A+ A A-

भाग्सुका साहित्यकार शेरसिंह रानामागर बारे बिबेचना !

– त्रिलोकसिंह थापा मगर
 भारतको हिमाञ्चल प्रदेश भाग्सु धर्मशालामा नेपाली भाषाको पहिलो साहित्यकार सम्भवतः लेफ्टिनेन्ट (सुवेदार मेजर) शेरसिंह रानामगर नै ठहरिन्छन् ।

Image may contain: 1 person

आजभन्दा नब्बे वर्ष पहिले सन् १९११ ‘मेरो लन्दन राजतिलक यात्रा’ भन्ने पुस्तक उनले लेखेका थिए । नेपाली भाषामा यात्रा साहित्यको सुरुआत ‘जङ्गबहादुरको बेलायत यात्रा’ शीर्षक पुस्तकको लेखनबाट भएको हो । वि.सं. १९०८ मा यो लेखिएको थियो । त्यसपछि लेखिएको शेरसिंह रानाको पुस्तक सम्भवतः नेपाली भाषाको यात्रा साहित्यमा दोस्रो ठहरिन्छ । यो पुस्तक यात्रा साहित्यको जगको टुङ्गो भएकोले यसको महत्त्व तथा स्थान आफ्नै किसिमको छ ।

 भाग्सुका साहित्यकारहरूले शेरसिंह रानामगरको दैनिक जीवन, समाज सेवा, शैक्षिक एवं सामाजिक सुधारसम्बन्धी क्रियाकलापहरू बारेमा यदाकदा छापाहरूमा चर्चा गरेको पाइन्छ । तर उनको साहित्यिक प्रतिभा तथा उनले लेखेका पुस्तकबारेमा कुन्नि किन हो मौन रहे र कसैको खोजी नै गरेनन् । अतः शेरसिंह रानाको साहित्य प्रतिभाबारे हामी अनभिज्ञ नै रहयौं ।

 कुनै एक मर्मज्ञको भनाइ छ –“साहित्यकार र कलाकारको प्रतिभा र योगदान कहिले पनि ओझेलमा पर्दैन । कतै न कतै, कुनै न कुनै बेला प्रकाशमा आइहाल्दछ ।” यो कुरा शेरसिंह रानामा पनि चरितार्थ हुन आएको छ । आज नब्बे वर्षपछि साहित्यकार शरद्रचन्द्र शर्मा भट्टराईले शेरसिंह रानाको खोजी गरी उनलाई पुनः प्रकाशमा ल्याइदिनुभएको छ । वास्तवमा नेपाली भाषाका साहित्यसेवी मोतीराम भट्टराईका मित्र तेजबहादुररानामगरको बारेमा खोजी गर्दै श्री भट्टराई नेपालबाट भाग्सू (धर्मशाला)सम्म पुग्नुभएको थियो । तर त्यहाँ शेरसिंह राना र उहाँको साहित्यिक योगदान बारेमा छिटपुट केही जानकारी प्राप्त गर्नुभयो । सोही आधारमा नेपाल राजकीयप्रतिष्ठानद्वारा प्रकाशित ‘समकालीन साहित्य’ (२०५८ : अङ्क, ४१) पत्रिकामा शेरसिंह राना र उहाँको पुस्तकको बारे मा गहकिलो एवं खोजपूर्ण लेख प्रकाशित गराउनुभयो । यसै लेखबाट एउटा कौतुहल र जिज्ञासा सिर्जना भएको छ । शेरसिंह राना को हुन् र कहाँका हुन् ? उनको साहित्यिक योगदान अझै के के छन् ?खोजी गर्नुपर्ने विषय हुन् । साहित्यकारका योगदानबारेमाखोजी गर्न धेरै पहल गर्नुपरेको छ ।

