A+ A A-

हङकङका नेपाली रोलमोडल: कन्स्ट्रक्सन वर्करदेखि पिएचडीसम्म

राज्यसत्ता
चुरा थापा‘दिनभर बेल्चा चलाएर लखतरान परेर आइन्थ्यो, राती नसुती नसुती पढ्थें’, ती रात सम्झँदै थापा भन्छन्, ‘अहिले पछाडि फर्केर हेर्छु, असम्भव केहि रहेनछ जस्तो लाग्छ।’

हङकङको नेपाली समाजमा लामो समयदेखि शैक्षिक क्षेत्रमा सक्रिय चुरा थापाले यहि साता हङकङ विश्वविद्यालयबाट पिएचडी डिग्री लिए। १७ अगस्टमा भएको ‘थेसिस डिफेन्स’ (परिक्षा) मा सफल भएपछि उनले डक्टरेट उपाधि हासिल गरेका हुन्। उपाधिसँगै उनले दुई वटा रेकर्ड पनि कायम गरेका छन्।

पहिलो, हङकङमा स्थायी बसोबास गरिरहेका नेपालीमध्ये थापा शिक्षा संकायबाट पिएचडी गर्ने एकमात्र नेपाली हुन्। दोश्रो, हङकङ विश्वविद्यालयको शिक्षा संकायबाट पिएचडी गर्ने थापा एकमात्र नेपाली विद्यार्थी पनि भएका छन्। यसअघि यो संकायबाट कुनै नेपालीले पिएचडी गरेको रेकर्ड छैन। उनलाई ‘हङकङका अल्पसंख्यक समुदायको शैक्षिक अवस्था’ माथि शोधपत्र गरेबापत डक्टरेट उपाधि दिइएको हो।

विभिन्न अध्ययनले हङकङका अल्पसंख्यक विशेषगरि नेपाली समुदायका विद्यार्थीहरुको शैक्षिक सूचकांक अत्यन्त कमजोर देखाउने गरेको छ। थापाले नेपाली विद्यार्थीमाथि गरेको शोधपत्रले सम्बन्धित निकायलाई हङकङेली नेपाली समुदायले भोगिरहेको शैक्षिक दुरावस्थाबारे बुझ्न र बुझाउन ठूलो मद्दत पुग्ने अपेक्षा गरिएको छ। सम्बन्धित समुदायकै अध्येताले हङकङका नेपाली विद्यार्थीमाथि गरेको पहिलो प्राज्ञिक अनुसन्धान भएकोले यसले महत्व पाउने देखिएको छ।

त्यसको प्रभाव पनि देखिन शुरु भैसकेको छ। उनको शोधपत्र ‘हङकङ लिङ्ग्विस्टिक सोसाइटी’ मा आउटस्ट्याण्डिङ अवार्डका लागि नोमिनेसन हुन गैरहेको जानकारी थापासम्म आइपुगेको छ। त्यसैगरि थापालाई जनवरी महिनादेखि हङकङ विश्वविद्यालयबाट शिक्षा संकायमा एक सेमेस्टरको लागि अध्यापन गर्ने अफर समेत आएको उनी बताउँछन्।

 

शैक्षिक क्षेत्रका रोलमोडल
सन् १९९६ मा त्रिभुवन विश्वविद्यालय किर्तिपुरबाट विएड सकिनासाथ आइडीका कारण हङकङ छिरेका थापाले यहाँ आएपनि औसत नेपालीले जस्तो पैसा कमाउने ध्याउन्नमा आफ्नो अध्ययनलाई रोकेनन्। स्थानीय बाप्टिस्ट विश्वविद्यालयबाट अँग्रेजीमा एमएड गरेका उनले हङकङ इन्स्टिच्युट अफ एजुकेशनको शिक्षा संकायबाटै पोष्ट ग्रयाएजुसन गरे। त्यहाँ उनले सबैलाई उछिनेर पदक समेत जिते।

