A+ A A-

यस कारण हुन् लखन थापा (द्वितीय) नेपालका प्रथम सहिद

–त्रिलोक सिंह थापा मगर

 

१. पृष्ठभूमी :

 इतिहास साक्षी छ । गोर्खा जिल्ला निवासी कप्तान लखन थापा मगर (द्वितीय)ले वि.सं. १९२७ सालमा जङ्ग बहादुर राणाको निरकुंश, हुकुमी, जहानिया तथा एकतन्त्रीय शासन ब्यवस्थाको विरुद्ध शसस्त्र विद्रोह गरेका थिए ।

नेपाल को इतिहासमा तानाशाही शासनको विरुद्ध यो पहिलो शसस्त्र विद्रोह हो । लखन थापा (द्वितीय)को विद्रोहको संबन्धमा प्रख्यात इतिहासकार प्रमोद शमशेर राणाले आफ्नो चर्चित पुस्तकमा यसरी लेखेका छन् ““The gorkha uprising was a very sifnificant because this was the first revolt against the dictorial rule of rana. It was the revolt of people until then nobody had raised a finger against rana rule.” (1995-50) त्यस्तै जङ्गबहादुर राणाका छोरा इतिहासकार पदमजंग बहादुर राणाले पनि लखन थापा (द्वितीय) बारे आफ्नो पुस्तमा यसरी उल्लेख गर्नु भएको छ । “……after assassinating Jung Badhur to seize reins of government and inaugurate the golden age of Nepalese history.” (1974) उक्त दुवै इतिहासकारहरुले लखन थापा (द्वितीय) ले राणा तानाशाही प्रणाली विरुद्ध गरेको विरोध तथा विद्रोह नेपालको इतिहासमा पहिलो ऐतिहासिक घटना थियो । साथै राजनैतिक एवं सैद्धान्तिक पृष्ठभुमीमा विकसित थियो भनेर आफ्नो पुस्तकमा संकेत गरेको पाईन्छ ।

२. जन विद्रोहका उद्देश्य:

लखन थापा (द्वितीय)ले जङ्ग बहादुर एकतन्त्रीय एवं पारिवारिक शासन प्रणालीका विरुद्ध आन्दोलन गर्नु भन्दा अगाडि जनतालाई मानसिक रुपमा तयार गरेका थिए । जनयुद्धको लक्ष्य एंव उद्देश्यहरु स्पष्ट रुपमा जनसमक्ष यस प्रकार राखेका थिए । “जङ्ग बहादुरले नेपाल म्लेच्छलाई बेच्यो, दुनिया त्राहि–त्राहि पारिरहेको छ । छुवाछुत झन चर्किएको छ । जङ्गेलाई हटाई नेपाललाई पापको बोझबाट हल्का पार्नु पर्दछ । नेपालमा सत्य युग फिराउँ, मनकामना देवी माताले मलाई वरदान दिएकी छन् । भाई हो तयार होऔ” (भिम भक्तमान सिंह २००५) उपरोक्त उद्देश्य अनुसार जङ्ग बहादुरको विरुद्ध गरिएको शसस्त्र विद्रोहको राजनैतिक एवं सैद्धान्तिक आधारहरु यस प्रकार थिए ।

क) षडयन्त्र एवं जालझेलबाट सत्ता प्राप्त गर्न सफल भएका जङ्ग बहादुरले आफ्नो शासन पुस्ता पुस्ता सम्म कायम राख्न अंग्रेजहरु समक्ष नतमस्तक थिए । सो कुरा विचार गरि त्यही बेला देखि नेपालमा विदेशी हस्तक्षेपको विरोध लखन थापा द्वितीयले शुरु गरेका थिए ।

ख) जङ्ग बहादुरको अत्याचारी शासनबाट मुक्ति पाउन तथा तानाशाही शासनमा आमूल परिवर्तन ल्याई नेपालमा “सत्ययुग” अर्थात प्रजातान्त्रिक व्यवस्था स्थापित गर्न चाहन्थे भन्ने कुरा उक्त उदघोषमा झल्किएको देख्न सकिन्छ ।

३.जनयुद्धका रणनितिहरु:

जङ्ग बहादुरको पारिवारिक शासन प्रणाली विरुद्ध जनयुद्ध गर्न लखन थापाले युद्धका केही रणनितिहरु पनि तयार पारेका थिए ।

जुन यस प्रकार थिए :

क) तत्कालिन नेपाली समाजमा व्याप्त रहेका गहिरो धार्मिक आस्था, पुनर्जन्मका धारणा, मनकामना देवी माथि अटुट विश्वास एवं प्रगाढ निष्ठाको विषयमा लखन थापाले द्वित्तीयले गहिरो अध्ययन गरेका थिए । यसै लागि राणा शासनलाई ध्वस्त पार्न धर्म, दैविक शक्ति र माताको वरदान वा आदेश प्राप्त भएको छ आदि कुराहरु उल्लेख गरि जनचेतना जगाउन उनि सफल भए । उनको पक्षमा छरछिमेकी जिल्लाका धेरै मानिसहरु संगठित हुन थाले ।

ख) जनताको स्वतः स्फूर्त सहयोग तथा सक्रियतामा गुरुङ्ग, मगर, ब्राह्मण, क्षेत्री तथा अन्य जातिका समेत गरि दुई हजार युवाहरुको जन मिलिशिया अर्थात विद्रोही सेनाको स्थापना एवं संगठन गर्न उनी सफल भए । नेपालको इतिहासमा यो पहिलो जन मिलिशिया संगठन थियो । जुन राणा शासन प्रणालीको विरुद्ध खडा भएको थियो ।

ग) त्यस्तै जनयुद्धलाई आवश्यक पर्ने भौतिक संरचना जस्तै हातहतियार, खाद्यान्न भण्डार आदिका संकलन तथा युद्धकला प्रशिक्षणको व्यवस्था पनि छोटो अवधिमा सम्पन्न गरिएको थियो ।

