि नै तामाङ समुदायको उच्च आकांक्षा रहेको छ - "म्हेला स्या थेन म्ह्लाला कान, खाइमा धे ताला म्हान्बा राङ" (गोरुको मासु धानको भात, कहिले पो होला सत्तासाथ)। त्यो दिन अब धेरै टाडो छैन। ल्हास्सो ! सबैमा शुभकामना !

Last Updated on Tuesday, 19 September 2017 17:13

Hits: 385

नेपाली संगीतिक क्षेत्रका अमर नक्षत्र स्व. अरुण थापा मगरः अलविदा

प्रेम रोकामगर
Image may contain: 1 person

सामान्य परिचय
वि.स. २००८ पौष महिनामा भारतको कलकत्तामा जन्मिएका स्व. अरुण थापामगर ३ महिनाको हुँदा बाबाआमाको साथमा नेपाल आएका थिए त्यसपछि नेपालमै हुर्केे, बढे र पढे पनि । जेपि हाइस्कुल, क्षेत्रपाती, काठमाडौंमा उनले पहिलो पटक पढ्नको निम्ति भर्ना भए । सानो छँदा अलि बदमास भएको कारण बाबा आमाले उनलाई थप अध्ययनको लागि टर्नबुल हाइस्कुल, दार्जिलिङमा पठाए । उनले कक्षा १० सम्म दार्जिलिङमा पढे र एस.एल.सीको परीक्षा नेपालमै आएर दिए । एस.एल.सी पास भएपछि उनले क्याम्पस पढ्नको लागि पोखरामा रहेको पि.एन.क्याम्पसमा भर्ना भए । उनको सानै देखि गीत गाउने रुचि  र संगीतमा रमाउने बानी थियो ।

थापाको एक सम्झना : ढुङ्गेल

वि.स. २०४० साल तिर सोल्टी होटलमा गीतकार सुवास चन्द्र ढुंगेलले पहिलो पटक अरुण थापालाई भेटे । अरुण त्यहीँ काम गर्थे । गीतकार ढुंगेलले एउटा एल्बमको तयारी गर्दै थिए । आफ्ना दाजुको सहयोगमा उनले थापालाई भेटेका थिए । उनले आफ्नो इच्छा व्यक्त गरेपछि अरुणले सुवासलाई भने, हुन्छ तिम्रा गीतहरु मलाई देऊ मलाई मनपर्यो भने गाउँछु । उनले दुई तीन वटा गीत दिए । अरुणले दुई तीन वटा हैन १२/१३ वटा गीत मागे । उनले सोधे, किन १२/१३ वटा दाई ?अरुणले जवाफ फर्काए, मेरो गीत गाउने बेग्लै तरिका छ । ती गीतबाट म आफूलाई मेल खाने र मेरो जीन्दगी मिल्ने गीत छानेर गाउँछु । सुवासले अरुणको हातमा थमाएका गीतमध्ये ‘चोट के हो व्यथा केहो’, बोलको गीतलाई विशेष मनपराए । उनले भने सुवास भाई, यो गीत म गाउँछु, कसैलाई नदेऊ है । आफ्नो जीवनमा असफल प्रेम भोगेका अरुणसँग मनमा प्रेम विछोडको गहिरो पीडा थियो । त्यो गीतमा उनले आफ्नो जीवनको पीडा पाए । त्यसैले उनले त्यो गीत आफ्ना लागि बुक गरे ।

साउन ५ गते गायक अरुण थापाको पुण्य तिथी हो । आफ्ना कालजयी पीडा भरिएका गीतका लागि थापाको सम्झनामा उनीसँग नजिकको सम्बन्ध भएका साथीहरू, उनलाई चिन्ने श्रोताहरु, मगर संघ, मगर विद्यार्थी संघ तथा अन्य संस्था एवं विभिन्न अन्य सांगितिक क्षेत्रसँग सम्बन्धित भएका संघ संस्थाहरुद्वाराअरुण थापा मगरको पुण्य तिथीमाउनको सम्झनामा साँस्कृतिक तथा अन्य थापासँग सम्बन्धित कार्यक्रमहरु गर्ने गरिन्छ ।

