A+ A A-

मतभेद भएर नयाँ पार्टीमा नबसेको होइन : अध्यक्ष लेखी

नेपालमा नयाँ राजनीतिक पार्टीको आवश्यकतामा दुई मत थिएन । यही परिपेक्षमा नयाँ शक्ति सामाजिक लोकतान्त्रिक बहुल राष्ट्रिय पार्टी उदाएको छ । तीन दल असफल सिद्ध भएकाले अहिले नयाँ राजनीतिक शक्ति जन्मिएको हो । नेपालमा नयाँ विचार नयाँ सिद्धान्त लिएर आउँने शक्ति प्रति हाम्रो समर्थन छ । नेपाल आदिवासी जनजाति महासंघको गत महिना सम्पन्न राजनीतिक सम्मेलनले नयाँ राजनीतिक शक्तिको आवश्यकता गरेको थियो । तर म आफै अहिले खोलिएको नयाँ पार्टीमा संलग्न छैन । हामीले एक बर्ष अगाडि नै विभिन्न जाति र समुदाय समावेश गरि नेपाल नागरिक पार्टी खोलेका थियौ । त्यस पार्टीको अध्यक्ष भएकोले एउटै व्यक्ति धेरै पार्टीमा किन संलग्न हुने भनेरै अहिले खोलिएको नयाँ पार्टीमा नगएको हो । तर नयाँ पार्टी खोल्ने साथीहरुलाई हामीले समर्थन र सहयोग गर्ने छौ ।
सबै जनजातिको साझा पार्टी बनाएर मूल धारको राजनीतिक शक्ति बनाउँनका लागि अहिले जन्मिएको जनजातिको पार्टीलाई हामीले सहयोग गर्न सक्छौ र शुभकामना पनि दिन्छौ । पार्टी खोल्ने विषयमा जहाँ पनि वैचारिक भिन्नता रहन्छ त्यो स्वभाविक हो । हामी नयाँ पार्टीमा संलग्न नभएको त्यस्तो अन्तर द्वन्द्व भएर चाहि होइन ।
राजनीतिमा जहिले संभावनाको ढोका खुल्ला हुन्छ । हिजो चार ̸ पाँच वटा शक्ति समाहित बनेर माओवादी बन्यो । त्यस्तै अरु शक्ति पनि समाहित भएर मूल धारको पार्टी बन्न सक्छ । हिजो म आफैले नयाँ पार्टी खोल्छु भनेर भनेको थिइन नयाँ शक्ति आवश्यक छ मात्र भनेको थिए । देश भरका लाखौ आदिवासी जनजातिहरुलाई नयाँ राजनीतिक दल खोल्न अधिकार छ । विगतमा खोलिएका जनजाति पार्टीहरु राजनीतिमा त्यसै विलाएको परिपेक्षमा नयाँ पार्टी खोल्दैमा केही हुन्न । पार्टीको सिद्धान्त र विचारले सबैलाई समेट्न सक्नु पर्छ । पार्टी गठन भए पछि उसले लिने कार्यनीति र रणनीति कस्तो हुन्छ त्यस आधारमा त्यसले कति ठूलो आधार लिन्छ भन्ने अनुमान गर्न सकिन्छ । अहिले नै नयाँ पार्टी यस्तो होला भनेर अड्कल काट्नु अलि हतारो हुन्छ ।
नीति कार्यक्रम सिद्धान्त मिले पछि मात्र पार्टीले ठूलो आकार लिन्छ सुरुमै पचासौ हजार कार्यकर्ताको बीचमा पार्टी खोलिएको कही पनि छैन । सुरुमा दश रबीस जनाले नै पार्टी खोलेको हाम्रो सामु इतिहास छ । हामी  राष्ट्रिय राजनीतिक शक्ति निर्माणका लागि सधै तयार छौ । त्यसैले नयाँ पार्टीमा सहमाहित हुन सक्छौ ।
(कुराकानीमा आधारित )

 हार्दिक श्रध्दाञ्जलि - ज्ञान बहादुर गाहा मगर