घ) विद्रोहीहरुले बुङ्गकोटमा आफ्नै किल्ला निर्माण गरेका थिए । सो पाँच तल्ले थियो । (जोशी र रोज सन् १९६६) आठ क्युविक चौडा र सोह्र क्युविक अग्लो पर्खालले घेरिएको किल्ला थियो । नेपालको इतिहासमा विद्रोहीहरुको यो पहिलो किल्ला थियो । जसको निर्माण लखन थापा (द्वितीय)को निर्देशनमा भएको थियो । ङ) उक्त किल्लाको पसिसरमा राजनैतिक तथा सैनिक प्रशिक्षण संचालन गर्ने गरिएको थियो । लखन थापा द्वित्तीय तथा उनका अन्य सहयोगीहरुको राजनैतिक प्रवचन सुन्न छरछिमेकी जिल्लाहरुबाट युवाहरुको घुइचो लागेको हुन्थ्यो ।

उपरोक्त सम्बन्धमा प्रख्यात इतिहासकार जनक लाल शर्माले आफ्नो मन्तव्य यसरी उल्लेख गर्नु भएको छ, “गोरखा जिल्ला बुङ्गकोट भन्ने ठाउँमा जोशमनि मतका साधु लखन थापा द्वितीयले जङ्ग बहादुरको निरंकुश शासनको विरुद्ध संगठन गर्न थाले र यो संगठन निकै जोड तोडका साथ लागेका कुरा जङ्ग बहादुरले पनि थाहा पाए । यस्तो संगठनलाई समयमा नरोक मेरो भविष्य राम्रो छैन भन्ने विचार गरेर राता रात आठ पहरिया सिपाहीको दल गोरखा तिर पठाए । (जोशमनि सन्त परम्परा साहित्य पृ. ९०) पहिलो पटक जङ्ग बहादुर राणाले गम्भीरता पूर्वक लखन थापा द्वितीयको संगठन गर्न सक्ने क्षमता प्रति आफ्नो ध्यान केन्द्रित गर्नु पर्यो ।

४. समानान्तर सरकार तथा समावेशी मन्त्रिपरिषद्:

क) वि.सं. १९२७ सालमा जङ्ग बहादुरको एकलौटी शासन प्रणालीको विरुद्ध लखन थापा द्वित्तीयले समानान्तर सरकारको स्थापना गरेका थिए । सो सरकारमा विभिन्न जाति एवं जनजातिका प्रतिनिधीहरु मन्त्री बनाएका थिए । ज्ञान दिलास ब्राह्मण र कालु लम्साल समेत मन्त्री पदमा थिए । जनताको आग्रह र अनुरोधमा लखन थापा द्वित्तीय यसको मुखतियार अर्थात प्रधानमन्त्री आफैँ भए । नेपालको इतिहासमा यो पहिलो समावेशी तथा समानान्तर सरकारको मन्त्रिपरिषद् गठन भएको थियो ।

५. राज्य भित्र अर्को राज्यको स्थापना:

क) जङ्ग बहादुरले खटाई पठाएको आठ पहरियाले पेश गरेको रिपोर्टको विवरण अनुसार राज्य भित्र अर्को राज्यको स्थापनाको प्रमाण प्राप्त भए पछि उनी ज्यादै विचलित भए । तुरुन्तै आफ्नो भाई तथा नेपाली सेनाका सेनापति धीर शमशेरलाई सो विद्रोहको दमन गर्न आदेश दिए । सेनापति धीर शमशेरलाई लखन थापाको विद्रोही सेना संग युद्ध जित्न हम्मे–हम्मे परेको थियो । विद्रोही जनसेना तर्फ गोली बारुद सकियो । युद्ध रोकियो । लखन थापा द्वित्तीय सजिलै संग तिब्बतमा राजनैतिक शरण लिन सक्थे । तर, राष्ट्रभक्त तथा स्वाभिमानी लखन थापाले आफ्नै मातृ भूमीमा हाँसी हाँसी मृत्युलाई स्विकार गरे । पहिलो पटक प्रजातन्त्रको विउ रोप्ने क्रममा शहादत प्राप्त गरे । नेपाली सेनाको इतिहासमा यो पहिलो पटक मुलुक भित्रको विद्रोह दमन गर्न, दवाउन सेनापतिलाई आफै कमाण्ड सम्हाल्न पुग्नु परेको थियो ।

६. अन्य विद्रोह:

क) लखन थापा द्वितीयले जनस्तरबाट गरेको जनविद्रोह भन्दा पहिले तथा त्यसपछि पनि जङ्ग बहादुरलाई मार्ने प्रयास तथा षड्यन्त्र भएको पाइन्छ । जङ्ग बहादुरको असाधारण रुपले बढेको शक्ति र प्रतिष्ठा स्वयं उनकै भाई तथा नातागोताहरुका मनमा द्वेश उत्पन्न गर्न पर्याप्त थियो । फलस्वरुप जङ्ग बहादुरको युरोप यात्राले जातिच्युत भएको प्रचारको आडमा उनलाई अपदस्त गरि मार्ने षड्यन्त्र रच्न थाले । सत्ताबाट च्युत भएका चौतरिया, काजि, भाई भरदारहरुले पुनः सत्ता प्राप्त गर्न, बदलाको भावना, पारिवारिक, ब्यक्तिगत रिसिवी र इष्र्या आदि कारणहरुले गर्दा जङ्ग बहादुरको हत्या गर्ने गराउने असफल षड्यन्त्र गरेका थिए ।

