A+ A A-

प्रथम खपाङ्गी स्मृति कपको उपाधि नवयुवालाई !

राज्यसत्ता संबादाता

दमौली , २८ भदौ २०७५ - नेपाल मगर संघ जिल्ला समन्वय समिति तनहुँ र नेपाल मगर युवा संघ तनहुँको संयुक्त आयोजनामा आयोजित गोरेबहादुर खपाङ्गी स्मृति कप २०७५ को प्रदेश स्तरिय सेभेन ए साइड नक आउट फुटबल प्रतियोगिताको उपाधि नवयुवा क्लव भादगाउँले हात पार्न सफल भएको छ ।
 
Image may contain: 5 people, people smiling, outdoor

केएमसिटी कालिकामार्गसँगको प्रतिष्पर्धामा नवयुवा क्लवले ३ का विरुद्ध ४ गोल गरेपछि उक्त कप हात पार्न सफल भएको हो । दोस्रो हाफ टाइमसम्म दुबै पक्षले गोल गर्न नसकेपछि पेनाल्ट्री खेलमा नवयुवा क्लवले चार गोल गरेको थियो । फुटबल प्रतियोगिताको विजेता बनेको नवयुवा क्वलले रु. ७७ हजार, कप, मेडल प्रमाणपत्र हात पारेको छ । उपविजेता केएमसिटी कालिकामार्गले ४९ हजार नगद, मेडल ट्रफी, प्रमाणपत्र हात पारेको छ । बिजेता र उपबिजेता टीमलाई कार्यक्रमका प्रमुख अतिथि व्यास नगरपालिकाका नगरप्रमुख बैकुण्ठ न्यौपानेले विजयी टीमलाई पुरस्कार प्रदान गरेका थिए ।

Image may contain: 16 people, people smiling, people standing and outdoor

सो अवसरमा बोल्र्दै नगर प्रमुख न्यौपानेले खेलकुद क्षेत्रको विकासको लागि नगरपालिका सदैब सकारात्मक रहेको बताए । कार्यक्रममा तनहुँका प्रमुख जिल्ला अधिकारी भरतकुमार शार्म, प्रहरी उपरीक्षक शिद्धीविक्रम शाह, गोरेबहादुर खपाङ्गी फाउण्डेशनका अध्यक्ष हुमबहादुर थापामगरले धारणा राखेका थिए ।

Image may contain: 5 people, including Thapa Hum and Mohan Rana Magar, people smiling, people standing, sky, outdoor and nature

नेपालका महान बिचारक स्व. गोरेबहादुर खपाङ्गी मगरको दोस्रो स्मृति दिवशको अवसरमा नेपाल मगर संघ जिल्ला समन्वय समिति तनहुँ र नेपाल मगर युवा संघ तनहुँको संयुक्त आयोजनामा आयोजित प्रथम गोरेबहादुर खपाङ्गी स्मृति कप २०७५ को सेभेन ए साइड नक आउट फुटबल प्रतियोगिता भदौ ११ देखि १८ गतेसम्म सञ्चालन भएको थियो । उक्त प्रतियोगितामा ३८ टिमले सहभागिता जनाएका थिए ।

Image may contain: one or more people, crowd and outdoor

फुटबल प्रतियोगिता भदौ ११ गतेका दिन तनहुँ क्षेत्र नं. १ का प्रतिनिधिसभाका सांसद माननीय कृष्ण कुमार श्रेष्ठ र नेपाल मगर संघ , केन्द्रिय समितिका अध्यक्ष नबिन रोका मगरले संयूक्त रुपमा उद्धघाटन गरेका थिए । नेपाल मगर युवा संघ तनहुँका अध्यक्ष एबं आयोजक केहरसिं आले मगरले प्रतियोगिता सफल भएको प्रतिक्रिया दिए ।

Image may contain: 11 people, including Jham Grg, people standingयो प्रतियोगिता प्रदेश स्तरिए भएकोले आगामी बर्ष प्रदेश ४ भित्रपर्ने कुनैपनि जिल्लामा खेलाईने र जो कोही जिल्ला तयार नभए पु:नह तनहुँमानै खेलाइने प्रतियोगिताका संयोजक मोहन बहादुर राना मगरले राज्यसत्तालाई प्रतिक्रिया दिए ।

No automatic alt text available.

खेल भब्य र सब्य सफलपार्न खेलअवधिभर अहोरात्र खटेका मोहन राना मगर, एच.बि थापा मगर,तिलक राना मगर,रिखबहादुर थापा मगर,बिष्णु अस्लामी मगर,सरुना थापा मगर,सिजन थापा मगर लगाएत मगर बिध्यार्थी संघ र संपूर्ण तनहुँबासीलाई आयोजकको तर्फ देखि (बादल) केहरसिं आले मगरले धन्यबाद दिएका थिए । खेल अवधिभर MUKUD.COM र फोटो पत्रकार फलबहादुर थापा मगरले मिडिया पाट्नरको भूमिका निभाएका थिए ।

फोटो: MUKUD.COM

(समचार 'उद्धघोष सम्वाददाता'को सहयोगमा)

