A+ A A-

बेल्पाली लाहुरे स्रष्टा र युद्ध साहित्य !

– विजय हितान

पृष्ठाभूमी

बेल्पाली अर्थात् बेलायती नेपाली । बेलायतमा सन् २००६ यता बेलायती गोर्खा सेनाबाट सेवा निवृत भई बेलायतलाई नै कर्मथलो बनाएर बस्ने लाहुरेहरूको जनसङ्ख्या उल्लेखनीय रूपले वृद्धि हुँदै छ । लाहुरे शब्दलाई बोलीचालीको भाषामा लाउरे भनिन्छ ।
Image may contain: Bryan Hitan

लाउरे शब्द नेपाली जनजिब्रोमा त्यतिबेलादेखि झुन्डिन सुरु गरेको हो, जतिबेलादेखि नेपालीहरू लाहोरमा गएर सेनामा भर्ती भई अरुका लागि युद्ध लडन सुरु गरे । आज यस लाउरे संस्कारले २०० वर्षको लामो इतिहास बोकेको छ । लाउरेको यो लामो इतिहासलाई अरु कसैले लेखिदियो तर स्वयम् आफैँ एक लाउरे पात्र बनेर । लाउरे आफैँले भने आफ्नो इतिहास लेख्न सकेनन्, लेख्न भ्याएनन्, लेख्न जानेनन् । लाउरेका बारेमा एकदुई सय पुस्तक लेखिएका होलान् तर ती अधिकाङ्श बेलायती लेखकहरूबाट । ती प्राय लेखकहरू स्वयम् गोर्खाली लाउरेहरूसँगै सहयोद्धा भएर पहिलो तथा दोस्रो विश्वयुद्ध हुँदै अन्य दुई दर्जनभन्दा बढी युद्धहरूमा लडेको पाइन्छ ।

इतिहासका पानाहरू पल्टाएर हेर्दा स्वयम् लाउरेले नै छिटफुट मात्रामा केही कृति र रचनाहरू छाडेर गएको पाइन्छ । युद्धचेतमा अधारित तुलाचन आलेको ’मणिपुरको सवाइ’ पुस्तक र मास्टर मित्रसेनले गाएका ’लाउरे दाइको रेलिमाई फेसनै राम्रो’ जस्ता एक दर्जनभन्दा बढी वीररसका गीतहरू यसका केही उदाहरणहरू हुन् । त्यसभन्दा बढी लाउरेहरूले आफ्ना अनुभूतिहरूलाई लेखेर दस्तावेजीकरण गरेको देखिएन । लामो कालखण्डपछि गत एक दशकभित्र लाउरे स्वयम्ले आफ्ना कथाव्यथाहरूलाई क्रमशः पुस्तकहरूमार्फत व्यक्त गर्न लागेको भने देखिन्छ । जसरी लाउरे संस्कार, लाउरे चलन, लाउरे वर्ग, लाउरे स्टायल, लाउरे बोली भन्ने कुराको विकास भएर आयो, त्यसरी नै आजकाल लाउरे साहित्य भनेर विकास हुन थालेको छ ।

लाउरेका बारेमा सबैभन्दा बढी गीत बनाएर गाइयो होला, त्यसपछि चलचित्र । तर त्यसलाई लिखित दस्तावेजमा साहित्य नै भन्न मिल्दैन । लाउरे सधैँ युद्धसँग नजिक रहने हुनाले लाउरेका बारेमा लेखिने साहित्य र लाउरे स्वयम्ले लेख्ने साहित्यलाई युद्ध साहित्य भन्न सकिन्छ । नेपाल, इन्डिया, मलेसिया, सिंगापुर, ब्रुनाई, हङकङमा लाउरेहरूको ठूलो वस्ती रहेको हुनाले यी ठाउँहरूमा कुनै न कुनै रूपमा युद्ध साहित्यचेतका अवशेष छाडिएको हुनसक्छ । अहिले आएर बेलायती सेनाबाट अवकाश पाई स्थायी रूपमा बसोबास गर्दै आएको सबैभन्दा ठूलो लाउरे समुदाय बेलायतमा छ ।

