A+ A A-

नेपालको बिग्रंदो वातावरण र बेलायतका लागि नेपाली राजदूतलाई मेरो पत्र

-बिजय हितान

 महोदय,

सर्वप्रथम गत वर्षको १२ अक्टोबरमा माननीय वन तथा वातावरण मन्त्री शक्ति बहादुर बस्नेत ज्यूसँग नेपाली दुतावास लण्डनमा मेरो भेटवार्ता मिलाइ दिनुभएकोमा हार्दिक धन्यवाद व्यक्त गर्दछु । त्यो छोटो भेटघाटमा हामी बीच नेपालका वातावरणीय समस्याहरु र बेलायतमा यसको व्यवस्थापन कसरी गरिन्छ भन्ने बारेमा छलफल भएको जानकारी दिलाउन चाहन्छु । छलफलका क्रममा माननीय मन्त्रीज्यूले नेपाल आएको बेला भेटेर फेरि कुरा गर्न सकिने आश्वासन दिनुभएको थियो ।

त्यसपछि अक्टोबरको अन्त्यमा म नेपाल गएको थिएँ । माननीयज्यू सँग भेट हुन त सकेन तर पनि १८ नोभेम्बर २०१८ मा नेपाल वातावरण विभागका महानिर्देशक झलक राम अधिकारी सँग उहाँकै कार्यकक्षमा मेरो भेटवार्ता भयो । त्यसपछि २९ नोभेम्बरका दिन शाखा प्रमुख बुद्धि राज घिमिरे र दश जना वातावरणीय निरीक्षकहरु सँग अन्तरक्रिया र ल्याव भ्रमणको अवसर मिल्यो । ३० नोभेम्बरको दिन नेपाल बार यसोसियशनको हलमा वातावरण कानुन समिति र वातावरण विभागको संयुक्त आयोजनामा राखिएको ‘स्वच्छ वातावरण र मानव अधिकार’ विषयक अन्तरक्रिया कार्यक्रममा झलक राम अधिकारी सँग फेरि भेटेर यी विषयहरुमा छलफल भएको थियो ।

यो पत्र लेख्नुको मुख्य उद्देश्य नेपालको वातावरण व्यवस्थापन (विशेष गरेर ठोस तथा तरल फोहोरमैला) का विषयमा मेरो बुझाइ र बेलायतमा बसेर नेपालको वातावरण व्यवस्थापनमा हामीले खेल्न सक्ने भूमिकाका बारेमा केही कुराहरु यहाँ समक्ष राखूँ भन्ने हो ।

मैले वातावरण विज्ञानमा स्नाकोत्तर गरेर बेलायतको वातावरण मन्त्रालयको वातावरण व्यवस्थापन शाखामा वातावरण निरीक्षकको रुपमा सन् २००८ देखि काम गर्दै आएको छु । यहाँको वातावरण कानुनका केही पक्षमा मलाई ज्ञान छ र तिनलाई पालना गराउनु मेरो दिनदिनैको कार्यसम्पादन भित्र पर्छन् । यहाँ घरेलु, उद्योग तथा कृषिजन्य गतिविधिहरुद्वारा उत्पादित ठोस तथा तरल फोहोरमैला कसरी व्यवस्थापन गरिन्छ भन्ने विषयमा मैले ज्ञान तथा अनुभव बटुलेको छु । साथै वातावरणीय प्रदूषणका घटनाहरुको व्यवस्थापनमा पनि मेरो लामो अनुभव छ । यिनै विषयहरुमा भएका मेरा दक्षता र अनुभवलाई गत वर्षको नेपाल भ्रमणको दौडानमा वातावरण विभागका कर्मचारीहरु सँग बाँड्ने अवसर मिलेको यहाँलाई जानकारी गराउँछु ।

काठमाडौँ लगायत देशभरका अन्य ठूला सहरमा विशेष गरेर घरेलु तथा औद्योगिक फोहोरमैला, ढल, अस्पतालमा उत्पादन हुने विशालु फोहोरमैला, खोलानाला र वायु प्रदूषण, जमिन मुनिको पानी प्रदूषण र जथाभावी सडक निर्माणले निम्त्याएको भूक्षय, वन फडानी र जैविक विविधतामा ह्रास इत्यादि नेपालका जल्दाबल्दा वातावरणीय समस्याहरु हुन् ।

नेपालको वातावरणीय समस्या र यसको व्यवस्थापन सम्बन्धमा मैले बुझेका कुरा, मेरा सुझाव अनि यसको सुदृढीकरणमा के भूमिका खेल्न सकिन्छ ? भन्ने विषयमा मेरा विचार राख्न चाहन्छु ।

