A+ A A-

अविष्मरणीय हरित काव्यगोष्ठी (इको–पोइट्री)

-चेतनाथ कणेल 'हरित'
 काठमाण्डौ , मंसिर १९ - यस्तो काम कमैले गरेका छन् । यसरी निरन्तर कमै लागिपरेका छन् । उनी लण्डनबाट 'हरिया कविता'का पोका बोकेर आएका छन् यतिबेला काठमाडौंमा । उनले हामी बिच पोको खोलेका थिए मंसिर १४ का दिन काठमाडौंमा ।

Image may contain: 12 people, including Shyam Rana Magar, Bryan Hitan, Puran B. Thapa and Bhavesh Bhumari, people smiling, people standing

हरिया कविता अर्थात्, हरित कविता, अर्थात् इको पोइट्री । ‘स्वच्छन्द सुसेली’, अर्थात् १०४  हरियाली कविताको पुस्तक । विजय हितान । एक अथक अभियानकर्मी । साहित्यमा हरित अभियान । इकोलजिकल कुरा । इकोलजिकल दिनचर्या । ‘वातावरण जोगाऔं, पृथ्वी जोगाऔं’ भनेर गुहार गरिरहेछन् । गोष्ठी गर्छन् इकोपोइट्रीका, निबन्ध लेख्छन् इको–उत्सर्जनका । हरेक कुरा वातावरण, पर्यावरण, धर्ती, पृथ्वी, जल, वायु, आकाश, रुखबिरुवा, वन्यजन्तु .... यस्तै यस्तै । उनी आन्दोलनमा छन्, उनी इको–पोइट्रीको तिलिचो वा रारा वा फोक्सुन्डोमा चुर्लुम्म डुबेका छन् यतिबेला । उनी हरित कविताकै कोशी, गण्डकी र कर्णालीमा नाउ चलाउँदै कतै महासागर भेट्ने सुरमा यात्रारत छन् । सलाम भन्न मन लाग्छ उनको प्रयासलाई !

भन्नेहरू भन्छन्, यो गुल्मेली ठिटोलाई के भाउँतो चढेको ? यो लाहुरेलाई पर्यावरणको भूतले किन सताएको ?

Image may contain: text

एउटा सेवानिवृत्त बेलायती ‘गुर्खा’ लाहुरे । बेलायतमै बस्ने मान्छे । अझ त्यतै–त्यतै नाम चलेकै युनिभर्सिटीबाट वातावरण विज्ञानमा मास्टर्स पनि गरेको मान्छे । थपक्क पाउण्डका हरिया नोट खेलाउँदै र चपाउँदै लण्डनको हाइड पार्क व ग्रीनविच पार्कतिरै टहलिएर दिन काट्न पनि त सक्थ्यो । किन चाहिए हरिया कविता उसलाई ? किन चाहियो यत्रोविधि वातावरणीय सरोकार ? के नेपाल देशले उसलाई त्यो गर्न पठाएको हो ? के बेलायत देशले उसलाई त्यही गर् भनेर खटाएको हो ? निश्चय नै होइन । तर पनि ऊ सङ्घर्षरत छ । ऊ अभियानरत छ । हरिया रचना सृजन्छ । हरिया रचना बटुल्दै पुरस्कृत गर्छ । सम्पादन गर्छ, छाप्छ, बाँड्छ । कहिले लण्डन हुन्छ, कहिले लगनखेलपरिपरि हुन्छ । कहिले थेम्सको कुरा गर्छ, कहिले बडिगाड खोलाको कुरा गर्छ । ऊ जे कुरा गर्छ स्वच्छन्दताको कुरा गर्छ । हरिया गीत गाउँछ, हरिया कविता कोर्छ ।

‘स्वच्छन्द सुसेली’ कविता वाचन ! ‘स्वच्छन्द सुसेली’ इकोपोइट्री विमर्श । बेलायतदेखि बागबजारसम्म । रहर पनि उसलाई के के जाग्छ ! हुँदा हुँदा गोष्ठीस्थल पनि रोज्छ ‘माइपोखरीको किनार’ । अर्थात् बागबजारमा रहेको आराधना क्याफेको पूरै भित्तोमा फैलिएको माइपोखरीको विशाल फ्लेक्समय हरियाली फोटो । आराधनालाई पनि धन्यवाद भन्न मन लाग्छ । दृष्टि र भाउँतोमा कहाँ कहाँ ध्यान पुग्छ मान्छेको ! आफू पुग्न नपाए पनि इलामको माइपोखरीलाई एकपटक चुम्न मन लाग्यो । सुनेको छु, जहाँ चराहरू पनि इलामेलीले झैं मेहनत र ‘इलम’ गर्छन्, पोखरीका पात टिपेर पर पर फाल्छन्, पोखरीलाई सधैं सफा राख्छन् । अहा प्रकृति ! अहा इको–खेल ! निरन्तर चलिरहेछ एउटा सिस्टम,अर्थात् ‘इकोसिस्टम’ !

