A+ A A-

के हो जातिय युद्द ?

छबीसुब्बा साम्बहाम्फे लिम्बु ,

संसारमा अहिलेसम्म भएका युद्दहरु जातीय युद्द नै हुन । प्रकृतिहरु फरक हुनु अर्कै कुरा हो । एक देशका जाति र अर्को देशका जातिहरुबीचमा युद्दहरु भयो र हुँदैछन । हिन्दू र मुस्लिमहरुको युद्द जारी छ, क्रिश्चियन र मुस्लिमहरु पनि लडिरहेकै छ । काला र गोराहरुको हिंसात्मक युद्द टुंगो लागेर शीतयुद्दमा परिणत भएको छ । हरेक देशमा रहेका विभिन्न जातिहरुबीच सांस्कृतिक मुल्यमान्यताहरु फरक रहेकोले तिनिहरु बीचमा कायम रहेका सभ्याताका द्वन्द्वहरु अन्त्य भएका छैनन ।

नेपालमा भैरहेका द्वन्द्वहरु पनि सभ्यताकै द्वन्द्वहरु हुन । यो अहिलेको नयाँ बिषयवस्तु होइन । पृथ्वी नारायण शाहले विभिन्न संस्कृतिहरुबाट चल्दै आएका मुलुकहरुलाई कब्जा गरेपछाडि लादिएको हिन्दू सांस्कृतिक सभ्यताले अन्य सभ्यताहरुमाथि प्रभुत्व जमाएर उपनिवेश लादे पछाडि नै सुरु भएको द्वन्द्व हो । हिन्दू सम्प्रादयभित्र पनि खास गरेर तीनखालमा वर्गहरु थिए । (१) शाह/राणा शासक वर्ग (२) उच्च घरानाका बाहुन वर्ग (३) मध्यम तथा निम्न मध्यम बाहुन समुदाय । २००७ साल अगाडि राणा र शाहहरुले शासन गर्दथे । त्यो सत्तामा बाहुनहरुको कुनै पनि तहमा पहुँचको गुञ्जायस थिएन । त्यसकारण उच्च घरानीया बाहुनहरुले मिलेर पार्टी बनाए, त्यो पार्टीको नाम नै नेपाली कंग्रेस हो । यही पार्टीको नेत्रित्वमा आलंकारीक प्रमुख रहेका शाहसँग मिलेर उच्च घरानाका बाहुनहरुले राणाशासनको विरुद्दमा क्रान्ति गरेर २००७ सालमा राणाशासनको अन्त्य भयो । यो क्रान्तिमा बाहुनहरुले पूर्व पश्चिमका लडाका जातिहरु लिम्बू, राइ, मगर, गुरुङ आदी सबैलाई समेटेका थिए । खासमा यो लडाईंं एउटै हिन्दू संस्कृतिका दुइवटा जातिहरुबीचमा भएको थियो ।


२०१७ सालमा लामो समयसम्म आलंकारीक प्रमुखकोरुपमा रहन वाध्य पारीएका शाह वंसलाई नेपाल आफ्नै पुर्ख्यौली विरासत जस्तो लागेको थियो । त्यसो हुनाले राजा महेन्द्रले वहुदलीय व्यबस्थालाई खारेज गरेर आफ्नो एकलौटी शासन लागू गरे । यो पनि शाह र बाहुनबीचको अन्तर्द्वन्द्व नै थियो । बाहुनहरु त्यतिबेला पनि सत्तामा आफ्नो सर्वोच्चता चाहन्थे । कम्यूनिष्टहरुको संगठन २००६मा पुष्पलालको नेत्रित्वमा बनेता पनि उनी निर्वासनमा रहेकाले देशभित्र खासै संगठन बन्न सकेको थिएन । कांग्रेसीहरुको राजसंस्थाप्रतिको तीब्र आक्रमण र उनीहरुलाई भारतीय सहयोगको निरन्तरता रहेकोले त्यसलाई काउण्टर गर्ने हेतुले राजा महेन्द्रले रचेको कम्यूनिष्टहरुको एउटा संयन्त्र थियो जसको अहिलेको बिकसीत रुप नै नेकपा एमाले हो । यसको काम राजतन्त्र भन्दा पनि बढी कांग्रेसलाई विरोध गर्नु थियो त्यसबेला । यो पार्टीमा प्राय: त मध्यम वर्गीय बाहुनहरु समेटीएका थिए । २०४६ सालको जनान्दोलनमा नेपाली कांग्रेसको आड लागेर सहभागी भएपछि उनीहरु पनि सत्ताको साझेदार बने ।

संसारमै बनेका कम्यूनिष्ट पार्टीहरु अवसरवादी देखी चरम अवसरवादी धारका हुन्छन । २०५२ सालपछि प्रचण्ड र बाबुरामको नेत्रित्वमा नेपालमा पनि कम्यूनिष्टहरुको एउटा चरम अवसरवादी धार देखापर्यो । यो पार्टीले नेपालका सडकछापदेखि चरम अवसरवादी बाहुनहरुलाई संगठीत गरेर वर्गसंघर्षको हिंसात्मक कोर्ष पुरा गर्यो । अहिलेको संघीय गणतान्त्रिक नेपालमा कुनै पनि वर्गका बाहुनहरुको नत सांस्कृतिक उत्पीडन नै छ नत राजनीतिक उत्पीडन नै । किनभने यी समुदायहरुको चेतनाले शताब्दियौं अगाडि सत्ता जन्माइसकेको थियो र त्यो चेतनाबाट उनीहरुले सत्ताका लागि संघर्ष र क्रान्ति गरे र प्राप्त पनि गरे ।