Last Updated on Thursday, 13 September 2018 16:59

Hits: 2958

कस्तो बेहोसि तिमी ।

पूर्ण बहादुर राना



तिमी पहिचान विरोधिलाई भोट हाल्छौ

अनि मेरो पहिचान आएन दिएन भन्छौ तिमी
कस्तो बेहोसि तिमी ।

अब त पहिचान विरोधिलाई केही नभन
उनले तिमिलाई चुनावमा मासु र भात खुवाएको
यति छिटो भुल्ने ?
कस्तो बेहोसि तिमी ।
चुनावमा तिमिले रक्सि, बियर र ह्विस्कि पनि पिएकै हो
पहिचान विरोधिले तिमिलाई बाईकमा पेट्रोल र हातमा पैसा हालिदिएकै हो
यति छिटो भुल्ने ?
कस्तो बेहोसि तिमी ।

त्यति मात्रै कहाँ हो र बाईक नहुने र रक्सि मासु पैसा नचाहिने तिमिलाई
उनले भनेकै हो तिमी उनकै मान्छे ईमान्दार व्यक्ति भनी
अनि यति छिटो भुल्ने ?
कस्तो बेहोसि तिमी ।

के तिमिलाई उन (पहिचान विरोधि) ले भनेको थियो र तिम्रो अधिकार पहिचान दिन्छु भनी ?
उनले यसो भनेको मैले सुनेकै छैन
यति छिटो भुल्ने ?
कस्तो बेहोसि तिमी ।
उनले त भनेकै हो चुनावमा मासु भात र रक्सि दिन्छु भनि
त्यहि दियो उनले
उनलाई किन दोष दिन्छौ ?
कस्तो बेहोसि तिमी ।

हामिले भनेको तिमिले कहिले सुनेन
हामिलाई तिमिले कहिले पत्यायन
बरू हामिले भनेकै हो तिमिलाई
समानुपातिक र भ्रष्टाचार अन्त्यका लागि घरमा भोट हाल ।
बरू हामिले भनेकै हो तिमिलाई
पहिचान र अधिकारको लागि घरमा भोट हाल
बरू हामिले भनेकै हो तिमिलाई
मातृ भाषालाई कामकाजि र अध्ययन अध्यापनका लागि घरमा भोट हाल
बरू हामिले भनेकै हो स्थाई शान्ति र समृद्धका लागि घरमा भोट हाल
तर तिमिले घरमा भोट हालेनौ
उल्टै सुर्य र रूखमा भोट हाल्यौ
यति छिटै भुल्ने ?
कस्तो बेहोसि तिमि ।

चुनावको अघिल्लो दिनसम्म हाँसेर बोल्ने तिमी
चुनावको दिन मुन्टो बटार्ने तिमी
चुनाव पछि पनि हाँसेर बोल्ने तिमी
यति छिटै तिम्रो व्यवहार भुल्ने
कस्तो बेहोसि तिमी ।

अब त छोड यस्तो नाटक मञ्चन गर्न
अमिलो रापेर मेवा खान्छु भन्न ।
अब त छोड पहिचान विरोधि कम्युनिष्ट काँग्रेस भोट हालि
किरात, तमुवान मगरात दे भन्न ।
अब त छोड जाँदा पश्चिम जाने पश्चिम पुग्दा पुर्व पुगेन भन्न ।
यस्तो गरे हामिले तिमीलाई बेहोसि भन्नू पर्छ
बेकारमा बेहोसि नाम किन चाहियो ?
कस्तो बेहासि तिमी ।

जंगलि युगदेखि तिम्रो अस्तित्व बचाएर  ल्याउने तिम्रा पुर्खा र समुदाय प्रति घृणा जाग्छ तिमिलाई
अनि भन्छौ जे गर्न सक्छ ओलि, दाहाल र देउवाले गर्छ
अरू जाति आदिवासि, दलित र मधेसिले गर्न सक्दैन
थुक्क कस्तो दासी चिन्तन तिम्रो
आफु र आफ्नो समुदाय प्रति गौरव छैन
कस्तो बेहोसि तिमी ।

यस्तै हुर्मत गरिरहे तिमिलाई
भविष्यका सन्तानले बेहोसि होईन पागल बौलाहा भन्ने छ ।
बरू तिमी जे गरेका छौ त्यसैमा सन्टुष्ट मानेर बस ।
सक्छौ आफुमा गर्व गरि कसैको दास नबन
सक्दैनौ
अघि पनि सर्ने पछि पनि सर्ने झिङ्गे माछा झैं गर्ने
यस्तो नगर
यति पनि गर्न नसक्ने
कस्तो बेहोसि तिमी ।

(कबि राष्ट्रिय जनमुक्ति पार्टीको भातृ संगठन नेपाल विद्यार्थी मोर्चा , केन्द्रीय समितिका अध्यक्ष हुन )

Last Updated on Thursday, 13 September 2018 04:50

Hits: 2374

मिजार दाईलाई प्रश्न ,मिजार दाई दासताको डोरोचाही कहिले चुडाउछौ ?

