A+ A A-

रैंयाँ चलचित्र (शुरुवात देखि सुटिङ समापनसम्म)

जातीय पहिरन — पहिचान र आत्म रक्षाको प्रतिक

MENOKO Films and Media House Presents’

Rainyaa रैंयाँ

मगर महिलाको सुन्दरता, पवित्रता र सतित्व अनि आत्मरक्षाको कवज मानिएको गहनाको नाम नै रैंयाँ हो भने यसको उपयोग विधि व्यक्तिगत, साँस्कृतिक र बहुपयोगलाई कथा बनाई चलचित्र पर्दामा उतार्ने प्रयास नै मगर चलचित्र रैंयाँ हो ।

मगर महिलाले प्राचीनकाल देखि प्रयोग, उपयोग र पहिचान गरेका करिव तीन दर्जन गहना मध्ये रैंयाँ बनावट आकार र प्रकारले बेग्लै र बडो रहस्यमयी मानिन्छ । मगर महिलाका सबै जसो उमेर समुहले यसलाई अपनाएको पाइन्छ भने समयान्तर सँगै यसको प्रयोगमा कमी देखिन्छ । नारीको सुन्दरता, अस्तित्व, आत्मरक्षा र पहिचान सँगै आत्म सम्मानको प्रतीक रैंयाँलाई चलचित्रको पर्दामा उतार्ने र समुदायमा इतिहास, मगरपन, मनोरञ्जन र संरक्षणको पर्खाइमा रहेको गहना रैंयाँ चलचित्र आफैमा मगर चलचित्र बनाउने धेरै प्रयास गरिएको छ ।

मेजन पुन मगर (लेखन/निर्देशक)

 

रैंयाँको कथा पहिलो पटक सुनाउने क्रममा हर्क आले मगर र म सराङकोटको डाँडामा थियौं । कथा राम्रै लाग्यो । कथालाई अझ परिमार्जन गर्नु पर्ने त थियो तर मुलजड चित्त बुझ्दो लाग्यो । कथा बारे तर्क बिर्तक गर्दै कथाको व्यवहारिक पक्ष सम्बन्धी छलफल गर्यौं  । त्यो कफी गफलाई अझ सारत्व दिन कथालाई कपीमा उतार्न र यसको स्क्रिप्ट लेख्नु होस् भन्दै विदा भयौं ।

 न्यूरोडको एउटा चिया पसलमा यसै सम्बन्धी धेरै दिन लगाएर छलफल भयो । कफी गफमा अन्त्य भएको ठाउँ भन्दा अगाडि कथा बड्न सकेन । कथामा म बढी जान्ने हुने कुरा पनि भएन । कथा कसरी अगाडि बढाउने भन्ने बारे चाहिं तर्कहरु गरिराखेकै हो । चलचित्र निर्माण गर्ने तपाई (हर्क) को सोंच हो चलचित्र निर्माण/लेखन गर्ने व्यक्तिहरुसँग कुरा गर्नु भए पनि हुन्छ । यसलाई हामी (म, तारामाया थापा र तपाई) मिलेर बनाऔं । तपाईले लेखन/निर्देशनको भूमिका निर्वाह गर्नु पर्ने भो भन्ने कुरा हर्क जीले राख्नु भयो । मेरो पनि चलचित्र निर्माणको ग्याप निकै भएको थियो । कथाको मुल सार राम्रो थियो नै । यसर्थ चलचित्र निर्माणमा वहाँहरु पहिलो संलग्नता भएको कारण धेरै कुराहरु चलचित्र सम्बन्धी जानकारी गराउँदै के के गर्ने भन्ने कुराहरु शुरुवात देखि लिस्ट बनायौं । र, चलचित्र निर्माण गर्न कम्पनी दर्ता, स्क्रिप्ट लेखन, कलाकार छनोट, कस्तो प्रविधिमा बनाउने, कसले/कति लगानी गर्ने तथा श्रमको उचित मुल्याँकन आदि बारे छलफल गरेर चित्त बुझ्दो भए पछि मात्र म रैंयाँमा संलग्न हुने निर्णय गरें ।

यसरी निर्देशक र लेखनको जिम्मा लिए— यता स्क्रिप्टको पहिलो जिस्ट तयार पारेर बुटवल केशब थापा मगर र याम पुन मगरसँग स्क्रिप्टमा छलफल तथा सुधार गर्न गएँ । स्क्रिप्टमा वहाँ दुई जनासँगको छलफल पश्चात अझ परिमार्जन गरि काठमाडौं राज थापा मगर (पहिलो मगर चलचित्रका नायक) सँग छलफल गर्न हान्निएँ । वहाँहरुको उचित सुझावलाई मध्य नजर राख्दै स्क्रिप्ट फाइनल गरें । र, कलाकार खोज्ने क्रममा लाग्यौं । यसको लागि राज थापा मगरलाई पोखरामा ७ दिने वर्कसप राखेर हामीसँग सम्पर्कमा आएका व्यक्तिहरुलाई माझ्न जिम्मा दियौं । चलचित्रको कौडा गीत र रैंयाँ बुमले गीत तयार पार्न पनि निकै कम्मर कस्नु पर्यो ।

निर्माण भएको मगर चलचित्रहरुमा बजारिया कौडा मात्र राखिएको पाउँछौं तर हामीले अलि टिपिकल कौडा राखौं भन्ने सोचाई पहिले देखिकै भएको कारण हर्क जीले लेख्नु भएको कौडालाई रेकर्डिङ गर्न मान्छे खोज्दा टिपिकल तरिकाले गर्ने मान्छे पाउनै गाह्रो भो । सम्पर्कमा आएको व्यक्तिले पनि हामीलाई झुलाई मात्र राखे । यसर्थ याम सारु मगर कौडा गाउने भएको कारण उनलाई भेटेर कुरा गर्दा टिपिकल खालको बनाउने भन्ने छलफल गरि उनैलाई कौडाको जिम्मा दियौं र ११ मिनेट लामो कौडा गीत तयार भयो ।

यसरी वर्कसपबाट कलाकार र गीतहरु त्यार भए पछि प्राविधिकहरु फाइनल गरि चलचित्र निर्माण गर्न छायाँकन थालनी मिति २०७१ साल भदौं १४ तय गर्यौं । शुरुवातदेखि कलाकार, प्राविधिक तथा स्थानीय व्यक्ति, मगरहरुले सहयोग गरेकै हुन् । तर पनि धेरै कुराहरु लेख्न खोज्दा पनि लेख्न सकिदैन । भन्न खोज्दा पनि मुख फुट्दैन । यस्तै भएको छ । कारण रैंयाँसँग हामी सबैको भावना जोडिएको छ । र, सबैको भावना जोडिएको कारण मान्छे भावुक हुनु स्वभाविक हो । र, सुटिङको क्रममा भएका कुराहरु म लगायत सबै कलाकारहरु, मगर प्राविधिकहरु भित्र मिठा अनुभूतिको रुपमा रहको छ भन्ने मलाई लागिरहेको छ । मगर विषय वस्तुलाई समेट्दै शुरुवात देखि नै मगर चलचित्र निर्माण गर्न भनेर लागेका हौं । यसर्थ तयार पारिएको चलचित्र लिएर समाजमा जाँदा सकारात्मक सहयोग प्राप्त गर्छौ भन्ने पनि लागिरहेको छ ।

