A+ A A-

जातिय सत्ता बचाउन मारियो संविधानसभा

समाचार विश्लेषण, राज्यसत्ता ब्यूरो
अधिकार दिनुभन्दा संविधानसभाको घाँटी रेट्न बेस भन्ने विश्लेषणको आधारमा संविधानसभाको हत्या गरिएकोछ । प्रमुख ३ दल र मधेसी दलहरुको संयुक्त सहमतिमा यस्तो अपराध गरिएकोछ । इतिहासमा सबैभन्दा बढी समावेशी यस्तो सभालाई हत्या गर्नेहरु कोठामा बसेर अट्टहास गरिरहेका होलान् तर उत्पिडितहरु भने डाँको छाडेर रोइरहेकाछन् ।


यदि अन्तिम समयमा जनजाति आन्दोलनको डरलाग्दो हुरी नआईदिएकोभए एक जातीय सत्ताका भरौटेहरुले संविधानसभा मार्ने नै थिएनन् । अन्तिम समयमा सबै दलहरु नाम विनाको प्रदेशमा सहमति गरेर संविधान जारी गर्न भनि हात मलेर बसिरहेकाथिए । तर जातीय स्वायत्तता विना कुनै पनि हालतमा संविधान जारी गरिन हुदैंन भन्दै देशका कुनाकुनाबाट भीर माहुरी जस्तो जनजातिहरुको ओइरो  सत्ताको  करीडोरमा उफ्रन आएपछि सत्ताका स्तम्भहरु काँपेकाथिए ।
करिब ३० बर्ष देखि असंगठित÷संगठित रुपले आन्दोलनरत जनजातिहरुको यो विध्न एकता कहिल्यै नदेखेका सत्ताका नाईकेहरु कम्पायमान हुनु कुनै अनौठो थिएन । जनजातिहरु दलका नाममा जोत्ने बहर गोरु हुन् यिनलाई जसरी पनि दाईंन सकिन्छ भन्ने परम्परागत मान्यता बोकेका दलहरु यहिनेर  चुके । तिनले जातीय रुपमा यो विध्न एकता हुन्छ भन्ने कल्पना समेत गरेकाथिएनन् । विशेषगरि पहाडे जनजातिहरुले यत्रो आँट गर्लान भन्ने तिनको पुरानो ढर्राको मगजमा त पक्कै थिएन । पहाडे जनजातिलाई उल्लु बनाएर खाईपोई आएको तिनले यस्तो सोच्नु अन्यथा थिएन ।
यद्यपि संघीयता आफ्नो खल्तिमा राखेर अन्तरिम संविधान जारी गर्न खोजेका तत्कालिन प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला जस्ता हस्ती नेताको त सातोपुत्लो उड्ने गरि मधेस आन्दोलन भएपछि तिनले पुनः राष्ट्रको नाममा सम्बोधन गरेर अन्तरिम संविधानमा संघीयताको प्रावधान थप्नु परेकोथियो । धेरैले संघीयता माओवादीले ल्याएको भन्ठान्छन् तर त्यतिबेला माओवादीले सत्तामा पुग्न संघीयता र समानुपातिक निर्वाचन प्रणालीलाई बलि चढाइसकेकोथियो । यदि मधेस आन्दोलनको उभार नआएकोभए नेपालमा संद्धान्तिक रुपमै सहि संविधान आउन अझै बर्षौ लाग्थ्यो । त्यसैले यसको श्रेय मधेसी चेतना र आन्दोलनलाई दिईनु पर्दछ । वास्तवमा संघीयतामा दलहरु कोहि गम्भीर छैनन् भन्ने दृष्टान्ट मधेस आन्दोलन नै हो । तर यसपालि मधेसी दलका मधेसी मूलका बाहुन र उच्च जातका नेताहरु किन संविधान मार्न ३ दलसंग लहसिए त्यो छुट्टै विश्लेषण्को पाटो हो तर मधेस आन्दोलनले नै संघीयता स्थापित गरेको चाहिं पक्का हो ।