उनले आफ्नो जीवन विसाए पछि उनलाई श्रद्धाञ्जलीका लागि एकेडेमी राखियो । त्यहाँ राखिएको व्यानरमा लेखिएको थियो । चोट के हो ? व्यथा के हो ? त्यो प्रश्न आज पनि छ । धेरैले त्यसलाई उनको प्रेम वियोगले दिएको चोटको भुटभुटी ठान्छन तर त्यो चोट र व्यथालाई व्याख्या गर्ने उत्तर कोहिसँग छैन् । सायद अरुणलाई भन्न सक्ने शब्द नै छैनन् । गीत लेखेका सुवाससँग पनि त्यसको ठोस उत्तर छैन् । ढुङ्गेलसँगको कुराकानीमा उनको मुखबाट खुस्क्यो ‘प्रेम’ । अरुणले पनि जीवनमा कसैलाई प्रेम गरेका थिए । त्यो पीडालाई उनले गीतमा पोखे र जीवनमा अगाडि बढे तर त्यस्तै पीडाबाट गुज्रिएको थापाको हकमा त्यसो हुन सकेन् । उनी त्यसमै पिल्सिरहे ।

चोट केहो ? व्यथा के हो ?, म जस्तो घाइटेलाई सोध ।
मिलन के हो ? खुसी के हो ?, मसँग कहिल्यै सोध्दै नसोध ।

यो गीत उनको हृदयको एकदम नजिक थियो । अरुणको अन्तिम भनिएको एक अन्तवार्ता उनलाई आफूले गाएका गीत कुन गीत असाध्यै मनपर्छ ? भनेर सोध्दा दुईवटा गीतको नाम लिएका थिए । ‘चोट के हो ? व्यथा के हो ?’ र ‘म रोए पनि तिमी हाँसी दिनु’ गीत आफ्नो जीवनसँग नजिक रहेको र मेल खाने भएकाले मनपर्ने बताएका थिए । उक्त अन्तर्वातामा उनले, ‘मलाई मेरो सबै हिट गीतदेखी सन्तुष्टि छ । तैपनि प्रायः मलाई हृदय छोएको, हर्ट टच गरेको गीत ‘चोट के हो ? व्यथा के हो ? र ‘म रोए पनि तिमी हाँसी दिनु’ हो । यी दुईवटाले चाँहि मलाई अलिकति हृदयलाई छोयो भनुँ न । एउटा कुरा त फिलिङ्स पनि राम्रो आउँछ भन्छन् अरुण । उनलाई पनि त्यो फिलिङ्स गीतमा राम्रो आएको लाग्थ्यो । पहिल्यै देखि भावुक गीत मन पराउने उनलाई ती गीत अरुभन्दा बढी नै प्रिय लाग्थे । सुवासले उक्त गीतसँग जोडिएको केही यादको सम्झना गरे । गीत रिलिज भएपछि ठिकठिकै चल्यो तर उनको निधनपछि चाँहि त्यो गीत बढी नै चल्यो । उनले २०४५ मा निकालेको १० गीतको एल्बमको कभर गीत थियो त्यो गीत । उक्त एल्बममा अरुणले तीन वटा गीत गाएका छन् ।

उनले त्यो गीत बाहेक ‘पारि गयौ किन अधुरो यो जीवनमा’ र ‘अरुसँग नजोख मलाई’ बोलका गीत गाएका थिए । उनका लागि भनेर चौथो गीत पनि तयार पारिएको थियो शिलाबहादुर मोक्तानको संगीतमा तर बिग्रदो स्वास्थ्यका कारण दुई दिनसम्म कोशिस गर्दा पनि गाउन सकेनन् र पछि ‘पिएर आँसु आफ्नै प्यास म मेटूँला’ बोलको गीत उमेश पाण्डेको स्वरमा रेकर्ड गरियो । भनिन्छ, टुक्रिएको मनबाट जीवन्त संगीत निस्कन्छ । अरुणको जीवनलाई नियाल्दा पनि त्यस्तै अनुभूति हुन्छ ।
वि.स. २०५५ सालको अन्त्य–अन्त्यतिर फेरि अरुणसँग सुवासको भेट भएको थियो । भेटमा आफ्ना लापरवाहीले स्वास्थ्य बिग्रेर गीत गाउन नसकेकोमा उनले दुःख व्यक्त गरे । सुवास राम्रो राम्रो गीत गाउने बेलामा गाउन सकिरहेको छैन । ठिक भएपछि गाउनुपर्छ राम्रो राम्रो गीत लेखिराख है । अरुणले आफूलाई यति माया गर्ने श्रोताका लागि अरुराम्रा गीत दिन सक्ने हुँदाहुँदै पनि त्यसो गर्न नसकेकोमा सुवाससँग दुःख मनाउ गरेका थिए । त्यसको केही महिनापछि उनको निधनको खबर प्राप्त भयो ।