 अब उहाँको जीवन परिचयका बारेमा छोटकरीमा कुरा गरौं । शेरसिंह राना पिथौरागढबाट भाग्सु बसाइँ सरेका हुन् । तैपनि नेपालमा उनको पुख्र्यौली घर कहाँ हो ? त्यो थाहा हुन सकेको छैन । पेशाले उनी सैनिक थिए । उन्नाइस वर्षको कलिलो उमेरमा १/४ गोर्खाराइफल्समा प्रवेश गरे । आफ्नो मेहनत र लगनशीलताले उनी चाँडै नै अनेररी लेफ्टिनेन्ट (सुबेदार मेजर)को पदसम्म पुगे । प्रथम विश्वयुद्धमा मिरजई, वजरिस्तान, चीन, फ्रान्स आदिका युद्धहरूमा सक्रियतापूर्वक भाग लिए । महायुद्धको दौरानमा सन् १९१४ देखि १९१९ सम्म जर्मनीमा उनी जङ्गी कैदीका रूपमा रहे । जर्मन नाजीहरूको कठोर यातनाले गर्दा बन्दी जीवनमा उनलाई पक्षघात रोग लाग्यो । उनी सन् १९२० मा सैनिक सेवाबाट रिटायर भए र ८१ वर्षसम्म जीवित रहे ।

 सेवा निवृत्त भएपछि शेरसिंह राना सन् १९३४ देखि १९३६ सम्म गोर्खा एशोसियसनका अध्यक्ष भए । उनले भाग्सुमा गोर्खालीहरूका लागि कतिपय सामाजिक, आर्थिक, शैक्षिक एवं साँस्कृतिक विकासका कार्यक्रमहरूको सञ्चालन एवं कार्यान्वयन गरे । विशेषगरी सैनिक स्कलमा भर्नासम्बन्धी नियमलाई गोर्खाली छात्रहरूका लागि सजिलो गराए । अनि गोर्खाली युवाहरूको कद, छाती, वजनमा छुट दिलाए । जमीनको झगडा, अपहरण, हुक्का पानी बन्द गर्ने खोल्ने इत्यादि नियमहरूको फैसला पञ्चायतद्वारा नियमबमोजिम सम्पन्न गर्ने गराउने चलनको सुरुआत पनि उनले गराए । शेरसिंह रानाले आफ्नो अध्यक्षीय सेवा अवधिमा संस्थाको कोषलाई सबल गराउन दान दातव्यवृद्धि अभियानलाई प्रभाकारी रूपमा संचालन गरे । उनी जिल्ला सैनिक बोर्डमा सेवा निवृत्त स्थानीय गोर्खालीहरूकोप्रतिनिधि सदस्य पनि रहे ।
 शेरसिंह राना राजनीतिक रूपले पनि सजग र सचेत व्यक्ति थिए । भारतीय गोर्खालीहरूको सन् १९२५ मा स्थापित राजनैतिक दल ‘गोरखा लीग’को सक्रिय सदस्यको रूपमा हिमाञ्चलमा कार्यरत थिए । यो कुरा सो दलको मुखपत्र ‘गोर्खा संसार’ साप्ताहिकबाट थाहा हुन्छ । शेरसिंह राना पेशाले सैनिक भए पनि उनको व्यक्तित्वमा साहित्यिक, राजनैतिक तथा समाजसेवामा प्रतिभाहरू विद्यमान रहेको पाइन्छ । जीवनको अन्तिम क्षणमा केही समय वाराणसीमा पनि धार्मिक कार्यमा संलग्न भई बिताएर पछि पुनः भारस् फर्के ।

 अब उनको ‘मेरो लन्दन राजतिलक यात्रा’ बारेमा छोटकरीमा कुरा गरौं । ब्रिटिश सरकारको निम्तोमा पञ्चम जर्जको राजनीतिक समारोहमा भाग लिन उनी पानी जहाजबाट १० जून १९११ ईस्वीमा इंगलैण्डको बन्दरगाह साउथेम्पटन पुगेका थिए । उनी १ अगस्त १९११ ईस्वीमा भारत फर्के । इंगलैण्डमा पुगेदेखि नै उनले आफ्नो यात्राकोविवरण रोजनाम्चा रूपमा लेख्न थालेका थिए ।

