A+ A A-

राष्ट्रिय मगर माला (संस्मरण)

गोरे बहादुर खपांगी मगर

४० वर्ष अघि मध्येमाञ्चल विकास क्षेत्र, जनकपुर अञ्चल, जिल्ला रामेछाप, सदरमुकाम रामेछाप वजार, गौरिशंकर हाइस्कूलको प्रधानाध्यापकमा नियूक्त भएँ । जनकपुरधाममा अवस्थित नेपाल सुर्ती विकास समितिको छँदोखाँदोको हाकिमको पद छोडेको थिएँ । जे लेखेको छ त्यही हुन्छ भनेझैं भयो । प्रधानाध्यापकको खवर रामेछाप वजारको छेउमा रहेको सुकजोर मगरवस्तीमा पुगेछ । केही दिनपश्चात विद्यालय समयमा एकजना झण्डैझण्डै मेरै उमेरका मानिस मलाई भेट्न आए । म त्यसवेला ३० वर्ष भइसकेको थिएँ । उनको हुलियाको कारणवाट उनलाई मसँग भेट्न निकै संघर्ष गर्नुपरेको रहेछ । कसोकसो पियन वा शिक्षकमध्ये कसैले उनलाई मसँग भेट्न अनुमति दिएछन् । उनी प्रधानाध्यापकको कार्यालयमा पसे ।

त्यो मान्छे मेरो अगाडि ठिँङ उभियो । उनको त्यस अवस्थाको वयान म यहाँ गर्न चाहन्न । धुजाधुजा भएको स्टकोटको भित्री खल्तीवाट उनले थाङ्नाको पोको प्रअको टेवुलमाथि राखे । मैले बस्न भनें । उनी अप्ठेरो मानीमानी कुर्सीमा बसे । मैले शोधे,  ‘यो के ?’ जवाफ थियो हातको शोभा । ठूलालाई भेट्न रित्तो हात जानुहुन्न । मैले त्यो सानो पोको खोलें, ग्वारहु (कुखुराको अण्डा) रहेछ ।
उसको पहिरन । लुगामात्र मैला थिएनन् । ठाउँठाउँमा नमिठोगरि फाटेका पनि थिए । टोपीको फेरो च्यातिएको, टुपी निस्कने । कछार त्यस्तै । पाइतला नाङ्गै । उसको स्वभावमाथि गहिरिएँ । मैले शोधें उसले भेट्न आउनु मवाट कुनै काम उसको लागि थियो कि । विलकूल छैन भन्ने जवाफ पाएँ उवाट । सदरमुकामको हाइस्कूलमा मगर हेडसर आएको खवरको निक्र्योल मगर गाउँवाट सायद उनी म कहाँ आएका थिए । एकछिनको कुराकानीपश्चात उनी फर्के र कहिल्यै नविर्सने छाप ममा छोडेर गए ।

पञ्चायतकाल, मगर जाति सम्वन्धमा चिन्तन गर्न मलाई यो कालले रोकेन । यो जातिवारे भन्दापनि यसको अवस्था सम्वन्धमा सोंच्न थालें । समयले कोल्टो फेर्दै जानथाल्यो । तत्कालीन राजा वीरेन्द्रले एक्कासी राष्ट्रिय जनमत संग्रहको घोषणा गरयो । नेपालको लागि यसप्रकारको शाही कदम आफैमा नौलो थियो । वि.सं.२०३७ वैशाख मसान्तमा यो सम्पन्न भयो । यसमा सुधारिएको पञ्चायत प्रणालीले जित्यो । वहुदलीय शासनप्रणाली पराजित भयो । त्यसवेलाको शक्तिशाली पार्टी नेपाली काँग्रेसको तर्फवाट वीपी कोइरालाले परिणामलाई स्वीकार र स्वागत गर्यो । म रामेछाप वजारमा गिरफ्तार गरिएँ । गिरफ्तार गरिएकै मध्यराति हड्कडीसहित चलान गरिएँ । कहाँ लगिदै छ थाहा थिएन । वाटैमा घाम झुल्कियो । दिशापिसावको लागि अनुरोध गर्दा पर नजाने आदेश भयो । देखिनेगरि बस्नुपर्ने भयो । त्यतिमात्र कहाँ हो ! मतिर वन्दुकको संगिन पनि तेर्सियो । प्रहरीको संख्या ६/७ थियो । त्यसवेला मलाई आभास भयो, प्रअको रुपमा के गर्दै रहेको रहेछु ६ वर्षसम्म । २०३६ मंसिर २६, २७ र २८ हेटौडाको भुटनदेवी माविमा कडाईका साथ विद्यालय शिक्षकहरुको प्रथम ऐतिहासिक राष्ट्रिय सम्मेलन सम्पन्न भयो । एउटा तदर्थ केन्द्रीय समिति त्यही विद्यालयका प्रअ वद्रिपसाद खतिवडाको अध्यक्षतामा गठन भयो । म संस्थापक केन्द्रीय सदस्य थिएँ । जनमत संग्रहताका रामेछाप दोलखाका शिक्षकहरु भेला गराएर भाषण गर्न थालें, वहुदलको पक्षमा । नेपाल राष्ट्रिय शिक्षक संगठन खोलिनु र त्यसको संस्थापक सदस्य हुनु राज्यलाई नपचेको वेला वहुदलको पक्षमा शिक्षकले राजनीतिक भाषण गर्दै हिड्नु जिल्ला प्रशासनको लागि अपराधै भएको रहेछ । यद्यपि राजा वीरेन्द्रको घोषणामा प्रत्येक नागरिकलाई यस विषयमा अभिव्यक्ति दिने पूर्ण छुट थियो । विडम्वना, व्यवहारमा यो निषेधित रहेछ । यो कार्य पञ्चायतको लागि देशद्रोह रहेछ, आफूलाई थाहै भएन । निश्चय पनि मेरो गिरफ्तारीको प्रधान पक्ष यही हुनुपर्छ । यसपछि कहिल्यै हाइस्कूल प्रअ हुने शौभाग्य पाइएन ।