बेलायतमा युद्ध साहित्य विकास हुनुको कारण

सन् २००० सम्म आइपुग्दा युद्ध साहित्य सुषुप्त अवस्थामा रहेको देखिन्छ । सन् २००१ मा गोर्खा सैनिकमा कार्यरत एक दर्जनजति स्रष्टाहरूको मिलोमतोमा प्रवासी नेपाली साहित्य समाज स्थापना गरेदेखि युद्ध साहित्य विकासको सुरुवात भएको देखिन्छ । यस साहित्य सङ्गठन स्थापना हुनुमा सन् १९९८ देखि प्रकाशन गरिएको प्रवासी वेदनाका आवाजहरू भनिने पत्रिकाको ठूलो महत्व देखिन्छ । दशकौँको इतिहास बनाएको बीएफबीएस गोर्खा रेडियोको प्रसारण सेवा र पर्वते पत्रिकाको मासिक प्रकाशनले पनि यसमा विशेष योगदान पु¥याएको छ । सैन्य जीवन तथा युद्ध पीडाका भावनालाई कलममार्फत अभिव्यक्त गरेर देखाउने मञ्चको रूपमा यिनले काम गरेको पाइन्छ । लेखनलाई प्रोत्साहन नगरिने संस्कारले गर्दा पल्टन घरमा साहित्य भनेजस्तो रूपमा फास्टाउन नसकेको अवस्था त सबैलाई विदितै छ । मूलधारको नेपाली साहित्यभित्र मातृभाषा, डायस्पोरिक, पहिचान इत्यादि धारका साहित्य कोचिन खोज्ने क्रममा अहिले आएर युद्ध साहित्यले पनि आफ्नो दुलो खन्दै गरेको देखिन्छ । सन् १९९७ मा हङकङ ग्यारिशन छोडेर गोर्खा पल्टन बेलायत सरेपछि बेलायती भूमिमा पाइने वाक स्वतन्त्रता, मानव अधिकार र मिडिया स्वातन्त्रताका कारण पनि गोर्खा सैनिक र तिनका परिवारको कलम मजबुत भएर उभिन सकेको हो ।

कुनै पनि चिजको प्रभावकारी रूपमा विकास हुन संख्या या बहुमतको ठूलो भूमिका रहन्छ । यहाँ लाउरे समुदायको बाक्लो बसोबास पनि यसको एक प्रमुख कारण हो । बेलायतमा चौधवटा साहित्यिक संस्था खोलिएका छन् । यसका उदाहरण लाहुरे स्रष्टाको बहुमत रहेको नेपाली प्रतिभा प्रतिष्ठान र विश्व नेपाली साहित्य महासंघ अनि यसका शाखाहरू हुन् । अन्तर्राष्ट्रिय नेपाली साहित्य संगठन बेलायतमा पनि उल्लेखनीय सङ्ख्यामा लाउरे स्रष्टा भएको पाइन्छ । बेलायतमा आयोजना गरिने साहित्यिक कार्यक्रमहरूमा प्रायजसो आधाभन्दा बढी सहभागिता लाउरे पृष्ठभूमिकै स्रष्टाहरूको हुनेगर्छ ।