कुनै पनि कुरा मनैदेखि बनायो भने त्यसले आवश्य अरुको मन पनि छुन्छ भन्ने लागेको छ । कथा लेखन देखिनै मेहनत गरेका छौं । मगर भाषा नबोल्नेले कसरी मगर भाषाको चलचित्र निर्माण गर्यो भन्लान तर यसमा प्रक्रिया मिलाएर काम गर्ने हो । भाषामा सहयोग गर्ने साथीहरुको टिम थियो । मुख्य कुरा गर्छु भन्ने भावना हो । मगर भाषाको चलचित्र निर्माण गर्ने भित्रै देखिको चाहना रैंयाँले चलचित्रले पुर्याएको छ । यसको रिजल्ट त तपाईहरुले अवलोकन गरेर मात्र थाहा हुने हो । यसर्थ चलचित्र प्रदर्शनको संघारैमा छ । यसलाई माया गरिदिनु भयो भने निश्चित रुपमा अर्को मगर चलचित्र निर्माण गर्न यसले सहायता गर्ने छ । यो चलचित्र अवलोकन पश्चात सरसल्लाह, सुझाव र सकारात्मक आलोचना पनि गरिदिनु हुने छ भन्ने लागेको छ । धन्यवाद ।

कथाकारको रुपमा हर्क आले मगर

राष्ट्रको आधिकारिक रुपमा सबैभन्दा बढी पहुँच भएको सञ्चार माध्यम रेडियो नेपालमा करीब दुई दशक काम गर्दाको समयमा मैले आफ्नो समुदायलाई कतै जन्म जात, कतै भोगाई र कतै प्रयासबाट नजिक हुने अवसर पाएँ । अनुभव र भोगाईलाई लिपीवद्ध गरि एउटा कृतिको रुप दिने प्रयासमा थिएँ तर विद्या छनोट गर्ने क्रममा सर्वसाधारणदेखि शिक्षित वर्गसम्म पुग्न सक्ने चलचित्र विद्या उपयुक्त लाग्यो । तसर्थ मगर आमाको कोखबाट जन्मेको म आमाको प्यारो गहना रैंयाँ विषय मेरो चलचित्रको कथा वस्तु हुन पुग्यो ।

अर्को तर्फ प्रत्येक मानव यस धर्तीमा आमाको कोखबाट जन्म लिने हुनाले आमाप्रतिको श्रद्धा, प्रेम र भावना यही हो । र रहने छ । क्यान्सरका कारण अल्पायुमा नै जीवन गुमाउन बाध्य आमा बिष्णुमाया आले मगरको जन्म भार, दुधको भार तिर्न रैंयाँ कथा लेखेको हुँ । रैंयाँ चलचित्रबाट म लगायत निर्माता तारामाया थापा मगर, लेखन/निर्देशन मेजन पुन मगर, प्राविधिक मगर साथीहरु र कलाकार सबैले मगर भाषा, संस्कार र संस्कार दिने मगर समुदायको कृतज्ञताको खातिर रैंयाँ चलचित्र निर्माण गर्न जुटेका हौं । मलाई लाग्छ— हरेक मगरले आफ्नो संस्कार, संस्कृति र भाषा संरक्षणको लागि हामीले गरेको यो प्रयासलाई सराहना गर्दै साथ दिनु हुने छ भन्ने लागेको छ । धन्यवाद ।

 

Last Updated on Wednesday, 06 May 2015 15:52

Hits: 988

रैंयाँ मगर महिलाको सुन्दरता र गहना हो- नायीका मगर

जातीय पहिरन — पहिचान र आत्म रक्षाको प्रतिक
MENOKO Films and Media House Presents’
Rainyaa रैंयाँ  

 अडियोमा सुन्नुहोस

  रैंयाँ मगर महिलाको सुन्दरता, पवित्रता र सतित्व अनि आत्मरक्षाको कवज मानिएको गहनाको नाम नै रैंयाँ हो भने यसको उपयोग विधि व्यक्तिगत, साँस्कृतिक र बहुपयोगलाई कथा बनाई चलचित्र पर्दामा उतार्ने प्रयास नै मगर चलचित्र रैंयाँ हो ।

मगर महिलाले प्राचीनकाल देखि प्रयोग, उपयोग र पहिँचान गरेका करिव तीन दर्जन गहना मध्ये रैंयाँ बनावट आकार र प्रकारले बेग्लै र बडो रहस्यमयी मानिन्छ । मगर महिलाका सबै जसो उमेर समुहले यसलाई अपनाएको पाइन्छ भने समयान्तर सँगै यसको प्रयोगमा कमी देखिन्छ । नारीको सुन्दरता, अस्तित्व, आत्मरक्षा र पहिचान सँगै आत्म सम्मानको प्रतीक रैंयाँलाई चलचित्रको पर्दामा उतार्ने र समुदायमा इतिहास, मगरपन, मनोरञ्जन र संरक्षणको पर्खाइमा रहेको गहना रैंयाँ चलचित्र आफैमा मगर चलचित्रको इतिहासमा कोशे ढुंगा हुने आशा गरेका छौं । राज्यसत्ताको लागी पोखरा बाट मीना थापा मगगरले रैंयाँका कलाकाहरु संग कुराकानी गर्नु भएको संपादित अँस :

अशोक आले मगर

  जीवन आफैमा प्रयोग र संयोग रहेछ । अध्ययनको क्रममा केही बर्ष बेलायत बसाई पछि नेपाल आएँ । जन्मभूमिदेखि टाढा बेलायतको बसाईमा पनि मलाई त्यहाँको संस्कृति र रहन सहन देख्दा आफ्नो समाज रहेको कला र संस्कृति पनि यस्तै गरि संरक्षण र प्रर्वद्धन भएको देख्ने रहर पलाउँथ्यो । तसर्थ यस तर्फ केही गर्ने अठोट सहित नेपाल पर्के । जन्म घर तनहुँ भए पनि आमा बाबाको साथमा पोखरामा हुर्के/बढे र पढेको ठिटो नेपाल पर्के पश्चात केही बेर के गर्ने के नगर्ने भन्दै हराउन पुगें । संयोग नै भन्नु पर्छ— रैंयाँ चलचित्र निर्माण हुन लागेको थाहा पाएँ ।

चलचित्रमा भाग लिनको लागि वर्कसपमा बस्नु पर्ने भो । चलचित्रको स्क्रिप्टमा मगर चलचित्रका प्रथम नायक राज थापा मगर र चलचित्रका निर्देशकसँग ७ दिने वर्कसपमा बसेर चलचित्र विद्या बारे ज्ञान लिने र मगर समाजका विविध विषयमा अतुलनीय शिक्षा हासिल गर्ने मौका प्राप्त भो ।

