A+ A A-

सामाजिक कार्यमा सुवास गुरुङ ‘गणेश’ निर्देशित चलचित्रहरू

रूद्र श्रीसमगर
पोखरा, १० फागुन
चर्चित गुरुङ चलचित्र निर्देशक सुवास गुरुङ ‘गणेश’द्वारा निर्देशित विभिन्न गुरुङ चलचित्रहरू सामाजिक कार्यमा अग्रसर देखिएका छन् । गुरुङद्वारा निर्देशित चलचित्रहरूको प्रदर्शनबाट भएको आम्दानी विभिन्न सामाजिक कार्यका लागि सहयोग गरिएको छ ।


सुवास निर्देशित गुरुङ चलचित्र ‘खै ओ म्हि थेवा’ गत जनवरी ७ तारिखमा हङकङको याउ मा तेई कम्युनिटी हलमा विशेष प्रदर्शन गरिएको थियो । सो प्रदर्शनबाट खर्च कटाएर बचेको पैसा काठमाडौंको कीर्तिपुर नगरपालिका–४, छु गाउँमा रहेको ‘माया घर’का लागि सहयोग गरिएको छ । सो प्रदर्शनबाट आएको रकम १ लाख रुपैयाँ बुधबार समाजसेवी दुर्गा गुरुङ ‘मिलन’ र सो चलचित्रका निर्माता गोपाल गुरुङले माया घरकी सञ्चालिका एवं संस्थापक अध्यक्ष दुर्गाकुमारी पौडेललाई हस्तान्तरण गरियो ।


सोनिका रञ्जितको स्वागत र संस्थाकी सचिव संगीता पौडेलको सञ्चालनमा भएको कार्यक्रममा प्रमुख अतिथि समाजसेवी दुर्गा गुरुङ ‘मिलन’, चलचित्रका निर्माता गोपाल गुरुङ, कलाकारहरू आनन्द गुरुङ, मेखराज गुरुङ, आरके गुरुङ, मञ्जु गुरुङ, सह–निर्देशक दिनेश गुरुङ, सो संस्थाका महासचिव बहादुरसिंह शाह, कोषाध्यक्ष केशव अधिकारी, सदस्य कल्पना रोका, सहयोगी कल्पना श्रेष्ठलगायतको विशेष उपस्थिति रहेको थियो ।


त्यस्तै, सोही अवसरमा समाजसेवी दुर्गा गुरुङ ‘मिलन’ कार्यकारी निर्माता रहेको मिलन डी.जी. इन्टरनेशनल प्रा.लि.को पहिलो प्रस्तुती चलचित्र ‘क्यु प्ह्रो छे’ (भेडी गोठाले)को हालसम्म भएका सम्पूर्ण प्रदर्शनबाट प्राप्त आम्दानी विभिन्न सामाजिक कार्यमा खर्च भएकोमा मायाघरलाई पनि ५० हजार रुपैयाँ सहयोगस्वरुप हस्तान्तरण गरियो । चलचित्र ‘भेडी गोठाले’ भारतका विभिन्न शहरहरू सिक्किमको गान्तोक, पश्चिम बंगालको सिलिगुडी, कालिम्पोङ साथै, झापाको दमकमा विशेष प्रदर्शन सम्पन्न गरी नेपाल फर्किनुभएका कार्यकारी निर्माता गुरुङले मायाघरकी सञ्चालिका एवं संस्थापक अध्यक्ष दुर्गाकुमारी पौडेललाई सो रकम हस्तान्तरण गर्नुभएको हो ।


चलचित्र ‘खै ओ म्हि थेवा’का निर्माताहरूमा गोपाल गुरुङसहित सूर्य गुरुङ (हङकङ), वसन्त गुरुङ, लीला गुरुङ र रोशनी गुरुङ रहनुभएको छ भने चलचित्र ‘भेडी गोठाले’मा कार्यकारी निर्माता दुर्गा गुरुङ ‘मिलन’सहित विक्रम गुरुङ (हङकङ), देउकी सिंजाली ‘दिपिका’ र विजया गुरुङ (हङकङ) निर्माता रहनुभएको छ । दुवै चलचित्रको निर्देशन सुवास गुरुङ ‘गणेश’ले निर्देशन गर्नुभएको हो । व्यवसायिकताका लागि मात्र नभइ सामाजिक उत्तरदायित्व समेत बहन गर्ने हिसाबले चलचित्र प्रदर्शनबाट आएको आम्दानी सामाजिक कार्यमा खर्च गरिएको भेडी गोठालेका कार्यकारी निर्माता दुर्गा गुरुङ ‘मिलन’ले जानकारी दिनुभयो । 

हार्दिक श्रध्दाञ्जलि - गोरे बहादुर खपांगी