बेलायतमा नेपालदेखि आउने साहित्यकारहरूको भ्रमण पनि बेलाबेलामा हुन्छ । नेपाली कलाकार पछि बेलायत भ्रमण गर्ने दोस्रो ठूलो वर्ग साहित्यकारको पर्दछ । तेस्रोमा नेताहरू पर्छन् । अहिलेसम्म मलाई ज्ञान भएअनुसार डा. गोविन्द भट्टराई, तुलसी दिवश, वैरागी काइँला, व्याकुल माइला, भावेश भुमरी, रमेश अधिकारी, राजन मुकारुङ, रामकुमार कोने, विश्व विमोहन श्रेष्ठ, तीर्थ अधिकारी, डा. खगेन्द्र लुइँटेल, डोलिन्द्रप्रसाद शर्मा, सञ्जोग लाफा, खगेन्द्र सङ्ग्रौलाले बेलायत भ्रमण गरिसक्नुभएको छ । वहाँहरूको प्रभावले पनि युद्ध साहित्यलाई प्रोत्साहन मिलेको छ ।
बेलायत स्वयम् विश्व साहित्यको जननी तथा उर्बरा भूमि हो । शेक्सपियर र चार्ल्स डिकन्सजस्ता विश्व प्रसिद्ध साहित्यकार जन्मेको भूमिमा बसेर बेल्पाली लाउरेले कोर्ने युद्ध साहित्य विस्तारै जुर्मुराउँदै छ । पहिलो र दोस्रो विश्व युद्ध स्वयम् आफैँ लडेर आफैँले युद्ध साहित्य कोर्ने बेलायती लेखकहरू सयौँ छन् । बेलायती लेखकले नै सयौँभन्दा बढी गोर्खा लाउरेका बारेमा पुस्तक लेखिदिएका छन् । प्रायजसो ती लेखकहरू गोर्खा पल्टनमा जागिर खाएका देखिन्छन् । ती साहित्यकार र तिनका कृतिहरू लाउरे स्रष्टाका प्रेरणाका स्रोत बनेको हुनपर्छ, फलस्वरूप नेपाली युद्ध साहित्य बामे सर्न थालेको छ ।

युद्ध साहित्य परिभाषा र सिद्धान्त

डायस्पोरिक र युद्ध साहित्यलाई नजिकबाट नियाल्ने साहित्यकार डा. गोविन्दराज भट्टराई युद्ध साहित्य क्षेत्र बाँझो छ भन्नुहुन्छ पहिलो नेपाली युद्धकवितासङ्ग्रह ’युद्धमा हराएको प्रेम’मा आफूले लेखेको भूमिकामा । रामायण र महाभारतजस्ता ग्रन्थहरू युद्ध साहित्य हुन् भनेर कतिले भन्छन् । ती पौराणिक कालका धार्मिक युद्ध साहित्य हुन् जो नेपाल भनिने राष्ट्र जन्मिनुभन्दा धेरै पहिला लेखिएका थिए । नेपाली संस्कारमा तिनको प्रभाव ठूलै रहे तापनि तिनलाई नेपाली युद्ध साहित्य मान्न सकिन्न ।

नेपालको एकीकरण र अङ्ग्रेजको उपनिवेशीकरणको अवधिमा भएका लडाईं पहिलो, दोस्रो विश्वयुद्ध र त्यसपछिका अन्य युद्धहरूमा गोर्खाली सैनिकको सहभागिता र तीसम्बन्धी लेखिएका विषयबस्तुलाई नेपाली युद्ध साहित्य मान्न सकिन्छ । हामीमा यति लामो युद्धको अनुभव हुँदाहुँदै पनि अनि तिनका बारेमा यत्रतत्र गीत, कविता, कथा बनाएर नेपालका पाखापखेरामा अभिव्यक्त गरिँदै आइए तापनि युद्ध साहित्यलाई परिभाषित र सिद्धान्तीकरण गर्ने काम भएको थिएन । अहिले आएर बेल्पाली लाहुरे स्रष्टा गणेश राई, कङमाङ नरेश राई र अप्जसे कान्छाले ’युद्धसाहित्य सिद्धान्त र सिर्जनाहरू’ पुस्तकमार्फत् युद्ध साहित्यलाई परिभाषित गरेका छन् । यस पुस्तकका अनुसार युद्धका चरणहरू– युद्धपूर्व, युद्धकाल, युद्धपश्चातका विषयवस्तुलाई सिर्जनाको आधार बनाएर लेखिएका कृतिहरू युद्ध साहित्य हुन् भनेर परिभाषित गरिएको छ । युद्ध पूर्वको चरणमा युद्धका लागि गरिने तयारी, जस्तै– सैनिक छनोट अर्थात् भर्ती, व्यारेक र जङ्गलमा गरिने तालिम तथा अभ्यास, सैनिक र तिनका परिवारका लागि गरिने प्रशासनिक र कल्याणकारी क्रियाकलाप पर्छन् । युद्धकाल चरण भन्नाले युद्धभूमिमा गएर बन्दुक, गोलाबारुदसँग खेल्दै शत्रुलाई आक्रमण, आफ्नो ज्यान, सहयोद्धा र भूमिको रक्षा गर्दै विजयतिर उन्मुख हुनेलाई बुझिन्छ । युद्धपश्चात् चरणमा युद्धको मैदानबाट फिर्ता, सन्धि, युद्धमा मानसिक, शारीरिक, भौतिक रूपमा क्षतविक्षत भएका संरचनाका समीक्षा र पुनर्निर्माण, सम्मान इत्यादिलाई बुझ्नुपर्छ । यसरी यी तीन स्रष्टाहरूले युद्ध साहित्यलाई सिद्धान्तीकरण गरेको पाइन्छ । युद्ध साहित्यलाई परिभाषित गर्ने क्रममा यस पुस्तकले युद्ध र द्वन्द्वलाई भिन्दाभिन्दै रूप दिएको छ । द्वन्द्व भनेको आन्तरिक गृह कलह हो जहाँ छापामारले देशको सीमारेखाभित्र रहेर आफ्नै सरकारविरुद्ध लड्छ । युद्ध भनेको एक देशको सैनिकले अर्को देशको सैनिकसँग युद्ध गर्छ । त्यसैले युद्ध साहित्य र द्वन्द्व साहित्य भिन्दाभिन्दै हो भनेर इङ्गित गरेको देखिन्छ ।