हल्का नाच्न जान्ने ठिटो म— चलचित्रमा त्यतिले नपुग्ने भयो । यसर्थ चलचित्रको लागि नृत्य गर्न जान्नु पर्ने भयो । यसर्थ नृत्य प्रशिक्षण लिन कला केन्द्र तर्फ लागें । चलचित्र निर्माण सँगै मगर समाजका गीत, संगीत, नृत्य र रहन सहन बारे अझ बढी बुझ्ने मौका पाएँ । चलचित्रमा समावेश भएको कौडा छायाँकन पूर्व यसको प्रशिक्षणको क्रममा गाउँको टिपिकल कौडामा पनि हामी नृत्य गरेको कारण कौडा के हो? बुझ्ने मौका प्राप्त भयो ।

चलचित्र छायाकन पश्चात पोखरामा कौडा नृत्यको प्रतियोगीता आयोजना भएको थियो त्यसमा हामी बस्ने ठाउँ नेपाल मगर संघ, चाउँथे ईकाई समितिको तर्फबाट मैले नृत्य निर्देशक गरि भाग लिने क्रममा हाम्रो चलचित्रमा समावेश भएको कौडा गीत प्रथम भयो । जसले मलाई अझ भावुक बनायो । चलचित्र निर्माण पूर्व नृत्य गर्न नजान्ने म, चलचित्र छायाँकन हुँदा सम्म कौडा गीतमा नृत्य निर्देशन गर्न सक्ने क्षमताको विकास गरेको रहेछु । जसले गर्दा अझ केही गर्ने जोश, जाँगर थपिएको छ ।

चलचित्र निर्माणको क्रममा निर्देशक मेजन पुन मगरको मेहनत, धैर्य र कामप्रतिको सम्मान र लगावले मलाई ठूलो प्रेरणा मिलेको छ । चलचित्रमा पहिलो प्रयास भएकोले कमी कमजोरी स्वीकार गर्दै अझ यस क्षेत्रमा अगाडि बढ्ने चाहना छ । यसको लागि रैंयाँ
चलचित्र अवलोकन गरि मलाई सल्लाह, सुझाव दिनु हुने छ भन्ने आशा लिएको छु । धन्यवाद ।


प्रिया थापा मगर

  रैंयाँ फिल्म खेले पश्चात प्राप्त अनुभव, देखेको, सिकेको, भोगेको कुराहरुलाई तपाईहरु समक्ष प्रस्तुत गर्न पाउँदा म हर्षित छु । रैंयाँ चलचित्रमा मलाई सबैले सहयोग गर्नु भयो । यसको लागि सबै जनालाई धन्यवाद अर्पण गर्न चाहन्छु ।

आजको यो २१ औं शताब्दीमा आई पुग्दा नेपालमा बसोबास गर्ने जातजाति मध्ये मगर तेश्रो ठूलो जनसंख्या भएको जाति हो भनेर हामी मगरलाई गर्व लाग्दछ । यसै सन्दर्भमा मगर जातिको चलन, रितिरिवाज, भाषा, भेषभूषा आफ्नै बिशेष खालको रहेको छ । मगर महिलाहरुले लगाउने गहना मध्ये रैंयाँ र रैंयाँ चलचित्र निर्माण हुँदा म पनि यो चलचित्रसँग नजिक रहेर आफुले सक्दो अभिनय गर्न पाउँदा आफुलाई भाग्यमानी महसुस गरिरहेको छु ।

कारण रैंयाँ नेपाल मगर महिला संघको लोगोको रुपमा पनि अंकित चिन्ह हो जसको महत्व भएकै कारणले रैंयाँ लोगोमा समावेश भएको छ । मगर कथा वस्तुमा आधारित रहेर चलचित्र निर्माण हुन लागेको कुरा थाहा पाउँदा पनि मन प्रफुलित भएको थियो । र, वर्कसपमा भाग लिएर जस्तो सुकै भूमिका पनि गर्छु भन्ने आँट गरेको थिएँ । वर्कसपमा समावेश भए यता चलचित्र निर्माण गर्नको लागि अग्रजहरुले खेलेको भूमिका धेरै थोरै मात्र भए पनि मलाई थाहा भयो । यसर्थ मगर समाज, मगर चलचित्रको लागि वहाँहरुको लगाव, सहयोग, प्रेरणाकै कारण मैले चलचित्रमा मुख्य पात्र जैसराको भूमिका निर्वाह गर्न हौसला प्राप्त भयो । जैसराको भूमिकामा मैले कति न्याय गर्न सके चलचित्र अवलोकन गरि सरसल्लाह, सुझाव दिन हुन अनुरोध समेत गर्दछु ।

चलचित्रमा संलग्न भए पछि मैले अभिनय गरेको जैसरा पात्र कविता लेखन गर्ने र अझ उच्च शिक्षाको लागि संघर्ष गर्न चाहने सोझो पात्रको रुपमा मैले बुझेको छु । यो पात्र जस्तै मैले जीवनमा आफुलाई पनि पाएको छु । म पनि पोखरामा अध्ययनरत रहँदै आफ्नो पहिचानको लागि अन्नपूर्ण एफएममा मगर भाषामा समाचार वाचन गर्ने काम देखि लिएर नेपाल मगर विद्यार्थी संघ पिएन क्याम्पस ईकाई समितिमा प्रत्यक्ष संलग्न छु । यसर्थ यो  चलचित्रमा जैसरा पात्र र म निकै नजिक रहेको कुरा पनि अवगत गराउँदै मगर चलचित्रलाई माया गरौं । निर्माण भएको रैंयाँ चलचित्रलाई हेरेर प्रतिक्रिया, सरसल्लाह अनि सुझाव दिन हुन अनुरोध गर्दछु । 
 
दुर्गा ठाडा मगर

  कलिलो उमेरमा लाहुरे बनेर भारतको विभिन्न स्थानमा बन्दुक र गोली गठ्ठासँग जीवनलाई खुकुरीको धारमा राख्दै जीवन यापन गरेको म पेशाले लाहुरे— मगरको नाताले मगर संस्कृति र संस्कारप्रति गहिरो लगाव थियो र छ । लाहुरे रहँदै मगर चलचित्रमा अभिनय गर्ने मनसाय अनुरुप काम थालनी गरेकै हो तर समय परिस्थितिले साथ दिएन । यसर्थ लाहुरे जीवनबाट अवकास आए पश्चात रैंयाँ चलचित्रको लागि वर्कसपमा भाग लिन यस चलचित्रका निर्देशक मेजन पुन मगरले बोलाउनु भयो । के खोज्छस्, कानो आँखो भने झैं यो निमन्त्रणालाई सहर्ष स्वीकार गर्दै वर्कसपमा भाग लिएँ ।

वर्कसपले फाइदा नै पुर्यायो हामी नयाँ कलाकार सबैलाई । रैंयाँ चलचित्रमा भाग लिए पश्चात आफ्नो आँखाले रैयाँ चलचित्रलाई हेर्दा यो मगरको कथा वस्तुमा राम्रो बनेको छ भन्ने लागेको छ । यसलाई माया गरिदिनु भयो भने अर्को मगर चलचित्र निर्माणको लागि सहयोग हुने छ । हामी नयाँ कलाकारहरुलाई चलचित्र अवलोकन गरि सल्लाह, सुझाव दिन हुन सबैमा हार्दिक अनुरोध गर्दछु । धन्यवाद ।

पूर्ण थापा मगर सुगा
उचाई – ४ फिट ५ इन्च
वजन – ३४ के.जी.

