A+ A A-

मगर आफै पछि परेको होइन,पारिएका हुन् ।

हुम सुनारी मगर

सबै भन्दा पहिला म आफु मगर भएकोमा अति नै गर्व गर्दछु । मुलुकको कुल जनसंख्याको ७% भन्दा बढी मगरहरुको जनसंख्या रहेको, कुल जनसंख्याको आधारमा नेपालको तेश्रो ठुलो र आदिवासी जनजातिमा सबै भन्दा ठुलो जनसंख्या भएको जाति "मगर" हौ भनि चिनाउन पाउँदा आफु मगर हुनुमा अरु बढी गर्व लाग्छ । तर, दुर्भाग्य राज्यको शासन व्यवस्था र निजामती कर्मचारी  लगायत मुलुकको सरकारी तथा गैरसरकारी निकायहरुमा मगरहरुको उपस्थिति र सहभागिता अति नै न्युन रहेको कुरालाई कसैले नकार्न सकिदैन । यसको कारणहरु धेरै हुन सक्छ । तर, मैले देखेको प्रमुख कारणहरु म यहाँ राख्न चाहन्छु ।

) भाषा, धर्म र संस्कृतिको कारणले:  २४५ बर्ष अगाडी पृथ्वी नारायण शाहले नेपाल एकीकरण गरे पछि मुलुकलाई एकात्मकवादको नीति, सिद्धान्त र प्रणाली बाट अगाडी बढायो । मगरले बोल्ने भाषा र अबलम्बन गर्ने धर्म र संस्कृतिलाई दमन गरियो र ओझेलमा पारियो । नेपालको प्रशासनिक निकाय र सबै बिद्यालयहरुमा एउटा मात्रै हिन्दी-संस्कृत भाषा लागु गरियो, जुन मगर जातिले जन्मे देखि सिक्दै बोल्दै आएको आफ्नो भाषा भन्दा पूर्ण रुपले फरक छ ।  वास्तब मै यो नेपाली भनेर लेखिने देवनागिरी अक्षर भारतमा प्रयोग गरिने हिन्दी लिपि नै भएको र कथित नेपाली भाषा भनेर बोलिने ९५ प्रतिशत भन्दा बढी हिन्दीसंग मिल्ने भएको हुँदा पृथ्वी नारायण शाह (ठकुरी), बाहुन, क्षेत्री र दस्नामी आदिले बोल्ने भाषा कथित नेपाली अथवा हिन्दी-संस्कृत भाषा नै हो र तिनीहरुले जन्मदा देखि नै बोल्ने भाषा भएकोले तिनीहरुले मुलुकको हरेक सरकारी तथा गैरसरकारी निकायहरु लगायत राजनीतिक क्षेत्रमा  एक छत्र एकाधिकार जमाउन सफल भए कै हो । पृथ्वी नारायण शाहले नेपालको एकीकरण पछि एक समुहलाई मात्र फाइदा हुने र पोस्ने किसिमको नीति, सिद्धान्त र प्रणाली नेपालमा लागु गरियो र नेपालको बहुसंख्यक आदिवासी जनजातिहरुले बोल्ने भाषा र अंगिकार गर्ने धर्म र संस्कृतिलाई दमन गरिएको कारणले हामी मगरहरु राज्यको हरेक क्षेत्रमा पछि पर्नु परेको कुरा कसैले नकार्न सकिदैन ।

) भारतीय र बेलायती सेनामा भर्तीको कारणले: प्रथम विश्व युद्धको शुरुवात देखि नै तत्कालिन इस्ट इंडिया कम्पनीले नेपालमा बसोबास गर्ने, हेर्दा सोझो जस्तो देखिने, इमान्दार र अनुशासित जाति मगरहरुलाई उनीहरुको स्वार्थको लागि (नेपाल राष्ट्रको लागि नभई) उनीहरुको सेनामा भर्ति गरियो । पछि सन् २०४७ मा ब्रिटिशले भारत छाडे पछि पनि ब्रिटिश सरकार र भारतीय सरकारले मगर जातिका युवाहरुलाई उनीहरुको सेनामा भर्ति गर्ने कार्यलाई निरन्तरता दियो । त्यसले मगर समुदायमा दुइ किसिमको ठुलो प्रभाव पारेको देखिन्छ ।  एउटा: मुलुकको सम्भावित एक जिम्मेवार व्यक्ति अल्प शिक्षा हाँसिल गरे लगत्तै (जो भर्ति भएर गएको छ) बिदेशीको गुलामी बन्न पुगेको हुन्छ ।  अर्को:भारतीय अथवा बेलायती सेनामा भर्ति हुने अपेक्षामा पढाईलाई निरन्तरता दिन नसक्ने बेला बेलामा पढाईमा बेचैनी हुने भर्ति हुन नसक्नेहरुको उच्च शिक्षा हाँसिल गर्ने इच्छा शक्ति तुहेर जाने भएको हुदा मगर युवा शक्तिहरु उच्च शिक्षा हाँसिल गर्नबाट बंचित हुनु परेको र उच्च शिक्षा हाँसिल गर्न नसक्नु र नपाउनुको कारणले मगरहरु राज्यको हरेक क्षेत्रमा पछि पर्नु परेको कुरा पनि कसैले नकार्न सकिदैन ।   

अब के गर्ने मगरहरुले ?

२४५ बर्ष देखिको एकात्मकवाद राज्य व्यवस्थालाई बिस्थापित गर्नु पर्ने । सिंह दरबारमा सिमित केन्द्रिकृत शासन व्यवस्थालाई बिस्थापित गरि एकाधिकारवाद व्यवस्थालाई बिस्थापित गरि विकेन्द्रीकृत शासन व्यवस्था लागु गर्नु पर्ने ।  त्यसको लागि जुन क्षेत्रमा मगरहरु नेपालको एकीकरण हुनु भन्दा अगाडी देखि बसोबास गर्दै आइरहेका छन्, उक्त भू-भागमगरहरुको पुर्ख्यौली थातथलो भएको हुनाले त्यस भू-भागलाई एकल मगर जातिय पहिचान सहितको मगरात संघिय राज्य व्यवस्था कायम गराई उक्त मगरात राज्य भित्र मगर जातिले बोल्ने भाषालाई मगरात राज्यको प्रमुख भाषा बनाइनु पर्ने साथै मगरात राज्य भित्र जति पनि दैनिक प्रशासनिक कार्यहरु मगर भाषा द्वारा कायम गरिनु पर्ने । मगरात राज्य भित्र बसोबास गर्ने सबै जात जातिहरुको जनसंख्याको आधारमा राज्यको हरेक अंग र निकायहरुमा समानुपातिक र समाबेशीताको आधारमा अधिकार र प्रतिनिधित्व सुनिश्चित गराइनु पर्ने । मगरात राज्य भित्र बसोबास गर्ने सबै जात जातिहरुलाई तिनीहरुले बोल्ने भाषा र अंगिकार गर्ने धर्म र संस्कृतिमा कुनै पनि हस्तक्षप नगर्ने नगराउने आदि ।

सबै मगरहरुले आ-आफ्ना बाल बच्चाहरुलाई अनिबार्य उच्च शिक्षा (कम्तिमा स्नाकोत्तर - एम ए सम्म) सम्म अध्यापन गराउने अभियान नै शुरु गर्नु पर्ने । उच्च शिक्षा सम्म पढाउन आर्थिक अवस्था कम्जोर भएका अथवा असक्षम अबिभाबकहरुलाई नेपाल मगर संघले एक बृहत आर्थिक राहत कोष खडा गरि उक्त राहत कोष द्वारा आर्थिक अवस्था कम्जोर र जेहन्दार छात्र तथा छात्राहरुलाई उच्च शिक्षा सम्मको लागि आर्थिक सहयोग व्यवस्था गर्नु पर्ने ।  अबको दश बर्ष भित्रमा सबै मगरहरुको निरक्षरतालाई सुन्य प्रतिशतमा पूर्ण रुपले झार्नु पर्ने ।  भारतीय र बेलायती सेना (त्यसै पनि अहिलेको अबस्थामा तिनीहरुले नेपाली युवाहरुलाई भर्ति गर्ने प्रक्रियामा भारी कटौती गरेको छ) मा भर्ति गराउन पूर्ण रुपले बन्द गराउनु पर्ने । मगरहरुले पुर्खौ देखि प्रयोगमा ल्याउदै गरेको र सेवन गर्दै आएको जाँड रक्सि  जस्ता मादक पदार्थहरु बिस्तारै बन्द गर्नु पर्ने । सबै मगरहरुलाई प्रत्यक दिन कम्तिमा आठ घण्टा सम्म आफ्नै लागि कुनै व्यक्तिगत व्यवसायको लागि काम गर्न र गराउने वातावरणको सृजना गराउनु पर्ने । बैदेशिक रोजगारीलाई निरुत्साहित गरि स्वदेश मै सानो तिनो ब्यबसाय गर्नलाई सबै मगरहरुले अभियान चाल्नु पर्ने । मगर पुरुष र महिला बीचमा भएको र देखिएको विभेदीकरणको अन्त्य गर्नु पर्ने आदि । यसको लागि स्वदेश तथा विदेशमा रहनु हुने सम्पूर्ण मगर बुद्धिजीवी, राजनीतिकर्मी, पत्रकार, युवा, महिला तथा सर्ब-साधारणहरु नया नीति, सिद्धान्त र प्रणालीको विकास गर्न  आजै देखि लाग्नु पर्ने, त्यसको लागि सम्पूर्ण मगरहरु आजै देखि एकजुट हुनु पर्ने प्रमुख आवश्यकता देखिन्छ ।