राजा सुरेन्द्रको हत्या गरेर जङ्ग बहादुरलाई फसाउने षड्यन्त्र वि.सं. १९०२ मा वीर ध्वज बस्नेतले गरेका थिए । त्यस्तै जङ्ग बहादुरका आफ्नै भाई जनरल बद्रिनरसिंह कुवँर, छोरा जनरल जय बहादुर कुवँर, काजी करविर खत्री, माहिला साहेव जादा उपेन्द्र विक्रम शाह तथा कप्तान भोटु सिंह बस्नेत आदिले पनि सत्ता प्राप्तिका लागि वि.सं. १९०७ मा जङ्ग बहादुरको हत्या गर्ने असफल प्रयास गरेका थिए । करवीर खत्रीलाई जातिच्युत गरियो । एक वर्ष पछि उनलाई दण्ड देखि मुक्त गरियो । जनरल बद्रिसिंह कुवँरको छोरा केदार नरसिंहलाई पाल्पाको हाकिम बनाइएको थियो । उहाँ आफ्नो छोरासंग पाल्पामा गएर बस्न थाले । कप्तान भोटुसिंह बस्नेतलाई आजिवन कैदमा राखी चितवन पठाइयो । चितवनको औलोमा उनी धेरै दिन बाच्न सकेनन् ।

ख) छलकपट, जालझेल तथा षड्यन्त्रबाट जङ्ग बहादुरको उदय हुनुका साथै उनको प्रति व्यक्तिगत विद्रोह एवं विरोध पनि शुरु भैसकेको थियो । वास्तवमा ती विद्रोह विरोध तथा षड्यन्त्र केबल सत्ता प्राप्तीका लागि मात्र थिए । त्यसको कुनै जन आधार एवं सैद्धान्तिक आधार थिएन । एकमात्र उद्देश्य जङ्ग बहादुरलाई अपदस्त गर्ने, सत्ताबाट हटाउने, हत्या गर्ने र पछि सत्तामा पुग्ने दरवारिया षड्यन्त्र मात्र थियो ।

ग) वि.सं. १९१४ सालमा फौजी अफिसरहरु(लाई) विरुद्ध उत्तेजित र भडकाउने अभियोगमा जमदार काजीमान गुरुङ्गलाई उनकै पल्टनका सहयोगी सिपाहीहरुद्वारा टुँडिखेलमा निर्ममता पुर्वक हत्या गर्न लगाइयो । यो घटना लखन थापाको जन विद्रोह भन्दा केही वर्ष अगाडि नै भएको थियो । जमदार गुरुङ्गको विद्रोहको उद्देश्य तुलनात्मक रुपमा प्रष्ट नभएको साथै जनताको समर्थन र सहभागिता पनि नरहेको अनुमान गरिन्छ । पल्टनको घेराभित्र रहेको सो विद्रोह नितान्त व्यक्तिगत आवेशमा रहेको बुझिन्छ । यस विद्रोहको कुनै राजनितिक आधार पनि देखिदैन । तैपनी जमदार काजीमान गुरुङ्गले देखाएको शाहसको राज्यले उचित कदर गर्नु पर्दछ ।

घ) सन् १८५१ को मुलुकी ऐन लागु भएपछि जनजतीहरुको सामाजिक स्तर तल झरेको थियो । जङ्ग बहादुरको अधिनायकवादी शासन व्यवस्थाबाट जनजातीहरु रुष्ट एवं असन्तुष्ट थिए । यसै क्रममा लखन थापा द्वित्तीयको अनुशरण गर्दै वि.सं. १९३४ सालमा गोर्खाका शुकदेव गरुङ्गले आफुलाई बौद्ध बादशाह घोषित गरि जङ्ग बहादुरले मार्न खोजे तर उनी जिन्दगीभर भूमीगत भएर बसे । वास्तवमा जङ्ग बहादुरको विरुद्ध जनजातीका युवाहरुद्वारा गरिएको विरोध एवं विद्रोह साहासिक पाइला थियो । तर जन सहभागिता, संगठन तथा स्पष्ट लक्ष्यको अभाव थियो । उक्त विद्रोह मुख्यतः व्यक्तिगत आवेशबाट प्रेरित रहेको देखिन्छ । तैपनि जनजातीका उक्त शहादत प्राप्त शहिदहरुको राज्यले उचित सम्मान गर्नु पर्दछ ।

ङ) सुदुर पश्चिमाञ्चल आछाममा राणाकालीन कर्मचारीहरुले विशेष गरि ठकुरी चौतारियाहरु माथि गर्दै आएको अत्याचारलाई साहेबज्यु बलदेब शाह उर्र्फ बाकाँविरले खपि नसक्नु भयो । त्यसमाथि श्री ३ जङ्गबहादुर राणाले श्री ५ राजेन्द्रलाई बन्दिगृहमा राखि अडकलेको माना खानुपर्ने ब्यवस्था गरे वापत राज परिवार एवं ठकुरिहरु राणाहरुसँग आगो भएका थिए । यसै सन्दर्भमा बलदेव शाह उर्फ बाँकेबीरले लुकि छीपि हमला गर्ने गरेका थिए । फलस्वरुप जङ्गबहादुरको निर्देशन अनुसार विं.सं. १९०६ सालमा लुकिछीपी रहेका बाँकाबीरलाई रुद्रसिंह स्वारले उनको टाउको काटी हत्या गरेका थिए । वास्तवमा यो ऐतिहासिक घटना राणाहरुले राज परिवार र ठकुरी रजौटाहरुलाई सताउने दुःख दिने तथा होच्याउने ब्यवहारबाट उब्जिएको थियो । पारिवारिक द्वन्द, चौतारिया ठकुरी तथा राणाहरुको बिचको बैमनस्यता एवं ब्यक्तिगत रिसइबीमा आधारित घटना हो । तै पनि त्यसबेला बाँकेवीरले राणाहरुको विरुद्व ठुलो साहस देखाएको हुदा उनको कदर राज्यले गर्नुपर्ने हुन्छ ।

७. पहिलो जनयुद्व:

क) तुलनात्मक रुपमा हेर्ने हो भने लखन थापा द्वित्तीयको नेतृत्वमा उठेको जन बिद्रोह जङ्गबहादुरको अधिनायकवादी शासन प्रणालीको विरुद्व थियो । ख) जहानिया एंव तानाशाही शासन प्रणालीलाई हटाएर प्रजातन्त्रको स्थापना गर्नका लागी थियो । उक्त जनविद्रोहको स्पष्ट लक्ष्य उद्देश्य तथा योजनावद्व संगठन थियो ।

ग) जनताको सहभागीता सहयोग एवं जनस्तरबाट राजनैतिक लक्ष्य प्राप्तिका लागी तानाशाही शासन विरुद्व उठेको जनयुद्व थियो ।

घ) कुनै ब्यक्तिगत, पारिवारीक स्वार्थ, लोभ, लालच, रिसिवीबाट सो जनविद्रोह प्रेरित थिएन ।   ङ) जनताले उनिहरुलाई असीम माया तथा श्रद्वा गरेर राजा सरह मान्न थालेका थिए ।

च) राजनैतिक पृष्टभूमी एवं सैद्वान्तिक धरातलमा निरंकुसता एवं जहानिया शासन बिरुद्व जनस्तरमा उठेको यो बिद्रोह नेपालको इतिहासमा पहिलो जनबिद्रोह एवं जनयुद्व थियो ।

८. कप्तान लखन थापा द्वित्तीयको सैनिक एवं राजनीतिक क्षमता:

क) वर्तमान समयमा सेनामा जेष्ठता, शैक्षिक, योग्यता, आन्तरिक र वैदेशिक प्रशिक्षण, नेतृत्व र कार्यदक्षताको आधारमा प्रायः पदोन्नति गर्ने गराउने चलन रहेको छ । जङ्गबहादुरको हुकुमि शासन ब्यवस्थामा बच्चा जन्मिदै जर्नेल, कर्नेल तथा कप्तान हुनसक्ने चलन थियो । जङ्गबहादुर आफै कप्तानीबाट प्रधानमन्त्री भएका हुन । कप्तान लखन थापा द्वित्तीय भारतको अलमोडामा प्रारम्भिक शिक्षा प्राप्त गरेका मगर जनजातिका युवक थिए । अधिकांश मगर जनजाति रहेको पल्टन पुरानो गोरखगणमा भर्ना भए । आफ्नो सामरिक क्षमता, योग्यता, अनुभव, उपयुक्त एवं सही निर्णय लिनसक्ने नेतृत्व र कमान्ड गर्नसक्ने सिपको प्रदर्शन गरेको हुदा १४ वर्षको छोटो अवधिमा एउटा सिपाहीबाट कप्तान हुनुमा उनलाई कुनै अप्ठयारो भएन । हुकुमी शासनमा हुकुम नै पदोन्नतीको मुख्य आधार थियो । स्थानीय जनश्रुति र लोक चर्चामा पनि उनलाई कप्तान भनेर सम्बोधन गरिएको पाईन्छ ।

ख) विक्रम सम्वतः १९२० मा राजा सुरेन्द्र बिक्रमका पालामा जङ्गबहादुर राणा प्रधानमन्त्रीले राजपुत र ठकुरीहरुलाई प्रदान गरेको वित्तीय सुबिधा सम्बन्धी लालमोहरमा भनिएको छ । “सम्बत १९११ मा तिब्बतसँगको युद्व र १९१४ मा लखनौसँगको युद्वमा सहयोग गरेवापत “खस” लाई क्षेत्री सरह मगर र गुरुङ्गलाई कर्नेल पदमा पदोन्नती गरिएको छ ।” (रेग्मी १९७०) यसरी मगर गुरुङ्गलाई पनि पदोन्नती गर्ने बाटो खुलेको देखिन्छ । अतः लखन थापा द्वित्तिय आफनो क्षमता तथा कुशलताको आधारमा जागीरको छोटो अवधिमा कप्तान दर्जासंम पुगेको अनुमान सजिलैसंग गर्न सकिन्छ ।

ग) कप्तान लखन थापा द्वित्तीय साधारण, सामान्य, शक्तिहीन, योजना रहित, लक्ष्यहिन र लहडी स्वभावका ब्यक्ति नभई अत्यन्त प्रतिभाशाली युवा मगर थिए । उनी आफ्नै पुख्र्यौलीहरुको पल्टन गोरख गणमा सम्मीलित भए । सेनामा जागिर खाएर राणाहरुको दमन, अत्याचार, एवं हैकमको अनुभव गरीसकेका थिए । कोतपर्व काण्डमा ठुलो ओहदामा बसेका मगर भारदारलाई उठ्न नसक्ने गरी प्राय हत्या गरिएको थियो । सो घटनाबारे उनले राम्रै सँग मनन गरेका थिए । घ) भारतीय स्वतन्त्रता संग्राम विं.सं. १९१४ (सन् १८५७) को सिपाही आन्दोलनको विविध पक्षमा गहकिलो एवं नजिकबाट अध्ययन एवं अवलोकन गरेका थिए । फ्रान्सेली विद्वान टिलौईन ले आफनो कार्य पत्रमा लेख्नु भएको छ । “Lakhan Thapa was among those Nepalese who were in contact with  their rebel perhaps found in them a model for his own political programme (2000)” आजादी एवं तानाशाही तथा निरंकुसता एवं प्रजातन्त्रको अन्तर र महत्वलाई लखन थापाले राम्रैसंग बुझेका थिए ।

ङ) स्वतन्त्र एवं स्वाभिमान स्वभावका लखन थापा द्वितीयको मुटुमा अंग्रेज साम्रज्यबाद तथा जङ्गबहादुरको अधिनायकबादी शासन प्रणालीको बिरुद्व विद्रोह तथा विरोधको ज्वाला एक साथ दन्किएको थियो ।