१४ महिनाको जेलजीवन पश्चात वि.सं. २०४३ को आमचुनावमा नेकपा (माले) को तर्फवाट जनपक्षीय उम्मेदवार राष्ट्रिय पञ्चायतको लागि भइयो । त्यसताका जिल्ला नै निर्वाचन क्षेत्र हुने गथ्र्यो । पराजित भइयो । तत्पश्चात म पूर्णरुपले नेकपा (माले) को कार्यकर्ता भएँ । यो पञ्चायतकाल नै थियो । पार्टी प्रतिवन्धित रहेकै वेला पार्टीले मलाई ‘फुलटाइम वर्कर’ वनाएको थियो, वापतमा प्रत्येक महिना भरण पोषणको लागि रु. १४ सय पाउथें । सो रकम दिनआउने प्रदीप नेपाल । मसँग मेरी पत्नी विद्या र ४ वटा वालवच्चा थिए । सवैजना काठमाण्डौमा थिए । चिनी केजीको रु.१२ । मुसुरोको दाल रु. ८ । राँगाको मासु केजीको रु. १० । पञ्चयात शासनको अन्त्यतिर म चिकंमुगल बस्थें । 

किराँत याक्थुङ् चुम्लुङ्ले विक्रम सुव्वाको सक्रियतामा एउटा कार्यक्रम त्रिवि शिक्षाशास्त्रको सभाभवन किर्तिपुरमा आयोजना गरेको थियो । यसमा मैले वक्ताको रुपमा अव उपरान्त हामीले वोकेको वञ्चरोको धार पञ्चायततर्फ धेरै हान्यौं, आफ्नै कम्यूनिष्टतर्फ हान्नुपर्छ भनें । यसको जवाफ उक्त कार्यक्रममा मोदनाथ प्रश्रितले यसरी राख्नुभो, ‘गुरुङ, मगर, राई, लिम्वूले धरान, विराटनगर, भैरहवा, वुटवल आदिमा वनाएका भव्य घरहरु के वाहुनहरुले मागेका छन् ? यिनीहरुलाई पार्टीको पोलिटव्यूरो, केन्द्रीय समितिमा पद चाहिने ?’ मेरो रिस त्यस सभामा पोख्नु भो । मैले पञ्चायतको उत्तरार्धमा भन्नथालेको थिएँ कि देखिएका गैरतागाधारी पार्टी कार्यकर्तालाई प्रत्येक जातिवाट १/१ जनालाई नेकपा (माले) को केन्द्रीय समितिमा राखेमा पार्टीको गति दु्रत्तर हुदैजानेछ । यो कुरा बाहुनको नेतृत्वमा रहेको नेकपा (माले)लाई पचेको रहेनछ । पार्टीमा तागाधारी कार्यकर्ताहरुसँग गम्भीर प्रकृतिका सानातिना जातीय घटना भएको अनुभव मसँग डल्लै छन् । आवश्यकता नै आविष्कारकी जननी हुन् । घटनाहरु एकपछि अर्को ‘एक्सपोज गरिदै जालान’, आशा राखौं ।

