A+ A A-

गीतकार भावेश भुमरी युकेका कार्यक्रमहरूमा व्यस्त

मन्जु मौसमी
लण्डन,जुन ५ - यही जुन ३ का दिन लण्डनको चाल्टनस्थित एक सभाहलमा नेपालका अति लोकप्रिय गीतकार भावेश भुमरीको विशेष आतिथ्यमा बृहत् वातावरण साहित्य गोष्ठी भव्य रुपले सम्पन्न भयो ।



नेपालको मध्य पश्चिम प्यूठानमा जन्मेर अध्ययनका क्रममा काठमाडौँ पसेका भुमरीले विगत लामो समयदेखि नेपाली साहित्यको विभिन्न विधामा कलम चलाउँदै आएका छन् । विशेषत गीत र कविता विधामा कलम चलाउँदै आएका भुमरी नेपालमा मात्र होइन नेपाली बसोसास गर्ने संसारभरि आफ्ना प्रभावशाली गीतहरूका माध्यमबाट आफ्नो छवि राम्रोसँग स्थापित गरेका छन् । यसो त यिनी काठमाडौँमा बसेर गीतसङ्गीतमा लगानी गर्दै गीतिएल्मब र गीतसङ्ग्रह प्रकाशन गर्ने समकालीन पुस्ताका अब्बलमात्र नभएर पहिलो गीतकार नै हुन् । यिनले जति लगानी गरेर कसैले पनि सङ्ख्यात्मक र गुणात्मक कृतिहरू प्रकाशन गरेका छैनन् ।



यिनको यही लोकप्रियताका कारण यिनी संसारभरिका नेपाली गीतसङ्गीतका स्रोता र दर्शकसामु राम्रोसँग जमेर स्थापित हुन सफल भएका हुन् । यिनी आफैँमा गीत विधामै थेसिस गरेर स्तातकोत्तरको योग्यता पूरा गर्ने गीतकार पनि हुन् । यिनको लोकप्रियता युकेमा पनि अत्यन्त धेरै छ । यही कारण युकेमा आयोजना हुने विभिन्न साहित्यिक, सांस्कृतिक र अन्य कार्यक्रमका लागि मे ३१ मा लन्डन निम्त्याइएका भुमरीलाई अहिले भ्याइनभ्याई भएको छ । साढे दुई महिनाको समय लिएर आएका भुमरीको एक दिनको समय पनि खालि देखिँदैन । विशेषत आफ्ना प्रशंसक र कार्यक्रमहरूको निम्तोमा व्यस्त भुमरीले मे ३ मा युकेमा रहेका विभिन्न १४ वटा साहित्यिक संघसंस्थाहरूद्वारा संयुक्तरूपमा आयोजित 'तेस्रो बृहत् वातावरण साहित्य गोष्ठी'लाई विशेष अतिथि भई दिनभरि समय दिए । आफूलाई युके ल्याउन निम्तोपत्र पठाएर सहयोग गरेको यस कार्यक्रमका आयोजकलाई धन्यवाद दिँदै भुमरीले नेपालका कला, साहित्यलगायतका विभिन्न विषयमा स्पष्ट विचार राखे । लन्डनबाट देश सम्झँदै भुमरीले नेपालको प्राकृतिक सुन्दरताको बखान गरे र त्यही सुन्दरतालाई बचाउन अनि भोलिका पुस्तालाई हस्तान्तरण गर्न वातावरणसम्बन्धी कार्यक्रमहरू नेपालका विभिन्न शहर र दुर्गम गाउँमा पनि हुनुपर्नेमा जोड दिए । उनले वातावरणको महत्वमाथि प्रकाश पार्दै बेलायतजस्तो देशमा वातावरणसम्बन्धी यतिका कार्यक्रम र काम भइरहेका छन् भने हामी सबै मिलेर नेपालमा अरु बढी काम गर्नुपर्छ भन्ने कुरामा जोड दिए । आफू नेपालमा पुस्ताकालय अभियानका सचिव भएकाले वातावरणसम्बन्धी विभिन्न पुस्तकहरू दुर्गम गाउँगाउँका विद्यालयसम्म लैजान र त्यसम्बन्धी काम गर्न पनि इच्छुक भएको कुरा व्यक्त गरे । आफूलाई आफ्नै जन्मथलोको सुन्दरताले साहित्यमा लाग्न प्रेरित गरेको सन्दर्भ कोट्याँदै यस्तो थलोलाई विदेशमा बसोबास गर्दै आएका प्रत्येक नेपालीले हर काममा साथ र सहयोग गर्नुपर्ने कुरामा जोड दिए ।