मगरहरुले मनाउने चाड पर्बमा एकरुपता देखिएको छैन ।  केहि मगरहरुले दशैँ पूर्ण रुपले बहिस्कार गरेको अवस्था छ भने केहि मगरहरुले धुमधामका साथ दशैँ मनाएको देखिन्छ । सबै भन्दा पहिला मगरहरुले अंगिकार गर्नु पर्ने धर्ममा एकरुपता हुनु आवश्यक छ ।  मगरहरुको पुर्खाको बिषयमा स्पस्ट भैसके पछि हामी मगरहरुले दशैँ तिहार जस्ता हिन्दु समुदायहरुले मनाउने चाड पर्बहरुलाई मानिरहनुको कुनै औचित्य छैन । खैर, नेपालमा बसोबास गर्ने सबै जात जातिहरुले मनाउने चाड पर्वलाई सम्मान गर्नु पर्ने हुन्छ ।  त्यसैले, मगरहरुले हिन्दुहरुले मनाउने चाड पर्ब दशैँ तिहार लगायत सबै चाड पर्ब र पछिल्लो समयमा मगरहरुले आफ्नो  खास चाड पर्बहरु जस्तै:  माघे सक्रान्ति, पन्ध फाल्गुन र चण्डी पुर्णिमा  पनि मनाउने गर्दा हामी मगरहरुले अनाहक मै बर्ष भरिमा धेरै दिनहरु आफ्नो र अरुको चाड पर्ब मनाउदै समय खेर फालिरहेका छौ ।  हामी मगरहरुले बर्षमा कम्तिमा दुइ दिन मात्र हाम्रो चाड मनाउनु पर्ने सुझाव दिन चाहन्छु । माघे सक्रान्ति र पन्ध्र फाल्गुन डेढ महिनाको अन्तरालमा मनाइने भएको हुदा यति छोटो समय मै हामी मगरहरुले पटक पटक मगर पर्ब र दिवसको रुपमा समारोह र कार्यक्रमहरुको आयोजना गरि समय र पैसा बर्बाद गरिरहेका छौ ।  मगरहरुको प्रमुख चाडको रुपमा माघे सक्रान्ति मनाइन्छ भने त्यसको ठिक डेढ महिना पछि मनाउदै गरेको मगर दिवस  पन्ध्र फाल्गुनलाई पनि गाभेर एकै पटक "माघे सक्रान्ति साथै मगर दिवस" भनि मनाउने गरियो भने हामी मगरहरुले धेरै समय र पैसा बचाउन सक्ने थियौं ।  त्यसको तिन महिना पछि अर्थात् बैशाख महिनामा चण्डी पुर्णिमा मनाउने गरिन्छ । 

यी यावत बिषयहरुलाई ख्याल गरि हाम्रा पुर्खाले सिकाएको र अबलम्बन गरेको राम्रा पक्षहरुलाई जति निरन्तरता दिने र केहि बिषयहरुलाई पुनर्विचार र सुधार गर्दै जाने र  नया प्रबिधि र प्रणाली अनुसार हामी सम्पूर्ण अठार लाख मगरहरु अगाडी बढ्ने हो भने केहि वर्ष भित्रमा नै हामी मगरहरुले तुलनात्मक रुपमा धेरै विकास गर्न सकिने कुरामा दुइ मत नहोला । 

 

Last Updated on Monday, 25 February 2013 18:52

Hits: 1337

“उच्च जातले विगारेको हो“ प्राध्यापक जोन गाल्टुङ



१३ फ्रेबुअरी, काठमाण्डु
नर्वेका सुप्रसिद्ध अनुसन्धाता तथा द्धन्द्ध विशेषज्ञ जोन गाल्टुङले नेपालमा मिडियाले देखाए जस्तो दलहरुबीच द्धन्द्ध नभएर राजधानीमा बस्ने केहि सभ्रान्त र राजधानी बाहिर बस्ने बहुसंख्यक दुखियारीहरुबीच वास्तविक द्धन्द्ध रहेको बताएकाछन् । राजधानीमा भएको बौद्धिक र मिडियाकर्मीहरुबीच उनले प्रवचन दिदै  दलहरु एकापसमा लडे जस्तो गरिरहेका मात्र हुन् । वास्तवमा ति उत्पिडित जाति, जनजाति, दलित, मधेसी, महिला , क्षेत्रका ज्वलन्त समस्याहरुलाई किनारा लगाउन द्धन्द्धको नाटक गरिरहेका मात्र हुन् । भित्र ति सबै मिलिरहेकाछन् र बहुसंख्यक जनतालाई ढाँटिरहेकाछन् । त्यसैले समस्या सुल्झनुको साटो बढिरहेकोहो । उनले सभ्रान्त धन भएकाहरुलाई नभनी कथित उच्च जातका बाहुन क्षेत्रीलाई इगिंत गरेकाथिए । पाका वक्ताको भनाई सुनेर बसिरहेका बहुसंख्यक सभ्रान्त समुदायका मीडियाकर्मी र बौद्धिकहरु भने ट्वाल्ल परेर उनको अभिभाषण सुनिरहेका देखिन्थे । मिडियाले यस्तो द्धन्द्धमा मध्यस्थकर्ताको भूमिका निर्वाह गर्नुपर्नेमा झन लडाउने काम गरेको भन्दै उनले मीडियाको नकारात्मक रोलमाथि पनि प्रश्न उठाएकाथिए ।


उनी संविधानसभा विघटन गर्ने दलहरुको कार्यप्रति असन्तुष्ट देखिन्थे । संविधानसभा मारेर दलहरुले संघीयतामा जान नचाहेकोले सरोकारवालाहरुको असन्तुष्टिको पारा झन बढिरहेको उनको विश्लेषण थियो ।
असमानताले द्धन्द्ध बढाउने हुनाले सरकारले स्थानीय स्तरबाट कमजोर वर्गको जिवनस्तर सुधार्न शुरु गर्नुपर्ने उनको सुझाव थियो । उनको भनाईमा नेताहरुले हरेक निर्णय माथिबाट लाडिरहेकोले असमानता घट्नुको साटो बढिरहेकोले त्यसले समस्या पैदा गरिरहेकोछ । हरेक समस्या सुल्झाउन माथिबाट हैन जनतालाई साथ लिएर र उनीहरुको सुझावमा तलबाट गरिनुपर्ने उनको सुझाव थियो । यसरी मात्र नेपालको समस्या समाधान हुने अन्यथा यो द्धन्द्ध कहिल्यै नहट्ने उनको ठोकुवा थियो ।
अनुसन्धानको क्रममा विश्वका विभिन्न देशका द्धन्द्धलाई नजिक देखि नियालेका उनले  संघीयतामा पनि स्थानीयको मत अनुसार निर्णय गर्न सुझाव दिएकाथिए ।
सन १९३० मा ओस्लोमा जन्मिएका गाल्टुङ पिस रिसर्च इन्स्टिच्युट ओस्लोका संस्थापक हुन् । द्धन्द्ध र शान्ति सम्बन्धमा अनुसन्धानरुपी दर्जनौ पुस्तकका लेखक उनलाई शान्तिका गुरु समेत भनिन्छ । उनको प्रवचन मदन पुरस्कार पुस्तकालयमा गरिएकोथियो ।

