A+ A A-

जय मगर,जय मगरात

 

काठमाडौं । नेपालका करिब बीस लाख मगरहरुको प्रतिनिधित्व गर्दै निर्माण गरिएको मगर राष्ट्रिय गीत ‘जय मगर’ सार्वजनिक गरिएको छ ।

 

मनास्लु मिडिया प्रा.लि.को तेस्रो वार्षिकोत्सवको अवसरमा शुक्रबार काठमाडौंको राष्ट्रिय नाचघरमा आयोजित कार्यक्रम गरी उक्त गीत सार्वजनिक गरिएको हो ।

 

गीतको रचना र संगीत मनबहादुर पुनको छ । उनी पत्रकार तथा लेखक समेत हुन् । उनी प्रालिका अध्यक्षका साथै मनास्लु पोष्ट डटकमका प्रधान सम्पादक समेत हुन् ।

 


मगर राष्ट्रिय गीतमा ५१ जना मगर गायक तथा गायिकाहरुको स्वर छ । यो नै यसको प्रमुख विशेषता हो ।


संघीय संसदको शिक्षा तथा स्वास्थ्य समितिको सभापति जयपुरी घर्तीबाट उक्त गीत सार्वजनिक गरिएको हो । उक्त गीत युट्युबको मनास्लु टिभीमा राखिएको छ । सो अवसरमा विभिन्न क्षेत्रका ३१ जना व्यक्तिहरुलाई कला मनोरञ्जनका विधा अनुवार अवार्ड समेत वितरण गरिएको थियो ।सार्वजनिक ड्ट कम 

Last Updated on Monday, 13 January 2020 18:10

Hits: 264

भिसिका मित्र (कथा)

बिजय हितान

Image may contain: 1 person

घाइते सिपाही । दूर देश । रोयल पेभिलियन अस्पातल ब्राइटनमा । यतिबेला मेरो स्वास्थ्यमा केही सुधार आइसकेको थियो । मैले दोभाषे काम पनि गर्थें । आठ क्लाससम्म अंग्रेजी, हिन्दी र उर्दू पढेको काम लाग्यो । मेरो अंग्रेजी भाषा पल्टन जोइन भएपछी अझै निखारिएर आएको थियो । पल्टनमा एक अंग्रेज सेकेन्ड लेफ्टेनेन्ट साहेबको अर्दली गरेको थिएँ । उसलाई गोर्खाली सिकाएँ, मैले मज्जाले अंग्रेजी सिकें ।    


म जस्तै घाइते भएर याँहा ल्याइएका पठान र मुसलमान सिपाही उर्दू मात्रै बोल्थे । गोर्खालीले नेपाली मात्रै अरु इन्डियनले हिन्दी मात्रै । मैले गोरा मेडिकल स्टाफ र यि सिपाही बिच दोभाषेको भूमिका निभाउनु पर्यो । यसो गर्दा परोपकारी काम गरिरहेको छु भनेर आत्मा सन्तुष्टी मिलेको अनुभुती हुन्थ्यो । यो मेरो सहयोगमा कुनै स्वार्थ जोडीएको थिएन । प्रमोशनको लोभ छैन । नाम र ठुलो दर्जा कमाउनु पनि छैन । बस ! बाउबाजेले गर्दै आएको पुर्खौली पेशा रोजियो । जानेर या नजानेर । बाउआमाले इन्जिनियर, डक्टर, नेता, बिजिनेसमेन हुनपर्छ कहिल्लै  भनेन । आफुलाई ति पेशाहरु हुन्छन भनेर पनि ज्ञान भएन । बन्दुक, परेड, पल्टन र युद्द जस्ता परीबेशमा जन्मियौं हुर्कियौं । लाहुरे बाहेक के नै हुन लेखेको थियो र ? दु:ख त भारिबोक्ने भरियालाई पनि हुन्छ । हलो जोत्ने हलीलाइ पनि । यस्तै कुराहरु मनमा खेलिरहन्थे ।


युद्दको मैदानमा साथीहरुसङै हुन नपाउँदा कताकता आत्मग्लानी न लागेको हैन । फ्रन्टलाइनमा फर्कन्छु भनेकै हो मैले डक्टरलाई तर के गर्ने ? डक्टरले नै तिमी अझै फिट भैसकेका छैनौ टाउकोको चोट अझै राम्रोसँग सन्चो भएको छैन भनेपछी मैले के गर्ने ?