प्रेमध्वज गाहा मगर


Premdhwaj Gaha's Profile Photo, Image may contain: 1 person


यसपाली जनैपुर्नेमा
मिजार दाईले
खुब्बै रोइलो गरे।
एकसरो हल्ला गरे सर्लक्कै,,गाउंमा ।
भने,,
``दलितले पण्डित बाजेको धागो लाउनु पाउनु पर्छ "

सम्झाउने मेसोमा मैले भनें,
हैट..मिजार दाई,धागो पो त ?

उ भन्छ ..` होस ´।
म्लेच्छ्को देशबाट आउंछ ,पबित्र होइन नि !

उ भन्छ `होस ´।
तिमि र तिम्रो समुदाय माथिको ,सदियौंको दलनको प्रतिक हो -.

उ फेरी भन्छ ` होस ´ ।
दलितलाई धागो बांध्दिनं , पण्डितले यसो भन्यो हो? - उ भन्छ `हो´।


अब दलितलाई दासताको जंजीरले बांध्दिनं भन्यो कि ??
उ अझै च्यांट्ठिएर भन्छ - `` होस तर सदियौं देखिको परम्परा ,
मैले धागो बांध्नु पाउनु पर्छ । "


मिजार दाईको ,
`वान वे ´ ढिपी देखेर अवाक म ।
छाडिदिएं सम्झाउन ।
उ लाग्यो ओरालै ओरालो पण्डित बाको मुकाम ताकेर ।
म तेर्सै,,तेर्सो लागें ।।

निकै हर्षित मुद्रामा ,
अर्कोन्दिन भेटिए मिजार दाई ।
मिजार दाई लायौ त धागो??- मैले सोधें ।


बर्षौं देखि बिष्टको सेवामा खटिंदा ,
छिदृएका हत्केला बोकेको एक थान नाडिमा ,
थियो एकै थान धागो ।
खुशी हुंदै ,
ओल्टाइपोल्टाइ देखायो उसले आफ्नो नाडी ।

धारा छोएकोमा पोहोर मात्र हो - उ कुटिएको ।
मन्दिर पस्दा अस्ति मात्र हो - उसले श्राप पाएको ।
हिजै मात्र हो - उसले पसल्नीको झापट खाएको ।
गिलांस नपखालेको अभियोगमा ।।
यस अघि कहिल्यै नरिसाएको मिजार दाई ,
यसपाली जनैपुर्नेमा खुब्बै रिसाए ।
रोइलो गरे ,हल्ला गरे एकसरो सर्लक्कै ।
भने ` दलितले पण्डितको धागो लाउनु पाउनुइ पर्छ । ´


मिजार दाई!
मन्दिरमा देउता भेट्न नदिएकोमा - कैले रिसाउने?
धारामा सरावरि पानी भर्न नपाएकोमा - कैले रिसाउने?
चिया पसलमा शान सित
आत्मसम्मानको चिया पिउन नपाएकोमा - कैले रिसाउने??
मेरा सवालहरु असरल्ल छाडेर भुइमै ,
पुलकित हुंदै फटाफट हिंडेको उ ,
निक्कै प..र पुगेछ ।


मनमनै सोधें ,
मिजार दाई !
फगत धागो त चुंडिजान्छ कुनै दिन ,
तर यो सत्ताले तिम्रो घांटिमा बांधिदिएको ,
दलन , दासता र उपेक्षाको,
अजंग दाम्लो चाई - कैले चुडाउंछौ ???

नवलपूर/ १३ भदौ, २०७५

Last Updated on Wednesday, 29 August 2018 17:22

Hits: 951

भाग्सुका साहित्यकार शेरसिंह रानामागर बारे बिबेचना !

– त्रिलोकसिंह थापा मगर
 भारतको हिमाञ्चल प्रदेश भाग्सु धर्मशालामा नेपाली भाषाको पहिलो साहित्यकार सम्भवतः लेफ्टिनेन्ट (सुवेदार मेजर) शेरसिंह रानामगर नै ठहरिन्छन् ।

Image may contain: 1 person

आजभन्दा नब्बे वर्ष पहिले सन् १९११ ‘मेरो लन्दन राजतिलक यात्रा’ भन्ने पुस्तक उनले लेखेका थिए । नेपाली भाषामा यात्रा साहित्यको सुरुआत ‘जङ्गबहादुरको बेलायत यात्रा’ शीर्षक पुस्तकको लेखनबाट भएको हो । वि.सं. १९०८ मा यो लेखिएको थियो । त्यसपछि लेखिएको शेरसिंह रानाको पुस्तक सम्भवतः नेपाली भाषाको यात्रा साहित्यमा दोस्रो ठहरिन्छ । यो पुस्तक यात्रा साहित्यको जगको टुङ्गो भएकोले यसको महत्त्व तथा स्थान आफ्नै किसिमको छ ।

 भाग्सुका साहित्यकारहरूले शेरसिंह रानामगरको दैनिक जीवन, समाज सेवा, शैक्षिक एवं सामाजिक सुधारसम्बन्धी क्रियाकलापहरू बारेमा यदाकदा छापाहरूमा चर्चा गरेको पाइन्छ । तर उनको साहित्यिक प्रतिभा तथा उनले लेखेका पुस्तकबारेमा कुन्नि किन हो मौन रहे र कसैको खोजी नै गरेनन् । अतः शेरसिंह रानाको साहित्य प्रतिभाबारे हामी अनभिज्ञ नै रहयौं ।