Last Updated on Friday, 15 February 2013 16:58

Hits: 1669

इण्ड अफ बाहुनिज्म र अपमान

देश सुब्बा

नित्सेको ईश्वरको मृत्यु, रोलाँ बार्टको लेखकको मृत्यु, फुकुयामाको इतिहासको अन्त्य,ल्योतारको महाख्यानको अन्त्य, केन्द्रको अन्त्य, यसैलाई जोडेर मैले भरखरै एउटा रेडियो अन्तरवार्तामा बाहुनवादको अन्त्य भने, कसैले आज नभए भोलि भन्ला । सबैतिर अन्त्य र मृत्युको कुरा उठिरहेको बेला सम्झे ठीक बोलेकी बेठीक । सुन्ने बित्तिकै पाठकलाई लाग्न सक्छ कति उग्र भनाइ । यथास्थिति समाजलाई अमान्य हुन सक्छ । युरोपलाई अन्धकार युगमा राखेर धर्मले बेरिरहेको बेला दार्शनिक रेने डेकात्र्तले दर्शनलाई जब धर्मको पञ्जाबाट छुटाए, त्यतिखेर पनि उसको विरोधमा यथास्थिति आवाज उठेको थियो । चाल्र्स डार्विनले ‘विकासवाद’को घोषणा गर्दा संसारलाई ईश्वरको सृष्टि मान्नेहरू हान्ने गोरुजस्तै रनथनिएका थिए । ती सबै मिलाएर आफैलाई प्रश्न गरेँ । नेपालमा पनि धेरै यथास्थितिवादीहरू छन् । इण्ड अफ बाहुनिज्मले उनीहरूलाई रन्थाउन सक्छ । के रन्थनाउँछ भनेर डेकात्र्त, डार्विन चुप बसेको भए संसार नयाँ अर्थबाट बुझ्न सकिन्थ्यो ? अवश्य सकिन्दैथ्यो । त्यसो भने किन दुरगामी महत्व राख्ने बाहुनवादको अन्त्यको कुरा नगर्ने ? हाम्रा समालोचकहरूलाई पाश्च्यत्य मृत्यु ल्याएर नेपाली समालोचनामा मिसाउन कति सजिलो । आफ्नै देशमा वर्षौदेखि जेलिएको जालो बोल्न, लेख्न समालोचना गर्न किन सास जालाजस्तो । अब त साहित्यिक समालोचनाको एउटा पाटो मृत्यु र अन्त्य भइसक्यो । केन्द्रहीनता भैसक्यो । मलाई मृत्युको यस खेलमा बाहुनवादको अन्त्य बोल्न मन लाग्यो, बोलेँ । मैले यसलाई कुनै जाति, क्षेत्र, विशेष ठानिनँ, कुनै कालखण्डमा उम्रिएको समाजको कुसंस्कार, अन्धविस्वास, रुढि ठानेँ । यस खेलमा धेरै लिलिपुट र कम्ती गुलिवर छन् । यस्तो भत्काउन उता आए संरचनावाद उल्टाउँदै उत्तर संरचनावाद, निर्माण भत्काउँदै विनिर्माण । थोरै शासक धेरै शासितको ठाउँमा अब शासित शासक र शासक शासित हुनुपर्छ भन्ने ‘सबल्टर्न स्टडीज’ आयो रणजीत गुहाको नेतृत्वमा ।

मैले ‘अपमान’ उपन्यासलाई पाठकको कठघरामा उभ्याएँ । के यसको अपराध इण्ड अफ बाहुनिज्म हो ? त्यो बाहुनवादले एउटा घरेलु सर्पजस्तै लिम्बू, राई, गुरुङ्ग, मगर, सेर्पा, मधेसे, पहाड, लिम्बुवान, खम्बुवान, पूर्वपश्चिम सबैतिर डसिरहेको छ । आपूmभन्दा कमजोर, निरीह, दुर्बल, नारी, तेस्रो लिङ्गी, आदिवासी, जनजाति, उत्पीडित जाती, बाहुन, क्षेत्री सबैमा । जातको उपजातभित्र पसेर डसिरहेको छ, संस्कार, स्वतन्त्रता, न्याय, अधिकार सबै । लिम्बूराईले, दलित जातीलाई, बाहुनहरूले आफ्नै बाहुनहरूलाई ।  सबैले उत्पीडित र नारीहरूलाई । दलित जातिभित्र पनि छ ‘तँ सानो, तँ पानी नचल्ने । छुवाछुत ।” बाहुनवाद लिम्बूको सुनौलीरुपौली, जार उठाउने र गैर लिम्बूमा दाउजो प्रथामा आइरहेको छ । छोरीचेलीलाई र ब्राह्मणभन्दा अन्य जातिलाई लेख्नपढ्न नदिने प्रचलन हुँदै आएको छ । राई लिम्बू, गुरुङ्ग, मगरको गाउँमा आफूजस्तै मान्छेलाई सानो जात भनेर पढ्न, लेख्न नदिने, मन्दिर पस्ने नदिने, पानी थाप्न नदिने संस्कारमा आइरहेको छ । हिन्दूलाई नै हिन्दूले रामायण, महाभारत, वेदजस्ता ज्ञानगुणका पुस्तक पढ्न नदिने प्रचलनमा । पाश्चत्य साहित्य समालोचनामा ठेलीका ठेली पुस्तक लेखेर आफूलाई उम्दा साहित्यकार, समालोचक ठान्ने साहित्यिक गुरुहरूको समालोचनामा किन परेन, अनिता चमार, किन परेन गोल्छे सार्की, मान बहादुर विश्वकर्माको भेदभावपूर्ण जीवन । सधैं पाश्चत्य अर्थ र भनाइ ल्याएर वाचल हुने पण्डित्याइको अन्त्य हुनुपर्दछ । मैले बोलेको बाहुनवादको अन्त्य ती सबै विचार, व्यवहार, कुसंस्कार, अन्धविस्वास, साहित्य विलासी, रुढिको विरुद्धमा हो । मैले लेखेको अपमान नयाँ नेपालको पूर्व परिकल्पना हो । कुनै व्यक्ति, जाति विशेषलाई अपमान गर्नु होइन । कसैले गल्ती गरेको देखाउनु अपमान हुँदैन, सम्मान हुन्छ । म ऐतिहासिक गल्तीलाई सच्चाउन खोजिरहेको छु ।

डिस्को, म्याक्डोनाल्ड, केएफसीजस्तै स्वादिष्ट भनाइ ल्याएर साहित्य गर्ने नामी साहित्यकारहरूको हालीमुहाली छ नेपालमा । खोइ बाहुनवादको अन्त्य लेख्ने सहासी साहित्यकारहरू, समालोचक, पत्रकारहरू । सबै बेलायती समालोचक म्याथ्यु आर्नोल्ड मात्र छन् —कथित उच्च वर्गका लेखक, समालोचक, पत्रकार, पाठक, शिक्षक, विद्यार्थीको पक्षधर । साहित्य कस्तो हुनुपर्छ भन्ने बारेमा उसले भनेका थिए, “उत्तम साहित्यिक रचनाले समाजलाई अराजकताबाट जोगाउन सक्छ ।” कस्तो साहित्यलाई उत्तम मान्ने बारेमा उदाहरण दिदै भने, “कुन साहित्यिक कृति उत्तम छ भनेर बुझ्न केही ‘टचस्टोन’ अथवा छानिएका, मानिएका ‘राम्रा’ साहित्यिक कृति । सेक्सपियर, वड्र्सवर्थ, किट्स आदि जस्ता प्रख्यात लेखकका कृतिलाई मापदण्डको रूपमा लिइनुपर्छ । त्यस्ता कृतिले ‘टचस्टोन’ वा मापदण्डको काम गर्छन् । कुनै नयाँ कृति उत्तम छ वा छैन भनेर बुझ्न ती कृतिलाई ती विश्वप्रसिद्ध ‘टचस्टोन’ सँग तुलना गरेर हेर्नुपर्छ । यदि ती नयाँ कृतिले पनि ती पुराना ‘टचस्टोन’हरूझैँ अनुभूतिको गहिराइ वा शब्द संयोजनको सौन्दर्यशास्त्रलाई प्रतिबिम्बित गरेका छन् भने भन्न सकिन्छ—हो, यी नयाँ कृति पनि उत्तम साहित्यिक र सांस्कृतिक कृति हुन् ।” के म्याथ्यु आर्नोल्डले यस्तै समालोचना गरेर आफूलाई अमर बनाए ? नेपाली साहित्य सधैं यही धारले चल्छ ? कि बाहुनवाद अमर पक्ष हो ? कुनै पनि दिन सबल्टर्न, दलित, उत्पीडित, मधेसे, आदिवासी जनजाति, नारीको पक्षधर रेमण्ड विलियमजस्ता समालोचक, रणजीत गुहाजस्ता सबल्टर्न स्टडीज आउँदैन ? कि डेरिडाजस्तो पुरानो संरचना भत्काउने उत्तरसंरचना आउँदैन ? आउँछ अवश्य समयको उड्ने घोडामा चढेर । बेलायतमा पनि आयो । बेलायती माक्र्सवादी विचारक रेमण्ड विलियमले आर्नोल्डले औंल्याएको उच्च संस्कृति तथा लोकप्रिय संस्कृतिमध्येको विभाजनलाई प्रश्न गर्दै भने—आर्नोल्डले भनेको सांस्कृतिक विभाजन वर्गीय विभेदमा आधारित छ । के सेक्सपियर, किट्स, वड्र्सवर्थजस्ता लेखक आफैं पनि उच्च वा मध्यमवर्गीय परिवार थिएनन् ? अनि के विश्वविद्यालयका पाठ्यक्रममा पढाइने ती ‘प्रख्यात’ लेखकका रचना पनि प्रायजसो उच्च वा मध्यमवर्गकै पाठकले पढ्दैनन् ? मजदुर तथा किसानलगायतका अन्य वर्गकाले पढ्ने, सुन्ने लोकगीत वा कविता ‘उच्च साहित्य’का भागमा हुनै सक्दैनन् ?” सेक्सपिएर कै समयमा अस्ट्रेलियाको कुनै आदिवासीले लेखेको साहित्य ‘टचस्टोन’ हुँदैन । किनभने उनीहरूसित पढ्ने विद्यार्थी, पढाउने शिक्षक, समाचार दिने पत्रकार, समालोचना गर्ने समालोचक केही पनि छैन । समयले कोल्टे फेरेको परिवेशमा लेखन, विचारले नेपाली साहित्यमा उत्तरसंरचना, विनिर्माण, सबल्टर्न, दलित, उत्पीडित, मधेसे, आदिवासी जनजाति र बाहुनवादको उत्तर संरचना गर्ने कि नगर्ने ? कि रेमण्ड विलियमहरू सदाको लागि मरिसके ?