सेप्तेम्बर २९ का दिन घाइतेको अर्को एक समुह अस्पातल ल्याइयो । त्यसमा केही गोर्खाली पनि थिए । सबैभन्दा पहिला तिनिहरुलाई नयाँ कपडा फेराईयो । पुरानोलाई जलाइयो तिनमा जुम्रा परेका हुन्थे । अनी ति घाइतेलाई तातो पानिले नुहाइदिईयो । तत्पस्चात बेडमा सुताएर आवश्यक उपचार प्रदान गरियो ।   
मेरो छेउँको बेड हालसालै रिक्त भएको थियो । त्यसमा आसाम मिलिटरी पुलिसका राइफलम्यान जशधोज लिम्बु सुत्थे । बिचरा ! अस्ती मात्रै उपचारको क्रममा निधन भयो । याँहा देखी केही कोश उत्तरमा पेचहाम भन्ने स्थान छ । त्याँहा एक हिन्दू समाधीस्थल बनाइदिएको छ आर्मिले । उनलाई त्यही लगेर अन्तिम दाहसंस्कार गरेको मलाई झलझली सम्झना छ ।

जशधोजकै खाली बेडमा आज आएका एक घाईते गोर्खालाई राखियो । छिमेकिको नाताले मैले हाम्रो परिचयलाई अगाडि बढाएँ पत्ता लाग्यो उनी निगालपानी, पाल्पाका रहेछन । पहिले १/३ गोर्खा राइफलका अहिले युद्दकोबेला २/३ गोर्खा राइफलमा ट्रान्सफर भएका । उमेरले म भन्दा पाँच छ साल जेठा नम्बरमा पनि सिनियर उनी २१२९ म २२९७ । 


उनको कुमको घाऊ पाकेर गन्हाएको । खुट्टा सुन्निएर हात्तीको खुट्टा जस्तै तर तिनमा 'म घाइते भएँ' भनेर कुनै नैरास्यता नछाएको । बोली टाँठो जोसिला र हट्टाकट्टा शरीर भनिन्थ्यो, औसत गोर्खालिको हाइट पाँच फुट दुईं इन्च तर उनी यस्तै हुन पर्थ्यो पाँच फुट पाँच इन्च । 
फ्लान्डर फिल्ड अवस्थित लुजको लंडाइमा उनलाई कुम र खुट्टामा चोट लागेपछी अस्पातल ल्याइएको थियो । घाइते भएपनि ऊपचार पस्चात म उनिभन्दा धेरै राम्रो भैसकेको थिएँ । उनलाई रेख देख गर्ने र व्हिलचियरमा हालेर घुमाउने जिम्मा मलाई दीइयो ।

अक्टोबर लाग्यो दिन खुम्चिन रात तन्किन सुरु गरे । रापिलो घामले गालामा यदाकदा मात्रै सेक्थ्यो । भाग्सुमा ताप्न पाइने घाम याँहा छाइदिएको भए यो कठांग्रिएको शरीर कती तातेर आउन्थ्यो ! सोन्च्थें, जती कलावतिबाट छुट्टीएर यतिका टाढा भएर बस्न परेको छ त्यो भन्दा अधिक भागसुको घामबाट दूर हुनुपरेको छ ! ब्राइटनको सामुन्द्रिक चिसो हावासंगै मेरो मन गाउँघरतिर बहकिन्थ्यो दशै आउन केही हप्ता बाँकी थियो । घरकाले सम्झे होलान- घरीघरी घुटुक घुटुक बाडुकीले सताउँथ्यो ।

एकदिन सराकको बादललाई पन्छाउँदै घाम निस्कियो । लन्च खाएपछी उसलाई व्हिलचेयरमा हालें । अनी गार्डनमा निस्कियौं । पल्टन-पल्टनका बिरामिहरु झुन्डझुन्डमा बसेका थिए । कोही बाघचाल, कोही तास खेल्दै । अस्पातल परिसरभित्र धुम्रपान मनाही भएता पनि कोही लुकेर चुरोट बिंडी तान्दै थिए । चिसोबाट थाप्लोलाई जोगाउन गोर्खालिले पन्जाबिले जस्तै सेता फेटा गुठेका थिए । कोहि भने देब्रेतिर पल्टाइएको गोर्खा ह्याटमा देखिन्थे । अर्को समुह थियो गोर्खाली जस्तै देखिने गढ्वाली । तिनिहरु पनि कसैले गोर्खा ह्याट लगाएका थिए तर तिनको ह्याट दाइने पल्टाईएको हुन्थ्यो ।


बगानमा हरियो दुबो कार्पेट जस्तै बिछिएको थियो । हरिया आलङ्कारीक बुट्ट्यान, सलबलाऊँदा झार र मगमगाऊँदा फुलहरुले त्यो बाह्य दृश्य स्वर्ग झै लाग्थ्यो । म एउटा काठको बेंचमा बसें उनी व्हिलचेयरमै । मेरा आँखा उक्त बेन्चमा टाँसिएको स्यानो मेटल प्लेटमा परे ।

स्वर्ण अक्षरमा लेखिएको थियो-


Robin D. Anderson

24 August 1866- 08 January 1915
In my heart your memory lingers,
Always tender, fond and true;
There's not a day, dear father, I do not think of you.