  यस उचाई र वजनका साथ हाँस्य कलाकारको रुपमा २०५८ सालबाट चलचित्र क्षेत्रमा मेरो अभिनय यात्रा निरन्तर रुपले अघि बढ्दै आएको छ । गुरुङ्ग र मगरको विभिन्न चलचित्र गरि मैले अहिले सम्म ८ वटा चलचित्रमा अभिनय गरेको छु ।

मेरो आफ्नो कला निखार्ने क्रममा मगर जातिको परम्परालाई झल्काउने कथानक चलचित्र रैंयाँमा मैले व्यावसायिक कलाकारको रुपमा काम गर्ने मौका पाएँ । समग्र रुपमा रैंयाँ चलचित्र सम्पुर्ण मगर दर्शकहरुलाई चित्त बुझ्दो बनेको छ-जस्तो लाग्छ । किनभने यो चलचित्रको स्क्रिप्ट अध्ययन पश्चात यसले रैंयाँ (काँडे) बालाको महत्व बारे दर्शाएको छ । यो नै निर्माण भएको चलचित्रको सबै भन्दा राम्रो पक्ष हो ।

अन्तमा छरिएर रहेका मगरहरुलाई म के भन्न चाहन्छु भन्दा एकचोटी रैंयाँ चलचित्र हेरेर चलचित्र र मेरो अभिनयको मुल्यांकन गरिदिनु हुन हार्दिक अनुरोध गर्दछु । यहाँहरुको मायाले नै मेरो सफलताको बाटो खुल्दै आएको छ । मैले गरेको भूमिकाको बारेमा तपाईहरुसँग भएको भेटमा सुन्दा मैले गरेको भूमिकाले न्याय गरेको रहेछ भन्ने लागेको छ भने यो रैंयाँ चलचित्र अवलोकन गरेर पनि मेरो भूमिकाको बारेमा मुल्यांकन गरिदिनु होला । धन्यवाद ।

Last Updated on Friday, 01 May 2015 07:23

Hits: 1648

संगीतमा संघर्ष गर्न सके नाम र दाम दुवै छ - गायिका तायाहाङ्मा राई

गायिका तायाहाङ्मा राईको दोस्रो गिती एल्वम 'तराना' भर्खरै बजार आएको छ । उक्त एल्वममा राज सागरको संगीत रहेको छ भने शव्द शीतल कादम्बिनी , जुना वाइवा , राज सागर , शुष्मा देवकोटा र घनश्याम पथिकको रहेको छ ।

मायाको गहिराई ...... बोलको गीतको म्युजिक भिडियो पनि तयार गरिएको छ । उक्त म्युजिक भिडियोको निर्देशन प्रसन्न पौडेलले गरेका छन भने क्यामेरा बिदुर पाण्डेले खिचेका छन र अभिनय बिमलेस अधिकारी र रिमा बिश्वकर्माको रहेको छ ।

रेडियो नेपालबाट २०६७ सालमा स्वर परिक्षा पास गरेकी राईले २०५८ सालमा लोकतन्त्र दिवसमा आयोजित राष्ट्रब्यापी गायन प्रतियोगितामा प्रथम स्थान हासिल गरेकी थिईन । अहिलेको नेपाली संगीत बजारको बारेमा  राज्यसत्ताको लागी निश्चल काउचाले राईसँग गरेको कुराकानी :-

 

तपाईंको 'तराना' एल्वम भर्खरै बजारमा आएको छ । यसमा कस्ता खालका गीतहरू छन ?

यसमा सेन्तिमेन्टल आधुनिक गीत र एउटा रोमान्टिक गीत सामावेश छन । 

स्रोता तथा दर्शकको कस्तो प्रतिक्रिया पाउनु भएको छ ?

स्रोता तथा दर्सकहरुबाट एकदम राम्रो प्रतिक्रिया पाएकी छु । अझै मलाई संगीत लाग्ने हौसला र प्रोत्साहन मिलेको छ ।

नेपाली संगीतको स्थिति कस्तो छ ?

नेपाली संगीतको स्थिति एकदमै कमजोर पाएकी छु र यहाँ पैसावाल , नातावाद र कृपावाद हालिमुहाली चल्छ ।

संगीतमा लागेर जिउन गाह्रो भनिन्छ नी ?

त्यो त अवस्य पनि हो तर पछिल्लो समयमा राम्रा संगीतकर्मीहरू ठुलै संघर्ष गरेर नाम र दाम पनि कमाई रहेका छन ।

देश , बिदेशबाट कन्सर्टको अफर आईराखेको होलानी ?

हजुर आईराख्छ म नेपाल बाहिर हङकङ र कोरिया गएर आईसकेकी छु ।

नेपाली संगीत बजारमा नयाँलाई स्पेस पाउन गाह्रो छ भनिन्छ नी ?

त्यो अबस्य पनि हो किनकी म नयाँ कलाकार भएर भोगेकी पनि छु र देखिकी पनि छु ।  पुराना चलेका गायक , गायिकाहरूलाई मात्र मिडियाले पनि बढी नाम प्राथमिकता दिने र नयाँहरुलाई वास्ता नगर्ने परिपाटी बढी छ । पैसा हुनेवालाहरूले जस्तै नराम्रो गीतलाई पनि पैसा पेलेर चर्चामा ल्याउने गर्छन् । पैसा नहुने तर कला राम्रो हुने कलाकारहरू पछि परिरहेको अवस्था हो अहिलेको ।

संगीतमा लाग्ने प्रेरणा कसरी पाउनु भयो ?

संगीत मेरो सानै देखिको शोख हो र म सानोमा गाउनु भन्दा पनि नाच्नमा खप्पिस थिए  । साच्चै भन्नु पर्दा यो प्रेरणा मेरो दिज्यु सविना राईबाट धेरै पाएकी छु ।

तपाईको फ्यानहरूलाई केही भन्न चाहनु हुन्छकी ?