अहिले पुनः त्यहि नियति दोहोरिएकोछ । मन नमानी नमानी संघीयतामा जान त सहमति गरियो तर जातीय पहिचान सहितको संघीयतामा गए देश विखण्डन हुन्छ भन्दै संघीयता विरोधी भ्रम फैलाउनमा दलका ठूला नेताहरु नै लागेकाथिए र छन् ।
तिनले ६०१ सभासदले संविधान बनाउन नसकेको भन्दै उनीहरुमाथि दोष थोपरिदिएकाछन् । तर यथार्थ त्यो होइन । सभासदले रातदिन खटेर काम गरेकाछन् । तर दलहरुले नै उनीहरुलाई पँगु बनाएर राखेकाहुन् । देशविदेश शयरमा पठाईदिने र एनजिओहरुको डलरमा भुलाएर दलका नेताहरुले नै तिनलाई भुत्ते गराउन चाहेकाथिए । प्रयास सधैं यहि रहिरहयो, तिनले कहिल्यै जातीय मुद्दामा एक स्वर ननिकालुन् ।
जातीय मुद्दामा मतदान गर्नु पर्दा सधैं दलको ह्विप लाग्ने अवस्था श्रृजना गरेर तिनलाई जुट्नबाट रोकियो । पक्षमा मतदान गर्न दिइएन । ति एक किसिमले दलका रबरस्ट्याम्प मात्र थिए । अर्थात जुवामा नारिएको त्यस्ता दुईटा पठ्ठा बहर थिए जसलाई दाँयाबाँया हेर्न बन्देज नै थियो । उनीहरुले चर्न पाउने कुरा त धेरै टाढाको रहयो । यदि चाहेकाभए दलका नेताहरुले २ बर्षमै संविधान जारी गर्न सक्थे । तर ति कोहि त्यस्तो सदिक्षा राख्दैनथे । किनभने प्रष्ट थियो , यदि संविधानसभाबाट संविधान जारी गरिने हो भने त्यसले आफुले र आफ्नो समूदायले खाईपोई आएको भाग पूरै बाँडिनेछ । समानताको नियम कानुन र अधिकारका ब्यवस्था गरिनेछन् जसले आफ्नो थालीमा सिधै हस्तक्षेप गर्दछ । यस्तो सोंचाईकै कारण ४ बर्षसम्म संविधानसभालाई पेण्डलुम बनाएर राखियो । ९ अरब खर्च गरेर संविधानसभाका सभासद निकम्मा हुन् भन्ने भ्रम छरियो । नपढेका, पाखे, गँवार, आपराधिक भन्दै संविधानसभाको निर्वाचन लगत्तै सभासदहरुको मानमर्दन गर्ने काम षड्यन्त्र अन्र्तगत नेताहरुले गर्दे आएकाथिए । यसमा मुलधारका मीडियाले तिनलाई खुलेरै साथ दिए । मुलधारका मीडियामा भएका ९० प्रतिशत सत्ताधारी जातिका पृष्ठभूमीका पत्रकारहरुले यसो गर्दा आफ्नो जातीय स्वार्थलाई सर्वाेपरि ठानेको देखिन्छ ।
यसो किन गरियो भने यी दलित, जनजाति, मधेसी, पिछडिएका क्षेत्रबाट आएका साँच्चिकै जनप्रतिनीधि थिए । राजधानीमा हुर्केका अग्रेंजी स्कूलमा पढेका, पुल्पुलिएका र उच्छृखलता नाघेका पृष्ठभूमिका कोहि थिएनन् । यस्ता जनप्रतिनीधिहरुले इमान्दारीपूर्वक संविधान बनाउँछन् भन्ने भय सत्ताधारीहरुलाई सधैं रहेकोले तिनले यस्तो षड्यन्त्र गरेकाथिए । संविधानसभाको अन्तिम बैठक नै बस्न नदिएर यी ६०१ लाई लज्जास्पद रुपले घर घर पठाउने दलका नेताहरु यि जनप्रतिनीधिहरुप्रति हदैसम्मको घृणा गर्दाे रहेछन् भन्ने देखिएकोछ ।
