A+ A A-

सेनाका पहिलो जनरल अभिमानसिँह राना मगरलाई मार्ने मगर नै थिए

 


नेपाली सेनाको इतिहासमा विद्यावारिधी गरेका प्रेमसिँह बस्न्यातले मगर अध्ययन केन्द्रको कार्यक्रममा प्रस्तुत गरेको कार्यपत्र 'नेपाली सैनिक इतिहासमा मगरहरुको देन' को यो दोस्रो  भाग । पहिलो भाग पढ्न पहिलो प्रधानसेनापति विराज थापा मगरका सन्तान नेपाली सेनामा छन् यहाँ क्लिक गर्नुहोस् ।  
 
७ जोहरसिँ थापा मगर
कास्की जिल्ला चिसापानी गाउँ देउराली भन्ज्याङ्गको भीर चोकमा पिता सहेराम थापा मगर र माता मनमायाको कोखबाट विस १८४४ सन् १७८६ मा जन्मेका जोहरसिँ थापा मगरले नेपाल एकिकरण र नेपाल अँग्रेज युद्धमा ठूलो बहादुरी देखाएका थिए । जसलाई जहरसिँ पनि भनिन्छ ।  विशेष गरेर उनले नेपाल अँग्रेज युद्धमा शुरुमा देहरादुनको नालापानी छेउको खलंगाको युद्धमा बलभद्र कुँवरको मातहतमा रहेर ठूलो बहादुरी देखाए । उनी तोपखाना हतियार चलाउने कमाण्डरहुद्दा थिए ।   उनकै नेतृत्वमा हानेको तोपको गोलाले नालापानी युद्धमा अंग्रेज जनरल जिलेस्पीको मृत्यु भएको थियो ।९

नालापानी युद्ध अन्ततः नेपालीले हारेर बचेका फौज जैथाक किल्लामा मिल्न पुगे जहाँ काजी रणजोर थापा कमाण्डर थिए । अंग्रेजहरु नालापानीबाट मलाउ किल्लातर्फ बढेकाले अन्य फौज सहित तोपखाना हतियारका ज्ञाता जोहरसिँ मलाउ किल्लामा पुगे । जहाँ बडाकाजी अमरसिँह थापाको जंगी अड्डा सहितको सैनिक क्याम्प रहेको थियो ।१० अंग्रेजको हमला मलाउको किल्लातर्फ बढेपछि सूर्यगढीमा रहेको सरकार भक्ति थापा र उनको मातहतका पनि मलाउ किल्ला बचाउन आईपुग्यो । यस युटको लागि जोहरसिँहले तोपखाना र पैदल सैनिक दुबै रुपबाट भाग लिए । सुरको युद्धमा धेरै अंग्रेजी नेटीभ फौज मारिए । नालापानीको युद्धमा ना कमाएका जोहरसिँह थापालाई वडाकाजी अमरसिँह थापाले आत्मिय विश्वास गर्दथे । मलाउँ किल्ला भन्दा तलको देउथल भन्ने स्थानमा अँग्रेज फौजसँग भिषण युद्ध भयो । जसमा भक्ति थापा लगायत धेरै नेपाली सेनाको ज्यान गयो । ७३ वर्षीय भक्ति थापाको मृत्यु भएको  देखेर त्यस बेला युद्धस्थलमै नेपाली फौजले विद्रोह गर्न खोजे ।१२ बडाकाजी अमरसिँह थापालाई ज्यादै कठिन स्थिति सृजना भएको देखेर जोहरसिँह थापाले ति भड्किएका फौजलाई सम्झाएर स्थिति काबुमा ल्याउने भूमिका निभाए ।
 