 कुनै एक मर्मज्ञको भनाइ छ –“साहित्यकार र कलाकारको प्रतिभा र योगदान कहिले पनि ओझेलमा पर्दैन । कतै न कतै, कुनै न कुनै बेला प्रकाशमा आइहाल्दछ ।” यो कुरा शेरसिंह रानामा पनि चरितार्थ हुन आएको छ । आज नब्बे वर्षपछि साहित्यकार शरद्रचन्द्र शर्मा भट्टराईले शेरसिंह रानाको खोजी गरी उनलाई पुनः प्रकाशमा ल्याइदिनुभएको छ । वास्तवमा नेपाली भाषाका साहित्यसेवी मोतीराम भट्टराईका मित्र तेजबहादुररानामगरको बारेमा खोजी गर्दै श्री भट्टराई नेपालबाट भाग्सू (धर्मशाला)सम्म पुग्नुभएको थियो । तर त्यहाँ शेरसिंह राना र उहाँको साहित्यिक योगदान बारेमा छिटपुट केही जानकारी प्राप्त गर्नुभयो । सोही आधारमा नेपाल राजकीयप्रतिष्ठानद्वारा प्रकाशित ‘समकालीन साहित्य’ (२०५८ : अङ्क, ४१) पत्रिकामा शेरसिंह राना र उहाँको पुस्तकको बारे मा गहकिलो एवं खोजपूर्ण लेख प्रकाशित गराउनुभयो । यसै लेखबाट एउटा कौतुहल र जिज्ञासा सिर्जना भएको छ । शेरसिंह राना को हुन् र कहाँका हुन् ? उनको साहित्यिक योगदान अझै के के छन् ?खोजी गर्नुपर्ने विषय हुन् । साहित्यकारका योगदानबारेमाखोजी गर्न धेरै पहल गर्नुपरेको छ ।

 अब उहाँको जीवन परिचयका बारेमा छोटकरीमा कुरा गरौं । शेरसिंह राना पिथौरागढबाट भाग्सु बसाइँ सरेका हुन् । तैपनि नेपालमा उनको पुख्र्यौली घर कहाँ हो ? त्यो थाहा हुन सकेको छैन । पेशाले उनी सैनिक थिए । उन्नाइस वर्षको कलिलो उमेरमा १/४ गोर्खाराइफल्समा प्रवेश गरे । आफ्नो मेहनत र लगनशीलताले उनी चाँडै नै अनेररी लेफ्टिनेन्ट (सुबेदार मेजर)को पदसम्म पुगे । प्रथम विश्वयुद्धमा मिरजई, वजरिस्तान, चीन, फ्रान्स आदिका युद्धहरूमा सक्रियतापूर्वक भाग लिए । महायुद्धको दौरानमा सन् १९१४ देखि १९१९ सम्म जर्मनीमा उनी जङ्गी कैदीका रूपमा रहे । जर्मन नाजीहरूको कठोर यातनाले गर्दा बन्दी जीवनमा उनलाई पक्षघात रोग लाग्यो । उनी सन् १९२० मा सैनिक सेवाबाट रिटायर भए र ८१ वर्षसम्म जीवित रहे ।

 सेवा निवृत्त भएपछि शेरसिंह राना सन् १९३४ देखि १९३६ सम्म गोर्खा एशोसियसनका अध्यक्ष भए । उनले भाग्सुमा गोर्खालीहरूका लागि कतिपय सामाजिक, आर्थिक, शैक्षिक एवं साँस्कृतिक विकासका कार्यक्रमहरूको सञ्चालन एवं कार्यान्वयन गरे । विशेषगरी सैनिक स्कलमा भर्नासम्बन्धी नियमलाई गोर्खाली छात्रहरूका लागि सजिलो गराए । अनि गोर्खाली युवाहरूको कद, छाती, वजनमा छुट दिलाए । जमीनको झगडा, अपहरण, हुक्का पानी बन्द गर्ने खोल्ने इत्यादि नियमहरूको फैसला पञ्चायतद्वारा नियमबमोजिम सम्पन्न गर्ने गराउने चलनको सुरुआत पनि उनले गराए । शेरसिंह रानाले आफ्नो अध्यक्षीय सेवा अवधिमा संस्थाको कोषलाई सबल गराउन दान दातव्यवृद्धि अभियानलाई प्रभाकारी रूपमा संचालन गरे । उनी जिल्ला सैनिक बोर्डमा सेवा निवृत्त स्थानीय गोर्खालीहरूकोप्रतिनिधि सदस्य पनि रहे ।
 शेरसिंह राना राजनीतिक रूपले पनि सजग र सचेत व्यक्ति थिए । भारतीय गोर्खालीहरूको सन् १९२५ मा स्थापित राजनैतिक दल ‘गोरखा लीग’को सक्रिय सदस्यको रूपमा हिमाञ्चलमा कार्यरत थिए । यो कुरा सो दलको मुखपत्र ‘गोर्खा संसार’ साप्ताहिकबाट थाहा हुन्छ । शेरसिंह राना पेशाले सैनिक भए पनि उनको व्यक्तित्वमा साहित्यिक, राजनैतिक तथा समाजसेवामा प्रतिभाहरू विद्यमान रहेको पाइन्छ । जीवनको अन्तिम क्षणमा केही समय वाराणसीमा पनि धार्मिक कार्यमा संलग्न भई बिताएर पछि पुनः भारस् फर्के ।