त्यो देखेर मैले मनमनै सोंचे- म पनि यतै मरेर गएँ भने मेरा छोराछोरीले यस्तै समबेदनाका शब्दहरु कहाँ लेख्लान ? युद्दको बिभत्स्व भोगाइले पीडित बनिसकेको मेरो दिल एकचोटि सम्बेदनशिल बनेर आयो । लामो श्वास फेरें । आकाशतिर हेरेर एकचोटि भगवानको नाम लिएँ । लुजको लँडाइमा उनी कसरी घाइते भएका रहेछन भन्ने कुरा जान्न मलाई कौतुहल जागेर आयो । अनी त उनलाई सोंधे ।

उनले आफ्नो देब्रे कुमको घाउमा लगाएको मलम पट्टि माथि दाहिने हात राख्दै युद्द बृतान्त सुनाउन थाले-

२१ सेप्तेम्बर १९१५ का दिन आर्टिलरी, मशिन गन र ट्रेन्च मोर्टार प्रक्षेपण गरियो । चार दिन सम्म लगातार । सेप्टेमबर भरी सफा आकाश रहेता पनि २४ तारिखको दिन मौसमले धोका दियो । पानी पर्ने, तुंवालो लाग्ने, हावा चल्ने गर्यो । ग्याँस आक्रमण गर्ने भनेर तयार थियौं । ब्रिटिशको यो प्रथम ग्याँस आक्रमण हुन्थ्यो । उल्टो दिसाको हावा बहकाइले स्थगित गर्न पर्यो । ट्रेन्चमा एक फुट पानी जम्यो । बिहान चार बजेतिर जर्मनको बम आक्रमणले हाम्रा ग्याँसका सिलिन्डर पड्के । ग्याँसले उल्टै हामीलाई नै असर पार्यो । एकजना सिलिन्डरको नजिकै हुनाले ग्याँस जती उसको मुखमा ह्वास्सै पस्यो । आँखा चिम्म गरेर छट्पटाउन लाग्यो । आमा आमा भन्दै भुइँमा घोप्टोमुन्टो गरेर लड्यो । मेरो पालो उसकै फसएड किटबाट फिल्ड ड्रेसिङ झिके। त्यसमाथि उसैलाई मुत्न लगाएन । अनी मुतले भिजेको फिल्ड ड्रेसिङले उसको मुख बेरिदिए । क्याजब्याक टोली आएर स्ट्रेचरमा हालेर लगे तर पछी पत्ता लाग्यो बिचरा बाँचेनछ ।

त्यसै घटनामा कती गोरा सिपाही आफ्नो मोजाले मुख छोप्दै भागेको देखें । कती पन्जाबी सिपाही पगरीले नाखमुख ढाकेर ट्रेन्चको कुनामा मन्टो धसाएर बसेको पाएँ । कती कहाली लाग्दो थियो त्यो छण !
पूर्व निर्धारित आक्रमण अगाडि बढाइयो । हाम्रो २/३ गोर्खा र लेश्टर पल्टनलाई जर्मन लाइन आक्रमण गर्न पठाइयो । तीन घण्टाको भीषण लँडाइ पछी सियो साहेब ओम्स्बी ले जर्मन ट्रेन्चमा बेलायती झन्डा फराएको देखेछन । हाम्रा सैनिकहरु घेरामा परे होलान भनेर सुबेदार भिमसिङको नेत्रुत्वमा अल्फा कम्पनि उद्दार गर्न पठाइयो । म पनि त्यसै समुहको एक सदस्य थिएँ । जर्मन ट्रेन्च नजिक पुग्दा हाम्रो आक्रमण असफल भएको पाईयो । दुस्मनको गोलिले हाम्रा साथीहरु मारियका र घाइते भएका रहेछन । बचेँका साथीहरु ट्रेन्चमा लुकिरहेका भेटाइयो । तिनैले रहेछ झन्डा देखाएका ।