 शेरसिंह रानामगरले बकलोहमा १ जनवरी १९९२ मा पुस्तकको भूमिका लेखेका थिए । सो भूमिकामा आफ्नोलन्दनयात्रा कुन प्रसङ्गमा र कसरी गरेका थिए तथा यो पुस्तक लेख्नाको उद्देश्य के थियो भन्ने कुरा उल्लेख गर्नुभएकोछ । जुन यसप्रकार छ–“श्री महाराजाधिराज पञ्चम जार्जको राजतिलक उत्सव जो सन् १९११ जुन मासमा लन्दन शहरमा भएथ्यो, हिन्दुस्तानी फौजका पल्टनतर्फ एक सर्दारलाई पनि उनका भाग्यले गर्दा लन्दन (बेलायत)पुगी सो उत्सव हेर्ने अवसर मिलेको थियो । त्यसैबेलामा करनेल डब्ल्यू जी वाकर साहेब, बहादुर भी.सी. कमाण्डिङ्ग१÷४ गोर्खाले ममाथि ठूलो कृपा गरेर मलाई बेलायत पठाउनुभयो । छावनीबाट हिंड्नुभन्दा पहिले मलाई मेरो कृपालु मित्रहरूले आग्रहसाथ यो कुरा भनेका थिए कि, हुन सके बेलायतको हाल मात्रै लेखेर ल्याउन् । सो बमोजिम म जुन दिन वहाँ पुगेथे उस दिन देखिन् यो दिनको हाल (रोजनाम्चा) लेख्न थालें । यो पुस्तक लेख्नुको मतलब, गोर्खा जातिलाई यसबाट कुनै तरहको नवीन शिक्षा मिलोस् भन्नाका निम्ति होइन–केवल आफ्नो हृदयको भावलाई प्रकाशित गर्नाको लागि हो । देशी भाषामा अनेक तरहका ग्रन्थ, देश देशान्तर द्वीप–दीपान्तरका भ्रमण–वृतान्त बनेका छन्, हाम्रा नेपाली (गोरखा) भाषामा अझ कुनै बनेका छैनन् । यसैकारण म पनि आफ्नो तुच्छ बुद्धिअनुसार यो लन्दन राजतिलक यात्रा’ नामको सानु ग्रन्थ लेखी तपाईंहरूका करकमलमा सादर समर्पण गर्दछ ।”

 यात्रा निबन्धको उद्देश्य यात्राका दैनिक अनुभवलाई निजी संवेदनमा ढालेर प्रकाश पार्न हो । शेरसिंह रानाले पनि आफ्नो वेलायती बसोबासमा आफूले देखे–जानेका, अनुभव गरेका कुराहरू, महत्त्वपूर्ण घटनाहरूबाहेक बाटामा पर्ने मुलुकहरूका सजीव विवरणहरू पुस्तकमा रोचक ढङ्गले प्रस्तुत गरेका छन् । इंग्लैण्डको प्रकृति चित्रण, अंग्रेजहरूको सामाजिक, बानी–व्यवहार, मनोवैज्ञानिक दृष्टिकोण, धार्मिक आस्था, भौतिक आर्थिक उन्नति, मनोरञ्जन तथा राजनीतिक संरचना एवं संगठन आदिहरूले वर्णन अन्तर्गत स्थान पाएका छन् । 

 No automatic alt text available.

शेरसिंह रानाको यात्रा अवलोकन ज्यादै गहिरो एवं सूक्ष्म भए तापनि प्रस्तुतीकरण सरल, सहज र मीठो  छ । यात्राको वृत्तान्त कोरा कल्पना र भावुकतामा आधारित  छैन । जुन कुरा उनले देखे, अनुभव गरे, तिनलाई विश्वासयोग्य, तथ्यपूर्ण बनाउन लेखक चेष्टा र सजग रहेको पाइन्छ । अझ कतिपय ठाउँमा उनले उदाहरण दिएर, तुलना गरेर आफूले देखेका कुराहरू पुष्टि गर्ने चेष्टा प्रयास गरेका छन् । उदाहरणार्थ “जहाज किनारा लाग्नेबित्तिकै मानिसहरूले सबै मालसामान इत्यादि उतार्न थाले । गोरा मजुराले जुन छिट्यासीसित विनाहल्ला यो काम गरे, यो तारिफलायक मान्यौ । हिन्दुस्तानी कुल्लीले जुन काम १२ घण्टामा पूरा गर्न सक्तछन्, सो काम गोरामजुराहरूले ४ घण्टामा सिध्याउँदा रहेछन् ।”

