A+ A A-

स्याङजाका रूद्रलाई जीबसिम साहित्य पुरस्कार

रूद्र श्रीसमगर

पोखरा, १ वैशाख

स्याङ्जाका साहित्यकार रूद्र ‘सन्देश’ मगर मगर साहित्यकै सर्वाधिक ठूलो राशिको पुरस्कार ‘जीबसिम साहित्य पुरस्कार–२०७३’बाट पुरस्कृत भएका छन ।
पुरस्कारको राशि ६० हजार रुपैयाँ नगद र सम्मानपत्र रहेको छ । नेपाल मगर लेखक संघका केन्द्रीय सचिव समेत रहेका साहित्यकार सन्देश विभिन्न साहित्यिक संघसंस्थामा आबद्ध रहेका छन । मगर भाषा, साहित्यको उत्थानमा उल्लेखनीय योगदान पु¥याएको भन्दै साहित्यकार सन्देशलाई शुक्रबार काठमाडौंमा आयोजित कार्यक्रममा ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री वर्षमा पुन ‘अनन्त’ले पुरस्कृत गरेका थिए । साहित्यकार सन्देशले हालसम्म मगर भाषामा ‘बीकोलेसा’ (दुख्दो रहेछ) कविता संग्रह, ‘त्रिशूली र कृष्णभीर’ कविता संग्रह, ‘आर्मीट्मा’ (सम्झना) मुक्तक संग्रह प्रकाशित गरिसकेका छन ।
मगर भाषाका आदिकवि जीतबहादुर सिंजालीमगरका नाममा स्थापित जीतबहादुर सिंजालीमगर साहित्य प्रतिष्ठानले यो पुरस्कार हरेक वर्ष पाँच पाँच हजार वृद्धि गर्दै प्रदान गर्दै आएको छ । कार्यक्रममा ३० हजार राशिको ‘जयबहादुर हितानमगर स्मृति पुरस्कार–२०७३’बाट मगर भाषाका शब्दकोशकार एवं इतिहासकार हिरासिंह थापा सोमेसेनमगर तथा १० हजार राशिको ‘जीबसिम नवप्रतिभा साहित्य पुरस्कार–२०७३’बाट बागलुङका युवा साहित्यकार लक्ष्मण घर्तीमगरलाई पुरस्कृत गरियो । युवा साहित्यकार घर्तीमगरले मगर खाम भाषामा ‘रिहित्ला’ (पाइला) कविता संग्रह प्रकाशन गरेका छन ।
जीबसीम साहित्य पुरस्कार वार्षिक पाँच हजार रुपैयाँ वृद्धि गर्दै दुई लाख रुपैयाँ पु¥याउने लक्ष्य रहेको छ । नवप्रतिभा साहित्य पुरस्कारका कोष संरक्षक युके निवासी चिमखोले काइँला (दुतबहादुर गर्बुजा पुन मगर) रहेका छन ।
यसैगरी, जयबहादुर हितान मगर स्मृति पुरस्कार–२०७३, नेपाल मगर संघ, जिल्ला समिति काठमाडौंको एकदशक नेतृत्वकर्ता मगर जातिको उत्थान र भाषा, संस्कृति, इतिहाससम्बन्धी अध्येता चारदशक अनवरत लेखनपछि ‘मगर (ढूट)–खस–अंग्रेजी आखर गोमहोक’ (मगर (ढूट)–खस–अंग्रेजी शब्दकोश) मगर बृहत शब्दकोषका संकलक र लेखक हिरासिंह थापा (सोमेसेन) मगरलाई प्रदान गरिएको ३० हजार राशीको यो पुरस्कार नेपाल मगर संघका पूर्व सचिव स्व. जयबहादुर हितानमगरको स्मृतिमा उहाँका छोरा विजय हितानमगरले स्थापना गरेको हो ।
प्रतिष्ठानका कोष संरक्षक बनेका प्रा.डा. त्रिलोकपति थापा मगर (काठमाडौं), मानबहादुर बुढा मगर (ललितपुर), हुमबहादुर थापा मगर (ललितपुर), थर्क राना मगर, (पर्वत हाल युके), ओम जर्घा मगर (पाल्पा) लाई प्रमुख अतिथिले प्रमाणपत्र, ट्रफी प्रदान गरी सम्मान गरिएको थियो भने सहयोगीहरू वीरबहादुर गाहा थापा मगर, मुसहाङ झेंडी मगर, स्याङ्जा, मगर व्यवसायी समाज (वैदेशिक रोजगार), काठमाडौं नेपाल, सिद्धार्थ बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड सुर्खेतलाई प्रशंसापत्र प्रदान गरिएको थियो ।
कार्यक्रममा ऊर्जामन्त्री अनन्तसहित, नेपाल मगर संघका अध्यक्ष नवीन रोकामगर, राष्ट्रिय भाषा आयोगका अध्यक्ष डा. लवदेव अवस्थी, नेपाली पुरस्कारको इतिहास पुस्तकका लेखक तथा साहित्यकार डा. डिल्लीराम मिश्र, साहित्यकार एवं उज्यालो एफएमका कार्यक्रम संयोजक अच्युत घिमिरे, पुरस्कृत व्यक्तित्वद्वय रूद्र ‘सन्देश’मगर, लक्ष्मण घर्तीमगरले मातृभाषा साहित्य र लेखनको महत्वबारे चर्चा गरेका थिए । प्रतिष्ठानका अध्यक्ष सञ्जोग लाफा मगरको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन मगर खाम भाषामा जीवन रोकामगरले गरेका थिए ।

हार्दिक श्रध्दाञ्जलि - गोरे बहादुर खपांगी