यसले के बुझिन्छ भने नेपालको माओवादी जनयुद्धलाई आधार मानेर लेखिएका सिर्जनालाई युद्ध साहित्य भनिँदैन । मेरो आफ्नै बुझाइमा जहाँ लडाइँको पूर्वतयारी संलग्न हुन्छ, जहाँ एम्बुस थापिन्छ र शत्रुपक्षलाई घाइते बनाइन्छ, बन्दी बनाइन्छ, मारिन्छ, जहाँ गोलीबारुद, बन्दुक, बम, माइन, क्षेप्यास्त्र प्रयोग गर्दै भूमि कब्जा हुन्छ, जहाँ रगत र पसिना बग्छ ती सबै विषयवस्तु समेटेर लेखिएका रचनाहरूलाई पनि युद्ध साहित्य मान्नुपर्छ । छापामार युद्ध कहिले काहीँ देशको सीमानाबाट बाहिर पनि पोखिन सक्छ । तालिवानलाई दबाउन पश्चिमी राष्ट्रहरूले अफगानिस्तानमाथि छेडेको संयुक्त हमला आन्तरिक द्वन्द्व साथै युद्ध हो । अब यहाँ एक प्रश्न खडा भएर आउँछ, अफगानिस्तानको उक्त युद्धमा खटाइएका बेलायती गोर्खा सेना र ती विषयमा लेखिएका कृतिलाई युद्ध साहित्य मान्ने कि नमान्ने ? आईससलाई दबाउन प्रयोग गरिएका बहुराष्ट्रिय सेनाका कथाव्यथामा लेखिएका रचनालाई युद्ध साहित्य मान्ने कि नमान्ने ? यी कुराहरू बहसका विषय हुन् भन्ने मलाई लाग्छ । त्यसर्थ यी तीन लाउरे स्रष्टाद्वारा प्रतिपादित युद्ध साहित्य र सिद्धान्तलाई अझै छलफल गरेर निक्र्यौल निकाल्न पर्ने मेरो आसय हो ।

वेल्पाली लाउरे स्रष्टाहरू र प्रकाशित पुस्तक

गणेश राई– राइफलले फलाकेको जिन्दगी (कवितासङ्ग्रह), राइफलको नालबाट जीवन नियाल्दा, युद्ध एम्बुसमा राइफलको सङ्गीत, राइफलको मुर्च्छना (उपन्यास), युद्ध साहित्य सिद्धान्त र सिर्जना (संयुक्त सिद्धान्त)