नेपाली साहित्यमा माओवादी राजनीति, विचार नीतिको जन्म हुन अगाडि वि.सं. २०५२ देखि जातीय सवाल, संघीयताको धारणा, गणतन्त्रको वकालत गर्ने उत्तर नेपाली साहित्य ‘अपमान’ आयो । अपमानले वर्षौदेखि चलिआएको बाहुनवादमा भएको कुसँस्कार, कुरीति, अन्धविस्वास, रुढिवादीलाई उल्टाउने ठूलो सहास गर्यो । नेपाली समाज, राजनीति, धर्मसँस्कार सबैतिर यो यति विघ्न विस्तार भएकोछ, न यसको जरा काटेर हुन्छ न हाँगाबिगा । यो जति फैलियो उति नै विष हुन्छ समाजमा । यो कुनै व्यक्ति विशेषको आनुवंशिता पनि होइन । जसले यसमा अंश दाबी गर्छ उसलाई पनि यसले भस्म बनाउँछ । समाजमा यस्तो हानिकारक भस्मे राख्नु कदापि हितकार हुँदैन । यसलाई पूरै उन्मूलन नगरी समाजमा फैलिएको हिंसा, हत्या, बलात्कार, छुवाछत, भेदभाव, उच्चनीज, संघीयता, संविधानको समाधान हुन सक्दैन । दिनदिनै निर्दोष छोरीचेलीहरू बलात्कारको सिकार भइरहेका छन्, पाउछोडीको कारण गोठतिर मरिरहेछन् । अछुत, दलित भनेर राष्ट्रको नागरिकहरू मानव अधिकारबाट बन्चित भैरहेछन् । गरीब भएको नाममा बोक्सीको आरोप लगाउँदै जलाइन्दैछ । उत्पीडित जातिको दहीदूध बिक्री भएको छैन । उनीहरूको दोष अछुत भएर जन्मिनु नै हो ? उनीहरूलाई जताजतै छिछिदुरदुर गरिन्दैछ । उच्चजातको गर्भ बोकेर अनिता चमार प्रशासन र सञ्चारको संरक्षणमा आइपुगिन् । कसले भन्न सक्छ यसमा बाहुनवादको वीर्य छैन भनेर । जातीय, लैङ्गिक भेदभावको बीज के कुनै जंगलमा उम्रिन सक्छ ? निश्चय पनि सक्दैन । मुलुकमा हजारौ मानिस अपमानित छन् । शिशुपाललाई कृष्णले धेरै अपमान गरेको फल दियो महाभारतमा । यस्ता भेदभावकारी समाजको ‘अपमान’ उपन्यासले मात्र होइन, धेरै धेरै अपमानहरूले धावा बोल्नुपर्छ । देशमा विद्यमान आर्थिक, सामाजिक, राजनैतिक सबै समस्याको रुढ बाहुनवाद होइन र ? सबैतिर जातीय समन्वय, सह—अस्तित्व, एक अर्कामा प्रेम, सम्मान, आदारको भावना उत्पन्न गर्न सबै जातिमा भएको ‘बाहुनवाद’को अन्त्य हुनुपर्दछ तब राष्ट्र साँच्चैको ‘नेपाल’ हुन्छ ।

(लेखक: Fearism भयबादका चिन्तन्पनि हुनुहुन्छ ।)

 

Last Updated on Saturday, 16 February 2013 04:46

Hits: 1020

प्रथम शहीद लखन थापामगरलाई अपमान र विभेद होइन न्याय देऊ

दीपा आले मगर

‘हु“दैन विहान मिरमिरमा तारा झरेर नगए

बन्दैन मुलुक दुई चार सपुत मरेर नगए’  

आज यी कविताका पंक्तिहरु पढ्न बाध्य छु जसलाई यथार्थवादी कवि भुपि शेरचनले लेखेका हुन् । उनले सपूत सहीदका बारेमा ओजपूर्ण कविता लेखिएता पनि नेपालकै प्रथम सहिद लखन थापामगरलाई भने अहिले सम्म राज्यले घोर अपमान गरिएको छ । सहिद  दिवसको सन्द्रभमा प्राय सबै सहिदलाई स्मरण गरियो तर नेपालकै प्रथम सहिद लखन  थापामगरलाई भने कसैले सम्झीएनन् ।

जसले मुलुकमा जनताको लागि आफ्नो शरीरलाई बलिदान दिनु पर्यो, जसले जहानिया“ राणा शासनको विरुद्धमा जनताको हितकोलागि धावा बोलेका थिए । तर शहिद दिवसमा उनलाई कसैले सम्झन समेत फुसर्त पाएनन्  दुःख साथ भन्नुपर्छ । मुलुक र जनताको लागि आफ्नो ज्यान बलिदान दिने अमर सपूत शहीदहरुलाई राज्यले वेवास्था गरेको छ । नेपालको इतिहासमै निरंकुश एकतन्त्रीय जहानिया“ राणा शासन र सामन्ती प्रवृत्तिको विरुद्धमा धावा बोल्दा तत्कालीन नाताशाह जंगेका फौजहरुबाट आफ्नो ज्यान गुमाउनु परेका प्रथम सहिद लखन थापामगर जसले  राष्ट्र र जनताको लागि यति ठूलो योगदान दियो उसलाई नै राज्यले  र्बिसिएका छन् ।

आज फागुन दुई गते प्रथम सहिद दिवस तर कहि कतै उनको सम्झनामा राज्यले उनलाई सम्झीएन ।  नेपालकै प्रथम शहिद लखन थापामगरलाई प्रथम शहिद भन्न समेत राज्यले कन्जुसाई गरेको छ । सबैलाई  थाहा भएकै कुरो हो राणाशासन विरुद्ध पहिलो धावा बोल्ने ब्यक्ति नै लखन थापामगर हुन भनेर । राणा शासनको विरुद्धमा जनस्तरबाट विद्रोह समेत गरेका थिए । तर, लखन थापामगरले एउटा यस्तो महान शहिद हुन् जसले जनता र मुलुकको लागि आफ्नो जीवनलाई बलिदान दिन पछि परेनन् ।

अहिले शहीद दिवसको सन्दर्भमा शहीद  सप्ताहभरि कतै पनि लखन थापामगरको नामोच्चारण समेत हु“दैन । कतै कतै सामान्य ज्ञानमा नेपालका प्रथम शहीद लखन थापा भने लेखिएको पाईन्छ । राज्यस्तरबाट वि.सं. २०५६ साल फागुन ११ गते अर्थात् लखन थापामगरले शहादत प्राप्त गरेको एक सय २३ वर्ष पछाडि नेपाल मगर संघ र अन्य संघसंस्थाको दबाबमा ‘शहीद’ घोषणा गर्ने बाहेक अरु केही गर्न सकेको छैन । यसरी सरसरर्थी भन्नुपर्दा अहिले सम्म पनि लखन  थापामगरलाई प्रथम शहीद भन्न कन्जुसाई गरिएको छ ।  

