A+ A A-

जनजातिको घैंटोमा बल्ल घाम झुल्किएको छ : खपाङगी

मुख्य पहिचान मानिसको जात नै हो । भाषिक र अन्य कुरा पहिचानका मुख्य तत्व होइनन् । मानौ मगर जाति चन्द्रमा पुगे पनि उसगै उसको जात पनि जान्छ । भूमिको पहिचान वैधानिक पहिचान मात्रै हो । नेपाल छोडेर अमेरिकाको नागरिकता लिए पछि कसरी नेपाली हुन्छ ? त्यसैले भूमिको पहिचान भनेको बैधानिक पहिचान हो । त्यो वैधानिकता त्यागे पछि त्यो मानिस आफ्नै देशसंग समेत मतलब रहन्न । त्यस कारण पहिले देखि हामीले उठाउँदै आएको आदिवासी भन्ने कुरा ननइभोलुसनरी कुरा हो । एउटा सामान्य व्यक्ति पनि आदिवासी विश्वविद्यालयको प्राध्यापक पनि आदिवासी त्यो इभलुसन हुने कुरा होइन । आफ्नो भेषभुषा सहित हिड्ने पनि बाहुन प्रधानमन्त्रीको कुर्चीमा बस्ने पनि बाहुन यस्ता अनेक कुरा छन् जसको इभलुसन छैन । यो कुरा बुझेर नै यहाँ एकल जातीय हैकम छ र त्यसको मुक्तिको लागि अगाडि बढ्न पर्छ भन्ने कुरालाई हामीले सुरु देखि उठाएका थियौ । समयको अन्तरालमा त्यो कुरा किनारा लागेको छ । एकल जातीय राज्य माग्नेहरु अगाडि बढे । तर त्यो प्राप्त हुन नसकेको वस्तुस्थिति यहाँ देखिन्छ  । 
नेपालमा जातीय रुपमा शक्तिशाली समुदाय बाहुन बाहेक अरु कोही छैन । बाहुन आमाको काखमा रहेको बच्चा पनि संघीयताको विरोध गर्दछ भनेर मैले कुनै समय भनेको थिए । हामीले औकातको हेक्कै गरेनौ । एकल जातीय राज्य लिनेको के– के हुनु पर्दथ्यो र नदिनेको के के हुनु पर्दथ्यो त्यसमा नेतृत्व चुकेको देखिन्छ । त्यसकारण त्यो पाउन हामीले सकेनौ । एकल जातीय पहिचान बनाऊ भनेर हामीले हजारौ मानिसलाई ओराल्यौ । हामीले के पो जलाएनौ र ! तर हामीले संविधान पाउन सकेनौ । संविधान नआए पछि देश विखण्डन हुन जोगियो भनेर पनि संविधानसभा विघटन भए लगतै भन्न थालियो त्यो कुराले संविधान बनाउने उनीहरुको चाहना र रुचि नै रहेनछ भन्ने देखिन्छ । ब्राह्मणवादी एकल जातीय सत्ताको चाहना संविधान बनाउनमा रहेनछ । त्यो बाहिर जसरी प्रकट भयो मिडिया मार्फत् उनीहरुको भित्री चाहना पनि त्यस्तै थियो भन्ने कुरा थप उर्जागर भयो । 
संविधानसभाको आयु पुगेर अवसान भएको होइन । आयु त यस अगाडि नै पुगेको थियो । दुईको लागि गठन भएको संविधानसभाको म्याद छ महिना थप गरे पछि आयु सकिसकेको थियो । संविधान बनाउँ भनेर जेठ १४ अगाडि असंख्य आदिवासीहरु सडकमा ओर्लिए । संविधान बनेन सबै चुपचाप लागे । संविधान नबन्नुमा को दोषी हो ? त्यो स्पष्ट भैसकेको छ । 
यता चार पाँच बर्षदेखि एउटै पार्टीमा मिलेर जिम्मेवार पद समालेका नेताहरु जेठ १४ पछि अर्केा पार्टी खोल्न भन्दै आफैले नेतृत्व गरेको पार्टीबाट जनजाति नेताहरुले विद्रोह गरिरहेका छन् । पार्टीले हाम्रो एकल जातीय प्रस्तावलाई स्वीकार गरेन भने हामीले पार्टी परित्याग गर्दछौ भनेर अन्तरसंघर्ष चर्काइरहेको देखिन्छ । ब्राह्मणको नेतृत्वमा रहेको पार्टी ठीक छैन भनेर मैले २५ बर्ष अगाडि कम्युनिष्ट पार्टी परित्याग गरेको थिए । आज बल्ल जनजाति नेताहरु ठूला पार्टीबाट नेतृत्व देखि असन्तुष्ट भएर पार्टी परित्याग गर्ने क्रममा छन् त कतिले त्याग पनि गरिसकेका छन् । बल्ल जनजाति नेताहरुको घैटोमा घाम लागेको छ ।
          अबको निकास : 
         जति समस्याहरु देखिएका छन् सबै जातीय अधिकारको लागि नै हो । नेपालको सन्र्दभमा मैले २५ बर्ष अगाडि जातीय जनसंख्याको आधारमा  समानुपातिक प्रतिनिधित्व संभव भएको ठाउँमा गराउदै लैजानु पर्छ भन्ने कुरालाई जोडदार रुपमा उठाएका थियौ । त्यसलाई अहिले पनि लागू गदै गइयो भने सबै समस्याहरु समाधान हुदै जान्छ ।
           यता निर्वाचनको विषयमा सत्तारुढ दल र प्रतिपक्ष दलबीच विवाद कायम छ । निर्वाचन गराउदैमा सबै समस्या समाधान हुने पनि होइन । अधिकार नपाएकाले कसरी पाउने भन्ने कुरा नै प्रमुख हो । मिडियामा नेपालको राजनीति बाह्य प्रभावका कारण एकाएक मोडियो भन्ने कुरा उठेको छ । यो समस्या कहिल्यै टुंगिने विषय पनि होइन । नेपालको राजनीतिमा बाह्य प्रभावका कारण कसैले ठोकुवा गर्न नसक्ने अवस्था सृजना भइसकेको छ । 
          (राज्यसत्ता डटकमले राजधानी काठमाडौंमा गत महिना आयोजना गरेको बहसमा नेता खपाङगीले दिनु भएको विचारको सम्पादित अंश)

 हार्दिक श्रध्दाञ्जलि - ज्ञान बहादुर गाहा मगर