भक्ति थापा बडाकाजी अमरसिँह थापको सम्धी थिए भने कप्तान बलभद्र कुँवर वडाकाजीको नाती थिए । भक्ति थापको मृत्युपछि बडाकाजीको मनोबल धेरै खस्कियो भने जताततै अंग्रेजले घेर्न थालेपछि उनले अंग्रेजसँग सन १८१५ मे १५ को दिनमा सम्झौता गरी महाकाली नदी पश्चिमको अँग्रेजसँग युद्ध अन्त गरी महाकालीदेखि सतलजसम्मको जमीन अँग्रेजलाई छाडी दिए । अँग्रेजसँगको सम्झौतापछि बडाकाजीले स्वइच्छाले अँग्रेज फौजमा भर्ति हुन जानेको लागि बन्देज लगाएनन् । त्यसभन्दा अगाडि पनि नेपाली सेनाबाट भागेर हजारौ फौज अँग्रेज फौजमा जागिर खान गइसकेका थिए । नेपाल अँग्रेज युद्धमा हार खाएपछि सयौं नेपाली सैनिकहरु तत्कालीन नेपाल सरकार विशेष गरी भीमसेन थापासँग असन्तुष्ट भै भारतीय राजा रजौटाको फौजमा अँग्रेजी सेनामा जागीर खान गएका थिए । यसको ज्वलन्त उदाहरण नालापानी युद्धका वीरकप्तान बलभद्र कुँवर हुन । जसले अरु २०० जना जति नेपालीपूर्व सैनिकहरुको नेतृत्व गरी पंजावको राजा रणजितसिँहको फौजमा जागिर खान गए । नेपालीफौजको बटालीयनमै खडा भयो र त्यो पल्टन लाहौरमा थियो । अब हजारौ नेपाली लाहौरमा जागीर खान जान थाले । यसरी लाहौर व्यारेकमा भर्ति हुनेहरुलाई नेपाल लाहुरे भन्न थालियो । पंजावी राजा रणजितसिँहको फौजमाा भर्ना भएका लाहुरे संज्ञा शुरु भएको थियो । वृटिस आर्मी वृटिस-इन्डियन आर्मी मा भर्ना हुनेहरुबाट होइन । यहि सिलसिलामा जोहरसिँले आफ्ना कमाण्डर वडाकाजीलाई सोधेर अनुमति पाएपछि नेपभलसेनाबाट अवकास लिए । गढवाल क्षेत्रमा नै विवाह गरिसकेका जोहरसिँहको लागि नेपाल फर्कनु भन्दा उतै घरजम जोड्नु फाइदाजनक थियो । त्यसपछि उनले सन् १८१५ मा नै अँग्रेजको नासीरी बटालियनमा सिधै विल्लादार कमाण्डर पदमा भर्ति पाए । किनभने उनी नेपालीसेनामा हुद्दा भै सकेका थिए । नसीरीको अर्थ मित्रता हो । नेपालीहरुको पल्टनलाई मित्रको पल्टन अर्थ हुने गरी नामाकरण गरिएको थियो । उनीसँग उनको भाई जबरसिँह थापा पनि सोही पल्टनमा भर्ती भएका थिए । नेपालीसेनामा जोहरसिँहका ३ भाई जागिरे थिए । त्यसमध्ये कान्छा भाई मलाउको युद्धमा मारिए ।  
अँग्रेज फौजमा भर्ति भएपछि

बहादुर जोहरसिँहले पहाडी राज्य बिलासपुरको भरतपुर युद्धमा ठूलो बहादुरी देखाई सन् १८२५ मा बहादुरीताका मेडल पाएका थिए । त्यसैगरी सन् १८४१ मा भएको सिख फौज विरुद्धको युद्धमा पनि बहादुरी देखार्य सतलज युद्धको लागि मेडल पाएका थिए । सन् १८४६ मा भएको पंजाब विरुद्धको ब्याटल अफ अलीवाल को पहिलो हमलामा पनि भाग लिए । उनलेपछि पनि पटकपटक सन १८५०-५३ सम्म पेसावर युद्ध लडे । स्न १८५६ मा कोहट र करम मा दुई ठूला युद्ध लडेका थिए । उनले सन् १८५७ मा भारतमा भएको सिपाही विद्रोह दमन गर्न पनि ठूलो योगदान दिए । जसमा उनले बहादुरीताको तक्मा र १ वर्षको तलब बराबरको एक मुष्ठ रकम इनाम पाए ।१२

जागीरको अन्तिम तिर उनी सुवेदरा मेजर भै घर पाएक पर्ने धर्मशाला क्यान्टोन्मेन्टमा काँगडा नजिक सरुवा भै आएका थिए । सन् १८१५ बाट खडा भएको नासीरी बडालीयनमा भर्ति हुने मध्य सुवेदार मेजरको पद पाउने पहिलो नेपालीपनि उनी नै थिए । १३ सन् १८६३ मा उनी पेन्सनमा रिटायर्ड भै धर्मशाला भाक्सूमा बसे ।

८ सिँहवीर घर्ति मगर

सन् १८१४ को नोभेम्बर २७ तारेखको विहान नालापानी किल्लामा भएको अँग्रेज फौज विरुद्धको युद्धमा जमदार सिँहवीर घर्ति मगरले पुरानो गोरख पल्टनबाट बडो वीरताको साथ नेतृत्व गरेका थिए । उनले कर्णेल माबीले नेतृत्व गरेका सैनिकहरु मध्ये एक दर्जन भन्दा बढीलाई मार्न सफल भएका थिए । दर्जर्नौलाई घाइते बनाएका थिए । उनको साहसलाई बलभदै कुँवरले मुक्त कण्ठले प्रशंसा गरी पुरानो गोरख गणको मनोबल बढाई दिए ।

