A+ A A-

इङ्ल्यान्डमा भूमिगत जलभण्डार र प्रदूषण निराकरणका उपायहरू

-विजय हितान

जसरी पृथ्वीको वायुमण्डल, नदीनाला र सागर प्रदूषित छन् त्यसरी नै जमिन मुनिको पानी पनि प्रदूषणको प्रभावबाट अछुतो रहन सकेको छैन । इङ्ल्यान्डको दक्षिण-पूर्वीय क्षेत्रमा अवस्थित भूमिगत जलभण्डारमा प्रदूषणका तत्वहरू नाइट्रेट, फोस्फेट, पेस्टिसाइड, हाइड्रो कार्बन, व्याक्टेरिया इत्यादि भेटिएका छन् । यिनको मात्रा यती धेरै छ कि पानीलाई अत्याधुनिक यन्त्र प्रयोग गरेर प्रसोधन नगर्दा सम्म पिउनकोलागी बितरण गर्न उपयुक्त हुदैन ।

भूमिगत पानीमा प्रदूषण रोक्ने उपायहरू:
जमिनमुनिको पानीलाई प्रदूषणमुक्त राखिराख्न यहाँ प्रशस्तै कानुनहरू बनाइएका छन् । उचित कानुनको माध्यमले मात्रै भूमिगत जलभण्डार जस्तो सिमित प्राकृतिक स्रोतलाई यहाँ सफलताका साथ व्यवस्थापन गर्न सकिएको हो जस्तो मलाई लाग्छ । बढ्दो प्रदूषण रोक्न कानुन बाहेक अन्य उपायहरू पनि अवलम्बन गरिएका छन् ।

नाइट्रेटको समस्या देखेर नाइट्रेट भल्नराबल जोन (एन भि जेट) कानुन लागू गरिएको छ । नाइट्रेटको जोखिम देखिएको भूभागलाई सरकारले एन भि जेट क्षेत्र घोषित गरेको हुन्छ । ती क्षेत्रभित्र पर्ने जमिनमा कृषिजन्य गतिविधि गर्दा कृषकले एन भि जेट कानुनको पालना गर्नुपर्ने हुन्छ । उदाहरणका लागि प्रति हेक्टर जमिनमा २५० किलोभन्दा बढी नाइट्रेट मल छर्न पाइन्न । त्यसैगरी जैविक मलको पनि कोटा तोकिएको हुन्छ । बालीको प्रकार र माटोको उर्वरा शक्ति अनुसार मलहरूको प्रयोग गरिनुपर्छ । माटो परीक्षण गरेर मात्रै उचित मात्रामा मल छर्नुपर्छ । बालीलाई चाहिनेभन्दा बढी मल प्रयोग गरेमा त्यो बगेर जल भण्डारमा पुग्ने सम्भावना हुन्छ ।

भूमिगत जल भण्डार भएको जलाधार क्षेत्रलाई ग्राउन्ड वाटर सोर्स प्रोटेक्सन जोन १, २, ३ भनेर छुट्याइएको हुन्छ । जोन १ भित्री पत्र हो जहाँ पानी तान्ने पम्प र प्रशोधनका उपकरण निर्माण गरिएका हुन्छन् । जोन १ भित्र कुनै विकास निर्माणका कार्य गर्नुप¥यो भने निर्माण योजनासम्बन्धीको कानुनको (टाउन एन्ड कन्ट्री प्लानिङ एक्ट १९९०) कडा नियमहरूलाई पालना गर्नुपर्नेहुन्छ । उदाहरणका लागि यस क्षेत्रमा उद्योगधन्दा खोल्न पाइन्न । घर निर्माण गरेर फोहोर पानीको ढल जमिनमा विसर्जन गर्न पाइदैन ।

ढल प्रशोधन केन्द्रबाट निस्कने ठोस पदार्थ (सिवेज स्लज) मलको रूपमा जमिनमा छरिन्छ । यस्ता ठोस पदार्थ जोन १ भित्र छर्न कानुनले दिँदैन । यस्ता गतिविधिहरू एन्भाएरोमेन्ट पर्मिटिङ रेगुलेसन २०१६ ले नियन्त्रण गर्दछ ।