Image may contain: 1 person
अरुण भन्छन् : जीवनमा सबथोक पाएँ र फेरि सबै गुमाएँ
पोखराको पि.एन.क्याम्पस उनको लागि एउटा देखाउने बहाना मात्र थियो । उनको मन संगीत तर्फ खिचिएको थियो । सानै देखि गीत गाउन रुचि राख्ने अरुण सानो छँदा प्रायजसो हिन्दी क्लासिकल गीतहरू र नारायण गोपालका गीतहरू गाउथे गर्दथे । अरुणलाई किशोर कुमार, ममोद्राफी र मुकेश यी ३ मनपर्ने इन्डियन सिङ्गरहरू र नारायण गोपालका गीतहरूबाट प्रभावित हुन्थे र उनीहरूकै गीत गुनगुनाउथे ।खासै हित नभएपनि उनले ‘कतै टाढा तिमीबाट पुगे भने कल्पेर नबस्नु ठूलो छ संसार हजार छ मुटु आफैमा हराई बर्बाद नहुनु’ पहिलो गीतको रुपमा गाएका थिए । अत्यन्त मीठो स्वरसँगै भावनामा डुबेर गाउने अरुणले पछि ‘जति माया लाए पनि जति कसम खाए पनि’ बोलको गीत गाए जुन निकै हित भयो ।उनका सहकर्मी विक्रम गुरुङको लेखन तथा कम्पोजमा अरुण आफैले संगीत भरेको उक्त गीतले गर्दा होला उनको जीवन दैनिकी नै परिवर्तन भएको अरुण बताउछन्। गीत संगीतको क्षेत्रसँगै उनले करिब ४ वर्ष जति नेपाल बैंकमा पनि जागिरेको रुपमा काम गरेको बताउछन् । अरुण भन्छन् मेरो सांगीतिक यात्रामा धेरै सहयात्रीहरू मध्ये दीप श्रेष्ठ पहिलो यात्री हुन् । हामी प्राय सँगै खाने, सँगै हिड्ने, बस्ने गर्दथ्यौं । उनी गाउने मात्र होइन गीत लेख्न पनि मन पराउँथे तर एक जना मानिस दुईवटा डुङ्गामा एक एक वटा खुट्टा राखेर यात्रा गर्न खोज्यो भने लड्छ भन्ने उनको मान्यता थियो ।

निकै कम उमेरमै गीत संगीतमा होमिएका अरुण थापा मगरले सांगीतिक प्रस्तुतीको रुपमा पहिलो पटक क्याम्पसमै गीत गाए र क्याम्पसमा गीत गाएरै उनी प्रेममा परे ।पोखराकी नेवार परिवारकी विमलासँग उनको प्रेम गहिरो थियो ।करिब २ वर्ष जति प्रेममा परे यो कुरा केटीको परिवारलाई स्वीकार्य थिएन ।

वि.स. २०३४/०३५ साल तिरको कुरा हो । (थापाको अन्तिम अन्तर्वाता)प्लेनमा भाग्ने योजना बनाएका उनीहरु अन्तिम समयमा फ्लाइट क्यानसिल भएपछि ट्याक्सीमा काठमाडौं भागेका थिए । ६ महिना उनीहरूसँगै बसे तर परिवारको पछि झुक्याएर विमलाको अन्तै विवाह गरिदिए । त्यसपछि अरुणको जीवन भताभुङ्ग भयो । नशा उनको पीडा भुलाउने बहाना बन्यो तर छातिभित्र चोट बोकी बाँचेका अरुणले लिएको नशाको साहारा जीवन छोट्याउने माध्ययम मात्र थियो । उनले दोस्रो विवाह पनि गरे, एउटी छोरी जन्मेको केही समयपछि त्यो पनि सकियो । उनीमाथि पीडाको अर्को खात थपियो ।

अरुण गीतका लागि प्रेम वियोगले प्रेरणा दिएको बताए पनि नशामा धुत हुँदा सुधारगृहसम्म पुगे तर त्यसले पनि सुधार गर्न सकेन । उनलाई नेपाली सांगीतिक आकाशले एउटा नक्षत्र गुमाएको ठान्दछ । नेपाली संगीतले उनीबाट अझै धेरै पाउन सक्थ्यो जुन केबल हाइपोथेसिस मात्र बनेको छ । जीवनको अन्तिम समयमा उनी रोगसँगै धनको अभावबाट पनि पिल्सिएका थिए । उनलाई सरकाले हेरोस् भन्ने चाहना थियो तर त्यसो हुन सकेन । उनी भन्थे, सहयोगको आशा त छ तर आफै गएर भन्न अप्ठेरो हुन्छ । फेरी बिरामी भएर ओछ्यानमा थलिएको बेला कता जान सकिन्छ र ?

