A+ A A-

शक्तिशाली पार्टी बन्ने नै भयो


राज्यसत्ता विशेष रिपोर्ट 

पार्टीबाट विद्रोह गरि जनजाति र सिमान्तकृत समुदायको मुद्धालाई स्थापित गर्न फरक– फरक विचार समूहबाट आउँन लागेका जनजाति तथा मधेशी नेताहरु एउटै पार्टीमा गोलबन्द हुने भएका छन् ।

पहिचान सहितको संघीयता र उत्पीडित बर्गका साझा मुद्धाका कारण उनीहरु फरक– फरक राजनीतिक पृष्ठभूमीबाट भएता पनि एउटै मालामा उनिने लागेका हुन् । उही विचार समूहसंग मात्र सहमति राख्नेहरु संगठित भएर राजनीतिक पार्टी जन्मिने परम्परालाई समेत अहिले उनीहरुले ठाडो चुनौति दिएका छन् । कांग्रेस एमाले र अन्य पार्टीमा असन्तुष्ट रहेका आदिवासी जनजाति मुश्लिम र मधेशीहरु सम्मिलित नयाँ पार्टी घोषणा अन्तिम चरणमा पुगिसकेको छ । मुख्य दलमा असन्तुष्ट रहेका आदिवासी जनजाति तथा मधेशी नेताहरुलाई पार्टीमा विद्रोह गर्न दबाव दिने भित्री उदेश्यले गठन गरिएको चैतन्य सुब्वा संयोजक रहेको कार्यदलले पार्टी निर्माणको काम अगाडि बढाइरहेको छ । सुब्वाका अनुसार अहिले एमाले र कांग्रेस पार्टी छाडेर आउँने नेताहरु नयाँ पार्टीमा गोलबन्द हुने छन् । यस अगाडि एमाले विचार समूहको फरक र कांग्रेस विचार समूहको फरक फरक पार्टी गठन गर्ने चर्चा चले पनि एउटै पार्टी बनाएर त्यसलाई शक्तिशाली रुप दिन नेताहरु बीच सहमति कायम भएको छ । पार्टीले असोज अन्तिम हप्तासम्म पूर्ण आकार पाउँने छ । पार्टीको नाम विधान र अन्य कुरामा समेत एमाले र कांग्रेस पार्टी छाडेर आउँने तयारीमा रहेका नेताहरु बीचमा छलफल भएको छ । यस अगाडि कार्यदलले प्रस्ताव गरेको सामाजिक लोकतान्त्रिक बहुल – राष्ट्रिय पार्टीको नाम समेत फेरिने भएको छ । उनीहरुले नयाँ पार्टीको नाम संघीय समाजवादी पार्टी प्रस्ताव गरेका छन् ।

एमालेलेबाट को –को नयाँ पार्टीमा जादै छन् ?

राजेन्द्र श्रेष्ठ, विजय सुब्वा, अजम्बर काम्वाहङ राई र अशोक राई समेतका नेताहरु नयाँ पार्टी निर्माणमा जुटेका छन् । एमाले उपाध्यक्ष अशोक राई र रामचन्द्र झालाई मुख्य जिम्मेवारी दिएर पार्टी खोलिने स्रोतले बतायो । एमालेले कारर्वाही स्वरुप सदस्यता खोसेर निकालिएका आङकाजी शेर्पा र एमालेबाट राजीनामा दिएका पाशाङ शेर्पा पनि त्यही पार्टीमै सम्मिलित रहने छन् । यता दलबहादुर राना, पृथ्वी सुब्वा गुरुङ किरन गुरुङ लगायत केही नेता एमाले भित्रै विद्रोह गरेर आफ्ना मुद्धा उठाउँने बताउँदै एमाले परित्याग नगर्ने भएका छन् । ९ बुदेँ माग मध्ये पहिचानमा आधारित संघीयताको माग बाहेक सबै मुद्धा पार्टीले सम्बोधन गरिसकेको अवस्थामा एउटा मुद्धा उठाउँन नयाँ पार्टीको जरुरी नभएको पृथ्वी सुब्वा गुरुङले राज्यसत्तालाई बताए । पार्टी नेतृत्वले थामथुम गरेर सुब्वा र राना लगायतका जनजाति नेताहरुलाई पार्टीमै राख्न कोशिस गरेको स्रोतले बतायो । स्रोतका अनुसार एमालेमा उपाध्यक्ष पद समाल्दै आएका अशोक राईले पार्टी परित्याग गरे पछि त्यो पद पृथ्वी सुब्वा गुरुङलाई दिइने पक्का भएको छ । तर गुरुङले अरुले पद छाडे पछि पद पाउँन कुरेको नभई त्यो पदका लागि आफू योग्य नै भएको बताउँने गरेका छन् । एमालेमा फरक विचार समूह निर्माण गरि पार्टीमा भुइँचालो नै ल्याएका जनजातिहरु नेताहरु मध्ये अधिकांश पार्टीबाट अलग भए पछि एमाले भित्र जनजातिको मुद्धा कमजोर बन्ने निश्चित छ । त्यहि जुक्तिमा पनि एमाले नेतृत्व लागेको प्रष्ट हुन्छ । तर संख्यात्मक रुपमा कम हुदैमा मुद्धा उठाउँन गाह्रो नपर्ने पृथ्वी सुब्वा गुरुङ दाबी गर्दछन् ।

कांग्रेसबाट को– को नयाँ पार्टीमा जान्दै छन् ?