च) उपर्युक्त कारणहरुले गर्दा ऊनी घरविदामा गए । बिदा सकिए पनि उनी सेनाको जागिरमा फर्किएनन् । राणाहरको तानाशाही तथा अत्याचारी शासन ब्यवस्थाबाट देश एवं देशवासीहरुलार्इृ मुक्ति दिलाउने लक्ष्यलाई गोर्खा जिल्ला जस्तो अति दुर्गम क्षेत्रमा राजनैतिक र सैनिक संगठन गर्न गराउन थाले । बुङ्गकोट गाउँलाई आफनो शसस्त्र आन्दोलनको आधार शिविर बनाए । वास्तवमा नेपालको इतिहासमा यो पहिलो ऐतिहासिक घटना हो । तैपनि इतिहासकार बालचन्द्र शार्माले आफनो पुस्तकमा यस एतिहासिक घटनालाई “लखन थापाको उत्पात” लेखेर खिल्ली उडाएका छन् ।

छ)  नेपालको इतिहासमा केवल तागाधारी शासकहरुको बनावटी कथा, प्रशस्तिगान, गुणगान तथा प्रशंसाहरु मात्र लेखेको पाइन्छ । अर्कोतिर राज्यको बिस्तारबारे चर्चा परिचर्चाहरुमात्र गरेको देखिन्छ । आदिवासी जनजातीको, शोषित, उत्पिडित समुदायका प्रतिभासाली एतिहासिक ब्यक्तीहरुका संबन्धमा बिस्तारमा अथवा विस्तृत बिवरणहरु लेखिएको पाईदैन । सकेसम्म होच्याउने प्रयास गरेको देखिन्छ । उदाहरणका लागी राजकीय प्रज्ञा प्रतिष्ठान बाट २०४० सालमा प्रकासित नेपाली वृहत शब्दकोषमा लखन थापा द्वित्तीयलाई “महत्व नभएका ठट्यौला कुरा गर्ने ब्यक्ति” भनेर उल्लेख गरीएको छ । त्यस्तै इतिहासकार बालचन्द्र शर्माले “हास्यासपद किसीमको बिद्रोह र प्राचीन नेपाल २०३१ वैशाख २७ मा एउटा लुच्चा मगरले श्री ३ महराजधिराजको गाथमा दंगा गर्न आफ्ना तहमा चल्ने मानिसहरुसङ्ग मतजतगरी ...” आदि भनेर उल्लेख गरिएको छ । प्रथम सहिद लखन थापा स्मारिका २०६७ फाल्गुन ७ गते त्यस्तै इतिहासकार डा. वि.पि. सिंहले पनि लखन थापा द्वितीयको बारे यसरी टिप्पणी गरेका छन् “ सैनिक जागिरबाट गयल परि हाजिर नभई जङ्गबहादुर विरुद्ध अभियान थालेको देखिन्छ ।” (कान्तिपुर दैनिक साउन ६,२०६८)

ज) जनजाती आदिबासी तथा उत्पीडित समुदायका प्रतिभाशाली तथा ऐतिहासिक महान व्यक्तित्वहरुको सम्बन्धमा केही इतिहासकारहरुबाट नियोजित भ्रमित प्रचार भै आएको पाइन्छ । अर्को तर्फ, एउटा साहसी तथा प्रतिभाशाली मगरको छोरो लखन थापा द्वितीय  कुनै जात, धर्म, बर्ण, लिङ्ग वा समुदायका निम्ति बलिदान भएका थिएनन्। सिङ्गै नेपाल र नेपालीका लागि आफ्नो प्राणको आहुति दिएका थिए । नेपालको इतिहासमा यो पहिलो बलिदान र शहादत प्राप्त गरेको ऐतिहासिक घटना थियो ।

९. नीतिहरु :

क) लखन थापा द्वितियले आफ्नो निजी स्वार्थ तथा आवेशमा आएर निरंकुश शासन प्रणाली विरुद्ध आवाज उठाएको देखिदैन।

१) शोषित, पिडित, थिचो एवं उत्पीडित पारिएका जनताको स्वतन्त्रता तथा हकहितको सुरक्षा गर्नका लागि उनीले शसस्त्र विद्रोह गरेका थिए।

२) जन स्तरमा जनतालाई राजनैतिक रुपले जागरुक गरेका थिए।

३) जोशमनी धार्मिक सम्प्रदायलाई राजनैतिक दलको रुपमा प्रयोग गरेर जनतालाई जनसंघर्ष गर्न उत्प्रेरित गरेका थिए।

४) जनताको स्वतः स्फूर्त सक्रिय एवं सहयोगबाट राजनैतिक तथा सामाजिक परिवर्तनका लागि अघि बढेका थिए ।

यसै सन्दर्भमा सुर्यमणि अधिकारी लेख्नु हुन्छ, “लखन थापा द्वितीयलाई नेपालमा जागरणका अग्रणीको रुपमा प्रायस विद्वानहरुले स्विकार गरेका पाउँछौँ ।” (वि. सं. २०५४)

ख) नेपालको पहिलो शहीद लखन थापा द्वितीयको निर्ममतापुर्वक हत्या गरिए पछि पनि उनको परिवारका सदस्य तथा समर्थकहरु माथि कठोर दमन, अत्याचार एवं हिंसा यथावत चलिरहेको थियो । “तैपनि स्थानीय जनताले उनको सम्मानमा वि. सं. १९३३ सालमा घण्टा बनाई देवीलाई चढाएका हुन् भन्ने भनाई छ । “ (बैद्य २०२९) जनताको माया उनिप्रति कति थियो यसबाट पनि प्रमाणित हुन्छ ।