मेरो सबै फ्यानहरु , मेरा शुभ चिन्तकहरूलाई , नेपाली गीत , संगीतलाई माया गर्नु सबै जनालाई धन्यवाद भन्न चाहन्छु । मैले भर्खरै मेरो दोस्रो एल्वम 'तराना' बजारमा ल्याकी छू । सुनिदिनु होला र ममा के कति कमजोरीहरु छन सल्लाह, सुझाब दिनु होला । हजुरहरूको सल्लाह , सुझाब हामी नयाँ कलाकारहरूलाई एकदमै खाँचो छ । अन्तमा मलाई जति पनि सपोर्ट गर्नु हुने बिभिन्न मिडिया र शुभ चिन्तकहरूलाई थ्याङ्क्यु सो मच भन्न चाहन्छु ।

Last Updated on Tuesday, 14 April 2015 15:21

Hits: 541

दाइजोको पैसाले अशक्त बालबच्चालाई सबल बनाउदै छु : सविता उप्रेती

दोलखा जिल्लाको नाम्दु -१ मा २८ वर्ष अघि जन्मेकी सविता उप्रेतीले समाजशात्र बिषयमा स्नाकोत्तर गरेकी छिन ।

 

तपाई हामी पनि हाम्रै छरछिमेक कुनै बालबालिकालाई बाधेर या थुनेर राखेको देख्दै आएका छौ । हाम्रो समाजमा  अटिजमको बारेमा उचित ज्ञान नहुदा अनाहकमा त्यस्ता बालाबालिकाहरु पशु सरहको जीवन जिउदै आएका छन् । संयुक्त राष्ट्र संघ एक तथ्यांक अनुसार हरेक ८८ जना बालबालिका मध्ये एक जनालाइ यस्तो समस्या देखिने गरेको छ । राष्ट्रिय अपाङ्गकोषको शारिरीक पुर्नस्थापना केन्द्रमा अधिकृतको रुपमा काम गर्ने शिलशिलामा फिल्ड जादा उप्रेतीले धेरै ठाउमा बालबालिकालाई थुनेर , बाधेर राखेको देखे पछि २०६८ साल चैत देखि काठमाण्डूको पेप्सीकोलामा ''विशेष स्कुल तथा पुर्नस्थापना (एस. एस. डि .आर. सी.) केन्द्र खोलेर अटिजम बालाबालिका लागि काम गर्दै आएकी छिन । हाल उक्त संस्थाले ४० जना बालाबालिकालाई सेवा प्रदान गरिरहेको छ ।

स्थापना काल देखि ४ सय ८० जना बढिलाई सेवा प्रदान गरिसकेको छ । घरको  आर्थिक स्थिति सवल नहुदा नहुदै पनि परिवारसंग आफ्नो बिहेमा दाईजोमा दिने पैसा मागेर संस्था सुरु गरेकी थिइन् । २ वर्ष अघि अमेरिकाको  डिभी परेर पनि अमेरिकाको मोह त्यागेर आफ्नो जीवन अटिजम बालाबालिकाको लागि सारा जीवन समर्पित गरेकी छिन । संस्था स्थापना गरे देखि हालसम्म गरेका संघर्षका नालीबेलीसंग नजिक रहेर राज्यसत्ताका कोरिया संवाददाता निश्चल काउचाले उप्रेतीसंग गरेको कुराकानी :

अटिजम भनेको के हो ? 

अटिजम जन्मजात हुने नशा र तन्तुको बिकासको क्रममा भएको असमानता एउटा रुप हो । जस्लाई ' Neuro development disorder ' भनिन्छ । अटिजम भएको व्यक्तिमा संचार विचलन, सामाजिक रुपमा घुलमिल हुन कठिनाई तथा कल्पना शक्तिको लचकतामा कमि हुने जस्ता मुख्य तीन समस्या अटिजम भएको व्यक्तिमा हुने गर्दछ । उनीहरुमा रहेको ईन्द्रियहरुको उतारचढावको फलस्वरुप अटिजम भएका व्यक्तिहरुले भिन्दै खालको प्रतिक्रिया देखाउछन । जुन असामान्य व्यवहारको रुपमा देखा पर्दछ । अटिजम कुनै रोग होईन । यो एउटा अवस्था हो । जुन जीवनभर रहिरहन्छ तर अटिजम भएका केहि व्यक्ति बौद्धिक क्षमता अपाङ्गता भएका ब्याक्तिहरुको भन्दा बढि भएको पाईएको छ । हरेक ८८  जना मध्ये एक जना बालबालिकालाई अटिजम diagnosis हुने गरेको पाईएको छ ।

एस. एस. डि .आर. सी. संस्थाको स्थापना कसरी भयो ?

मैले राष्ट्रिय अपाङ्गकोषको शारिरीक पुर्नस्थापना केन्द्र जुन समाज कल्याण परिषदको मातहतमा रहेको छ । उक्त  केन्द्रको ब्यबस्थापन अधिकृतको रुपमा काम गर्ने मौका पाएको थिए । त्यहि काम गर्ने क्रममा अपाङ्गता भएको व्यक्तिहरु संग नजिकिने मौका पाए र उहाहरुको आट र शाहस देखेर म प्रेरित भए । म कामको शिलशिलामा फिल्डमा जादा धेरै ठाउमा बालबालिकालाई थुनेर, बाधेर राखेको देखे । यसरी दिन भरि एकै ठाउमा थुनिएर, बाधिएर बस्नु पर्दा मानसिक तनाव त्यस माथि भोकाएर आफ्नै दिशा, पिसाब खाएको मेरै आखाले देखे पछि सक्नेहरुलाई त बाटो देखाई दिए पछि आफै सजिलै आत्मनिर्भर हुन सक्छन तर आफै केहि गर्न नसक्नेहरुलाई पो हामीले केहि गर्नु पर्छ भन्ने लाग्यो र त्यसरी थुनिएर, बाधिएर राखिएका बालबालिकालाई बन्धनबाट मुक्त गराएर उचित आवास र शिक्षा दिने उदेश्यले संस्था खोलिएको हो । मलाई घरको जिम्मेवारी त छदै थियो । त्यस माथि मेरै बिद्यार्थी जीवन धान्न मुश्किल थियो ।

तर, मैले मेरो परिवारलाई  पछि मेरो बिवाह हुदा दाईजो दिनु पर्दैन, दाइजोको रुपमा दिने पैसा अहिलेनै दिनुहोस भनेर जुटाएको सानो रकमले दुई जना अटिजम बच्चाबाट मैले एस. एस. डि .आर. सी. शुरु गरेकी हुँ ।

तपाइले अटिजम बालबालिका पालपोषण गर्दै आउनु भएको छ । उनीहरुको पालपोषणको म्यानेज कसरी गर्दै आउनु भएको छ ?

अहिलेसम्म संस्थाको नियमित स्रोत छैन । स्थापनाकाल देखि नै संस्थाले आर्थिक संकट झेल्दै आईरहेको छ । संस्था चलाउन सहकारीबाट ऋण लिएर, साथी भाईसंग सापटी लिएर चलाउदै आएको अवस्था छ ।  आर्थिक रुपमा सवल हुनु हुने केही अभिभावकहरुले मासिक रुपमा सहयोग गर्नु हुन्छ । अनाथ, आर्थिक रुपमा कमजोर भएका, सुकुम्बासी र अटिजम भएकै कारण घर परिवारले निकाली  दिएका बालबालिकाको निशुल्क शिक्षा, खान बस्नको व्यवस्थाको साथै लत्ताकपडाको पनि व्यवस्थापन गर्दै आईरेहका छौ । केही  मनकारी नेपाली दाजुभाई तथा  दिदी बहिनीहरुले संस्था भिजिट गरेर स्वईच्छाले गहयोग गर्नु हुन्छ । गत वर्ष देखि १६ वर्ष भन्दा माथिका किशोरीहरुलाई सिपमुलक तालिम दिएर हाल उनीहरुले  कृष्ट्रलबाट बनाएका गहना, चुरा, बेचेर केहि मात्रामा राहत मिले पनि संस्था आर्थिक संकटबाट नै गुज्रिरहेको छ ।

राज्यबाट कत्तिको सहयोग पाउनु भएको छ ?