पेट्रोल पम्प र सोकवेको बीचमा इन्टरसेप्टर निर्माण गरिएको हुनुपर्छ । यदि तेलको चुहावट हुन गएमा इन्टरसेप्टरले पानीलाई बाहिर बग्न दिन्छ तर तेल हलुको हुने हुनाले पानीमाथि तैरिन्छ र इन्टरसेप्टरमै रोकेर राख्छ । यस्तो इन्जिनियरिङ डिजाइनको संरचना हुनुपर्ने कानुनी प्रावधान छ ।

ओइल स्टोरेज रेगुलेशनका अनुसार २०१ लिटरभन्दा बढी तेल व्यापारिक प्रयोजनका लागि राखिएको हुन्छ भने त्यसको ट्याङ्की दुई पत्रे या बाहिरबाट नचुहिने कङ्क्रिटको पर्खालले बारेर राखेको हुनुपर्ने हुन्छ ।

एन्भाएरोमेन्ट एजेन्सीको कर्तव्य र मेरो संलग्नता:
इङ्ल्यान्डमा प्राय धेरैजसो वातावरणीय कानुनहरूको कार्यान्वयन एन्भाएरोमेन्ट एजेन्सीद्वारा हुन्छ । जमिनमुनिको पानीको सुरक्षार्थ ल्याइएका कानुनहरू पनि यसैले पालना गराउँदछ ।

पानी तान्ने लाइसेन्स एन्भाएरोमेन्ट एजेन्सीले दिने भएकाले प्रदूषणका स्रोतलाई रोक्ने दायित्व पनि यसैको हुन्छ । यस निकाय अन्तर्गत ग्राउन्ड वाटर तथा कन्टामिनेसन ल्यान्ड, मोनिटरिङ तथा डाटा कलेक्सन, अनि एन्भाएरोमेन्ट म्यानेजमेन्ट विभागहरू हुन्छन् । मोनिटरिङ तथा डाटा कलेक्सन विभागले पानीको नमुना परीक्षण गरेर गुणस्तरको तथ्याङ्क सङ्कलन गरेको हुन्छ । तथ्याङ्कमा प्रदूषणको मात्रा बढेको पाइयो भने ग्राउन्ड वाटर तथा कन्टामिनेसन विभागले यसको प्रभाव मूल्याङ्न गरी कार्ययोजना तयार पार्छ र एन्भाएरोमेन्ट मेनेजमेन्टलाई हस्तान्तरण गर्छ । त्यसपछि एन्भाएरोमेन्ट म्यानेजमेन्टका वातावरण निरीक्षक फिल्डमा गएर सम्भावित प्रदूषणका स्रोत पत्तालगाउने काम गर्छन् । त्यस्ता स्रोत भेटिएमा तिनका सञ्चालकलाई सरसल्लाह, कानुनी परामर्श र आवश्यक परे कानुनी कारवाही गरिन्छ ।

सन २०१६ मा थ्रोली गाउँको जमिनमुनिको पानीमा क्रिप्टोस्पोरोडियमा भनिने रोगाणु भेटियो । यो मिसिएको पानी पिएमा यसले झाडापखाला लगाउँछ । यो जिवाणु चौपाय साथै मानव मलमा पाइन्छ । यसको कारणले पम्पिङ स्टेशनहरू नै बन्द गर्नुपर्ने भयो । मेरो नेतृत्वमा पोलुसन प्रिभेन्सन अभियान सुरु भयो । अनुसन्धानको क्रममा त्यो क्षेत्रमा खेती गर्ने, गाई तथा भेडा पाल्ने जस्ता कृषिजन्य गतिविधिहरू गरिने गरेको पाइयो । खेतीपाती गर्ने जमिन भएपछि त्यहाँ सिवेज स्लज (फोहोर पानी प्रशोधन केन्द्रबाट उब्जित ठोस फोहोर जो मलको रूपमा प्रयोग गर्न सकिन्छ) छरिने नै भयो । पम्पिङ स्टेशनको वरिपरिको घाँसे मैदानमा हजारौँको सङ्ख्यामा भेडा चराएको पाइयो । घरहरूमा दिसापिसाब सङ्कलनार्थ धेरै पुराना, चुहिने, मर्मतसम्हार नगरिएका, सन् १९६० र १९७० तिरका, सेप्टिक ट्याङ्की भेटिए । जब कि जमिनबाट पानीको सतह १०र१५ मिटर तल मात्रै छ । एन्भेरोमेन्टल पर्मिटिङ रेगुलेशन अनुसार सोर्स प्रोटेक्सन जोन १ भित्र यस्ता सेप्टिक ट्याङ्की राख्न पाइन्न । कित त पूर्ण बन्द ट्याङ्कीमा सङ्कलन गरेर सबै फोहोर पानी ट्याङ्करले तानेर प्रशोधन केन्द्रमा लैजानुपर्छ, कि त लाइसेन्स लिएर सिवेज ट्रिटमेन्ट प्लान्ट राख्न सकिन्छ । यस्ता व्यवस्था नभएको पाइएपछि ती घरधनीलाई आवश्यक परामर्श तथा कानुनी दायराभित्र ल्याउने काम भयो ।