उद्दार टोलीलाइनै खतरा हुने देखेर हेड्क्वाटरबाट पिछाडी हट्ने आदेश आएछ । तर त्यसभन्दा अघिनै म क्रोलिङ गर्दै जर्मन तार नाघेर ट्रेन्चको मुखमै पुगिसकेको रहेछु । फिर्ता हुनु भन्ने हुकुम मैले सुन्न सकिन । ट्रेन्चमा लेस्टर पल्टनको एक सिपाही नराम्रो घाइते अवस्थामा छटपटाइ रहेको भेटेँ । नाम केहो भनी सोधें ।
'बिल, बिल किट्ले' ,सासै सासले उसले भन्यो । 'फिक्कर नगर । म तँलाई जसरी भएपनी सुरक्षित स्थानमा पुर्याउछु ।' ,मैले सान्तवना दिंदै भने । 'हिन्ड्न सक्छस ?' मैले सोधें, उसले सक्दिन भन्ने टाउकोले सङ्केत गर्यो ।
दुइटै खुट्टाबाट रगत आएको थियो । भान्चिएको थियो क्यारे । एउटा खुट्टा अली बलियो देखिन्थ्यो, अर्को खुट्टा लरङ लरङ । फायरम्यान क्यारि गरेर बोक्ने प्रयास गरें । साले त म भन्दा अग्लो र गरुङ्गो रहेछ । नुन र घाँसका भारी बोकेको मेरो पिठ्युँ कामै लागेन । म उसलाई उठाउन असमर्थ भएको देखेर उसले भन्यो, 'भो सक्दैनस । दु:ख न गर बरु तेरो ज्यान जोगा मलाई छोड्दे एकलै । म मरे मोर्छु ।' मैले भने, 'तँलाई बचाएरै छोड्छु । तँलाई केही भएको छैन । बरु कस्ट काटेर तैंले पनि अलिकती बल गर ।' 
ट्रेन्चको भित्तामा खुकुरिले चार वोटा खोपी खनेर सिँढि बनाए । अनी उसको दुबै काखिमुनी पिछाडीबाट मेरा बाहु घुसारेर उसको खुट्टामा उभ्याएँ । उसलाई बल गरेर ट्रेन्चबाट माथि निस्कन भने र पिछाडिबाट उसको पुठोमा धकेलि दिए । यसरी ट्रेन्चको ढिकमा ऊ उक्लन सफल भयो ।खुल्ला ठाउँ भएकोले दुस्मनले सजिलै देख्न सक्थे । एक दुइवोटा दुस्मनको ट्रेन्च मोर्टर पनि हाम्रो छेउ छाउमा बर्शिदै थिए । घाम पश्चिम छितिजमा डुब्दै थियो । जोखिम नमोलौं होला भनेर ट्रेन्चभित्र झर्यौं  । त्यो रात उसैसँग बिताएँ । उसको पोचेसमा बिस्कुट र टम्लेटमा पानी रहेछ । त्यही खाएर रात काट्यौं ।

२६ तारिख बिहान तुंवालोमा लपेटिएको थियो लुज । त्यसै मौका पारेर उसलाई घिसार्दै जर्मन तारबाट बहिर ल्याउन सफल भए । त्यसपछी दुलहिलाई बोकेजस्तै पिट्ठ्युमा बोकेर धेरै वर ल्याइ पुर्याँए । अनी तोपले पारेको खाल्टोमा उसलाई राखेर फेरी म अरुलाई उद्दार गर्न गएँ । तुंवालोको फाईदा लिन्दै फेरी जर्मन ट्रेन्चमा गएर आश बहादुर गुरुङ र दिल बहादुर रानालाई पनि क्रमश उद्दार गरें । अनी चौथो पल्ट माइक भन्ने गोरा लाई पनि ट्रेन्चबाट झिकेर ल्याएँ ।


यतिबेला दिउसको बाह्र बजि सकेको थियो । तुंवालो फारेर आकाश खुल्ल भैसकेको थियो । एउटा चुइँय गर्दै ट्रेन्च मोर्टार मेरै अगाडि ड्याम्म पड्क्यो । त्यसको चुइन्टाले मेरो कुमको मासु लगिदियो । भुइमा कभर लिन हाम फाल्दा खुट्टा भाच्चियो ।


यतिबेला सराकबाट घाम बादल भित्र आझेल पर्दै थियो । उनको यो सनसनीपूर्ण घटना स्रवण गरेपछी मैले भने, 'कुल बहादुर थापा दाई, त्यसो भए तपाईंले त भिसी पाउने साहसिक कार्य पो गर्नु भएछ !'
कुल बहादुरले लामो स्वास तान्दै भने,'होला । कम्पनी ओसीले रिपोर्ट लेखेर माथि बठाएको छ भनेको सुन्छु । गोर्खालिको पहिलो भिसी हुने सपना देख्दैछु । हेरौं के हुन्छ ? जे होस, मित्रसेन, तिम्रो मुखमा घ्यू भात पसोस !'
त्यसपछी मैले व्हिलचेयर धकेल्दै हामि दुबै अस्पतालको सङ्घार भित्र पस्यौं ।


 

Last Updated on Monday, 06 January 2020 11:30

Hits: 492

अष्ट्रेलियाको तेक्वान्दो नेसनल च्याम्पियनसिप टुर्नामेन्टमा नेपालीलाई रजत

प्रभा श्रेष्ठ


अष्ट्रेलियन तेक्वान्दो न्याशनल च्याम्पियनशिप २०१९ टुर्नामेन्टको फिदरवेट समुहको प्रतिस्पर्धामा नेपाली मूलका १३ बर्षिय स्पन्दन थापाले रजत पदक प्राप्त गरेका छन ।