यही माइपोखरी किनारमा हराए१मंसिर २०७५ शनिवार दिउँसभरि उही इको–सर्जक विजय हितान, प्रा.डा. गोविन्दराज भट्टराई, चेतनाथ कणेल हरित, वरिष्ठ वातावरणीय वकिल पदमबहादुर श्रेष्ठ, प्रा.डा.(ई.) राजेन्द्रप्रसाद अधिकारी, डा. अञ्जना भट्टराई, अच्युत घिमिरे, धर्मेन्द्रविक्रम नेम्वाङ, विष्णु एस. राई, भावेश भुमरी, जानुका राई (लण्डन), बन्दना राई, प्रज्ज्वल अधिकारी, सयपत्री थुलुङ, गणेश राई, सञ्जोग लाफा मगर, डिल्लीराम आचार्य, प्रमोद प्याकुरेल, चन्द्र श्रीस, स्वप्निल स्मृति, सीता राई, सीता तुम्खेवा, होम आले मगर, बच्चु हिमांशु, नवीन, नरेश, किशोर, श्याम लगायतका करिब ३५ जना इकोभावकहरू । सुनाए सबैले केही न केही । भावकहरू भए आराधनाको ‘माइपोखरी किनार’मा इकोभावुक ! मंसिरे सङ्क्रान्ति इको–उत्सवका लागि समर्पण ! विजय हितान, ‘बुलबुल’ र स्वच्छन्द सुसेलीका लागि अर्पण !

तीन घण्टा बितेको पत्तै भएन ! प्रा.डा. गोविन्दको इकोसाहित्य अनुभवबाट अलिकति भए पनि अभिसिञ्चित र लघुदीक्षित भए सबैजना । एउटा नयाँ अवधारणा, एउटा नयाँ पहल । थाहा पाइयो धरानका कृष्णप्रसाद भण्डारीले इको–साहित्य लेखनको खोजी/विश्लेषणमा नै भर्खर त्रिविबाटै पिएचडी सकेका छन् । नौलैनौला कुरा । स्यावास, साधुवाद भन्न मन लाग्छ सबैलाई, प्रयासको असाध्यै प्रशंसा गर्न मन लाग्छ सबैको ।

हरितले पनि सुनायो ‘स्वच्छन्द’ सुसेलीमा प्रकाशित आफ्नो जलवायु परिवर्तनप्रति समर्पित एक गीतिकविता :‘काकाकुल काल’ ! सुनायो पाख्रीबासदेखि नै इको–कविता र विकास–कविता पनि लेख्दै गरेको कहानी । सुनायो भैरव रिसाल, राजेन्द्र दाहाल, भरत भुर्तेल, केदार शर्मा, कृष्णविनोद लम्सालहरूलाई वातावरणीय विशेष प्रशिक्षण २७ वर्षअघि पाख्रीबासमै दिएको कुरा । सुनायो कृष्णा ताम्राकारले रेडियो नेपालबाट आफ्ना हरित–कविता तिनैताका नियमित पाठ गरिदिएका कुरा । विजय हितानले जुटाएको त्यो अवसर आफ्ना लागि ‘नोस्टाल्जिक’जस्तै भएको कुरा पनि सुनाउन बाँकी राखेन । हरितले हरित आन्दोलन चलाउन सकेन, तर हरित आन्दोलनमा यतिबेला जो छन् तिनलार्ई लाखौं अभिवादन भन्न चाहन्छ ।

प्रकृतिसँग हार खाइरहेको यो समयमा विजयजस्ता सयौं अभियन्ता विजयहरूको अझ धेरै अभिनन्दन गर्न पाऊँ । साथ, सहयोग र सहकर्म गर्न पाऊँ । पचास हेमन्त कटाएपछि मात्र हरित-कवितामै समर्पित भएर दिन बिताउन पाएकोमा यो २०७५ मंसिरलाई सधैं शिरमा राख्न पाऊँ ! जय प्रकृति, जय हरित कविता (इका–पोइट्री), जय विजय–अभियान !

 हार्दिक श्रध्दाञ्जलि - ज्ञान बहादुर गाहा मगर