उत्तर गंगा मावि बुर्तिवाङ बागलुङबाट एसएलसी गरेर बुटवल बहुमुखी क्याम्पस पढ्न झरेका उनी त्यहाँबाट आइएड गरि काठमाडौँ उक्लेका थिए। त्यसपछि हङकङका लागि उडेका उनी त्यसयता यतै छन्।

अध्ययन सँगसँगै सन् २००४ देखि २०१२ सम्म यहाँको स्थानीय विद्यालयहरुमा प्राध्यापन कार्य थालेका चुरा थापाले २००७ देखि २०१२ सम्म पाक काउ कलेजमा शिक्षण पेशा गरे। उनले ऊमा इन्टरनेशनल स्कुल (२००४–२००५) र बुद्धिस्ट विङ वान (२००५–२००७) मा समेत पढाए। हङकङमै डिग्री हासिल गरेर सरकारको शिक्षा लाइसेन्स प्राप्त गर्ने थापा पहिलो नेपाली थिए।

भाषाका कारण नेपाली लगायतका एथ्निक माइनोरिटिज बच्चाहरुले हङकङका विद्यालयहरुमा राम्रो गर्न नसकिरहेको अवस्थामा अभिभावकहरु पनि यहाँको शिक्षा नीतिका कारण विद्यालय छनौटमा अन्यौलग्रस्त हुने प्रमुख समस्या मानिन्छ। त्यसका कारण अधिकांश विद्यार्थीहरुले बाटो बिराउने गरेका छन्। कतिपय कुलतमा समेत फस्ने गरेका छन्। बहुसंख्यक ड्रपआउट हुने गरेको रेकर्ड छ। त्यस्ता अनभिज्ञ अभिभावक र विद्यार्थीहरुलाई निशुल्क सल्लाह दिने एथ्निक अल्पसंख्यकबाट थापा पहिलो काउन्सिलर हुन्। त्यसैले विद्यार्थी, एकाडेमिसियन र बौद्धिकहरुबीच उनी एथ्निक मायनोरिटजका सहयोगी कहलाइन्छन्। विशेषगरि हङकङमा पढिरहेका नेपाली विद्यार्थीहरुका निम्ति रोलमाडल नै मानिन्छन्, थापा।

हिजोसम्म नेपाली बच्चाहरुको सपना अधिकांश नेपालीले गर्ने रेष्टुरेन्ट, होटल, सेक्युरिटी र कन्स्ट्रक्सनमा छिरेर उपल्लो पदमा पुग्छु भन्नेसम्म हुन्थ्यो। आज ‘म चुरा थापा सर जस्तो हुन्छु’ भन्ने विद्यार्थीहरू पनि छन्, जसले अहिले हङकङका विश्वविद्यालयमा अध्ययनसँगै सपना खोजिरहेका छन्। ति मध्ये केहि त सफलताको सोपान पनि चढिरहेका छन्। यो परिवर्तन देख्न नेपाली समाजलाई २० वर्ष भन्दा बढी कुर्नु पर्यो, हङकङमा।

 

मेहनत गर्नेलाई महँगा स्कुल चाहिंदैन
नेपालको सरकारी विद्यालयमा पढेर हङकङ विश्वविद्यालयजस्तो शैक्षिक संस्थाबाट पिएचडी गरी उनले फलामको च्यूरा चपाएजसरी आफुलाई सावित गरेका छन्। विश्वकै नामी विश्वविद्यालयमा दरिएको संस्थान हङकङ विश्वविद्यालयमा प्रवेश पाउनु आफैमा अहोभाग्य ठानिन्छ। त्यसमाथि पूरै छात्तवृत्तिमा पढ्न पाउनु थापा र यहाँको एथ्निक समुदायकै निम्ति ठूलो उपलब्धिको रुपमा हेरिएको छ।