अष्ट्रेलियाको गोल्ड कोष्टमा अबस्थित कारारा स्टेडियममा सम्पन्न भएको उक्त प्रतियोगितामा थापाले प्रतिद्वन्दीलाई सजिलै पराजित गरी उक्त सफलता हात पारेका हुन ।

माता सुमि श्रेष्ठ, पिता शंकर थापा र एक भाइका साथमा मेलबर्नको सेन्ट अल्बान्समा बसोबास गर्दै आएका स्पन्दन सानै उमेरदेखि नै विभिन्न खेलमा रुचि राख्दथे । पढाइसंगै तेक्वान्दो खेल रोजेका स्पन्दनले भिक्टोरिया स्टेट सेलेक्सन टुर्नामेन्टमा सफल भएर उक्त राष्ट्रिय च्याम्पियन शिपमा सहभागी भएका थिए ।  

पढाईमा पनि अब्बल स्पन्दनले सन २०१६ देखि नै भिक्टोरियामा आयोजना भएका टुर्नामेन्टहरुमा बिजय हासिल गरी विभिन्न पदकहरु प्राप्त गरिसकेका छन । प्रतियोगितामा सहभागी विभिन्न देशहरू मध्ये स्पन्दन एक मात्र नेपाली थिए । उनी सेन्ट अल्बान्समा रहेको तेक्वान्दो प्लस अष्ट्रेलिया क्लबसंग  आबद्ध छन । उन्को बिजय पस्चात क्लबका प्रशिक्षक मार्कोले बधाई दिदै स्पन्दनले आगामी दिनहरूमा तेक्वान्दोमा अझै धेरै प्रगति गर्न सक्नेमा आफू र क्लब ढुक्क रहेको बताए ।

मेलबर्न नेप्लिज कम्युनिटि वेस्टका बर्तमान अध्यक्ष स्पन्दनका पिता शंकर थापा र रजिस्ट्रर नर्सको रुपमा कार्यरत माता सुमि श्रेष्ठ छोराको यो जितले निकै गर्वान्वित भएको बताउनुहुन्छ भने स्पन्दन आफूलाई यो जितले अझ बढी हौसला मिलेको बताउछन ।

Last Updated on Wednesday, 11 September 2019 12:23

Hits: 375

पप्पी फूलले फैलाएको गोर्खाली सुगन्ध

बिजय हितान

गोर्खाली आफ्नै भिरपाखामा फुल्ने लालीगुराँससित त्यती समिप नहोलान, जति युरोपको फ्लान्डर फिल्डमा फुल्ने पप्पी फूलहरुसँग समिप छन् । गोर्खालीको गुराँससँग राष्ट्रीयताको अनि पप्पिसँग रक्तको नाता छ । मानिसहरु भन्ने गर्छन्, पप्पी फूल मृत सैनिकका रगतले सिन्चित छन । त्यसैले तिनको रंग रगत झैं रातो हुन्छ । फ्लान्डर फिल्ड महाभारतको कुरुक्षेत्र झै पहिलो विश्व युद्दको रणभुमी थियो, जहाँ हजारौं गोर्खाली रगतको खोलो बगाऊँदै शहादत प्राप्त गरेका थिए । मानिसहरु यसो भन्दै गर्दा मलाई के लाग्छ भने- सुर्यबाट किरण, हावाबाट कार्बनडाइ-अक्साइड, र माटोबाट पानी लिएर अन्य फूलहरु उम्रंदै गर्दा; पप्पी फूल भने फ्लान्डर फिल्डमा ज्यान गुमाएका सैनिकको अलौकिक उर्जा, हावामा मन्डारिएको आत्मा, र माटोमा सिन्चित रगतबाट उम्रेको हुनुपर्छ ।

पप्पी फुल अहिले सम्म सबै युद्दहरुमा मारिएका योद्दाहरुको प्रतिक हो । तिनै बिरहरुको सम्मानार्थ हरेक बर्षको ११ नोभेम्बरका दिन स्रदान्जली कार्यक्रम भैरँहदा म भित्र प्रश्नहरुका अग्ला छालहरु उठ्ने गरेका छन- पप्पी फूलका पत्रहरुमा गोर्खालीको हिस्सा कती प्रतिसत त ? पप्पी फूल फुलाउनमा गोर्खालीको ऐतिहाँसिक भूमिका के थियो ? गोर्खालीको महत्व नेपाल र बेलायतमा के कती छ ? गोर्खाली इतिहाँसलाई हामीले कती बुझेका छौ र कसरी बुझेका छौं ? यिनै प्रश्नको उत्तरमा केन्द्रित रहेर यो मेरो लेख अगाडि सर्नेछ ।

