A+ A A-

र्याम्पको बढ्दो क्रेज

मनोज घर्ती मगर


Image may contain: 7 people, people standing and shoes

 

तस्वीरः सुरज श्रेष्ठ

पोखरा, पाल्गुन १८ - रंगीचंगी उज्यालोले सबैको ध्यान स्टेजतिरै थियो । स्टेज पनि दुलहि झैं सिंगारिएको । दर्शक हलभरि खचाखच । लामो समयको पखाईपछि कम्मर हल्लाउदै रेड कार्पेटमा मोडलको परेड सुरु भयो । सजिसजाउ स्टेजमा विभिन्न भावभंगीमा एकपछि अर्को गर्दै मोडल क्याटवाक गर्दै र्याम्पमा उत्रिएपछि दर्शकले तालिका पर्रा छुटाए । पालैपालो फरक पहिरनमा मोडलहरुका ‘क्याट–वाक” ले आकर्षीत नगर्ने कुरै भएन । दाया–बाया बसेका दर्शकले सुरुदेखि अन्त्यसम्म यो रंगीन माहोल मजाले नियाले । ‘फेसन नाइट’ नाम दिएर पोखरामा भर्खरै भएको एउटा फेसन शोमा यस्दै दृश्य देखियो । जहाँ विभिन्न व्यूटि इभेन्टका विजेता युवतीहरु र्याम्पमा उत्रिएका थिए ।

‘फेसन नाइट’मा मिस गण्डकी ज्योती राई, मिस आर्डेन्ट अनुषा श्रेष्ठ, मिस भ्याली स्टार अस्मिता श्रेष्ठ र समीर गुरुङ र्याम्पमा देखिए । यस्तै मिना गुरुङ, प्रतिष्ठा शाक्य, स्मीता सुनार, रोनिषा राना, अनिषा सुनार, रन्जिता गुरुङ, पुजा बराल, एलिसा गुरुङ, सुस्मिता पुन, सुनिता कार्की, निस्मा गुरुङ, सञ्जु सुनार, नेन्सी साई, श्रेया शर्मा, संगीता सुनार र जमुना मगर पनि र्याम्पमा उत्रिएका थिए । बिभिन्न तीन ओटा थिमका भिन्न भिन्न पोशाकमा सजिएर मोडलहरु र्याम्पमा आउदा दर्शकहरु निकै उत्साहित देखिन्थे । फेशन शो को कोरियोग्राफी सुरज थापामगरले गरेका थिए । कार्यक्रमलाई एस टी क्रियशनले आयोजना गरेको हो ।

पोखरामा अनेक नाम दिएर पछिल्लो समय यस्ता फेशन शो हप्तैपिच्छे हुन्छन् । बढ्दै गएको मोडलिङ तथा फेशन शैलीले पोखरामा र्याम्प शो क्रेज ह्वात्तै बढेको छ । र्याम्प शो अहिले पोखरामा चल्तीको इभेन्ट बनिसकेको छ । काठमाडौं, धरान, विराटनगर  लगायतका मुख्य सहरहरुमा जस्तै तालनगरी पोखरामा पनि र्याम्प शोको दबदबा छ । ब्युटी कन्टेस्ट तथा डान्स पार्टीकै हाराहारीमा फेसन शोमा मोडलहरुको आकर्षीण बढ्न थालेको हो । ‘तारे होटलदेखि म्युजिकल कन्सर्टका स्टेज मात्रै होइन, मेला महोत्सवमा समेत धमाधम फेसन शो हुन थालेका छन्’ नेल्शन इन्टरटेनमेन्ट अनिशा श्रेष्ठ भन्छिन्,‘हामीले पनि पोखरा औद्योगिक व्यापार मेलामा फेशन शो गरेका थियौं ।’