केही घरहरूको सेप्टिक ट्याङ्की सिधै पुरानो इनारमा जोडिएको भेटियो । एक गाउँमा सडकको भल तर्काउने पानीको नाला पुरानो इनारमा मिसाइएको थियो । इनारबाट यस्ता नालाहरू तुरुन्तै तर्काउनुपर्ने सम्बन्धित व्यक्तिलाई सुझाव दिइयो । पुराना इनारहरूका अवशेष गाउँगाउँमा भेटिए । यसरी खुल्लै राखिएका इनार जलभण्डारको प्रदूषणको माध्यम बन्न सक्ने सम्भावनाले गर्दा एन्भाएरोमेन्ट एजेन्सीले पुर्ने सल्लाह दिन्छ ।

एक डेरी फार्ममा दुई सय पचास गाई पालिएका थिए । दूध दुहुने पार्लरमा फोहोर पानी र मल पैदा हुन्छ । यस्तो मलपानीलाई साइलेज स्लरी एण्ड एग्रिकल्चर फ्युल ओइल रेगुलेशन २०१० का अनुसार निर्धारित मापदण्ड अनुसारको पोखरीमा जम्मा गरिनुपर्छ । खेतमा छर्दा माटोले र बालीलाई चाहिएको भन्दा बढी छर्न पाइदैन । पानी तानिने पम्पिङ स्टेशनको ५० मिटरवरिपरिको जमिनमा यो छर्न पाइदैन । हिउँ या पानी पर्ने अवस्था छ भने पनि त्यस्तो मौसममा छर्न रोक लगाइन्छ । डेरी फार्ममा गरिएको हाम्रो निरीक्षणले रेगुलेशनलाई पूर्णता अवलम्बन गरेको पाइएन अनि त डेरीफार्मका मालिकलाई रेगुलेशनलाई पूर्ण पालना गर्नुपर्ने चेतावनी दिँदै चिठी काट्यौँ ।

पानी वितरण कम्पनीले प्रत्येक पम्पिङ स्टेशनमा क्रिप्टोस्पोरोडियम मोनिटरिङ गर्ने उपकरण जडान ग¥यो । प्रशोधन केन्द्रहरूमा अल्ट्राभाइलेट ट्रिटमेन्ट प्लान्ट जडान ग¥यो । यसले जिवाणुलाई मार्ने काम गदर्छ ।

यसरी दुई वर्षको अनुसन्धान, अनुगमन र स्तरोत्तरका क्रियाकलापले यो जलासय क्षेत्रलाई जिवाणुमुक्त बनाउन सफल भइयो । तथापी जिवाणुको प्रमुख स्रोत के थियो ठम्याउन भने गाह्रो भयो । यसरी प्रदूषणको स्रोतमा रोकथाम, प्रदूषण बगेर जान सक्ने माध्यममा छेकबार र प्रदूषण ग्रहण गर्ने वातावरणलाई सुरक्षित पार्ने जस्ता सिद्धान्त अपनाएर यस परियोजनालाई मैले सम्पादन गरेको छु ।

This email address is being protected from spambots. You need JavaScript enabled to view it. -लेखक एन्भाइरोमेन्ट एजेन्सिमा बातावरण निरिक्षकको रुपमा काम गर्नुहुन्छ ।
अप्रिल २०१९, फोक्स्टोन केन्ट युके

 हार्दिक श्रध्दाञ्जलि - ज्ञान बहादुर गाहा मगर