मेरो बुझाइ र केही सुझाव

१. नेपालमा वातावरण संरक्षण र व्यवस्थापनका लागि एक सय चार किसिमका कानुनहरु तर्जुमा भएको पाएँ । यति सानो राष्ट्रमा यतिका कानुन बनाइसकिएको सह्रानिय कुरो हो । जसरी वातावरणीय जोखिम बदलिँदो छ, जसरी देशको अर्थतन्त्र बदलिँदो हुन्छ, त्यसरी नै वातावरणका आवश्यक कानुनहरु थप्दै लानुपर्छ र भएका कानुन तथा नीतिनियमहरुलाई समयानुसार परिमार्जित गर्दै लानुपर्छ ।

२. राजनैतिक स्थिरताले वातावरण व्यवस्थापनमा सुधार ल्याउन सक्ने आशामा हामी छौँ । आर्थिक विकासमा दिगो विकासको सिद्धान्त र यसको कार्यान्वयन अपरिहार्य छ । तर नेपालमा त्यसो भएको अलि पाइँदैन । नेपालमा मात्रै होइन, छिमेकी राष्ट्र चीन र भारतमा पनि दिगो विकासलाई पूर्णरुपमा अँगालिएको पाइँदैन । हाम्रो चिन्ता यही हो । त्यसर्थ हामीले वातावरण व्यवस्थापनको स्तर र आर्थिक विकासको स्तरलाई समानान्तर रुपमा अगाडि बढाउनतिर सधैँ पहल गर्नुपर्छ ।

३. जनतामा वातावरण संरक्षणको चेतना राम्रै भएको पाएँ । स्कुल, कलेज र विश्व विद्यालयमा यस विषयमा पढाइने अनि ग्लोवलाइजेशन र सूचना प्रविधिको चरम विकासले होला । वातावरणीय समस्याका बारेमा सरकारी तथा गैरसरकारी क्षेत्रमा प्रशस्तै जानकारहरु भए तापनि विज्ञ तथा प्रविधिज्ञकहरुको खाँचो खुबै देखिन्छ ।

४. त्यसर्थ वातावरण मन्त्रालयले सरकारलाई आवश्यक बजेट पहल गर्न लगाई वातावरण व्यवस्थापनाका लागि आवश्यक पर्ने आधुनिक स्रोत र साधन जुटाउनुपर्ने देखिन्छ । केमिस्ट, वायोलोजिस्ट, इकोलोजिस्ट, फिसरिज, एन्भाएरोमेन्टलिस्ट, इन्जिनियर, हाइड्रोलोजिस्ट इत्यादि जस्ता विज्ञ आफ्नै देशमा जन्माउन र विदेशबाट भित्र्याउनुपर्ने देखिन्छ ।

५. वातावरण व्यवस्थापनमा आवश्यक पर्ने रिसाइकलिङ सेन्टर, ल्यान्डफिल साइट, ढल तथा प्रशोधन यन्त्र तथा केन्द्रजस्ता प्रविधिमा बजेट खर्च गरिनुपर्ने देखिन्छ । यस्ता प्रविधि विदेशको देखासिकी गरेर नेपालमै निर्माण गर्न सक्ने स्थिति तयार बनाउन सकिन्छ साथै विदेशबाट पनि भित्र्याउन सकिन्छ ।

६. वातावरणीय प्रविधि र प्राविधिज्ञको सन्दर्भमा बेलायत जस्तो विदेशी राष्ट्रमा छात्रवृत्ति, वातावरण विभागका कर्मचारीलाई विदेशमा तालिम तथा गोष्ठी, विदेशसँग कर्मचारी साटासाट जस्ता परियोजना निकट भविष्यमा तुरुन्तै ल्याउनुपर्ने आवश्यक देखिन्छ ।

७. यसका लागि सरकारी स्तरमा नै बेलायत जस्तो विदेशी राष्ट्रसँग छलफल चलाउनुपर्ने देखिन्छ र यसमा नेपाली राजदूतावास बेलायतले ठूलो भूमिका निभाउन सक्छ ।

मैले र नेपाली दूतावासले खेल्न सक्ने भूमिका

१. मैले बेला बेलामा नेपाल गएर यस विषयमा अन्तरक्रिया तथा तालिम प्रदान गर्न सक्छु ।

२. बेलायतमा अपनाइने वातावरण व्यवस्थापनको तरिकालाई (कानुनी रुपले मिलेसम्म) नेपालमा लागू गर्न परे त्यस कार्यमा सहयोग पु¥याउन सक्छु ।

३. बेलायती प्रविधि र प्राविधिज्ञ नेपालमा भित्र्याउने सम्बन्धमा नेपाली दूतावास लण्डनले पहल गरिदिन सक्छ ।

४. प्रवासी नेपाली संघ बेलायत, नेपाल बेलायत व्यापार संगठन, बेलायतको अन्तर्राष्ट्रिय विकास मन्त्रालयमा पनि यस विषयमा कुरा राख्न सकिन्छ ।