यी इमान्दार थिए भन्ने बारम्बार तिनले प्रमाणित पनि गरिदिए । जनजाति, महिला, दलित, मधेसी ककस बनाएर तिनले पछाडि पारिएकाहरुको साँच्चिकै वकालत गरे । यो सरकार चलाउने सभा हैन जनताको भाग्य लेख्न बनाइएको सभा हो भन्ने तिनले नेताहरुलाई बारम्बार सम्झाउन चाहे । तर ति बिचराले चाहदैमा के हुन्थ्यो र ? तिनका कुरा सुन्ने कुरै थिएन । संविधानसभा संगै ति ६०१ जनाको पनि साथसाथै एकै चिहान बनाइयो । यस्तो बहादुरी प्रम बाबुराम भट्टराईको नेतृत्वमा गरियो । कहिल्यै स्कूलमा दोश्रो नआउँदैमा र माक्र्सवादको पोथा घोक्दैमा कोहि बुद्धिमानी र अग्रगमनकारी हुँदोरहेनछ भन्ने ठूलो उदाहरण बाबुराम भएकाछन् । सबैभन्दा क्रान्तिकारी भनिने उनले नै जनताको भाग्य लेख्न बनाइएको युगमा एक चोटी आउने संविधानसभाको बलि चढाएकाछन् । मार उनले हानेकाछन्  अरु शीर्ष नेताहरु पुजारीको भेषमा मन्त्रोच्चारण गर्दे लहरै उभिएर हासिँरहेकाछन् ।
संविधानसभाको बलि दिईनुको प्रष्ट कारण छ । जातीय र पहिचानका मुद्दामा एक हुने भन्दै ३२२ जना जनजाति र मधेसी सभासदहरु, जुन विभिन्न दलसंग आवद्ध थिए, ले हस्ताक्षर संकलन गरे । तिनले चाहेमा मतदानबाट जस्तोसुकै संविधान पास गराउने सामथ्र्य राख्थ्यो ।
यस्तो एकताले नेताहरु अवाक भए । बाहिर इतिहासमै नदेखिएको जनदवाव छ उता भित्र सभासदहरु त्यसरी एकिकृत भएर आएकाछन् । त्यो परम्परागत जातीय सत्ताको निम्ति खतरनाक संकेत थियो । आँ गर्दा कुरो बुझ्ने राजनीतिका धुरन्धर खेलाडीहरुले आफ्नो पाईतला मुनीबाट जमीन भासिदैछ भन्ने बुझेपछि संविधानसभालाई बलि दिने योजना बनाए । बाहिर अलि अलि ठाकठुक गरियो । तँ रोए जस्तो गर म पिटे जस्तो गर्छु भन्ने नाटक मन्चन गरियो । अन्ततः संविधानसभा र तिनका सदस्यहरुलाई घाँटीमा पठ्ठा बाँधेर शक्ति देवीको मौलाको  अगाडि लगेर छिनालियो । ति अब बलीको भुटुन बनाई प्रसाद चपाइरहेकाछन् । तर आफ्नो भाग्यलेखनका निम्ति त्यहाँ पठाइएका प्रतिनीधिहरुको त्यसरी देवीको नाममा हत्या  गरिएको टुलुटुलु हेरिरहेकाहरुको भने भक्कानो छुटिरहेकोछ । यो भक्कानो बढ्दो छ । भन्न सकिदैन । भोलि यहि भक्कानोले नै नेपालको परम्परागत दैवी सत्ताको जग उखेलिदिने सामथ्र्य पनि राख्दछ । त्यसको प्रारम्भिक र आक्रमक यात्रा भने शुरु भैसकेकोछ ।


Error: No articles to display