A+ A A-

२५६२ औं बुद्धजयन्ती देवदह नगरपालिकामा सम्पन्न

गोबिन्द घर्ती मगर


बैषाख १५ । आर्थिक विकास र समृद्धिको लागि सरकार प्रतिवद्ध रहेको पर्यटन, संस्कृति तथा नागरिक उड्ययन मन्त्री रविन्द्र प्रसाद अधिकारीले बताए । २५६२ औं बुद्धजयन्तीको अवसरमा देवदह नगरपालिका पर्यटन प्रवद्र्धन समितिद्वारा देवदह–४, भवानीपुरमा आयोजित बृहत बुद्धजयन्तीको अवसरमा बोल्दै अधिकारीले उक्त कुरा बताएको हो । मन्त्री अधिकारीले बृहत्त लुम्विनीको विकास भनेको देवदह, तिलौराकोट, रामग्रामको विकास भएकोले वृहत्तर लुम्विनी विकासको लागि सरकारले काम अगाडि बढाएको बताए ।
मन्त्री अधिकारीले रुपन्देहीको भैहरवामा निर्माण भईरहेको गौतमबुद्ध विमानस्थल निर्माण सम्पन्न भएसंगै लुम्विनी तथा लुम्विनी संग सम्वन्धीत स्थानमा पर्यटकको आगमन बढ्ने दावी गरे । मन्त्री अधिकारीले लुम्विनी संगै देवदह, रामग्राम, तिलौराकोटलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न सके आमनागरिकको जीवन स्तर परिवर्तन हुने बताए । अधिकारीले भगवान गौतम बुद्धको मावली स्थल देवदह क्षेत्रमा रहेका ऐतिहासिक स्थलहरुमा गरिएको उत्खनन्मा भेटिएका वस्तुहरु राख्न संग्राहलय निर्माण गर्न स्थानीय निकाय संग समन्वय गरेर अगाडि बढ्ने बताए । अधिकारीले लुम्विनी, देवदह, रामग्राम, तिलौराकोट लगायतका क्षेत्रमा पर्यटकको बसाई लम्व्याउन होमस्टे संचालन गर्नुपर्नेमा जोड दिए ।
सोही अवसरमा बोल्दै प्रतिनिधि सभा सदस्य छविलाल विश्वकर्माले बुद्ध संग सम्वन्धीत स्थलहरुको उत्खनन् गर्न आवश्यक रहेको बताए । नेकपा एमालेका स्थायी कमिटी सदस्य समेत रहेका सांसद विश्वकर्माले देवदहलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न सके समृद्धि संगै आर्थिक विकास समेत हुने बताए । पुर्वमन्त्री समेत रहेका विश्वकर्माले भारतीय गाईडको गलत विफ्रिङ्गका कारण लुम्विनीको प्रचार प्रसार कम भएको भन्दै त्यसको लागि नेपाली गाईड तयार गर्नु पर्ने बतए ।
विश्वकर्माले बुद्ध संग सम्वन्धीत ठाउहरुको अध्ययन, अनुसन्धान र प्रचार प्रसार लुम्विनी विकास कोषले गर्नुपर्नेमा जोड दिए । देवदह नगरपालिका प्रमुख हिरा बहादुर खत्रीको अध्यक्षतामा भएको कार्यक्रममा लुम्विनी विकास कोषका कोषाध्यक्ष सुरेन्द्रमणि शाक्य, भिक्षु सागर धम्म लगायतले आ–आफना भनाई राखेका थिए । सोही अवसरमा लुम्विनी विकास कोषले छात्रवृत्ति प्रदान गरेको छ ।
महामाया भवानी मावि, देवदह मावि, जनता माविका ३-३ जना विद्यार्थीलाई जनही ५ हजारका दरले छात्रवृत्ति प्रदान गरेको हो । कार्यक्रममा मगर, गुरुङ्ग र थारु जातीको संस्कृति प्रस्तुत गरिएको थियो । कार्यक्रममा स्वतन्त्र भूतपुर्व सैनिक कल्याणकारी देवदहले पिउने पानीको व्यवस्था गरेको थियो । उपप्रमुख विद्या लक्ष्मी गुरुङ्गको स्वागत र भिम प्रसाद गुरुङ्गको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

 हार्दिक श्रध्दाञ्जलि - ज्ञान बहादुर गाहा मगर