अहिलेको हाम्रो अवस्था भनेको चेतनाबाट सत्ता खोज्ने भन्दा पनि अवसरबाट सत्ता खोज्ने प्रयासहरु जारी छन । सत्ताधारीहरु भनिरहेका छन कुनै पनि जातजातिले जातीय कुरा गर्नु हुँदैन, यसले भड्काव ल्याउछ, मुलुक तहसनहस हुन्छ, सामाजिक सद्भाव खल्बलिन्छ आदी आदी । हामी पनि कती सजिलै अल्मलिन्छौं, होत नि, साँची नै एकजातले अर्को जाति विरुद्दमा कुनै कुरै गर्नु हुँदैन, आन्दोलन गर्नु हुँदैन यसले सबै बातावरण बिग्रन्छ आदी सम्झेर क्रान्तिमा उठेको दीमागलाई मत्थर पार्ने कोशीश गर्छौं । यो सरासर हावादारी कुरा हो । राणा र शाहबीचको द्वन्द्व, बाहुन र शाहबीचको द्वन्द्व, उच्च घराना र मध्यमवर्गीय बाहुनहरुबीचको द्वन्द्व, हिन्दू मुस्लिम द्वन्द्व, क्रिस्टीयन र मुस्लिम, नाजी र याहूदी आदी बीचको द्वन्द्व चाँहीं जातीय, धार्मिक द्वन्द्व होइन ? यी द्वन्द्वहरुबीच भएका क्रान्तिहरुले देश दुनियाँ उथलपुथल भएन ? नेपालमा यो भन्दा अगाडि सम्पन्न भएका क्रान्तिहरुले देश र समाज विध्वंश भएन? समाजहरु तहस नहस भएनन ? क्रान्ति निरन्तर रहीरहेको छ कि त्यसले फड्को मारेर देश शान्ति र गतितिर अगाडि बढीरहेको छ? त्यसकारण अबको जातीय युद्दको अर्को कोर्षमा नेपाल जानैपर्छ । जुन जातीय युद्द बाहुनको बिरुद्दमा यहाँका उत्पीडित आदिवासी जनजाति राष्ट्रियताहरुको हुनेछ । यो युद्दलेमात्र हिन्दू सांस्कृतिक सत्ताको प्रभुत्व अन्त्य गरेर वहुलराष्ट्रिय सांस्कृतिक सत्ताको निर्माण गर्नेछ ।


सत्ता निर्माणको यो चेतनाबाट नेपालमा अब कुनै पनि वर्गका बाहुनहरुले क्रान्तिको नेत्रित्व गर्ने छैनन । किनभने उनीहरुले नेत्रित्व गर्ने क्रान्तिको कोर्ष सबै नै पुरा भैसक्यो । त्यसैले अबको उनीहरुको सबै योजनाहरु, नीतिहरु, कार्यक्रमहरु प्रतिक्रान्ति र प्रतिगामी नै हुनेछन । त्यसैले यो परिवेशभित्र अमुक्त जनताले चुनावमा जाने, राज्यबाट अलमल्याउन दिइने कुनै सार्वजनिक पदहरु नेताले खाने, जस्ता हर्कतहरु आँफैमा घातक छन । त्यसो भएको हुनाले सबै आदिवासी राष्ट्रियताहरुले आफ्नो सांस्कृतिक सत्ता निर्मणको लागि आमूल परिवर्तनकामी राष्ट्रिय मुक्ति क्रान्तिमा जुट्न अनिवार्य छ ।

Last Updated on Saturday, 15 July 2017 14:48

Hits: 1156

उत्पिडित नेपाली जनताको मताधिकारको चेतनास्तर

पूर्ण बहादुरराना

 Image may contain: 1 person, standing, selfie and closeup
स्थानिय तहको पहिलो चरण निर्वाचन २०७४ वैशाख ३१ गते सम्पन्न भएको थियो । सो निर्वाचनमा राष्ट्रिय जनमुक्ति पार्टीको तर्फबाट म स्तम्भकार आफैं तनहुँ जिल्ला ऋृषिङ गाउँपालिकाको अध्यक्ष पदमा उम्मेदवार भएको थिएँ । चुनाव प्रचार प्रसार अभियानमा आफ्नो निर्वाचन क्षेत्रको अधिकांश ठाउँमा चुनावी कार्यक्रम तथा नेपाली नागरिकसंग प्रत्यक्ष भेटघाट गरें । आफुलाई उम्मेदवारको रुपमा परिचित गराउने क्रममा धेरै जनतासँग भलाकुसारी भएको थियो । चुनावी अभियानमा सार्वभौम नेपाली जनताको चेतना अवस्था बुझ्ने अवसर पाएँ । सार्वभौम नेपाली नागरिकको मताधिकारको चेतनाको अवस्थालाई पाँच भागमा  बर्गिकृत गरेको छु ।  

१. निरपेक्ष अचेत (Absolute Unconsciousness Stage) नचिन्ने अवस्था
२०२५ साल देखि २०४० साल सम्म जति निर्वाचनहरु भए तत्कालिन अवस्थामा नेपाली जनताले पार्टी र नेताको नामै नसुनि घरगाउँको मुखिया वा बाबाआमा, काकामामा, दाईदिदीहरुले जुन चिन्ह्मा भोट हाल्न पाठाए उहि चिन्ह्मा मतदान गरे । यो चरण अधिकार र सत्ता नचिन्ने अवस्था थियो । पार्टी र नेता नचिन्ने अवस्था पनि थियो । उनिहरुलाई कुनै कुराको प्र्रलोभन देखाउन परेन उतिबेलाका उम्मेदवारहरुले । यो अवस्थाका मतदातालाई आफ्नो समुदायको अधिकारको कुनै अर्थ राखेन । तत्कालिन समयका मतदाताहरुले आफुलाई दास सम्झे । धनि, गरिब, ठूलो–सानो जात हुनु भगवानको देन सम्झे ।  उनिहरु आफ्नो दैनिकी घाँस दाउरा मेलापातमा मात्रै केन्द्रीत रहेको र आफ्नो जिविका गुजार्ने तर्फमात्र ध्यान गएको थियो ।  आफ्नो अधिकारको बारेमा कहिँकतै ध्यान जाने अवस्थै थिएन । तत्कालिन समयमा पार्टी बिहिन समय थियो । यो समयमा एक पटक बोले पछि जुन पार्टी(समुह)लाई भोट दिने भनेको छ उसैलाई दिनु पर्ने, धर्म छोड्न नहुने अवस्थाबाट हाम्रो नेपाली समाज गुज्रिरह्यो । तत्कालिन समयमा अन्तर पार्टीका मानिस बिच टकराव थिएन । एकलाई पर्दा अर्कोले सहयोग गर्ने चलन थियो । उत्त समयमा वडा देखि केन्द्रसम्म अन्ध एकलजातिवादी सरकारको हालिमुहाली रह्यो । 
 