नेपालको सन्दर्भमा जनचेतनाको अभावको कारणले गर्दा अटिजमको पहिँचान भएको अवस्था छैन । हालसम्म हामीले राज्यबाट कुनै पनि सहयोग प्राप्त गरेका छैनौ । हाल महिला बालबालिका तथा समाज कल्याण मन्त्रालयले अटिजमलाई पहिँचान गराएर बौद्धिक अपाङ्गताबाट हटाएर अब छुट्टै अटिजमको वर्ग निर्धारण गर्नको निम्ति कानुनी प्रक्रियामा छ । जसले गर्दा भोलि दिनमा राज्यबाट सहयोग पाउने अपेक्षा राखेका छौ ।

संस्था चलाउदा विभिन्न कठिनाई र समस्याहरु पनि आउछन होलान नी ?  

संस्था चलाउदा विभिन्न कठिनाइ र समस्याहरु त आईहाल्छन नै त्यसलाइले मैले स्वाभाविक रुपमा लिने गरेकी छु । एउटा घर चलाउन त कति गाह्रो हुन्छ । सामाजिक संस्था चलाउन चुनौतीहरु त पक्कै छन् । यो क्षेत्रमा अनुभवी तथा दक्ष जनशक्तिको अभाव त छदैछ त्यसै माथि आर्थिक भार पनि छदैछ । राज्यले अटिजमको बारेमा  स्पष्ट नीति नियम व्यवस्था नगरेको अवस्थामा समाजमा नौलो कार्यको थालनी गर्दा समेत हौसला दिनुको साटो कुरा काटेको देख्दा दु:ख लागेर आउछ ।

तपाई  यो उमेरमा नै निस्वार्थ रुपमा समाज सेवामा लाग्नु भएको छ ।  कस्तो अनुभव गर्दै हुनुहन्छ ?

समाजसेवा गर्ने भनेको आत्मसन्तुष्टिको लागि हो । अटिजम बाल बालिकासंग काम गर्दा मलाई आत्मसन्तुष्टि त मिलेको छ नै त्यो भन्दा ठुलो कुरा अटिजम बाल बालिकाबाट नया जीवन पाएकी छु । आफुलाई परिवर्तन गर्ने र जीवनको अर्थ बुझ्ने मौका पनि पाएकी छु ।

यहाँ आफ्नै लागि बाच्न त गाह्रो छ । अरुको भलाईको लागि जीवन समर्पित गर्दा  कस्तो लाग्छ ?

आफ्नो लागि त जो पनि बाचेकै हुन्छ । मानव भएर जन्मे पछि समाज आफ्नो पहिचान खोज्ने होईन आफ्नो पहिचान आफै बनाउने हो । आफु भन्दा अशक्त दीन दु:खीहरुको  लागि आफ्नो तर्फबाट थोरै भए पनि सहयोग गर्न सके आफु जन्मेको सार्थकता हुन्छ जस्तो लाग्छ मलाई 

एस. एस. डि .आर. सी. मार्फत हिडन नसक्ने बच्चा हिडन थाल्दा, बोल्न नसक्ने बच्चा बोल्न सुरु गर्दा मैले सारा दुखहरु बिर्सन्छु । त्यति बेला मलाइ जुन खुसी मिल्छ त्यो खुसी पैसाले कहा किन्न सकिन्छ र ?

भजन गाउने ओठहरु भन्दा सेवा गर्ने हातहरु पवित्र हुन्छ भनिन्छ । समाज सेवामा लागेर जीवन देखि  सन्तुष्ट हुनुहुन्छ ?

जिन्दगीका धेरै चुनौती, समस्या, कठिनाईहरुसंग संघर्ष गर्दै अटिजम बालबालिकाको लागि काम गर्न पाउदा मैले धेरै चिज पाएकी छु । केहि पनि गुमाएकी छैन । मलाई मेरो जिन्दगीसँग कुनै गुनासो छैन न त कुनै पछुतो बरु मैले जीन्दगी नया उर्जा पाएकी छु ।

तपाइको भावी योजनाहरु के-के छन् ?

संस्थाको निजी भवनको लागि जग्गा खोजिरहेका छौ । संस्थालाई भावी पुस्तासम्म निरन्तरता दिनको निम्ति रु २ करोडको अक्षय कोष खडा गर्ने लक्ष्य रहेको छ । गाउ-गाउ पुगेर अटिजम सम्बन्धि जनचेतना जगाउदै देश भर रहेका अटिजम बालबालिकालाई एकताको एउतै सुत्रमा बाध्ने योजना पनि छ ।

अन्त्यमा केही भन्न चाहनु हुन्छ की ?

देश विदेशमा रहनु हुने सम्पूर्ण नेपाली दाजु भाई तथा दिदी बहिनीहरुले हाम्रो संस्थालाई माया र बिश्वास गरेर सहयोग गरिरहनु भएको छ । सहयोगको लागि हामी आभारी छौ । एस. एस. डि. आर. सी. परोपकारी अक्षय कोषको लागि नेपाल, दक्षिण कोरिया, कतार, साउदी अरेबिया, सिंगापुर, यु.ए.ई,  माल्दिप्स लगायतका देशहरु सहयोग अभियान थालनी गरिदिनु हुने मनकारी नेपाली दाजु भाई तथा दिदी बहिनीहरुलाई मुरीमुरी धन्यवाद दिन चाहन्छु ।

Last Updated on Sunday, 19 April 2015 05:53

Hits: 749

अन्तर्राष्ट्रिय महिला मोर्चा बनाउने बिचार छ

अन्तर्राष्ट्रिय महिला मोर्चा बनाउने उद्देश्य छ  बाट प्राप्तपाल्पाको ताहुँ गाविसमा जन्मेकी संगीनी रानामगरले कक्षा ९ मा अध्ययन गर्दादेखि नै मगरहरुको हकहितका लागि आवाज उठाउादै आएकी हुन् । उनी सन् २०११ देखि नेपाल आदिवासी जनजाति महिला महासंघ अमेरिकाको अध्यक्ष पदको जिम्मेवारीमा छिन् । नेपालका आदिवासी जनजाति, लोपोन्मुख अवस्थामा रहेका राउटेलगायत विभिन्न जातजातिहरुको अध्ययन अनुसन्धानमा सक्रिय भूमिका खेल्दै आएकी रानाले ‘सेभ द चिल्ड्रेन’नामक संस्थामा नौ वर्ष काम गरिन् भने नेपाल आदिवासी जनजाति राष्ट्रिय उत्थान प्रतिष्ठानमा तीन वर्षसम्म वरिष्ठ अधिकृतको जिम्मेवारी बहन गरिन् ।

आदिवासी जनजाति महिला अधिकार सम्बन्धमा थुप्रै कमल चलाईसकेकी रानाले ‘आदिवासी जनजाति महिला आवाज’नामक पत्रिका प्रकाशन समेत गरेकी थिइन् । नेपालमा रहादा उनी थुप्रै संघ संस्थामा आबद्ध भई आदिवासी जनजाति महिलाहरुको हकअधिकारका लागि आवाज उठाएकी थिइन् । सन् २०१० मा अमेरिका पुगेकी रानाले अमेरिकामा रहेका आदिवासी जनजाति महिलाहरुलाई संगठित गर्दै नेपाल आदिवासी जनजाति महिला महासंघको स्थापनामा सक्रिय भूमिका खेलिन् ।