नेपालको विशेषत काठमाडौँको विग्रँदो वातावरणका बारेमा मार्मिक कविता वाचन गरेर उपस्थित साहित्यकार र साहित्यप्रेमीहरूको मनग्य मन जित्न सफल भुमरी मे २ का दिन मगर संघ युकेको बैठकमा आमन्त्रित थिए र आफ्नो मगर जाति अनि सिङ्गो नेपाल जातिका साहित्य, कला, संस्कृति एवम् चेतना विकासमा प्रभावकारी काम कसरी गर्ने भन्ने विषयमा पनि आफ्ना महत्वपूर्ण धारणा राखेका थिए ।



युकेका लागि नेपालका राजदूत डा. दुर्गाबहादुर सुवेदीले भावेश भुमरीलाई खादा ओढाएर स्वागत र सम्मान गरेपछि यी दुवैले बृहत् वातावरण साहित्य गोष्ठीका सभापति गमलाको लाँलीगुराँस फूलमा सिंचन गरी कार्यक्रमको औपचारिक उद्घाटन गरेका थिए । गोष्ठीको पहिलो चरणमा अघिल्ला वर्षहरूमा वाचित तथा पुरस्कृत वातावरणसम्बन्धी १०४ वटा वातावरणीय कविताहरू सङ्गृहित ‘स्वच्छन्द सुसेलीहरू' कृतिको विमोचन अतिथिद्वय सुवेदी र भुमरीले गरेका थिए । कृतिका बारेमा विनोद अधिकारी र विश्वासदीप तिगेलाले समीक्षा गरेका थिए । कार्यक्रममा ३८ जना कविहरूले वातावरणसम्बन्धी कविताहरु वाचन गरे भने वाचित कविताहरूबाट कवि लाहाङ चेम्जोङ उत्कृष्ट कविको रूपमा घोषित भए । दुर्गाप्रसाद पोख्रेल, जानुका राई, भूपेन्द्र घिमिरे, राजेन्द्र खस, दलबहादुर बुढाथोकी, सन्तोष कार्की, सन्जिता देउजा, होम सुनुवार, गोमा राना, गोपाल शाही, विश्वकाजी राई, मोहन आचार्य जलद, डम्बरसिंह प्रयास, दुत पुन ‘चिम्खोले काइँला’, सुरेशजङ शाह, निर्मला न्यौपाने, प्रतिमा केसी, विनोद अधिकारी, विश्वासदीप तिगेला, नानु राना, जानु काङ्वाङ, लालसुन्दर राई, भोजराज बराल, घनबहादुर थापामगर, कृष्ण बजगाईं, वाशु शर्मा, मन्जु भण्डारी, सुमलकुमार गुरुङ, सारादेवी गुरुङ, देवी आले, लाहाङ चेम्जोङ, सेमन्त राई, कोमल श्रेष्ठ मल्ल, तारा भट्टराई, गोकुल भण्डारी, मोती भण्डारी, रेशम अर्याललगायतले आफ्ना सिर्जना वाचन गरेका थिए ।



वातावरण साहित्यका अभियन्ता वातावरणविद् तथा साहित्यकार विजय हितानको मुख्य सक्रियतामा विगत दुई वर्षमाजस्तै यस वर्ष पनि कविता गोष्ठी अयोजना गरिएको हो । हितानकै अगुवाइमा सन् २००९ देखि युकेमा निरन्तररूपले वातावरणसम्बन्धी कार्यक्रमहरु हुँदै आएका छन् । युकेका सम्पूर्ण साहित्यिक संस्थाहरुलाई समेटेर बृहत रूपले सन् २०१६ देखि यो कार्यक्रमलाई निरन्तरता दिइएको हो । हितान विश्व नेपाली साहित्य महासङ्घ साउथ युके शाखाका पूर्व अध्यक्ष हुन् भने हाल संरक्षक छन् ।

 हार्दिक श्रध्दाञ्जलि - ज्ञान बहादुर गाहा मगर