 ठाउँ÷ठाउँमा अंग्रेजहरूको बानी–व्यवहारको चित्रण पनि शेरसिंह रानाले सजीव ढङ्गले प्रस्तुत गरेका छन् । जस्तो ‘तेत्रो ठूलो घुइँचो भए पनि कसैले बाटामा हिंड्दा वा उठ्दा र बस्दा थुकथाक गरेको देखेनौं । हामी गोर्खालीहरूलाई त यस्तो अभ्यास छ कि४ पाइला हिंडदै पाँच ठाउँमा थुकिराख्छौं । तर बेलायतमा भुइँमा थुक्दैनन् । जब मानिसहरूलाई आराम र गफाष्टक गर्न मनलाग्दो रहेछ, तब ती सडकका किनारमा रहेको फलैंचामा अथवा हरियो घाँसका चउरमा बसी कुरा गर्दा रहेछन् ।’

 लेखकले कतिपय ठाउँमा साहित्यिक एवं भावपूर्ण ढंङ्गबाट लन्दनको प्राकृतिक दृश्यहरूको विवरण आत्मविभोर भएर आफ्नो पुस्तकमा प्रस्तुत गरेका छन् । जस्तो ‘पुष्पवाटिकाको यौवन, फूलको बहार, क्यारीको बनावट, बाटाको सफाइ, कुञ्जको रचना, लताको अंकमाल, फूलकोगन्ध, वायुको प्रबन्ध इत्यादि देखेर हामीहरू मोहित भयौं । एक शब्दमा यो पुष्पवाटिका कामदेवको क्रिडा गर्ने उद्यानलाई पनि मात गर्ने छ ।’
 आफ्नो भावपूर्ण साहित्यमा अभिव्यक्तिका साथै लेखकले वेलायतको राजनीतिक व्यवस्था एवं संगठनबारे पनि ठाउँ–ठाउँमा पुस्तकमा उल्लेख गरेका छन् । जुन यसप्रकार छ– ‘पार्लियामेन्ट सो सभालाई भन्दछन्, जसमा साधारण प्रजाका मुखियाको र भाइस सभा भारदारीलाई भन्दछन् । यो अंग्रेजहरूको ठूलो सभा बस्ने ठाउँ सन् १८४० देखि बन्न लागेर सन् १८५७ मा तयार भएको छ ।’ लेखक सैनिक सेवाका भए पनि इंगलैण्डको राजनीतिक संगठनको विश्लेषण प्रभावकारी रूपमा गर्न सकेका छन् ।
 लेखकले आफ्नो यात्रा संस्मरणमा अंग्रेजहरूको धार्मिक आस्थाबारे पनि आफ्नो मन्तव्य प्रकट गरेका छन् । जुन यसप्रकार छ– ‘साँझ परेपछि हामीले एक नाटक हे¥यौं, नाटकमा हामीले १५ सय वर्षको अर्थात जुन समयमा अंग्रेज जाति पनि मूर्तिपूजा गर्ने थियो । सो समयको दृश्य देख्यौं ।’ यसप्रकार यो चिन्तनमय अभिव्यक्तिबाट लेखकले आफ्नो पुस्तकलाई स्तरीय बनाउने चेष्टा गरेको देखिन्छ ।
 लेखक सैनिक भएकोले सैनिक उद्योगहरूमा बढी चाख लिएको देखिन्छ । के, कसरी, कति क्षमताको, तोपखाना, गोलाबन्दुक र पानीजहाज, हवाइजहाजहरू इंगलैण्डमा उत्पादन हुन्छ, सोबारे विस्तारमा चित्रण गरेका छन् ।