२. अल्पचेत (Less-consciousness Stage) चिन्ने अवस्था
२०४० साल देखि २०५५ साल सम्मको निर्वाचनहरुमा नेपाली नागरिकको केहि मात्रमा चेतना खुल्न थालेको थियो । यो चिन्ने वा अल्पचेतको अवस्था थियो । यो अवस्थामा नेता चिन्नु पर्ने तर अधिकार र राज्यसक्ता चिन्नु नपर्ने अवस्था रह्यो । राज्यसत्ता भनेको ख्यालै गरेन्न । कुन पार्टीको उम्मेदवार को हो? कुन चिन्ह्मा भोट हाल्नु पर्छ सो कुराको मात्र चेतना खुलेको थियो । पार्टी र उम्मेदवारको नाम अनि चुनाव चिन्ह थाहा पाए हुने अवस्था थियो । जमान र इमान छोड्न नहुने तर मतदाताले आत्मसम्मान पाउनु पर्ने, आफुलाई नेताले प्रत्यक्ष नचिने पनि आफुले चिन्नु पर्ने चेतनाको अवस्था सिर्जना भएको थियो । यतिवेलाका विभिन्न पार्टीमा लाग्ने मानिसहरुले निषेध र प्रतिशोधपूर्ण राजनीति गरिरह्यो । विरोधि पार्टीबिच एकआपसमा छरछिमेकि, इष्टनाता, गाउँ समाजसँग झै झगडा र पानी आगो बाराबार, विहेबारी बन्द अवस्था थियो । यतिबेलाका मतदाताले आफ्नो सर्वस्व गुम्दा पनि रति भर चिन्ता लिएन्न । बरु जन्म, कर्म र भाग्यको कारणले गरिबिको चरम सिकार बन्नु परेको चिन्तनको हाबि थियो । मतदातालाई ठूला पार्टीको कार्यकर्ता भएपछि फौजदारी मुद्धा वा जस्तो सुकै मुद्धा लागे पनि छुटकारा पाइन्छ भन्ने भ्रम थियो । संविधान र ऐन कानुन भन्दा माथि पार्टी र पार्टी भन्दा माथि नेता हुन्छ भन्ने भ्रमको जालो थियो । यतिबेला पनि एकल जातिवादी सरकारलेनै राज गर्यो वडा देखि केन्द्रीय सरकार सम्म ।

३. अर्धचेत  (Semi-consciousness Stage) लिने अवस्था
२०५५ देखि २०७० साल सम्म जति निर्वाचनहरु भए यस अवस्थामा नेपाली जनताको चेतना स्तरले पाइला चाल्न थालेको देखिन्छ । यो चरणमा जे दिए पनि लिने चरण थियो । तत्कालिन अवस्थामा पार्टी र उम्मेदवारको नाम, चुनाव चिन्ह चिनेर मात्र नपुगि  क्षणिक मोजमस्ति जस्तै रक्सि, मासु, पैसा दिनु पर्ने अवस्थाको चेतना विकास भएको देखिन्छ । यो चरणमा जस्को भोज खाएको छ वा पैसा लिएको छ उसैलाई भोट दिने अवस्था रह्यो । धर्म, आत्मसम्मान, तथा प्र्रत्यक्ष व्यक्तिगत फाइदा पाउनु पर्ने अवस्था सिर्जना भएको थियो । यो चरणमा आउँदा अन्तरपार्टीबिच झै झगडा केहि मात्रमा कम भएको थियो । एउटा पार्टी र अर्को पार्टीबिच अर्मपर्म, लेनदेन, विहेवारी हुनै हुन्न भन्ने सोंचमा कमि आएको देखिन्थ्यो । यस समयमा गठित सरकारमा आंशिक बहुल जातिय सरकारको गन्ध आउन थालेको देखिन्छ ।

४.सचेत (Consciousness Stage) बन्ने/बनाउने अवस्था
२०७० साल देखि २०८५ सालमा भएका र हुने निर्वाचनमा नेपाली जनताको चेतनास्तर माथि उठेको छ र उठ्ने छ । यो समय नेता, सिडियो, राजदुत, जिएम आदि बन्ने र सडक, विद्युत, विद्यालय, हस्पिटल बनाउने वा निर्माण गर्ने समय हो । यस अवधिमा भएका निर्वाचनमा जनताले जुन पार्टीका नेतालाई भोट हाल्ने हो सो पार्टीका नेताहरुले रक्सि, मासु, भोज, पैसा, पेट्रोल मात्र दिएर नभई सडक, विद्युत, हस्पिटल, खानेपानीको व्यवस्था तथा निर्माण गर्नु पर्ने माग राख्ने चरणमा प्रवेश गरेकोछ । जनताको आंशिक चेतनास्तर खुलेको कारणले रोजगार दिनु पर्ने माग पनि राख्न थालेका छन् । यो चरणमा टि. भि., पत्रपत्रिका, एफ. एम. रेडिया, इलोक्ट्रोनिक मिडियाले प्रमुख भुमिका खेलेको छ । चुनाव जित्नु र हार्नु मिडियाको प्रम्ख भुमिका रहेको छ । यो चरण संक्रमणकालिन चरण हो । यस चरणमा अन्तर पार्टीबिचका जनताहरु समाजिक व्यवहार, बोलीचालीनै बन्द गर्नु राम्रो होइन भन्ने चिन्तनको विकास हुँदैछ । यतिबेलाका मतदाताले आफ्नो मत खेर जान नदिने भनि ठूला पार्टीमा मतदान गरेको पाइन्छ । साना पार्टीलाई मतदान गर्दा भोट खेर जाने भन्ने भ्रमको विकास भएको छ । विशेषतस् मतदाताहरुले आत्मसम्मान र  आफ्नो सामुहिक अस्तित्वको खेजीमा छन् । तसर्थ निर्वाचनमा मतदान गरेपछि आफुले मतदान गरेको पार्टीको नाम मिडियामा आउनु पर्ने चाहाना राख्छन् ।  यो चरण राज्यसक्ता प्राप्तिको आंशिक चेतनास्तर खुलेको तर पूर्ण रुपमा नखुलेको अवस्था हो । जनमुक्ति पार्टीको बिचारधाराको प्रत्यक्ष वा अपूत्यक्ष प्रभावले गर्दानै वर्तमान समयमा काँग्रेस, एमाले, माओवादी आदि पार्टीले आंशिक रुपमा भए पनि आफ्नो पार्टी सत्ता र सरकारको सत्तामा  आदिवासि जनजाति, दलित, महिला, मुस्लिमलाई अवसर दिएको छ । जनमुक्ति पार्टीको स्थापना र यसले राख्दै आएको न्यायिक मागको पत्यक्ष फाइदा अन्य दलका आदिवासि जनजाति, दलित, महिला, मधेशि आदिले लिएको छ । यसैको परिणामस्वरुप नेपाली काँग्रेस, एमाले माओवादी पार्टीहरुबाट आदिवासि जनजाति, दलित, मधेसि, मुस्लिमहरुले उल्लेख्य मात्रमा स्थानिय निकायको निर्वाचनमा जित हाँसिल गरेका छन् ।  यो उनिहरुको बाध्यता हो । वास्तवमै भन्दा काँग्रेस र कम्यूनिष्ट पार्टीले आदिवासि जनजाति, दलित, महिला, मधेसिलाई प्रान्तिय तथा संघीय निर्वाचनमा जित्ने अवसर दिनेछ वा छैन हेर्न बाँकि छ ।  

