A+ A A-

आदिबासी जनजातिको पहिचान मौलिक संस्कृती : मिडियाद्धारा संस्कृटाईजेशन

 विष्णु कुमार सिङ्जाली
विद्यावारीधी शोधार्थी  (त्रि.वि.वि.)

This email address is being protected from spambots. You need JavaScript enabled to view it.


(१) विषय प्रवेश
 आजको सुचना तथा प्रविधीको युगमा समाज परिवर्तन, विकास र अग्रगमनको लागि मिडियाको भुमिका महत्वपुर्ण मानिदै आएको पाईन्छ । नेपाली समाज पनि हर समय परिवर्तन हुदै आईरहेको छ । तर नेपाली समाजको परिवर्तन स्वभाविक भन्दा पनि कृत्रिम परिवर्तन बढी छ । नेपालमा भएका भाषा भाषी र संस्कृतीहरुको मृत्यु र बिरामीपनलाई हेर्ने हो भने यहि भन्न सकिन्छ । नेपाली समाज र संस्कृतीको परिवर्तन संगै नेपालका आदिबासी जनजातिहरुको संस्कृतीमा अत्याधीक परिवर्तन आई रहेको छ । एकातिर आदिबासी जनजातिहरु पहिचानको आन्दोलन गरिरहँदा उनीहरुको साँस्कृतीक र भाषीक पहिचान भने हराउँदै गएको छ । यस्तो कार्य पछिल्लो समयमा मिडियाले प्रमुख भुमिका खेलेको छ । नेपालमा आदिबासी जनजातिहरुको पहिचान तथा अधिकारको आवाज शान्तीपुर्ण उठ्न थाले पछि मिडियाका माध्यमबाट उनीहरुको भाषा र संस्कृतीमा धमीरा लगाउने कार्यको शुरुवात पनि भयो । विगतमा राज्यले एकल जाति, भाषा र संस्कृतीलाई काखी च्याँप्यो आदिबासी जनजातिहरुको मातृभाषा र संस्कृतीलाई हुर्मत लियो, दमन गरयो, वितृष्णा फैलायो, भ्रम छरयो । नेपालमा प्रजातन्त्रको उदय भएपछि पनि त्यहि कुरालाई अघोषित रुपमा निरन्तरता दिईयो, गणतन्त्रपछि पनि कुनै सुधार भएन । आमसञ्चार जगतको उदय र फैलावट भए पछि पनि पुरानै कुरालाई निरन्तरता दिईयो । र त आदिबासी जनजातिहरुको पहिचान रुपी वृक्ष ढल्न खोज्दै छ, राष्ट्रियता हराउँदै गईरहेको छ ।
 अधिकाँस आदिबासी जनजातिहरु ग्रामीण भेग, दुर्गम स्थानमा बसोबास छ (नेवार बाहेक), जसलाई राज्यले स्थानीय स्तरमा खासै पहिचान दिएन, पहिचान सहित विकास हुन पनि दिएन । आज ग्रामीण पछाडी परेका आदिबासी जनजातिहरुले प्रगती गर्न वा सम्पन्न हुन चाहेमा उसले आफ्नो पहिचानरुपी मातृभाषा, संस्कृतीहरु परित्याग गर्नुपर्दछ । यी दुवै संगै लान्छु भनेमा उसको अवनति निश्चित छ । उच्च जातका मित्रहरु भन्दछन् – “पहिचान अर्थात मातृभाषा र संस्कृती भन्दै बस्दा वा त्यसको उत्थानको लागि काम गर्ने हो भने व्यक्तिगत विकास हुँदैन” । त्यो सत्य पनि देखिएको छ किन कि राज्यले पछाडी पारीएका वर्गको मातृभाषा र मौलिक संस्कृतीको संरक्षण, प्रवद्धन र विकासको लागि ठोस कार्यक्रम अगाडी सारेको छैन । अवस्य पनि भाषा र संस्कृतीको विकास भएको जातिको विकास पनि राम्रो हुँदोरहेछ । संसारमा अँग्रेज जातिको विकास र प्रगतीलाई यही रुपले हेर्न सकिन्छ । नेपालमा पनि यस्तो भैरहेको छ, जसको भाषा र संस्कृतीको विकास र प्रगतीमा राज्य लागेको छ, त्यो जाति र वर्गको विकास भएको छ ।
 आदिबासी जनजातीहरुको मातृभाषा र मौलिक संस्कृतीमा संस्कृटाइजेशन गर्ने प्रक्रिया इतिहासको लामो कालखण्डबाट चलिआएको पाईन्छ । आदिबासी जनजातिका तर्फबाट भाषिक र सांस्कृतीक पहिचान जोगाउन काम र प्रयाश हुँदै आएका थिए र आज पनि भएको छ । यसैले त आज बस्तीदेखि सडक र सदन सम्म यो मुद्दाले ततायो । पहिचान मेटाउन संस्कृटाइजेशन गर्ने प्रक्रियामा शिक्षा, साहित्य, विकास निर्माणका सन्दर्भबाट पनि सत्ता पक्षले नेपाली समाजमा लादेको पाईन्छ । धेरै पक्षबाट संस्कृटाइजेशन भएको भए पनि यहाँ मिडीयाका माध्यमबाट गरिएको संस्कृटाइजेशनको मात्र कुराकानी गर्न खोजिएको छ ।