 अब उनको ‘मेरो लन्दन राजतिलक यात्रा’ बारेमा छोटकरीमा कुरा गरौं । ब्रिटिश सरकारको निम्तोमा पञ्चम जर्जको राजनीतिक समारोहमा भाग लिन उनी पानी जहाजबाट १० जून १९११ ईस्वीमा इंगलैण्डको बन्दरगाह साउथेम्पटन पुगेका थिए । उनी १ अगस्त १९११ ईस्वीमा भारत फर्के । इंगलैण्डमा पुगेदेखि नै उनले आफ्नो यात्राकोविवरण रोजनाम्चा रूपमा लेख्न थालेका थिए ।

 शेरसिंह रानामगरले बकलोहमा १ जनवरी १९९२ मा पुस्तकको भूमिका लेखेका थिए । सो भूमिकामा आफ्नोलन्दनयात्रा कुन प्रसङ्गमा र कसरी गरेका थिए तथा यो पुस्तक लेख्नाको उद्देश्य के थियो भन्ने कुरा उल्लेख गर्नुभएकोछ । जुन यसप्रकार छ–“श्री महाराजाधिराज पञ्चम जार्जको राजतिलक उत्सव जो सन् १९११ जुन मासमा लन्दन शहरमा भएथ्यो, हिन्दुस्तानी फौजका पल्टनतर्फ एक सर्दारलाई पनि उनका भाग्यले गर्दा लन्दन (बेलायत)पुगी सो उत्सव हेर्ने अवसर मिलेको थियो । त्यसैबेलामा करनेल डब्ल्यू जी वाकर साहेब, बहादुर भी.सी. कमाण्डिङ्ग१÷४ गोर्खाले ममाथि ठूलो कृपा गरेर मलाई बेलायत पठाउनुभयो । छावनीबाट हिंड्नुभन्दा पहिले मलाई मेरो कृपालु मित्रहरूले आग्रहसाथ यो कुरा भनेका थिए कि, हुन सके बेलायतको हाल मात्रै लेखेर ल्याउन् । सो बमोजिम म जुन दिन वहाँ पुगेथे उस दिन देखिन् यो दिनको हाल (रोजनाम्चा) लेख्न थालें । यो पुस्तक लेख्नुको मतलब, गोर्खा जातिलाई यसबाट कुनै तरहको नवीन शिक्षा मिलोस् भन्नाका निम्ति होइन–केवल आफ्नो हृदयको भावलाई प्रकाशित गर्नाको लागि हो । देशी भाषामा अनेक तरहका ग्रन्थ, देश देशान्तर द्वीप–दीपान्तरका भ्रमण–वृतान्त बनेका छन्, हाम्रा नेपाली (गोरखा) भाषामा अझ कुनै बनेका छैनन् । यसैकारण म पनि आफ्नो तुच्छ बुद्धिअनुसार यो लन्दन राजतिलक यात्रा’ नामको सानु ग्रन्थ लेखी तपाईंहरूका करकमलमा सादर समर्पण गर्दछ ।”

 यात्रा निबन्धको उद्देश्य यात्राका दैनिक अनुभवलाई निजी संवेदनमा ढालेर प्रकाश पार्न हो । शेरसिंह रानाले पनि आफ्नो वेलायती बसोबासमा आफूले देखे–जानेका, अनुभव गरेका कुराहरू, महत्त्वपूर्ण घटनाहरूबाहेक बाटामा पर्ने मुलुकहरूका सजीव विवरणहरू पुस्तकमा रोचक ढङ्गले प्रस्तुत गरेका छन् । इंग्लैण्डको प्रकृति चित्रण, अंग्रेजहरूको सामाजिक, बानी–व्यवहार, मनोवैज्ञानिक दृष्टिकोण, धार्मिक आस्था, भौतिक आर्थिक उन्नति, मनोरञ्जन तथा राजनीतिक संरचना एवं संगठन आदिहरूले वर्णन अन्तर्गत स्थान पाएका छन् । 

 No automatic alt text available.