तितो सत्य त यो होकि नेपाली काँग्र्रेस, एमाले, माओवादी पार्टी भित्रका आदिवासि जनजाति, मधेसि दलितले आ–आफ्नो  पार्टी भित्र आफु र आफ्नो समुदाय विभेदमा परेको, सबै उत्पिडित जातिले सत्तामा प्र्रतिनिधित्व पाउनु पर्छ भन्ने आवाज राख्न सकिराख्या छैनन् । कहिँ कतै कुरा राखि हाल्यो भने कुनै अवसर गुम्ने हो वा चुनावमा टिकट नपाउने होकि वा कार्बाहिमा पर्ने हो भन्ने त्रासमा छन् । काँग्रेस र कम्यूनिष्ट पार्टीमा बस्ने उत्पिडितहरु आस र त्रासमा छन् । वर्तमान समयमा स्थानिय तहमा भए पनि अर्धबहुजातिय सरकारको अभ्यासमा देखिन्छ ।

५. अधिक सचेत (Ultra-Consciousness Stage)पुग्ने अवस्था
२०८५ साल देखि नेपाली जनता सर्वभौम हुने अधिक चेतना विकास हुनेछ । यो समय राज्यसत्ता र अवसरमा पुग्ने अवस्था हो । यो अवस्थाका नागरिकले कसैलाई कसैले शक्तिशाली सम्झने छैन र आफुलाई लघुताभाष पनि सम्झने छैन । राष्ट्रिय जनमुक्ति पार्टीले २०४७ साल बैशाख २३ गते देखि उद्घोष गर्दै आएको जङ्गलमा बस्ने राउटे देखि सबै जातिहरुसँग प्रधानमन्त्रि, राष्ट्रपति, मुख्य सचिव , राजदुत हुने क्षमता छ भन्ने संभाव्यताको(Potentiality) खोजी(Explore) गरिनेछ । जनमुक्ति पार्टीले परिकल्पना गरेको बहुजातिय लोकतान्त्रिक समाजवाद (Multinational Democratic Socialism) लाई नेपाली नागरिकले अंगिकार तथा आत्मसाथ गर्नेछन् । जनमुक्ति पार्टीले दिशानिर्देश र दिशावोध गरेको सबै जातिय समुदायहरुको भाषा, धर्म, सँस्कार, भेषभुषा, अर्थिक, सामाजिक, राजनीतिक अधिकार केन्द्रीकृत हुने छ । कुनै पनि उत्पिडितहरु किनारकृत र सिमान्तकृत हुने छैन्न । सबै खाले जातिय, भाषिक, धार्मिक, साँस्कृतिक, सामाजिक, आर्थिक, राजनीतिक समास्याबाट मुक्त भई सबै जातिय समुदायले स्थानिय तह देखि केन्द्रीय तहसम्म पहुँच, प्रतिनिधि, पहिचानित हुने  चेतना विकास हुने छ । यो चरणमा जातिय जनसंख्याको आधारमा समानुपातिक समावेशि सरकार स्थापनाका हुनेछ । यो समयमा पूर्ण बहुजातिय सरकारको स्थापना लागि अग्रसर हुनेछ । तसर्थ यो समयकोे जातिय समुदायले  “मासु” होइन एतिहासिक “आँसु”को मोल खोज्नेछन् । “भत्ता” होइन “सत्ता” लिनेछन् । “मतदाता” होइन “नेता” बन्नेछन् । “सडक” बनाउने होइन “सदन” बनाउनेछन् । क्षणिक “अवसर” होइन दीर्घकालिन “अधिकार” प्राप्त गर्नेछन् ।  
 
त्यसैले अबको समय, परिस्थिति र परिवेशलाई मध्यनजर गर्दा नेपाली समाज सत्ताउन्मुख राजनीति तर्फ अघि बढेको छ । यो कसैले रोकेर रोकिने वा छेकेर छेकिने अवस्था होइन । कुनै पनि जातिय समुदायले कुनै समुदायको कोख र कुलमा जन्मेकै आधारमा अपमानित र विरोध गरिने छैन । सत्तामुखि, अधिकारीमुखि , समानतामुखि तथा विभेद रहित समाज निर्माण गरि संसारको एक दिगो शान्ति र विकसित मूलुकको रुपमा  नेपाललाई स्थापित गर्नुपर्छ भन्ने चेतनाको विकास हुनेछ ।

Last Updated on Friday, 07 July 2017 03:53

Hits: 941

राजपा को आन्दोलन घोषणा कि मुस्लिम लिग को पथ अनुशरण ?

अमर दीप मोक्तान

Image may contain: 1 person, closeup
डाडा खर्क, दोलखा - दोस्रो चरण को चुनाव तैयारी जोर शोर मा छ, पार्टी हरु धमाधम उम्मेदवार  छान्न व्यस्त  छन्  भने सरकार ले संबिधान संशोधन ,जनसंख्या को आधार मा निर्वाचन क्षेत्र घोषणा ,पार्टी दर्ता,चुनाव चिन्ह र मधेश आन्दोलन का क्रम मा लागेको सरकार वादी मुद्दा फिर्ता लगाएत का विषय मा सत्तापक्ष  ले गरेको प्रतिबद्धता पालन न गरेको भनि  राष्ट्रिय जनता पार्टी ले चुनाव मा भाग न लिने र निर्वाचन रोक्न सशक्त आन्दोलन गर्ने निर्णय गरेको छ | प्रश्न छ चुनाव के का लागि ? चुनाव त् यस्तो माध्यम हो जहाँ प्रत्यक्ष रुप मा जनता समक्ष प्रस्तूत भएर सरकार ले गरेको अन्याय लाई उजागर गर्ने  र सरकार ले आफु द्वारा  जनता प्रति गरिएको न्याय र उब्लाब्धि को बयान गर्ने एउटा सशक्त मंच हो | आखिर राजपा ले यस्तो राम्रो माध्यम हुदा हुदै चुनाव लाई किन रोजेन ? आन्दोलन को बाटो नै रोज्यो किन ? राजपा द्वारा निर्वाचन बिथोल्न आन्दोलन गरेको हो भने यसले अविभाज्य भारत मा मुस्लिम लिग द्वारा पाकिस्तान निर्माण का लागि अपनाएको रणनीति को अनुशरण नै भन्न  सकिन्छ | हुबहु न भएता पनि अविभाज्य भारत को तस्वीर र मधेशी दल द्वारा अपनाइएका हमेशा विरोध गर्ने रणनीति मुस्लिम लिग संग मिदोजुल्दो छ र यसका लागि अविभाज्य भारत मा के भएको थियो र  भारत किन पाकिस्तान बनाउन बाध्य हुन् पर्यो त्यो इतिहाश को सन्क्षिप्त  पाना निहार्न अति जरुरि छ | 