पप्पी फूलमा पाँच देखी छ सिम्रिक रङ्गका पत्रहरु हुन्छन । पहिलो विश्व युद्दमा गोर्खालीको उल्लेखनिय सहभागितालाई हेरेर भन्ने हो भने पप्पी फूलको एक पत्रको हिस्सेदार गोर्खाली हुनपर्छ । पहिलो विश्व युद्दमा छ वोटा गोर्खा राइफलहरुलाई परिचालन गरिएको थियो – १/१, १/४, १/९, २/२, २/३, र २/८ गोर्खा राइफलहरु ।  १९१४ को अगष्टमा यिनलाई कराँची र बम्बै बन्दरगाहबाट पानीजहाज चढाएर सुज नहर हुँदै फ्रान्सको मार्सेमा उतारियो । जतिबेला कालापानि समुन्द्र तरेर गए जात जान्छ भन्ने धार्मिक मान्त्यता थियो । त्यसपछी रेलमा चढाएर उत्तर-पश्चिम फ्रान्स र बेल्जियमको सिमामा पुर्‍याएर डिसेम्बरमा युद्द्यमा होमिएयो । त्यतिबेला सम्म खासै ठुलो युद्द अनुभव थिएन । सिपाही बिद्रोह जस्ता आन्तरिक कलह, सिख र पठानसँगको सानातिना झडपहरुमा मात्रै गोर्खाली भिडेका थिए । फ्लान्डर फिल्डमा आऊनुपुर्व ठुलो फायर पावरको सामना गर्नु परेको थिएन । पारीणामस्वरुप जर्मनको तोप, मसिन गन, ग्यास जस्ता आधुनिक हातहतियारको गोर्खालिले डटेर सामना गर्न सकेनन । त्यसैमा सबैभन्दा ठुलो चुनौती चिसो मौसम बन्यो । उष्ण्र, सुख्खा, पहाडी भुभागबाट ल्याइएका गोर्खालीलाई फ्लान्डर फिल्ड जस्तो सम्म, हिलाम्य, खुल्ला भुभाग अनुकुल भएन । फल्सरुप दुस्मनको गोलिबाट मर्नु त थियो नै, प्रतिकुल मौसमले पनि धेरै गोर्खालीको ज्यान लियो । यध्यपी गिभान्ची, न्यु सेफल, यिप्र, र फेस्तुनबर्तका ट्रेन्चहरुमा बहादुरीकासाथ हाम्रा पुर्खाहरु लडेरै छोडे ।

हिटलर पनि उक्त युद्दमा सामेल थिए र ऊनले गोर्खालीको बहादुरी प्रतक्ष देखेको हुनपर्छ । त्यसैले दोस्रो विश्व युद्दमा हार ब्यहोर्न पर्दा भनेका थिए रे, 'यदी गोर्खाली जस्ता सिपाही मेरो सेनामा हुन्थे भने मैले संसार बिजय गर्थें ।'

यता युरोपमा गोर्खालीको उपस्थिति सोंचेजस्तो प्रभावकारी भएन । बिसौं हजार मारिए । उता मेसोपोटामिया र प्यालेस्टाइनमा टर्कहरुसँग ब्रिटिशको युद्द चलिरहेको थियो । डिसेम्बर १९१५  मा गोर्खाली लगायत सम्पूर्ण भारतीय फौजलाई मध्यपूर्बमा खटाइएयो । ११ नोभेम्बर १९१८ का दिन, गोर्खाली सेनाले बग्दाद र मोसुल शहर आक्रमण गरिरहँदा, फ्रान्सको कोम्पिनमा जर्मनसँग सन्धि गरेर युद्दबिरामको घोषणा गरियो ।

गोर्खालीको यस्तो गौरबशाली इतिहाँस हामिहरु धेरैले गहिरिएर बुझेका छैनौ । सर्बसाधारण नेपालीलाई त थाहा हुने कुरै भएन, सेवारत गोर्खालीहरु पनि आफ्नै इतिहाँसप्रती त्यती जानकार छन जस्तो मलाई लाग्दैन् । गोर्खा भर्ती छनौट प्रकृयामै, जसरी नेपाली र अङ्रेजी भाषाको परिक्षा लीईन्छ, गोर्खाली इतिहाँसको बारेमा पनि परीक्षा लीईए र पल्टनघरमा यस बिषयको अध्ययन तथा अध्यापनमा निरन्तरता दिन सके गोर्खाली इतिहाँस बच्थ्यो की भन्ने मलाई लागेको छ ।