अरुणका साथीहरू भन्छन् अरुण बिग्रनुमा कसैको अभिभावकत्व नपाउनुलाई मान्छन् । परिवारमा कोही बिग्रियो, कुलतमा फस्यो भने उसलाई कि बाबु आमा कि श्रीमतीले सुधार्न खोज्छन तर अरुणलाई सुधार्ने कोही भएनन् । उनी त्यो बाटोमा हराए जहाँ जान अत्यन्तै सजिलो थियो तर फिर्ता आउन उस्तै कठिन्, उनी फर्किन सकेनन् ।
थापाले थोरै तर गुणस्तरिय गीत गाए । जम्मा ३६ वटा मात्र गीत गाएर यस स्तरको प्रसिद्धि प्राप्त गर्ने उनी सम्भवतः एक्ला नेपाली गायक हुन् । उनी कतिसम्म चर्चित थिए भने सन् २००३ मा बिबिसीले गरेको संसारका उत्कृष्ट १० गीतको सूचिमा उनले गाएको ‘ऋतुहरुमा तिमी हरियाली बसन्त हौ’ बोलको गीतले सातौं स्थानमा आफूलाई अटाएको थियो । उनको यो सफलताबाट जोसिएका झम्सीखेलमा स्थानीयले उनको सालिक बनाए जसलाई आज अरुण थापा चोकले चिनिन्छ ।

उनले नेपाली गीतसँगै एउटा भजन र मगर भाषाको भाषिक गीत पनि गाएका छन् । ती पनि उस्तै सुनु सुनु लाग्नेछन् । यी श्रष्टा बितेको देढ/दुई दशक बितिसकेको छ तर उनका गीत अझै जीवन्त छन् । आज पनि उनलाई मनपराउनेहरुको जमात ठूलै छ । अन्तमा उनी भन्छन्, “जीवनमा सबथोक पाएर फेरि सबथोक गुमाए । कहाँ पुग्नु थियो मलाई कहाँ हो कहाँ पाइला बढाए । तर म यस्तै अन्योलमा रमाउने मान्छे । मलाई रुखो सहानुभूति नै प्यारो छ । यहाँ तिर् बिसाउनै गाह्रो छ” । असफल प्रेमपछि पीडा भुलाउन नशालाई शहारा मानेर दुव्र्यसनको दलदलमा आफ्नो जीवन समाप्त पारेका थापाले वि.स. २०५६ साउन ५ मा बाघबजारको यात्री गेष्ट हाउसमा चोट र व्यथाले भरिएको जीवनको अन्तिम सास फेरेका थिए ।

नेपाली सुगम संगीतका अमर नक्षेत्रका रुपमा लिइने स्व. गायक मगरले४७ वर्षको उमेरमा नै अलविदा भने पनि ‘ऋतुहरुमा तिमी हरियाली बसन्त हौ’, ‘जति माया लाए पनि’, ‘मेरो गीत सबै तिमीलाई’, ‘चोट के हो, व्यथा के हो’,‘आँखाको निद खोसि लानेलाई’, ‘साँझको जुन सँगै’, ‘यो मनको के भर हुन्छ’, ‘जीन्दगी के छ र आखिर’,‘भुलुभुलु लाग्यो मलाई’,‘दोष कसैलाई दिन चाहन्न म’, ‘करोड मुटुहरुको एउटै ढुकढुकी नेपाल’ , ‘लाग्न थाल्यो जीवनमा मेरो कथा यस्तो’जस्ता दर्जनौं कालजयी गीतले उनलाई अमर बनाइ राखेको छ र तिनीहरूले कहिले पनि बिदा माग्नेछैनन् ।
लेखक: नेपाल मगर विद्यार्थी संघका, केन्द्रीय सदस्य

Last Updated on Thursday, 20 July 2017 16:23

Hits: 397

हार्दिक श्रद्धान्जलि - एक बहादुर राना मगर
हार्दिक श्रध्दाञ्जलि - गोरे बहादुर खपांगी