अविभाज्य भारत को १९४६ को स्थिति लाइ दुर्ब्यवास्था भन्नु नै उचित हुने छ | भारतीय कांग्रेस को अंग्रेज लाई सम्झाउन का लागि प्रयास थियो कि उनीहरुले अब बल प्रयोग गरेर भारत मा राज्य गर्न सक्दैनन | अंग्रेज हरु लाई पनि १८५७ को सिपाही विद्रोह ,मुम्बई ,कराची मा नौसेना को विद्रोह ले गर्दा भारतीय सशत्र  बल मा बिल्कुलै विश्वाश रहेन | कांग्रेस चाहन्थ्यो संबिधान सभा को प्रारूप तैयार गर्ने ,संबिधान सभा को बैठक को आव्हान , भारत स्वतन्त्र को घोषणा र अन्तरिम सरकार को स्थापना जब कि मुस्लिम लिग को दृढ आकान्छा थियो जसरि भए पनि भारत को विभाजन गर्दै पश्चिमोत्तर र पूर्वोत्तर भारत का  मुस्लिम बाहुल्य प्रान्त त्यसलाई मिलाएर एउटा स्वतन्त्र पाकिस्तान को निर्माण गर्ने |

मुस्लिम लिग अध्यक्ष मोहम्मद अली जिन्नाह ले भनेका थिए पाकिस्तान निर्माण गर्न का लागि या त् हामी भारत को बिभाजन गर्छौं अथवा भारत को विनाश गर्छौं | पाकिस्तान निर्माण को योजना अगाडी बढाउन जिन्नाह ले बलपूर्वक पाकिस्तान प्राप्त गर्न मुसलमान लाई आव्हान गरे | वास्तव मा जिन्नाह ले गरेको आव्हान सरकार विरुद्ध विद्रोह र हिन्दु को वंश नाश को घोषणा थियो | १६ अगस्त १९४६ मुस्लिम लिग ले अविभाज्य भारत को मुसलमान लाई पाकिस्तान प्राप्ति का लागि सिधा कारवाही दिवस मनाउन घोषणा गरे | बङ्गाल का तात्कालिन  मुख्यमन्त्री सोहरावर्दी जो मुस्लिम  समुदाय का थिए  कलकत्ता को एक सार्वजनिक सभा मा सम्बोधित गर्दै सीधा कारवाही गर्ने आवहान गरे साथ साथै सिधा कारवाही लाई  सफल तुल्याउन सेना र पुलिस लाई निस्क्रिय भएर बस्न आदेश दिए फलस्वरूप सभा सम्पन पश्चात कलकत्ता मा सुनियोजित ढंग ले दंगा भड्कियो र हिन्दु र सिख को नरसंहार भयो | बङ्गाल का तत्कालिन गवर्नर ले चार दिन पश्चात दंगा भड्काउने अराजक तत्व विरुद्ध कारवाही प्रारम्भ गरे जबकी त्यस बेला सम्म लगभग ५००० जना ले ज्यान गुमाई सकेका थिए |

२ सितम्बर १९४६ एक अन्तरिम सरकार को गठन भयो जसमा पण्डित जवाहरलाल नेहरु गवर्नर जनरल परिषद को उपाध्यक्ष तथा नेहरु सहित ५ सवर्ण(उच्च जाति)  हिन्दु ,३ मुस्लिम, १ इशाई, १ पारसी र १ अनुसूचित जाति समेत १२ जना को चयन भयो | प्रथम मा मुस्लिम लिग अन्तरिम सरकार मा समावेस हुन् इन्कार गरे तर २६ अक्टुबर १९४६ अनिस्टकारी  उद्देश्य का साथ सरकार मा सम्मिलित भए | मुस्लिम लिग को भित्रि उद्देश्य परिषद भित्र रहेर पाकिस्तान निर्माण का लागि लड्न थियो | मुस्लिम लिग ले सरकार को काम मा गतिरोध पैदा गर्ने हर सम्भव कदम उठायो |परिषद का तात्कालिन वित्मन्त्रि  लियाकत् अलि खान ले अन्य मन्त्रि हरु द्वारा पठाइएका प्रस्ताव को मन्जुरी न दिने रणनीति बनाए |
पन्जाब र बङ्गाल मा बारम्बार भड्किने साम्प्रदायिक दंगा  ,१९३७ को तुलना १९४६ मा मुसलमान ले कांग्रेस मा वोट न दिनु र अन्तरिम सरकार मा रहेका मुस्लिम सदस्य हरु को बारम्बार  अवरोध गर्नु को साथै  मुस्लिम लिग को विनाशकारी द्रिस्तिकोण का कारण विवस भएर कांग्रेस ले बिभाजन स्वीकार गर्यो |कांग्रेस द्वारा मुस्लिम लिग लाई कहिले मान्ने कहिले नकाराने नीति तथा हिन्दु महासभा लगाएत का अन्य दल हरु लाई दबाउने ,उपेक्षा गर्ने नीति को परिणाम भारत को लागि घातक सिद्ध भयो | ९ सितम्बर १९४६ संबिधान सभा को प्रथम बैठक मा मुस्लिम लिग ले सम्मिलित हुन् इनकार गरे | मुस्लिम को माग थियो संबिधान सभा को विघटन र विघटन गर्नु को कारण को रुप मा संबिधान सभा ले भारत क सबै भाग को प्रतिनिधित्व न भयको भनि आरोप लगाइयो |

मार्च १९४७ लर्ड बावल को स्थान मा लर्ड माउन्टबेटन ले पदभार ग्रहण गरेकै दिन भारत विभाजन को घोषणा प्रकाशित गरियो | कांग्रेस र मुस्लिम लिग ले विभाजन लाई स्वीकार गर्यो | योजना अनुशार पन्जाब र बङ्गाल  का सदस्य हरु ले जो मुस्लिम बाहुल्य क्षेत्र बाट प्रतिनिधित्व गर्दै हरु लाई  अलग स्थान मा एकत्र भएर तथा गैर मुस्लिम बहुमत भएको सदस्य हरु अलग स्थान मा एकत्र भएर आफ्नो मत द्वारा प्रान्त विभाजन गर्ने वा न गर्ने नीति अपनाइयो फ़लस्वरुप् पन्जाब बङ्गाल ,पश्चिमोत्तर आसम को मुस्लिम बाहुल्य क्षेत्र सिल्हट ,बलुचिस्तान ,सिन्ध को परिणाम सबै लाइ जगजाहेर थियो |आज अविभाज्य भारत बाट  छुट्टिएर दुई नया राष्ट्र को निर्माण भएको छ पाकिस्तान र बंगलादेश जबकी बहुसंख्यक  भारतीय मुसलमान हरु भारत खण्डित गरेर पाकिस्तान निर्माण का पक्ष् मा थिएनन् यो त् उत्तर प्रदेश बिहार  लगाएत का केहि टाठा बाठा नवाब  र जागिरदार को अति मह्त्वाकान्छा र हठधर्मिता को परिणाम थियो | पाकिस्तान र बंगलादेश निर्माण गर्न  अराजकता पूर्ण क्रियाकलाप गर्ने हरु त् आज छैनन् तर उनीहरु का सन्तान आज यता न उता को स्थितिमा मोहाजिर को ठप्पा लगाएर पश्चाताप बोध गर्दै पाकिस्तान र बंगलादेश मा दयनीय स्थिति मा  जीवन यापन गर्न बाध्य छन् |