वर्षौं पश्चात मैले रामेछाप वजारको हाइस्कूलको प्रअ गोरेवहादुर खपांगीको टेवलमाथि ग्वारहु राख्ने मगरलाई सम्झे । त्यसताका सम्भवतया जनकपुर अञ्चलमै म पहिलो ‘मगर हेडसर’ थिएँ । त्यही ग्वारहु राख्ने मगरको प्रेरणाले होला, २०३९ साल १५ फागुनमा ‘नेपाल लाङ्घाली परिवार सँघ’ खोल्ने मैले औकात पाएको हुनसक्छ । श्रद्धय हेमवहादुर पुनमगर यस संघको पहिलो अध्यक्ष हुनुहुन्थ्यो । उहाँ पोखरा रामवजार निवासी हुनुहुन्थ्यो । यो नवगठित संस्थाको माध्यमवाट मैले नेपाल दर्शन गरें । मगरको बसोबास पचहत्तरै जिल्लामा छ । यसको म संस्थापक सदस्य थिएँ । मगरको अवस्था प्रत्येक्षरुपमा बुझ्दैजादा साथसाथै यो समुदायलाई व्यूताउने कार्य पनि गर्न थालें । हिजोआज समुदायवाट समाज निर्माणतर्फ मगरहरु अघि बढ्दैछन् । व्यूतिन थालेका छन् । उठेका छन् । जागेका छैनन् । जाग्नेले आफ्नो विरुद्धमा आउन लागेको जोखिमको आभास, अन्देशा देख्न थाल्ने छन् ।
मैले यो कार्यमा लाग्न अघि वीए, डीप इन एड र ‘एमएड’सम्मको पढाइ सकेको थिएँ । अध्ययन थालें र साथ साथै व्यवहारिक क्षेत्रमा कार्यरत पनि हुनथालें । यसले मलाई म आफैले समेत रोक्न नसक्ने ज्ञानहरु ममा आउनथाले । ती थिए मेरा अनुभवहरु ।
मेरो घर महोत्तरीको रामनगरवाट गौशालावजारस्थित त्रिभुवन इङलिस हाइस्कूल पुग्न म विद्यार्थी छदाँ झण्डै आधा घण्टा लाग्ने गथ्र्यो । आमाले जौको रोटी भुसको मात्रा धेरै राखेर स्कूलमा खाजाको लागि दिने गर्नुहुन्थ्यो । मसँग अहिले कतै मेरो घर छैन । ज्ञानेन्द्रको पालामा राष्ट्रिय जनमुक्ति पार्टीको सिफारिसवाट ‘महिला वालवालिका तथा समाज कल्याण मन्त्री’ वनाइदा एउटा छाप्रोसम्म थियो, त्यो पनि थोत्रो । हाल म ‘होमलेस’ छु । असंख्य मगरहरु अझै पनि ‘होमलेस’ नै छन् । अन्यथा अर्थ राख्ने छैन भनी इच्छा राख्छु ।

पचासको दशकतिर आउदै गर्दा थाहा पाएँ, तृष्णा दुःखको कारण रहेछ । वुद्ध दर्शनमा घोत्लिदा यो थाहा भयो । उनको दर्शन, सिद्धान्त र विचारधाराको सम्वन्धमा यो लेखनकार्यमा आवश्यकता परे सही र सटिक कुराहरु नराख्ने भुल गर्दिन । सर्पको खुट्टा सर्पले देख्छ भनेझैं मगरले मगरको मन देख्नैपर्ने हुन्छ भन्ने विश्वासमा म छु ।