नेपालकै प्रथम शहिद लखन थापामगरको बारेमा अहिलेसम्म कतैबाट पनि बृहत् अध्ययन र खोजी हुन सकेको छैन । राज्य स्वयम् शहिद लखन थापामगरको बृहत् अध्ययनको खोजी गर्न चाहदैनन भन्दा फरक नपार्ला । जति खोजी भएका छन्, ती पर्याप्त र विवादरहित छैनन् । अहिलेसम्म लिखित श्रोतहरुका आधारमा विद्रोही स्वभावका धनी  लखन थापामगरको जन्म वि.सं. १८९१ मा साधारण मगर परिवारमा भएको विश्वास गरिन्छ । ‘ओझेलमा परेका मगरहरु’ नामक पुस्तकका लेखक शिबलाल थापामगरले भने लखन थापामगरको जन्म कास्की जिल्लाको अर्घौं भन्ने गाउ“मा भएको भनी लेखेका छन् । त्यस्तै राष्ट्रका गौरव तथा नेपालका प्रथम शहीद लखन थापामगर (द्वितिय) का  लेखक डा. हर्षबहादुर बुढामगरले सो पुस्तकमा प्रमाणित भइ नसके पनि लखन थापाको जन्म भारतको अलमोडामा भएको अनुमान लगाएका छन् ।

 

लखन  थापामगरले प्रारम्भिक शिक्षा एवं तन्त्रमन्त्रका विद्या लखनउमा हासिल गरेका थिए भन्ने पाइन्छ । उनका पुर्खाहरु  सुगौली सन्धिपश्चात् अलमोडामा खडा गरिएको तेस्रो गोरखा पल्टनमा सेवारत हु“दै आएका थिए, जसमा अत्याधिक मगरहरु रहेको ब्रिगेडिएर जनरल सी.एन. वार्कलेले लेखेका छन्  यसैक्रममा पारिवारिक सम्बन्धका कारण लखन थापामगर खलनउमा पुगेका थिए भन्ने एउटा तर्क छ भने अर्को उनका बुबा स्वयं भारतीय सेनाका पेन्सनर थिए र बसाई–सराई गरी लखनउ पुगेका थिए भन्ने पाईन्छ । अहिलेसम्म लेखिएका तथ्यहरुका लखन थापामगर बीस वर्षको उमेरमा वि.सं. १९११ (१८५४ई) मा पुरानो गोरखा गणमा भर्ती भएका थिए भन्ने विषयमा सर्वसम्मत देखिन्छ । पुरानो गोरखा गण नेपाल एकीएकरणको समयमा पृथ्वीनारायण शाहद्वार चार जातको चार पल्टन स्थापना गर्ने क्रममा गरिएको मगरहरुको पल्टनका रुपमा चिनिन्छ । लखन थापामगर आफ्नो कुशलताका कारण भर्ती भएको १४ वर्षमा नै उनी क्याप्टेन दर्जामा पदोन्नति पनि भएका थिए । १९५७ मा व्रिटिश भारतमा भएको सिपाही विद्रोहमा जंगबहादुर राणाको नेतृत्वमा पच्चीस नेपाली पल्टन लखनउमा गएको थियो  र सोही क्रममा पुरानो गोरखा पल्टनस“गै लखन थापामगर पनि लखनउ गएका थिए भन्ने शाही नेपाली  सेनाको रेकर्डमा रहेको डा. बुढामगरको किताबमा लेखिएको छ ।  

लखन थापामगरले जंगबहादुर विरुद्ध विद्रोह गर्ने निष्कर्ष निकाल्दै उनले  वि. सं. १९२७ साल सेनाबाट बिदा लिए । त्यसपछि सहकर्मी जयसिंह चुमीमगरको सहयोगमा उनले गोरखाको बुङकोट काउलेमा संगठन निर्माण गरे । ‘हुकुमको जवाफ छैन कालको औषधि छैन’ भनिने जंगबहादुरको कठोर शासनकालमा लखन थापामगरले करिब दुईहजार युवा संगठित हतियार समेत जम्मा गरेको इतिहासकार प्रमोदशमशेर राणाले गोरखा विद्रोहमा लेखेका छन् ।

शिवलाल थापामगरले ओझेलमा परेका मगरहरु पुस्तकमा लखन थापामगरले काउलेमा जनश्रमदानबाट दरबार बनाएको र गोरखामा समानान्तर शासनको अभ्यास गरेको उल्लेख गरेका छन् । एकदिन उनले जंगबहादुरका विरुद्ध योजना बनाएका कागजातहरु उनको दरबारबाट चोरी भयो र जंगबहादुरसम्म पुग्यो । त्यसपछि जंगेले आफ्नोविरुद्ध गतिविधि गरेको थाहा पाउनासाथ कान्छा भाइ धीरशंमशेरको देवीदत्त गणको सैन्यटोली गोरखा पठाए । लखन थापामगर र उनका सहयोगीहरु पक्राउ परे । उनीहरुलाई थापाथली ल्याइयो । जंगबहादुरले लखन थापामगर र उनका सहयोगीहरुलाई मनकामना मन्दिरअगाडि झुन्डयाएर मार्न आदेश दिए । त्यसपछि वि. सं. १९३३ फागुन २ गते उनलाई रुखमा झुन्ड्याएर मारियो ।

उमेश रानामगर अनुसार उनीसहित अन्य जयसिंह चुमीलाई पनि रुखमा झुन्ड्याइयो भने चारजनालाई गोली हानेर मारियो ।ज्ञ्यान दिलदास र अर्का ब्राह्मणलाई भने ब्राहमण भएकै नाता मुत्युदण्ड दिइएन । किन कि ति दुईलाई ब्राहमण भएको हुनाले मुत्युदण्ड भएन । वि.सं. २००७ सालमा प्रजातन्त्र स्थापनापछि राणा शासनको उत्तराद्र्धमा मारिएका गंगालाल श्रेष्ठ, धर्मभक्त माथेमा, शुक्रराज शास्त्री, दशरथ चन्दलाई मात्र नेपालकै शहीद घोषणा गरियो । तर लखन थापामगर जसले जहानिया“ शासनको जग बसाल्ने जंगबहादुरकै विरुद्ध विद्रोह गरे र आफू मारिए तर उनलाई भने शहिद घोषणा गरिएन ।

नेपालकै  प्रथम शहीद लखन थापामगर हुन भनेर निरन्तर जनदवावपछि भने मात्र २०५६ मा मन्त्रिपरिषद्ले  उनलाई शहीद घोषणा गर्यो । तर प्रथम शहीद भन्न भने कन्जुसाई गरेको अवस्था हाम्रो सामु विद्यमान छ ।जसले आफ्नो ज्यान भन्दा बढी माया मुलुक र जनताकोलागि गरे आज उनलाई नै नेपालकै प्रथम शहीद भन्न सकिरहेको छैन । लखन थापामगरलाई प्रथम शहिद घोषणा गर्न जनदवाव बढछ तब लखन थापामगरको बारेमा लेखिएको इतिहासलाई र साक्षीलाई समेत लात हान्दै को हुन् लखन थापामगर, उनले मुलक र जनता हितकोलागि जहानियां शासनस“ग विद्रोह गरेकी गरेनन् ?

उनले शहादत्त प्राप्त गरेका हुन् या होइनन् भन्ने प्रश्नहरुहरु उठाइन्छ । यसरी प्रश्न उठाइदा लखन थापामगरको बारेमा लेखिएका इतिहासका पाना साक्षी छन् तर त्यसलाई पल्टाएर बुझ्ने र सारा जनतालाई बुझाउने प्रयास भने अहिले सम्म राज्यले गरेको छैन । लखन थापामगरको बारेमा साच्चीनै राज्यलाई चा“सो भईदिएको भए उनका बारेमा लेखिएका इतिहास, उनको दरबारको भग्नावशेष र उनका सन्तति अझै पनि जीवित छन् तर खै त्यसतर्फ राज्यको ध्यान गरेको ? यसरी लखन थापामगरको बारेमा बास्तविक बुझ्नुको साटो निरर्थक प्रश्न गर्नु कतिको उचित होला ? यदि राज्य सा“चीकै बास्तविक शहिदको खोजीमा लागिरहेकै छ भने एक पटक प्रथम शहिद लखन थापामगरको बारेमा बुझ्न अत्यन्त जरुरी छ ।

किनभने इतिहासका पाना र उनका बारेमा अहिले पनि प्रमाणहरु प्रशस्त छन् । लखन थापाको बारेमा यर्थाथ प्रमाणको अध्ययन गरी छिटो भन्दा छिटो उनलाई नेपालकै प्रथम शहीद घोषणा गरियोस् तर राज्य यस तर्फ भने उदासिन रहेको अवस्था छ ।  हामी आज हेदैछौ बास्तविक सहिद होइन बैचारिक आस्थाका आधारमा सहिद घोषणा गर्ने छलखेल बढ्दैछ । देशमा प्रजातन्त्र आयो, लोकतन्त्र आयो अझ यति मात्र होइन नेपाली जनताले चाहेको खोजेको र रोजेको गणतन्त्र  मुलुकमा भित्रिएको छ तर खै कहां छ  जसले देश र जनताकोलागि आफ्नो प्राण आहुति दियो उसलाई आज समाजमा पहिचान र सम्मान दिन खोजेको ?