त्रिभुवन विश्वविद्यालयबाट समाजशास्त्र र महिला अध्ययन विषयमा स्नातकोत्तरसम्मको अध्ययन पूरा गरेकी रानाले हाल अमेरिकास्थित कोलम्बिया विश्वविद्यालयमा मास्टर्स डिग्री गर्दैछिन् । आदिवासी जनजाति महिलाहरुको सवालमा अहोरात्र खट्दै आएकी संगीनी रानामगर पारिवारिक भेटघाटको क्रममा बेलायतमा आउदा उनीसाग नेपाली आदिवासी जनजाति महिलाहरुको आवाजका सम्बन्धमा एभरेष्ट टाइम्सका लागि पूर्ण गुरुङले गरेको छोटो कुराकानीको सम्पादित अंश ।
 
तपार्इंको बेलायत भ्रमणको उद्देश्य ?

मेरो आमा बेलायतमै हुनुहुन्छ । अहिले उहाँलाई त्यति सञ्चो पनि छैन । तर मैले नभेटेको करिब पाँच वर्ष जति भयो । त्यसैले आमालगायत सबै आफन्तजनहरुलाई भेट्न बेलायत आएकी हुँ । मेरो भ्रमण विशुद्ध पारिवारिक भेटघाटमा केन्द्रित भए तापनि धेरै वर्षदेखि आदिवासी जनजाति महिलाहरुको आन्दोलनमा संलग्न हुादै आएकीले पनि मैले यहाँ मगर महिला संघ यूके र नेपाल आदिवासी जनजाति महिला महासंघ यूकेका केही साथीहरुसाग छलफल र अन्तक्र्रिया गर्ने मौका पाएँ ।

 नेपालका आदिवासी जनजाति महिलाहरुको वर्तमान अवस्थाको बारेमा र विविध विषयमा छलफल गर्ने मौका मिल्यो । नेपालमा हुादा नेपाल आदिवासी जनजाति महिला महासंघमा सक्रिय भएका थुप्रै महिला साथीहरु बेलायतमा हुनुहुन्छ र म अमेरिकामा भए पनि बेलायतमा रहेका महिलाहरुलाई संगठित गर्नुपर्दछ भनेर नेम थापाज्यूसाग पनि कुरा राखेकी थिएा । सोहीअनुसार यहाँ मगर महिला संघ गठन हुन गयो । पछि आदिवासी जनजाति महिला महासंघ यूकेको समेत गठन हुन गयो ।

बेलायतका नेपाली महिलाहरुसाग छलफल र भेटघाटमा के–के कुरा गर्नुभयो त ?


नेपाल आदिवासी जनजाति महिला महासंघले के गरिरहेको छ । भावी दिनहरुमा के कसरी अगाडि बढ्न सकिन्छ भन्ने विषयमा नै केन्द्रीय भएर छलफल भयो । हाम्रा मुद्दा के हो ? आदिवासी जनजातिको मुद्दा, आदिवासी जनजाति महिलाहरुको मुद्दा र समग्र महिलाहरुको मुद्दाको विषयमा छलफल गर्‍यौं । अहिले २२ वटा देशका जनजाति महासंघहरु गठन भैसकेको छ र ती सबै महासंघलाई समेटेर मोर्चा बनाउनुपर्ने जोड दियौं ।

तपाईंले अध्यक्षता गरिरहनु भएको नेपाल आदिवासी जनजाति महिला महासंघ अमेरिकाले के कस्ता काम गरिरहेको छ ?

सन् २०११मा म लगायत आदिवासी जनजाति महिलाहरुको सक्रियतामा संस्था स्थापना भएको हो । आदिवासी दिवसमा संयुक्त राष्ट्र संघमा हुने कार्यक्रममा सहभागी जनाउने । नेपालबाट जानुहुने विभिन्न व्यक्तिहरुसाग आदिवासी जनजातिका मुद्दाहरुमा छलफल र अन्तक्र्रिया गर्ने । आदिवासी जनजातिको आवाज, आदिवासी महिलाहरुको आवाज र समग्र महिलाहरुको आवाजलाई कसरी बुलुन्द गर्न सकिन्छ भन्ने सम्बन्धमा छलफल गर्ने गरेका छौं । पहिलो संविधानसभाले संविधान बनाउने क्रममा हामीले नेपाली दुतावास अमेरिकामार्फत् नेपाल सरकारलाई आफ्ना मागहरु पनि प्रस्तुत  गरेका थियौं ।

नेपालमा राजनीतिक अस्थिरता छाएकोले दोस्रो संविधानसभाले पनि संविधान बनाउन सकिरहेको अवस्था छैन र संविधान नबन्नुमा आदिवासी जनजातिहरुले जातीय राज्यको माग गरेकाले पनि संविधान नबनेको एकथरीको आरोप छ ? के आदिवासी जनजातिकै कारण संविधान बन्न नसकेको हो ?

केही दल र केही गैरआदिवासी जनजाति नेताहरुले आदिवासी जनजातिहरुको मुद्दालाई राष्ट्रियस्तरमा संबोधन गर्न नसकेको अवस्था छ । आदिवासी जनजातिहरुले आफ्नो भाषा, कला र संस्कृति संरक्षण र सम्वद्र्धन गर्नुपर्दछ भन्ने जायज कुरा उठान गरेको हो तर त्यसलाई थुप्रै आरोप लगाएर आदिवासी जनजातिहरुलाई अधिकार दिन नखोजिएको मात्र हो ।

सदियौंदेखि देशमा गैरजनजातिहरुले राजनैतिक, सामाजिक र आर्थिक रुपमा हालीमुहाली गर्दैआएको छ भन्ने कुरा बुझ्न जरुरी छ । उनीहरुले जमाउादै आएको त्यो अधिकार दिन नखोजिएको मात्र हो । आदिवासी जनजातिहरुले नयाँ संविधानमा आफ्नो अधिकारको सुनिश्चिताका लागि आवाज उठाएको हो ।

विदेशमा रहेका नेपालका आदिवासी जनजातिहरुले के के कुरामा ध्यान दिन आवश्यक छ ?