कांग्रेसबाट कुमार राई र भातृ संगठनका केही व्यक्तिहरु नयाँ पार्टीमा सम्मिलित हुदै छन् । फरक विचार समूह निर्माण गरि मोर्चा बन्दी गरिरहेका कांग्रेसका इन्द्र बहादुर गुरुङ पनि नयाँ पार्टीमा जाने संभावना छ । त्यस्तै महासमिति सदस्यहरु बाट पनि केही व्यक्ति नयाँ पार्टीमा जाने भएका छन् । गुरुङ कांग्रेसले पुनःसंरचना र संघीयताको मुद्धालाई सम्बोधन गर्ने गरि प्रतिवेदन बनाउँन जिम्मेवारी दिएका भीम बहादुर तामाङको प्रतिवेदन उपर असन्तुष्टि जनाउँदै आएका छन् । प्रतिवेदन निर्माण कार्यदलमा समेत गुरुङ सहभागी छैनन् । गुरुङले कांग्रेसले निर्माण गरेको कार्यदलले पहिचान पनि समेटिने र द्वन्द्व पनि मेटिने गरि प्रतिवेदन बनाउँन लागेकाले त्यो प्रतिवेदन केवल टयावलेट मात्र हुने र पूर्ण नहुने बताउँछन् । पार्टीले आफ्ना माग सम्बोधन गर्ने नगर्ने विषयमा एक चरण नेतृत्वसंग छलफल बाँकी नै रहेको गुरुङले राज्यसत्ता डटकमलाई बताए ।

पार्टी निर्माणको क्रममा सबै समूहसंग छलफल गरि विद्यान, घोषणा पत्र र पार्टीको नामको टंगो लगाउँने काम तिव्रता पाएको कार्यदल संयोजक चैतन्य सुब्वा बताउँछन् । जनजातिका नाममा खुलेका पुराना पार्टीसंग पनि छलफल भैरहेको र उनीहरुलाई पनि नयाँ पार्टीमा गाभिने वातावरण बनाइरहेको सुब्बाले राज्यसत्ता डट कमलाई बताए । जनमुक्ति पार्टीले जनजातिद्धारा स्थापित भएका सबै पार्टीसंग छलफल गरि सबैलाई आफ्नै पार्टीमा गोलबद्ध गर्ने योजना बुलिरहे पनि त्यसले  अहिले नै साकार रुप पाउँने जस्तो देखिएको छैन । किन भने सबै जनजाति  आदिवासी अनि मधेशी र मुश्लिमको मुद्धासंग जोडिएकाहरुलाई समावेश गरेर शक्तिशाली पार्टी बनाउँन कांग्रेस एमाले भित्रका जनजाति अनि कार्यदलका मानिसहरु जुटेका छन् । कार्यदलका संयोजक सुब्वाका अनुसार जनजातिका मुद्धा बोकेर जन्मिएका सबै पार्टीलाई नयाँ पार्टीमा गाभ्ने प्रयास भैरहेको छ । तर जनजातिहरुको साझा मुद्धा र मधेशका क्षेत्रीय मुद्धा बीच भिन्नता छ । मधेशीहरु मधेश एक प्रदेश हुनु पर्ने माग छोडेका छैनन् ।  जसका कारण मधेशीहरु नयाँ बन्ने पार्टीमा समावेश हुन गाह्रो छ, वैचारिक मतभिन्नता नभएका बाहेक । त्यसो त मधेशका नाममा फरक –फरक विचार समूहका अलग अलग गरि करीब एक दर्जन मधेशवादी पार्टी सञ्चालित छन् । एउटै मुद्धाका कारण सिंगो पार्टीमा गोलबद्ध हुन लागेका नेताहरु भने भोली त्यो मुद्धा सम्बोधन भइसके पछि कसरी पार्टीलाई हाक्ने भन्ने कुनै रणनीति बनाएको देखिन्न जसका कारण पनि नयाँ पार्टीको भविष्य अझै अध्यारो देखिन्छ ।

(राज्यसत्ता नेपाल व्युरो)

 

 हार्दिक श्रध्दाञ्जलि - ज्ञान बहादुर गाहा मगर