यस लडाइमा कर्णेल मावीले अब नालापानी किल्लामाथि धावा बोलेर कब्जा गर्न सकिन्न भन्ने ठानेर तोपबाट गोलाबारी गरेर किल्लाको पर्खाल भत्काउने योजना बनाए । सोही अनुसार गोलाबारी जारी राखियो । २७ नोभेम्बर रातभर र २८ नोभेम्बरको मध्याह्नसम्म लगातार तोपबाट गोलाबारी गरेर अँग्रेजहरु किल्लाको पूर्वतर्फको पर्खालाई धेरै क्षति पुर् याउन सफल भए । त्यसपछि केही समयको लागि तोप बन्द गर्न लगाएर अघिल्लो दिनको लडाइँमा मर्ने अङग्रेजी फौजका व्यक्तिहरुको लाश मान्ग पठाए । कप्तान बलभद्रले पनि किल्लामा रहेका लाशहरु लग्ने आदेश दिए । ६२ लाशहरु ओसारीसकेपछि पुनः अँग्रेजहरुको तोप चालु भयो ।

९ पहिलो जनरल (कमाण्डर-इन-चीफ) अभिमानसिँह राना मगर (वि.स. १९०२ -१९०३)
वि.स. १६१६ मा राजा द्रव्य शाह लिगलिगकोटकोा राजा हुँदा देखिनै राना मगरहरु काजी दर्जामा काम गर्न थालेको पाइन्छ । पछि गोर्खाका राजा नरभुपाल शाहको राज्यकालमा जयन्त राना मगरले सेनापतिको भूमिका निभएको देखिन्छ ।१४  यही क्रमलाई हेर्दा राना मगरहरु गोर्खा दरबारमा कुनै न कुनै पदमा थिए र पछि कान्तिपुर विजय भएपछि पनि राना मगरहरु नेपाल दरवारमा रहेको बुझिन्छ । उति बेलाको कर्मचारी पजनी बंशानुगत रुपले गरिने भएकोले अभिमानसिँह राना मगर प्रधान सेनापति हुनुमा त्यहि बंशानुगत सस्कारको भूमिका खेलेको अनुमान लगाउन सकिन्छ । अन्यथा उनको बारेमा लेखिएको विवरण पाइदैन ।
 
भीमसेन थापाको पतनपछि बनेका विभिन्न मन्त्री मण्डलमा हुने उनी पनि सदस्य रहेको देखिन्छ । जसमा उनले सैनिक विभागको जिम्मेवारी पाएको बुझिन्छ । त्यस बेलाको लालमोहर रुक्काहरु मध्ये विस १८९९ भाद्र वदी ७ रोज १ मा उनले सही गरेको भेटिएको छ ।

प्रधानमन्त्री माथवरसिँह थापको १९०२ मा हत्या भएपछि राजपरिवारकै फत्येजंग चौतरीयालाई प्रधानमन्त्री बनाइयो । त्यसैगरी अभिमानसिँ राना मगरलाई कमाण्डर इन चीफ पहिलो जनरल । गगनसिँह खवास दोस्रो जनरल र जंगबहादुर कुँवरलाई तेस्रो जनरल बनाइयो ।१५ उनीहरुलाई आआफ्नो मातहतमा राख्न पाउने गरी क्रमश ३ पल्टन ७ पल्टन र ३ पल्टन दिइयो ।  गगनसिँह खवास दोस्रो जनरल भएर पनि ७ पल्टान पाए । किनभने उनी रानी राज्यलक्ष्मीको पि्रयपात्र जनरल थिए । पदले अभिमानसिँह सेनापति भए पनि शक्तिमा गगनसिँह नै सर्वेसर्वा थिए ।
 
नेपालको इतिहासमा कोतपर्व भनेर चिनिने हत्याकाण्डको १९०३ साल भाद्र ३ गते को मध्य राततिर हाल हमनुमान ढोकको ग्यारिजन गण रहेको स्थान कोत घरमा तेस्रा जनरल जंगबहादुर कुँवरको टोली र प्रधानमन्त्री फत्येजंग जौतरीयको टोलीवीच हात हालाहाल हुने स्थिति बन्दै थियो । त्यतिबेला जनरल जंगबहादुरले रानी राज्यलक्ष्मीको पक्षमा लागेको बहानमा गर्दै थिए भने सेनापति अभिमानसिँह रानाम गमर राजा राजेन्द्र तथा प्रधानमन्त्री फत्येजँगको पक्षमा थिए । रानीको नजरमा अभिमानसिँह राना पटक्कै मन पर्दैनथे ।