जति नै सर्वहारा वर्गको कुरा गरेतापनि राज्यसत्तामा बसेर मोज गरेका जनताका सेवकहरु आज जानी जानी बुझपचाई रहेका छन्  जो राज्यसत्तामा बसेको र नबसेको कुनै अर्थ छैन ।  फेरी पनि भन्दैछु । राज्यसत्तामा बसेका जनताका सेवकहरु हो एक पटक ईतिहासलाई पढ आज त्यतिकै देशमा प्रजातन्त्र हुंदै लोकतान्त्तिक गणतन्त्र भित्रिएको होइन । मुलुक र जनतामाथि तानाशाह र सामान्ती प्रवृतिको शासन चलाई जनतालाई दुःख दिने त्यस्ता निकम्बा शासकहरुको घमण्ड चुर गरी जनतालाई निकास दिने त्यस्ता महान सहिदहरु मध्येका प्रथम सहिद लखन थापामगरलाई तिमीहरुले चिन्न जरुरी छ । ईतिहास त्यति कै लुक्दै ईतिहास त्यतिकै छुप्दैन । अझ सत्य कहिल्ये असत्य हुंदैन यस्ता कुरा बुझ्न जरुरी छ यदि राज्य सत्तामा बसेर जनताको लागि सेवा गर्न गएका हौ भने, या त यदि जनता र मुलुककोलागि गएका हौइनौ भने कान कोर्ने डाडुमा पानी तताएर विस्राम लिए हुन्छ । आज प्रथम लखन थापामगर दिवस । राज्यले देश र जनताकोलागि सेवा गर्ने सहिदलाई सम्मान गर्नुको साटो मगर समुदायको पेवाको रुपमा मात्र हेरेको पाएं ।

जति बेला जहानिया राणा शासनले मगर समुदायलाई मात्र होइन आम नेपाली जनतामाथि हुकुम जमाएको थियो । जनताले पाउने हक अधिकारमाथि अंकुश लगाएको थियो त्यो समयमा एक मात्र साहसिक व्यक्ति क्याप्टेन लखन थापामगर जसले जहानिया राणा शासनको अत्याचार विरुद्ध धावा बोल्न पछि परेन । हिजो उनले देश र जनताको हकहितकोलागि जहानिया राणा शासन विरुद्ध जाई धावा नबोलेको भए आज देशको अवस्था यो स्थितिमा आउने थिएन यो कुरा बुझ्न जरुरी छ राज्यसत्तामा बसेका जनताका सेवकहरुले । हिजो सम्म प्रथम सहिद लखन थापामगरको सम्मान र पहिचान दिन जति निधायौ तर आजदेखि राज्य सत्तामा बसेका जनताका सेवकहरु हो कानमा तेल हाली बस्न पाउने छैनौ ।

खबरदार अब जनताहरु सचेत भई सकेका छन् । जनताहरु जागी सकेका छन् । त्यसैले अब बास्तविक कुरालाई नर्कान पाउदैनौ । त्यसैले आजैदेखि नेपालको ईतिहासमा क्याप्टेन लखन थापामगरलाई प्रथम सहिद घोषणा गर्नुकोसाथै उसलाई सम्मान दियोस् । यति मात्र होइन जब जब मुलुक र जनतामाथि तानाशाह लाध्नेक्रम जारी हुन्छ तब तब त्यस्ता तानाशाह विरुद्ध धावा बोल्ने साहसिक निर्भिक राष्ट्रसपुतलाई हामीले कदापि भुल्नु हुंदैन । यदि जानी जानी भुल्ने प्रयास गर्छौ भने ति अमर सहिदको आत्माले सराप्नेछ । यो कुरा राज्यसत्तामा बस्ने जनताका सेवकहरुले तत्काल बुझोस् ।

(लेखिका सगरमाथा टि.भी संग आबध्द छिन् ।)

 

Last Updated on Wednesday, 13 February 2013 10:57

Hits: 1460

नेपालमा ल्होछार को सन्दर्भ, भ्रम र वास्तविकता

सरोजमोहन लामा तामाङ

घ्याङ–५, दोलखा, उर्लिनी हाल : काठमाण्डौ

 

ल्होछार/ल्होसार अर्थात नयाँ वर्ष धार्मिक रुपमा विशेषगरी महायानी बुद्घ धर्मालम्बीहरुले, भौगोलिक रुपमा खासगरी हिमाली क्षेत्रमा बसोबास गर्ने आदिवासी जनजातिहरुले परापूर्वकाल देखि आफ्नो गच्छेअनुसार आ–आफ्नै पारामा मानिआएको महान साँस्कृतिक पर्व हो । त्यसैले मानव सभ्यताको विकाससँगै युगौ अगिदेखि यहाँका तामाङ, गुरुङ, शेर्पा, ह्योल्मो आदि जातिहरु ल्होछार पर्वलाई मान्छन् । ल्हो भन्नाले वर्ष/साल/सम्बत् र छार भन्नाले नयाँ हो । अर्थात ल्होछारको शाब्दिक अर्थ नयाँ वर्ष/साल/सम्बत् हो । चलनचल्तीको तामाङ भाषामा ल्हो लाई “दिङ” पनि भन्ने गरिन्छ । ल्होवर्षक्रम अर्थात ल्होखोर च्युङीमा क्रमिक रुपमा १–मुसा/चलनचल्ती तामाङ भाषामा नाम्युङ (ज्युवा), २–गाई/चलनचल्ती तामाङ भाषामा म्हे (लाङ), ३–वाघ/चलनचल्ती तामाङ भाषामा च्यान (ताक), ४–विरालो/खरायो/चलनचल्ती तामाङ भाषामा तावर (हयोई), ५–गरुड/ड्रयगन/चलनचल्ती तामाङ भाषामा मुपुख्री (डुक), ६–सर्प/चलनचल्ती तामाङ भाषामा पुख्री (डुल), ७–घोडा (ता), ८–भेडा/चलनचल्ती तामाङ भाषामा ग्यू (ल्हुक), ९–बाँदर/चलनचल्ती तामाङ भाषामा मंङ/माकर (टे), १०–चरा/चलनचल्ती तामाङ भाषामा नामे (ज्या), ११–कुकुर/चलनचल्ती तामाङ भाषामा नखी (खि), र १२–सुंगुर/चलनचल्ती तामाङ भाषामा ड्वा (फाग) गरी १२ वटा जनवारहरुको नाम अंकित गरिएको हुन्छ । तर हाल नेपालमा फरक फरक तिथिमिति/महिनामा तीच चोटी/पटक अथवा तीन वटा नाम जोडिएको ल्होछार/ल्होसार मानिदै आएको छ ।