‘आफ्नो इतिहास, उत्पत्ति र संस्कृतिवारे जानकारी नहुने व्यक्ति जराविनाको रुखजस्तै हो’–मार्कस गार्भे, जमैकन नेता । जमैकन नेताको सारगर्भिक भनाई उदृत गर्दागर्दै पनि म मगरको इतिहास, उत्पत्ति र संस्कृतिवारे जानकार व्यक्ति चाही पक्कै पनि होइन । मगर पछि पर्नु वा पारिनुको पछाडि यिनैवारे मगरमा अद्यावधि अज्ञानता व्याप्त रहनु नै हो । अज्ञानताको पर्दा लामो समयदेखि च्यात्ने क्रममा लखन थापामगर गोरखाका, नेपाल आर्मीका कप्तान प्रथम शहिद थिए नेपालका भनी नेपाल मगर संघको मञ्चवाट भन्दै हिडें २५ वर्षसम्म आधिकारिक रुपमा । मगर जातिसँग आदिकवि थिएनन् । स्याङ्जा कारिकोट जन्म भएका जीतवहादुर सिंजालीमगरलाई अघि ल्याइयो । नेपाल मगर संघले आफ्नो कार्यकालमा दशै परित्याग, मगरवाट कर्मकाण्ड गराउने र मगर जातीय धर्म वौद्ध भन्ने निर्णय अगाडि ल्याइसकेको छ । मौलिकताको कारणवाट ३ सय वर्ष अघिदेखि राजकाज चलाउदै आएका मगरहरुमा गौरवको अनुभूति हुनथालेको छ । मगर जातिवारे अध्ययन अनुसन्धान गर्नुहुने जोकोहिले राजहाँसको रुप धारण गर्नुभई पानीवाट दुध छुट्याउन सक्ने गुण राख्न सक्नुपर्छ भन्ने मेरो चाहाना हो, पूरा हुन नसक्ला तर मगरको आवश्यकता भने पूरा गरेकै हुनुपर्छ ।

मगर जातिवारे कलम चलाउनुहुने महानुभावले यसको साङ्गोपाङ्गोलाई छुनु, केलाउनु, उदृढ गर्नु, अध्ययन गर्नु, अनुसन्धान गर्नु आफ्नो धर्म मान्दा अत्युक्ति नहोला भन्ने ठान्छु । तथापि परोपदेशे पांदिताम हुनथाहन्न म । यो प्रक्रियावाट गुज्रिने क्रममा लेखकले धेरै लामो वाटो तय गर्नुपर्ने हुन्छ । वाटो लामो मात्रै नभई सोझो पनि छैन । आफूले चिताउदै नचिताएको लेखकले आफ्नो लेखन यात्रामा भेट हुने सम्भावना मात्र नभई मगर जातिका इतिहासलाई ठोस रुप दिन अथक प्रयास गरेर भेट्ने पनि गर्नुपर्छ । उदाहरणको लागि नेपालको शाहवंश ।

‘जात फेर्ने ठालुहरु’ लेखक प्रदीप थापामगर । उहाँले यसमा वडो रोचक ढँगवाट मगरहरुले जात फेर्दैगएको उल्लेख गर्नुभएको छ । इतिहासको अध्ययन गर्ने क्रममा म आफैले पनि कक्षा ५ मा पढ्दै गर्दा जंगवहादुर राणाका पिता वालनरसिंह कुंवर भन्ने पढ्थें । त्यसैगरि मुर्धन्य लेखक स्वर्गीय ऋषिकेश शाहवाट पनि लेख, रचना र प्रत्यक्ष भेटघाटमा शाहवंशको उद्गम थलो ‘मगर’ नै भएको उल्लेख गर्नुहुन्थ्यो र साथै, कुँवरको पहिलो रुप ‘मगर’ नै हो भन्ने गर्नुहुन्थ्यो । यो दावी वर्तमान नेपालमा मगर मात्रले गरेको पाउछौं । ‘प्राचीन मगर र अक्खालिपी’ लेखक एमएस थापामगरले ठोकुवा गरेर वुद्ध ‘मगर’ वंशकै थिए भनेका छन् । इतिहासको एउटा कालखण्डमा आइपुग्दा जात फेर्ने मगरहरु शाहवंशीय राजासमेत हुनपुगे । यसो हुनजादाँ पृथ्वीनारायण शाह आधुनिक नेपालको निर्मातासमेत हुनपुगे । शाह राजाहरु निरङ्कुश हुनपुग्दा वर्गीय चरित्रको देन हो भन्दा अत्यूक्ति नहोला । जातीयताको गौरववारे चर्चा गर्दा वर्गीय निरङ्कुशतालाई पन्छाएर अघि बढ्नसक्नु मुर्धन्य लेखकको धर्म हुनजानेछ ।  
क्रमश.....

 हार्दिक श्रध्दाञ्जलि - भिमी देवी राना

मिग मिडिया प्रा.ली द्धारा संचालित

www.rajyasatta.com

सुचना तथा प्रसारण बिभाग

दर्ता नम्बर १६८७/०७६-७७

ठेगाना

ललितपुर १४, ललितपुर

संचालक/प्रधानसम्पादक

हुम बहादुर थापा मगर

मोबाईल ९८४१५९३६०६