५. राष्ट्रिय स्तरमा कुनै परियोजनाको सम्झौता भई कार्यान्वयन हुने अवस्था आएमा मैले काम गर्दै आएको एन्भाएरोमेन्ट अजेन्सीमा म एक समन्वयकारीको भूमिका खेल्न सक्नेछु र नेपाल राजादूतावासले पनि यसमा मद्दत पु¥याउन सक्छ जस्तो मलाई लाग्छ ।

६. बेलायतका वातावारण व्यवस्थापन सम्बन्धीका गैरसरकारी कम्पनी, परामर्श दातृ संगठनहरुसँग नेपाल वातावरण मन्त्रालयको सम्बन्ध विस्तार गरिदिन सकिन्छ ।

७. यी बाहेक वातावरण प्रबन्धनका अन्य विषयमा मेरो क्षमताले भ्याए सम्म परामर्श र सरसल्लाह प्रदान गर्न म सधैँ तयार हुने छु ।

अन्त्यमा

यहाँलाई थाहै भएको कुरा हो, बेलायत प्रजातन्त्रको जननी हो । नेपालले प्रजातन्त्र र मानव अधिकारका बारेमा धेरै अगाडि बेलायतबाट सिकेर नेपालमा लागू पनि गरेको छ । त्यसरी नै वातावरण व्यवस्थापनमा पनि बेलायत संसारमै एक अग्रणी राष्ट्र हो । अमेरिका र युरोपले पनि बेलायतको वातावरण व्यवस्थापनलाई अनुशरण गर्छन् । मैले काम गर्ने एन्भाएरोमेन्ट एजेन्सीले करिब १०,००० कर्मचारी वातावरण संरक्षणका लागि राखेको छ, जो युरोपकै सबैभन्दा ठूलो संगठन मानिन्छ । भन्नाको अर्थ बेलायतले यस विषयलाई ठूलै प्राथमिकता दिएको छ ।

जसरी शिक्षा, स्वास्थ्य, साहित्य र राजनीतिक क्षेत्रमा नेपाल र बेलायत बीच अनुभव साटासाट हुँदै आएको पाइन्छ, त्यस्तै वातावरणको क्षेत्रमा पनि विज्ञ तथा कर्मचारीहरुको आदान प्रदान र प्रशिक्षण तथा तालिमको व्यवस्था मिलाउन सकिन्छ । मैले भन्न खोजेको के भने, हामीले वर्षको दुई तीन सय गोरखाली सिपाही बेलायतलाई दिँदा दुई तीन जना वातावरण विज्ञ हामीलाई पनि देऊ न भनेर बेलायत सरकारलाई गुहार्न सकिन्न र ! नेपालकी महिला मन्त्री आएर बेलायतको पार्लियामेन्टमा महिला हकअधिकार र हिंसाका बारेमा बोल्दा बेलायतको वातावरण मन्त्रीलाई नेपालको संसदमा उभ्याएर बागमती प्रदूषण हुन नदिन ढल कसरी प्रशोधन गरिनुपर्छ भन्ने विषयमा प्रवचनको मेसो मिलाउन सकिन्न र ! अन्तर्राष्ट्रिय विकास विभागले विकट जिल्लाको खोलामा झोलुङ्गे पुल हालिदिँदा काठमाडौँमा उत्पादन हुने फोहोरमैला डढाएर बिजुली निकाल्ने प्रविधि पनि जडान गरिदिन्छौ कि तिमीले भनेर माग राखे हुन्न र ! बेलायतले मानवअधिकारको शङ्ख फुकिरहँदा वातावरण अधिकारका विषयमा पनि नेपाली जनतालाई चेतना दिलाइदिन्छौ कि भनेर सोधिहेर्न सकिन्छ । यसरी नेपालका वातावरणीय मुद्दाहरुको छलफल नेपाल र बेलायतको सरकारी स्तरमा गरियो भने प्रभावकारी हुन सक्छ जस्तो मलाई लाग्छ ।

प्रजातन्त्र र मानव अधिकारका कुरा लागू गर्न प्रविधिज्ञ र प्रविधिको खाँचो पर्दैन । तर वातावरण प्रबन्धनमा यी दुई अपरिहार्य छन् । यी दुई कुरामा बेलायत धेरै अगाडि छ । जो मैले प्रत्यक्ष दिनदिनै भोगेको कुरा हो र मलाई जहिले पनि लाग्छ बेलायतको जस्तो प्रविधि नेपाल भित्र्याउन सकियो भने मेरो देशको वातावरण स्वच्छ राख्न कति सहयोग मिल्थ्यो होला !

धन्यवाद !

यहाँको शुभेच्छुक

विजय हितान

 हार्दिक श्रध्दाञ्जलि - ज्ञान बहादुर गाहा मगर