(२) संस्कृटाईजेशन  
 नेपालको सन्दर्भमा राज्यले विगत लामो समयदेखि एक भाषा, एक संस्कृतीको माध्यमबाट राज्यमा शासन गरिरह्यो । यसले गर्दा कनकमणी दिक्षितको शब्दमा भन्दा “उच्च जातिहरु भाग्यमानी भए” (नागरीक, २०६७, जेष्ठ, ५ गते) । राज्य सत्ताबाट प्राप्त हुने अवसरहरुको उपभोग गर्न नपाएका आदिबासी जनजातिहरु राज्यको मुलधारबाट पछाडी परे । आदिबासी जनजाति वा पछाडी परेका वर्गका मानिसहरु जो आफ्नो मौलिक मातृभाषा र संस्कृतीमा रमाउन चाहे  तिनीहरुको राज्यमा कमजोर पकड रह्यो । पिछडीएका समुदायका मानिसहरुले राज्यमा पहुच बढाउन  वा सत्ता नजीक पुग्न आफ्नो मातृभाषा र संस्कृतीलाई तिलाञ्जली दिएर उच्च जातको भाषा र संस्कृती जसलाई राज्यले अंगीकार गरेको छ, त्यसलाई ग्रहण गर्ने संस्कार बाध्यतावश आदिबासी जनजातिमा शुरुवात भयो र निरन्तरता हुँदै आई आज बढ्दो छ । यहि प्रक्रिया नै संस्कृटाईजेशन हो । नेपालमा पनि यस प्रक्रियालाई लामो समयदेखि राज्यले लाद्दै आयो । आज पनि राज्यसत्तामा पहुँच बढाउन वा प्रगती गर्न आदिबासीहरु आफ्नो मातृभाषा र संस्कृतीलाई छोड्नु पर्ने बाध्यता छ । नेपालमा केही आदिवासी जनजाति सभासदहरु, विज्ञहरु पहिचानको पक्षमा देखिएनन् र पहिचानलाई अन्ध–जातिबादको रुपमा व्याख्या गरे  । हुन त ‘बलेको आगो सबैले ताप्दछन्....’ । सायद त्यसैले केही आदिबासी जनजातिका अगुवाहरुमा पनि त्यस्तो लोभ लालचा र स्वार्थ भएको हुनुपर्दछ ।
 अब प्रश्न उठ्छ नेपालमा संस्कृटाईजेशनको प्रक्रिया कसरी शुरु भयो ? कहिलेबाट भयो ? आदिबासीहरुले स्वेच्छीक रुपमा संस्कृटाईजेशनको प्रक्रियामा सामेल भए वा जबरजस्ती तथा षडयन्त्रपुर्वक त्यसतर्फ राज्यले होमीदियो ? आदि बहसका बिषय बन्न सक्दछ । तर पनि ‘हिन्दु  वैदिक दार्शनिक शंकराचार्य नेपालमा बुद्ध धर्म नष्ट गर्न आएका थिए । उनले बुद्ध धर्म र संस्कृती माथी विजय प्राप्त गरि हिन्दु धर्मको लागि गुठी निर्माण गराएका थिए र पशुपतिनाथ मन्दिरमा दक्षिण भारतबाट बाहुन पुजारी रहने व्यवस्था गरेका थिए’ (Majpuria, 2008: 91) । लिच्छवी कालखण्डको अन्तिम तिर यो धार्मिक लडाई भएको मानिन्छ । र केही पश्चिमा विद्धानहरुले बाहारौं शताब्दीमा पश्चिम नेपालको भु–भागमा हिन्दु धर्मावलम्बी बाहुनहरुको प्रवेश भएको बताएका छन् । यसै समयदेखि संस्कृटाईजेशनको प्रक्रिया नेपालमा शुरु भएको हुन सक्दछ । अर्को तर्फ राज्यले विगतमा लिएको नीतिहरु हेरेमा संस्कृटाईजेशनको ढाँचा बुझ्न सकिन्छ । पछिल्लो समयमा संसारमा 
सुचना प्रविधी (आईटी)को विकास अत्याधीक भएको छ, आमसञ्चारलाई छिटो छरीतो बनाएको छ । तर  पनि आदिबासीहरुको यस्ता प्रविधमा पहुँच नपुगेको कारणबाट बाध्यतावश उनीहरु आफ्नो मातृभाषा र मौलिक संस्कृती बिर्संदै वा मास्दै संस्कृटाइजेशनको प्रकृयामा समाहित छन् ।
 नेपालका आदिबासी आदिबासी जनजातिहरु पनि संस्कृटाइजेशन, बाहुनबादको भुमरीमा मज्जाले फसेका छन् । आधारभुत संस्कृती, इतिहास तथा उत्पत्तीमा समानता भए पनि उनीहरु सयौं चिरामा फुटेका छन् अनि आपसमा समान रहेका कुराहरुको विश्लेषण नगरी एक–अर्कामा फरक देखिने, अझ टुक्रिने क्रम बढ्दो छ । यस प्रक्रियालाई मिडीया, स्वदेशी÷विदेशी विद्धानहरुको अनुसन्धान थेसिस, पुस्तक र लेखहरु तथा स्वदेशी/विदेशी शक्तीकेन्द्रको स्वार्थका कारण पनि पिछडीएका वर्गको मातृभाषा र मौलिक संस्कृती संस्कृटाइजेशन हुँदै अब पश्चिमाकरण हुने क्रम बढ्दो छ । यसले नेपालीको भाषा र संस्कृतीको सुरक्षामा नै प्रभाव पारेको छ, राष्ट्रिय पहिचानमा नै असर गर्न सक्ने सम्भावना पनि रहन्छ ।

