A+ A A-

कँग्युर महापुजामा आठ धर्मगुरुहरुको एकैस्थानमा जमघट हुने !

प्रेमध्वज गाहा

पुर्बी नवलपरासी , कार्तिक १७  - पुर्बी नवलपरासीको कावासोती ३ मा रहेको बरचुली बौद्ध गुम्बाको आयोजनामा  बौद्ध धर्मको महान ग्रन्थ त्रिपिटक कङ्ग्युर पाठबाचन महापुजा २०७५ हुने भएको छ ।



शनिबार, गुम्बाको प्राङ्गणमा आयोजित पत्रकार सम्मेलन मार्फत महापुजा हुने जानकारी दिइएको हो । गुम्बा ब्यवस्थापन समितिका अध्यक्ष गोपी गुरुङको अध्यक्षता तथा बौद्ध लामा ओम गुरुङको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा ,मनिप्रसाद गुरुङ , दुरपति गुरुङ, गँगालक्ष्मी गुरुङ, बिष्णु गुरुङ, सरद गुरुङ लगायतका तमु अगुवा तथा समाजसेबीहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा बोल्नुहुँदै अध्यक्ष गोपी गुरुङले  गुम्बालाई नेपालकै नमुना बौद्ध धर्मावलम्बीहरुको पर्यटकीय तीर्थस्थल निर्माण गर्ने , बौद्ध भिक्षुहरुको उत्पादन गर्ने , गुम्बा तथा बिहार निर्माण गर्ने उद्देश्यका साथ महापुजाको आयोजना गर्न लागिएको जानकारी दिनुभयो । महापुजाबाट करिब ३५ लाख रुपैयाँ सँकलन गर्ने लक्ष्य रहेको पनि वहाँले बताउनुभयो ।

त्यस्तै कार्यक्रममा बोल्नुहुँदै बौद्ध लामा ओम गुरुङले महापुजाबाट सबै धर्मावलम्बीहरु बीच एकता र सद्भाव कायम गर्दै शान्त र सभ्य समाज निर्माणको सन्देश महापुजाबाट प्रबाह हुने आशा ब्यक्त गर्नुभयो । वहाँले बिश्वमा शान्ति कायम गर्नका लागि भगवान गौतम बुद्धको उपदेश पालना गर्नुपर्ने खाँचो पनि औँल्याउनुभयो । महापुजाको कार्यक्रम अन्तर्गत मँसिर १ गते सँघीय साँसद एवम उद्योगपति बिनोदकुमार चौधरीबाट समुद्घाटन  तथा शान्ति ¥याली ,सर्बधर्म महामिलन कार्यक्रम , प्रवचन लगायतका कार्यक्रमहरु रहेको आयोजकले जानकारी दिएको छ ।

महापुजामा अन्य धार्मिक कार्यक्रममा नदेखिएको दृश्य समेत देखिने भएको छ । मँसिर ३ गते सोमबार महापुजामा बौद्ध , हिन्दु , मुस्लिम , क्रिश्चियन लगायतका आठ धर्मका धर्मगुरुहरुको जमघट हुने भएको हो । महापुजा आगामी मँसिर ३ देखि मँसिर ७ सम्म सञ्चालन हुने छ । बौद्ध धर्मको महाग्रन्थ बिनयपिटक ,सुत्रपिटक र अभिधर्मपिटकको १०८ ठेली १०१ धर्मगुरुहरुबाट बाचन गरिने  महापुजाको समापन गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्बीसुब्बा गुरुङको उपस्थितिमा हुने पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।

 हार्दिक श्रध्दाञ्जलि - ज्ञान बहादुर गाहा मगर