राजा नारायणहिटी हिडेपछि जंगबहादुरले कसैको मतलब नै नगरी रानी बसेको कोठा शिस महलतर्फ लागे । शिस महल पनि कोत भित्रै थियो । भारदारी सभाको बेला यसमा राजा रानी र राजपरिवार बस्दथे । जनरल अभिमानसिँह राना मगर भने सिधै रानीकहाँ जान डराए । किनकी वीरकेशर पाण्डेको टाउको काट्ने रानीको आदेशलाई विना प्रमाणको भएकाले उनले मानेका थिएनन् । यसर्थ आफ्नो पल्टनको केही टुकडी सहित रानी कहाँ जानको लागि आफ्नो फौज बसको स्थान कोतको ढोका बाहिर जान लागे । यतिकैमा जंगबहादुरको पल्टनबाट कोतको ढोकामा बसेको सेन्ट्रिले प्रधानसेनापति जनरल अभियमानसिँ रानालाई ढोकाबाहिर जान दिएनन् । प्रधानसेनापति जस्तो व्यक्तिलाई सामान्य सिपाहीले सलाम गनुृको सट्टा अवरोध गरेपछि अभिमानसिँह रानामगरले सेन्ट्रि बसेका सिपाही भीमबहादुर आले मगरलाई गाली गर्न थाले । त्यही बेला आले मगरले एक्कासी बन्दुकको संगीन वियोनेटले जनरलको छातीमा घोची जमिनमा ढलाई दियो ।१६ अभिमानसिँह पक्का थियो कि गगनसिँह खवासको हत्यारा जंगबहादुर नै थिए र जंगबहादुरलाई रानीबाट पाएको आड र भरोसाको कारणबाट उनले मुख फोर्न सकेका थिएनन् । संगीन रोपिएपछि छातीबाट रगत बगेर अभिमानसिँहलाई आफू मर्छु भन्ने निश्चित भएपछि उनले आफ्नो रगतको पोखरीमा हात चोपी नजिकै रहेको कोतको ढोकानिरको भित्तामा रगतको पाजाछाप लगाई सबैले सुन्ने गरी कराएर गगनसिँहको हत्यारा जंगे नै हो भने र केही बेरपछि उनको मृत्यु भयो ।१७  कोतमा बाँकी रहेको सबै भारदारहरुले सो कुरा सुने । मर्ने बेलामा भनेको बचन सत्य हुन्छ । यसर्थ अभिमानसिँहले भनेको ठिक हो भन्ने सबैले निश्चिय गरे । यसरी कोतपर्वको रातमा प्रधानसेनापति पहिलो जनरल अभिमानसिँह राना मगरको मृत्यु भएको थियो । इतिहासमा लेखिएको काजी अभिमानसिँह बस्न्यातलाई जनरल अभिमानसिँह बस्न्यात कोतपर्वमा मारिए पनि भनिएको छ । त्यो गल्ती हो ।
 
सन्दर्भ सामग्री
९ शिवप्रसाद शर्मा तथा अन्य\नेपालको सैनिक इतिहास\काठमाडौं\शाही नेपाल जंगी अड्डा \१९९२\ पृष्ठ ३९५   
१० शिवप्रसाद शर्मा तथा अन्य\नेपालको सैनिक इतिहास\काठमाडौं\शाही नेपाल जंगी अड्डा \१९९२\ पृष्ठ ४१२-४१६  
११ शिवप्रसाद शर्मा तथा अन्य\नेपालको सैनिक इतिहास\काठमाडौं\शाही नेपाल जंगी अड्डा \१९९२\ पृष्ठ पृष्ठ ४१५
१२ एन इलेस्ट्रेटेड हिस्ट्री अफ दि फस्र्ट गोर्खा राइफल्स\पृष्ठ २६४  
१३ डा. आलोकसिँ थापा\भाक्सु, धर्मशाला, काँगडा, भारत
१४ बस्न्यात, पाद टिप्पणी संख्या १०, पृष्ठ ३२
१५ बस्न्यात, पाद टिप्पणी संख्या ९१, पृष्ठ ५३-५४
१६ बस्न्यात, पाद टिप्पणी संख्या ९१, पृष्ठ ५६  
१७ बस्न्यात, पाद टिप्पणी संख्या ९१, पृष्ठ ५६-५७

प्रतिक्षा गर्नुहोस तेस्रो तथा अन्तिम भाग    
१  शान्ति सेनामा वीरगति प्राप्त गर्ने मगरहरु  
२ प्रथम सहिद लखन थापा मगरको विषयमा बस्न्याताको आलोचानात्मक विश्लेषण ।
३ लखन थापा मगर क्याप्टेन नै थिए ?   
४ लखन थापा मगरले भन्दा पहिला संगठित विद्रोह भएको थियो कि थिएन ? थियो भने कसले गरेको थियो ?


 

 हार्दिक श्रध्दाञ्जलि - ज्ञान बहादुर गाहा मगर