(३) मिडीया वा आमसञ्चार
 समाजलाई सही सुचना सु–सुचित गर्न, मनोरञ्जन प्रदान गर्न मिडीया वा आमसञ्चारको ठुलो भुमिका रहन्छ । लोकतन्त्रको आधार स्तम्भ मिडीया वा आमसञ्चारलाई मान्ने गरिन्छ र राज्यको चौंथो अंगका रुपमा पनि लिने गरिन्छ । आजको युग सञ्चार प्रविधी (आईटी) को छ । तर पनि मिडीया निश्पक्ष र समावेशी भने बन्न सकेको पाईंदैन किनकी पहुँचवालाहरुले यसको दुरुपयोग गरिदिन्छन् । आफ्नो स्वार्थ अनुकुल सञ्चालनमा ल्याउँदछन् । संयुक्त राज्य अमेरीकामा सयौं टेलिभिजन च्यानल र रेडियो स्टेशनहरुबाट अनेकौं भिन्न विचारहरु प्रस्तुत भईरहेका छन् भन्ने भ्रम तिनलै फैलाउँदछन् । तर यीनीहरु मध्ये सबैजसो आपसमा आन्द्रा गाँसिएका मुठ्ठीभर कम्पनीहरुद्धारा नियन्त्रित भएकोले यिनले विचारको वास्तविक विविधता भने बिरलै प्रस्तुत गर्दछन् । भुउपग्रहको माध्यमबाट यिनीहरुले यस ग्रहका प्रत्येक कुनाकाप्चामा हस्तक्षेप गर्दै विश्वभरिका चिन्तन तथा कार्यका वैकल्पिक तरिकाहरुका ढोका थुन्ने काम गर्दछन् (स्टेफेन माईकसेल, अनुवाद अनिल भट्टराई र खगेन्द्र संग्रौला सन् २००४ : १६) । यसबाट पनि आमसञ्चारलाई कसले सञ्चालन गर्दछन् भन्ने अड्कलबाजी गर्न सकिन्छ । नेपालमा पनि यस्तै भएको छ । यसले गर्दा मुठ्ठीभरका मान्छेहरुको सनकले राष्ट्रिय पहिचान भएका मातृभाषा र मौलिक संस्कृतीलाई विनास गर्न गाहारो हुँदैन होला ।

