A+ A A-

एउटा अस्तित्वको खोजीमा बाँचेको ढुङ्‌गा

दिल थापा, हाल जापान 

 

म ढुङ्‌गा हुँ,

अझ भनौं पहिले पहाडको ढुङ्‌गा 

अहिले नदीको ढुङगा 

वर्षायाममा नदीमा बाढी आउदा ढुङ्‌गा संग  

म ढुङ्‌गै ठोकिएर  

चिल्लो अनि निर्वस्त्र  भएको ढुङ्‌गा ।

मलाई किन हो कुन्नी  

ढुङ्गा भएर नदीको किनारमा शताब्दी सम्म बाँच्दा पनि  

मलाई फेरि बन्न मन छ ढुङ्‌गै 

जन्मन पाए फेरि जन्मन मन छ, भएर ढुङ्गै 

तर नदीको किनारमा 

नदीको पानीसंग होइन 

अहिलेको जस्तो पनि होइन 

मलाई पहिलाकै बन्न मन छ ढुङ्‌गा 

पहाडका अघिल्ला पाइलामा 

ढुङ्‌गा संग ढुङ्‌गो जोडिएर 

अनि अलिकति माटोसंग झगडा परिरहने 

अजिवको प्रेम गरेर ।

म अहिले कति साह्रो चिल्लो 

अनि कति नरम

जता  छामे पनि  

चिल्लै चिल्लो नरमै नरम

पाउदीन म मेरो कुनै स्वरुप अनि संरचना

खाली फगत चिल्लो र नरम 

देखिदा लाग्दो हो कति रुपवान  

आखाहरुलाई 

म अस्तित्व बिना ढुङ्‌गालाई 

म त कस्तो गोलो 

भकुन्डा जस्तो 

थाहा छ मलाई म पहिलाको  

पहाडको अघिल्लातिरको ढुङ्‌गा होइन

सुर नमिलेको 

छान्दा पनि  खस्रो स्पर्श दिने

मलाई पहिलाको जस्तै हुन मन छ, 

रुखहरुको जराहरुसंग अंगालो हालेर बस्न मन छ,

तिखा - तिखा 

अनि चेप्टो चेप्टो 

शिरतिर फुकेको 

बीचतिर सुकेको 

पुच्छर तिर पनि फुकेको 

ठ्याक्कै पहिलाको जस्तै भई 

यो त ढुङ्‌गा हो भनी सम्झन मिल्ने गरी |

मलाई कुटिल राजनीतिको डोजर लगाई 

धर्मको अफिम प्रयोग गरी 

मेरो अस्तित्व ध्वस्त बनायौं 

मलाई पहाडको शिखरबाट लड़ायौं 

म गुल्टीए नदीतिर 

आफ्नो अस्तित्व मेटाउदै मेटाउदै

म नदीको बीचमा बजारिए

झ्याम्म आवाज आफैले सुनिने गरी  

तिमीले सुर नमिलेको भनी संज्ञा दिने  

मेरा संरचनाहरुलाई हात खुट्टाहरुको निशाना सम्झेको थिएं  

तर ति सब निकम्ब भइसकेका थिए 

तुरुलुक्क शीतको थोपा चुहाई

मैले सयौं शताब्दी अगाडी छोडेर आएको थिएँ ।

हो आज म निकम्ब छु, 

अस्तित्व विहीन छु,  

पहिचानविहीन छु, 

म तिम्रा लागि ढुङ्गा नै हुँ, 

तर

एउटा अस्तित्वको खोजीमा छु ।

हार्दिक श्रध्दाञ्जलि - गोरे बहादुर खपांगी