फेसन शो कार्यक्रम गर्न विज्ञापन दाताले पनि सहयोग गर्ने भएकाले इभेन्ट अर्गनाइजरहरु यस्ता कार्यक्रम तिर बढी आकर्षित भएका हुन् । पोखरामा ट्रेनर नेपालले पनि मेला महोत्सव देखी यहाका तारे होटलहरुमा फेशन शो गर्ने गरेको छ । विभिन्न ब्यूटि इभेन्टमा कन्टेस्टका नाममा होस् या अन्य विभिन्न नाममा यहा फेसन शोको लहर नै चलेको छ । ‘केही बर्षयता पोखरामा फेसन शो धेरै हुन थालेका छन्’ ट्रेनर नेपालका अध्यक्ष रविन गुरुङ भन्छन्, ‘गर्मीयामको सुरुवातसगै र्याम्प शो को सिजन सुरु भएको छ । ट्रेनर नेपाल ब्युटी कन्टेस्ट देखि फेसन शोका कार्यक्रमहरु नियमित गर्ने मध्येमा अग्रपक्तिमा आउछ । यस्तै यहाँका दुई दर्जन बढी इभेन्टसँग सम्बन्धित संस्थाहरुले र्याम्प शोको हलचल मच्चाइरहेकै छन् ।  अधिकांश युवतीहरुलाई मध्यनजर राखेर यस्ता फेसन शो हुने गरेका छन् । युवाहरु लक्षित फेसन शो भने नगन्य मात्रमा हुने गरेका छन् । ‘पोखरामा फेशन शोका पारखीहरु धेरै छन्, जो महङ्गो टिकट तिरेर पनि फेशन शो हेर्न जान्छन्’ ओम इभेन्टस्का इभेन्ट म्यानेजर अरुण गिरी भन्छन्,‘इन्टरटेनमेन्टका लागि धेरैले फेसन शो मन पराउन थालेका छन । र्याम्प शो हेर्ने कल्चर विकसित भइरहेको छ ।’

कुनै बेला यहा यस्तो पनि थियो, फेसन शो आयोजना भयो कि छाडापन भित्रिएको गाइगुइ गर्नेहरुको जमात धेरै हुन्थ्यो । आजभोलि भने निर्धक भएर त्यही शो हेर्न पुग्छन् । सबैले शोको अर्थ बुझ्न थालेका छन् । फेसन शो केवल पारदर्शी पहिरनमात्र नभई कुनै ब्रान्ड होस् या पहिरन त्यसको प्रवद्र्धनका लागि मोडलहरुलाई र्याम्पमा उतार्ने प्रचलन बढेका छन् । र्याम्पमा उत्रिने मोडलहरुलाई अर्गनाइजरहरुले ढिलै भए पनि पारिश्रमिक दिने थालेका छन् । त्यसैले पनि र्याम्पमा हिड्न युवा युवतीको भीड लाग्न थालेको छ ।

प्रवेश शुल्क जति नै महगो भए पनि फेसन शोहरु हेर्न नछुटाउने धेरै छन् । फेसन शोको माहोल बढेको देखेर अन्य सहरहरु बाट पोखरामा आई इभेन्ट गर्ने चलन बढेको छ । सेलिब्रेटिलाई ल्याएर यस्ता शो हुदै आएका छन् । तर, पोखरामा हुने सबै फेशन शो उत्कृष्ट नहुने दाबी गर्छन् एस टी क्रियशनका इभेन्ट म्यानेजर सुरज थापा । ‘यहाँ त फेशन शो हप्तैपिच्छे हुन्छन् । तर, कस्तालाई फेशन शो भन्ने कस्तालाई नभन्ने मुल कुरा त्यो हो’ म्यानेजर थापा भन्छन्,‘दश जना युवती जम्मा पारेर र्याम्पमा उतार्दैमा त्यो फेशन शो हुन सक्दैन । यहाँ फेशन शोका नाममा बढी विकृति पनि आएको छ ।’

 

 हार्दिक श्रध्दाञ्जलि - भिमी देवी राना

मिग मिडिया प्रा.ली द्धारा संचालित

www.rajyasatta.com

सुचना तथा प्रसारण बिभाग

दर्ता नम्बर १६८७/०७६-७७

ठेगाना

ललितपुर १४, ललितपुर

संचालक/प्रधानसम्पादक

हुम बहादुर थापा मगर

मोबाईल ९८४१५९३६०६