(४) नेपाली मिडीया वा आमसञ्चार
 नेपाली मिडिया पनि संस्कृटाईजेशन गराउने गतिलो माध्यम बनेको छ । नेपाली मिडीयाका पत्रकारहरु, निश्पक्ष, सहि विश्लेषण गरेर समाचार वा लेख रचनाहरु लेख्न वा प्रसारण सामाग्री बनाउन सकेका छैनन् । अहँकारबाद, पक्षपात वा पक्षपोषक, आँफुलाई मात्र सुपेरीयर वा जानकार ठान्ने प्रवृतीबाट नेपाली जनतामा सहि सुचना दिन सकेका छैनन् ।  यस अर्थमा नेपाली मिडीया हाउस जनताका सहि सुचना प्रदान गर्न सकेन र सहि बिचार निर्माण गर्न सकेन, जसले गर्दा देशमा अन्ध जातिबादको विकास भयो, पहिचानका कुराहरु जातियताका कुरामा आएर अड्कन पुग्यो, राष्ट्रियताका कुरा जातिय द्वन्दका कुरामा पुग्यो । यस्तो हुन अवस्य राम्रो होईन, समयैमा राम्रो निराकरण गर्न सकिएन भने यसले भविष्यको लागि गृहयुद्धको संकेत हुन सक्दछ । तर पनि यहि जातियता कुरामा ल्याएर समस्या अड्काउनु पनि संस्कृटाईजेशन गर्नको लागि मिडियाका पक्षपोषकहरुले गरेको प्रपन्च थियो । यो नै आदिवासी जनजातिमा भाषीक र साँस्कृतीक पहिचान नामेट गर्न उक्साहट बनेको छ ।
 नेपाली छापा, श्रव्य र दृष्यका मिडीया हाउस, गीत संगीत र फिल्महरुको उत्पादन, प्रसारणको बागडोर उच्च जातिको हातमा छ । समाजको समाजशास्त्रीय विश्लेषण, संस्लेषण र प्रेश्कृप्शन गर्ने ठाउँमा पनि उनीहरु नै छन् । तर उनीहरु यति धेरै पक्षपाती छन् कि अन्ध जातिबादमा फसेका छन् अनि विद्वतामा अहँकार छ । आदिबासी जनजाति, पिछडिएका वर्ग र उत्पीडीतका बारेमा सत्य तथ्य कुरा नगरी भ्रम छरिदिएका छन् । एक– आपसमा बझाएका छन्, जुधाएका छन् । जसले गर्दा बलपुर्वक संस्कृटाईजेशन गर्न मद्दत पुगेको छ । सडकमा, सदनमा आदिबासी जनजातिहरुले गरेको आन्दोलनले भोली अधिकार पाउँदा र अधिकारको अभ्यास गर्न पाउन्जेल सम्ममा उनीहरुको पहिचान लोप गराइ सिध्याउने मार्गमा निर्देशित छ ।

(५) मिडीयामा प्रसारण हुने अडियो/भिडियो
 मातृभाषा र संस्कृतीको विकास वा अवसानमा मिडियामा प्रसारण हुने गीत, संगीत, फिल्म, टेलीफिल्म, हास्यव्यंग, अन्तरवार्ता, भाषिक, सांस्कृतिक एवं जिवन पद्दती सम्बन्धी आदि कार्यक्रमहरुको महत्वपुर्ण भुमिका रहन्छ । नेपालमा सबैले देखेको कुरा के हो भने यहाँका साभ्रान्त वर्ग र राज्य सञ्चलाकहरु निष्पक्ष छैनन् । आफन्तबाद, नाताबाद, जातिबाद र मोलाहिज्जामा ब्यस्त छन् । यहि कुरा मिडिया र आम सञ्चारको माध्यममा पनि लागू हुन्छ । मिडीयाका अधिकारीहरु, कारिन्दाहरुको मानसिकता निश्पक्षता र समावेशी पक्षलाई ध्यान नदिई एकलौटी सुचनाहरु प्रवाह गर्दा संस्कृटाईजेशन बढ्दै गएर पहिचान हराउँदै गईरहेको छ । नेपाली फुलबारीमा धेरै फुलका प्रजातिहरु लोप हुँदै गईरहेका छन् । पहिचानका रुपमा रहेका स्थान, नदीनाला, हिमाल, पहाड र भुगोलका नामहरु जबरजस्ती फेरिँदै छन् । सभ्य संस्कृतीलाई बिकृत भनि प्रचारबाजी गरिएको छ । पहिचान इतिहास हो, यहाँ सञ्चार जगतले इतिहास मेटेर नयाँ नेपाल बनाउन खोज्दैछ । आम सञ्चार जगतले कुनै चाडपर्व, संस्कृतीको बारेमा अडियो/भिडीयो प्रकाशन र प्रशारण गर्दा नेपालको साँस्कृतीक केमेष्ट्री र यसबाट बनेको यौगिक तत्वलाई ख्याल नगरी, आदिवासी जनजातिको अस्तित्वलाई स्विकार नगरी उच्च जातिको भाषा र संस्कृतीलाई मात्रै बढावा दिएकोले उनीहरु आदिबासी जनजाति, पिछडीएका बर्ग र सिमान्तीकृत वर्गको मातृभाषा र संस्कृती मास्न लागिपरेका छन् भन्दा अत्युक्ती हुँदैन होला ।