काङमाङ नरेश राई– गोर्खा वार पोयम, युद्धमा हराएको प्रेम, सीमाहीन विम्बहरू, ग्रिनविचका प्रतिध्वनिहरू, रिफ्लेक्सन्स वियोन्ड बोर्डर (संयुक्त सम्पादन कवितासङ्ग्रह), आँसुको दोभान अनुहारमा लुकाइएका चोटहरू, पप्पीफूल (कवितासङ्ग्रह), खुकुरीको धारमा, फियरलेस वारियर (आत्मकथा सङ्ग्रह), युद्ध बोकेको सिताङ (उपन्यास), युद्ध साहित्य सिद्धान्त र सिर्जना (संयुक्त सिद्धान्त)

रक्षा राई– सालिक उभिएर गोर्खाली, देश दुखेको छ, पोयट इन किलिङ जोन (कवितासङ्ग्रह), नवचेतना ग्रह (संयुक्त सिद्धान्त), सिपाहीकी आमाको लास, वालुवामा अर्को नेपाल (कथासङ्ग्रह)

अप्जसे कान्छा– युद्धमा हराएको प्रेम, गोर्खा वार पोयम, ग्रिनविचका प्रतिध्वनिहरू (संयुक्त सम्पादन कवितासङ्ग्रह), युद्ध साहित्य सिद्धान्त र सिर्जना (संयुक्त सिद्धान्त)दयाकृष्ण राई– गन्तव्यहीन यात्रीको सपना (कथासङ्ग्रह), ईश्वरको मलामी, लाहुरेको कथा र जापानको व्यथा (कवितासङ्ग्रह) सम्झनाको आलिङ्गनमा बाँधिएर, पागल दर्शनिकको अभिव्यक्तिहरू (संस्मरण) मिजास तेम्बे– प्यास नजरको, एक गजलसङ्ग्रह (गजलसङ्ग्रह), गोर्खा वार पोयम, ग्रिनविचका प्रतिध्वनिहरू, सीमाहीन विम्बहरू, रिफ्लेक्सन्स वियोन्ड बोर्डर (संयुक्त कवितासङ्ग्रह), अर्थ अवतरण (कवितासङ्ग्रह), नवचेतनाग्रह (संयुक्त सिद्धान्त) नरेश नाती– बाटो खोज्दाखोज्दै (गीतसङ्ग्रह), मन बेइमानी (मुक्तकसङ्ग्रह), देश बिर्सेर (कथासङ्ग्रह) टङ्क वनेम– साँघुरी र बुढा सुब्बा, पेन्जरी पेन्मिक्हा, श्लेश्मन्तकको सम्पाङ, संगीनको मुर्च्छना (कवितासङ्ग्रह) जगत् नवोदित– जीवन अनुभूति, काँचो मुद्धा (कवितासङ्ग्रह), अक्षय आकृति (मुक्तकसङ्ग्रह), सप्तकोशीको किनारबाट (सहसम्पादक गजलसङ्ग्रह) विश्वासदीप तिगेला– परदेशीका कोशेली कविताहरू (कवितासङ्ग्रह), गृहयुद्धका पीडा, देश बोक्नुको पीडा (नियात्रा), संछिप्त वोर्नियो परिचय (भूगोल परिचय), निस्पक्ष संविधान समृद्ध राष्ट्र (राजनीतिक लेख), अभियान (राजनीतिक शब्दावली सङ्ग्रह) केदार सङ्केत– आफैँ जलेको देश, साङ्केतिक कविता, गो तेकेरे छु (कवितासङ्ग्रह), यात्रा स्पर्श (नियात्रा सम्पादन), बुद्धल्यान्ड टु स्विजरल्यान्ड, एथेन्सको झरी (नियात्रा), पैयूँका फूलहरू (हाइकु) विजय हितान– विछोडअघिको रात, बाग्मती ब्लुज (कवितासङ्ग्रह), स्वच्छन्द सुसेलीहरू (कवितासङ्ग्रह सम्पादन), थकित पृथ्वी (कथासङ्ग्रह), इको उत्सर्जन (निबन्धसङ्ग्रह), जयबहादुर हितानमगर (व्यक्तित्व र कृतित्व सम्पादन)सुमलकुमार गुरुङ– मेजर अर्जुनको औँठी (कथासङ्ग्रह), युरोप यात्राका अनुभूतिहरू, पाञ्चासेको काखदेखि हङकङको सेरोफेरो, अतीतको आँखिझ्यालबाट नियाल्दा (संस्मरण), खोज्दै छु नेपाल (कवितासङ्ग्रह) विश्वकाजी राई– उजागर (गीतसङ्ग्रह); मुकेश राई– अनुभुतिका रङहरू (गीतसङ्ग्रह); सुरेन्द्र इङ्नाम– चोट दिएपछि (गीतसङ्ग्रह); ईश्वर चाम्लिङ– स्पन्दित प्रवास् (गीतसङ्ग्रह); नवराज राई– बर्दीभित्रको मन (कवितासङ्ग्रह), मुलिवीर राई– विसाइत, छाल, हरियो पर्खाल, मृत शहर (उपन्यास), तथ्य (संस्मरण); भरतमणि चेङ्वाङ– म अब उप्रान्त कविता लेख्न सक्दिनँ (कवितासङ्ग्रह); दुत पुन– सुनदन्ते, युकेको जिन्दगी (कवितासङ्ग्रह), अर्ली भाइ (कथासङ्ग्रह); दधिबन्धु घर्तीमगर– जङकोट डाँडाका सुसेलीहरू (कवितासङ्ग्रह); लाल राना– अफगानिस्तानमा दशैँ, साइप्रसको आँखिझ्यालबाट (कवितासङ्ग्रह); भगवान् चाम्लिङ– मजस्तै मेरा कविताहरू (कवितासङ्ग्रह); हेम थापा ’सेठ’– वादलपारिको देश (उपन्यास), लोकव्यथा (कवितासङ्ग्रह); डा. सीबी गुरुङ– मेम साहेब (कथासङ्ग्रह), मेडल अफ बृटिश एम्पायर (भिसीका जीवनी); कृष्णबहादुर छेत्री– नेपाली मन (गीत), द खस (ऐतिहासिक कृति)