१. सोनाम ल्होछार,

२. ग्याल्बो ल्होछार र

३. तमु÷तोला ल्होछार ।

ल्होछार (नर्या वर्ष) एकै तिथिमा नभएर फरक–फरक तिथिमितिमा मान्दै आइएको छ । यी सबै जातिले मान्ने र ल्हो (वर्ष÷साल÷सम्बत्) गन्तीको हिसाबमा यसपाली २८४९ औ सर्प÷चलनचल्ती तामाङ भाषामा पुख्री (डुल) वर्षको सुरुवात हो, भने गरुड/ड्रयगन/चलनचल्ती तामाङ भाषामा मुपुख्री (डुक) वर्षको विदाई । त्यसैले ल्होछार मान्ने सबै समुदायहरुले “डुल” ल्हो को सुरुवातलाई स्वागत गर्दै पराम्पराअनुसार भव्यरुपले मानिदै आएको देखिन्छ । कुनै अंकित वर्ष÷साल/संम्वत् सुरु हुनुअघि तथा कुनै धर्मको विकास हुनु अगाबै प्राचिनकालदखि नै यो पर्व मानिदै आएकोले ल्होछार (नयाँ वर्ष/साल/सम्बत्) को तिथिमिति किटानी गरेको कतै प्रायः पाईदैन । पाइएको तिथिमिति पनि फरक फरक छन् । यसपालि “डुल” ल्हो अर्थात सर्प/चलनचल्ती तामाङ भाषामा पुख्री वर्ष हो भन्ने सवालमा सबै ल्होछार मान्ने समुदायको एकमत नै भेटिन्छ । तर, कुन आधिकारीक पात्राको, कुन तिथिमितिबाट पुरानो वर्षको अन्त्य र नयाँ वर्षको सुरुवात हुन्छ भन्ने सवालमा चाहि १५ देखि एक या दुई महिनाको फरक देखिन्छ । सो सवालमा चाहिँ पहिलादेखि नै आ–आफ्नै तर्कहरु छन् र फरक फरक तिथिमितिमा मन्दै आईरहेको पनि छन् । अर्को कुरा पात्रौ एउटै भएपनि भौगोलिक स्थान विशेषमा प्रचलनमा आएको पात्रोअनुसार फरक फरक तिथिमितिमा ल्होछार मानेको देखिन्छ । जस्तो पात्रो मञ्जुश्री नै हो, चन्द्रमासमा आधारित पात्रो नै (हो) भएता पनि सोनाम र ग्याल्बो नाम गरेको ल्होछार फरक तिथिमितिमा मनाउदछ ।

१. सोनाम ल्होछार सम्बन्धमा:

यही २९ माघमा पनि अगिल्लो सालहरु झै तामाङ समुदायहरुले सैनिक मञ्च अगाडी “डुल” ल्हो अर्थात सर्प÷चलनचल्ती तामाङ भाषामा पुख्री ल्होछार (नयाँ वर्ष) भनि भव्यताकासाथ एक सयवटा भन्दा बढी तामाङ संघ/संस्थाहरुको सामूहिकतामा भेला भई मानिदैछ । तामाङहरुले मान्दै आएका डुल/सर्प ल्हो (चलनचल्तीको तामाङ भाषाको पुख्री) वर्ष मञ्जुश्री खगोलशास्त्री पात्रोलाई आधार मानेर २८ औ संवत्लाई मान्दै आएकाले यसपाली २८४९ औं डुल/पुख्री वा सर्प वर्षलाई स्वागत गरी मानिदै छ । जसलाई माघ शुल्क प्रतिपदका दिनमा मान्ने सोनाम ल्होछार पनि भनिन्छ । त्यसैले तामाङहरुमै पनि यस अगाडी कसैले सोनम त कसैले ग्याल्बो भनि छुट्टाछुट्टै तिथिमितिमा ल्होछार मान्दै आएका थिए तर यी विवादहरु अब कमहुँदै गईरहेको स्थिति छ । यो तामाङ समुदाय र ल्होछार मान्ने सबै समुदायका लागि खुसिको कुरा हो । सो दिन नेपालगायत चीन, मंगोलिया, जापान, थाइल्याण्ड, कोरिया, बर्मा, थाईल्याण्ड, भियतनाम, मलेसिया, इन्डोनेसिया, सिंगापुर, फिलिपिन्स, भुटान, भारतको सिक्किम, दार्जिलिङ, गान्दोक, ताइवान, लावस आदि अन्तराष्ट्रिय जगतमा पनि मान्ने गरिन्छ ।

२. तमु/तोला ल्होछार सम्बन्धमा :

ठीक त्यही ठाउँमा अघिल्लो महिना १५ पुसमा गुरुङजातिहरुले तमु ल्होछार भनि डुक/गरुड/ड्रयगन वर्षको विदाई र यसपालिको डुल/सर्प ल्हो वर्षको स्वागत गरी भब्यरुपले मानिएको थियो । जसलाई पौष शुल्क प्रतिपदामा मान्ने तमु÷तोला ल्होछार पनि भनिन्छ । गुरुङ जातिहरुको अनुसार सूर्यले दिशा परिवर्तन गर्ने दिन अर्थात सूर्य दक्षिणीबाट उत्तरायण उन्मुख अवस्थालाई प्राकृतिक कारण देखाउदै सो दिन सर्प वर्षको पहिलो दिन हो भनी ल्होछार पर्व उनीहरुले मान्दै आएका छन् । यहाँ स्मरणीय कुरा के हो भने नेपालका गुरुङसमुदायले २०४९ सालपछि मात्रै सुर्य/सौर्य पात्रोको सौरमास पौषादी १५ गतेका दिनलाई तमु/तोला ल्होछार भनी मानिआएको छ । तर उनीहरुले भने वि.स. पात्रो अर्थात “भारतीय खगोल तथा ज्योतिषशास्त्रीय ‘श्रीकालाचक्र तन्त्र’ परम्पराको पात्रो” (चन्द्रपात्रो र सौर्यपात्रोको मिश्रित रुपको पात्रो) नै अनुसार १५ गतेको दिनलाई मानिएको देखियो ।

३. ग्याल्बो ल्होछार सम्बन्धमा :

 त्यसैगरी शेर्पा र तिब्बतियन समुदायले मञ्जुश्री पात्रोकै आधारमा तर तिब्बतमा प्रचलनमा रहेको चन्द्रपोत्रोअनुसार २१४० औ तिथिमा फागुन शुक्ल प्रतिपदाका दिन नयाँ वर्ष सुरु हुन्छ, भनी ग्याल्बो ल्होछार मानिन्छ । तर कुनै वर्ष/साल/सम्बत्मा सोनाम र ग्याल्बो शब्द जोडिएको ल्होछार एकै तिथिमितिमा पनि भएको र परेको हुन्छ, कारण के हो ? भन्दा, तिब्बतमा प्रचलनमा रहेको चन्द्रपात्रोमा अधिकमास जोडिएको वर्ष/साल/सम्बत्मा सो पर्व एकै दिन वा तिथिमितिमा हुन्छ, भने नजोडिएको वर्ष/साल/सम्बत्मा हुदैन । जस्तो, ई.वि.सन् २०१० फेब्रुअरी १४ तारिख आईतवारको दिन यी दुबै पर्व एकै दिन वा तिथिमितिमा परेको थियो । त्यसैगरी, “अब ई.वि.सन् २०१३ मा पनि यी दुबै फरक नामधारी तर एउटा पर्व एकै दिन वा तिथिमितिमा हुनेछ” भनी पात्रोसम्बन्धि जानकार तामाङ विद्घान ‘अजितमान तामाङ’ भन्नुहुन्छ । त्यसैगरी अर्को कुरा करिब १३ औ शताब्दीपछि मात्र तिब्बतमा ग्याल्बो ल्होछार भनी ल्होछार मान्न थालिएको थियो, त्यसभन्दा अगाडी ग्याल्बो नाम नजोडिकनै ल्होछार मानिन्थ्यो भन्ने भनाई पनि सुन्नमा आएको छ । त्यस्तै करिब ई.वि.सन् १२२३ तिर मंगोल राज÷बादशाह ‘जेंगिज खाँ’ ले तिब्बतको शिऊँ प्रान्तमा आक्रमण गरी विजय गरेपछि युद्घका कारणले ल्होछार परेको तिथिमितिमा मनाउन नपाएका जनतालाई मनाउ भनी राजले आदेश वा अनुमति दिईसकेपछि त्यहाँका जनताले खुशी भई सम्मान् स्वरुप ग्याल्बो (तिब्बती भाषामा राजलाई ग्याल्बो भनिन्छ) ल्होछार भनी राजको नाम जोडी सो ग्याल्बो शब्द प्रचलनमा आएको हो भन्ने भनाई पनि छ ।

निष्कर्ष र विश्लेषण :