(६) मिडीया र संस्कृती
 नेपाली आम सञ्चार जगतमा साँस्कृतीक पहिचान दशैं तिहार आदि जस्ता चाडहरुको प्रकाशन र प्रशारण गर्दा सत्य तथ्य लाई वेवास्ता गरि भारतीय हिन्दुका (वा बाहुनबाद) लाई मात्र पश्रय दिएर संस्कृटाइजेशन गरि प्रचार गर्ने गरेको पाईन्छ । नेपालको चाडपर्व, संस्कृती बन्नुमा यहाँका रैथाने आदिबासीहरुको भुमिका पनि छ र यी साँस्कृतीक केमेष्ट्रीको वास्ता गरिँदैन एकलौटी प्रचारबाजी गरिन्छ । सायद नेपालका साभ्रान्त वर्गहरु, सत्ताधारीहरु भारत प्रति नतमस्तक हुने उनीहरुको आशिरवादमा र इसारामा राज्यसत्ता चलाउने कारणले पनि यस्तो भएको हुन सक्दछ । यहि सत्ता र शक्तिको आडमा मातृभाषा र संस्कृतीको संहार गरिएको छ । मिडियामा प्रकाशन र प्रसारण गरिने गीत, संगीत पनि उच्च जातिको मात्रै बढी बजाईने गरिन्छ । उदाहरणको लागि  गण्डकी लुम्बीनी क्षेत्रमा आदिवासी समुदायको लोकप्रिय झाम्रे तथा रोदी र दोहोरीमा गाईने गीतहरु यानीमाया, सुनीमाया, सालीज्यू, कौर्हा आदि एकदमै कम प्रसारण गरिएको पाईन्छ, तर त्यही क्षेत्रका उच्च जातिको रोईला/ख्याली, भजन जस्ता गीत संगीतहरु हरदम प्रसारण गरिएको पाइन्छ । समाजमा त्यसलाई स्थापीत गर्न जबरजस्ती संस्कृटाईजेशन गरिएको पाईन्छ ।
 नेपालमा संस्कृटाईजेशनको माध्यमबाट आदिबासी जनाजातिका मातृभाषा र संस्कृतीको लोप गराईदैछ, नामेट पारिदैछ, पहिचान मेटिदै छ । यसमा सबै सचेत हुनुपर्दछ । नेपालमो भाषिक, साँस्कृतीक बिविधताको फुलबारीलाई एक दुई जातको फुलको मात्र बनाउन खोजिदैछ । यसमा आम सञ्चार, गीत, संगीत टेलीश्रृङखला र चलचित्रका माध्यमबाट संस्कृटाईजेशन लादिदैछ । आम सञ्चारकर्मीहरु, मिडिया हाउस, श्रब्य दृष्य सामाग्रीका उत्पादक, निर्देशकहरु यथार्थपरक र निश्पक्ष विश्लेषण गरेर सही सुचना दिनुपर्नेमा भ्रम छर्ने काम गरेको पाईन्छ ।
 अर्को तर्फ प्रेश स्वतन्त्रताको नाममा लोकतन्त्र विरोधी कार्यहरु र सिमित उच्च जाति र वर्गको हितमा यसले कार्य गरिरहेको पाइन्छ । यसले गर्दा यो देश एकल भाषा, संस्कृतीको फुलबारी बन्ने दिशामा निर्देशित छ । यसले गर्दा कलहको बीउ पनि रोपिन पुगेको छ । पहिचानका पक्षमा भएको लामो आन्दोलन, त्यसको विरुद्धमा एकलौटी गर्न पल्केकाहरुले चलाएको अन्धजातिबादी आन्दोलन का मागहरु उच्च जातिका नेताहरु संविधान सभामा नखोजेर अँध्यारो कुनामा “मोतो” दुई पक्षिय, तीन पक्षिय वा बहुपक्षिय “मोतो” बसेर मिलाउन खोजे, पहिचानका कुरालाई अन्धजातिबाद अर्थात जातियतामा व्याख्या गरि संविधानसभा संविधान निर्माण नगरी भंग गरियो । यो संस्कृटाईजेशन गर्ने षडयन्त्रको निरन्तरता थियो । नेपाललाई अग्रगमनमा लैजाने हो भने अँध्यारो कुनामा, टपरी र दुनामा “मोतो” गर्न छोड्नु पर्दछ । आदिबासी जनजातिको परम्परागत चलनमा अभ्यास गरिआएको  गाउँलेको भेलामा समस्या÷विषयवस्तुको उठान र सामाधान गर्ने जस्तो लोकतान्त्रिक परिपाटीमा गर्न कामकारबाही गर्न सक्नुपर्दछ । होईन भने नेपाल फेरी पनि गृह युद्धमा फस्न सक्दछ । अँध्यारो कुनामा, टपरी र दुनामा गरिएको “मोतो”को सहमती जनताले मान्न सक्दैनन् । यस्ता कुराहरुमा मिडियाले सहि भुमिका खेल्न सक्दछ तर नेपालमा त्यस्तो भइराखेको छैन । मिडियाकर्मीहरु पनि अरुको अस्तित्व र नेपालको सांस्कृतीक केमेस्ट्री लाई बुझेर पनि बुझपचाएका छन्, जुन कुरा हुन हुन्थेन । किनकी नेपालका पत्रकार, विद्धान वर्ग आदि जे भने पनि अधिकाँस उच्च जात र वर्गका मानिसहरु छन, उनीहरुको सत्ता र अन्तराष्ट्रिय जगतमा पकड छ । त्यसैले उनीहरु हिटलरको “असत्य कुरालाई पनि मिडीयामा सयौंचोटी प्रसारण गरेपछि सत्य बन्न जान्छ” भन्ने व्यवहार गरेमा नेपालमा दिगो शान्ती निम्त्याउदैन ।