म स्वयम पूर्व गोर्खा हुँ । सेवारत हुँदा गोर्खालीको इतिहाँस मलाई त्यती थाहा भएन । निब्रित भईसकेपछी अङ्रेज लेखकले लेखेका पुस्तकहरु अध्यन गरें । त्यसपछी बल्ल ज्ञान भयो कि गोर्खालीको इतिहाँस कती महान रहेछ । अनी आँफैलाई गोर्खा हुनुमा बडो गौरव माने । समयको भेलसङ्गै बेलायत आवासिय भिषा पाएर आईयो । बिस्तारै मेरो नाता लालिगुराँससँग भन्दा पप्पी फुलसँग नजिकिएको हो कि जस्तो लाग्न थाल्यो । अैले इङ्गलिश च्यानलको किनारमा पर्ने फोक्स्टोन भन्ने ठाउँमा बस्छु । पप्पी फूल फुल्ने फ्लान्डर फिल्ड त्यँही पारी पर्दछ । भौगोलिक सामिप्यताले गर्दा होला पप्पी फूलले मेरो जीवनमा महत्वपूर्ण अर्थ राख्दै आएका छन । गोर्खाली इतिहाँसको दुई सतबार्षिकीलाई पारेर २०१६ मा फ्लान्डर फिल्ड भ्रमण गरेपछी त यस बिषयमा झनै रुची बढेर आएकोछ । निब्रितिभरण पस्चात मेरो बसाइ नेपालमै भएको भए नोभेम्बर ११ र पप्पी दिवसको महत्व शायद मलाई त्यती हुने थिएन । अनी गोर्खाली इतिहाँस भन्दा नेपाली राजनीतिले मेरो मानसपटललाई उपनिबेश बनाउथ्यो होला ।   

सगरमाथा जस्तै गोर्खाली नेपालको एक चिनारी हो, अनी एक ब्रान्ड प्रोडक्ट पनि । यसबाट राज्यले धेरै आर्थिक लाभ प्राप्त गरेकोछ । दुई दसक जती भयो हाम्रा युवा बैदेसिक रोजगारमा गएर रिमिट्यान्स भित्र्याउन सुरु गरेका । गोर्खाली युवाले दुई सताब्दी अघि देखी नै आफ्नो खुन र पसिनासँग जीवन साटेर रिमिट्यान्स भित्र्याउन्दै आएका छन । नेपालको अर्थतन्त्रमा गोर्खालीले पुर्‍याएको देनलाई कसैले लेखाजोखा राखेको छ ?

अनी नेपाल दुई बिशाल ढुङ्गाबिचको एउटा स्यानो तरुल भएर अहिलेसम्म बाँचिरहन सकेको पनि गोर्खालिकै कारणले हुनसक्ने मैले निर्कौल गरेको छु । गोर्खा सैनिकको कारणले नेपाल र बेलायतको दौत्य सम्बन्ध सुमधुर रहँदै आएको हो । यसै सम्बन्धको कारणले दक्षिण एसियाको भुराजनितिमा नेपालको स्थान प्रभावकारी रहन गयो । बेलायत जस्तो शक्तिशाली राष्ट्रको नेपालप्रती गहिरो इन्टरेस्ट छ भन्ने कुरा सबै देशले राम्रैसँग बुझेका छन । फल्सरुप चाइना र भारत जस्तो ठुला राष्ट्रले नेपालको सार्बभौम अस्तित्वलाई स्विकार्दै आईरहेका छन । त्यसो नहुँदो हो त अहिले सम्म नेपाल कि त चाइनाको पन्जामा फसी सक्थ्यो तिब्बत जस्तो, कि त भारतको अधिनमा भईसक्थ्यो सिक्किमा जस्तो । बेलायतको छत्रछाँयामा रहेको राष्ट्रलाई कसले पो गिद्दे नजर लगाउने प्रयास गर्ला र ! नेपाल र नेपाली भएर बान्च्न पाउनुको पिछाडी गोर्खालीको अप्रत्यक्ष भूमिका छ भन्दा कुनै अत्युक्ती न होला ।

यसरी नेपालको बिकास तथा सम्रक्षणमा उल्लेखनिय भूमिका खेल्दै आइरहेका गोर्खालीलाइ उनकै देशमा दोस्रो दर्जाको नागरिक सरह व्यबहार गरिएकोछ । गोर्खाली र तिनका सन्तानले नेपाली नागरिकताको निरन्तरता पाउनु पर्छ भनी गरिएको मागलाई राज्यले गुन्द्रीमुनी च्यापेर राखिदिएको छ । गोर्खालीको सम्मानमा नेपाल सरकारले न त कुनै एउटा स्मारक निर्माण गरिदिएको छ न राज्य सम्रचनामा कुनै बिशेष स्थान प्रदान गरेको छ । देस बाहिर बरु गोर्खालि हुनुको इज्जत छ । नेपालमा बरु मन्दिरहरुको सङ्ख्या त्यती न होलान जती बेलायत र संसारका बिभिन्न देसहरुमा गोर्खालिका सालीक र युद्द स्मारकहरु छन ।