प्रसंग  पुनः राजपा को अन्दोलन को सन्दर्भ मा भन्नु पर्दा अथक प्रयाश पश्चात नेपाली जनता लाई  प्राप्त भएको  संबिधान लाई संस्थागत गर्न चुनाव को अनिवार्यता  बुझ्दा बुझ्दै  राजपा ले बिना ताल को मादल किन बजाएको हो ? के राजपा को भित्रि चाहना भनेको संबिधान लाए असफल बनाउनु नै हो त ? विश्व मा कुनै पनि देश मा सतप्रतिशत स्वीकार्य भएको संबिधान निर्माण भएको छैन त्यस्तै गरि नेपाल को संबिधान पनि सतप्रतिशत त्रुटी रहित छ भन्नु गलत हुने छ तर यसो भन्दै मा नेपाल को संबिधान  अति नराम्रो छ कामै  न लाग्ने छ भन्नु चाही नियत मा खोट हो भन्ने बुझिन्छ | लोकतान्त्रिक बिधि को पालना न गर्दै राजपा को माग मान्नु पर्ने यदि  राजपा ले अघि सारेको माग सम्बोधन मा व्यवधान उत्पन्न हुदा  चुनाव नै बिथोल्ने गर्ने गरि  आन्दोलन को घोषणा काही कसैको इशारा मा  संबिधान लाई असफल बनाउन एवं नेपालमा  अशान्ति को वातावरण निमाण का लागि  रचिएको षड्यन्त्र को हिस्सा त होइन ? तराई मधेश मा नया उर्जा ,नया शक्ति र व्यापक जनाधार भएको उपेन्द्र यादव नेत्रत्वको संघीय समाजवादी फोरम र विजय गच्छेदार नेत्रत्व को नेपाल लोक्तान्रिक फोरम चुनाव मा सहभागी हुने देखेर पराजित हुने भय ले राजपा ले चुनाव मा भाग न लिने निर्णय पनि एक कारण हुन् सक्छ |

रह्यो चुनाव हुने न हुने सन्दर्भ मा चुनाव जस्तो सुकै परिस्थिति आए पनि संबिधान संस्थागत गर्न चुनाव हुने पर्छ | राजपा ले चुनाव मा भाग लिने वा न लिने  उसको अधिकार हो र उसको अधिकार को सम्मान हुनु पर्छ साथै संबिधान संस्थागत गर्न चुनाव अनिवार्य भएको हुनाले सरकार ले जस्तो सुकै परिस्थिति आए पनि चुनाव गराउनु पर्छ | छिमेकी राष्ट्र भारत मा पनि चुनाव बहिस्कार गर्ने,चुनाव बिथोल्ने  मा  माओवादी.नक्सलवादी , उत्तर पुर्व का संगठन र कश्मिर का अलगाव वादी लगाएत दल हरु छन् तर  जस्तो सुकै विषम स्थिति भए पनि चुनाव त भएकै छ भने नेपाल मा चुनाव किन न हुन् सक्ने ? संबिधान संस्थागत गर्न अब हुने भनिए को चुनाव अनिवार्यता हो तसर्थ चुनाव न हुने न गराउने भन्ने प्रश्नै  हुदैन | अहिले पनि समय छ सके सम्म विधिसम्मत ढंग ले राजपा लाई पनि चुनाव मा आउने वातावरण बनाउनु पर्छ यदि त्यसो न भएमा पनि  चुनाव चाही हुनै पर्छ  |

Last Updated on Monday, 12 June 2017 11:55

Hits: 386

गाेर्खालीकाे “पेट” हुन्छ, तर “देश” हुदैन

बलदीप राई

भनिन्छ:

if a man says that he is
not afraid of dying, he is
either telling a lie or he is
the Gurkha .

यदि कुनै मानिसले आफू मर्न
डराउँदिन भन्छ भने कि उसले
ढाँटेकाे हाे कि उ गाेर्खाली
हाे ।

याे माथिका कुरा नरेन्द्र माेदीले नेपालकाे व्यावस्थापिका-संसदमा नेपालीलाई फुर्क्याउनमात्रै भनेका रहेछ भन्ने प्रष्ट भाेे जब उनकै देशका नागरिकहरूले गार्खाल्याण्ड माग्दा उनीहरूकाे नितम्बमा सुम्लाे बसिन्जेल् माेदीले बजाउन लगाए ।

# यदि गाेर्खालीहरूकाे बहादुरीकाे सम्मान हुन्थ्याे भने त्याे जाबाे कत्राे नै माग थियाे र । स्वतन्त्र छुट्टै राज्यकाे माग थिएन, आखिर उही दिल्लीकै निर्देशन मान्नुपर्ने स्वयत्त राज्यकाे माग नै त थियाे ।

तर पनि दिल्लीले भारतीय गाेर्खालीहरूलाई गाेली र लाठी बर्षाइरहेका छन् । यसकाे अर्थ गाेर्खालीलाई हृदय देखि नै सम्मान र इज्जत दिइदैन र गाेर्खालीहरू साध्य हाेइनन् साधन मात्रै हुन भन्ने कुरा प्रष्ट छ ।

# “हामी गाेर्खाली हाैं , हामी वीर छाै” भनेर कुन्ताकाे थेप्चाे र ठेंडाे नाक त्यस माथि फुर्किएर अरू फुल्याउँछाैं । तर हाम्राे प्रतिष्ठकाे कुनै उचाइ नै छैन ।

# बरू यहुदी जातिकाे अस्तित्वकाे लागि विश्वले सम्मान दिए । सम्मानमात्र हाेइन, ईजरायल देश नै स्थापना गरिदिए । किनकि यहुदीले बुद्धि र विवेकले प्रभावित बनाएकाे थियाे र यहुदीहरूले आफ्नाे राजनैतिक अग्रज थियाेडर हर्जलले भनेका मानेका थिए ।

# गाेर्खालीकाे पेटमात्र हुन्छ देश हुदैन भन्ने कुरा राम्ररी थाहा छ । यी जातिहरूलाई भारतले आफ्नाे लागि बन्दुक बाेकाएर जागिर दिएकाे छ । गाेर्खालीलाई पैसा दियाे भने जहाँ गएर पनि लडिदिन्छन् भन्ने साेच भारतलाई छ । महिनाकाे २ लाख तलब दियाे भने ISI काे लडाकुमा पनि भर्ना हुन जान्छन् भन्ने दिल्लीलाई थाहा छ । यस्ताे छाप दिल्लीमा रहे पछि दार्जिलिङकाे बिमल गुरूङलाई माेदीले टेर्छ ?