ग) त्यस्तै १३० वर्ष भन्दा पनि बढी समयदेखि स्थानिय जनताले लखन थापा द्वितीयलाई भयँरी देउताको रुपमा पौष पञ्चमीको दिन अत्यन्त भक्तीभाव एवं श्रद्दा पूर्वक पुजा गर्ने तथा सम्झना गर्ने चलन बुङ्गकोट गाउँमा यथावत कायम नै छ । यति धेरै ऐतिहासिक प्रमाणहरु हुँदा हुँदै पनि राज्य स्तरबाट वि सं. २०५६ फागुन ११ गते अर्थात् लखन थापाले सहादत प्राप्त गरेको १ सय २३ वर्ष पछि मात्र सहिद घोषणा गरियो । १३९ वर्षपछि वि.सं. २०७२ असोज ३ गतेमा नेपाल सरकारले लखन थापा मगरलाई विधिवत नेपालको प्रथम सहिद घोषणा गरेको छ ।

एक सय उनन्चालिस वर्ष सम्मको लामो यात्रा:

विगतमा वर्षौ देखि अवहेलित एवं उपेक्षित नेपालका प्रथम सहिद कप्तान लखन थापा(द्वितीय) मगरलाई राज्यले वि.सं. २०५६ साल फागुन ११ गते विधिवत सहिद घोषणा गरेर सम्मान गरेको थियो । राणाहरुको हकुमी तथा तानाशाही शासन प्रणालीको विरुद्ध पहिलो पटक जनस्तरबाट विरोध तथा विद्रोहको शुरुवात गर्ने लखन थापा मगरका लागि सो सम्मान उपयुक्त थिएन । किनभने नेपाली जनताको मुक्ति तथा स्वतन्त्रताका लागि पहिलो पटक जन संघर्ष प्रारम्भ गर्ने लखन थापा मगरलाई जनताले पहिले देखिनै नेपालको प्रथम सहिद हुन् भनेर सहर्ष स्विकार गरिसकेका थिए । तसर्थ नेपाल सरकारका उक्त निर्णय जनतालाई मान्य भएन ।

अतः बुद्धिजिवी लगायत सबैले १३९ वर्ष सम्म लखन थापा मगरलाई नेपालका प्रथम सहिद हुन् भनेर घोषणा गर्न राज्य माथि अनवरत रुपले दवाव दिँदै आएका थिए । फलस्वरुप वि.सं. २०७२ असोज ३ गतेमा विधिवत रुपमा लखन थापा मगरलाई नेपालका प्रथम सहिद हुन् भनेर राज्यबाट घोषणा भएको हो । यो ज्यादै स्वागत योग्य निर्णय भयो ।

संघ संस्थाको भूमिकाः

मगर जाति, तथा आदिवासी जनजाति तथा सम्पुर्ण जनतालाई १३९ वर्षसम्म व्यग्रता पुर्वक कुर्न पर्यो । यो अवधिमा के, कसले, कसरी, आ–आफ्नो भूमिका खेलेर राज्यलाई सो घोषणा गर्न बाध्य पारिएको हो । सो सम्बन्धमा छोटकरी विवरण उल्लेख गर्न सान्दर्भिक हुनेछ । नेपालमा प्रजातन्त्र प्राप्तिको दिशामा पहिलो आन्दोलनको शुरुवात गर्ने कप्तान लखन थापा मगरको अतुलनीय एवं अविष्मरणीय बलिदानलाई कदर गर्न गराउन लामो समयदेखि सतत प्रयासमै राखेको थियो । यस प्रयासमा सर्वप्रथम कतिपय मगर एवं गैर मगर बुद्धिजिवी, इतिहासकार, लेखक, प्राज्ञिक, समाजसेवी, अनुसन्धानकर्ता, विभिन्न राजनैतिक दलका नेता, संचार संस्था, तथा अन्य संघ संस्थाहरुले राज्य माथि दवाव दिँदै आएका थिए । सबैले एक स्वरमा लखन थापालाई नेपाल अधिराज्यको प्रथम सहिद घोषणा गर्न सरकारसंग माग गर्दै आएका थिए ।

क) राजनितिक स्तरमा :

सर्वप्रथम २०४६ सालको सफल जनआन्दोलन पश्चात काठमाडौँको टुडिखेलमा भएको वृहत मगर महिलाहरुको आमसभालाई सम्वोधन गर्दै तत्कालीन कम्युनिस्ट पार्टीकी नेत्री स्व. साहाना प्रधानले त्यति बेला लखन थापालाई प्रथम सहिद घोषणा गर्नको माग गरेकी थिइन् । तत्पश्चात् वि. सं. २०५६ सालमा तत्कालीन सम्माननीय कृष्णप्रसाद भट्टराई मन्त्रीपरिषदका सुचना तथा सन्चार मन्त्री चिरञ्जीवी प्रसाद वाग्लेको सतत प्रयासमा लखन थापालाई राज्यले सहिद मात्र घोषणा गरे ।

ख) कृति प्रकाशन

उपरोक्त सन्दर्भमा सांसद शिवलाल थापा गुरुछान मगर (वि. सं. २०५२), डा. हर्ष बहादुर बुढा मगर (२०५४), मुक्ता श्रेष्ठ (वि. सं. २०५३), जयबहादुर हितान (वि. सं. २०५३), एम. एस. थापा मगर तथा अन्य लेखकहरुले सोहि समयमा कप्तान लखन थापाको विषयमा खोजपूर्ण कृति, लेख, तथा पुस्तक प्रकाशित गरेर जनमानसमा व्यापक प्रचार गरेका थिए।

त्यस्तै प्रमोद शमशेर राना (ई. सं. १९९५), पदमजंग राना (ई. सं. १९८०), बालचन्द्र शर्मा (वि. सं. २०५५), महेश चन्द्र रेग्मी (ई. सं. १९९५), विक्रम जीत हसरत (ई. सं. १९७०) तथा वेलपेटन (इ.सं. १९९०) मा कप्तान लखन बारेमा आ–आफ्नो पुस्तकमा सकारात्मक र नकारात्मक टिप्पणी सारांशमा लेखेका थिए । विष्णु भक्त फुयालले “सहिदको सपना” तथा यू.के.मा विजय हितानले लखन थापा मगरको सम्बन्धमा एकाङ्की नाटक लेखेर प्रदर्सन समेत गरेका छन् । अन्य लेखकहरुको लेख पनि महत्वपूर्ण छन् । यसरी कृति प्रकाशनबाट लखन थापाको सम्बन्धमा धेरै जानकारी प्राप्त हुन गयो ।