बेल्पाली लाउरेनी स्रष्टा र प्रकाशित पुस्तकहरू

निर्मला राई परिवेश– परिवेश, परिवेशका पाइलाहरू (कविता/गीत/मुक्तक सङ्ग्रह); अञ्जु अञ्जली– फेरि किन बिछोड (उपन्यास), च्यातिएर वर्तमान (गजलसङ्ग्रह);दीपा लिम्बू राई– युद्ध, सह अस्तित्व र सिर्जना (कवितासङ्ग्रह); निलम आम्बुहाङ राई– अन्तरमनका तरङ्गहरू (गीतसङ्ग्रह); नानु राना– घाम र जून (कवितासङ्ग्रह); जानुका राई– धर्तीको जन्म, आमा (गीतसङ्ग्रह); भावना परिष्कृत सुनुवार– उन्मुक्त यात्रा (कथासङ्ग्रह); करिश्मा घम– दुई किनारा (कवितासङ्ग्रह); सुमाया राई– छाम सुनाखरी (गीतसङ्ग्रह), अव्यक्त अभिव्यक्ति (कवितासङ्ग्रह); लीला सेलिङ माबो – लाउरेनी पीडा (कवितासङ्ग्रह)

लाउरे परिवारसँग सम्बन्धित स्रष्टाहरू र प्रकाशित पुस्तकहरू

शान्ति लिम्बू– मिलीजुली (उपन्यास); जया राई– बेकर स्ट्रीटका दुई आँखा (कथासङ्ग्रह), भर्जिनिया उल्फ र आँसुका फूल (नियात्रा), डम्बरी, रहरलाग्दो चराको लर्को (कवितासङ्ग्रह)'; जानु काम्बाङ लिङ्देन– सिविरमा ईश्वर, न उघ्रेको जून (कथासङ्ग्रह); लक्ष्मी राई लारा– पात्रहरूसँग एक साँझ (कथासङ्ग्रह); देवेन्द्र खेरेश– रुंग्री बयान र नदी किनार (कवितासङ्ग्रह); घन थापा– देशको माटोमा मेरो फूल, क्याक्नीको कोशेली, मेरो चिनो मेरो देश(कवितासङ्ग्रह)