कसरी आफ्नो मुद्दाहरुलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा लिएर जान सकिन्छ त ? भन्ने कुरामा नेपालका आदिवासी जनजातिहरु केही हदसम्म स्पष्ट देखिन्छन् तर विदेशमा रहेका नेपाली आदिवासी जनजातिहरुमा भने स्पष्टता देखिादैन । त्यसलाई स्पष्ट र एकरुपताका साथ साझा मुद्दा बनाएर अगाडि बढ्नु पर्ने अवस्था छ । अर्को, हामी विदेशमा रहेकाहरुले नयाँ पुस्तालाई कसरी आफ्नो सीप, भाषा, कला र संस्कृति हस्तान्तरण गर्ने त ? भन्ने विषयमा विशेष ध्यान दिनु पर्ने अवस्था छ । एकातिर आफ्नो संस्कृति पनि बचाउनु पर्ने अवस्था छ भने अर्कोतिर अरुको संस्कृतिमा रम्नु पर्ने अवस्था छ । त्यसैले हामी अभिभावकहरुको थुप्रै दायित्व थपिएको छ ।

बाहिर बस्ने हामी नेपालीहरुको आफ्नै थुप्रै पीडा छन् । तर पनि बाहिर बस्ने नेपालीहरुको नेपालप्रतिको भूमिका के हो त ? हाम्रो साझा मुद्दा के हो त ? आफ्नो पहिचान बचाउनका लागि के गर्नु पर्दछ भन्ने कुरा बुझ्न जरुरी छ । सामाजिक संरचना, राजनीतिक संरचना, सरकारी संरचनाहरुमा आदिवासी जनजाति महिलाहरुको स्थान के रहन सक्छ, आदि विषयमा पनि छलफल गर्न आवश्यक छ । तर हामीले एकैपटक सबै मुद्दामा बहस भने गर्न सकिादैन । यसलाई निरन्तरता दिादै जानुपर्दछ ।

गैरआदिवासी जनजातिका छोराछोरीभन्दा आदिवासी जनजातिका छोराछोरीहरु अध्ययनमा होस् वा नोकरीमा होस् वा अरु नै बिषयमा होस् अलि पछाडि नै देखिन्छ । के गरियो भने तिनलाई अगाडि ल्याउन सकिन्छ ?

आमा शिक्षित भयो भने छोराछोरी पनि शिक्षित हुनसक्छ । त्यसकारण आमा नै शिक्षित हुनुपर्ने अवस्था छ अर्थात् शिक्षित नभए पनि जान्न र बुझ्न आवश्यक छ । मेरै उदाहरण हेर्नुहोस्, मेरो अभिभावक शिक्षित त थिएनन् तर उहाँहरुले छोरीलाई पढाउनु पर्दछ भन्ने जान्नुभयो, बुझ्नु भयो र पढाउनु भयो । छोराछोरीलाई अभिभावकले नै सिकाउने हो । तर आमा, बुबाले नै बुझेका छैनन् भने कसरी सिकाउनु हुन्छ । त्यसैले मैले महिला महासंघमा पटक/पटक पहिला आफूनै शिक्षित हुनु पर्दछ र छोराछोरीलाई कुनै पनि हालतमा पठाउनु पर्दछ भन्दै आएकी छु ।

आदिवासी जनजातिहरुको बुवाहरु प्राय:बाहिर नै हुन्छन्, त्यसैले आमाहरुले नै महत्वपूर्ण भूमिका निभाउनु पर्ने हुन्छ । अर्को समाजको कुरा छ । गैरजनजातिहरुमा दाजुभाइ तथा दिदीबाहिनीहरुबीच को डाक्टर बन्ने र को इन्जिनियर बन्ने प्रतिस्पर्धा नै हुन्छ । तर, जनजाति परिवारबीच त्यस्तो प्रतिस्पर्धा हुादैन । आदिवासी जनजातिहरुले लोकसेवा आयोगको लिखितमा नाम निकाल्न सक्छन् तर अन्तर्वार्तामा सफलता मिलेको धेरै कम उदाहरण छ ।

 राज्यको प्रमुख संयन्त्रमा गैरआदिवासी जनजातिहरु नै भएकाले पनि राम्रो छात्रवृत्तिलगायतको विभिन्न अवसरमा उनीहरु नै पुग्ने गरेको छ । एकातिर हामीले राम्ररी अभिभाकत्वको भूमिका निर्वाह गर्न सकेका छैनौं, अर्कों कुरा राष्ट्रले पनि जुन तरिकाले अवसर दिनु पर्ने हो त्यो दिन सकेको छैन । पाठ्यक्रममा आदिवासी जनजातिको कला र संस्कृतिको कुरा समावेश हुनु पर्ने हो तर, त्यो हुन सकेको छैन । हाम्रो जिम्मेवारी भनेको छोराछोरीहरुलाई कसरी अगाडि बढाउन सकिन्छ, त्यसमा विशेष ध्यानदिन जरुरी छ । पछिल्लो समय आदिवासी जनजाति विद्यार्थीहरुले राम्रो गरिरहेको अवस्था पनि छ । र, राम्रो नतिजा ल्याई उत्र्तीण गरेकाहरुलाई सम्मान गरेर प्रोत्साहित गरिरहेका छौं । जुन एकदम सकारात्मक छ ।

विदेशमा रहेका आमाहरुलाई के भन्न चाहनुहुन्छ ?

जिम्मेवारी र दायित्वलाई अभिभावकले नै बुझ्नु पर्दछ । आफ्नो सन्तानलाई कहा पढाउने र के पढाउने हो भन्ने कुरा बुझ्नु जरुरी छ ।  घरैबाट परिवर्तनका लागि सुरुआत गर्नुपर्दछ । केही आमाहरुले पढ्ने अवसर पाउनुभएन तर पढ्नै पर्छ भन्ने पनि छैन । नपढे पनि जान्ने र बुझ्नु पर्ने ठूलो कुरा हो । सकभर आफ्नो नानीबाबुहरुलाई व्यवहारिक कुरा सिकाउनु पर्ने हुन्छ ।

 व्यवहारिक कुरा सागसागै हामी विदेशमा किन आयौं, र हाम्रो भाषा, कला, संस्कृति, पहिचान के हो भन्ने कुरा पनि बुझाउन आवश्यक छ । र, विशेष गरेर महिलाहरुले बचत गर्न सिक्नु पर्दछ । दिनको ५/१० डलर जम्मा गर्दै गएमा आफूलाई आवश्यक परेको अवस्थामा चलाउन सकिन्छ । अमेरिकामा करिब ५०/६० जना नेपाली आदिवासी जनजाति महिलाहरुले बचत गर्न थाल्नुभएको छ ।

अन्त्यमा केही भन्न चाहनुहुन्छ कि ?

अहिले नेपालबाट महिलाहरुले विदेशमा गएर काम गर्न थालेको अवस्था छ । यसरी विदेशमा रहेका महिला दिदीबहिनीहरुलाई पनि संगठित गरेर अन्तर्राष्ट्रियस्तरमा आदिवासी जनजाति महिला मोर्चा गठन गर्ने उद्देश्य राखेकी छु । अमेरिका र यूकेका महिलाहरु आबद्ध भैसकेको अवस्था छ र हङकङका साथीहरुसाग पनि कुरा भैरहेको छ । सबै आदिवासी जनजाति महिलाहरुलाई आफ्नो भाषा, कला, संस्कृति र पहिचानका लागि संगठित हुन अनुरोध गर्दछु । 

(एभरेष्ट टाइम्स बेलायत बाट प्रकासित नेपाली साप्ताहिकमा सम्पादित अंश स्वयम संगीनी रानामगर बाट प्राप्त)

Last Updated on Friday, 10 April 2015 01:47

Hits: 931

हार्दिक श्रध्दाञ्जलि - गोरे बहादुर खपांगी