सो तथ्यहरुबाट नेपालमा मानिने ल्होछारलाई तीनवटा नामबाट पुकारिएको पाईन्छ, सोनाम, ग्याल्बो र तोला ल्होछार । वास्ताबमा व्यावहारिक र बैज्ञानिक तरिकाले बुझ्दा र भन्नुपर्दा ल्होछार अर्थात् नयाँ वर्ष एउटा उत्सव वा चाड हो, जसको कुनै प्रकार वा थरी हुदैन र हुनुहुन्न पनि । उत्सवको अगाडि केहि अर्थ दिने शब्द झुन्डाएर वर्गीकरण गरिएको छ । यो सरासर यी ल्होछार मान्ने समुदायहरुलाई विश्वमा चर्चित राजनीतिक सत्ता प्राप्त गर्ने वाक्य “फुटाउ र शासन गर” ९म्ष्खष्मभ बलम च्गभि० भन्ने सुत्रप्रयोग गरेको जस्तो देखिन्छ । जस्तो कि, यो सांस्कृतिक रुपमा विभाजन गर्न, सामाजिक र राजनीतिक रुपमा फुटाउन र शोषण गर्न परापूर्वकालदेखि शासक वर्गले आफ्नो स्वार्थसिद्घ गर्नका लागि रचिएको जालो हो । जुन जालोमा यी समुदाय अलमल परिएको स्थिति हो यो ।   चीनमा सोनाम भनेको खतीपाती गर्ने किसान भन्ने बुझिन्छ । त्यसैले पनि तोला र सोनाम ल्होछार मध्यम र गरिब वर्ग खासगरी किसानहरुले मान्ने गरेको देखिन्छ भन्ने भनाइ यदाकदा सुन्न पाइन्छ । भने, ग्याल्बो भनेको तिब्बतियन भाषामा राजा हो । त्यसैले यो ल्होछारलाई राजबासा र उच्चवर्गले मान्ने ल्होछार भनिन्छ । त्यसकारण यसको नाम ग्याल्बो रहन गएको हो भन्ने भनाईहरु पनि सुनिन पाइन्छ । नेपालमा महायनी बुद्घधर्मालम्बी लामा गुरुहरुले तिब्बतबाट लखेटिएका दलाई लामालाई आफ्नो गुरु मानिएकाले पनि नेपालमा यस ल्होछार विशेषतः दलाई लामालाई गुरु मान्ने लामा समुदायहरुले मान्ने गर्छन् । स्मरणीय छ, दलाई लामा तिब्बतका पूर्वग्याल्बो (राजा) थिए । यी तथ्यहरुबाट के प्रष्ट हुन्छ भने चाडवर्पलाई पनि शासक वर्गले वर्गीय विभाजन गरेको देखिन्छ । शोसक, धनी र उच्चवर्गले मान्ने र शोषित वर्ग, गरिब श्रमजिवी वर्गले मान्ने । के कारणले यस्तो गरियो भन्दा यदि शोषित पीडित गरिब श्रमजिबी वर्गहरुले मात्रै यो चाडपर्वलाई मान्दै आएको खण्डमा त उनीहरुको एकता कायम भई सांस्कृतिक जागरण आउछ । सांस्कृतिक जागरण आईसकेपछि सामाजिक र राजनीतिक जागरण पनि आउछ । अनि उनीहरु एकजुट भई शोषक सामान्ती, शासक वर्गलाई शासन गर्नबाट बञ्चित गारईदिन्छन् । त्यसपछि आफ्ना स्वार्थ पुरा हुन्न भन्ने मानसिक डरले सांस्कृतिक एवं सामाजिक चाडपर्वलाई विभाजन गरी ती वर्ग÷समुदायहरुलाई विभाजन गर्ने उनीहरुको उद्देश्य प्रस्ट देखिन्छ ।

अहिले हाम्रो देशमा खासगरी २०४६ सालमा प्रजातन्त्रको पुनः बाहाली भई परिवर्तन आएपछि मात्रै सार्वजतिक र भव्यरुपमा ल्होछार मनाउन सुरु गरिएको हो । २०४६ साल अगाडिसम्म आफ्नो समुदाय भित्र त मानाइन्थ्यो । तर, सार्वजनिक र भव्य तरिकाले मनाइदैन थियो । त्यसपछि यो समुदायले आफ्नो संस्कारका लागि धेरै सघर्ष गरी अहिले सोनाम, ग्याल्बो र तमु÷तोला ल्होछार तीनै वटालाई राष्ट्रिय रुपमा नेपाल सरकारले पनि एक एक दिन विदा दिई राष्ट्रिय पहिचान र सम्मान गरेको जस्तो देखिन्छ । नेपाली र नेपाल सरकारले यो ल्होछार मनाउने समुदायहरुको महान पर्वलाई राष्ट्रिय पहिचान त दिईयो तर भित्रभित्रै एउटै नाम गरेको पर्वलाई विभाजनको झन् गाढा रेखा कोरिएको देखिन्छ । त्यसो हुँदा यहाँ पहिचान र सम्मान नभई विभाजन र अपमान गरेको अनुमान गर्न सजिलै सकिन्छ । यतातिर पनि सरोकारवालाहरु (नेपाली र नेपाल सरकार अनि यो ल्होछार मान्ने सबै समुदायहरु) वेलैमा सचेत हुन आवश्यक देखिन्छ ।   अहिले हामीले एक–दुई महिनाको फरकमा तीन किसिमको ल्होछार प्रचलनमा ल्याएको भए पनि मान्ने तिथिमिति फरक परे पनि आखिरमा तीनै समूहको वर्ष वा वर्षचक्र (१२ वटा संकेतिक जनवारहरु, वर्ष चक्र) ल्होखोर च्युङी एउटै हो र मान्नुपर्ने ल्होछार पनि त्यही हो । त्यसैले पहिला यी तीनवटै ल्होछारलाई एउटै तिथिमितिमा मान्नको लागि ल्होछार मान्ने हामी सचेत वर्गदेखि विज्ञ र धर्मगुरुहरु सबै बसेर निर्णय गर्नुपर्छ । बैदिक पर्यवेक्षक र सकेसम्म खगोलशास्त्रीहरु पनि राखी वर्षको परिमाण, वर्षगणना गर्ने पद्घति, अधिकमासको लक्षण, अधिकमास मान्ने पद्घति, तिथिको लक्षण, तिथि गणना गर्ने पद्घति निश्चित गरेर सबैले सँगै ल्होछार मान्ने र राष्ट्रिय विदा यथोचित रुपमा चार–पाँच दिनसम्म हुनुपर्ने निर्णय गरी सम्बन्धित सरोकारवाला पक्षसँग सम्बन्धित ठाउँमा सम्बन्धित नीति बनाई स्थापित गर्न खोजे उपयुक्त हुन्छ ।

नत्रभने यी तिनै समुदायलाई चार–पाँच दिनसम्म विदा चाहियो भनेर सम्बन्धित सरोकारवाला पक्षसँग सम्बन्धित ठाउँमा सम्बन्धित नीति बनाई स्थापित गर्न खोज्दा त देशको विकासदेखि सम्पूर्ण काममा असर पर्ने देखिन्छ । त्यसो हुँदा विदा घोषणा गर्नेलाई पनि अप्ठयारोको स्थिति हुन्छ । फेरि हाम्रो देशमा हामी एउटामात्रै सांस्कृतिक समुदाय पनि होइन, भोलि राज्यले अरु सांस्कृतिक समुदायको माग पनि त सुन्नु पर्ला । यदि मुलुकमा रहेका सबै जातजातिका सांस्कृतिक चाडपर्वलाई हाम्रो समुदायको नै सांस्कृतिक पर्वको हाराहारीमा विदा दिने हो भने एक वर्षमा काम गर्ने समय राष्ट्रमा कति बच्ला ? प्रश्न गम्भीर छ । यद्यपि ल्होछार मान्ने समुदायहरुको मात्रै देश विकासमा चिन्ता लिने, टाउको दुखाउनु पर्ने विषय भने होइन । किनकि, नेपाल धर्मनिरपेक्ष राज्य भनी घोषण गरी संविधानमा नै उल्लेख भईसक्दा पनि धार्मिक तथा सांस्कृतिक पर्वहरुमा नेपालमा भएका धर्महरु एवं संस्कृतिहरु अनुसार विदा दिने प्रचलन असमान तिरीकाको देखिन्छ ।

उपसंहार :

 त्यसैले महान पर्व ल्होछारको सवालमा माथि उल्लेखित सबैको समन्वयले एउटै नव वर्षारम्भको दिन निश्चित गर्न सकिए बैदिकहरुका लागि, ल्होछार मान्ने हामीहरुका लागि र राष्ट्रका लागि पनि राम्रै कुरा हो र हुने थियो । नेपाल राष्ट्रलाई सांस्कृतिक रुपमा धनी, सामाजिक रुपमा एक, राष्ट्रिय रुपमा बलियो र विकसित बनाउने दृष्टिले पनि यो अत्यन्त उचित एवं आवश्क देखिन्छ । अन्तमा, यसपालीको २८४९ औ सर्प÷चलनचल्ती तामाङ भाषामा पुख्री (डुल) वर्षको उपलक्ष्यमा समस्त स्वदेश वा विदेशमा बस्ने नेपाली दाजुभाई तथा दिदीबहिनीहरुमा र विश्वका ल्होछार मान्ने सम्पूर्ण समुदायलाई डुल ल्होछारको शुभकामना । थुजुछे ।

Last Updated on Saturday, 02 February 2013 13:01

Hits: 1165

 हार्दिक श्रध्दाञ्जलि - ज्ञान बहादुर गाहा मगर