बेलायती इतिहाँसमा धेरै सन्धिहरु खारेजीमा पेरिसके, उपनिबेसिक कालमा बनाएका धेरै सम्बन्धहरु टुटिसके । तर सन १९४७ को त्रिपक्षिय सन्धि र बेलायत सङ्गको गोर्खालीको सम्बन्ध न त खारेज हुनेवाला छ न टुट्नेवाला नै । कहिले काँही गोर्खाली सैनिकप्रती लक्षित गर्दै 'बेलायतले गोर्खालीलाइ दयामाया लागेर राखेको हो । खासै उनिहरुको काम छैन' भन्ने नकारात्मक टिप्पणी गरिन्छ । ब्रिटिश इन्डियामा सबैभन्दा बहादुर गोर्खाली र शिखलाई मानिन्थ्यो । यदी गोर्खाली काम नलाग्ने हुन्थे भने, बेलायतले शिखलाई जस्तै गोर्खालाई पनि उहिल्लै आफ्नो सेनाबाट हटाइसक्थ्यो । हाल दुई गोर्खा बाटलियन सेवारत छन । अब तेस्रो गोर्खा बाटलियन स्थापना गरिने योजना छ । यसले के दर्साउँछ भने जबसम्म धरतिमा नेपाल र बेलायत भन्ने देश रहनेछन तबसम्म गोर्खाली र बेलायतको सम्बन्ध रहिरहने छ ।

यस्तो वीर र ऐतिहाँसिक महत्व बोकेको गोर्खालीको गाथाब्यथा नेपाली साहित्य लेखनमा पनी तिरस्क्रित अवस्थामा पाईन्छ । नेपाली साहित्य धनी होला तर यसमा बिबिधता पाइँदैन । यो बिशेषत राज्य, एकल बर्ग, र एकल धर्म केन्द्रित भएको भान हुन्छ । पश्चिमा लेखकले गोर्खालीको बारेमा लेखेका पुस्तकहरु सयौंको सङ्ख्यामा छन । त्यही अनुपातमा नेपाली लेखकले गोर्खालीका बिषयमा लेखिएका पुस्तक नगण्य छन । नेपाली साहित्यमा गोर्खालीका बारेमा लेखिएका पुस्तकहरु हुन्थे भने आज आएर तिनलाई शैक्षिक पाठ्यक्रममा राखेर पढाउन सकिन्थ्यो । नेपाल वास्तवमा थुप्रै जातजातीहरु मिलेर बनेको सयौं थुङ्गा फुलको माला हो । तर बिडम्बना, नेपाली मुलधारको साहित्य लेखनले ति सयौं थुङा फुलहरुलाई समेटन सकेको छैन । त्यो मालामा अट्न पर्ने पप्पी फुल पनि एक हो । एक फुलद्वारा अर्को फुलको साहित्य न लेखिदो रहेछ । गुर्दौलीले गुर्दौलिकै र सयपत्रीले सयपत्रीकै साहित्य लेख्ने रहेछ । सयपत्रीले पप्पी फूलको साहित्य कहिल्लै लेखिदिएन । त्यसैले होला, पप्पी फूल् नेपालमा मुर्झाउन गयो र बरु फ्लान्डर फिल्डमा फुल्दै आइरहेको छ भने बेलायतमा यसले सुगन्ध फैलाउँदै छ ।  

 (नोभेम्बर २०१९, फोक्स्टोन केन्ट बेलायत)

 

Last Updated on Monday, 11 November 2019 11:29

Hits: 386

लोक पप गीत कती राम्री सानी नानी भिडियो सार्वजनिक

कौडा बुढा मगर

गायक कौडा बुढा मगरको कती राम्री सानी नानी बोलको लोक पप गीत सार्वजनिक भएको छ । स्वर, शब्द अनी संगीत कौडा बुढाकै रहेको उक्त गीत लोक पप बिधामा रहेको छ । गीतको म्युजिक भिडियोको निर्देशन्, क्यामेरा तथा सम्पादन भुवन सिं थापाले गरेका छन भने गीतको संगीत सम्योजन चर्चित संगीतकार सरोज लामाले गरेका हुन । हालै मात्र युट्युब च्यानलबाट सार्वजनिक भएको उक्त गीतमा स्वयम गायक कौडा बुढा मगर र आस्था तामाङको अभिनय देख्न सकिन्छ । जापानको बिभिन्न रमणिय ठाउँमा छायांकन गरिएको उक्त गितको भिडियोमा हिउँ परेको समय तथा साकुरा फूल फुल्ने छोटो समयको सुन्दर दृश्यहरु कैद गर्न भ्याएका छन ।

गीतको युट्युब लिन्क : 

https://youtu.be/acO7sJzuc0Y

Last Updated on Monday, 24 June 2019 14:32

Hits: 599

 हार्दिक श्रध्दाञ्जलि - भिमी देवी राना

मिग मिडिया प्रा.ली द्धारा संचालित

www.rajyasatta.com

सुचना तथा प्रसारण बिभाग

दर्ता नम्बर १६८७/०७६-७७

ठेगाना

ललितपुर १४, ललितपुर

संचालक/प्रधानसम्पादक

हुम बहादुर थापा मगर

मोबाईल ९८४१५९३६०६