ग) सामाजिक संस्थाको भूमिका

विगतका लामो समय देखि कप्तान लखन थापालाई नेपालको प्रथम सहिद घोषणा गर्नका लागि राज्य माथि विभिन्न क्षेत्रबाट दबाब दिँदै आएको थियो ।तैपनि नेपाल मगर संघ केन्द्रियसमितिका तत्कालीन पूर्व अध्यक्ष गोरेबहादुर खपाङ्गी(पुर्व मन्त्री)को अध्यक्षतामा वि. सं. २०४८ सालमा सम्पन्न भएको नेपाल लाङ्घाली संघको चौथो अधिवेशनमा सर्वसम्मतिबाट लखन थापालाई नेपालको प्रथम सहिद घोषणा गर्ने प्रस्ताव करतल ध्वनीको बिच पारित भयो ।

नेपाल अधिराज्यको प्रथम सहिद घोषणा गर्न राज्य संग विधिवत् माग गर्ने कुराको सस्ंथात्मक रुपमा शुरुवात नेपाल मगर संघको पूर्व अध्यक्ष गोरेबहादुर खपाङ्गी(पुर्व मन्त्री)को नेतृत्वमा शुरु भएको हो । त्यसपछि नेपाल मगर संघले यस मागलाई निरन्तरता दिई आएको थियो । मगर संघका भातृत्व संस्था नेपाल मगर विद्यार्थी संघ, नेपाल मगर महिला संघ एवं सहयोगी संस्थाहरुले पनि आ–आफ्ना तर्फबाट राज्य माथि दवाव सिर्जना गर्दै आएका थिए ।

घ) सहिद लखन थापा प्रतिष्ठान

“सहिद लखन थापा प्रतिष्ठान “ ले २०५८ सालमा असोज १३ गतेमा प्रथम सहिद लखन थापा विषयक अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको थियो । त्यस कार्यक्रममा सहिद थापाको पाचौँ र छैठौँ पुस्ताका दुई सन्ततिहरु क्रमशः शुभकुमारी थापा र शकुन थापालाई दार्र्जीलीङ देखि काठमाडौं निम्त्याइएको थियो । पुर्वप्रधान मन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी एमालेका पूर्व अध्यक्ष माधवकुमार नेपालले उक्त दुवैजनालाई दोसल्ला ओढाई सम्मान गर्नुभएको थियो । यसरी लखन थापाको विषयमा सकारात्मक वातावरण तयार गरिएको थियो ।

ङ) प्रथम सहिद लखन थापा प्रतिष्ठान:

वि. सं. २०५८ सालमा भाषाविज्ञ वी.के. राना मगरको अध्यक्षतामा स्थापित भएको “शहीद लखन थापा प्रतिष्ठान “ निष्कृय भएपछि नेपालका मगर संघका पूर्व अध्यक्ष क्याप्टेन यमबहादुर बुढाथोकीको सक्रियतामा वि. सं. २०६५ साल असोज १ गते “प्रथम सहिद लखन थापा स्मृति प्रतिष्ठान” को पुनः स्थापना भयो । सो संस्थाको उद्देश्य प्रथम सहिद लखन थापा मगरको सम्बन्धमा खोजपूर्ण अनुसन्धान कार्यलाई संस्थात्मक रुपमा अघि बढाउनु साथै उनलाई राज्यस्तर बाट नै आधिकारिक रुपमा प्रथम सहिद घोषणा गराउनुको निम्ति पहल गर्नु गराउनु थियो ।

यस संस्थाका संस्थापकहरुमा रुल बहादुर आले मगर, दिपेन्द्र राना मगर, जीवन आले मगर, चित्र थापा मगर, वेली थापा मगर, भरत आले मगर, उषा पुन मगर र किरण श्रेष्ठ (तदर्थ समिति मात्र) हरु थिए । प्रतिष्ठानको वि. सं. २०६५ देखी २०६५ सम्म सर्वश्री चिरञ्जीवी वाग्ले (पूर्व मन्त्री, गोरखा), सुरेश आले मगर (पूर्व सभासद्, तनहुँ), एम् एस् थापा (पूर्व सभासद्, काठमाडौं), क्या. यमबहादुर बुडाथोकि मगर (पुर्व अध्यक्ष, ने.म.स.), रामबहादुर थापा (पूर्व सभासद्), त्रिलोक सिंह थापा (पूर्व अधिकृत, नेपाल सरकार, काठमाडौं) थिए ।

“प्रथम सहिद लखन थापा स्मृति प्रतिष्ठान “ ले लखन थापा मगरलाई नेपालको प्रथम सहिद विधिवत् रुपमा घोषणा गर्न राज्य माथि दवाव दिन वैचारिक एव् व्यवहारिक कार्यक्रमहरु संचालन गर्दै आएको थियो । सो निम्न छन् ।

प्रतिष्ठानका कार्यक्रम :

क) वैचारिक. कार्यक्रम अन्तर्गत अन्तरक्रिया तथा सामुहिक चिन्तन मनन तथा प्रचार

ख) प्रथम सहिद स्मारिका प्रकाशन सो प्रकाशनमा प्रधानमन्त्री सुशील कोइराला, पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, तथा नेपाल कम्युनिस्ट पार्टीका माओवादीका अध्यक्ष मोहन वैद्य किरण आदिहरुको शुभकामना सन्देशहरु प्रकाशित गरेर राजनितिक समर्थनको वातावरण तयार पार्दै आएको थियो ।