भाषाभन्दा ज्ञानलाई महत्वपूर्ण ठान्ने उनले हङकङ छिरेर अँग्रेजी भाषामा यति ठूलो फड्को मारे कि अँग्रेजीभाषी विद्यार्थीहरुलाई नै उछिनेर डिस्टिङ्सन समेत गरेर देखाए। अँग्रेजी समाचारपत्र, टेलिभिजन समाचार, बच्चाहरुका निम्ति बनाइएका भाषिक पुस्तक तथा अडियो पढ्ने र सुन्ने अभ्यास गरेर भाषिक ज्ञान बढाएका उनले अरुलाई पनि त्यो उपाय बाँडिरहेका छन्। अलिकता मेहनत गरे भाषा सिक्न दुरुह नहुने उनको अनुभव छ।

हङकङको नेपाली समाजको सबैभन्दा ठूलो अभाव भनेको यहाँ शैक्षिक क्षेत्रमा दक्ष जनशक्ति नहुनु हो। त्यसैले हङकङको नेपाली समाजलाई बौद्धिक रुपमा कमजोर ठानिन्छ। यहाँ नेपालीले गर्ने बौद्धिक कर्म भद्रगोल खालको हुने गरेको छ।

हातहातमा पैसा छ तर मगजमा शिक्षा र ज्ञानको कमी हङकङेली नेपाली समाजको विशेषता मान्न सकिन्छ। थोरै अभिभावकहरु मात्र सन्ततिको शिक्षाप्रति गम्भीर रुपमा लागेका देखिन्छन्। त्यसैले हङकङको नेपाली समुदायमा थापा जस्ता थुप्रै सामाजिक कार्यकर्ताहरुको महत्व टड्कारो देखिन्छ। थापाले एक किसिमले समाजलाई मार्गनिर्देशन गरिरहेका छन्।

हङकङका बहुसंख्यक नेपाली यहाँ मरिमरि पैसा जोडिरहेका छन्। हङकङमा सुविधा हुँदाहुँदै पनि नेपालीले आफुमा भएको खुबी र योग्यतालाई निखार्न पाएका छैनन्। नेपालीले हङकङमा सहजै शैक्षिक भिसा पाउँदैनन्, हङकङमै बस्ने नेपालीले चाहीँ त्यो अवसरको फाइदा उठाउन सक्छन्। तर निकै कमले मात्र यतातिर ध्यान दिएका छन्। जीवनको मूल्यवान समय काम र मोजमस्तीमै बिताउनु हङकङका नेपालीको विशेषता नै भैदिएको छ। नयाँ पुस्ताले पनि त्यही गरिरहेका छन्, जुन पुरानो पुस्ताले वर्षौँदेखि गर्दै आए।

नेपाली श्रम र दिमाग ‘ब्लू जब’ भन्दा धेरै माथि उक्लन नसक्दा छवि पनि त्यहि बमोजिम परिभाषित भएको छ। यसबाट निस्कन निकै कममात्र प्रयास भएको छ। त्यसो गर्ने औंलामा गन्न सकिने व्यक्तिहरु मध्ये चुरा थापा पनि एक हुन्। बुझ्ने भाषामा भन्नुपर्दा ‘गरे असंभव केहि छैन’ भन्ने उदाहरण हुन्, उनी।

हङकङ आउनासाथ औसत नेपालीले जस्तै उनले पनि यहाँ निर्माणकार्यमा ७ वर्ष हड्डी घोटेका हुन्। तर फरक के थियो भने धेरै चाहीँ पैसा कमाएर मोजमस्ती गर्ने र नेपालमा घर बनाउनतिर लागे, उनी भने कमाएको पैसा पढाईमा लगाउन थाले। त्यतिमात्र होइन, सरकारले दिने शैक्षिक लोनमा उनले अध्ययनलाई अगाडि बढाए।

‘दिनभर बेल्चा चलाएर लखतरान परेर आइन्थ्यो, राती नसुती नसुती पढ्थें’, ती रात सम्झँदै थापा भन्छन्, ‘अहिले पछाडि फर्केर हेर्छु, असम्भव केहि रहेनछ जस्तो लाग्छ।’

उनको मेहनतले फल दियो पनि। उनले राम्रो अंकका साथ डिग्री थप्दै सबैलाई चकित पारिदिए।