शेरसिंह रानाको यात्रा अवलोकन ज्यादै गहिरो एवं सूक्ष्म भए तापनि प्रस्तुतीकरण सरल, सहज र मीठो  छ । यात्राको वृत्तान्त कोरा कल्पना र भावुकतामा आधारित  छैन । जुन कुरा उनले देखे, अनुभव गरे, तिनलाई विश्वासयोग्य, तथ्यपूर्ण बनाउन लेखक चेष्टा र सजग रहेको पाइन्छ । अझ कतिपय ठाउँमा उनले उदाहरण दिएर, तुलना गरेर आफूले देखेका कुराहरू पुष्टि गर्ने चेष्टा प्रयास गरेका छन् । उदाहरणार्थ “जहाज किनारा लाग्नेबित्तिकै मानिसहरूले सबै मालसामान इत्यादि उतार्न थाले । गोरा मजुराले जुन छिट्यासीसित विनाहल्ला यो काम गरे, यो तारिफलायक मान्यौ । हिन्दुस्तानी कुल्लीले जुन काम १२ घण्टामा पूरा गर्न सक्तछन्, सो काम गोरामजुराहरूले ४ घण्टामा सिध्याउँदा रहेछन् ।”

 ठाउँ÷ठाउँमा अंग्रेजहरूको बानी–व्यवहारको चित्रण पनि शेरसिंह रानाले सजीव ढङ्गले प्रस्तुत गरेका छन् । जस्तो ‘तेत्रो ठूलो घुइँचो भए पनि कसैले बाटामा हिंड्दा वा उठ्दा र बस्दा थुकथाक गरेको देखेनौं । हामी गोर्खालीहरूलाई त यस्तो अभ्यास छ कि४ पाइला हिंडदै पाँच ठाउँमा थुकिराख्छौं । तर बेलायतमा भुइँमा थुक्दैनन् । जब मानिसहरूलाई आराम र गफाष्टक गर्न मनलाग्दो रहेछ, तब ती सडकका किनारमा रहेको फलैंचामा अथवा हरियो घाँसका चउरमा बसी कुरा गर्दा रहेछन् ।’

 लेखकले कतिपय ठाउँमा साहित्यिक एवं भावपूर्ण ढंङ्गबाट लन्दनको प्राकृतिक दृश्यहरूको विवरण आत्मविभोर भएर आफ्नो पुस्तकमा प्रस्तुत गरेका छन् । जस्तो ‘पुष्पवाटिकाको यौवन, फूलको बहार, क्यारीको बनावट, बाटाको सफाइ, कुञ्जको रचना, लताको अंकमाल, फूलकोगन्ध, वायुको प्रबन्ध इत्यादि देखेर हामीहरू मोहित भयौं । एक शब्दमा यो पुष्पवाटिका कामदेवको क्रिडा गर्ने उद्यानलाई पनि मात गर्ने छ ।’
 आफ्नो भावपूर्ण साहित्यमा अभिव्यक्तिका साथै लेखकले वेलायतको राजनीतिक व्यवस्था एवं संगठनबारे पनि ठाउँ–ठाउँमा पुस्तकमा उल्लेख गरेका छन् । जुन यसप्रकार छ– ‘पार्लियामेन्ट सो सभालाई भन्दछन्, जसमा साधारण प्रजाका मुखियाको र भाइस सभा भारदारीलाई भन्दछन् । यो अंग्रेजहरूको ठूलो सभा बस्ने ठाउँ सन् १८४० देखि बन्न लागेर सन् १८५७ मा तयार भएको छ ।’ लेखक सैनिक सेवाका भए पनि इंगलैण्डको राजनीतिक संगठनको विश्लेषण प्रभावकारी रूपमा गर्न सकेका छन् ।
 लेखकले आफ्नो यात्रा संस्मरणमा अंग्रेजहरूको धार्मिक आस्थाबारे पनि आफ्नो मन्तव्य प्रकट गरेका छन् । जुन यसप्रकार छ– ‘साँझ परेपछि हामीले एक नाटक हे¥यौं, नाटकमा हामीले १५ सय वर्षको अर्थात जुन समयमा अंग्रेज जाति पनि मूर्तिपूजा गर्ने थियो । सो समयको दृश्य देख्यौं ।’ यसप्रकार यो चिन्तनमय अभिव्यक्तिबाट लेखकले आफ्नो पुस्तकलाई स्तरीय बनाउने चेष्टा गरेको देखिन्छ ।
 लेखक सैनिक भएकोले सैनिक उद्योगहरूमा बढी चाख लिएको देखिन्छ । के, कसरी, कति क्षमताको, तोपखाना, गोलाबन्दुक र पानीजहाज, हवाइजहाजहरू इंगलैण्डमा उत्पादन हुन्छ, सोबारे विस्तारमा चित्रण गरेका छन् ।