ग) प्रथम सहिद लखन थापाको स्मृति दिवस समारोह, बृहद र्याली, जुलुस, प्रदर्शन, सम्मननीय राष्ट्रपति, सम्माननीय प्रधान मन्त्री तथा सम्बन्धित मन्त्रीहरुलाई ज्ञापन–पत्र, पत्रकार सम्मेलन आदि अन्य कार्यक्रम संचालन एवं कार्यान्वएन गरेर राज्य माथि अधिकतम दवाव तथा जनमानसमा लखन थापा मगर वारे जनचेतना जगाउने सतत प्रयास गर्दै आएका थिए ।

विदेशमाः 

त्यस्तै विदेशमा रहेका मगर संघ, आदिवासी जनजाती महासंघ, तथा अन्य संघ संस्थाहरुले राज्य माथि आ–आफ्नो तर्फबाट दवाव सिर्जना गर्दै आएका थिए । हङकङ मगर संघका तत्कालीन अध्यक्ष हुमबहादुर थापा मगरले सन् २००१ साल फेव्रुअरी २१ र २४ मा सहिद लखन थापाको सम्बन्धमा प्रचार प्रसार गर्न गराउन लखन थापा स्मृति दिवस भव्य रुपमा सम्पन्न गराए । साथै प्रथम शहिद लखन थापा मगर स्मारिका (२००१) प्रकाशन समेत गराएका थिए । हङ्कङ्मै जनजाति महासंघका बर्तमान अध्यक्ष एम.बि. थापा मगरको पहलमा हङ्कङ्को नेपाली महाबाणीज्यदुतको कार्यलयमा प्रथम शहिद लखन थापा मगरको (फोटोको) बोर्ड राख्ने काम भएको छ । तत्पश्चात वेलायत, युरोप, अमेरिकामा पनि अनुगमन कार्यक्रम समय समयमा सम्पन्न भएको पाइन्छ । त्यस्तै मगर संघ हङ्कङ् , यू.के. मगर संघ लगायत बिश्वमा बस्ने मगर संघसस्थाहरूले पनि प्रत्यक बर्ष लखन थापा मगर स्मृति दिवस समारोह मनाएर व्यापक प्रचार प्रसार गर्दै आएको छ । साथै नेपाली राजदुतावास मार्फत लखन थापालाई प्रथम सहिद घोषणा गर्न ज्ञापन पत्र दिई सरकार माथि दवाव दिइएको थियो । यसरी विदेशमा रहेका संघ संस्थाहरुको भूमिका पनि उल्लेखनीय पाइन्छ ।

अन्तिम क्षणः

विगठित सम्विधान सभाका सदस्य सांसद मा. शिवलाल थापाले सदनमा निरन्तर लखन थापालाई प्रथम सहिद घोषणा गर्न जोडदार माग गर्दै आएका थिए । मा. भूमी सुधार मन्त्री, दलबहादुर राना मगर तथा मा. सस्कृती मन्त्री कृपासुर शेर्पाको पहलमा मन्त्री परिषदमा प्रस्ताव पेश भएको र सो प्रस्ताव अनुसार सम्माननीय प्रधान मन्त्री शुशील कोइरालाको अध्यक्ष्यतामा सम्पन्न भएको मन्त्री परिषदको वैठक बाट वि.सं. २०७२ असोज ३ गतेको निर्णय अनुसार लखन थापालाई नेपालको प्रथम सहिद घोषणा गरियो । सो सम्बन्धमा सम्पूर्ण प्रकृया मिलाउनमा व्यवस्थापिका संसदका सदस्य मा. अमरसिंह पुन तथा राष्ट्रिय मगर संघका संयोजक ओम थापाको सक्रिय योगदान ज्यादै सराहनीय छ । अरु कतिपय महानुभावहरुले आ–आफ्नो तर्फबाट रचनात्मक योगदान प्रदान गरेका छन् । सो यो सानो लेखमा समावेश गर्न सकिएको छैन ।

निष्कर्ष :

अन्तमा जनताको छोरोले जनताको लागि जनताको समर्थनमा कसैको अगाडि आफ्नो शिर निहुराएनन् बरु आफ्नो ज्यानको आहुती दिए । उनले निर्मम हत्यालाई सहर्ष स्विकार गरे । त्यस्तै कारणहरुले गर्दा लखन थापा द्वितिय नेपालको शहादत प्राप्त गर्ने प्रथम शहिद हुन् । ढिलो भए पनि १३९ वर्षको संघर्षमय लामो यात्राबाट उनी नेपालका प्रथम सहिद भए । मगर जनजाति तथा सम्पूर्ण जनतामा सन्तोष खुसियाली छाएको छ । यसरी एक सय उनन्चालिस वर्ष सम्मको संघर्षमय लामो यात्राको अझै पनि समाप्ती भएको छैन, वरु आरम्भ भएको छ । त्यो हो उनको जीवन दर्शनको खोज अनुसन्धान, शैक्षिक, आर्थिक, सामाजिक तथा सास्कृतिक विकाशका प्रारम्भ...।

प्रथम सहिद लखन थापा मगरका जिवनका पाटा(वि.सं. १८९१–१९३३)

घटनना

बि.सं.

इ.सं.

जन्म

१८९१

१८३४

सेनामा प्रबेश

१९११

१८५४

भारतको सिपाही बिद्रोहमा संलग्नता

१९१४

१८५७

क्याप्टेन पदमा पदोन्नती

१९२६

१८६९

घर बिदामा

१९२७

१८७०

बिद्रोह र सहादत

१९३३

१८७६

जिवनकाल  (जम्मा बर्ष)

४२

४२

लेखक गोरेबहादुर खपाँगी मगर फाउन्डेशनका बरिष्ठ सल्लाहकार तथा मास्टर मित्रसेन प्रतिष्ठाना अध्यक्ष हुनुहुन्छ ।)

This email address is being protected from spambots. You need JavaScript enabled to view it.

हार्दिक श्रद्धान्जलि - एक बहादुर राना मगर
हार्दिक श्रध्दाञ्जलि - गोरे बहादुर खपांगी