# दार्जिलिङका गाेर्खेलाई दिल्लीले नेपालका राई, लिम्बु, मगर, तामाङ, गुरूङ, नेवारकाे रूपमा लिएकाे छ । यी जातिहरूकाे हालत दिल्लीलाई राम्ररी थाहा छ । संसारमा बहादुर जाति शासक हुन्छ तर नेपालमा बहादुर जाति गुलाम छन् भन्ने कुरा दिल्लीलाई थाहा छ । भारतीय गाेर्खेकाे नेपालका उद्गम वंशहरू नै नालायक भए पछि दिल्लीले पत्याउँछ त ? यदि नेपालकाे सिहदरबारमा गाेर्खालीहरू भनिएकाहरूकाे दबदबा हुन्थ्याे भने दिल्लीले उनकाे गाेर्खेलाई कदर गर्थ्याे ।

# याे गार्खाली शब्दकाे ब्रान्डमा नै इज्जत छैन । आखिर त्याे सिक्किमका मुख्यमन्त्री राई नै हुन् । उनले मज्जाले राज गरिरहेका छन् । उ गाेर्खाली हुन खाेज्याे भने चिप्लिन्छ ।

# हामी गाेर्खाली मात्रै हाै अझै नेपाली हुन सकेका नै छैनाै । विदेशीले हामीलाई नेपाली (सार्वभाैमसत्ता सम्पन्न नागरिक) भनेर मान्यता नै दिएका छैन, गाेर्खाली भन्छन् । गाेर्खाली हुनु र नेपाली हुनु फरक हाे भन्ने चेत हामीमा खुलेकै छैन ।

# जब सम्म नेपालका गाेर्खाली नेपाली हुन सक्दैनन् तब सम्म भारतका गाेर्खेकाे मुल्यांकन हुन्न ।

# यहाँ नेपालमा आफू नेपाली बन्न सकेका छैनन्, आफ्नाे अस्तित्वकाे ठेगाना किटान गर्न सकेका छैन् तर उता भारतीय गाेर्खेकाे मुद्दालाई भाईरल बनाउँछाैं ।पहिले गाेरखालीलाई नेपाली बनाउने राजनीतिक पार्टीकाे चुनाव चिन्ह “घर” लाई चाहि भाईरल बनाएर मुक्ति र माेक्ष प्राप्त गर्नु नि ।

# अनुहार र वंश मिलेर हुन्न , राष्ट्रियता मिल्नु पर्छ । सिक्कमका पवन चामलिङ र नेपालका बलदीप चामलिङ रगत र वंशले मिल्छ । तर राष्ट्रियताले मिल्दैन । उ भारतकाे हाे, म नेपालकाे हाे । ईलाम पारिकाे सिक्किमकाे डाडाे मेराे हाे भनेर दावी गर्न जाँदा बलदीपलाई पवनले गाेली ठाेक्छ । याे मेराे वंश र रगत हाे भन्दैनन् ।

लेखक राष्ट्रिय जनमुक्ति पार्टीका सचिब हुन् ।
source:-esamata.com

Last Updated on Thursday, 29 June 2017 16:33

Hits: 535

दोस्रो चरण को चुनावमा कुन पार्टी निर्णायक ?

अमरदीप मोक्तान
 
जेष्ठ ३१ गते हुने  दोस्रो चरण को गाउँ पालिका, नगर पालिका चुनावको तैयारी चरम उत्कर्षमा छ । तराइ मधेशका बहुसंख्यक मतदाता लोकतन्त्रको महापर्व रुपी चुनावमा भाग लिन आतुर छन् ।  दोस्रो चरणको चुनावमा सहभागी हुन मधेशी दल द्वारा प्रस्तावित गरिएको माग मध्ये स्थानीय  तह थप्ने माग का विषयमा सरकारले २३ वटा स्थानीय तह थप्ने निर्णय पश्चात तराइ मधेशमा चुनाव हुने वातावरण बनेको छ । नेपाल लोकतान्त्रिक पार्टी (गच्छेदार) र संघीय समाजवादी फोरम (उपेन्द्र यादव) ले प्रथम चरणको चुनावमा सहभागी भएर केहि गाउँपालिका र वडामा विजय हासिल गरेर खाता खोलेका छन् र दोस्रो चरणको चुनावमा भाग लिने स्पष्ट छ, तर महन्थ ठाकुर, राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय जनता पार्टी द्वारा माग प्रति लिएको अडानले चुनाव न होला भन्ने सन्देह थियो तर सरकार द्वारा स्थानीय तह थप्ने निर्णयले त्यो बाधा पनि हटेको छ । समग्रमा चुनाव हुने न हुने बारे भन्नु पर्दा यदि कुनै अघटन मात्र भए नत्र भने अब चाही दोस्रो चरणको चुनाव हुनेमा लगभग सहमति बनि सकेको प्रतित हुन्छ ।
 
प्रथम चरणको चुनावमा एमाले अग्र पंक्तिमा देखिएता पनि एमालेको राजनैतिक भविश्यका लागि त्यो परिणाम सन्तोषप्रद होइन र त्यो एमालेले पनि स्वीकार गरेको अवस्था छ । प्रथम चरणको चुनावमा एमालेले जति राम्रो परिणामको आशा गरेको थियो त्यो परिणाम आएन । प्रथम चरणको चुनावमा तेस्रो भएता पनि वास्तवमा लाभको स्थितिमा माओवादी नै देखियो । दोस्रो चरणको नगरपालिका गाउँ पालिका चुनाव परिणामले नेपालका ठुला राजनैतिक पार्टीहरुको भाग्यको फैसला गर्नेछ । दोस्रो चरणको चुनाव किन महत्वपूर्ण छ भने दोस्रो चरणको चुनाव हुने भनिएको प्रदेश १ र ७ मा एमाले काँग्रेस बलियो स्थितीमा छ भने २ र ५ मा काँग्रेस, एमाले, माओवादी पार्टी बाहेकका राजनीतक दल नेपाल लोकतान्त्रिक फोरम, संघीय समाजवादी फोरम र राष्ट्रिय जनता पार्टी तराई, मधेशको भूभागमा मजबूत स्थितिमा छन् ।
 