(७) अन्तमा .....
 नेपालमा आदिबासी जनजातिहरुको पहिचानको आन्दोलन जहानियाँ राणा शासन अन्त्य गर्ने युद्ध/आन्दोलन भन्दा निकै अघिबाट शुरु भएको हो । वितेका ६०/७० बर्षमा नेपालमा सामाजीक परिवर्तन धेरै भए तर पनि आदिबासीहरुको हक, अधिकार र पहिचानको ग्यारेन्टी भई नसकेको अवस्था विद्यमान छ । अर्कोतर्फ आदिबासी जनजातिहरुको पहिचानलाई नामेट गर्न भाषा र संस्कृतीमाथी चारैतर्फबाट हमला भएको छ । हाम्रा मातृभाषा र संस्कृतीलाई मास्न मन्द बिष पिलाईसकिएको छ, जुन अधिकाँस आदिबासी जनजातिहरुले ख्याल गर्न सकेका छैनन् । संस्कृटाइजेशको कारणबाट  आदिबासी जनजातीहरु एक–आपसमा जोडिन नसक्ने गरि फुटिसकेको र अझ स–साना झुण्डमा फुट्ने प्रक्रिया रोकिएको छैन । यसले गर्दा एक–आपसमा बेमेलको अवस्था छ । जसले गर्दा पहिचानको ग्यारेन्टी हुन सकिरहेको छैन ।
 अर्को तर्फ नेपाली आमसञ्चार जगत, सिने जगत, गीत संगीतको जगतले पनि अघोषित रुपमा संस्कृटाईजेशन गरि आदिबासी जनजातिहरुको पहिचान मास्न युद्धरत छन् । उनीहरुको मिशन सफल भई सकेको छैन । यस्तो अवस्थामा हामीले आज बचेखुचेको हाम्रो पहिचान रुपी मातृभाषा र संस्कृती कसरी जोगाउने भन्ने प्रश्न दह्रो उठेको छ । अवस्य अधिकारको लागि अहिले आन्दोलन भएको छ, तुरुन्तै हामीले अधिकार पाउने आधार पनि छैन, तर भविष्यमा एक दिन अवस्य पाईन्छ । आदिबासी जनजातिहरुको चेतना, जागरण अझ बढ्दै गएर आन्दोलनको उभार आएपछि अधिकार दिन कर लाग्दछ, अन्यथा खोसेर पनि लिन सक्दछन् । त्यो समय सम्म हाम्रो मातृभाषा र पहिचान कसरी जोगाउने बारे आजदेखि हामीले सोच्नै पर्दछ ।
 विद्यमान व्यवस्थामा भएका सहुलियतहरुको उपभोग गर्दै हाम्रो पहिचान जोगाउन हामीले मिडीयामा लगानी गर्नुपर्दछ । च्यारीटी वा भेजा उठाएर समाजीक ट्रष्टहरु बनाएर मिडीया हाउसहरु स्थापना गरी सञ्चालन गर्नुपर्दछ । किन कि आदिबासी जनजातिको पक्षपोषणमा लाग्ने नेपाल जस्तो देशमा व्यवसायीक बन्न सक्दैन । अर्कोतर्फ यस्ता मिडीयआ हाउसहरुलाई निरुत्साहित पनि अवस्य गरिनेछ त्यस्तो समयमा संघर्ष गर्न सक्ने वातावरण पनि निर्माण गर्दै जानुपर्दछ । “हिरा काट्न हिरा नै चाहिन्छ” भने जस्तै, विद्यमान मिडीयाको जबरजस्त प्रचारबाजी रोक्नलाई, सहि बिचार निर्माण गर्नलाई आदिबासी जनजातिहरुले मिडीया, चलचित्र क्षेत्र, साहित्य सृजना र गीत संगीतका क्षेत्रमा लगानी बढाउनै पर्दछ जसले पहिचान जोगाउन सक्दछ, इतिहास खोतल्न सक्छ । यो क्षेत्रमा अध्ययन अनुसन्धान बढाई  सत्य तत्थ्य खोजी समाजलाई प्रष्ट पार्न पनि जरुरी छ ।
 यसका साथै नेपालको आदिबासी जनजातिहरुको सघन बस्ती भएका ठाउँहरुमा त्यो क्षेत्रमा बसोबास गर्ने आदिबासीहरुले (जस्तै : मगरातमा मगरहरुले) श्रब्य दृष्य तथा छापा मिडीयाहरु स्थापना गरि पहिचान जोगाउन आफ्नो मातृभाषामा र संस्कृती सम्बन्धी प्रकाशन र  प्रसारण गर्नुपर्दछ । हामीलाई राज्य, उच्च जातिको पहुँच भएका ठाउँमा पहुच पाईएन भनेर चुप लागेर बस्नु हुँदैन । अर्को तर्फ हाम्रा मानिसहरुलाई पत्रकारीता, श्रब्यदृष्य उत्पादनका विधाहरुमा उच्च उध्ययनमा पठाई र हामी भित्रबाटै अध्ययन अनुसन्धानलाई महत्व दिएर हाम्रो बौद्धिक जगत तयार र विस्तार गर्नुपर्दछ । जसले गर्दा हामी हाम्रो पहिचान जोगाउन सक्दछौं, आफ्नो खुट्टामा उभिन सक्दछौं, राष्ट्रियता जोगाउन सक्दछौं ।

सन्दर्भ सामाग्रीहरु :
डेशेन, मेरी र प्रत्युष वन्त (सम्पादन), सन् २००४ — नेपालको सन्दर्भमा समाजशास्त्रीय चिन्तन,  सोशल साईन्स बहाःका लागि हिमाल किताबद्धारा प्रकाशित, काठमाडौ ।
दास, प्रभाकरलाल, वि.सं. २०६१ — विश्वका प्रमुख मानवशास्त्री तथा समाजशास्त्रीहरु एक परिचय, काठमाडौ ।
Majupurias, Trilok chandra & Rohit Kumar 2008, : Religions In Nepal Published from India

कान्तिपुर राष्ट्रिय दैनिक
नागरीक दैनिक
रेडियो बिबिसी, नेपाली सेवा
कान्तिपुर टेलिभिजन

 

 हार्दिक श्रध्दाञ्जलि - ज्ञान बहादुर गाहा मगर