पुस्तक प्रकाशित नभइसकेका तर साहित्यमा कलम चलाउने लाउरे/लाउरेनी/लाउरे परिवारसँग सम्बन्धित स्रष्टाहरू
भरत लोहरूङ, सर्वधन राई, सेमन्त राई, राज श्रेष्ठ, गोपाल शाही, जय तामाङ, होम सुनुवार, जीतेन्द्र चेम्जोङ, लाहाङ चेम्जोङ, लालसुन्दर राई, चोक गुरुङ, काजिमान याक्सो, विशन थापा, सङ्गीता राई बायुङ, देवी आले, शान्ता जबेगु, पवित्रा आले, क्षेत्रकला राई, सशी थापा सुब्बा, अमित थेवे

उपसंहार

इतिहास साक्षी छ- आफ्नो वर्गका बारेमा आफैँ लेखिन्छ । आफ्नो कथा आफैँले लेख्दा साँचो हुन्छ । गलत भएर बाङ्गिने सम्भावना कम हुन्छ । त्यसर्थ बेलायती लाउरे स्रष्टाहरूले आफ्नो कथा आफैँ लेख्नुपर्छ । लेखिँदै गरिएको पनि छ । यसरी यो सोधकार्य गरिंदा ६४ भन्दा बढी बेल्पाली लाहुरे र यस समुदायसंग सम्बन्धित स्रस्टाहरुले १२० भन्दा बढी कृति प्रकाशित गरिसकेको पाईन्छ । तर अझै लेख्न बाँकी विषय धेरै नै छन् ।

युद्ध साहित्यमा अलि पहिलादेखि कलम चलाउनुहुने गणेश राई हुनुहुन्छ । हालै आएर कङमाङ नरेश राई यस क्षेत्रमा डटेर लाग्नुभएको छ । गणेशका कृतिमा फकल्याण्ड युद्धमा गोर्खाली सैनिकले भोगेका पीडालाई पोखेको पाइन्छ भने नरेशका 'युद्ध बोकेको सिताङ'मा दोस्रो विश्वयुद्ध र 'फ्युरिअस वारिअरमा' ब्रुनाई कन्फ्रोण्टटेशनदेखि अफगानिस्तानमा लडेको युद्ध सारथिका आत्मकथा लेखिएको छ । यस्ता सैन्यलेखनका कृति ऐतिहासिक दस्ताबेज बन्छन् ।

जसरी युद्धभूमिमा स्कट वानले आफ्नो प्लाटुनलाई लिड गरेर रेके पट्रोलमा लग्छ त्यही कार्य युद्ध साहित्यमा नरेशले गरेका छन् । त्यस रेके प्लाटुनका अन्य सिपाहीहरू भनेको रक्षा, दयाकृष्ण, मिजास, अप्जसे, चोक, विश्वास, सुरेन्द्र, खेरेश, नाती, घम, अन्जु, दिपा, लारा, जानु, जानुका, शशी, मुकेश, टंक, विश्वकाजी, ईश्वर, नवराज, विजय, नानु, लालसुन्दर, लाल, औतारी, सुमल, चन्द्रबहादुर, जगत् इत्यादि हुन् । युद्ध साहित्य विस्तारको यो रेके प्लाटुनमा कलमरूपी बन्दुक र मसिरूपी गोली बोकेर अन्य युद्धका सारथिहरू पनि पछि लागेर आउनेछन् भन्ने मैले विश्वास लिएको छु ।

लाउरे परम्परा, सैनिक गतिविधि, युद्धका कथा इत्यादिलाई साहित्यिक कलाको लेप लगाएर लेखेर पाठक माझ पु¥याउन सकियो भने एकातिर इतिहास जोगिन्छ, अर्कोतिर पढेर मनोरञ्जनका साथै ज्ञान हासिल गर्न पनि सकिन्छ । यद्धपि युद्ध साहित्यलाई अन्य साहित्यकार माझ पु¥याएर मूलधारको नेपाली साहित्य जगत्मा भित्र्याउन थुप्रै युद्ध साहित्य गोष्ठी, अन्तरक्रिया, प्रतियोगिता, पुरस्कार र दिवसहरूको खाँचो छ ।

 हार्दिक श्रध्दाञ्जलि - ज्ञान बहादुर गाहा मगर