दोस्रो चरणको चुनावमा जातीय समीकरणको कुरा गर्दा पहाडी छेत्री, बाहुन, आदिवाशी, मधेशी, थारु, मुसलमान, दलित मतदाता निर्णायक हुने छन् र कुन पार्टीले उल्लेखित मतदाताहरुलाई आफ्नो पक्षमा ल्याउन र कति सम्म रिझाउन सक्ने हुन् त्यो हेर्न बाकी छ । दोस्रो चरणको चुनावमा काँग्रेस एमाले माओवादीलाई चुनौती दिने नेपाल लोकतान्त्रिक फोरम, संघीय समाजवादी पार्टी र राष्ट्रीय जनता पार्टी मध्ये नेपाल लोकतान्त्रिक फोरमको सांगठनिक बनावट छेत्री बाहुन आदिवाशी थारु मुसलमान दलित लाई सम्मानजनक स्थानमा स्थापित गरेको हुनाले र गच्छेदार स्वयम् पनि थारु आदिवाशी भएको हुनाले संघीय समाजवादी  फोरम र राष्ट्रिय जनता पार्टीको अपेक्षा मजबूत स्थितीमा देखिएको छ ।
 
दोस्रो चरणको चुनाव हुने भनिएको प्रदेशहरुको जनसंख्या तथ्यांकमा प्रथममा पहाडी छेत्री बाहुन पर्दछन भने दोस्रोमा थारु लगाएत पहाडी आदिवाशी दोस्रोमा पर्दछन त्यस्तै तेस्रो चौथो पाँचौमा क्रमसः मधेशी, मुसलमान र दलित पर्दछन । दोस्रो चरणको नगरपालिका गाउँ पालिका चुनावमा जति सुकै विस्लेषण गरिएता पनि उल्लेखित चुनावमा जातीय जनसंख्या र समीकरणले महत्वपूर्ण खेल खेल्ने छ । अधिकांश जस्तो छेत्री बाहुन मत एमाले काँग्रेस र माओवादी बाडिने छन् भने अधिकांश थारु लगाएतका आदिवासी र केहि प्रतिशत मुसलमान, दलित मत नेपाल लोकतान्त्रिक पार्टी (गच्छेदार)मा जाने, संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादव भएको हुनाले अधिकांश यादव मतदाता आकर्षित हुने छन् साथै केहि पहाडी आदिवाशी, मुसलमान, दलित मत पनि आकर्षित हुने छन् त्यस्तै गरि राष्टिय जनता पार्टीको पक्षमा तराई मधेशका अधिकांश मधेशी सवर्ण, बनिया र केहि मुसलमान, दलित यादव मतदाताको मत आकर्षित हुने छ ।
 
विजय कुमार गच्छेदार, उपेन्द्र यादव, महन्थ ठाकुर लगाएतका नेताहरु मोर्चा बनाएर चुनाव लड्ने चर्चा सुनिएको छ । दोस्रो चरणको चुनाव अघि नेपाल लोकतान्त्रिक फोरम (गच्छेदार) संघीय समाजवादी फोरम (उपेन्द्र यादव)र राष्ट्रिय जनता पार्टीले कार्यगत एकता, मोर्चा  अथवा गठबन्धन बनाएर चुनावमा सहभागी भए निसन्देह उल्लेखित पार्टी काँग्रेस, एमाले, माओवादी जस्तै नेपालको राजनीतिमा उदयमान शक्तिको रुपमा स्थापित हुने छन् र गाउँ पालिका नगरपालिका चुनाव लगतै हुने प्रदेश तथा केन्द्रको  चुनावमा काँग्रेस एमाले माओवादीका लागि ठुलो चुनौती साबित हुने छन्  | 
 
यदि दोस्रो चरणको चुनावमा नेपाल लोकतान्त्रिक फोरम, संघिय समाजवादी फोरम र राष्ट्रिय जनता पार्टीमा मोर्चा अथवा गठबन्धन न भएको अवस्थामा सांगठनिक संरचना र जातीय समीकरण अनुशार उल्लेखित तिन पार्टी मध्ये नेपाल लोकतान्त्रिक फोरमले राम्रो प्रदर्शन गर्ने अनुमान गर्न सकिन्छ । यसोदा कुमारी लामा नेतृत्वको दलित जनजाती पार्टी नेपाल, शिवलाल थापा मगर नेतृत्वको राष्ट्रिय जनमुक्ति पार्टी र गोपाल दहित नेतृत्वको थरुहट तराइ पार्टी र विजय कुमार गच्छेदार नेत्रत्व को मधेशी जनाधिकार फोरम लोकतान्त्रिक को एकीकरण पश्चात नया नामकरण र नया संरचना सहित निर्माण भएको  "नेपाल लोकतान्त्रिक फोरम" जातीय समिकरण अनुशार मजबूत बनेको छ | यसोदा कुमारी लामा २ नम्बर प्रदेश को भएको र २ नम्बर प्रदेश मा पर्सा देखि सप्तरी सम्म थारु आदिवासी पश्चात तामांग समुदाय को जनसंख्या बाहुल्य रहेको त्यस्तै गरि राष्ट्रिय जनमुक्ति पार्टीका शिवलाल थापा ५ नबर प्रदेशको भएको र  नवलपरासी देखि बर्दिया सम्ममा थारु पश्चात मगर समुदाय जनसंख्याको बाहुल्यता रहेको आदिवाशी समुदाय रहेको र गोपाल दहित नेत्रत्व को पार्टी थरुहट तराई पार्टी को नवलपरासी देखि कैलाली  कन्चनपुर्  सम्म का थारु समुदाय मा  राम्रो पहुच र प्रभाव भएको कारण ले गर्दा विजय गच्छेदार नेत्रत्वको "नेपाल लोकतान्त्रिक फोरम" दोस्रो चरणको चुनावमा आफ्नो बल बुतामा तराई मधेशको ठुलो राजनतिक शक्ति बन्न सक्ने सम्भावना लाई नकार्न सकिन्न ।
 
दोस्रो चरणको चुनावमा काँग्रेस, एमाले, माओवादीले तराई मधेसका थारु लगाएतका आदिवाशी मधेशी मुसलमान दलित र उपेक्षित वर्ग लाई लाई आफ्नो पक्ष मा मतदान गराउन कस्तो प्रकार को रणनीति र ब्यूह रचना गर्ने हुन् हेर्न बाकी छ । दोस्रो चरणको चुनाव विगत जस्तो त्यति सजिलो छैन मतदाताहरु कति सचेत एवं सजग छन् त्यो प्रथम चरणको चुनावमा साबित भई सकेको छ । मतदाताहरु एमाले, कांग्रेस, माओवादी लगाएत पार्टीहरुका वोट बैंक बन्नु भन्दा पनि असल र उपेक्षितको पक्षमा मतदान गर्न उत्सुक छन् । अंतमा यति मात्र भन्न सकिन्छ दोस्रो चरणको चुनाव राष्ट्रिय पार्टीको पदवी भिरेका एमाले, काँग्रेस, माओवादीका लागि फलामको च्युरा साबित हुने वाला छ ।

Last Updated on Tuesday, 23 May 2017 15:14

Hits: 320

 हार्दिक श्रध्दाञ्जलि - ज्ञान बहादुर गाहा मगर