 शेरसिंह रानाले आफ्नो दैनिक संस्मरणमा केम्प जीवनको सजीव चित्रण गर्नु बाहेक घुमेडुलेका चिडियाखाना, रेल्वे स्टेशन, नदी किनार, समुद्रको तट, प्रदर्शनी, मोटरसाइकल, घोडा, मोटर आदिका चित्रण अत्यन्त रोचक ढङ्गबाट प्रस्तुत गरेका छन् । राजतिलकको उपलक्ष्यमा भएका रंगीन समारोह, शाही शोभायात्रा, आतसवाजी, फौजहरूको कवाइत, तोपको सलामी, समारोहका झाँकीहरू आदिको शब्दचित्र आकर्षक एवं प्रभावकारी रूपमा उल्लेखगरेका छन् । अंग्रेजहरूले गरेका चौतर्फी विकास र प्रगतिको उल्लेख लेखकले ठाउँ–ठाउँमा गरेका छन् । इंगलैण्डमा उच्च सैनिक पदाधिकारीहरूसँगको भेटघाट भलाकुसारीको विवरण पनि कुशलतापूर्वक आफ्नो संस्मरणात्मक यात्रा पुस्तकमा प्रस्तुत गरेका छन् ।
 लेखकले आफ्नो लन्दन यात्राको अन्तिम चरणको विवरण अझ बढी रोचक एवं दार्शनिक ढङ्गबाट चित्रण गरेका छन् । जुन यसप्रकार छ– ’थोरै दिनका लागि देशदेशका रंगविरंगी पंक्षी राजतिलकरूपी वृक्ष (रुख) मा जम्मा भएका थियौं । सो आज राम–राम गरेर आफ्ना बसेर (गुंडलाई) उडी गयौं । १५ तारिख १९११ मा बकलोह छावनी आई पुग्यौं । मेरो लन्दन राजतिलक यात्रा सकियो ।’

यात्राका विविध प्रसङ्गलाई लिएर लेखिएको सौन्दर्यपरक तथा कलात्मक अभिव्यक्तिका साथ साहित्यिक भाषाका माध्यमबाट प्रस्तुत गरिएको पुस्तक सन् १९१२ मा वाराणसीवाट प्रकाशित भएको हो । नेपाली साहित्यको विकासक्रममा यस पुस्तकको प्रकाशनले यात्रा साहित्यकोअस्तित्व छुट्टै रूपमा सुरुआत गरेको छ ।

 शेरसिंह रानाको यात्रा वृत्तान्तमा एकातिर तथ्य सत्यमा आधारित सूचनाहरूको प्रवाह भएको छ भने अर्कातिर चिन्तनमय संवेदनशील साहित्यिक अभिव्यक्ति पाइन्छ । सूक्ष्म अवलोकनमा आधारित यात्रा–वृत्तान्तमा अविरल प्रवाह पाइन्छ । एउटा विन्दुबाट प्रारम्भ भई व्यापक अनुभूतिलाई समेटेर क्रमिक गतिले यात्राको विवरअगाडि बढ्दै गएको छ । पुस्तक पढ्दा पाठक कतै रोकिने, अडिने, अल्झिने र दिक्क मान्ने गर्दैन । यसको विपरीत पाठकवर्गमा निरन्तर उत्सुकता र कौतुलहतालाई जगाई राख्न यो पुस्तक सफल रहेको देखिन्छ । नेपाली भाषाको डायरी साहित्यमा यो भन्दा पहिलो अरू कुनै पुस्तक प्रकाशित भएको देखिदैन ।

 सम्भवतः त्यसैले होला शरदचन्द्र शर्मा भट्टराईले लेखमा शेरसिंह राना मगरको बारे यस प्रकारको विचार पोख्नुभएको छ–‘पेशाले सैनिक भए पनि शेरसिंह रानामगर एक सचेत लेखक थिए । यस कुरालाई उनको एउटै पुस्तकले पनि दर्शाउँछ । शेरसिंह रानामगरले अझ के–के लेखे । सन् १८१४ देखि १९१९ सम्म युद्धबन्दी भई बस्दाको पीडाजनक समयमा दिन काट्नेका निम्ति पनि उनले अवश्य केही न केही कोर्ने गरेको हुनुपर्छ । यस्ता लिखित तर अप्रकाशित सामग्रीको खोजी हुनुपर्दछ ।’ 
 अन्तमा सन् १९१३ सालमा प्रकाशित नेपाली यात्रा साहित्यको कोसेढुङ्गो ‘मेरो लन्दन राजतिलक यात्रा कमलमणि दीक्षितको प्रयासमा जगदम्बा प्रेसबाट दोस्रो संस्करणको रूपमा सन् २००२ सालमा प्रकाशित भएको छ । यसबाट लोप हुन लागेको पुस्तक तथा ओझेलमा परेका शेरसिंह रानामगर पुनः चर्चित भएका छन् ।

(लेखक : मास्टर मित्र स्मृति प्रतिष्ठान का अध्यक्ष हुनु हुन्छ)।

Last Updated on Sunday, 09 September 2018 16:35

Hits: 3673

गोरेबहादुर खपाङ्गी छात्रवृत्तीले नयाँ प्राज्ञिक जन्माउने - डा. गोविन्द थापा !