 शेरसिंह रानाले आफ्नो दैनिक संस्मरणमा केम्प जीवनको सजीव चित्रण गर्नु बाहेक घुमेडुलेका चिडियाखाना, रेल्वे स्टेशन, नदी किनार, समुद्रको तट, प्रदर्शनी, मोटरसाइकल, घोडा, मोटर आदिका चित्रण अत्यन्त रोचक ढङ्गबाट प्रस्तुत गरेका छन् । राजतिलकको उपलक्ष्यमा भएका रंगीन समारोह, शाही शोभायात्रा, आतसवाजी, फौजहरूको कवाइत, तोपको सलामी, समारोहका झाँकीहरू आदिको शब्दचित्र आकर्षक एवं प्रभावकारी रूपमा उल्लेखगरेका छन् । अंग्रेजहरूले गरेका चौतर्फी विकास र प्रगतिको उल्लेख लेखकले ठाउँ–ठाउँमा गरेका छन् । इंगलैण्डमा उच्च सैनिक पदाधिकारीहरूसँगको भेटघाट भलाकुसारीको विवरण पनि कुशलतापूर्वक आफ्नो संस्मरणात्मक यात्रा पुस्तकमा प्रस्तुत गरेका छन् ।
 लेखकले आफ्नो लन्दन यात्राको अन्तिम चरणको विवरण अझ बढी रोचक एवं दार्शनिक ढङ्गबाट चित्रण गरेका छन् । जुन यसप्रकार छ– ’थोरै दिनका लागि देशदेशका रंगविरंगी पंक्षी राजतिलकरूपी वृक्ष (रुख) मा जम्मा भएका थियौं । सो आज राम–राम गरेर आफ्ना बसेर (गुंडलाई) उडी गयौं । १५ तारिख १९११ मा बकलोह छावनी आई पुग्यौं । मेरो लन्दन राजतिलक यात्रा सकियो ।’

यात्राका विविध प्रसङ्गलाई लिएर लेखिएको सौन्दर्यपरक तथा कलात्मक अभिव्यक्तिका साथ साहित्यिक भाषाका माध्यमबाट प्रस्तुत गरिएको पुस्तक सन् १९१२ मा वाराणसीवाट प्रकाशित भएको हो । नेपाली साहित्यको विकासक्रममा यस पुस्तकको प्रकाशनले यात्रा साहित्यकोअस्तित्व छुट्टै रूपमा सुरुआत गरेको छ ।

 शेरसिंह रानाको यात्रा वृत्तान्तमा एकातिर तथ्य सत्यमा आधारित सूचनाहरूको प्रवाह भएको छ भने अर्कातिर चिन्तनमय संवेदनशील साहित्यिक अभिव्यक्ति पाइन्छ । सूक्ष्म अवलोकनमा आधारित यात्रा–वृत्तान्तमा अविरल प्रवाह पाइन्छ । एउटा विन्दुबाट प्रारम्भ भई व्यापक अनुभूतिलाई समेटेर क्रमिक गतिले यात्राको विवरअगाडि बढ्दै गएको छ । पुस्तक पढ्दा पाठक कतै रोकिने, अडिने, अल्झिने र दिक्क मान्ने गर्दैन । यसको विपरीत पाठकवर्गमा निरन्तर उत्सुकता र कौतुलहतालाई जगाई राख्न यो पुस्तक सफल रहेको देखिन्छ । नेपाली भाषाको डायरी साहित्यमा यो भन्दा पहिलो अरू कुनै पुस्तक प्रकाशित भएको देखिदैन ।

 सम्भवतः त्यसैले होला शरदचन्द्र शर्मा भट्टराईले लेखमा शेरसिंह राना मगरको बारे यस प्रकारको विचार पोख्नुभएको छ–‘पेशाले सैनिक भए पनि शेरसिंह रानामगर एक सचेत लेखक थिए । यस कुरालाई उनको एउटै पुस्तकले पनि दर्शाउँछ । शेरसिंह रानामगरले अझ के–के लेखे । सन् १८१४ देखि १९१९ सम्म युद्धबन्दी भई बस्दाको पीडाजनक समयमा दिन काट्नेका निम्ति पनि उनले अवश्य केही न केही कोर्ने गरेको हुनुपर्छ । यस्ता लिखित तर अप्रकाशित सामग्रीको खोजी हुनुपर्दछ ।’ 
 अन्तमा सन् १९१३ सालमा प्रकाशित नेपाली यात्रा साहित्यको कोसेढुङ्गो ‘मेरो लन्दन राजतिलक यात्रा कमलमणि दीक्षितको प्रयासमा जगदम्बा प्रेसबाट दोस्रो संस्करणको रूपमा सन् २००२ सालमा प्रकाशित भएको छ । यसबाट लोप हुन लागेको पुस्तक तथा ओझेलमा परेका शेरसिंह रानामगर पुनः चर्चित भएका छन् ।

(लेखक : मास्टर मित्र स्मृति प्रतिष्ठान का अध्यक्ष हुनु हुन्छ)।

 हार्दिक श्रध्दाञ्जलि - ज्ञान बहादुर गाहा मगर