‘अल्छिका सय बहाना’ भने झैं हङकङेली नेपालीबीच प्रचलित एउटा टुक्का खुब प्रचलनमा छ, केहि परिहाले ‘मसँग समय छैन’ भनिदिने। बजारतन्त्रले चलाइरहेको अति व्यस्त शहर हङकङमा सद्दे मान्छे कसैलाई फुर्सद हुँदैन। तर पार्टी, विविक्यू, सिनेमा, सांगितिक कार्यक्रम सबैतिर भ्याउनेहरूकै मुखबाटै यो टुक्का बढी निस्कने गर्छ।

थापाले माथिका प्रायः सबै कर्मकान्ड भ्याएरै आफ्नो शैक्षिक यात्रालाई अगाडि बढाए। जहाँ ईच्छा त्यहाँ उपाय। यदि चाहने हो भने समय व्यवस्थापन गरि अरुले गर्न नसकेको कर्म पनि फत्ते गर्न सहिंदोरहेछ भन्ने दृष्टान्ट बने उनी।

कतिपय बेला आफ्नो राजनीतिक आस्था र सामाजिक संस्थाहरुमा निभाएका भूमिकाका कारण चुरा थापाले विरोधको सामना पनि गर्नुपर्यो, कयौं चोटी विवादमा परे। त्यसै कारण हुनसक्छ उनी त्यस्तो राजनीतिक सक्रियताबाट क्रमशः प्राज्ञिक अभ्यासतर्फ मोडिए। पछिल्लो समय जनजाति आन्दोलनमा वौद्धिक सहयोग दिएका जस्तो देखिने उनी पिएचडीकै क्रममा विश्वमा भैरहेका पहिचानको राजनीति र सिद्धान्त सम्बन्धि अध्ययनतर्फ पनि लागे। उनले कन्स्ट्रक्सन वर्करहरुका निम्ति पनि संस्थागत रुपमा काम गरिरहेका छन्।

अध्ययन सकेपछि आफ्नो वौद्धिकता स्वदेशमै लगानी गर्न आतुर थापा नेपालको शिक्षा क्षेत्रमा केहि गर्ने चाहना राख्छन्। २०१३ मा हङकङ सरकारले एउटा सम्मानको घोषणा गरेपश्चात उनले फेसबुकमा आफ्नो कामको बारेमा गरेको मुल्याङ्कन यस्तो थियो–

‘हङकङ आएर अनवरत संघर्ष र नेपाली समुदायको सेवामा आफुलाई समर्पित गरियो। हिजो जस्तै लाग्छ हङकङ आएको, तर बिभिन्न नेपाली संघसंस्था स्थापना गर्ने, नेपालीहरुलाई बिभिन्न रुपमा सचेत गराउने, हङकङ सरकारसँग नेपालीका समस्याहरुलाई उठाउने, पत्रपत्रिकाहरु र रेडियो मार्फत नेपालीको हितका लागि आवाज उठाउने, सचेत गराउने र पछिल्लो चरणमा नेपाली नानीहरुको उज्जवल भविष्यकका लागि उनीहरुलाई प्रत्यक्षरुपमा पढाउने तथा बाबुआमा र अविभावकहरुलाई शिक्षा सम्बन्धी सल्लाह सुझावहरु दिने गर्दागर्दै १७ वर्ष बितेछन्। यस्तो लाग्दैछ, नेपाल गएर देशको सेवा गर्छु भन्दाभन्दै जिन्दगी यतै बितिसकेको छ। नेपालको चिन्ता धेरै गरियो, आवश्यक थियो वा अनावश्यक सायद समयले बताउला। तर यता यो १७ वर्षको अवधिमा यहिँ संघर्ष र सेवा गरेवापत हङकङ सरकारबाट एउटा सम्मान प्राप्त भएको छ।’
३ भदौ २०७४, शनिबार . 2017-08-19  नेपालखबरडटकमा प्रकाशित । स्टोरी यहाँ छ ।

 

हार्दिक श्रद्धान्जलि - एक बहादुर राना मगर
हार्दिक श्रध्दाञ्जलि - गोरे बहादुर खपांगी