राज्यसत्ता सम्वादाता

Image may contain: 10 people, including Binita Ale Magar, people smiling, people on stage, people standing and indoor

काठमाडौं,१८ साउन, २०७५ - आदिवासी मगरका बारेमा, शोधकार्य गर्ने शोधार्थी तथा विद्यार्थी, मगर सम्बन्धी लेख लेख्ने लेखकहरु, तथा मगर जाति सम्बन्धी प्रकाशन भएका पुस्तक, शोधमुलक लेखहरुको बारेमा जानकारी राख्न चाहानेहरुका लागि मगर अध्ययन केन्द्रद्वारा तयार पारिएको पुस्तक “नेपालका आदिवासी मगरः सन्दर्भ विवरणिका” नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ तथा सदस्य सचिव प्रा.डा. जिवेन्द्रदेव गिरीको प्रमुख आतिथ्यमा पुस्तक विमोचन भएको छ ।

Image may contain: 2 people, including Govind Thapa, people smiling, people sitting

उक्त कार्यक्रमको अध्यक्षता मगर अध्ययन केन्द्रका अध्यक्ष डा. गोविन्द प्रसाद थापाले गर्नु भएको थियो । सो कार्यक्रममा प्रा.डा. डिल्लीराज दाहाल, प्रा.डा दिनेशराज पन्त ,नेपाल मगर संघका महासचिव ज्ञानेन्द्र पुन, गोरे बहादुर खपाङ्गी फाउन्डेशनका अध्यक्ष हुम बहादुर थापा मगर,  बम कुमारी बुढा मगर , प्राज्ञ विष्णु प्रभात, आदिबासी जनजाति राष्टिय उत्थान प्रतिष्ठानका पूर्ब सदस्य सचिब लोक बहादुर थापा मगर अतिथी रहेका थिए ।


Image may contain: 5 people, including Govind Thapa, Indira Shreesh and Thapa Hum, people smiling, people standing and indoor

पुस्तकको बारेमा प्राज्ञ लोक बहादुर थापा, प्राज्ञ दिनेशराज पन्त, प्रा.डा. डिल्लीराज दाहाले टिप्पणी गर्नुभएको थियो । उहाँहरुले पुस्तकले मगर जातिको बारेमा सहि जानकारी दिने र मगरको जातिको इतिहास, उत्पत्तीको खोज कार्यलाई मार्गनिर्देशन गर्न सक्ने र समग्रमा मगर जाति बारे शोधकार्य गर्नका लागि उपयोगी रहेको बताएका थिए ।


Image may contain: 6 people, including Govind Thapa, people sitting, people standing and indoor

प्राज्ञ विष्णु प्रभातले मगर जातिको प्रष्ट इतिहास इसाको पहिलो/दोस्रो सताब्दीमा देखिसकेको र बोन दर्शन (जसलाई त्यतिबेला पोन भनिन्थ्यो)का प्रबद्र्धकहरु मगरहरु थिए भनि मगर जातिको इतिहास निकै पुरानो भएको बताएका थिए । Image may contain: Pratibha Pun, sitting

सम्पादक विष्णुकुमार सिंजालीले टिप्पणीकर्ता विद्वानहरु तथा सम्पाद मण्डलको स्वयंसेवाको भावनाले अहोरात्र खटेको कारणबाट पुस्तक प्रकाशन सम्भव भएको बताउँदै पुस्तकमा छुटेका विषय वस्तुहरु, सन्दर्भ सामग्रीहरुको वर्गिकृत सुची, समयकालक्रम अनुसार सन्दर्भ सामग्रीहरुको सुची आदि सम्पादनमा भएको समय अभावका कारण पुस्तकमा उल्लेख गर्न नसकिए पनि आउँदो संस्करणमा संलग्न गरिने जानकारीका साथ सम्पादन गरिंदाका अनुभवहरु बताएका थिए ।


Image may contain: 1 person

यसै गरी प्रमुख अतिथी प्रा.डा. जिवेन्द्रदेव गिरीले मगर जातिको चर्चा गर्दै पुस्तकले मगर जातिको प्राज्ञिक कार्यमा सघाएको बताउनु भएको थियो । कार्यक्रमको सञ्चालन रञ्जना थापामगरले गर्नुभएको थियो  र स्वागत मन्तब्य प्रतिभा पुनको रहेको थियो ।


Image may contain: 1 person

अन्तमा कार्यक्रमका अध्यक्ष डा. गोविन्द प्रसाद थापाले प्रकाशित पुस्तक “नेपालका आदिवासी मगरः सन्दर्भ विवरणिका” विक्रिीवितरणबाट आउने सम्पूर्ण रकम गोरेबहादुर खपाङ्गी फाउन्डेशनद्धारा स्थापीत छात्रवृत्ती अक्षयकोषमा जम्मा हुने Image may contain: 2 people, including Indira Shreesh

जानकारी दिंदै, छात्रवृत्ती कार्यक्रमले नयाँ प्राज्ञिक व्यत्तित्वहरु जन्माउने र मगर समाज तथा देशको समृद्धिमा टेवा पुर्याउने बताउँदै सभाको विसर्जन गर्नुभएको थियो ।

फोटोः प्रतिभा पुन मगर

 

Last Updated on Tuesday, 07 August 2018 16:43

Hits: 582

 हार्दिक श्रध्दाञ्जलि - भिमी देवी राना

मिग मिडिया प्रा.ली द्धारा संचालित

www.rajyasatta.com

सुचना तथा प्रसारण बिभाग

दर्ता नम्बर १६८७/०७६-७७

ठेगाना

ललितपुर १४, ललितपुर

संचालक/प्रधानसम्पादक

हुम बहादुर थापा मगर

मोबाईल ९८४१५९३६०६